ख्रीष्टका दुई आगमनहरू

यस पृष्ठलाई छाप्नुहोस्

"ख्रीष्टका आत्माले ख्रीष्टका दुःखहरू र त्यसपछि आउने महिमाको विषयमा पहिल्यै गवाही दिनुभयो" -- १ पत्रुस १:११

पूरानो नियमका अगमवाणीहरूलाई ध्यानपूर्वक पढ्ने जो कोहीलाई पनि आउनुहुने मसीह सम्बन्धी उल्लेखित भविष्यवाणीहरू दुई बेग्लाबेग्लै धाराहरूमा बगिरहेका देखेर ताजूब लाग्नु स्वाभाविक हो यहाँसम्म कि उसलाई ती भविष्यवाणीहरू आपसमा जुधेजस्तै देखिन सक्छन्। एकातिरका भविष्यवाणीहरूले मसीहलाई दुर्बलता र नम्रतामा आउने व्यक्ति, दुःख र कष्टसित परिचित मानिस, सुख्खा जमीनबाट उम्रने जरा, न रूप, सुन्दरता वा आकर्षण भएको व्यक्तिको रूपमा प्रस्तुत गरेको छ। उहाँको मुहार कुरूप पारिने, उहाँका हात र पाउहरू छेडिने कुरा छ। उहाँ मानिस र परमेश्वरबाट त्यागिने र उहाँको चिहान दुष्टहरूसित बनिने कुरा छ। निम्न खण्डहरूमा हेर्नुहोस्:

यशैया ५३ (पूरै अध्याय); यशैया ७:१४; भजनसंग्रह २२:१-१८; दनियल ९:२६; जकरिया १३:६,७; मर्कूस १४:२७।

अर्कोतिरका भविष्यवाणीहरूमा एक भव्य र विरोधरहित सार्वभौम शासकको उल्लेख गरेको पाइन्छ जसले भयानक इन्साफद्वारा पृथ्वीलाई शुद्ध पार्नुहुनेछ, छरपष्ट रहेको इस्राएललाई फेरि एकत्रीकरण गर्नुहुनेछ, दाऊदको सिंहासनलाई सोलोमनको भन्दा भव्य रूपमा पुन:स्थापित गर्नुहुनेछ र यस्तो शासन ल्याउनुहुनेछ जसमा अगाध शान्ति र सिद्द धार्मिकताले वास गर्नेछ। उदाहरणस्वरूप हेर्नुहोस्:

यशैया ११:१,२,१०-१२; व्यवस्था ३०:१-७; यशैया ९:६,७; यशैया २४:२१- २३; यशैया ४०:९-११; दनियल ७:१३,१४; मीका ५:२; मत्ती १:१; मत्ती २:२; लूका १:३१-३३; यर्मिया २३:५-८।

समय पूरा भएपछि यशैयाले लेखेबमोजिम कन्याबाट पुत्रको जन्मसितै मसीही भविष्यवाणीहरू पूरा हुन थाले जुन जन्म मीका भविष्यवक्ताले लेखेबमोजिम बेथलहेममा भयो र त्यसपछि मसीहको दीनता सम्बन्धी लेखिएका एक-एक भविष्यवाणीहरू अक्षरश: अर्थात् दुरुस्तै पूरा भए; किनभने परमेश्वरको राज्य स्थापित हुन सक्नाका लागि पहिला पापलाई हटाइनु आवश्यक थियो। तर "नम्र र गधामाथि बसेर अर्थात् एउटा गाँडू, गधाको बच्चामाथि बसेर तिमीकहाँ आउँदै हुनुहुन्छ" भनी भविष्यवाणी गरिएबमोजिम जुन रूपमा उहाँ यहूदीहरूकहाँ प्रस्तुत हुनुभयो, त्यो रूपमा उनीहरूले आफ्ना राजालाई स्वीकार गर्न चाहेनन् बरु उनीहरूले उहाँलाई क्रूसमा टाँगिदिए। जकरिया ९:९ र मत्ती २१:१-५; यूहन्ना १९:१५,१६।

तर हामी यो नसोचौं कि मानिसको दुष्टताले परमेश्वरको संकल्पित उद्देश्यलाई रद्द गर्‍यो भनेर किनकि परमेश्वरको मनसायमा उहाँको पुत्रको दोस्रो आगमन पनि रहेको छ जब नै मसीहको पार्थिव महिमा सम्बन्धी उल्लेखित भविष्यवाणीहरू एक-एक गरी अक्षरश: पूरा हुनेछन् ठीक जसरी उहाँका पार्थिव कष्टहरू सम्बन्धी भविष्यवाणीहरू पूरा भइसके। होशे ३:४,५; लूका १:३१-३३ (३१ पद अक्षरश: पूरा भइसक्यो); प्रेरित १:६,७; प्रेरित १५:१४-१७; मत्ती २४:२७-३०।

मसीहका कष्टहरू सम्बन्धी अगमवक्ताहरूले बताएका सबै कुराहरू विश्वास गर्न यहूदीहरू सुस्त हृदयका थिए भने उहाँको महिमा सम्बन्धी बताइएका कुराहरू विश्वास गर्न हामीहरू सुस्त हृदयका छौं। निश्चय हाम्रै दोष ठूलो छ किनकि परमेश्वरका पुत्र बेथलहेमको बालकको रूपमा र नासरतको सीकर्मीको रूपमा आउनुहुनेछ भनी विश्वास गर्न भन्दा उहाँ "बडो सामर्थ्य र महिमासित आकाशका बादलहरूमा" आउनुहुनेछ भनी विश्वास गर्न नै बढी सजिलो कुरा हो। ख्रीष्टको पहिलो आगमनलाई हामीले सजिलै विश्वास त गर्छौं, अगमवक्ताहरूको वचनको कारणले होइन, घटना पूरा भइसकेकोले हो। त्यसैले हामीले यहूदीहरूलाई मात्र उनीहरूको अविश्वासको निम्ति दोष्याउन नहुने हो। त्यति धेरैओटा, सफा भविष्यवाणीहरूको छर्लङ्ग अर्थ प्रति यहूदीहरू कसरी अन्धा बन्न सके भनी कसैले प्रश्न गर्छ भने, जवाफ यो हो, उनीहरू त्यसरी नै अन्धा बने जसरी थुप्रै ख्रीष्टियनहरू मसीहको पार्थिव महिमा सम्बन्धी लेखिएका अझ धेरैओटा भविष्यवाणीहरू प्रति अन्धा बनेका छन्, अर्थात् पवित्र शास्त्रलाई "आत्मिक अर्थ" लगाउने प्रकृया मार्फत। जसरी उहिले शास्त्रीहरूले मसीहका कष्टहरू अक्षरश: अर्थमा लिइनुहुन्न भन्ने धारणा राखे त्यसरी नै आजका कतिपय शास्त्रीहरूले मसीहका पार्थिव महिमा अक्षरश: अर्थमा लिइनुहुँदैन भनेर सिकाउँदै छन्।

तर दोस्रो आगमन मण्डली लगायत यहूदी दुवैलाई दिइएको प्रतिज्ञा हो। क्रूसको बलिदान पूरा गर्न जानु अघि हाम्रा प्रभुले आफ्ना विचलित र शोकित चेलाहरूसित बोल्नुभएका सान्त्वना र अर्तीका अन्तिम वचनहरूमा यो पाइन्छ:

"तिमीहरूको हृदय विचलित नहोस्; तिमीहरू परमेश्वरमा विश्वास गर्दछौ, ममा पनि विश्वास गर। मेरा पिताको घरमा धेरै वासस्थानहरू छन्; त्यस्तो नहुँदो हो ता म तिमीहरूलाई भन्नेथिएँ। म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु। अनि मैले गएर तिमीहरूका निम्ति ठाउँ तयार पारें भने म फेरि आउनेछु; अनि म जहाँ छु, त्यहाँ तिमीहरू पनि होओ भनेर म तिमीहरूलाई आफूकहाँ लिनेछु" (यूहन्ना १४:१-३)।

यहाँ प्रभुले आफ्नो गमनको बारेमा बताउन जुन शब्दहरू प्रयोग गर्नुभयो उही शब्दहरूमै उहाँले आफ्नो पुनरागमनको बारेमा बताउनुभएको छ। उहाँको गमन व्यक्तिगत र शारीरिक रूपमै भएको हामीलाई थाहै छ। उहाँको पुनरागमन चाहिँ व्यक्तिगत रूपमा नभई "आत्मिक" रूपमा हुनेछ भन्दै सरल भाषालाई बाङ्गो अर्थ दिन सक्न त पवित्र शास्त्रको अन्य कुनै स्पष्ट र असन्दिग्ध खण्डको आधार चाहिन्छ। तर त्यस्तो खण्ड कुनै छैन।

तर यस महत्त्वपूर्ण बुँदाको सम्बन्धमा हामीलाई शंकामा छोडिएको छैन न ता तार्किक निष्कर्षमै छोडिएको छ। आफ्ना चेलाहरूको दृष्टिबाट उहाँ लोप हुनुभएको लगत्तै पछि "दुईजना सेतो वस्त्र लगाएका मानिसहरू तिनीहरूको बगलमा खडा भए; अनि उनीहरूले भने:

"हे गालीलका मानिसहरूको, तिमीहरू किन आकाशतिर हेर्दै उभिँदछौ? तिमीहरूको बीचबाट स्वर्गमा उठाइनुहुने यही येशू नै यही प्रकारले आउनुहुनेछ, जसरी उहाँलाई स्वर्गतिर जाँदै गर्नुभएको तिमीहरूले देख्यौ" (प्रेरित १:१०,११)।

थप प्रमाण निम्न खण्डहरूले दिन्छन्:

किनकि प्रभु आफै चित्कारसित प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरहीसित स्वर्गबाट ओर्लनुहुनेछ; अनि ख्रीष्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन्; त्यसपछि हामी जीवित र रहिरहेकाहरू हावामा प्रभुलाई भेट्नाका निम्ति उनीहरूसित एकसाथ बादलहरूमा उठाइनेछौं; अनि यसरी हामी सधैं प्रभुको साथमा रहनेछौं (१ थेस्सलोनिकी ४:१५-१७)

र त्यस धन्य आशाको, र हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनुपर्छ (तीतस २:१३)।

किनकि हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी पनि मुक्तिदाता प्रभु येशू ख्रीष्टको बाटो हेर्दछौं; जसले जुन प्रभावशाली कार्यद्वारा सबै कुरा आफ्नो वशमा पार्न सक्नुहुन्छ, त्यही कार्यअनुसार उहाँले हाम्रो दीनहीन शरीरलाई बदली गरिदिनुहुनेछ, र यो उहाँको महिमापूर्ण शरीरजस्तै बनाइनेछ (फिलिप्पी ३:२०,२१)

प्रियहरूहो, अहिले ता हामी परमेश्वरका सन्तान छौं, अनि हामी के हुनेछौं, सो अहिलेसम्म प्रकट भएको छैन; तर हामी जान्दछौं, जब उहाँ देखा पर्नुहुनेछ, तब हामी उहाँजस्तै हुनेछौं; किनकि हामी उहाँलाई, उहाँजस्तो हुनुहुन्छ, त्यस्तै देख्‍नेछौं (१ यूहन्ना ३:२)।

अनि हेर, म चाँडै आउँछु; अनि हरेक मानिसलाई जस्तो उसको काम हुनेछ, त्यही अनुसार दिनालाई मेरो इनाम मसित छ (प्रकाश २२:१२)।

यस "धन्यको आशा" का निम्ति "जागो" रहन (मर्कूस १३:३३,३५,३७; मत्ती २४:४२;२५:१३); "पर्खन" (१ थेस्सलोनिकी १:१०); "तयार" रहन (मत्ती २४:४४) हामीलाई सिकाइएको छ। बाइबलको अन्तिम प्रार्थना समेत ख्रीष्टको चाँडो पुनरागमनको निम्ति गरिएको बिन्तीको रूपमा छ (प्रकाश २२:२०)।

पवित्र शास्त्रका यी खण्डहरूबाट छर्लङ्ग हुन्छ कि ख्रीष्टको दोस्रो आगमन व्यक्तिगत र शारीरिक रूपमै हुनेछ। तसर्थ, दोस्रो आगमनको अर्थ विश्वासीको मृत्यु होइन, यरूशलेमको विनाश होइन, पेन्टेकोस्टमा भएको पवित्र आत्माको आगमन होइन, इसाईमतको क्रमिक विस्तार होइन। दोस्रो आगमन त मण्डलीको "धन्यको आशा" हो। त्यस घडी सुतिरहेका पवित्र जनहरू बौराइनेछन् र जीवित रहेका पवित्र जनहरू "बदली" गराइनेछन् (१ कोरिन्थी १५:५१,५२)। तब उनीहरू प्रभुलाई भेट्नलाई उठाइनेछन्। त्यस घडी हामी, जो अहिले परमेश्वरका सन्तान कहलिएका छौं, उहाँजस्तै हुनेछौं र पवित्र जनहरूले आफ्नो मुक्तिपश्चात् उहाँको नामका निम्ति गरेका विश्वासयोग्य कामहरूका वापत इनाम पाउनेछन्।

हाम्रा प्रभुको दुई आगमनहरूको भिन्नतामाथि थप प्रकाश पार्ने निम्न खण्डहरूलाई तुलना गर्नुहोस्:

पहिलो आगमन

दोस्रो आगमन

अनि उनले आफ्ना जेठा छोरालाई जन्माइन्, र उहाँलाई लपेट्ने लुगाहरूमा बेरेर उहाँलाई डुँडमा राखिन्; किनकि उनीहरूका निम्ति पौवामा ठाउँ थिएन (लूका २:७)।

अनि तब आकाशमा मानिसका पुत्रको चिन्ह देखा पर्नेछ; तर पृथ्वीका सबै कुलहरूले विलाप गर्नेछन्, अनि तिनीहरूले मानिसका पुत्रलाई बडो सामर्थ्य र महिमासहित आकाशका बादलहरूमा आइरहेका देख्‍नेछन् (मत्ती २४:३०)।

नत्र ता उहाँले संसारको उत्पत्तिदेखि बारम्बार दुःख भोग्नुपर्ने थियो। तर अब, यस युगको अन्तमा आफ्नै बलिदानद्वारा पाप हटाउनालाई उहाँ एकपल्ट देखा पर्नुभएको थियो (हिब्रू ९:२६)।

उसरी नै ख्रीष्ट पनि धेरैका पापहरू बोक्नका निम्ति एकपल्ट बलि चढाइनुभयो; अनि उहाँको बाटो हेर्नेहरूकहाँ मुक्तिका निम्ति उहाँ दोस्रो पटक बिनापाप देखा पर्नुहुनेछ (हिब्रू ९:२८)।

किनभने मानिसका पुत्र हराएकोलाई खोज्न र मुक्त गर्न आएका हुन् (लूका १९:१०)

किनभने संसारलाई दोषी ठहराउनका निम्ति होइन तर उहाँद्वारा संसारले मुक्ति पाओस् भनेर परमेश्वरले आफ्नो पुत्रलाई संसारमा पठाउनुभयो (यूहन्ना ३:१७)।

र तिमी दुःख भोग्नेहरूलाई चाहिँ हाम्रो साथमा विश्राम दिनु परमेश्वरका निम्ति धर्मसङ्गत कुरा हो; त्यस समयमा, जब प्रभु येशू स्वर्गबाट आफ्ना सामर्थी दूतहरूका साथमा दन्किरहेको आगोमा प्रकट हुनुहुनेछ, र परमेश्वरलाई नचिन्नेहरू र हाम्रा प्रभु येशू ख्रीष्टको सुसमाचार पालन नगर्नेहरूलाई बदला दिनुहुनेछ (२ थेस्सलोनिकी १:७,८)।

अनि कसैले मेरा वचनहरू सुन्छ र विश्वास गर्दैन भने म उसको न्याय गर्दिनँ; किनभने म संसारको न्याय गर्नालाई होइन तर संसारलाई बचाउन आएँ (यूहन्ना १२:४७)।

किनभने उहाँले एउटा दिन ठहराउनुभएको छ, जुन दिनमा उहाँले आफूले नियुक्त गर्नुभएको मानिसद्वारा धार्मिकतापूर्वक संसारको न्याय गर्नुहुनेछ; उहाँलाई मरेकाहरूबाट बौराएर उठाईकन उहाँले सबै मानिसहरूलाई यस कुराको प्रमाण दिनुभएको छ (प्रेरित १७:३१)।

यस्ता अझ थुप्रै तुलनाहरू प्रस्तुत गर्न नसकिने होइन। तैपनि इस्राएल र मण्डली दुवैलाई दिइएका प्रतिज्ञाहरू पूरा हुन सक्नलाई पृथ्वीमा हाम्रा प्रभुको पुनरागमन हुनैपर्छ भनेर माथि उल्लेखित खण्डहरूबाट पर्याप्‍त रूपमा पुष्टि भइसकेको छ।

ख्रीष्टको दोस्रो आगमन सम्बन्धी गलत धारणाहरू

बाइबल अध्ययनको प्राथमिक चरणमा हुनुभएकाहरूलाई केही मदत पुग्ला कि भनेर ख्रीष्टको व्यक्तिगत र स-शरीर पुनरागमनको बाइबलीय शिक्षालाई खण्डन गर्ने विभिन्न उपकल्पनाहरू (theories) लाई यहाँ संक्षेपमा हेरिनेछ।

यस प्रबन्धको अन्तमा हुने उहाँको स-दृश्य र स-शरीर आगमन सम्बन्धी पवित्र शास्त्रका खण्डहरूलाई उहाँका ईश्वरीय गुणसित सम्बन्धित खण्डहरूसित अल्मल्याइनु हुँदैन भन्ने कुरा त प्रस्टै हुनुपर्छ। ईश्वरीय गुणले उहाँ सर्वज्ञानी र सर्वव्यापी हुनुभएकोले उहाँले सब कुरा जान्नुहुन्छ र उहाँ सधैं सबै ठाउँमा उपस्थित हुनुहुन्छ। मत्ती १८:२० र मत्ती २८:२० जस्ता खण्डहरू यसका नमूना हुन्।

यस अर्थमा उहाँ सधैं हामीसित हुनुहुन्छ, अँ यस युगको अन्तसम्म नै। यो त हृदयलाई हर्षित तुल्याउने सत्यता हो।

तर ख्रीष्ट येशू, जो एक मानव पनि हुनुहुन्छ, यस घडी स-शरीर व्यक्तिगत रूपमा परमेश्वरको दाहिने हातपट्टि हुनुहुन्छ जसरी प्रेरित १:९-११ ले प्रस्टै बताएको छ:

अनि उहाँले यी कुराहरू भनिसक्नुभएपछि तिनीहरूले हेर्दा-हेर्दै उहाँ माथि उठाइनुभयो; र बादलले उहाँलाई तिनीहरूको दृष्टिबाट ढाकिदियो। अनि उहाँ माथी जाँदै गर्नुहुँदा तिनीहरू आकाशतिर एक डिठ लगाएर हेरिरहेका थिए, तब हेर दुईजना सेतो वस्त्र लगाएका मानिसहरू तिनीहरूको बगलमा खडा भए; अनि उनीहरूले भने: "हे गालीलका मानिसहरूको, तिमीहरू किन आकाशतिर हेर्दै उभिँदछौ? तिमीहरूको बीचबाट स्वर्गमा उठाइनुहुने यही येशू नै यही प्रकारले आउनुहुनेछ, जसरी उहाँलाई स्वर्गतिर जाँदै गर्नुभएको तिमीहरूले देख्यौ" (प्रेरित १:१०,११)।

स्तिफनसले उहाँलाई त्यहीँ देखेका हुन्:

तर तिनले पवित्र आत्माले भरपूर भएर स्वर्गतिर डिठ लाएर हेर, र परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे, र भने: "हेर्नुहोस्, आकाशहरू खोलिएका र मानिसका पुत्रलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको म देख्दछु!" (प्रेरित ७:५५,५६)।

आफैद्वारा हाम्रा पापहरू शुद्ध पारेपछि उहाँ उच्च स्थानमा महामहिमको दाहिने हातपट्टि बस्नुभयो (हिब्रू १:३)।

यसकारण यदि तिमीहरू ख्रीष्टसँग बिउँतिएका छौ भने माथिका कुराहरू खोज, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हाततर्फ बसिरहुनुभएको छ (कलस्सी ३:१)।

यसलाई चित्रण गर्ने एउटा उदाहरण: फ्रान्स र प्रस्सियाको यद्ध चलिरहँदा, भोन मोल्टके, आफ्नो बुद्धि र सीपद्वारा साथै टेलिग्राफ तार-प्रणालीमार्फत, साँच्ची नै हरेक युद्धस्थलमा उपस्थित थिए यद्यपि स-दृश्य र व्यक्तिगत रूपमा उनी आफ्नो बरलिनस्थित अफिसमा उपस्थित थिए। युद्धको पछिल्लो चरणमा उनी पेरिससामुको सेनासँग सम्मिलित भए अनि तब त्यहाँ उनको वास्तविक र स-दृश्य उपस्थिति हुन गयो। त्यसरी नै हाम्रा प्रभु आफ्नो ईश्वरीय गुणहरूको हैसियतले साँच्ची नै आफ्नो मण्डलीसँग अहिले नै उपस्थित हुनुहुन्छ, तर आफ्नो दोस्रो आगमनमा उहाँ स-दृश्य र व्यक्तिगत रूपमा यस पृथ्वीमा उपस्थित हुनुहुनेछ।

१) पेन्टेकोस्टको दिनमा भएको पवित्र आत्माको आगमन प्रभुको आगमन सम्बन्धीका अगमवाणीहरूको पूरा हुवाइ होइन न ता जोशिला जागृतिहरूमा वा आशिषमय प्रार्थना सभाहरूमा उहाँको उपस्थितिको अनुभव गरिनु नै त्यसको पूरा हुवाइ हो, किनकि:

(१) यस्तो व्याख्याले पवित्र आत्मालाई ख्रीष्टको एक अभिव्यक्ति (manifestation) मात्र तुल्याएर व्यावहारिक रूपमा त्रिएकताको शिक्षालाई रद्द गर्दछ।

(२) किनकि आत्माको आगमन सम्बन्धी आफ्नो प्रतिज्ञामा ख्रीष्टले उहाँलाई "अर्को शान्तिदाता" (यूहन्ना १४:१६) को संज्ञा दिनुभएको छ; र यूहन्ना १६:७ मा ख्रीष्ट भन्नुहुन्छ: "म गइनँ भने शान्तिदाता तिमीहरूकहाँ आउनुहुनेछैन; तर म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु।"

(३) किनकि प्ररितको पुस्तक, पत्रहरू र प्रकाशको पुस्तकका लेखकहरूले प्रभुको आगमनलाई पेन्टेकोस्टपछि र सधैं भविष्यमा हुने भनी एक सय पचास भन्दा बढी पटक उल्लेख गरेको पाइन्छ।

(४) किनकि ख्रीष्टको आगमनमा हुने भनी भविष्यवाणी गरिएका कुनै पनि घटनाहरू पेन्टेकोस्टमा पूरा भएनन्। ती हुन्: सुतेका पवित्र जनहरूको बौरिउठाइ (१ कोरिन्थी १५:२२,२३; १ थेस्सलोनिकी ४:१३-१६); जीवित रहेका विश्वासीहरूको "बदली" जसमार्फत उनीहरूले "अविनाशलाई पहिरनैपर्छ" -- तिनीहरूका "दीनहीन शरीर...उहाँको महिमापूर्ण शरीरजस्तै बनाइनेछ" र तिनीहरू प्रभुलाई भेट्नका लागि हावामा उठाइनेछन् (१ कोरिन्थी १५:५१-५३; १ थेस्सलोनिकी ४:१७; फिलिप्पी ३:२०,२१); र बडो सामर्थ्य र महिमासहित मानिसका पुत्रको स-दृश्य आगमनको कारण पृथ्वीका सबै कुलहरूले विलाप गर्नेछन् (मत्ती २४:२९,३०; प्रकाश १:७)।

हाम्रा प्रभुको आगमनको सेरोफेरोका घटनाहरू यिनै हुन्। जब उहाँ आउनुहुनेछ, यी घटनाहरू प्रत्यक्ष हुनेछन्। पेन्टेकोस्टमा यी मध्ये कुनै पनि पूरा भएनन् न ता पवित्र आत्माको अन्य कुनै अभिव्यक्तिमा नै पूरा भएका छन्।

२) एक पापीको जीवन परिवर्तित हुनु प्रभुको दोस्रो आगमन होइन।

कैयौं संख्यामा रहेका परिस्थितिजन्य भविष्यवाणीहरू सन्तोषजनक रूपमा यसरी नै पुष्टि हुने भन्ने हास्यास्पद उपकल्पनालाई गम्भीर रूपमा त नअपनाइनु पर्ने जस्तो देखिन्छ। यहाँ यति मात्र बताउन आवश्यक छ कि,

(१) पवित्र शास्त्र अनुसार वास्तविकता यसको ठीक विपरित छ। जीवन परिवर्तन एक पापी ख्रीष्टमा आएर हुने हो, ख्रीष्ट पापीकहाँ आउनुभएर हुने होइन (मत्ती ११:२८; यूहन्ना ५:४०; यूहन्ना ७:३७; ६:३७)।

(२) प्रभुको आगमनमा हुने भनी भविष्यवाणी गरिएका माथि उल्लेखित कुनै पनि घटनाहरू पापीको जीवन परिवर्तनको घडीमा पूरा हुँदैनन्।

३) ख्रीष्टियनको मृत्यु ख्रीष्टको दोस्रो आगमन होइन; किनकि

(१) प्रभुको एउटा भनाइलाई नबुझेर जब चेलाहरूले उनीहरूमध्येका एकजना उहाँ नआउन्जेलसम्म रहिरनेछन् भन्ने अर्थमा लिए, तब 'यो चेलाचाहिँ मर्दैन' भन्ने कुरा भाइहरूको बीचमा फैलियो (यूहन्ना २१:२२- २४)।

(२) बाइबलका लेखकहरूले विश्वासी जनको मृत्युलाई सधैं उसको प्रास्थानको रूपमा उल्लेख गरेको पाइन्छ। प्रभुको आगमनलाई ख्रीष्टियनको मृत्युसँग गाँसेको एउटै खण्ड पाइँदैन। हेर्नुहोस्, फिलिप्पी १:२३; २ तिमोथी ४:६; २ कोरिन्थी ५:८। मर्नै लागेका स्तिफनसले स्वर्ग खोलिएका देखे र मानिसका पुत्र आइरहनुभएको होइन तर "परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको" देखे (प्रेरित ७:५५,५६)।

(३) प्रभुको आगमनमा हुने भनी भविष्यवाणी गरिएका माथि उल्लेखित कुनै पनि घटनाहरू ख्रीष्टियनको मृत्युको घडीमा पूरा हुँदैनन्।

४) रोमीहरूद्वारा सम्पन्न गरिएको यरूशलेमको विध्वंश ख्रीष्टको दोस्रो आगमन थिएन; किनकि

(१) मत्ती २४ र लूका २१ मा तीनओटा घटनाहरू भविष्यवाणी गरिएका छन्: मन्दिरको विध्वंश, प्रभुको आगमन र संसार (युग) को अन्त। मत्ती २४:३ मा हेर्नुहोस्। यी प्रस्टै भिन्न-भिन्न कुराहरूलाई बिना आधार समीश्रण गर्नाले नै एउटाको पूरा हुवाइ तीनैओटाको पूरा हुवाइ हो भन्ने धारणा उब्जिन गएको हो।

(२) प्रेरित यूहन्नाले प्रकाशको पुस्तकलाई यरूशलेमको विध्वंशपश्चात् लेखेका हुन् तर उनले प्रभुको आगमन भविष्यमै हुने भनी बताउँछन् (प्रकाश १:४,७; २:२५; ३:११; २२:७,१२,२०)। बाइबलको अन्तिम प्रतिज्ञा यस्तो छ, "साँच्ची नै म चाँडै आउँछु"; र अन्तिम प्रार्थना यस्तो छ, "ज्यु, आउनुहोस्, हे प्रभु येशू।"

(३) प्रभुको आगमनमा हुने भनी भविष्यवाणी गरिएका माथि उल्लेखित कुनै पनि घटनाहरू यरूशलेमको विध्वंशको घडीमा पूरा भएनन्। हेर्नुहोस्, १ थेस्सलोनिकी ४:१४-१७; मत्ती २४:२९-३१; मत्ती २५:३१,३२ इत्यादि।

५) इसाईमतको विस्तार ख्रीष्टको दोस्रो आगमन होइन; किनकि

(१) इसाईमतको विस्तार बिस्तारै हुने कुरा हो भने पवित्र शास्त्रले प्रभुको पुनरागमनचाहिँ झट्टैअचानक हुने बताएको छ (मत्ती २४:२७,३६-४२,४४,५०; २ पत्रुस ३:१०; प्रकाश ३:३)।

(२) इसाईमतको विस्तार एक प्रक्रिया हो भने प्रभुको पुनरागमनलाई पवित्र शास्त्रले सधैं एउटा घटनाको रूपमा उल्लेख गरेको पाइन्छ।

(३) इसाईमतको विस्तारले दुष्टहरूलाई मुक्ति ल्याउँछ भने ख्रीष्टको आगमनले उनीहरूलाई मुक्ति होइन तर "अचानक विनाश" ल्याउनेछ (१ थेस्सलोनिकी ५:२,३; २ थेस्सलोनिकी १:७-१०; मत्ती २५:३१-४६)।

६) यी कथित व्याख्या र उपकल्पनाहरू व्यापक भए तापनि तिनीहरू कुनै पनि शिक्षण संस्था वा सम्प्रदायका नाम चलेका ईश्वर-शास्त्रीका पुस्तकहरूमा भेटिँदैनन् न ता कुनै पनि सर्वमान्य बाइबल शिक्षकले यी धारणाहरूलाई समर्थन गरेको पाइन्छ। यी सबैले ख्रीष्टको स-शरीर स-दृश्य दोस्रो आगमनकै शिक्षालाई समर्थन गरेको पाइन्छ।

तरैपनि कहिलेकाहीँ यस्तो दाबी गरेको पाइन्छ कि सुसमाचार प्रचारद्वारा संसारै इसाई नबनेसम्म र उक्त संसारले एक हजार वर्षसम्म आफूलाई ख्रीष्टको आत्मिक राज्यको अधीनतामा नसुम्पेसम्म दोस्रो आगमन हुनै सक्दैन। यो धारणा पूरै गलत छ किनकि:

(१) पवित्र शास्त्रले ख्रीष्टको दोस्रो आगमनको घडीमा पृथ्वीको अवस्था सहस्राब्दीको आशिषले होइन बरु भयानक दुष्टताले भरिएको हुनेछ भनी बयान गरेको पाइन्छ (लूका १७:२६-३२ लाई उत्पत्ति ६:५-७ सित तुलना गर्नुहोस्; उत्पत्ति १३:१३; लूका १८:८; लूका २१:२५- २७)।

(२) पवित्र शास्त्रले वर्तमान प्रबन्धको सफरलाई शुरूदेखि अन्तसम्मै यस्तो प्रकारले बयान गरेको पाइन्छ कि उक्त बयानले यस प्रबन्धको कुनै पनि समयमा संसार इसाई बन्न सक्ने सम्भावनालाई कुनै ठाउँ दिँदैन (मत्ती १३:३६-४३,४७-५०; मत्ती २५:१-१०; १ तिमोथी ४:१; २ तिमोथी ३:१-९; ४:३,४; २ पत्रुस ३:३,४; यहूदा १७-१९)।

(३) वर्तमान प्रबन्ध अन्तर्गत परमेश्वरको उद्देश्य संसारको धर्म-परिवर्तन (conversion) होइन, बरु "अन्यजातिहरूका बीचबाट आफ्ना नामका निम्ति एउटा जाति निकाल्नालाई" हो। यस कुरापछि उहाँ फर्कनुहुनेछ अनि तब मात्र, यसभन्दा अघि होइन, संसार परिवर्तित हुनेछ। हेर्नुहोस्, प्रेरित १५:१४-१७; मत्ती २४:१४ ("साक्षी हुनालाई"); रोमी १:५ (सबै जातिहरू "बाट" होइन सबै जातिहरूका "बीचमा"); रोमी ११:१४ ("सबैलाई" होइन "कतिलाई"); १ कोरिन्थी ९:२२; प्रकाश ५:९ ("हरेक जाति" होइन "हरेक जातिबाट")।

(४) ख्रीष्टको दोस्रो आगमनको दिन आउन अझै हजार वर्षभन्दा बढी समय बाँकी नै छ भने त त्यसको निम्ति "जागो" रहनुपर्छ र उक्त आगमनको "बाटो हेर्दै" जिउनुपर्छ भन्नु अर्थहीन हुन्छ।

अध्ययन प्रश्नहरू
  1. मसीहको सम्बन्धमा पुरानो नियममा पाइने भविष्यवाणीका दुईओटा धाराहरू कुन-कुन हुन्?
  2. यिमध्ये कुनचाहिँ पूरा भइसक्यो?
  3. कहिले?
  4. अर्कोचाहिँ कहिले पूरा हुनेछ?

यी अध्यायहरू डा. सी. आई. स्कोफिल्डको उत्कृष्ट रचना Rightly Dividing the Word of Truth -- Being Ten Outline Studies of the More Important Divisions of Scripture (1896) का नेपाली रूपान्तर हुन्। यो महत्त्वपूर्ण सानो किताबलाई "बाइबलका महत्त्वपूर्ण भिन्नताहरू" शीर्षकमा वर्ड अफ ट्रुथ प्रकाशनले छापेको छ। पृष्ठ सङ्ख्या १००। मूल्य रू ७०। चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला।