पश्चात्ताप

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

पद कण्ठ: लूका १३:३; प्रेरित १७:३०; २०:२१

पहिलो र दोस्रो पाठमा हामी मुक्ति पाउने सवालमा मान्छेको आफ्नो जिम्मेवारी के हो भन्ने विषयमा हेर्नेछौं। यसअन्तर्गत दुईटा कुरा छन्: पश्चात्ताप र विश्वास। पावलले यी दुइटैलाई प्रेरित २०:२१ मा व्याख्या गर्छन्। त्यहाँ उनले पश्चात्तापलाई पहिला उल्लेख गर्छन्, त्यसैले हामी यसैबाट सुरु गर्नेछौं।

पश्चात्ताप सम्बन्धी केही महत्त्वपूर्ण प्रश्नका जवाफ यस प्रकार छन्:

के मुक्ति पाउनलाई पश्चात्ताप आवश्यक पर्छ?

पश्चात्ताप परमेश्वरले आज्ञा नै गर्नुभएको छ। नयाँ नियममा यो ६० पटक उल्लेख भएको छ। यसको प्रचार बप्‍तिस्मा दिने यूहन्नाले गरे (मत्ती ३:१-२) , ख्रीष्टले गर्नुभयो (लूका १३:३), पत्रुसले गरे (२ पत्रुस ३:९) र पावलले गरे (प्रेरित १७:३०)। मुक्ति पाउनलाई पश्चात्ताप र विश्वास दुवै आवश्यक छ, र पावल प्रेरितले दुइटैको प्रचार गरे (प्रेरित २०:२१)।

पश्चात्ताप सम्बन्धी त्यहाँ के कस्ता गलत धारणाहरू छन्?

पश्चात्तापको माने जीवन बदल्नु होइन, सुध्रिनु होइन।

मुक्ति मानिसका कामले पाइने होइन; कामहरू मुक्ति पाइसकेपछिका त्यसका प्रतिफल हुन् (एफेसी २:८-१०)। जीवन सुध्रिनु भनेको त केवल मानिससितको र यस जीवनसितको सम्बन्ध राख्‍ने कुरा हो, तर पश्चात्ताप भनेको परमेश्वरसतिको र अनन्त कुराहरूसितको सम्बन्ध राख्‍ने कुरा हो। मुक्ति पाउनलाई मान्छेले आफ्नो जीवन बदल्नुपर्छ र आफ्नो पाप छाड्नुपर्छ भन्ने आभास मानिसहरूलाई दिनु गलत हुन्छ - त्यसो नगर्नलाई हामी होसियार हुनुपर्छ। जीवन परिवर्तन गराउने मुक्तिको भाग परमेश्वरको हो, मान्छेको होइन।

पश्चात्तापको माने तपस्या गर्नु होइन।

कतिपय क्याथोलिक बाइबलहरूमा "पश्चात्ताप" लाई "तपस्या गर्नु" (penance) भनेर अनुवाद गरिएको छ। त्यसअन्त्तर्गत पूरोहीतलाई पाप स्वीकार गर्नु, पछुताउनु, पापमोचन (क्षमा भएको भनी पूरोहीतले घोषणा गर्नु), प्रायश्चित पर्दछन्। क्याथोलिक तपस्या कामले कमाउने मुक्ति हो जसलाई बाइबलले रद्द गर्दछ।

पश्चात्तापको माने गल्ती गरेकोमा पछुतो लाग्नु मात्र होइन।

मानिसले गल्ती गरेकोमा पछुतो माने तापनि मुक्ति ल्याउने साँचो पश्चात्ताप उसले नगर्न सक्छ भन्ने कुरा बाइबलले बताउँछ। यसलाई २ कोरिन्थी ७:१० मा "सांसारिक शोक" भनेर बयान गरिएको छ। पुरानो र नयाँ नियममा यसका उल्लेखनीय उदाहरणहरू छन्। पुरानो नियमको प्रमुख उदाहरण शाऊल राजा हो। विभिन्न पापपूर्ण काममा उनी पक्राउ परेकोमा उनी दुःखित थिए तर आफूले पश्चात्ताप गरेको उनले कहिल्यै देखाएनन् किनकि उनको व्यवहारमा कुनै परिवर्तन आएन (१ शमूएल १५:२४; २४:१७; २६:२१)। पछुतो मान्ने तर परमेश्वरतर्फ पश्चात्ताप नगर्ने मान्छेको नयाँ नियमको उदाहरण चाहिँ यहूदा हो (मत्ती २७:३-४)।

पश्चात्तापको माने येशूमा विश्वास गर्नु मात्र होइन।

कतिले पश्चात्तापलाई विश्वास गर्नु भन्ने अर्थमा नै परिभाषित गरेका छन्। एकजना परिचित प्रचारकले यसलाई "अविश्वासबाट विश्वासमा फर्कनु" भन्ने परिभाषा दिएका छन्। तर यदि यो सत्य हुँदो हो ता, बाइबलमा उल्लेखित प्रचारकहरूले पश्चात्तापको प्रचार नगर्नेथिए। पावलले "परमेश्वरतर्फ मन फिराउनुपर्छ" अर्थात् पश्चात्ताप गर्नुपर्छ र "प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुपर्छ" भनी प्रचार गर्थे भनेर हामीले हेरिसक्यौं (प्रेरित २०:२१)। प्रेरित २६:२० लाई विचार गर्नुहोस्; त्यहाँ पावलले विश्वासीहरूलाई "पश्चात्ताप लायकका कामहरू गर" भन्दै अधिकारयुक्त माग राखे। यसको मतलब पश्चात्तापको माने असल कामहरू गर्नु होइन; यसको मतलब पश्चात्तापको माने मनको एउटा प्रभावशाली परिवर्तन हो जसको फलस्वरूप असल कामहरू उत्पन्न हुन्छन्।

बाइबलीय पश्चात्ताप के हो?

पश्चात्तापको माने मैले परमेश्वरको विरुद्धमा पाप गरेको छु भन्ने कुराको स्वीकार गर्नु र त्यसका निम्ति दुःखित बन्नु हो (प्रेरित २०:२१)। पश्चात्ताप "परमेश्वरतर्फ" गरिनुपर्ने कुरा हो किनकि मैले अप्रसन्न तुल्याएको परमेश्वरलाई हो। उहाँले मानिसलाई आफ्नो निम्ति बनाउनुभएको थियो, अनि उहाँले मानिसलाई आफ्ना नियमहरू पालन गर्नलाई बनाउनुभयो। तर हामीले उहाँलाई हाम्रा पिठिउँ फर्काएका छौं र उहाँका नियमहरू उल्लङ्घन गरेका छौं र हामीले यसको पश्चात्ताप गर्नुपर्छ भन्ने माग उहाँले राख्‍नुहुन्छ। पश्चात्तापको माने म असल छैन भनेर स्वीकार गर्नु हो, यहाँसम्म कि मेरो आफ्नै धार्मिकता त तीनदोब्बर पवित्र परमेश्वरका सामु फोहोर झुत्राझैं छन् भनी मानी लिनु हो (यशैया ६४:६)।

पश्चात्तापको माने फनक्क फर्कनु हो, दिशा बदल्नु हो (प्रेरित २६:२०)। यो यस्तो कुरा हो जुनचाहिँ हृदयभित्र, मानिसको मनभित्र पूरा हुन्छ।

पश्चात्तापको माने परमेश्वरको शासनप्रति आफूलाई आत्मसमर्पण गर्नु हो (येशैया ४५:२२-२३)। पश्चात्तापको माने ख्रीष्टलाई आफ्नो प्रभुको रूपमा ग्रहण गर्नु हो (रोमी १०:९-१३)। विश्वास गर्नुको माने येशू ख्रीष्टलाई मेरो एकमात्र मुक्तिदाताको रूपमा ग्रहण गर्नु हो र पश्चात्ताप गर्नुको माने उहाँलाई मेरो एकमात्र प्रभुको रूपमा ग्रहण गर्नु हो। हामी यस कुरालाई नयाँ नियमभरि देख्‍न सक्छौं। येशूलाई साँच्चै नै ग्रहण गर्नेहरूले उहाँलाई प्रभु भनी पुकारेका छन् (लूका २३:४२)।

पश्चात्तापको माने जीवनको परिवर्तन होइन; पश्चात्तापको माने परमेश्वरको बारेमा र पापको बारेमा मनको यस्तो परिवर्तन हो जसको फलस्वरूप जीवनको परिवर्तन हुन्छ। "मैले विश्वास गरेँ" वा "मैले ग्रहण गरेँ" भन्ने धेरैजना हुन्छन् जसका मनमा नयाँ जीवन जिउने कुनै सङ्कल्प नै हुँदैन। उनीहरू ख्रीष्टको चेला बन्न इच्छुक छैनन्। उनीहरू स्वर्ग जाने टिकट चाहन्छन्, नरकबाट जोगिन चाहन्छन्, तर उनीहरू आफूखुसी जीवन व्यतित गरिरहन चाहन्छन्। उनीहरू येशूमा विश्वास गर्न त चाहन्छन् तर उहाँको आज्ञा भने मान्न चाहँदैनन्। बाइबलले बताएको मुक्ति यो होइन। सत्य परमेश्वरको उपासना गर्न र उहाँको सेवा गर्न सक्नलाई एउटा पापी आफ्ना झूटा देव-देवीहरूदेखि अर्थात् स्वपूजादेखि समेत फर्कन तयार हुनुपर्छ।

बाइबलमा पश्चात्तापको के कस्ता उदाहरणहरू छन्?

पश्चात्तापलाई बुझ्ने सर्वोत्तम उपाय बाइबलमा पाइने यसका उदाहरणहरूलाई हेर्नु हो।

उडाउ पुत्र

उडाउ पुत्र "होशमा आयो" (लूका १५:१७-२०)। यसको तात्पर्य उसलाई पवित्र आत्माले कायल पार्नुभयो र प्रकाश दिनुभयो। उसले आफूलाई नम्र तुल्यायो, परमेश्वरको विरुद्धमा र आफ्नो बुबाको विरुद्धमा उसले गरेको आफ्नो पापलाई स्वीकार गर्‍यो; अनि बेग्लै दिशातर्फ उन्मुख हुने गरी ऊ फनक्कै फर्क्यो। पश्चात्ताप भनेको यस्तो हुन्छ। उसले पश्चात्ताप गरेको थियो भन्ने कुराको प्रमाण यसैमा देखिन्छ कि ऊ घर फर्क्यो र बुबासितको आफ्नो सम्बन्धलाई ठीक-ठाक पार्‍यो; उसले आफूलाई नम्र तुल्यायो र बुबाको घरमा नोकर भएर काम गर्न तत्पर भयो।

जक्कै

जक्कैले पश्चात्ताप गर्‍यो र ऊ यस्तरी बदलियो कि आफूले ठगेकाहरूलाई सट्टाभर्ना तिर्ने खालको एउटा इमानदार मान्छे बन्यो (लूका १९:८)।

थेस्सलोनिकीहरू

थेस्सलोनिकीहरू "जीवित र सत्य परमेश्वरको सेवा गर्नाका निम्ति...मूर्तिहरूबाट परमेश्वरतर्फ" फर्के (१ थेस्सलोनिकी १:९)। बाइबलीय पश्चात्ताप यस्तो हुन्छ। उनीहरू केवल मूर्तिहरूबाट फर्केका होइनन्; उनीहरू परमेश्वरतर्फ मूर्तिहरूबाट फर्केका हुन् [अङ्ग्रेजी: "turned from idols to God" होइन तर "turned to God from idols"]। यो भिन्नता महत्त्वपूर्ण छ। यदि एउटा मान्छे परमेश्वरतर्फ नै फर्केको छ भने उसका पहिलेका देव-देवीहरू र उसको पुरानो जीवन उसको पिठिउँको पछाडि हुन्छ। साँचो पश्चात्ताप यस्तो हुन्छ।

एउटा व्यक्तिले आफ्ना झूटा देवताहरू र झूटा धर्महरूलाई इन्कार नगरेसम्म र आफूलाई ख्रीष्टको प्रभुत्वमुनि आत्मसमर्पण नगरेसम्म उसले मुक्ति पाउन सक्दैन।

ख्रीष्टलाई स्वीकार गर्नेले ख्रीष्टलाई प्राप्‍त नगरेको हुन सक्छ भनेर बाइबलले चेताउनी दिन्छ।

यी जोरदार वचनहरूलाई विचार गर्नुहोस् जसले बाइबल मान्ने खालका मण्डलीहरूकै बीचमा भएका व्यक्तिहरूको समेत बयान गर्दछ: तीतस १:१६; १ यूहन्ना २:४।

"येशूमा विश्वास गर्नु" नै पर्याप्‍त होइन। दुष्टात्माहरूले समेत विश्वास गर्छन् (याकूब २:१९)। भन्ने हो भने, दुष्टात्माहरू थरथर काम्छन्; अर्थात् सामान्य "ख्रीष्टियन" हरू भन्दा त उनीहरू पो बढी परमेश्वरको डर मान्दा रहेछन्!

बाइबलअनुसार धेरैले येशूमा विश्वास गरे तापनि उहाँले आफूलाई उनीहरूको भरोसामा छोड्नुभएन, किनभने उनीहरूले उहाँमाथि ठीकसँग विश्वास गरिरहेका थिएनन् भनी उहाँ जान्नुहुन्थ्यो (यूहन्ना २:२३-२५)। उनीहरूले उहाँलाई मुक्तिदाता र प्रभुको रूपमा विश्वास गरेनन्; केवल उनीहरूको खाँचोहरू पूरा गरिदिने, सांसारिक शत्रुदेखि रक्षा गर्ने व्यक्तिको रूपमा मात्र विश्वास गरे (यूहन्ना ६:२६)। उहाँलाई उनीहरूले एक महान् अगववक्ताको रूपमा विश्वास गरे तर आफ्नो एकमात्र परमेश्वर र मुक्तिदाताको रूपमा भने विश्वास गरेनन्।

थुप्रै नामधारी ख्रीष्टियनहरूको जीवनहरूमा अप्राप्‍य तत्त्व नै पश्चात्ताप हो।

म हुर्केको मण्डली प्रायःजसो अन्य सदर्न ब्याप्टिस्ट मण्डली (Southern Baptist Church) जस्तै थियो। थोरै युवाहरू मात्र पछिसम्म मण्डलीमा टिक्न सके। धेरैजसो भने किशोरावस्थामा पुगेपछि मण्डली छोड। पछिल्तिर फर्केर हेर्दा म बुझ्छु कि मूल समस्या मुक्तिको अभाव थियो। मेरो अनुभव अरूको जस्तै थियो। ११ वर्षको उमेरमा गर्मी विदाको अवसरमा आयोजना गरिने बाल सङ्गति (Vacation Bible School) मा मैले विश्वासको स्वीकार गरें, तर त्यसमा कुनै आत्मिक वास्तविकता थिएन। मेरो जीवनमा कुनै परिवर्तन थिएन। ख्रीष्टको निम्ति कुनै जोश थिएन, बाइबलप्रति कुनै प्रेम थिएन, आफ्नो जीवनको लागि परमेश्वरको इच्छा खोज्ने कुनै उत्सुकता थिएन। मेरो जोश मोजमज्जाको निम्ति थियो र मेरो परमेश्वर स्वयम् आफैं थिएँ। सकभर चाँडो मैले मण्डली छाडेँ। किन? म नयाँ गरी जन्मेकै थिइनँ, र युवा समूहका सबैजसोको अवस्था यस्तै थियो। परमेश्वरका कुराहरूका निम्ति गम्भीर देखिने एउटै युवा उक्त मण्डलीमा भएको मलाई सम्झना छैन।

मेरा परममित्रहरू सांसारिक थिए अनि एक दिनको कुरा हो, मण्डलीका हामी तीनजना साथीहरू एकजना मण्डली नजाने साथीसँगै सुन्तला बारीमा हिँड्दै थियौं। ऊचाहिँ हाम्रो "नाइके" थियो। हामी हाहाहुहू गर्दै लहडबाजीमा सँगै दगुर्थ्यौं र कैयौं सांसारिक बदमाशीमा सँगै फस्थ्यौं, तर किन हो कुन्नी हामीले मण्डलीको एउटा विशेष सभामा आउनलाई उसलाई मनाउन खोज्दैथियौं। फर्केर उसले हामीलाई हकार्‍यो, "म त्यहाँ किन जाने? तिमीहरूको जीवन मेरोभन्दा अलिकति पनि फरक छैन।" हाम्रो मुख बन्द भयो, किनकि उसको कुरा शतप्रतिशत सही थियो!

अभाव भनेको पश्चात्तापको थियो। म येशूमा "विश्वास गर्थेँ" जसरी दुष्टात्माहरूले पनि परमेश्वरमा विश्वास गर्छन्, तर त्योचाहिँ मुक्ति दिलाउने विश्वास थिएन किनकि त्यो पश्चात्तापरहित थियो।

मुक्ति भनेको ख्रीष्टसितको एउटा व्यक्तिगत सम्बन्ध हो।

मुक्ति भनेको धर्म होइन। यो अथवा त्यो विश्वास गर्नु, यो अथवा त्यो गर्नु नै मुक्ति होइन। यो त येशूसितको व्यक्तिगत सम्बन्ध हो। हरेकलाई नै म यो प्रश्‍न सोध्न चाहन्छु: के तपाईं येशूलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा चिन्नुहुन्छ? के उहाँसँग तपाईंको वास्तविक सम्बन्ध छ? के तपाईं उहाँसँगै हिँड्नुहुन्छ र उहाँसँग कुरा गर्नुहुन्छ? यसलाई पो भनिन्छ मुक्ति! यूहन्ना १७:३ मा हेर्नुहोस्।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course - 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो "एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू" शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9851-055734, 9818-399206; मूल्य: नेरू ३०० मात्र।