विश्वासी जनका दुई स्वभावहरू

यस पृष्ठलाई छाप्नुहोस्

पवित्र शास्त्रले सिकाउँछ कि नयाँ गरी जन्मेको प्रत्येक व्यक्तिभित्र दुइटा स्वभावहरूले बास गरेको हुन्छ: एकातिर शारीरिक जन्मद्वारा प्राप्‍त भएको एउटा स्वभाव, जुनचाहिँ पूर्ण रूपमा र अपरिवर्तनीय रूपमा खराब छ; र अर्कोतिर, नयाँ जन्मद्वारा प्राप्‍त भएको अर्को स्वभाव जुनचाहिँ परमेश्वरकै स्वभाव हो जसको कारण त्यो पूर्ण रूपमा असल छ।

त्यस पुरानो अर्थात् आदम स्वभावप्रति परमेश्वरको धारणा कस्तो छ, पवित्र शास्त्रका निम्नसूचित पदहरूले छर्लङ्गै देखाउँछन्:

हेर्नुहोस्, म अधर्ममा उत्पन्न भएँ, र पापमा मेरी आमाले मलाई गर्भधारण गरिन् (भजनसंग्रह ५१:५)।

मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, र त्यसलाई निको पार्न सकिँदैन। त्यसलाई कसले जान्न सक्छ र (यर्मिया १७:९)?

धर्मी कोही छैन, एउटै पनि छैन; बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन। तिनीहरू सबै बाटोदेखि भड्किएका छन्, तिनीहरू एकैसाथ बेकम्मा भएका छन्; असल गर्ने कोही छैन, एउटै पनि छैन (रोमी ३:१०-१२)।

नयाँ गरी नजन्मेकाहरू सभ्य वा सुशील हुँदैनन्, सक्षम वा मृदुभाषी हुँदैनन्, उदार वा सहयोगी भावनाको हुँदैनन्, वा धर्ममा लागिपर्दैनन् भनेर परमेश्वरले कतै त्यस्तो भन्नुहुन्न; तर यस्तो चाहिँ भन्नुहुन्छ, कि धर्मी कोही छैन, परमेश्वरलाई बुझ्ने कोही छैन अथवा उहाँको खोजी गर्ने कोही छैन।

मानव स्वभावको ईश्वरीय मूल्याङ्कनलाई स्वीकार गर्नु भनेको हाम्रो विश्वासले एउटा अग्नि परीक्षा पार गर्नु हो। हाम्रा त्यस्ता मिलनसार र चरित्रवान मित्रहरू छन् जो आफ्ना काम-कर्तव्यहरू एक-एक पूरा गर्न पछि हट्दैनन्, जोहरू मानवजातिको दुःख-कष्ट र उच्च आकांक्षाहरू प्रति सहानुभूतिले भरिएका हुन्छन्, जोहरू मानव अधिकारको समर्थनमा लागिपर्छन् तरैपनि तिनीहरू परमेश्वरको अधिकारको भने वास्तै गर्दैनन्, उहाँको पुत्रको बलिदानले उनीहरूको हृदयलाई छुँदैन जसको ईश्वरत्वलाई अवर्णनीय मर्यादाहीन शब्दमा इन्कार गर्छन् र जसको वचनलाई तुच्छ ठान्दै अस्वीकार गर्छन्। एकातिर कुनै सह-मानवसँग झूटो व्यवहार गर्ने कामलाई आपत्तिजनक मान्ने कुनै अति सुशील र सभ्य नारीले अर्कोतिर परमेश्वरलाई दिनदिनै झूटो तुल्याइरहेकी हुन्छे! (१ यूहन्ना १:१०; ५:१०)। अनि यस समस्यालाई झनै बढाइदिइरहेको छ वर्तमान पुलपिटहरूले, मानवताको प्रशंसा गरेर।

जलप्रलय अघिका दिनहरूमा वाह्य रूप र वास्तविकताका बीच कत्रो भिन्नता थियो:

त्यस बेला र त्यसपछि पनि [अर्थात् क्रमिक विस्तार हुँदै] पृथ्वीमा नेफिलीमहरू [बडे-बडे कदका मानिसहरू] थिए। परमेश्वरका छोराहरू [सेतका सन्तानहरू] मानिसका छोरीहरू [कयिनका सन्तानहरू] कहाँ जान लागे र सन्तान जन्माए। तिनीहरू नै उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू थिए (उत्पत्ति ६:४)।

मान्छेको नजरमा यस्तो देखिन्थ्यो कि संसारले प्रगति गर्दै छ; उनीहरू इतिहासलाई अटुटरूपमा प्रगतिपछि प्रगति भइरहेको रूपमा देख्थे अनि धर्मीजनहरूको सांसारिकहरूसितको अपवित्र अन्तरविवाहको फलस्वरूप मानव स्वभाव अझै उच्च शिखरमा पुग्ने आशा राख्थे।

तर त्यसैबेला "पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्‍नुभयो" (उत्पत्ति ६:५)।

अझ पढ्नुहोस्:

किनभने भित्रबाट नै अर्थात् मानिसहरूको हृदयबाट नै खराब विचार, परस्त्रीगमन, व्यभिचार, हत्या, चोरी, लोभ, दुष्टता, छल, कामुकता, कुदृष्टि, निन्दा, घमन्ड, मूर्खता निस्कँदछन्; यी सबै खराब कुराहरू भित्रबाट नै निस्कँदछन्, र मानिसलाई अशुद्ध पार्दछन् (मर्कुस ७:२१-२३)।

तर शारीरिक मानिसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन; किनकि ती उसका निम्ति मूर्खता हुन्; न ता उसले ती जान्न नै सक्छ, किनकि ती आत्मिक रीतिले जाँचिँदछन् (१ कोरिन्थी २:१४)।

किनभने शरीरमा मन लगाउनुचाहिँ परमेश्वरसँग दुस्मनी गर्नु हो; किनकि शारीरिक मन परमेश्वरको व्यवस्थाको अधीनतामा छैन; किनकि यो हुन नै सक्दैन। यसकारण जो शरीरमा छन्, तिनीहरूले परमेश्वरलाई खुशी पार्न सक्दैनन् (रोमी ८:७,८)।

तिनीहरूकै बीचमा हामी सबैले शरीर र मनका लालसाहरू पूरा गर्दै बितेको समयमा आफ्ना शरीरका कुइच्छाहरूमा जीवन बितायौं, र स्वभावैले हामी पनि अरूजस्तै क्रोधका सन्तान थियौं (एफेसी २:३)।

नयाँ जीवन नपाएको व्यक्ति तीनओटा काम गर्न असमर्थ्य हुन्छ भनेर माथिका खण्डहरूबाट प्रस्ट देखिन्छ। ऊ प्रतिभाशाली हुनसक्छ, सभ्य वा मिलनसार हुनसक्छ, उदार भावनाको हुनसक्छ वा धर्ममा लागिपर्ने व्यक्ति हुनसक्छ। ऋण तिर्ने, साँचो बोल्ने, परिश्रम गर्ने, असल पति र बाबु हुनसक्छ ऊ। तर यी सब भएता पनि ऊ न ता परमेश्वरको आज्ञाकारी हुन सक्छ, न ता परमेश्वरलाई खुशी पार्न सक्छ न ता परमेश्वरलाई बुझ्न सक्छ।

तर अर्कोतिर, एउटा विश्वासी जनले एउटा नयाँ स्वभाव प्राप्‍त गरेको छ, यद्यपि उसको पुरानो स्वभाव उसँगै हुन्छ जुन स्वभाव न बदलिएको हुन्छ न ता बदलिन नै सक्दछ। उक्त नयाँ स्वभावलाई "नयाँ मान्छे" भनिएको छ "जोचाहिँ परमेश्वरको स्वरूपअनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ" (एफेसी ४:२४)। पवित्र शास्त्रका निम्नसूचित पदहरूले नयाँ मान्छेको सृष्टि र चरित्रलाई बयान गर्दछन्।

यी पदहरूबाट यो जानिन्छ, नयाँ जन्मचाहिँ एउटा सृजना हो, सुधार मात्र होइन: एउटा नयाँ कुराको शुरूआत हो, पुरानोलाई हेरफेर गरी नयाँ तुल्याइएको होइन। जसरी हामीले मानवीय स्वभाव शारीरिक जन्मद्वारा प्राप्‍त गरेका हुन्छौं त्यस्तै गरी इश्वरीय स्वभाव नयाँ जन्म (आत्मिक जन्म) द्वारा प्राप्‍त गर्दछौं।

येशूले जवाफ दिएर उनलाई भन्नुभयो: "साँचो-साँचो म तिमी [निकोदेमस एउटा नैतिकवान, धार्मिक व्यक्ति] लाई भन्दछु, कोही मानिस नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्यलाई देख्‍न सक्दैन" (यूहन्ना ३:३)।

तर जतिले उहाँलाई ग्रहण गरे, तिनीहरूलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो; अर्थात् तिनीहरूलाई, जसले उहाँको नाममा विश्वास गर्दछन्, जो न ता रगतबाट, न ता शरीरको इच्छाबाट, न ता मानिसको इच्छाबाट, तर परमेश्वरबाट जन्मेका हुन् (यूहन्ना १:१२-१३)।

किनकि ख्रीष्ट येशूमा राखिएको विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका सन्तान हौ (गलाती ३:२६)।

("परमेश्वर सबैका पिता हुन् र सबै मानिस दाजुभाइ हुन्" भन्ने व्यापक मान्यता पाइरहेको आकर्षक भनाइ पूर्ण रूपमा अ-बाइबलीय छ – जुन भनाइ त्यसको पछिल्लो भागको अर्ध-सत्यको कारण झनै भ्रमात्मक छ। जन्मेका सबै नभएर नयाँ गरी जन्मेका सबै पो परमेश्वरका सन्तान हुन्छन्। पवित्र शास्त्रमा आदमलाई परमेश्वरको छोरा भनिएको छ, तर त्यहाँ भिन्नता जनाउँदै सेथलाई चाहिँ "आदमको छोरा" भन्न छुटाइएको छैन—लूका ३:३८)।

अनि नयाँ मान्छेलाई पहिर, जोचाहिँ परमेश्वरको स्वरूपअनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ (एफेसी ४:२४)।

यसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू नयाँ भएका छन् (२ कोरिन्थी ५:१७)।

साथै यो "नयाँ मान्छे" ख्रीष्टसँग जोडिएको छ भनी बताइएको छ:

म ख्रीष्टसित क्रूसमा टाँगिएको छु, तरै पनि म जिउँछु; त्यसो भए पनि म ता होइन, तर ख्रीष्ट मभित्र जिउनुहुन्छ; अनि जुन जीवन म अहिले शरीरमा जिउँछु, त्यो म परमेश्वरको पुत्रको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो (गलाती २:२०)।

उनीहरूकहाँ परमेश्वरले, अन्यजातिहरूको बीचमा यो रहस्यको महिमाको धन के हो, सो प्रकट गर्न चाहनुभयो: 'महिमाको आशा ख्रीष्ट तिमीहरूभित्र नै रहस्य हो (कलस्सी १:२७)।

किनकि तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्वरमा लुकेको छ। जब ख्रीष्ट, जो हाम्रा जीवन हुनुहुन्छ, प्रकट हुनुहुनेछ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ (कलस्सी ३:३,४)।

जसद्वारा हामीलाई अत्यन्तै ठूला र बहुमूल्य प्रतिज्ञाहरू दिइएका छन्, यसैले कि यी प्रतिज्ञाहरूद्वारा तिमीहरू यस संसारमा अभिलाषाद्वारा हुने भ्रष्टताबाट उम्केर ईश्वरीय स्वभावका भागीदारहरू होओ (२ पत्रुस १:४)।

तर ख्रीष्ट तिमीहरूभित्र हुनुहुन्छ भने शरीर पापको कारणले मरेको छ, तर आत्मा धार्मिकताको कारणले जीवन हुनुहुन्छ (रोमी ८:१०)।

अनि गवाही यही हो -- परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ, र यो जीवन उहाँको पुत्रमा छ। जससँग पुत्र हुनुहुन्छ, ऊसित जीवन छ; जससँग परमेश्वरका पुत्र हुनुहुन्न, ऊसित जीवन छैन (१ यूहन्ना ५:११,१२)।

तर यो नयाँ, ईश्वरीय स्वभाव, जुनचाहिँ ख्रीष्टकै स्वभाव हो, योचाहिँ विश्वासी जनभित्र उसको पुरानो स्वभावसँगै बास गर्दछ। पावल, जसले "म ता होइन, तर ख्रीष्ट मभित्र जिउनुहुन्छ" भन्न सके, उनैले "किनकि म जान्दछु, मभित्र अर्थात् मेरो शरीरभित्र कुनै असल कुराले बास गर्दैन" (रोमी ७:१८) पनि भन्न सके; साथै, "जब म असल गर्ने इच्छा गर्दछु, तब खराब मसित हाजिर हुन्छ – त यहाँ एउटा व्यवस्था पाउँछु" (रोमी ७:२१)। "निर्दोष र सोझो जीवन बिताउने" अय्युबले भने "म आफूलाई घृणा गर्दछु" (अय्युब ४२:६)। जब उनले परमेश्वरको महिमालाई देखे, परमेश्वरका उत्कृष्ट जन दनियलले भने, "मेरो सुन्दरता मभित्रै भ्रष्टतामा परिणत हुन गयो" ( दनियल १०:८, अङ्ग्रेजि किङ्ग जेम्स भर्सन)।

यी दुई स्वभावका बीच द्वन्द छ। रोमी ७:१४-२५ मा उल्लेखित दुई "म" हरू – पुरानो शाऊल र नयाँ पावल – को बीचको युद्धलाई राम्ररी अध्ययन गर्नुहोस्। यस्तै अनुभवले नयाँ विश्वासी जनहरूलाई निरुत्साहित पार्ने र अलमल पार्ने गर्छ। त्यो समय निराशा र खतराको समय पनि हो। पावल, यही महत्त्वपूर्ण मोडमा पुगेर, पुरानो स्वभावलाई "मृत्युको शरीर" को संज्ञा दिँदै यसबाट छुटकारा पाउनलाई चिच्याउँछन्। यद्यपि उनी विश्वासी हुन्, व्यवस्थाले केवल उनको पीडा बढाइदिन्छ तर उनले "शरीर" बाट छुटकारा पाउँछन्, कुनै प्रयासद्वारा होइन न ता व्यवस्था पालन गर्ने प्रयत्‍नद्वारा, तर "हाम्रा प्रभु यशू ख्रीष्टद्वारा" (रोमी ७:२४,२५)।

तरैपनि, "शरीर" आफूभित्र छ भन्दैमा त्यसैमा हिँड्न हामीलाई बाहना छैन। हामीलाई सिकाइएको छ, "हाम्रो पुरानो मानिस ख्रीष्टसितै क्रुसमा टाँगियो"; त्यस अर्थमा हामी "मरेका छौं" र हामीलाई पृथ्वीमा भएका आफ्ना अंगहरूलाई मारेर (कलस्सी ३:५) उक्त मराइलाई हाम्रो अटुट अनुभव बनाउन आज्ञा गरिएको छ।

यसको निम्ति आवश्यक सामर्थ्यको स्रोत पवित्र आत्मा हुनुहुन्छ जो प्रत्येक विश्वासी जनभित्र बास गर्नुहुन्छ (१ कोरिन्थी ६:१९)। शरीरलाई वशमा राख्‍नु नै उहाँको सुन्दर कार्यभार हो।

तर म यो भन्दछु: आत्मामा हिँड, र तिमीहरूले शरीरको अभिलाषा कुनै रीतिले पूरा गर्नेछैनौ। किनकि शरीरले आत्माको विरोधमा अभिलाषा गर्दछ, र आत्माले शरीरको विरोधमा; अनि तिमीहरू जे इच्छा गर्दछौ, ती कुराहरू गर्न नसक भनेर यिनीहरू एक-अर्काको विरोधमा छन् (गलाती ५:१६,१७)।

किनकि तिमीहरू शरीरअनुसार जियौ भने तिमीहरू मर्नेछौ, तर तिमीहरूले आत्माद्वारा शरीरका कामहरू मार्‍यौ भने तिमीहरू जिउनेछौ (रोमी ८:१३)।

त्यसैले पुरानो स्वभावको पापप्रतिको झुकावलाई आत्मबलले वा असल गर्ने प्रणले सामना नगर्नुहोस्, तर यस द्वन्दलाई आफूभित्र बास गर्नुहुने पवित्र आत्माको हातमा सुम्पिदिनुहोस्।

रोमीको सातौं अध्यायचाहिँ नयाँ जन्म पाएको व्यक्तिको आफ्नो पुरानो "म" सितको द्वन्दको बयान भएकोले त्यो अत्यन्तै व्यक्तिगत रहेको पाइन्छ। "जे म चाहन्छु", "त्यो म गर्दिनँ", "जे म चाहन्नँ", "त्यही म गर्दछु" -- यी शब्दहरूले अनेकौं विश्वासी जनहरूको हृदयमा भइरहने पराजयको दुःखद अनुभूतिलाई व्यक्त गर्दछन्। रोमीको ८ मा द्वन्द अझै चलिरहेको पाइन्छ तर, खुशीको कुरा, द्वन्द अब व्यक्तिगत हुन छाडेको छ! त्यहाँ कुनै पीडाको सुस्केरा सुनिँदैन किनभने पावल अलग्गिएका छन्; द्वन्द अब "शरीर" (टार्ससका शावल) र पवित्र आत्माको बीच सीमित हुन गएको छ। पावलमा शान्ति छाएको छ, उनी विजयी छन्।

(यो बुझियोस् कि यहाँ द्वन्द भन्नाले भित्री दुष्टताप्रतिको झुकावको कुरा गरिएको हो जस्तै: रिस, घमण्ड, अभिलाषा आदि; बाह्य परीक्षाको सामना भने महापुजाहारी ख्रीष्टको शरण लिएर गरिने कुरा हो।)

यी खण्डहरूलाई ध्यानपूर्वक विचार गर्नुहोस्:

पापको शरीर बेकम्मा होओस् भनेर हाम्रो पुरानो मान्छे उहाँसँगै क्रूसमा टाँगियो भन्ने कुरा थाह गर्दै अब उसो हामी पापको दास हुनुहुँदैन (रोमी ६:६)।

किनभने हामी आत्मामा परमेश्वरको उपासना गर्नेहरू, ख्रीष्ट येशूमा आनन्द मनाउनेहरू र शरीरमा भरोसा नराख्‍नेहरू नै साँचो खतना हौं (फिलिप्पी ३:३)।

किनकि तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्वरमा लुकेको छ (कलस्सी ३:३)।

यही प्रकारले तिमीहरूले पनि आफूलाई पापका निम्ति साँच्चै मरेका, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरका निम्ति जिउँदा भएका ठान (रोमी ६:११)।

तर प्रभु येशू ख्रीष्टलाई पहिर; अनि कुकामनाहरू पूरा गर्नालाई शरीरका लागि कुनै प्रबन्ध नगर (रोमी १३:१४)।

यसकारण अब भाइहरूहो, शरीरअनुसार जिउनालाई हामी शरीरका ऋणी होइनौं (रोमी ८:१२)।

अध्याय ७ का अध्ययन प्रश्नहरू
  1. प्राकृतिक मानिसको बयान गर्नुहोस्।
  2. ऊ के गर्न सामर्थ्यहीन छ?
  3. नयाँ जन्म के हो?
  4. "नयाँ मानिस" के हो?
  5. के विश्वासी जनसित पुरानो स्वभाव अझै पनि हुन्छ?
  6. त्यसमाथि उसले कसरी विजय प्राप्‍त गर्न सक्छ?

यी अध्यायहरू डा. सी. आई. स्कोफिल्डको उत्कृष्ट रचना Rightly Dividing the Word of Truth -- Being Ten Outline Studies of the More Important Divisions of Scripture (1896) का नेपाली रूपान्तर हुन्। यो महत्त्वपूर्ण सानो किताबलाई "बाइबलका महत्त्वपूर्ण भिन्नताहरू" शीर्षकमा वर्ड अफ ट्रुथ प्रकाशनले छापेको छ। पृष्ठ सङ्ख्या १००। मूल्य रू ७०। चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला।