Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

रोमी १६:१६-२४

यस पृष्ठलाई छाप्नुहोस्

रोमी १६:१६ पवित्र चुम्बन

सुरुका मण्डलीहरूमा विश्वासी-विश्वासीबीच विशिष्ट खाले निकटता हुन्थ्यो: “एक-अर्कालाई पवित्र चुम्बनले सलाम गर”। विश्वासीकामण्डलीहरू बीच पनि विशिष्ट खाले निकटता हुन्थ्यो: “ख्रीष्टका मण्डलीहरूले तिमीहरूलाई सलाम पठाएका छन्”। विश्वासीहरूको एक-अर्कासित विशेष सम्बन्ध थियो र मण्डलीहरूको पनि एक-अर्कासित विशेष सम्बन्ध थियो। कसरी? येशू ख्रीष्टको कारणले।

नयाँ नियममा “चुम्बन” भन्ने शब्द अभिवादनको प्रसङ्गसित जोडिएर पाँच पटक प्रयोग गरिएको छ। चार पटक पावलले “पवित्र चुम्बन” को कुरागर्छन् (रोमी १६:१६; १ कोरिन्थी १६:२०; २ कोरिन्थी १३:१२; १ थेस्सलोनिकी ५:२६) र एक पटक पत्रुसले “प्रेमको चुम्बन” को कुरा गर्छन् (१ पत्रुस ५:१४)। फरिसी सिमोनलाई हल्कासित हप्काउनुहुँदा प्रभु येशूले चुम्बनको चलनको कुरा गर्नुभयो: “तिमीले मलाई चुम्बन दिएनौ” (लूका ७:४५)। पावल एफेसीहरूबाट बिदा हुँदा उनीहरूले “पावललाई अँगालो हालेर चुम्बन गरे” (प्रेरित २०:३७;यसलाई हराएको छोरोलाई लूका १५:२० मा स्वागत गरिएको तरिकासित दाँज्नुहोस्)। चुम्बन गर्दा निधार वा गालामा चुम्बन गर्ने चलन थियो, ओठहरूमा होइन (यो कुनै कामुक, कामोत्तेजक वा रोमाञ्चकारी चुम्बन थिएन)। पावलले उनीहरूलाई “एक-अर्कालाई पवित्र चुम्बनले सलाम गर” भनेका हुनाले के यो अभिवादनउही लिङ्गका विश्वासीहरूसित मात्र नभएर सबै विश्वासीसित गरिने अभिवादन थियो त (उत्पत्ति २९:११ सँग तुलना गर्नुहोस् जहाँ याकूबले राहेललाई चुम्बन गरे, जुनचाहिँ रोमाञ्चकारी चुम्बन थिएन तर नातेदारहरूप्रति स्नेहको अभिवादन थियो)? तर यो अभ्यासउही लिङ्गका व्यक्तिहरूसित मात्र गरिने कुरा थियो भन्ने कतिलाई लाग्छ—पुरुषहरूले पुरुषहरूलाई र स्त्रीहरूले स्त्रीहरूलाई चुम्बन गर्ने (International Standard Bible Encyclopedia, p.1814)। यो “पवित्र चुम्बन” थियो अर्थात् परमेश्वर यसमा संलग्न हुनुहन्थ्यो र विश्वासीहरू बीच हुने साँचो प्रेमकोयो न्यानो र स्नेहपूर्ण अभिव्यक्तिमा परमेश्वर खुशी हुनुहुन्थ्यो: “यसले कहिल्यै पनि तीनजना भन्दा कमको संलग्नतालाई जनाउनुहुँदैन: परमेश्वर अनि एक-अर्कालाई चुम्बन गर्ने दुईजना। पवित्र चुम्बनले ख्रीष्टको प्रेम परस्परमा बाँडिएको कुरालाईदर्शाउँछ” (हेन्ड्रिक्सन)।

आज हाम्रो समाजमा र प्रायः अन्य समाजहरूमा पनि, चुम्बनभन्दा अन्य तरिकाहरूद्वारा न्यानो र स्नेहपूर्ण अभिवादनलाई व्यक्त गरिन्छ। पहिलो शताब्दीका विश्वासीहरूको चलनको सट्टामा नेपाली समाजमा चाहिँ आफ्ना दुई हात जोडेर “जय मसीह” भन्नु वा उही लिङ्गका व्यक्तिहरूसित भने न्यानो प्रेमले हात मिलाउनु परमेश्वरलाई आदर दिनेविकल्प हुन्। हामी ख्रीष्टमा दाजुभाई तथा दिदीबहिनीहरू हौं र हामीले एक-अर्कालाई चोखो हृदयले गहिरो प्रेम गरेका होऔं (१ पत्रुस १:२२)।

कतिपटक विश्वासीहरूले “व्यवस्थाको लेख” लाई पालन गर्न खोजेका छन् तर त्यसो गर्न खोज्दा उनीहरूले खासमा “व्यवास्थाको आत्मा” को अवज्ञा गर्न पुगेका छन्। अमेरिकामा एकादुई मण्डलीहरूले “पवित्र चुम्बन्” को अभ्यास पहिलो शताब्दिकाहरूले जस्तै गर्न खोज्दा त्यो ज्यादै कृत्रिम र अस्वाभाविक हुन गएको र फलस्वरूप त्यो हृदयदेखि नभईकन एउटा बाहिरी रीति मात्र हुन गएको गुनासो सुनिएको छ। त्यसो गर्नुभन्दा त बरु “पवित्र हात मिलाउने” विकल्पद्वारा र नेपालीहरूको सन्दर्भमा पवित्र जय मसीह अभिवादन नै व्यवस्थाको आत्मा अनुरूप हुन्छ र प्रभुलाई आदर गर्दछ।

“ख्रीष्टका मण्डलीहरूले” रोममा भएको ख्रीष्टको मण्डलीलाई सलाम पठाए। पहिलो शताब्दीका मण्डलीहरूबीचयस्तोनिकटता र एकता थियो जुन आजका मण्डलीहरूबीच पाइँदैन। यसको कारणचाहिँ पहिलो शताब्दीका मण्डलीहरूबीच निम्न कुरा साझा थिए:

एउटै शिक्षा “जसरी म जहाँतहीं हरेक मण्डलीमा शिक्षा दिन्छु” (१ कोरिन्थी ४:१७)
एउटै अभ्यास “जसरी प्रभुले हरेकलाई बोलाउनुभएको छ, त्यसरी नै ऊ हिँडोस्। अनि सबै मण्डलीहरूमा म यस्तै आज्ञा दिन्छु” (१ कोरिन्थी ७:१७)

एउटै चलन “तर कसैले विवाद गर्न चाहन्छ भने उसलाई थाह होस्, हाम्रो यस्तो रीति छैन, न ता परमेश्वरका मण्डलीहरूकै छ” (१ कोरिन्थी ११:१६)

एउटै अनुशासन “किनकि परमेश्वर गडबडका परमेश्वर हुनुहुन्न्, तर शान्तिका परमेश्वर हुनुहुन्छ, जसरी पवित्र जनहरूका सबै मण्डलीहरूमा छ।” (१ कोरिन्थी १४:३३)।

आजको दिनमा यसरी अभ्यास गर्ने मण्डलीहरू भेट्टाउन कठीन छ।

रोमी १६:१७-१८ अलगपनताको निम्ति आह्वान

लेखोटको यस बिन्दुमा आइपुगेरप्रसङ्ग एक्कासी बदलिन्छ। पावलले रोममा भएका विश्वासीहरूलाई एकपछि अर्कोलाई गरी अभिवादनहरू पठाउँदै थिए। एक्कासी उनी रोक्किन्छन्, मानौंपावललाई कुनै ज्यादै जरूरी कुराको याद आएको छ जुन कुरा यी विश्वासीहरूलाई उनीहरूको सुरक्षाको निम्ति उनीहरूसँग बाँड्नै परेको छ। यसले हामीलाई यहूदाको पत्रको सम्झना गराउँछ जहाँ यहूदाले जब साझा मुक्तिको बारेमा लेख्न हर प्रकारको प्रयत्न गर्दैथिए तबएक्कासी उनी विश्वास (खाँटी शिक्षा) का निम्ति यत्नपूर्वक सङ्घर्ष गर्नुपर्छ भन्ने अर्ती दिन र झूटा शिक्षकहरूदेखिहोशियार हुनुपर्छ भनेर लेख्नलाई विवश भए (यहूदा ३ देखिका पदहरू हेर्नुस्)।

पावलले यी पदहरूमा झूटा शिक्षकहरूको बारेमा अन्तिम चेताउनी र अर्ती दिन्छन् जसमा उनले विश्वासीहरूले आफैंलाई झूटा शिक्षकहरूबाट कसरी सुरक्षित राख्न सक्छन् भन्ने बारेमा दुई तरिकाहरू बताउँछन्। पहिलो हो, अलगपनता (१७ पद) र दोस्रो होविवेचना (१८ पद)

अलगपनता (१७ पद)

हामीले आफूलाई झूटा शिक्षकहरूदेखि सुरक्षितराख्न सक्ने पहिलो तरिका हो, अलगपनता। यस पदमा दुईटा आज्ञा छन्। यी दुईटा आज्ञाहरू पालन गरेर मात्र बाइबलीय अलगपनताको अभ्यास पूरा गर्न सकिन्छ। पहिलो आज्ञाचाहिँ चिन्नुभन्ने आज्ञा हो: तिनीहरूलाई चिनिराख! झूटा शिक्षक को हो भनेर नचिनेसम्म उनीहरूबाट अलग हुनु असम्भव छ। ऊ साँच्चै कस्तो हो भनेर पहिल्याउनैपर्छ अर्थात् उसको पहिचान गर्नैपर्छ। यो आज्ञा रोममा भएका “भाइहरू" लाई दिइएको हो, रोममा भएका एल्डरहरूलाईमात्र होइन र स्थानीय मण्डलीका अगुवा वर्गलाई मात्र होइन। हरेक विश्वासी यस प्रकारले खुट्ट्याउन सक्ने हुनुपर्छ। पावलले यसो भन्दैथिए: “तिनीहरूलाई औंल्याउन र पहिल्याउन सक्ने होऊ। निरन्तरसतर्क रहो, झूटा शिक्षा फैलाउन खोज्नेहरूलाई चिन्न सक्न जागा रहो (प्रेरित २०:२९-३१मा पावलले एफेससका एल्डरहरूलाई दिएका चेताउनीसँग तुलना गर्नुहोस्)।

पावलले अब ती झूटा शिक्षकहरूलाई पहिचान गर्न सक्नलाई केही सहायता गर्छन्।झूटा शिक्षकहरू “फाटो ल्याउने र ठक्कर खुवाउनेहरू” हुन्छन् भनेरउनीहरूको बयान गर्दछन्। परमेश्वरको वचनप्रति विश्वासयोग्य हुनेहरू र सहीअर्थमा “साँघुरो विचार” राख्नेहरू (बाइबल ज्यादै साँघुरो पुस्तक हो, मत्ती ७:१३-१४ सँग तुलना गर्नुहोस्), लाईफाटो ल्याउनेहरू भनी दोष लगाइनु धेरै सम्भव छ। “तिमी अलगपनतावादीहरू जहिल्यै ख्रीष्टको शरीरलाई सधैं टुक्र्याउने काम गर्छौ। किन तिमीहरू आफ्नो विश्वासमाकम कट्टरपन्थीर बढी प्रेमिलो हुँदैनौ?” इत्यादि। खासमा फाटो ल्याउनेहरू को हुन् पावलले सम्झना गराउँछन्: उनीहरू ती हुन्, जो सुम्पिएको शिक्षाकोविपरीतजान्छन्। अर्को शब्दमा भन्नुपर्दा, फाटो ल्याउनेहरू उनीहरू नै हुन् जो उत्पत्तिदेखि प्रकाशसम्मको लिखित परमेश्वरको वचनमा आज्ञाकारी र विश्वासयोग्य भएर उभिन इन्कार गर्छन्। परमेश्वरको दृष्टिकोणमा, त्यो साँचो जगलाई छोडेरअन्यत्रजानेहरू नै फाटो ल्याउनेहरू हुन्। उनीहरू सत्यताको ठोस चट्टानबाट बाहिर जानु हुँदैनथियो!

ती झूटा शिक्षकहरूले रोमका विश्वासीहरूले ग्रहण गरेका शिक्षाको विपरीत फाटो ल्याउने र ठक्कर खुवाउने कार्य गरिरहेका थिए। यहाँ “विपरीत” भनेर अनूदित शब्द ग्रीकमा “पारा” भन्ने एउटा नामयोगी शब्द हो जसलाई साधारणतया “सँगसँगै” भनेर अनुवाद गरिन्छ। झूटो शिक्षा सत्यताको नजिक-नजिक पुग्छ र त्यसको सँगसँगै आउँछ। झूटो शिक्षा सत्य कुराको नजिक रहेर आउँछ तरैपनि सत्यतासँग कहिल्यै मेल खाँदैन। तर यो एकदम नजिक भएर हिँड्छ र एकदम धूर्त हुन्छ। पावलले रोमका विश्वासीहरूले शिक्षालाई पर्याप्त रूपमा सिकेर झूटलाई सत्यबाट छुट्टाउन र त्यसद्वारा झूटा शिक्षकहरूलाई चिनिराख्न उनीहरू सक्षम होउन् भन्ने चाहन्थे। झूट र सत्य धेरै कुराहरूमा एउटै देखिए तापनि कुनचाहिँ झूटा हो र कुनचाहिँ सत्य हो भनी भिन्नता बताउनलाई उनीहरू एकदम कौशल हुनु खाँचो थियो। आज थुप्रै मण्डलीहरूमा एउटा समस्या यो छ कि साँचो शिक्षाको विपरीत सिकाइरहेको मान्छेलाई राम्ररी पहिचान गर्न सक्नका निम्ति मानिसहरूलाई पर्याप्त शिक्षाको ज्ञान छैन।

झूटा शिक्षकलाई चिनेपछि त्यसपछिको कदम के हो? यसले हामीलाई दोस्रो आज्ञा तर्फ डोर्याउँछ जुन आज्ञा चाहिँ पृथक्करणको आज्ञा हो: टाढा बस! यसको अक्षरशः अर्थ यो हुन्छ, “तिनीहरूबाट अन्तै फर्किऊ”। हामी केवल उनीहरूको शिक्षाबाट मात्रै होइन तर उनीहरूबाट नै अलग हुन भनिएको कुरालाई ध्यान दिनुहोस्। अल्भा म्याक्लेनले यसरी भनेका छन्, “उनीहरूबाट जतिसक्दो हुन्छ टाढै बस्नुहोस्।”

झूटो शिक्षा सिकाउनेहरूको बारेमा, नयाँ नियमले अन्य ठाउँहरूमा हामीलाई के भन्दछ, हेर्नुहोस्:

त्यो श्रापित होओस् (गलाती १:८-९)
यस्ताहरूबाट पर बस (२ तिमोथी ३:५)
पहिलो र दोस्रो चेताउनी दिएपछि विभाजन ल्याउने मानिसलाई रद्द गर (तीतस ३:१०)
यदि कोही तिमीहरूकहाँ आउँछ र यही शिक्षा ल्याउँदैन भने त्यसलाई आफ्नोघरभित्र स्वागत नगर... (२ यूहन्ना १०)।
यी हरेक खण्डहरूको हरेक आज्ञालाई ठीकसँग बुझ्न र पालन गर्न तिनका सन्दर्भ अनुसार अध्ययन गरिनुपर्छ।

प्रवेश (१८ पद)

यहाँ १८ पदले माग गरेको विवेचनाको दुईटा पक्ष छ। पहिलो, उनीहरूको अभिप्रायभित्र प्रवेश (“त्यस्ता मानिसहरू हाम्रा प्रभु येशू ख्रीष्टको सेवा गर्दैनन्, तर आफ्नै पेटको सेवा गर्दछन्”) र दोस्रो, उनीहरूको तरिकाहरूभित्र प्रवेश (अनि मीठा मोली र चिप्ला कुराहरूद्वारा सीधा-सोझाहरूका हृदयहरूलाई धोका दिँदछन्)।

उनीहरूको अभिप्रायको विवेचना:
हामीहरू खोक्रो दाबीको सहतमुनिछिर्नुपर्छ। उनीहरूले ख्रीष्टको सेवा गर्ने दाबी गरे, तर पावल उनीहरूको साँचो अभिप्रायभित्र प्रवेश गरे। उनीहरूले ख्रीष्टको सेवा गर्छन् भनी तिनले इन्कार गरे, तर बरू उनीहरूले आफ्नै पेटको सेवा गर्छन् भनी पहिचान गरे। उनीहरूले आफ्नै सेवा गरिरहेका छन् भनेर व्यक्ति गर्ने यो निकै कडा तरिका हो। “पेट” भन्ने शब्द ग्रीकमा “खोक्रो” भनिने अर्थ बोक्ने शब्दबाट आउँछ (नयाँ नियममा गर्भ भनी प्रयोग गरिएको)। यूहन्ना ७:३८ मा मानिसको सबभन्दा भित्री भागको लाक्षणिक अर्थमा यो शब्दको प्रयोग गरिएको छ। फिलिप्पी ३:१८-१९ मा पावलले यस शब्दावलीलाई ख्रीष्टको शत्रुहरूको वर्णन गर्न प्रयोग गरेकाछन्: “तिनीहरूको ईश्वर पेट हो।” अधिकांश व्यक्तिहरूले आज ख्रीष्टको सेवा गरेको दाबी गर्दछन् तर वास्तवमा व्यक्तिगत लाभ र नामको निम्ति संघर्ष गरिरहेका हुन्छन्। उनीहरूले ख्रीष्टको नाम र सम्मानको कुनै पर्वाह गर्दैनन्। उनीहरूले परमेश्वरलाई होइन तर आफ्नै सेवा गर्दै आफैंलाई खुशी बनाउँदैछन्।

उनीहरूको तरिकाहरूभित्र प्रवेश:
उनीहरू सोझा (अक्षरश: “दुष्टता नभएको”, निर्दोष, शङ्का नगर्ने व्यक्ति) हृदयहरूलाई ठग्छन्। शिकार बनेका यी व्यक्तिहरू खतरादेखि सतर्क नभईकन छिट्टै विश्वास गर्ने सोझा व्यक्तिहरू हुन्। यस्ता व्यक्तिहरूलाई ती झूटा शिक्षकहरूले कसरी धोका दिन्छन्? तिनीहरूले राम्रा शब्दहरू (हो झैं भान पार्ने र राम्रा सुनिने शब्दहरू) र मीठाबोलीहरू (सुसस्कृत भाषा) द्वारा धोका दिने गर्छन्। झूटा शिक्षकहरू कुरा गर्न एकदम सिपालु हुन्छन्! उनीहरूको बोलीमा विष हुन्छ तर त्यो सुन्दर थालमा पस्किएको हुन्छ। तिनीहरू ज्यादैचिप्ला बोली बोल्नेहरू हुन्। तिनीहरू झूटलाईआकर्षक बनाउन सिपालु हुन्छन्। त्यो पुरानो साँपको बोलीलाई सम्झनुस् (उत्पत्ति ३) जुन बोलीले हव्वालाई मोहित पारेको थियो। हामी तिनीहरूको चिप्लो र कर्णप्रियबोलीकोसतहमुनिछिर्नुपर्छ र साँपकोआवाजलाई छुट्ट्याउनुपर्छ। त्यस्ता मानिसहरूलाई चिन्नुपर्छ र उनीहरूबाट टाढा बस्नुपर्छ!

रोमी १६:१९

मुक्ति नपाएका झूटा शिक्षकहरूको बिरुद्धमा कडा चेताउनी दिसकेपछि, पावलले रोमीलाई असल र खराब प्रतिको उनीहरूको जिम्मेवारीका विषयमा अर्ती दिन्छन्। सर्वप्रथम उनले उनीहरूको विश्वासयोग्यताको टिप्पणी गर्छन् (उनीहरू झूटा शिक्षाको शिकार भएका थिएनन्) “तिमीहरूको आज्ञापालनको कुरा सबैकहाँ फैलिएको छ।” रोममा भएका विश्वासीहरू उनीहरूको विश्वासको निम्ति प्रख्यात थिए भन्ने कुरा हामीले पहिल्यै हेरिसक्यौं (रोमी १:८)। जहाँ विश्वास हुन्छ, त्यहाँ आज्ञापालन पनि हुन्छ: “अब्राहामले...विश्वासद्वारा आज्ञापालन गरे” (हिब्रू ११:८)। झूटा शिक्षाबाट बचाउने सबभन्दा प्रभावकारी प्रतिकारात्मक औषधि भनेकै परमेश्वरको वचन पालन गर्नु हो (रोमी ६:१७ हेर्नुहोस्)। उनीहरूको आज्ञाकारिताले पावललाई खुशी र आनन्दित तुल्यायो (प्रेरित यूहन्ना पनि विश्वासीहरूको आज्ञाकारिताको कारणले खुशी भएका थिए, ३ यूहन्ना ३-४)। रोमका विश्वासीहरू साम्राज्यकै मुटुमा अवस्थित भएका हुनाले सुसमाचार विस्तारको लागि रणनीतिका दृष्टिले तिनीहरूले एकदम महत्त्वपूर्ण स्थान ओगटेका थिए र अर्कोतिर उनीहरूको विश्वास दूषित भएको खण्डमात्यसबाट पर्ने असर पनि भयङ्कर हुन सक्थ्यो। अन्ततः इतिहासमा यस्तै भयो पनि। ख्रीष्टियनमतबाट विकास भएको सबैभन्दा नराम्रो असर पार्ने दूषित धर्म प्रणालीमा “रोमी” वा अङ्ग्रेजीमा “रोमन” भन्ने नाम पाइन्छ, अर्थात् रोमन क्याथोलिक मण्डली!

यी विश्वासीका निम्ति पावलको ठूलो इच्छा भनेको उनीहरू “असल कुराका निम्ति बुद्धिमान र खराब कुराका निम्ति सोझा” बनून् भन्ने थियो। “असल कुराका निम्ति बुद्धिमान” बन्नु भनेको “परमेश्वरको सत्यको वचन निरन्तर अध्ययन गर्नु होसाथै हाम्रा वरिपरि देखिने जीवनहरूमा र हामीले पढ्ने गरेकालेखकहरूका जीवन तथा कामहरूमा कुन-कुन कुरा असल छन् भनेर ध्यानपूर्वक अवलोकन गर्नु र तिनलाई मान्यता दिनु हो। पावलले यस कुराको सार फिलिप्पी ४:८ व्यक्त गरेका छन्” (न्यूवेल)। के असल हो, को असल छ, र कसरी असल बन्ने भन्ने सवालमा हामी होशियार चेलाहरू बनेको परमेश्वर चाहनुहुन्छ। परमेश्वरको असल इच्छा के हो भनेर हामीहरूले बारम्बार जाँच्नुपर्छ (रोमी १२:२), असल कुरालाई पछ्याइरहनुपर्छ (१ थेस्सलोनिकी ५:१५; १ पत्रुस ३:१३), खराब कुरालाई पन्साइरहनुपर्छ (१ पत्रुस ३:११-“तर्कोस्”), असल काममा भरपूर हुनुपर्छ (२ कोरिन्थी ९:८; एफेसी २:१०; २ थेस्सलोनिकी २:१७; २ तिमोथी ३:१७; तीतस ३:१) र त्यसमा फलवान हुँदै जानुपर्छ (कलस्सी १:१०)।

“खराबका निम्ति सोझा” बन्नु भनेकोचाहिँ कुनै न कुनै अर्थमा “असल कुराका निम्ति बुद्धिमान” बन्नुको उल्टो हुनुपर्छ। हामीहरू खराबका निम्ति बुद्धिमान हुनुहुँदैन। हामीहरू खराब कुराका निम्ति असल तरिकाले सोझा (निर्दोष, ज्ञान नभएको) हुनुपर्छ। हामीहरूले संसार कति भ्रष्ट छ भन्ने अनुभव खोज्न व्यक्तिगत रूपमा जाँचपड्ताल गर्दै दुष्टताको बारेमा अध्ययन गर्न बाहिर संसारमा जानुहुँदैन। ज्ञान र समझको सवालमा, हामीहरू पाको र उमेरदार हुनुपर्छ, तर दुष्टता र भ्रष्टताको सवालमा, हामीहरू साह्रै नाबालक र ज्ञान नभएको हुनुपर्छ (१ कोरिन्थी १४:२०)। यदि कुनै भ्रष्ट टेलिभिजन कार्यक्रम छ भने, एउटा विश्वासीले सोको बारेमा अरूलाई चेताउनी दिनलाई आफै थाह गर्छु भन्दै उक्त कार्यक्रम हेर्नु हुँदैन। “थुप्रै ख्रीष्टियनहरूले आधुनिक संस्कृतिको बारेमा विश्लेषण गर्न सक्ने हुन र संसारिकहरूलाई गवाही दिन तयार हुनको निम्ति संसारको मार्गहरूको बारेमा परिचित हुनुपर्छ भनी खराब चलचित्रहरू र टेलिभिजन कार्यक्रमहरूको हेर्ने कुरालाई तर्कसङ्गत बनाउन खोज्छन्। तर फोहोरको थुप्रो कति फोहोर छ भनी थाह गर्न त्यसको बीचबाट भएर हिँड्नु पर्दैन, र जति हामी त्यसको वरिपरि हुन्छौं, उति नै हामीमा त्यसको गन्ध रहेको हुन्छ। जति स्वेच्छाले हामी दुष्टसँग नजिक हुन्छौं, उति नै त्यसले हामीलाई त्यसकै स्तरमा घिसारेर लैजान्छ” (म्याकर्थर)। हामीले “खराब कुरालाई घृणा” गर्नुपर्छ (रोमी १२:९) र यसको बारेमा जाँचपड्ताल गर्न यसको नजिकमा जानुहुँदै तर डराउँदै यसबाट पछाडि हट्नुपर्छ। हाम्रो उद्देश्य भनेको यसबाट जति सक्दो टाढो जानु हो, र “शरीरद्वारा कलङ्कित भएको वस्त्रलाई पनि घृणा” गर्नु हो (यहूदा २३)।

“सोझा” शब्दको अक्षरश: अर्थ “अमिश्रित” वा “मिश्रण नभएको” हुन्छ। यो शब्दचाहिँ “मिसाउनु, मिश्रण गर्नु, पानी र दाखरस मिसाउनु” भन्ने क्रिया शब्द (“केरान्नुमी”) बाट आउँछ र यसको अगाडि उपसर्गको रूपमा ग्रीक अक्षर अल्फा (“अ”) जोडिएको छ जसले यसलाई विपरीत अर्थमा ढाल्छ।फलस्वरूप यसको अर्थ हुन्छ, “दुष्टताको मिश्रण नभएको, दोषबाट अलग, निर्दोष, सोझा” (थेयर)। यो शब्द पानी नमिसिएको दाखरस (विशुद्ध दाखरस) र मिश्रण नगरिएको धातु (चोखो धातु)लाई जनाउन प्रयोग गरिन्छ। नयाँ नियममा यो अरू दुई ठाउँमा प्रयोग गरिएको छ—१)फिलिप्पी २:१५, “कि तिमीहरू निर्दोष र सोझो (अङ्ग्रेजी KJV मा harmless, कुनै हानि नगर्ने) होओ टेढा र भ्रष्ट पुस्ताका बीचमा परमेश्वरका निष्कलङ्क सन्तानहरू होओ...” २)मत्ती १०:१६ “यसकारण तिमीहरू साँपहरूजस्तै चतुर र ढुकुरहरूजस्तै सोझा होओ”। पवित्र-शास्त्रमा ढुकुर भनेको शुद्धताको चित्रण हो। श्रेष्ठगीत ६:९ मा ढुकुर शब्दलाई “निष्कलङ्क” शब्दको समानान्तर रूपमा प्रयोग गरिएको छ र मत्ती ३:१६ माचाहिँ यो पवित्र आत्माको सङ्केत हो।

रोमी १६:२०

यस पदमा शैतानसँगको हाम्रो युद्ध छिट्टै पूर्ण र अन्तिम निष्कर्षमा आइपुग्नेछ भन्ने अचम्मको प्रतिज्ञाविश्वासीहरूलाई दिइएको छ जसमा शैतान पूर्ण रूपले हराइनेछ र परमेश्वरका जनहरू महिमापूर्ण विजयमा सहभागी हुनेछन्। उहाँ “शान्तिका परमेश्वर” हुनुहुन्छ, अर्थात् उहाँले मात्र शैतानसँगको युद्धको अन्त्य गर्नुभई पवित्रजनहरूलाई शान्ति दिनुहुनेछ (युद्धको अन्त्य, झगडाबाट स्वतन्त्र भन्ने अर्थमा “शान्ति”)। निश्चय पनि परमेश्वरका जनहरूले अहिले पनि परमेश्वरको शान्तिमा आनन्द मनाउँछन् (यूहन्ना १४:२७), तर यस पदमा भएको प्रतिज्ञाको प्रकाश अनुसार, पावलले सम्भवत: शैतानको हारद्वारा विश्वासीहरूले प्राप्त गर्ने आखिरी शान्तिको बारेमा सोचिरहेका थिए।

यो प्रतिज्ञा सोझै उत्पत्ति ३:१५ को सङ्केतहो जहाँ स्त्रीको सन्तान (ख्रीष्ट) ले शैतानको शिर कुच्च्याउनुहुनेछ (घातकप्रहार), र शैतानले ख्रीष्टको कुर्कुच्चा डस्नेछ वा दबाउनेछ (कलवरीको क्रूस) भनी हामीलाई बताइएको छ। हाम्रा प्राणहरूको प्रधानशत्रुमाथि परमेश्वरले कुच्च्याउने किसिमको चोट लगाउनुहुनेछ, र हामी शैतानमाथिको प्रभुको विजयमा सहभागी हुनेछौं। जोहरू “साझा-हकवालाहरू” हुन् (रोमी ८:१७), उनीहरू साझा-विजयीहरू पनि हुन्। ऊ “तिमीहरूका पाउमनि” कुल्चाइनेछ। जब इस्राएलीहरू विरोधी राजाहरूमाथि विजयी हुन्थे, तब तिनहरूको घाँटीमाथि आफ्ना खुट्टा दबाएर महान् विजयको चित्रण दिनेगर्दथे (यहोशू १०:२४)। परमेश्वरले शैतानमाथिको उहाँको विजयमा विश्वासीहरूलाई खुशी मनाउन स्वागत गर्नुहुन्छ।

शैतानको यो ठूलो पराजय हुने कहिले हो? यो “चाँडै, छिट्टै, एकैछिनमा, शीघ्र” हुनेछ। युद्ध गाह्रो भए तापनि लामो हुनेछैन भनी विश्वासीहरूलाई उत्साह दिइएको छ। यसको अन्त्य छिट्टै हुनेछ भनी हामीले आशा गर्न सक्छौं। शैतानको समय छोटो छ र उसको हार निश्चित छ।

हामी भविष्यवाणीहरूद्वारा जान्दछौं,सङ्कष्टकालको मध्यविन्दुमा शैतान तेस्रो स्वर्गबाट निष्कासन गरिनेछ र समय छोटो छ भनी जानेर संसारमा आफ्नो क्रोध पोख्नेछ(प्रकाश १२:१२)। आफ्नो विनाश नजिकै छ भन्ने कुरा उसलाई थाह छ। साँढे तीन वर्षपछि ऊ अथाह कुण्डमा फ्याँकिनेछ जुन बेला ऊ हजार वर्षको राज्यका पवित्र जनहरूको “पाउमनि” वास्तवमै हुनेछ। उसको अन्तिम र अनन्त विनाशचाहिँ प्रकाश २०:१० मा वर्णन गरिएको छ (मत्ती २५:४१ सित पनि तुलना गर्नुहोस्)।

शैतान कलवरीमा पराजित भईसकेका भए तापनि, पावलले रोमीहरूलाई यो पत्र लेख्दा आजको दिनमा जस्तै ऊ अझै सक्रियरभयानक शत्रुको रूपमै थियो (१ पत्रुस ५:८-९; १ यूहन्ना ४:४)। पहिलो शताब्दीका विश्वासीहरू लगायत आजका विश्वासीहरू पनि आनन्द भई येशू ख्रीष्टको पुनरागमनको बाटो हेरिरहेका छन् (तीतस २:१३; रोमी १३:११; १ कोरिन्थी १:७ इत्यादि)। हामी जान्दछौं, यो घटना घटेपछि (र यो घटना जुनसुकै बेला पनि घट्न सक्छ अर्थात् यो सन्निकट वा अङ्ग्रेजीमा imminent छ), शैतानको हार छिट्टै हुनेछ। यही सन्निकटता (imminency) कोदृष्टिले शैतानको हार “छिट्टै” हुनेछ भनी हामी भन्नसक्छौं। मण्डली युगको कुनै पनि समयमा बाँचेका विश्वासीहरू ख्रीष्टको शीघ्र आगमन र शैतानको शीघ्र हारको तथ्यले उत्साहित हुनुपर्छ।

“छिट्टै” वा “चाँडै” शब्दावली प्रकाश १:१ र २२:६ मा पनि पाइन्छ—“चाँडै हुनेपर्ने कुराहरू”। सङ्कष्टकाल भनेको भविष्यमा हुने कुरा होइन तर इतिहासमै अर्थात् ई.सं. ७०मा यरूशलेम ध्वस्त हुँदा पूरा भइसक्यो भनी विश्वास गर्ने कोही-कोही छन्। त्यही समयमा नै प्रकाशको पुस्तकमा उल्लेखित अधिकांश भविष्यवाणीहरू पूरा भए भनी उनीहरू विश्वास गर्दछन्। तर रोमी १६:२० ले त्यस्तो विचारको विपरीतमा तर्क प्रदान गर्दछ। निश्चय पनि आज शैतान सक्रियर भयानक शत्रु हो र उसले अहिलेसम्म उसलाई कुल्चने र खतम गर्ने मुक्का खान बाँकी नै छ, तरै पनि छिट्टै नै त्यसो हुनेछ भनी पावलले प्रतिज्ञा गरेको झण्डै २००० वर्ष भइसक्यो! तरै पनि, त्यसबेलाको र अहिलेको विश्वासीको दृष्टिकोणमा, यो घटना “छिट्टै” नै हुने घटना हो भनेर प्रतीक्षा गर्न सकिन्छ।

मैले, ग्यारी डेमार (Gary DeMar) लाई एउटा प्रश्न लेखेर पठाएको थिएँ, जोचाहिँ एक प्रमुख लेखक, प्रबन्धवादकाविरोधी र अधिकांश भविष्यवाणीहरू विगतमै, अर्थात्, ई.सं. ७० तिर नै पूरा भइसके भन्ने व्याख्याकासमर्थक हुन्। मैले उहाँलाई रोमी १६:२०को आधारमा शैतानकहिले कुल्चाइनेछ भनी विश्वास गर्नुहुन्छ भनी प्रश्न गरेको थिएँ। उक्त कुरा ई.सं. ७० मै पूरा भइसक्यो भनी विश्वास गर्नुहुन्छ कि भनेर पनि प्रश्न गरेको थिएँ। उहाँको प्रतिकृया यस्तो थियो:

मूल प्रसङ्ग रोमी ख्रीष्टियनहरूकोछजसलाई पावलले यहाँ लेख्दैथिए (“तिम्रा पाउहरू” भनेको “तिनीहरूका पाउहरू” होइनन्, अर्थात्, पावलले पत्र लेखेको समयभन्दा बाहिरका मानिसका पाउहरू होइनन्)। कुल्चाउने कार्य “छिट्टै” घट्नेवाला थियो। “छिट्टै” भनेको “छिट्टै” नै हो। झण्डै २००० वर्ष बितिसकेको छ। पावलले जे वर्णन गरिरहेका थिए, त्यो इतिहास भइसक्यो। शैतान भन्नाले विश्वास नगर्ने यहूदीहरूलाई पनि जनाउन सक्छ जसलाई “शैतानको सभाघर” भनी प्रकाशको पुस्तकले वर्णन गर्दछ (प्रकाश २:९; ३:९), उनीहरू नै शैतानसँग सम्बन्धित छन् भनी येशूले यूहन्ना ८:४४ मा उनीहरूको बयान गर्नुभयो (“तिमीहरू आफ्ना बाबु शैतानबाटका हौ”)। पावलले लेखेका छन् कि “यहूदीहरूले प्रभु येशूलाई र तिनीहरूका आफ्नै भविष्यवक्ताहरूलाई पनि मारे, र हामीलाई सताएका छन्; अनि तिनीहरूले परमेश्वरलाई प्रसन्न गराउँदैनन् र सबै मानिसहरूका विरोधमा छन्; अनि सधैं आफ्ना पापहरूको नापो भर्नालाई तिनीहरूले हामीलाई अन्यजातिहरूले मुक्ति पाऊन् भनेर उनीहरूसित बात गर्न मनाही गर्दछन्; तर तिनीहरूमाथि भयानक क्रोध आएको छ” (१ थेस्सलोनिकी २:१४-१६)। यो “क्रोध” नै सायद पावलले बताएका कुल्चाउने विषयको लाक्षणिक माने हुन सक्छ। (सन् २१ मे, २००१)

यहाँ याद गर्नुहोस्, डेमारले अक्षरश: रूपमा “छिट्टै” भन्ने शब्दलाई बुझ्न खोज्दा उनी अर्थको साह्रै अनर्थ हुने गरी बुझ्न बाध्य भएका छन्। तिनले भन्छन् “छिट्टै” भनेको “छिट्टै” हो तर त्यसपछि तिनले शैतान भनेको शैतान होइन तर ई.सं. ७०मा नाश भएका विश्वास नगर्ने यहूदीहरूको लाक्षणिक अर्थ मात्र हो भन्छन्। भूतकालीक (पूरा भईसक्यो भन्ने “प्रिटेरिस्ट”) दृष्टिकोण राख्नेहरूबीच प्रायः पाइने व्याख्या यही हो। अधिकांश भविष्यवाणीहरू पहिलो शताब्दीमै पूरा भए भन्ने अर्थ लगाउन खोज्दा यसले निजलाई धेरै भविष्यवाणीहरू एकदम अनर्थ तरिकाले लिन बाध्य गराउँछ।

रोमी १६:२१-२४

यस अध्यायको पहिलो खण्डमा पावलले रोममा भएका विभिन्न विश्वासीहरूलाई व्यक्तिगत सलाम पठाएका छन्। यस खण्डमा, पावलले आफूसँग कोरिन्थमा भएका सहकर्मीहरूबाट रोमीहरूलाई सलाम व्यक्त गर्दछन्। रोमीको पुस्तक पावलको तेस्रो मिसनरी यात्राको अन्ततिर कोरिन्थबाट लेखिएको थियो।

पावलले तिनका विश्वासयोग्य सहकर्मी तिमोथीको उल्लेख गर्दछन्, जो विश्वासमा तिनका आफ्नै छोरा थिए (फिलिप्पी २:१९-२०; १ तिमोथी १:२)। तिमोथीको निम्ति मृत्युसम्मै पनि पावलको हृदयमा न्यानो स्थान थियो। तिनका अन्तिम अभिलिखित शब्दहरूमा, पावलले दुई पटक तिमोथीलाई फेरि भेट्ने इच्छा प्रकट गर्दछन् (२ तिमोथी ४:९,२१)। लुसियसचाहिँ सम्भवत: प्रेरित १३:१ मा उल्लेख गरिएका एन्टिओक मण्डलीका अगमवक्ताहरू र शिक्षकहरूमध्येकै लुसियस हुन सक्छन्। कति (जस्तै, म्याकर्थर) ले लुसियसचाहिँ लूका नै हुन् भनी ठान्दछन्। यासोनचाहिँ प्रेरित १७:५-९ मा उल्लेख भएकै व्यक्ति हुन सक्छन् जसले पावल र सिलासलाई पाहुना राखेका थिए र जसको घर भीडहरूद्वारा आक्रमण गरिएको थियो। सोसिपाटरचाहिँ प्रेरित २०:४-६ मा सोपट्रोस भनी कहलिएका व्यक्ति हुन सम्भव छ, र यदि उनी नै हुन् भने उनीचाहिँ प्रेरित १७:१०-१२का उत्तम बेरियालीहरू मध्ये एक हुनुपर्छ। २१ पदमा उल्लेख गरिएका अन्तिम तीन नामहरू पावलका “आफन्तहरू” भनिएकोले उनीहरू यहूदीहरू थिए भन्ने बुझिन्च (रोमी १६:७ मा भएको “आफन्तहरू” अन्तर्गतको हाम्रो टिप्पणी हेर्नुहोस्)। अनि यस कुराले पनि यहाँ उल्लेखित लुसियस लूका होइनन् भन्ने रायको समर्थन गर्दछ (लूका अन्यजाति थिए)।

रोमीको पुस्तकमा पावलले नलेखेका एउटै मात्र पदचाहिँ २२ पद हो! टेर्टियस पावलका लेखनदास थिए। पावलले पवित्र आत्माले चलाइए अनुसार बोल्दथे (२ पत्रुस १:२१सँग तुलना गर्नुहोस्) र टेर्टियसलेचाहिँ उनले जे भन्छन् त्यही कुराहरू टिपोट गर्दथे वा जस्ताको त्यस्तै उतार्ने गर्दथे। तर यहाँ पावलले टेर्टियसलाई आफ्नै निम्ति बोल्ने र रोमका विश्वासीहरूलाई सलाम पठाउने अनुमति दिए। पावलले आफ्ना पत्रहरू साधारणतया अरूलाई लेख्न लाउँथे भन्ने देखिन्छ, सायद उनका आँखाको समस्याले गर्दा, जसको कारण उनले आफैले लेख्नुपर्दा ठूला-ठूला अक्षरहरूमा लेख्न उनी बाध्य हुन्थे(गलाती ६:११)। आफ्ना पत्रहरूको अन्त्यमा पावलले साधारणतया आफ्नै हातले लेखेर अभिवादन गर्ने गर्दथे र यसरी उक्त पत्र पावलकैहो भनी प्रमाणिकरण हुन्थ्यो (२ थेस्सलोनिकी ३:१७ र गलाती ६:११)। तिनले विश्वासीजनहरूलाई “प्रभुमा” अभिवादन गरे। विश्वासीहरूलाई आपसमा एक बनाउन सक्नुहुने केवल मण्डलीका शिर, धन्य प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ।

गायस (२३ पद) उनको पाहुना सत्कार गर्ने कामका निम्ति चिनिएका थिए, र तिनले पावललाई मात्र होइन तर सम्पूर्ण मण्डलीलाई पनि सत्कार गरेका थिए। “यहाँ एकजना भाइ छन् जसको सत्कारले सम्पूर्ण पवित्रजनहरूलाई स्वागत गर्दछ। भाइहरूहो, यदि तपाईं परमेश्वरका जनहरूका निम्ति आशिषको सहयोगी बन्ने तृष्णा गर्नुहुन्छ भने, गायस बन्नुहोस्! आफूसँग भएका थोकहरूलाई आफ्नै जस्तो होइन तर ख्रीष्टको जस्तो ठान्नुहोस्;जसको कारण ख्रीष्टका आफ्नाहरूले स्वतन्त्रतापूर्वक प्रयोग गरिन सकियोस्” (न्यूवेल)। सायद १ कोरिन्थी १:१४मा उल्लेख गरिएका व्यक्ति उनी नै थिए, जसलाई पावलले बप्तिस्मा दिएका थिए (पावलले रोमीको पत्र कोरिन्थबाट नै लेखेका हुन्।)कतिले तिनलाई प्रेरित १८:७का जस्ट हुन् भनी ठानेका छन्। सम्भवतः गायस एक धनी र ठूलाठाला मानिस थिए जसको घर विश्वासीहरू उपासना गर्नको निम्ति जुट्नलाईपुग्ने गरीफराकिलो थियो।

एरास्टस (२३ पद) कोरिन्थ शहरका खजाञ्ची थिए। यो “ओइकोनोमोस” (oikonomos: अङ्ग्रेजी इकोनोमी भन्ने शब्दसित तुलना गर्नुहोस्) शब्द हो जसको अर्थ “घरको अध्यक्ष, भण्डारी” अथवा यस अर्थमा “शहरको आर्थिक पर्यवेक्षक”। यही शब्दबाट हामीले “प्रबन्ध” भन्ने शब्दावली पाउँछौं। एरास्टस एक भन्दा बेसी तरिकाद्वारा प्रबन्धवादी थिए। उनी शहरको आर्थिक कुरामा विश्वास गरिएका थिए र त्यो भन्दा महत्त्वपूर्ण, विश्वासीको रूपमा परमेश्वरको अनुग्रह प्रकट गर्ने र प्रदर्शन गर्ने जिम्मेवारीमा पनि विश्वास गरिएका थिए (एफेसी ३:२)। एरास्टस ठूलो दर्जा र राजनैतिक प्रभाव भएका मानिस थिए, र त्यस्ता मानिसहरूले शहरका शासकका सामु गवाही हुने अति राम्रो अवसर पाएका हुन्छन्। हामीलाई परमेश्वरले उच्च दर्जा वा सानो दर्जा, जहाँसुकै राख्नुभए तापनि हामी ख्रीष्टको निम्ति चम्कन सकौं (फिलिप्पी २:१५)।

कुआर्टस (२३ पद) सायद उच्चकोटिकामानिस थिएनन्, तर तिनी ख्रीष्टमा प्रिय भाइ थिए र पावलले रोमीहरूलाई कुआर्टसको तर्फबाट हृदयदेखिको अभिवादन पठाए। ख्रीष्टले हामीलाई “भाइ” भन्न लजाउनुहुन्न भन्ने कुरामा हामी कति धन्यवादी हुनुपर्ने हो (हिब्रू २:११)। अभिवादनहरू पठाउने क्रममा कुआर्टस पावलका अन्तिम मित्र थिए।

२४ पदमा पावलले २० पदको जस्तै आशीर्वाद दिन्छन्। दुईटा आशीर्वादहरू एकदम नजिक हुनु भनेको पावलको शैलीसित नमिल्ने कुरा होइन (२ थेस्सलोनिकी ३:१६,१८ हेर्नुहोस्)। ख्रीष्टमा विश्वासीहरूले उनीहरूलाई अनुग्रहको परमेश्वर र परमेश्वरको अनुग्रहको बारेमा बारम्बार सम्झना गराइनु नराम्रो होइन (२ कोरिन्थी ९:८; २ तिमोथी २:१सँग तुलना गर्नुहोस्)।


पृष्ठ संशोधन मिति: Sunday 04-Oct-15
WordofTruth.com.np © 2017