व्यवस्था र अनुग्रह

यस पृष्ठलाई छाप्नुहोस्


सत्यको वचनको सबभन्दा प्रस्ट र उल्लेखनीय भिन्नता व्यवस्था र अनुग्रहको बीच रहेको पाइन्छ। बास्तवमा यी दुई फरक सिद्धान्तहरू नै दुई सबभन्दा महत्त्वपूर्ण प्रबन्धहरूलाई अर्थात् यहूदी र ख्रीष्टियन प्रबन्धहरूलाई छुट्ट्याउने विशिष्ट गुणहरू हुन्।

"किनभने मोशाद्वारा व्यवस्था दिइएको थियो, तर अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्टद्वारा आए" (यूहन्ना १:१७)।

तर यसको मतलब मोशा अघि व्यवस्था नै थिएन, र येशू ख्रीष्ट अघि अनुग्रह र सत्यता नै थिएन भन्ने अवश्य होइन। आदमलाई असल र खराबको ज्ञान दिने रूखको फल खानदेखि प्रतिबन्ध लगाइँदा (उत्पत्ति २:१७) व्यवस्था प्रकट गरिएको थियो, अनि परमप्रभु परमेश्वरले पाप गरेका आफ्ना प्राणीहरूको खोजी गर्नुहुँदा र उनीहरूलाई छालाका वस्त्र पहिराइदिनुहुँदा (उत्पत्ति ३:२१) अनुग्रह अति सुन्दर रूपमा प्रकट भएको थियो—यो त ख्रीष्टको सुन्दर चित्रण थियो "जो हाम्रा निम्ति धार्मिकता ठहरिनुभएको छ" (१ कोरिन्थी १:३०)। परमेश्वरको प्रकटित इच्छा आंशिक रूपमा -- यस अर्थमा व्यवस्था -- सधैंदेखि थियो र परमेश्वरको प्रकटित प्रेम र भलाइ पनि आंशिक रूपमा -- यस अर्थमा अनुग्रह -- सधैंदेखि थियो जसको प्रमाण पवित्र शास्त्रमा प्रशस्तै पाइन्छ। तरैपनि पवित्र शास्त्रभरि उल्लेखित "व्यवस्था" चाहिँ मोशाद्वारा दिइएको थियो अनि यस व्यवस्थाले नै सिनैदेखि कल्वरीसम्मको समयलाई रूपरंग दिएको पाइन्छ जसरी कल्वरीदेखि शुरू हुने प्रबन्धलाई अनुग्रहले विशेष रूपरंग दिएको छ र जुन प्रबन्धको अन्त्य, भविष्यवाणी गरिएअनुसार, मण्डलीको र्‍याप्चर अर्थात् उठाइलगिने घटनामा हुनेछ।

तरैपनि अति महत्त्वपूर्ण कुरा के छ भने पवित्र शास्त्रले कुनै पनि प्रबन्ध अन्तर्गत यी दुई सिद्धान्तहरूलाई कहिल्यै मिसाउने काम गर्दैन। व्यवस्थाको स्थान र काम अनुग्रहको भन्दा सधैं पूर्ण रूपमा भिन्न र फरक रहेको पाइन्छ। व्यवस्थामा परमेश्वरले प्रतिबन्ध लगाउने र माग राख्‍ने काम गर्नुहुन्छ। अनुग्रहमा परमेश्वरले आग्रह गर्ने र दिने काम गर्नुहुन्छ। व्यवस्था दोषी ठहराउने सेवा हो भने अनुग्रहचाहिँ क्षमाको सेवा हो। व्यवस्थाले श्राप दिन्छ भने अनुग्रहले उक्त श्रापबाट छुटकारा दिन्छ। व्यवस्थाले मार्छ, अनुग्रहले जीवित बनाउँछ। व्यवस्थाले परमेश्वरको सामु हरेक मुख बन्द गरिदिन्छ, अनुग्रहले हरेक मुख उहाँको प्रशंसा गर्नलाई खोलिदिन्छ। व्यवस्थाले मानिस र परमेश्वरको बीच ठूलो दोषरूपी दूरी खडा गरिदिन्छ, अनुग्रहले दोषी मानिसलाई परमेश्वरको नजिक ल्याउँदछ। व्यवस्थाले भन्छ, "आँखाको बदला आँखा, र दाँतको बदला दाँत", अनुग्रहले भन्छ, "दुष्टको सामना नगर; तर जसले तिम्रो दाहिने गालामा थप्पड लाउला, त्यसपट्टि अर्को पनि फर्काइदेऊ।" व्यवस्थाले भन्छ, "आफ्नो शत्रुलाई घृणा गर", अनुग्रहले भन्छ, "आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई श्राप दिनेहरूलाई आशिष देओ।" व्यवस्थाले भन्छ, काम गर तब जीवन पाउनेछौ; अनुग्रहले भन्छ, विश्वास गर तब जीवन पाउनेछौ। व्यवस्थाको कहिल्यै कुनै प्रचारक थिएन, अनुग्रह प्रत्येक प्राणीलाई प्रचारिनुपर्छ। व्यवस्थाले सबभन्दा असल मानिसलाई समेत दोषी ठहर्‍याउँछ, अनुग्रहले सबभन्दा खराब मानिसलाई समेत सित्तैंमा धर्मी ठहर्‍याउँछ (लूका २३:४३; रोमी ५:८; १ तिमोथी १:१५; १ कोरिन्थी ६:९-११)। व्यवस्था परीक्षण-प्रणाली हो, अनुग्रहचाहिँ निगाह-प्रणाली। व्यवस्थाले एउटी व्यभिचारिणीलाई ढुंगाले मार्छ, अनुग्रहले भन्छ, "म. . तिमीलाई दोषी ठहराउँदिनँ; जाऊ, र अबदेखि पाप नगर।" व्यवस्था अन्तर्गत गोठालोका निम्ति भेंडा मर्दछ, अनुग्रह अन्तर्गत भेंडाका निम्ति गोठालो मर्दछन्।

जुनै पनि खण्डमा पवित्र शास्त्रले व्यवस्था र अनुग्रहलाई एकदमै भिन्न भूमिकायुक्त प्रणालीको रूपमा प्रस्तुत गरेको पाइन्छ।

आज शिक्षा र प्रचारमा प्रायः यी दुईको मिसावटले दुवैलाई बिगारेको पाइन्छ। एकातिर व्यवस्था त्रासपूर्ण हुन छाडेको छ भने अर्कोतिर अनुग्रह बिनादामको हुन छाडेको छ।

नयाँ नियममा "व्यवस्था" भन्नाले मोशाद्वारा दिइएको व्यवस्था बुझिन्छ (रोमी ७:२३ अपवादमा पर्छ)। तर कहिलेकाहीँ यसले सम्पूर्ण व्यवस्थालाई जनाउँछ, अर्थात् दुवै "नैतिक व्यवस्था" (दस आज्ञा) र विधिहरूको व्यवस्थालाई; कहिलेकाहीँ यसले आज्ञाहरूलाई मात्र जनाउँछ र कहिलेकाहीँ विधिहरूलाई मात्र। उदाहरणको लागि रोमी ६:१४, गलाती २:१६ र ३:२ पहिलो वर्गमा पर्छ। रोमी ३:१९ र ७:७-१२ दोस्रोमा र कलस्सी २:१४-१७ तेस्रोमा।

साथै यो पनि स्मरणमा राखिनुपर्छ, विधिहरूको व्यवस्थामा नै ती गजबका प्रतीकहरू समावेश छन् अर्थात् पूजाहारी र बलिको रूपमा प्रभु येशू ख्रीष्टको व्यक्तित्व र कार्यका सुन्दर चित्रणहरू छन् जसरी भेट हुने पालमा (प्रस्थान २५-३०) र लेवीय बलिदानहरूमा (लेवी १-७) ती पाइन्छन्, जोचाहिँ आत्मिकहरूका लागि सधैं अद्‍भुत र मनोहर हुन्छन्।

केवल "ढुङ्गाहरूमा लेखिएको र खोपिएको मृत्युको सेवा" (२ कोरिन्थी ३:७) को आधारमा बुझ्न खोज्दा नबुझिने भजनसंग्रहका कतिपय वाक्यहरू समेत ख्रीष्टको सम्बन्धमा र उद्धार पाएकाहरूको सम्बन्धमा लेखिएका हुन् भनेर पढ्दा सफासित बुझिन्छ।

तर उसको आनन्द परमप्रभुको व्यवस्थामा हुँदछ, र उहाँकै व्यवस्थामा दिनरात मनन गर्दछ (भजनसंग्रह १:२)

आहा, तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु! दिनभरि मेरो ध्यान यसैमा रहिरहन्छ (भजनसंग्रह ११९:९७)।

व्यवस्थाको अनुग्रहसितको ठीक सम्बन्धको सवालमा मण्डली तीनओटा त्रुटीहरूले पीडित हुँदै आएको छ।

  1. व्यवस्थाहीनवाद (ANTINOMIANISM): विश्वासी जन कुनै नियमको अधीनमा छैन भन्ने त्रुटिपूर्ण शिक्षा हो यो। परमेश्वरको सित्तैंको अनुग्रहले, बिनायोग्यता बचाइने हुनाले, मानिस पवित्र जीवन जिउन बाध्य छैन भन्ने गलत परिकल्पना हो यो।

हामी परमेश्वरलाई चिन्छौं भनी तिनीहरू दाबी गर्छन्, तर कामहरूद्वारा चाहिँ तिनीहरूले उहाँलाई इन्कार गर्छन्; किनकि तिनीहरू घिनलाग्दा, अनाज्ञाकारी र हरेक असल कामका लागि निकम्मा छन् (तीतस १:१६)।

किनकि कति मानिसहरू लुकीछिपी भित्र पसेका छन्, जोचाहिँ अघिदेखि नै यही दण्डका निम्ति ठहराइएका भक्तिहीन मानिसहरू हुन् जसले हाम्रा परमेश्वरको अनुग्रहलाई कामुकतामा परिवर्तन गर्छन्, र एक मात्र मालिक परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टलाई इन्कार गर्छन् (यहूदा ४)।

  1. विधिवाद (CEREMONIALISM): विश्वासीहरूले लेवीय विधिहरू पालन गर्नैपर्छ भनी जुन माग राखिएको थियो, त्यो नै विधिवादको पहिलो ऐतिहासिक रूप थियो।

अनि कोही मानिसहरूले यहूदियाबाट झरेर भाइहरूलाई शिक्षा दिए: "मोशाको रीतिअनुसार तिमीहरूको खतना नहोउन्जेल तिमीहरूले मुक्ति पाउन सक्दैनौ (प्रेरित १५:१)।

ख्रीष्टियन विधिहरू बिना मुक्ति पाइँदैन भन्ने झूटा शिक्षा नै यसको आधुनिक रूप हो।

  1. गलातीवाद (GALATIANISM), अर्थात् व्यवस्था र अनुग्रहलाई मिसाउने काम; आंशिकरूपमा अनुग्रहले र आंशिकरूपमा व्यवस्थाले मानिस धर्मी ठहरिन्छ भन्ने शिक्षा; अथवा, अशक्त पापीलाई व्यवस्था पालन गर्न सक्नलाई अनुग्रह दिइन्छ भन्ने शिक्षा।

सबभन्दा व्यापक त्रुटी यही हो; गलातीहरूलाई लेखिएको पत्रमा पाइने गम्भीर चेताउनीहरू, अकाट्य तर्कहरू र जोडदार अभिव्यक्तिहरू नै यस त्रुटी विरुद्ध लेखिएको परमेश्वरको निष्कर्षपूर्ण प्रत्युत्तर हो।

तिमीहरूबाट म यो मात्र जान्न चाहन्छु -- तिमीहरूले आत्मालाई व्यवस्थाका कामहरूद्वारा पायौ कि विश्वासको समाचारद्वारा? के तिमीहरू यति बुद्धिहीन छौ? आत्मामा शुरु गरेर अब शरीरमा सिद्ध्याउँछौ (गलाती ३:२,३)?

म छक्क पर्दछु, किनकि जसले तिमीहरूलाई ख्रीष्टको अनुग्रहमा बोलाउनुभयो, उहाँबाट तिमीहरू यति चाँडै अर्कै सुसमाचारतिर फर्क्यौ; जुन सुसमाचार अर्को होइन; तर तिमीहरूलाई विचलित पार्ने र ख्रीष्टको सुसमाचार उल्टापुल्टा पार्न चाहनेहरू कोहीकोही छन्। तर हामीले वा स्वर्गबाटको कुनै दूतले पनि, हामीले तिमीहरूलाई प्रचार गरेको सुसमाचारबाहेक अर्को कुनै सुसमाचार तिमीहरूलाई सुनायो भने त्यो श्रापित होओस् (गलाती १:६-८)।

यस महत्त्वपूर्ण विषयको बाइबलीय शिक्षाको रूपरेखा निम्नलिखित खण्डहरूले प्रस्ट पार्न मदत गर्नेछ। उल्लेखित खण्डहरूले व्यवस्थाको केवल नैतिक पक्षलाई जनाउँछन्।

  1. व्यवस्था कस्तो कुरा हो

यसकारण व्यवस्था पवित्र छ, र आज्ञा पनि पवित्र, न्यायपूर्ण र असल छ (रोमी ७:१२)।

किनकि हामी जान्दछौं, व्यवस्था आत्मिक छ; तर मचाहिँ शारीरिक छु, र पापको हातमा बेचिएको छु (रोमी ७:१४)।

किनकि भित्रको मानिसअनुसार परमेश्वरको व्यवस्थामा म आनन्दित हुन्छु (रोमी ७:२२)।

तर हामी जान्दछौं, व्यवस्था असल छ, यदि कसैले यसलाई नियमअनुसार प्रयोग गर्‍यो भने (१ तिमोथी १:८)।

तर व्यवस्था विश्वासबाटको होइन, तर 'जुन मान्छेले तिनलाई पालन गर्छ, ऊ तीद्वारा जिउनेछ' (गलाती ३:१२)।

  1. व्यवस्थाको न्यायोचित प्रयोग

तब हामी के भनौं त? के व्यवस्था पाप हो? कदापि होइन! तर बिनाव्यवस्था, पाप भनेको के हो, म जान्नेथिइनँ; किनकि 'तिमीले लोभ नगर्नू' भनी व्यवस्थाले मलाई नभनेको भए लोभलालच के हो, म जान्नेथिइनँ (रोमी ७:७।

तब के, जे असल छ, त्यही मेरा लागि मृत्यु बन्यो त? कदापि होइन! तर पापले, आफू पाप नै देखा परोस् भनेर जे असल छ, त्यहीद्वारा ममा मृत्यु उत्पन्न गरिरहेको थियो: आज्ञाद्वारा पाप ज्यादै पापमय बनोस् भनेर (रोमी ७:१३)।

यसकारण व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिनेछैन; किनकि व्यवस्थाद्वारा पाप चिन्ने ज्ञान हुन्छ (रोमी ३:२०)।

तब व्यवस्था केका लागि हो? यो ता जुन वंशलाई प्रतिज्ञा दिइएको थियो, त्यो नआउन्जेल अपराधहरूले गर्दा थपिएको हो; र स्वर्गदूतहरूद्वारा एउटा मध्यस्थको हातमा ठहराइएको हो (गलाती ३:१९)

अब हामी जान्दछौं -- व्यवस्थाले जे पनि भन्दछ, त्यसले व्यवस्थाको अधीनमा बसेकाहरूलाई भन्दछ, कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको सामु दोषी ठहरियोस् (रोमी ३:१९)।

[व्यवस्थाको केवल एउटै भाषा छ: "व्यवस्थाले जे पनि भन्दछ"। दोषी ठहर्‍याउनलाई मात्र बोल्दछ यो।]

किनकि जतिजना व्यवस्थाका कामहरूबाटका हुन्, तिनीहरू श्रापमनि छन्; किनकि लेखिएको छ: 'व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुराहरूमा तिनलाई पालन गर्नालाई लागिनरहने हरेक जन श्रापित होस्' (गलाती ३:१०)

किनकि जसकसैले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर पनि एउटै कुरामा चुक्यो भने ऊ सबै कुरामा दोषी ठहरिएको छ (याकूब २:१०)

ढुङ्गाहरूमा लेखिएको र खपिएको मृत्युको सेवा (२ कोरिन्थी ३:७)

किनकि दोषी ठहराउने सेवा (२ कोरिन्थी ३:९)

किनकि म एकपल्ट व्यवस्थाबिना जिउँदो थिएँ; तर जब आज्ञा आयो, तब पाप जाग्यो, र म मरें (रोमी ७:९)।

अनि मृत्युको खील पाप हो; अनि पापको शक्ति व्यवस्था हो (१ कोरिन्थी १५:५६)।

यसकारण यो स्पष्ट छ, मानिस व्यवस्थाबिना रहँदै आएको २,५०० वर्षपछि उसलाई व्यवस्था दिनु (यूहन्ना १:१७; गलाती ३:१७) मा परमेश्वको उद्देश्य यो थियो, दोषी मानिसलाई पहिला उसको पापको ज्ञान दिलाउनु र त्यसपछि परमेश्वरका न्यायोचित मागहरूको सामु उसको पूर्ण शक्तिहीनता देखाउनु। यसको एउटै काम र पूर्ण काम दोषी ठहराउनु र मृत्युदण्ड दिनु हो।

  1. व्यवस्थाले के गर्न सक्दैन

यसकारण व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिनेछैन; किनकि व्यवस्थाद्वारा पाप चिन्ने ज्ञान हुन्छ (रोमी ३:२०)।

तर मानिस व्यवस्थाका कामहरूद्वारा धर्मी ठहरिँदैन, तर येशू ख्रीष्टको विश्वासद्वारा मात्र धर्मी ठहरिन्छ भन्ने जानेर हामी आफैले पनि व्यवस्थाका कामहरूद्वारा होइन, तर ख्रीष्टको विश्वासद्वारा धर्मी ठहरिऔं भनेर येशू ख्रीष्टमाथि विश्वास गर्‍यौं; किनकि व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी धर्मी ठहरिनेछैन (गलाती २:१६)।

परमेश्वरको अनुग्रहलाई म व्यर्थको तुल्याउँदिनँ; किनकि व्यवस्थाद्वारा धार्मिकता आउँदो हो ता ख्रीष्ट व्यर्थमा मर्नुभयो (गलाती २:२१)।

तर परमेश्वरको दृष्टिमा व्यवस्थाद्वारा कोही पनि धर्मी ठहरिँदैन, यो कुरा स्पष्ट छ; किनभने 'धर्मी जन विश्वासद्वारा जिउनेछ' (गलाती ३:१३)।

किनकि जुन कुरा व्यवस्थाले शरीरद्वारा कमजोर भएको हुनाले गर्न सकेन, त्यही कुरा परमेश्वरले आफ्नो पुत्रलाई पापमय शरीरको समानतामा र पापका निम्ति पठाईकन गर्नुभयो र शरीरमा पापलाई दण्डको आज्ञा दिनुभयो (रोमी ८:३)।

अनि मोशाको व्यवस्थाद्वारा तपाईंहरू जुन-जुन कुराहरूबाट धर्मी ठहरिन सक्नुभएन, ती सबै कुराहरूबाट हरेक विश्वास गर्ने मानिस उहाँद्वारा धर्मी ठहरिन्छ (प्रेरित १३:३९)।

किनकि व्यवस्थाले कुनै कुरा पनि सिद्ध पारेन, तर उत्तम आशा भित्र्याइएकोले पार्‍यो; जसद्वारा हामी परमेश्वरको नजिक जान्छौं (हिब्रू ७:१९)।

  1. विश्वासी जन व्यवस्थाको अधीनमा छैन

रोमी ६:१-१० ले विश्वासी जन ख्रीष्टसित उहाँको मृत्युमा सम्मिलित भएको छ भन्ने शिक्षालाई प्रस्तुत गर्दछ जसको चित्रण बप्‍तिस्माले दिन्छ। त्यसपछि ६:११-२२ ले विश्वासी जनको हिँडाइ अर्थात् उसको जीवनको नियमलाई निर्धारण गर्ने सिद्धान्तहरूलाई प्रस्तुत गर्दछ। यसमा रोमी ६:१४ ले छुटकाराको महान् सिद्धान्तलाई बताउँदछ – पापको दोषबाटको छुटकारा होइन, त्यो त ख्रीष्टको रगतले दिलायो – तर पापको शक्तिबाटको छुटकारा अर्थात् यसको दासत्वबाटको छुटकारा।

"किनकि पापले तिमीहरूमाथि राज्य गर्नेछैन; किनभने तिमीहरू व्यवस्थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ" (रोमी ६:१४)

त्यसोभए पवित्र जीवन जिउन आवश्यक छैन भनेर सिकाउने कुरूप व्यवस्थाहिनवादतर्फ यसले नडोर्‍याओस् भन्ने हेतुले पवित्र आत्माले तुरुन्तै यसो भन्दै थप्नुहुन्छ:

"तब के? हामी व्यवस्थाको अधीनमा छैनौं, तर अनुग्रहको अधीनमा छौं भनेर के हामी पाप गरौं त? कदापि होइन!" (रोमी ६:१५)।

जवाफमा प्रत्येक नवीकृत हृदयले अवश्य भन्नेछ, "आमेन"।

त्यसपछि रोमी सातौं अध्यायले व्यवस्थाबाटको छुटकाराको अर्को सिद्धान्त प्रस्तुत गर्दछ।

यसकारण हे मेरा भाइहरूहो, परमेश्वरका निम्ति फल फलाऔं भनेर अर्का व्यक्तिका अर्थात् जो मरेकाहरूबाट बौरेर उठ्नुभएको छ, उहाँका हुनालाई तिमीहरू पनि ख्रीष्टको शरीरद्वारा व्यवस्थाका निम्ति मरेका भयौ। किनकि जब हामी शरीरमा थियौं, तब व्यवस्थाद्वारा जगाइएका पापहरूका वासनाहरूले मृत्युका निम्ति फल फलाउनालाई हाम्रा अङ्गहरूमा काम गर्दथे। तर अब लेखिएको व्यवस्थाको पुरानोपनामा होइन, तर आत्माको नयाँपनामा सेवा गर्न सकौं भनेर जसको बन्धनमा हामी थियौं, त्यसका निम्ति मरीकन हामी व्यवस्थाबाट मुक्त भएका छौं (रोमी ७:४-६)।

(माथि उल्लेख भएको व्यवस्थाचाहिँ विधिको व्यवस्था होइन भन्ने तथ्य पद ७ बाट जानिन्छ)।

किनकि परमेश्वरका निम्ति बाँचूँ भनेर म व्यवस्थाद्वारा व्यवस्थाका निम्ति मरेको छु (गलाती २:१९)

तर विश्वास आउनुभन्दा पहिले यही व्यवस्थाको अधीनतामा हाम्रो रखवाली भयो, र पछिबाट प्रकट हुने विश्वासका निम्ति हामी थुनामा राखियौं। यसकारण व्यवस्थाचाहिँ, हामी विश्वासद्वारा धर्मी ठहरिऔं भनेर हामीलाई ख्रीष्टकहाँ ल्याउने हाम्रो शिक्षक भएको छ। तर विश्वास आइसकेपछि चाहिँ हामी अब उसो शिक्षकको अधीनतामा छैनौं (३:२३-२५)

तर हामी जान्दछौं, व्यवस्था असल छ, यदि कसैले यसलाई नियमअनुसार प्रयोग गर्‍यो भने; यो कुरा थाह गर्दै कि व्यवस्थाचाहिँ धर्मी मानिसका निम्ति बनाइएको होइन, तर अधर्मी र अटेरिका निम्ति, भक्तिहीन र पापीका निम्ति, अपवित्र र अशुद्धका निम्ति, बाबु मार्नेहरू र आमा मार्नेहरूका निम्ति, मान्छे मार्नेहरूका निम्ति (१ तिमोथी १:८-९)।

  1. विश्वासीको जिउने नियम के हो?

जसले 'म उहाँमा रहन्छु' भन्छ, ऊ आफै पनि, जसरी उहाँ हिँड्नुहुन्थ्यो, उसरी हिँड्नुपर्छ (१ यूहन्ना २:६)।

उहाँले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभएको छ; यसैबाट हामी परमेश्वरको प्रेम थाह पाउँछौं; र हामीले भाइहरूका निम्ति आफ्ना प्राणहरू अर्पण गर्नुपर्छ (१ यूहन्ना ३:१६)

हे प्रियहो, म तिमी परदेशीहरू र यात्रीहरूलाई विन्ती गर्दछु -- प्राणको विरोधमा युद्ध गर्ने शारीरिक अभिलाषाहरूबाट टाढो बस (१ पत्रुस २:११ साथै पद १२-२३ मा पनि हेर्नुहोस्)

यसकारण म, प्रभुको कैदी, तिमीहरूलाई विन्ती गर्दछु: जुन बोलावटले तिमीहरू बोलाइएका छौ, त्यसैको योग्य चालमा हिँड, सबै दीनता र नम्रतासाथ, सहनशीलतासित प्रेमले एक-अर्कालाई सह (एफेसी ४:१,२)।

यसकारण तिमीहरू प्रिय बालकहरूझैं परमेश्वरका देखासिकी गर्नुहरू होओ; र प्रेममा हिँड, जसरी ख्रीष्टले पनि हामीलाई प्रेम गर्नुभयो (एफेसी ५:१,२)।

किनकि बितेको समयमा तिमीहरू अन्धकार थियौ, तर अब प्रभुमा तिमीहरू ज्योति हौ; ज्योतिका सन्तानहरूझैं हिँड (एफेसी ५:८)।

यसकारण तिमीहरू होसियारसँग हिँडिरहेका छौ कि छैनौ, हेर; बुद्धिहीनझैं होइन, तर बुद्धिमानझैं हिँड; समयलाई खेर जान नदेओ, किनकि दिन खराब छन् एफेसी ५:१५,१६)।

तर म यो भन्दछु: आत्मामा हिँड, र तिमीहरूले शरीरको अभिलाषा कुनै रीतिले पूरा गर्नेछैनौ (गलाती ५:१६)।

किनकि जस्तो मैले तिमीहरूलाई गरेको छु, त्यस्तै तिमीहरूले पनि गर्नुपर्छ भनेर मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु (यूहन्ना १३:१५)।

तिमीहरूले मेरा आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले पनि मेरा पिताका आज्ञाहरू पालन गरेको छु, अनि उहाँको प्रेममा रहन्छु (यूहन्ना १५:१०)।

जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, उसरी नै तिमीहरूले एक‍-अर्कालाई प्रेम गर, यो मेरो आज्ञा हो (यूहन्ना १५:१२)।

जससँग मेरा आज्ञाहरू छन् र तिनलाई पालन गर्दछ, उही मलाई प्रेम गर्ने हो। अनि जसले मलाई प्रेम गर्दछ, ऊ मेरा पिताद्वारा प्रेम गरिनेछ, अनि म उसलाई प्रेम गर्नेछु, र आफैलाई उसकहाँ प्रकट गर्नेछु (यूहन्ना १४:२१)।

अनि हामी जे माग्छौं, सो उहाँबाट पाउँछौं; किनभने हामी उहाँका आज्ञाहरू पालन गर्दछौं, र जुन कुराहरू उहाँको दृष्टिमा मनपर्दा छन्, ती गर्दछौं। अनि उहाँको आज्ञा यही हो -- उहाँका पुत्र येशू ख्रीष्टको नाममा हामीले विश्वास गर्नुपर्छ, र उहाँले हामीलाई आज्ञा दिनुभएअनुसार एक-अर्कालाई प्रेम गर्नुपर्छ (१ यूहन्ना ३:२२,२३)।

'जुन वाचा म ती दिनहरूपछि तिनीहरूसित बाँध्नेछु, त्यो यही हो, प्रभु भन्नुहुन्छ -- म मेरा व्यवस्थाहरू तिनीहरूका हृदयहरूभित्र हालिदिनेछु' (हिब्रू १०:१६)।

  1. अनुग्रह के हो?

तर जब हाम्रा मुक्तिदाता परमेश्वरका दया र मानिसप्रतिको प्रेम प्रकट भए, तब हामी आफैले गरेका धर्मका कामहरूद्वारा होइन, तर उहाँकै कृपाअनुसार उहाँले हाम्रो उद्धार गर्नुभयो -- नयाँ जन्मको स्नान र पवित्र आत्माबाटको नवीकरणद्वारा (तीतस ३:४,५)।

ख्रीष्ट येशूमा हामीतर्फ भएको उहाँको दयाद्वारा पछि आउने युगहरूमा उहाँको अनुग्रहको अपार धन देखाउनका निम्ति (एफेसी २:७)।

तर परमेश्वरले हामीतर्फ आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ -- हामी पापी हुँदा-हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो (रोमी ५:८)।

  1. अनुग्रह अन्तर्गत परमेश्वरको उद्देश्य के हो?

किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ; अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो; कामहरूबाट होइन, नत्र ता कसैले घमण्ड गर्नेछ (एफेसी २:८,९)।

किनकि मुक्ति ल्याउने परमेश्वरको अनुग्रह सबै मानिसहरूकहाँ देखा परेको छ, र हामीलाई यो सिकाउँछ -- अभक्ति र सांसारिक अभिलाषाहरू इन्कार गरेर यस वर्तमान संसारमा हामीले आत्मसंयम, धार्मिकता र भक्तिसाथ जिउनुपर्छ; र त्यस धन्य आशाको, र हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनुपर्छ (तीतस २:११-१३)।

उहाँको अनुग्रहद्वारा धर्मी ठहरिएर अनन्त जीवनको आशाअनुसार हामी हकवालाहरू बन्न सकौं भनेर (तीतस ३:७)।

र उहाँको अनुग्रहद्वारा ख्रीष्ट येशूमा भएको छुटकाराको कारणले तिनीहरू सित्तैंमा धर्मी ठहरिन्छन् (रोमी ३:२४)।

उहाँद्वारा विश्वासको कारणले हामीले यस अनुग्रहभित्र प्रवेश पाएका छौं, यही अनुग्रहभित्र हामी खडा छौं, र परमेश्वरको महिमाको आशामा आनन्द मनाउँछौं (रोमी ५:२)।

अनि अब भाइहरूहो, म तपाईंहरूलाई परमेश्वर र उहाँको अनुग्रहको वचनको जिम्मामा सुम्पिदिन्छु, जसले तपाईंहरूलाई बढाउँदै लैजान र सबै पवित्र पारिएकाहरूको बीचमा तपाईंहरूलाई पैतृक-सम्पत्ति दिलाउन सक्दछ (प्रेरित २०:३२)।

उहाँको अनुग्रहको महिमाको प्रशंसाका निम्ति जुन अनुग्रहमा उहाँले हामीलाई उही प्रियमा ग्रहणयोग्य तुल्याउनुभयो। उहाँमा हामीले उहाँको अनुग्रहको धनअनुसार उहाँको रगतद्वारा छुटकारा अर्थात् पापहरूको क्षमा पाएका छौं (एफेसी १:६,७)।

यसकारण हामी साहससँग अनुग्रहको सिंहासनको नजिक जाऔं, र दया पाऔं, अनि खाँचो पर्दा सहायता पाउनालाई अनुग्रह प्राप्‍त गरौं (हिब्रू ४:१६)।

कति सिद्ध, कति विस्तृत यो परमेश्वरको अनुग्रह! यसले बचाउँछ, धर्मी ठहराउँछ, निर्माण गराउँछ, ग्रहणयोग्य तुल्याउँछ, छुटकारा दिलाउँछ, क्षमा दिन्छ, पैतृक-सम्पत्तिको भागीदार बनाउँछ, परमेश्वरको सामु ओहोदा दिन्छ, अनुग्रहको सिंहासनको प्रबन्ध गर्दछ जहाँ हामी साहससित कृपा र सहायता पाउन आउन सक्छौं; यसले हामीलाई जिउन सिकाउँछ र धन्यको आशा दिलाउँछ!

अब यति बताउन बाँकी छ, कि यी भिन्न सिद्धान्तहरूलाई मिसाउन सकिँदैन।

तर अनुग्रहद्वारा हो भने यो कामद्वारा हुँदै होइन, नत्र ता अनुग्रह अनुग्रह नै हुँदैन (रोमी ११:६)।

अब जसले काम गर्दछ, त्यसका निम्ति ज्याला अनुग्रह होइन, तर हक ठहरिन्छ। तर जसले काम गर्दैन, तर भक्तिहीनलाई धर्मी ठहराउनुहुनेमाथि विश्वास राख्छ, उसका निम्ति उसको विश्वास धार्मिकता ठहरिन्छ (रोमी ४:४,५; साथै गलाती ३:१६-१८ र ४:२१-३१ मा पनि हेर्नुहोस्)।

अन्तमा:

यसकारण हे भाइहरूहो, हामी दासीका सन्तानहरू होइनौं, तर स्वतन्त्र स्त्रीका हौं (गलाती ४:३१)

किनकि तिमीहरू न ता त्यस पर्वतमा आएका छौ, जसलाई छुन सकिन्थ्यो, र जो आगोले बल्थ्यो; न ता कालो बादल, अन्धकार, आँधी, तुरहीको ध्वनि र वचनहरू बोल्ने आवाजकहाँ नै आएका छौ; जसले त्यो आवाज सुने, तिनीहरूले त्यो वचन फेरि तिनीहरूलाई नभनियोस् भनी विन्ती गरे -- किनकि जो आज्ञा दिइएको थियो, सो तिनीहरूले सहन सकेनन्, 'अनि यदि कुनै पशुले पनि पहाड छोयो भने त्यो ढुङ्गाले हानियोस्, अथवा काँडाले छेंडियोस्।' अनि दृश्य यति भयानक थियो, कि मोशाले भने: 'म ज्यादै डराउँदै छु, र काम्दै छु।' तर तिमीहरू ता सियोन पर्वतमा, जिउँदो परमेश्वरको शहर स्वर्गीय यरूशलेममा र स्वर्गदूतहरूको असंख्य जमातमा, सर्वसाधारण सभामा, जेठा छोराहरूको मण्डलीमा, जसका नाम स्वर्गमा लेखिएका छन्, र सबैका न्यायकर्ता परमेश्वरकहाँ, सिद्ध पारिएका धर्मी जनका आत्माहरूकहाँ, नयाँ वाचाका मध्यस्थ येशूकहाँ र रगतको छिट्काउमा आएका छौ, जसले हाबिलको रगतले भन्दा उत्तम कुराहरू बोल्दछ (हिब्रू १२:१८-२४)।

त्यसैले परमेश्वरले सिनैमा बोल्नुभएको कुरालाई "नैतिक व्यवस्था" र "विधिको व्यवस्था" मा विभाजन गर्ने सवाल उठ्दैन – विश्वासी जन सिनै पर्वतमा ल्याइएकै छैन।

जसरी जन बन्यन भन्छन्: "विश्वासी जन अब, प्रभु येशूमा राखिएको विश्वासद्वारा, यस्तो सिद्ध र धन्यको धार्मिकताले ढाकिएको छ कि सिनै पर्वतको गर्जने व्यवस्थाले त्यसमा सानो भन्दा सानो त्रुटी वा कमी भेट्न सक्दैन। यसलाई भनिन्छ बिनाव्यवस्थाको परमेश्वरको धार्मिकता।"

यदि तपाईंले विश्वास गर्न बाँकी नै छ भने आफूले तोड्नुभएको त्यस पवित्र र न्यायपूर्ण व्यवस्थाको साँचो फैसलालाई स्वीकार गर्नलाई तपाईंलाई प्रेमपूर्वक आग्रह गरिन्छ: "किनभने त्यहाँ कुनै भिन्नता छैन: किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुनगएका छन्" (रोमी ३:२२,२३)। ख्रीष्टमा तपाईंले सिद्ध र अनन्त मुक्ति पाउनुहुनेछ, जसरी लेखिएको छ: "यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्‍यौ भने, र परमेश्वरले उहाँलाई मरेकाहरूलाई बौराएर उठाउनुभयो भनी आफ्नो हृदयमा विश्वास गर्‍यौ भने तिमीले मुक्ति पाउनेछौ" (रोमी १०:९)। "किनकि विश्वास गर्ने हरेक जनका लागि धार्मिकताका निम्ति ख्रीष्ट नै व्यवस्थाका अन्त हुनुहुन्छ" (रोमी १०:४)।

अध्ययन प्रश्नहरू
  1. व्यवस्था के हो?
  2. व्यवस्थाको उद्देश्य के हो?
  3. व्यवस्था के गर्न असमर्थ छ (व्यवस्थाले के गर्न सक्दैन)?
  4. अनुग्रह के हो?
  5. अनुग्रहमा परमेश्वरको के उद्देश्य छ?
  6. विश्वासी जन जिउने नियम व्यवस्था हो भन्नु बाइबलीय हो?
  7. विश्वासी जन जिउने नियम के हो?

यी अध्यायहरू डा. सी. आई. स्कोफिल्डको उत्कृष्ट रचना Rightly Dividing the Word of Truth -- Being Ten Outline Studies of the More Important Divisions of Scripture (1896) का नेपाली रूपान्तर हुन्। यो महत्त्वपूर्ण सानो किताबलाई "बाइबलका महत्त्वपूर्ण भिन्नताहरू" शीर्षकमा वर्ड अफ ट्रुथ प्रकाशनले छापेको छ। पृष्ठ सङ्ख्या १००। मूल्य रू ७०। चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला।