Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

बाइबल व्याख्याका चार चाबी सिद्धान्तहरू

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

पद कण्ठ: व्यवस्था २९:२९; १ कोरिन्थी २:१३; २ तिमोथी २:१५

परमेश्वरलाई दर्शाउने खालको ख्रीष्टियन जीवन जिउन सक्नलाई बाइबल राम्ररी बुझेको हुनुपर्छ, र यसका लागि बाइबल व्याख्याका कमसेकम आधारभूत सिद्धान्तहरूको ज्ञान हुनु जरूरी छ। यस पाठमा हामी त्यस्ता चारओटा सिद्धान्तहरूलाई हेर्नेछौं:

  1. शब्दका परिभाषा निर्धारण गर्ने काम र खण्डहरूलाई अर्थ लगाउने काममा सबभन्दा महत्त्वपूर्ण कुरा हो: सन्दर्भ (context)।

    बाइबल व्याख्याको सर्वप्रथम र सर्वोपरि नियम भनेको सन्दर्भको आधारमा त्यसको अर्थलाई परिभाषित गर्नु हो। कुनै पनि अर्को नियम यो जत्तिको महत्त्वपूर्ण छैन। यसैकारण आफ्नो अगाडि रहेको बाइबलको त्यो खण्ड, अध्याय र पुस्तकको विषयवस्तु के हो आफूलाई थाहा हुनु जरूरी छ। हामी सन्दर्भद्वारा डोर्‍याइयौं भने, बाइबलले आफ्नो अर्थ आफैले खोल्दो रहेछ भनी हामीले जान्नेछौं। तर यसको ठीक विपरितमा, झूटा शिक्षकहरूले पदहरूलाई टेढामेढा पार्दै तिनको सन्दर्भलाई वास्तै नगरी तिनमाथि आफ्ना पूर्वनिर्धारित अर्थहरू लाद्‍ने काम गर्दछन्। जस्तै, नेपालमा अहिले त्यस्ता कोरियाली झूटा शिक्षकहरू पसेका छन् जोहरू मानिसहरूसँग घर-घरमा बाइबल अध्ययनहरू गराउन एकदमै अग्रसर छन्, तर तिनीहरूले स्रोताहरूलाई पदहरू टिपोट गर्न दिँदैनन्, र चर्चा गरिएको पदको मास्तिर वा मन्तिर हेर्न दिँदैनन्। यो त आत्मिक पतनको सुत्र बाहेक अरू केही होइन!

    बाइबललाई सन्दर्भको आधारमा कसरी अर्थ लगाउने भन्ने कुरा दर्शाउनलाई तल केही उदाहरणहरू दिइएका छन्:

    1. २ तिमोथी २:१६ मा "अशुद्ध र व्यर्थका बकबक" भन्ने वाक्यांशलाई विचार गर्नुहोस्। यसको माने के हो? हामीले सबभन्दा पहिला के गर्नुपर्छ भने सन्दर्भलाई हेर्नुपर्छ। त्यसबाट हामीले के सिक्छौं भने "अशुद्ध र व्यर्थका बकबक" भनेको ती कुरा हुन् (१) जो खाँटी शिक्षाको विपरित छन् (पद १६, १८), (२) जसले गडबड र खराब फल फलाउँछन् (पद १६), र (३) जो ख्रीष्टियन जीवनका लागि हानिकारक छन् (पद १७)।
    2. तीतस ३:९ मा "मूर्खतापूर्ण विवादहरू" (foolish questions) भन्ने वाक्यांशलाई विचार गर्नुहोस्। यसको माने के हो? फेरि, सन्दर्भले नै वाक्यांशलाई परिभाषित गर्दछ। मूर्खतापूर्ण विवादहरू (अथवा "मूर्ख प्रश्न") ती हुन् (१) जसले झगडा उत्पन्न गराउँछन् (पद ९), (२) जो बेफाइदाका हुन्छन् (पद ९), र (३) जसलाई झूटा शिक्षकहरूले प्रयोग गर्दछन् (पद १०)।
    3. २ पत्रुस १:२० को "पवित्रशास्त्रको कुनै पनि भविष्यवाणी आफ्नो निजी व्याख्याबाट भएको होइन" भन्ने वाक्यलाई विचार गर्नुहोस्। व्याखाकारहरूले यसलाई विभिन्न तरिकाले अर्थ लगाउने गर्छन्, तर यसको माने त यसपछिको पदमा प्रस्टै दिइएको छ। यसको माने यो हो, बाइबलका मानवीय लेखकहरूले लेखेका शब्दहरू उनीहरूको आफ्नै रचना थिएनन्, तर उनीहरूले जे लेखे ती पवित्र आत्माद्वारा तिनीहरूलाई दिइएका थिए।
    4. २ तिमोथी ३:१७ को "सिद्ध" भन्ने शब्दलाई विचार गर्नुहोस्। के यसको माने पापरहित हुनु भनेको हो? होइन, यस शब्दलाई उक्त पदमै परिभाषित गरिएको छ। यसको माने हो, "हरेक असल कामका लागि पूर्णरूपले सुसज्जित हुनु"। परमेश्वरको इच्छा पूरा गर्नलाई पूर्णरूपले सुसज्जित हुनु भन्ने अर्थमा सिद्ध हुनु भन्ने कुरालाई जनाइँदैछ यहाँ।
    5. याकूब २:२४ र रोमी ३:२४ र ४:५ का बीच सतहमा देखिने अन्तर्विरोधलाई विचार गर्नुहोस्। यो सतही अन्तर्विरोध समाधान हुन्छ जब हामी सन्दर्भलाई विचार गर्दछौं। एकातिर पावल मुक्तिको विषयमा चर्चा गर्दैछन्, कसरी एक हराएको मानिस परमेश्वरसित ठीक सम्बन्धमा आउन सक्छ, अनि उनले बताउँदछन् कि पापीले मुक्तिका लागि येशू ख्रीष्टमा भएको अनुग्रहमाथि विशुद्धरूपमा भरोसा गर्नुपर्छ। यस अर्थमा मुक्तिचाहिँ केवल अनुग्रहले पाइन्छ, कुनै पनि कामबिना। अर्कोतिर याकूबले ख्रीष्टियन सेवाकार्यको विषयको चर्चा गर्दैछन्, कसरी एक मुक्ति पाइसकेको व्यक्तिले यस जीवनमा परमेश्वरलाई खुशी पार्न सक्दछ। उनले बताउँदछन् कि बचाउने खालको विश्वासचाहिँ कामहरूद्वारा प्रमाणित हुने कुरा हो। यहाँ कुनै अन्तर्विरोध नै छैन यदि हामीले दुवै भनाइलाई आ-आफ्नै सन्दर्भको परिवेशमा विचार गर्‍यौं भने। पावलले एक मुक्ति नपाएको पापीको दृष्टिकोणलाई मध्यनजर गर्दै कुरा गर्दैछन्। पापीले मुक्ति पाउन येशू ख्रीष्टलाई अखण्डित रूपमा भरोसा गर्नुपर्दछ; उसले आफ्नै फोहोर धार्मिक कामहरूलाई (यशैया ६४:६), स्वधर्मलाई (रोमी ९:३०-३३) भरोसा गर्न छाड्नुपर्छ र आफ्नो सर्वस्वले उहाँको सिद्ध र पूर्ण उद्धारकार्यमाथि पूरै भरोसा गर्दै प्रभु येशू ख्रीष्टमाथि भर पर्नुपर्छ। अर्कोतिर, याकूबले ख्रीष्टियनको दृष्टिकोणलाई मध्यनजर गर्दै कुरा गर्दैछन्। आफूले येशू ख्रीष्टमाथि विश्वास गरेको दाबी एक ख्रीष्टियनले गरेको हुन्छ। तसर्थ उसले यत्‍नसित परमेश्वरको सेवा गर्नुपर्छ र उहाँका आज्ञाहरूमा हिँड्नुपर्छ। विद्रोहमा जिउनेहरू र परमेश्वरको वचनलाई बेवास्ता गर्नेहरूले चाहिँ आफूसित बचाउने खालको विश्वास नभएको कुरा प्रकट गरिरहेका हुन्छन्; उनीहरूका कामहरूले यो देखाउँदैछन् कि उनीहरूले आफैलाई धोका दिँदैछन्।
  1. लेखोटलाई लेखोटसित तुलना गरिनुपर्छ।

    बाइबल व्याख्याको अर्को महत्त्वपूर्ण नियम यो हो कि हामीले लेखोटलाई लेखोटसित दाँज्नुपर्छ (१ कोरिन्थी २:१३)। यसैकारण हो, सन्दर्भ पदहरू (cross references) समेत छापिएको बाइबल ज्यादै उपयोगी हुन्छ, साथै Treasury of Scripture Knowledge प्रयोग गर्नु राम्रो हुन्छ जसमा लाखौं सन्दर्भ पदहरू सूचीत गरिएका छन्।


    1. खाँटी शिक्षा निर्माण गर्नलाई लेखोटलाई लेखोटसित दाँज्नु अनिर्वार्य छ। यदि लेखोटलाई पृथकरूपमा अर्थ लगाइन्छ भने, यसको नतीजा भनेको प्रायः गलत व्याख्या नै हुन्छ। झूटा शिक्षकहरू पदहरूलाई पृथकीकरण गर्न खूब रूचाउँछन्। आर्थर टी पियर्सन (Arthur T. Pierson) ले यो बुद्धिमानी चेताउनी दिए: "पवित्रशास्त्रको अध्ययनमा गरिने कुनै पनि खोजीले, चाहे खण्ड-खण्डमा होस् चाहे पद-पदमा, जतिसुकै महत्त्वपूर्ण त्यो किन नहोस्, पवित्रशास्त्रको सिङ्गो गवाही (united witness) को सर्वोपरि महत्त्वको अर्थलाई ह्रास गह्राउने काम गर्न मिल्दैन। हरेक खराब शिक्षा वा अभ्यासले पृथक खण्डहरूबाट सतही रूपमा आफ्नो समर्थन जुटाउने काम गरिरहेको हुन्छ; तर जब पवित्रशास्त्रको सिङ्गो, एकै स्वरको गवाहीलाई त्यसको विरुद्धमा लेखाजोखा गर्ने काम गरिन्छ, तब परमेश्वरको वचनबाट कुनै पनि त्रुटीपूर्ण वा हानिकारक कुरा निस्की आउँदैन। सत्यताको आंशिक खोजीले आंशिक बुझाइ ल्याउँछ जो स्वभावैले असिद्ध हुन्छ; ध्यानपूर्वक गरिएको तुलनाले मात्र परमेश्वरको सिङ्गो मनलाई प्रकट गर्नेछ।"

      उदाहरणको लागि, १ कोरिन्थी ९:२२ मा पावल भन्छन्, "कुनै न कुनै प्रकारले कतिलाई बचाउन सकूँ भनेर म सबै मानिसहरूलाई निम्ति सबै थोक भइदिएँ"। यसलाई यदि बाँकी पवित्रशास्त्रदेखि पृथक गरियो भने कसैले यस्तो मानिलिन सक्छ कि पावल हराएकाहरूका निम्ति जे-जस्तो गर्न पनि तयार थिए यहाँसम्म कि उनीहरूको जीवनशैली अपनाउन समेत। आजका "रक एण्ड रोल ख्रीष्टियनहरू" (rock 'n' roll Christians) को माझमा यो शिक्षा लोकप्रिय बेनको छ। तर जब लेखोटलाई लेखोटसित दाँजिन्छ, पावलको तात्पर्य यो थिएन भन्ने कुरा प्रस्ट हुन्छ। जस्तै, गलाती ५:१३ मा पावलले भने, "किनभने भाइहरूहो, स्वतन्त्रताका निम्ति तिमीहरू बोलाइएका छौ; तर यति होस् -- यो स्वतन्त्रता शरीरका लागि मौका नबनोस्, तर प्रेमद्वारा एक‍-अर्काको सेवा गर"। यसर्थ, पावलको स्वतन्त्रता भनेको शरीरको सेवा कुनै पनि हिसाबले नगर्ने स्वतन्त्रता थियो। जस्तै, उनले आफूसँग सेवाकार्य गरिरहेका कुनै पनि ख्रीष्टियन स्त्रीहरूलाई कस्सिएको एकलिङ्गी (unisex) शैलीका अभद्र पोशाक पहिरन कहिल्यै दिनेवाला थिएनन्, जब कि आजको ख्रीष्टियन रक प्रेमीहरूले लगाउँछन्। साथै पावलले विश्वासीहरूलाई "दुष्टताको हरेक रूपबाट अलग बस" (१ थेस्सलोनिकी ५:२२) भन्दै सिकाए। यो भनेको त अलगपनताको सबैभन्दा साँघुरो खाले अभ्यास हो अनि पावलले आफ्नो जीवन र सेवाकार्यमा यसको विपरित कुनै पनि कुरा अवश्य गर्दैनथे। जस्तो कि, उनले लामो कपाल अवश्य पाल्दैनथे किनकि बाइबलले बताउँछ कि यो शर्मको कुरा हो र त्यसैले त्यसो गर्नु त खराबीको रूप अपनाउनु हुन्थ्यो (१ कोरिन्थी ११:१४)। यसरी पवित्र आत्माको अगुवाइमा लेखोटलाई लेखोटसित तुलना गरेर हामी बाइबललाई ठीक-ठीक अर्थ लगाउन सक्छौं र खाँटी शिक्षा जान्न सक्छौं।

    2. बाइबलको अन्य भागसित तुलना गरेर कुनै पद वा खण्डको अर्थ स्पष्ट हुने मात्र होइन, यसो गर्दा बाइबलीय कठीनाइहरू समेत बिलाएर जान्छन्।

      लूका १४:२६ लाई विचार गर्नुहोस्, "कोही मानिस मकहाँ आउँछ र आफ्ना बाबु, आमा, स्वास्नी, छोरा‍-छोरीहरू, दाजुभाइहरू र दिदीबहिनीहरूलाई, अँ र आफ्नै प्राणलाई पनि घृणा गर्दैन भने त्यो मेरो चेला हुन सक्दैन।" आफ्नै प्रियजनहरूलाई "घृणा" गर्नुको माने के हो? यसलाई यसको समानन्तर खण्ड मत्ती १०:३७ मा खुलाइएको छ, "जसले बाबु वा आमालाई मलाई भन्दा बेसी माया गर्दछ, त्यो मेरो योग्यको छैन; अनि जसले छोरा वा छोरीलाई मलाई भन्दा बेसी माया गर्दछ, त्यो मेरो योग्यको छैन।" यसको माने यो हो कि हामीले ख्रीष्टलाई अरू कसैलाई भन्दा धेरै बढी प्रेम गर्नुपर्छ र सबै कुरामा उहाँको आज्ञा मान्नुपर्छ।
  1. स्पष्ट खण्डहरूले अस्पष्ट खण्डहरूलाई अर्थ्याउनुपर्छ।

    बाइबल व्याख्याको तेस्रो महत्त्वपूर्ण सिद्धान्त यो हो कि स्पष्ट खण्डहरूले अस्पष्ट खण्डहरूलाई अर्थ्याउनुपर्छ। झूटा शिक्षकहरूले यस सिद्धान्तको अवहेलना गर्दछन् र उनीहरूका अनौठा शिक्षाहरू कठीन र अस्पष्ट खण्डहरूबाट निर्माण गर्दछन् र थुप्रै स्पष्ट पदहरूका शिक्षालाई रद्ध गर्नलाई त्यस्ता पदहरूको प्रयोग गर्दछन्।

    जस्तै, सेभेन्थ-डे एड्भेन्टिस्टहरूले उनीहरूको "प्राण-स्वाप" को शिक्षालाई पुरानो नियमका थोरै पदहरूको आधारमा निर्माण गर्दछन्। जस्तै, उनीहरू अय्यूब २७:३ लाई औंल्याउँछन् जहाँ सासलाई आत्मा भनिएको छ। उनीहरू तब भन्छन् कि सासचाहिँ आत्मा भएको हुनाले, मान्छे मरेपछि पनि रहिरने आत्मा ऊसँग हुन सक्दैन। यसैले जब मान्छे मर्छ ऊ मरेर जान्छ र बौरिउठाइ नभएसम्म उसको अस्तित्व नै हुँदैन। तर जब हामी अन्य पदहरूको स्पष्ट शिक्षालाई हेर्छौं, तब मान्छे एक त्रिपक्षीय प्राणी हो भन्ने देख्छौं (आत्मा, प्राण र शरीर) र मान्छेको आत्मा उसको मृत्यु भएपछि बाँचिरहन्छ। १ थेस्सलोनिकी ५:२३ लाई याकूब २:२६ सित तुलना गर्नुहोस्। सेभेन्थ-डे एड्भेन्टिस्टहरूले साथै उपदेशक ९:५ लाई प्रयोग गर्दछन् जहाँ "मरेकाहरूले केही जान्दैनन्" भनिएको छ। उनीहरू दाबी गर्छन् कि यसले मरेकाहरू बौरिउठाइ नभएसम्म चिहानमा सुतिरहन्छन् भन्ने उनीहरूको शिक्षाको समर्थन गर्दछ, तर उनीहरू बाँकी बाइबललाई बेवास्ता गर्दछन् जहाँ मरेकाहरू चेतनामै हुन्छन् भन्ने कुरा सिकाइएको छ। जस्तै लूका ९:२८-३३; १ थेस्सलोनिकी ४:१४; र प्रकाश ६:९-११।
  1. पवित्रशास्त्रको अक्षरशः अर्थ सर्वोपरि हुन्छ।

    डाक्टर डेविड कूपर (Dr. David Cooper) ले भने, "जब पवित्रशास्त्रको सामान्य अर्थ नै अर्थपूर्ण छ, अन्य अर्थ नखोज्नुहोस्, र शब्दलाई अक्षरशः अर्थमा लिन नमिल्ने स्पष्ट सङ्केत सम्बन्धित सन्दर्भका तथ्यहरूले नदेखाएसम्म हरेक शब्दलाई त्यसको अक्षरशः अर्थमै लिनुहोस्।"

    हामीले अक्षरशः व्याख्या विधि (literal method of interpretation) अपनाउनुपर्ने पाँचओटा कारणहरू निम्न अनुसार छन्:

    1. परमेश्वरले पवित्रशास्त्र मानिसलाई सत्य प्रकट गर्नलाई दिनुभयो, त्यसलाई छिपाउन वा धमिल्याउनलाई होइन (व्यवस्था २९:२९)। त्यसैले उहाँले मानव भाषाका सामान्य नियमहरूलाई प्रयोग गर्नुभयो।
    2. येशूले अक्षरशः विधिलाई समर्थन गर्नुभयो (लूका १०:२५-२६)। मानिसले परमेश्वरको वचनलाई अक्षरशः अर्थमै लेओस् भनेर येशूले अपेक्षा गर्नुभयो।
    3. मानिसहरू मानव भाषाका सामान्य निमयहरूद्वारा बाइबल पढ्न र बुझ्नलाई परमेश्वरका सामु जवाफदेही छन् (२ तिमोथी २:१५)।
    4. अक्षरशः विधि यदि अपनाइएन भने, बाइबलको अर्थ के हो भनेर कसैले निश्चय गरी जान्न सक्दैन। लाक्षणिक व्याख्या विधि (allegorical method) अपनाउँदा अर्थकारकै विचार आधिकारिक बन्न पुग्छ। प्रकाश २०:१-३ लाई विचार गर्नुहोस्। यदि यस खण्डले एक अक्षरशः स्वर्गदूतले अक्षरशः शैतानलाई एउटा अक्षरशः अथाह कुण्डमा अक्षरशः हजार वर्षका लागि बाँधे भनेर बताउँदैन भने, यसको माने भनेको अर्थकार ले जे-जे अर्थ लगाउन चाहन्छन् त्यही-त्यही हुन जान्छ। यसर्थ लाक्षणिक व्याख्या विधिद्वारा बाइबलको शिक्षा स्थायी रूपमा पूरै गडबडको शिकार बन्न पुग्छ।
    5. बाइबलका भविष्यवाणीहरू अक्षरशः पूरा भएका छन्। भजनसङ्ग्रहमा ख्रीष्टको पहिलो आगमनको भविष्यवाणीलाई विचार गर्नुहोस्।

      भज २२:१ -- क्रूसमा येशूले उच्चारण गर्नुभएका शब्दहरू (मत्ती २७:४६)
      भज २२:६-८, १२-१३ -- मानिसहरूले येशूलाई गिल्ला गरे (मत्ती २७:३९-४४)
      भज २२:११ -- उहाँलाई गोहार गर्ने कोही थिएन (मर्कूस १४:५०; हिब्रू १:३)
      भज २२:१४-१६ -- तिनीहरूले उहाँलाई क्रूसमा टाँगे (मत्ती २७:३५)
      भज २२:१७क -- तिनीहरूले उहाँका हड्डीहरू भाँचेनन् (यूहन्ना १९:३३)
      भज २२:१७ख -- तिनीहरूले उहाँलाई आँखा तरेर हेरे (मत्ती २७:३६)
      भज २२:१८ -- तिनीहरूले उहाँका वस्त्रका लागि जुवा खेले (मत्ती २७:३५; यूहन्ना १९:२४)

      बाइबलको अक्षरशः व्याख्या विधिको विपक्षमा लाक्षणिक व्याख्या विधि (ALLEGORICAL METHOD) रहेको छ। यो विधि अपनाउनेहरूले भविष्यवाणीहरूलाई हुबहु रूपमा लिँदैनन्, तर त्यहाँ अर्थकारकै विचार आधिकारिक बन्दछ र बाइबलको माने के हो भनेर कसैले पनि निश्चय गरी जान्न सक्दैन। लाक्षणिक व्याख्या विधि पवित्रशास्त्रका विशेष गरी भविष्यवाणीका खण्डहरूमा लागु गरिएको पाइन्छ।
    6. जस्तै, जेनेभा बाइबल (Geneva Bible) को प्रकाश ९:११ को टिप्पणीले "अथाह कुण्डको दूत" को माने "ख्रीष्टविरोधी पोप, कपटीहरूको राजा र शैतानको दूत" हो भन्दछ। तर अथाह कुण्डको दूत भनेको अक्षरशः एक पतित स्वर्गदूत र एउटा अक्षरशः अथाह कुण्ड बाहेक अन्य कुनै कुरा हुनुपर्छ भनेर बुझिनुपर्ने त्यहाँ कुनै कारणै छैन।
    7. ह्यारोल्ड क्याम्पिङ्ग (Harold Camping), फेमली ख्रीष्टियन रेडियो (Family Christian Radio) का संस्थापकले प्रकाश ११:७ को यस्तो लाक्षणिक अर्थ निकाले। तिनी भन्छन् दुई साक्षीहरूको मतलब मण्डली हो। मण्डली महासङ्कष्ट हुँदै आएको थियो तर अब मारिएको छ। तसर्थ, मण्डली मरिसकेको छ; अब परमेश्वरलाई मण्डलीहरू र पास्टरहरूको काम छैन र तिनीहरूसँग अब उसो कुनै बाइबलीय अधिकार छैन।
    8. नयाँ युगीहरू (New Agers) ले पनि बाइबललाई लाक्षणिक वा "आत्मिक" तरिकाले अर्थ्याउँछन्। लेवी डाउलिङ्ग (Levi Dowling) ले द अक्वेरीयन गस्पल अफ जिजस द क्राइस्ट (The Acquarian Gospel of Jesus the Christ) मा भन्छन् कि लूका २२:१० मा पानीको गाग्रो बोक्ने मान्छेले अक्वेरीयसको युगको आगमनलाई सङ्केत गर्दछ।

      हुन त बाइबलमा प्रतीकहरू र भाषागत अलङ्कारहरू प्रयोग नभएका होइनन्, तर तिनलाई पनि भाषाको सामान्य नियमहरू अनुसार नै अर्थ लगाइनुपर्छ।

      यसको अभ्यास कसरी गर्ने भन्ने जस्ता अन्य थुप्रै कुराहरू समेत वे अफ लाफ लिटरेचरबाट उपलब्ध Advanced Bible Studies Series पाठ्यक्रमको How to Study the Bible भन्ने शीर्षक अन्तर्गत अध्ययन गर्न सक्नुहुन्छ। यो हालसम्म अङग्रेजीमा मात्र उपलब्ध छ।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course - 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो "एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू" शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9851-055734, 9818-399206; मूल्य: नेरू ३०० मात्र।


पृष्ठ संशोधन मिति: Tuesday 28-Feb-12
WordofTruth.com.np © 2017