ओहोदा र अवस्था

यस पृष्ठलाई छाप्नुहोस्

पवित्र शास्त्रहरूलाई, विशेष गरी नयाँ नियमका पत्रहरूलाई, सही अर्थमा बुझ्नलाई विश्वासी जनको ओहोदा (स्थान) र अवस्था (हिँडाइ) को बीचको भिन्नतालाई बुझ्नु अति महत्त्वपूर्ण कुरा रहेको छ। ओहोदाचाहिँ ख्रीष्टले सम्पन्न गर्नुभएको उद्धारको कामको परिणाम हो। एउटा व्यक्तिले ख्रीष्टलाई विश्वासद्वारा ग्रहण गरेकै घडीदेखि उसले ख्रीष्टमा एउटा सिद्ध र पूर्ण ओहोदा प्राप्‍त गर्दछ। त्यसपछि उसको जीवनमा कुनै पनि कुराले परमेश्वरको सामु रहेको उसको ओहोदामा उसलाई परमेश्वरको सामु अलिकति पनि न ता थप अनुग्रह दिलाउँछ न ता थप सुरक्षा नै। केवल विश्वासबाट मात्र परमेश्वरको सामु उक्त स्थान उसलाई दिइएको हो; अनि उहाँको सामु, सबभन्दा कमजोर व्यक्ति पनि, यदि ऊ प्रभु येशू ख्रीष्टमाथि साँचो विश्वास राख्‍ने व्यक्ति हो भने, आफ्नो ओहोदामा सबैभन्दा उदाहरणीय विश्वासीकै बराबर हुँदछ।

उक्त ओहोदा वा स्थान के हो, निम्न खण्डहरूबाट संक्षेपमा जान्न सकिन्छ:

तर जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई उहाँले परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो; अर्थात् उनीहरूलाई जसले उहाँको नाममा विश्वास गर्दछन् (यूहन्ना १:१२)।

हरेक जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, ऊ परमेश्वरबाट जन्मेको हो (१ यूहन्ना ५:१)।

अनि सन्तान हौं भने हकवालाहरू पनि हौं; साँच्चै परमेश्वरका हकवालाहरू, र ख्रीष्टसँग साझा-हकवालाहरू (रोमी ८:१७)।

एउटा अविनाशी, निष्कलङ्क र ओइलिएर नजाने पैतृक-सम्पत्तिका निम्ति, जो तिमीहरूका लागि स्वर्गमा सुरक्षित राखिएको छ; अनि तिमीहरूचाहिँ अन्तिम समयमा प्रकट हुनालाई तयार भएको मुक्तिका निम्ति परमेश्वरको शक्तिले सुरक्षित छौ (१ पत्रुस १:४,५)।

हामीले उहाँमा पैतृक-सम्पत्ति पनि पाएका छौं (एफेसी १:११)।

प्रियहरूहो, अहिले ता हामी परमेश्वरका सन्तान छौं, अनि हामी के हुनेछौं, सो अहिलेसम्म प्रकट भएको छैन; तर हामी जान्दछौं, जब उहाँ देखा पर्नुहुनेछ तब हामी उहाँजस्तै हुनेछौं (१ यूहन्ना ३:२)।

तर तिमीहरू एउटा चुनिएका वंश, एउटा राजकीय पूजाहारीको समाज, एउटा पवित्र जाति र निज प्रजा हौ (१ पत्रुस २:९)।

उहाँलाई नै जसले हामीलाई प्रेम गर्नुभयो, अनि आफ्नै रगतमा हामीलाई हाम्रा पापहरूबाट धुनुभयो, र परमेश्वर र आफ्ना पिताका निम्ति हामीलाई राजाहरू र पूजाहारीहरू बनाउनुभयो (प्रकाश १:५,६)।

उहाँमा नै तिमीहरू पूर्ण छौ; उहाँ सबै प्रधानता र अधिकारका शिर हुनुहुन्छ (कलस्सी २:१०)।

यसकारण विश्वासद्वारा धर्मी ठहरिएका हुनाले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मेलमिलाप भएको छ। उहाँद्वारा विश्वासको कारणले हामीले यस अनुग्रहभित्र प्रवेश पाएका छौं, यही अनुग्रहभित्र हामी खडा छौं, र परमेश्वरको महिमाको आशामा आनन्द मनाउँछौं (रोमी ५:१,२)।

किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो -- उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस् (यूहन्ना ३:१६)।

मैले तिमीहरूलाई अर्थात् परमेश्वरको पुत्रको नाममा विश्वास गर्नेहरूलाई यी कुराहरू लेखेको छु -- तिमीहरूसित अनन्त जीवन छ भन्ने कुरा तिमीहरूलाई थाह होस् (१ यूहन्ना ५:१३)।

यसकारण भाइहरूहो, येशूको रगतद्वारा महा पवित्रस्थानभित्र प्रवेश गर्ने हिम्मत प्राप्‍त भएको हुनाले (हिब्रू १०:१९)

हाम्र प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता धन्य होऊन्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा सबै आत्मिक आशिषहरूले ख्रीष्टमा आशिषित पार्नुभएको छ (एफेसी १:३)।

उहाँको अनुग्रहको महिमाको प्रशंसाका निम्ति जुन अनुग्रहमा उहाँले हामीलाई उही प्रियमा ग्रहणयोग्य तुल्याउनुभयो (एफेसी १:६)।

तर परमेश्वर, जो दया गर्नमा धनी हुनुहुन्छ, आफ्नो महान् प्रेमको कारणले, जसद्वारा उहाँले हामीलाई प्रेम गर्नुभयो, हामी अपराधहरूमा मरेकै भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो -- अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ -- अनि हामीलाई सँगसँगै बौराएर उठाउनुभयो, र ख्रीष्ट येशूमा स्वर्गीय स्थानहरूमा सँगसँगै बसाल्नुभयो (एफेसी २:४-६)।

तर अब ता ख्रीष्ट येशूमा तिमीहरू, जो बितेको समयमा टाढा थियौ, ख्रीष्टको रगतद्वारा नजिक पारिएका छौ (एफेसी २:१३)।

उहाँमा नै तिमीहरूले विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरू छाप मारियौ (एफेसी १:१३)।

हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र बप्‍तिस्मा भयौं (१ कोरिन्थी १२:१३)।

किनकि हामी उहाँकै शरीरका, उहाँकै मासुका र उहाँकै हड्डीहरूका अङ्ग हौं (एफेसी ५:३०)।

अथवा के यो तिमीहरूलाई थाह छैन? तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो (१ कोरिन्थी ६:१९)।

माथि सूचीत उदेकलाग्दा कुराहरू प्रभु येशू ख्रीष्टमा साँच्चै विश्वास गर्ने हरेकको सवालमा साँचो हुन्छ। यस महिमापूर्ण सूचीको एउटै पनि कुरा प्रार्थनाद्वारा प्राप्‍त गरिने भनिएको छैन, वा सेवामा परिश्रमद्वारा नै, वा चर्चघर गएर, वा दानहरू दिएर, वा आफूलाई इन्कार गरेर, वा पवित्र जीवन जिएर, वा अन्य कुनै असल काम गरेर। सबै नै ख्रीष्टमार्फत विश्वासद्वारा पाइने परमेश्वरका वरदान हुन्। त्यसैले यी कुराहरू सबै विश्वासीहरूसित बराबर मात्रामा हुने कुराहरू हुन्। जब फिलिप्पीको कैदखानाको हाकिमले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्‍यो ऊ तुरुन्तै परमेश्वरको सन्तान बन्यो, ख्रीष्टसित साझे-हकवाला बन्यो, राजा र पूजाहारी बन्यो, र नष्ट नहुने, निष्कलङ्क र नओइलिने पैत्रिक सम्पत्तिको हकवाला बन्यो। आफ्नो हृदयले विश्वास गरेको र आफ्नो मुखले येशू नै प्रभु हुनुहुन्छ भनी स्वीकार गरेकै घडी ऊ सबै कुरादेखि निर्दोष ठहरियो, परमेश्वरसित मिलाप पायो, उहाँको अनुग्रहमा खडा रहन पाउने स्थान पायो, महिमाको पक्का आशा पायो। उसले अनन्त जीवनको दान पायो, ख्रीष्टकै बराबरको पूरा नापको ग्रहणयोग्यता प्राप्‍त गर्‍यो, आफूभित्र पवित्र आत्माको उपस्थिति र छाप पायो जोद्वारा ऊ ख्रीष्टको शरीर अर्थात् मण्डलीभित्र बप्‍तिस्मा पनि गराइयो। तरुन्तै ऊ परमेश्वरको धार्मिकताले ओढाइयो (रोमी ३:२२), ख्रीष्टसितै जीवित पारियो, उहाँसितै बौराइयो र उहाँमा स्वर्गीय स्थानहरूमा बसालियो।

उसको वास्तविक अवस्था कस्तो थियो भन्ने कुरा चाहिँ अर्कै मामला हो; निश्चय नै त्यो चाहिँ परमेश्वरको सामु रहेको उसको उच्च ओहोदाभन्दा धेरै धेरै नै तल हुन्छ। जसरी उसको ओहोदामा भएको थियो त्यसरी नै उसको हिँडाइमा ऊ तुरुन्त नै राजकीय, पूजाहारीय, स्वर्गीय बन्न पुगेन। यी दुई कुराहरू बीच पवित्र शास्त्रहरूमा निरन्तर भिन्नता राखिएको तथ्य निम्न खण्डहरूबाट प्रस्ट हुन्छ:

ओहोदा

अवस्था

कोरिन्थमा भएको परमेश्वरको मण्डलीलाई अर्थात् उनीहरूलाई जो ख्रीष्ट येशूमा पवित्र पारिएका छन् ... म तिमीहरूको विषयमा येशू ख्रीष्टद्वारा तिमीहरूलाई दिइएको परमेश्वरको अनुग्रहका निम्ति मेरा परमेश्वरलाई सधैं धन्यवाद चढाउँछु किनकि तिमीहरू हरेक कुरामा उहाँद्वारा धनवान् बनाइएका छौ -- सारा वचनमा र सारा ज्ञानमा; जसरी ख्रीष्टको साक्षी पनि तिमीहरूमा पक्का पारिएको थियो; यसैकारण कुनै पनि अनुग्रहको वरदानमा तिमीहरू कम छैनौ, र हाम्रा प्रभु येशू ख्रीष्टको आगमनको बाटो हेरिरहन्छौ, जसले हाम्रा प्रभु येशू ख्रीष्टको दिनमा तिमीहरू निर्दोष होओ भनेर तिमीहरूलाई अन्तसम्म स्थिर पार्नुहुनेछ पनि। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसद्वारा तिमीहरू उहाँका पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टको सङ्गतिमा बोलाइएका छौ (१ कोरिन्थी १:२-९)।

किनकि हे मेरा भाइहरूहो, तिमीहरूको बीचमा झगडा छन् भनेर क्लोएका घरानाकाहरूद्वारा तिमीहरूको विषयमा मलाई बताइएको छ (१ कोरिन्थी १:११)।

हे भाइहरूहो, आत्मिक मानिसहरूसँग बोलेझैं मैले तिमीहरूसँग बोल्न सकिनँ, तर शारीरिकहरूसँग ... किनकि तिमीहरू अझै पनि शारीरिक छौ; किनकि तिमीहरूका बीचमा डाहा, झगडा र फूटहरू छन्, त के तिमीहरू शारीरिक होइनौ र? मानिसको चालमा हिँड्दैनौ र (१ कोरिन्थी ३:१-३)?

कतिजना घमन्डले फुलिएका छन्। (१ कोरिन्थी ४:१८)।

अनि तिमीहरू घमन्डले फुलिएका छौ, यस्तो काम गर्ने तिमीहरूका बीचबाट निकालियोस् भनेर तिमीहरूले बरु विलाप गर्नुपर्थ्यो (१ कोरिन्थी ५:२)।

अनि तिमीहरूमध्ये कतिजना यस्तै थियौ; तर तिमीहरू धोइएका छौ, तर तिमीहरू पवित्र पारिएका छौ, तर तिमीहरू प्रभु येशूको नाउँमा र हाम्रा परमेश्वरका आत्माद्वारा धर्मी ठहरिएका छौ (१ कोरिन्थी ६:११)।

यसकारण अब तिमीहरूको बीचमा साँच्चै एउटा दोष भएको छ; किनकि तिमीहरू एउटाले अर्काको विरोधमा मामला गर्दछौ। (१ कोरिन्थी ६:७)?

तिमीहरूका शरीर ख्रीष्टका अङ्गहरू हुन्, के यो तिमीहरूलाई थाह छैन  (१ कोरिन्थी ६:१५)?

तब के म ख्रीष्टका अङ्गहरू लगेर वेश्याका अङगहरू बनाऊँ (१ कोरिन्थी ६:१५)?

अनि येशूले जवाफ दिएर उनलाई भन्नुभयो: "योनका छोरा शिमोन, तिमी धन्य हौ, किनकि मासु र रगतले तिमीलाई यो कुरा प्रकट गरेको होइन, तर मेरा पिताले, जो स्वर्गमा हुनुहुन्छ" (मत्ती १६:१७)।

तर उहाँले फर्केर पत्रुसलाई भन्नुभयो: "हे शैतान, मेरो पछिल्तिर जा! तँ मेरा लागि ठेस लाग्ने कारण होस्, किनकि तँ परमेश्वरका कुरामा होइन, तर मानिसहरूका कुराहरूमा ध्यान लगाउँछस्" (मत्ती १६:२३)।

पितालाई धन्यवाद चढाओ, जसले ज्योतिमा पवित्र जनहरूको पैतृक-सम्पत्तिका भागीदार हुनाका निम्ति हामीलाई योग्य बनाउनुभएको छ; जसले हामीलाई अन्धकारको सामर्थ्यबाट छुटकारा दिनुभएको छ र आफ्नो प्रिय पुत्रको राज्यभित्र सार्नुभएको छ (कलस्सी १:१२,१३)।

तर अब तिमीहरूले पनि यी सबै कुराहरूलाई फालिदेओ -- रिस, क्रोध, द्वेष, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली। एउटाले अर्कोसित झूट नबोल; किनकि तिमीहरूले पुरानो मान्छेलाई त्यसका कामहरूसमेत निकालिदिएका छौ (कलस्सी ३:८,९)।

साथै, यो प्रस्टै देख्‍न सकिने कुरा हो, अनुग्रहको प्रबन्ध अन्तर्गत ईश्वरीय क्रम यो रहेछ – विश्वासी जनलाई पहिला सबभन्दा उच्च ओहोदा प्रदान गर्नु अनि त्यसपछि उसलाई उक्त ओहोदालाई सुहाउने अवस्था कायम गर्नलाई अर्ती दिनु। भिखारीलाई घुरानबाट उठाएर राजकुमारहरूसित बसालिन्छ (१ शमूएल २:८) अनि त्यसपछि उसलाई राजकुमार जस्तै हुनलाई अर्ती दिइन्छ।

 

ओहोदा

अवस्था

पापको शरीर बेकम्मा होओस् भनेर हाम्रो पुरानो मान्छे उहाँसँगै क्रूसमा टाँगियो भन्ने कुरा थाह गर्दै अब उसो हामी पापको दास हुनुहुँदैन (रोमी ६:६)।

यसकारण यदि तिमीहरू संसारका प्राथमिक शिक्षाहरूबाट ख्रीष्टसँग मरेका छौ भने संसारमा बाँचिरहेझैं गरी तिमीहरू किन मानिसहरूका आज्ञाहरू र शिक्षाहरू अनुसार विधिविधानहरूका अधीनतामा रहन्छौ (कलस्सी २:२०)?

तिमीहरू संसारका ज्योति हौ (मत्ती ५:१४)।

त्यसरी नै तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस् र तिनीहरूले तिमीहरूका असल कामहरू देखून्, अनि स्वर्गमा हुनुहुने तिमीहरूको पिताको महिमा गरून् (मत्ती ५:१६)।

उहाँले हाम्रा कामहरूअनुसार होइन, तर उहाँकै आफ्नो मनसाय र संसार शुरू हुनुभन्दा पहिल्यै हामीलाई ख्रीष्ट येशूमा दिइएको अनुग्रहअनुसार हामीलाई बचाउनुभएको छ र पवित्र बोलावटले बोलाउनुभएको छ (२ तिमोथी १:९)।

यसकारण मेरा प्रियहरूहो, जसरी तिमीहरूले सधैं आज्ञापालन गरेका छौ, उसरी नै मेरो उपस्थितिमा जस्तो मात्र होइन, तर मेरो अनुपस्थितिमा झन् बढ्ता गरी डराउँदै र काम्दै आ-आफ्नो मुक्तिको काम पूरा गर (फिलिप्पी २:१२)। [प्रशस्तै दुरुपयोग गरिएको यस पदलाई पढ्दा, यो बुझियोस् कि यहाँ उल्लेखित मुक्ति प्राणको मुक्ति होइन तर परमेश्वरको इच्छा गर्नदेखि ख्रीष्टियनलाई बाधा दिने अङ्कुसेहरूबाटको मुक्ति हो।]

अनि हामीलाई सँग-सँगै बौराएर उठाउनुभयो, र ख्रीष्ट येशूमा स्वर्गीय स्थानहरूमा सँग-सँगै बसाल्नुभयो (एफेसी २:६)।

जब ख्रीष्ट, जो हाम्रा जीवन हुनुहुन्छ, प्रकट हुनुहुनेछ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ (कलस्सी ३:४)।

यसकारण यदि तिमीहरू ख्रीष्टसँग बिउँताइएका छौ भने माथिका कुराहरू खोज, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हाततर्फ बसिरहनुभएको छ (कलस्सी ३:१)।

यसकारण पृथ्वीमाथि भएका तिमीहरूका अङ्गहरूलाई मार (कलस्सी ३:५)।

किनकि बितेको समयमा तिमीहरू अन्धकार थियौ, तर अब प्रभुमा तिमीहरू ज्योति हौ (एफेसी ५:८);

ज्योतिका सन्तानहरूझैं हिँड (एफेसी ५:८)।

तिमीहरू सबै ज्योतिका सन्तान र दिनका सन्तानहरू हौ; हामी न ता रातका, न अन्धकारका हौं (१ थेस्सलोनिकी ५:५)।

यसैकारण हामी अरूझैं नसुतौं; तर हामी जागा रहौं र सचेत रहौं (१ थेस्सलोनिकी ५:६)।

किनकि परमेश्वरले हामीलाई क्रोधका निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति पाऔं भनी ठहराउनुभएको छ। हामी चाहे जागा रहौं चाहे सुतौं, हामी उहाँसित एकसाथ जिऔं भनेर उहाँ हाम्रा निम्ति मर्नुभयो (१ थेस्सलोनिकी ५:९,१०)।

यसकारण एकअर्कालाई सान्त्वना देओ, र एउटाले अर्कोको उन्नति गर जो तिमीहरूले गर्दछौ पनि (१ थेस्सलोनिकी ५:११)।

त्यही इच्छाद्वारा येशू ख्रीष्टको शरीरको एकैचोटिको बलिदानद्वारा हामी पवित्र पारिएका छौं (हिब्रू १०:१०)।

तपाईंको सत्यद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्; तपाईंको वचन सत्य हो (यूहन्ना १७:१७)।

तर उहाँद्वारा नै तिमीहरू ख्रीष्ट येशूमा छौ, जो परमेश्वरपट्टिबाट हाम्रा निम्ति...पवित्रता... ठहरिनुभएको छ (१ कोरिन्थी १:३०)।

अब शान्तिका परमेश्वरले आफैले तिमीहरूलाई पूरा रीतिले पवित्र पारेका होऊन् (१ थेस्सलोनिकी ५:२३)।

किनकि एउटै बलिदानद्वारा उहाँले पवित्र पारिएकाहरूलाई सदाका निम्ति सिद्ध पार्नुभएको छ (हिब्रू १०:१४)।

मैले प्राप्‍त गरिसकेको छु वा म पहिल्यै सिद्ध भइसकेको छु, होइन (फिलिप्पी ३:१२)।

यसकारण जतिजना सिद्ध छौं, हामी यस्तै मनका होऔं (फिलिप्पी ३:१५)।

यसकारण ख्रीष्टका शिक्षाका शुरूका कुराहरू छोडेर हामी अघि सिद्धतातर्फ जाऔं (हिब्रू ६:१)।

न्यायको दिनमा हामीलाई साहस होस् भनेर यसैमा हाम्रो प्रेम सिद्ध पारिएको छ; किनभने जस्तो उहाँ हुनुहुन्छ, त्यस्तै हामी पनि यस संसारमा छौं (१ यूहन्ना ४:१७)।

जसले "म उहाँमा रहन्छु" भन्छ, ऊ आफै पनि, जसरी उहाँ हिँड्नुहुन्थ्यो, उसरी हिँड्नुपर्छ (१ यूहन्ना २:६)।

पवित्र शास्त्रले विश्वासी जनको ओहोदा र अवस्थाका बीच स्पष्ट भिन्नता राख्दछ भनेर देखाउने माथिको तुलनात्मक सूचीमा पाठकले अझ थुप्रै अरू खण्डहरू थप्न सक्नुहुनेछ। यो प्रस्ट बोझियोस् कि विश्वासी जन त्यस उच्च ओहोदाको योग्य बन्न सफल हुन्छ कि हुँदैन भनेर उसलाई परीक्षणमा राखिएको होइन, बरु आफ्नो पूर्ण अयोग्यताको स्वीकार गरेदेखि उसले यो ओहोदा पूर्ण रूपमा ख्रीष्टले सम्पन्न गर्नुभएको उद्धारको परिणामस्वरूप प्राप्‍त गर्दछ। ओहोदामा ऊ "सदाका निम्ति सिद्ध" पारिएको छ (हिब्रू १०:१४), तर आफूभित्रको उसको अवस्थालाई हेर्दाखेरि उसलाई यो भन्न कर लाग्छ, "मैले पहिल्यै प्राप्‍त गरिसकेको छु वा म पहिल्यै सिद्ध भइसकेको छु, होइन" (फिलिप्पी ३:१२)।

उसको पक्षमा परमेश्वरले गर्नुहुने पछिका सबै कामहरू विश्वासीको चरित्रलाई उसको मुक्तिको घडीमै प्राप्‍त गरिसकेको उसको ओहोदासित सिद्धरूपमा मिलान गर्ने उद्देश्य अनुरुप गरिएका हुन्छन् भन्न सकिन्छ, जस्तै, उसको हिँडाइ र विवेकमाथि वचनको प्रयोग (यूहन्ना १७:१७; एफेसी ५:२६), पिताको हातबाटको ताडना (हिब्रू १२:१०; १ कोरिन्थी ११:३२), आत्माको सेवाकार्य (एफेसी ४:११,१२), उजाडस्थान (संसार) को यात्रामा आइपर्ने संकट तथा परीक्षाहरू (१ पत्रुस ४:१३-१४), र उहाँ देखा पर्नुहुँदा हुने अन्तिम रूपान्तरण (१ यूहन्ना ३:२)।

एउटा राजकुमार बालकै छँदा अरू बालकहरू जस्तै जिद्दीवाल र अनजान हुन सक्छ। कहिलेकाहीँ ऊ साह्रै आज्ञाकारी, सिकाउन सकिने र प्यारो बन्न सक्छ र फलस्वरूप ऊ खुसी हुन्छ र स्याबासी पाउँछ। अरू बेला ऊ अनुशासनहीन, जिद्दीवाल र अनाज्ञाकारी बन्न सक्छ र फलस्वरूप ऊ बेखुसी हुन्छ र सम्भवत: उसलाई ताडना दिइन्छ -- तरैपनि ऊ दुवै समयमा उत्तिकै राजकुमार नै हो। यो आशा गरिन्छ, समय बित्तै जाने क्रममा उसले आफूलाई खुसीसाथ हरेक सही मार्गको अधीनतामा सुम्पिन सिक्नेछ तब ऊ पहिला भन्दा राजकुमारीय बन्दछ तर पहिला भन्दा राजकुमार नै बन्ने त होइन। ऊ त जन्मले नै राजकुमार हो।

राजाहरूका राजा र प्रभुहरूका प्रभुको हरेक साँचो सन्तानको सवालमा पनि राजकीयतामा यसरी बढ्दै जाने काम निश्चय नै हुँदछ। अन्तमा ओहोदा र अवस्था अथवा दर्जा र चरित्र बराबर बन्नेछन्। तर उक्त ओहोदा सिद्ध बनाइने काम चरित्रको फलस्वरूप दिइने इनाम होइन--बरु चरित्र उसको ओहोदाको आधारबाट विकास हुने कुरा हो।

अध्याय ८ का अध्ययन प्रश्नहरू
  1. के परमेश्वरको सामु रहेको विश्वासी जनको ओहोदा उसको प्राणको अवस्थासँगै परिवर्तन हुन्छ?
  2. ओहोदा कसरी प्राप्‍त हुन्छ?

यी अध्यायहरू डा. सी. आई. स्कोफिल्डको उत्कृष्ट रचना Rightly Dividing the Word of Truth -- Being Ten Outline Studies of the More Important Divisions of Scripture (1896) का नेपाली रूपान्तर हुन्। यो महत्त्वपूर्ण सानो किताबलाई "बाइबलका महत्त्वपूर्ण भिन्नताहरू" शीर्षकमा वर्ड अफ ट्रुथ प्रकाशनले छापेको छ। पृष्ठ सङ्ख्या १००। मूल्य रू ७०। चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला।