Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

रोमी १०:१-७

यस पृष्ठलाई छाप्नुहोस्

रोमी अध्याय १०

दुवै यहूदी र अन्यजातिलाई मुक्ति

परिचय

रोमी अध्याय ९ ले परमेश्वरको सार्वभौमिकतालाई जोड दिएको थियो: आफ्नो योजनाको कार्यान्वयन परमेश्वर आफैले गर्नुहुन्छ (९:११); चुन्ने काम परमेश्वर आफैले गर्नुहुन्छ (९:११); बोलाउनुहुने परमेश्वर हुनुहुन्छ (९:११); कृपा देखाउनुहुने र दया राख्नुहुने परमेश्वर हुनुहुन्छ (९:१५-१६); कठोर पार्नुहुने परमेश्वर हुनुहुन्छ (९:१८); कृपाका भाँडाहरूलाई महिमाका निम्ति तयार पार्नुहुने परमेश्वर हुनुहुन्छ (९:२३); यहूदी र अन्यजातिलाई एउटै शरीरमा बोलाउनुहुने परमेश्वर हुनुहुन्छ (९:२४)।

रोमी अध्याय १० ले मानिसको जिम्मेवारीलाई जोड दिन्छ: प्रार्थना गर्नुपर्ने मानिसले हो (१०:१); अधीनतामा आफूलाई सुम्पनुपर्ने मानिसले हो (१०:३); विश्वास गर्ने काम मानिसको हो (१०:४); हृदयमा विश्वास गर्नुपर्ने र मुखले स्वीकार गर्नुपर्ने मानिसले हो (१०:९-१०); प्रभुको नामलाई पुकार्ने काम मानिसले गर्नुपर्छ (१०:१२-१३); सुसमाचार सुन्ने र विश्वास गर्ने काम मानिसले गर्नुपर्छ (१०:१४-१७)। बचाउने काम परमेश्वरले गर्नुहुन्छ तर विश्वास गर्ने काम मानिसले गर्नुपर्छ (प्रेरित १६:३१ र १ कोरिन्थी १:२१ हेर्नुहोस्)।

रोमी १०:१ (९:१-४ सित तुलना गर्नुहोस्)

“चाहना” को माने हो “इच्छा, अभिलाषा, उत्कण्ठा” (क्रियापदको माने हो “राम्ररी खुशी हुनु”; तसर्थ पावल यस्तो भन्दैथिए, “म उनीहरूको मुक्तिको अभिलाषी छु, र उनीहरूको मुक्तिले मेरो हृदयलाई ठूलो आनन्द र खुशी ल्याउनेथ्यो!”)। यहाँ “प्रार्थना” भन्ने शब्द प्रार्थनाको लागि नयाँ नियममा सामान्यतया प्रयोग गरिने शब्द नभएर कुनै खाँचोको कारण राखिने कुनै निश्चित माग भन्ने माने बोकेको शब्द हो। एउटा निश्चित खाँचोको निम्ति एउटा निश्चित माग थियो:अर्थात् उनीहरूले मुक्ति पाऊन्। भविष्यमा इस्राएलले एक राष्ट्र (जाति) कै रूपमा मुक्ति पाउनेछ (हेर्नुहोस् रोमी ११:२६)। वर्तमानमा पावलले व्यक्ति-व्यक्तिको रूपमा यहूदीहरूले ख्रीष्टमा विश्वास गरून् र मुक्ति पाऊन् भनेर प्रार्थना गर्दैथिए। पावल आफै एक यहूदी थिए जसले मुक्तिका निम्ति ख्रीष्टमाथि भरोसा गरे (प्रेरित अध्याय ९)। हाम्रो हृदयमा, पावलको जस्तै, हराएकाहरूका निम्ति ख्रीष्टको दया हुनुपर्छ (मत्ती ९:३६-३८)।

एउटा विषम र गलत शिक्षा छ जसले भन्छ कि परमेश्वरको सार्वभौमिकताले मानिसको जिम्मेवारीलाई अनावश्यक तुल्याएको छ। त्यो शिक्षा यस प्रकार छ: “मैले किन प्रार्थना गर्नुपर्छ र? एक व्यक्ति कि त चुनिएको हुन्छ, कि त नचुनिएको हुन्छ। परमेश्वरले उसलाई कि त बचाउनुहुन्छ, कि त बचाउनुहुन्न। एउटा व्यक्तिले मुक्ति पाउनेछ भनेर परमेश्वरले ठहराइसक्नुभएको छ भने उसले मुक्ति पाउने नै छ, मैले चाहे प्रार्थना गरूँ वा नगरूँ, त्यसैले मैले किन प्रार्थना गर्नुपर्छ र?” पावलले प्रार्थना गरे! परमेश्वर सार्वभौम हुनुहुन्छ भन्ने शिक्षा, यदि सठीक रूपमा बुझियो भने, त्यो कहिल्यै प्रार्थनाको बाधक बन्दैन। जुन परमेश्वरलाई हामी प्रार्थना गर्दछौं उहाँ नै हुनुहुन्छ जसले सबथोक नियन्त्रण गर्नुहुन्छ र “सबै कुराहरू आफ्नै इच्छाको मनसायअनुसार” काम गर्नुहुन्छ” (एफेसी १:११)। साथै प्रार्थनाले हामीलाई हाम्रा सार्वभौम परमेश्वरको मन र हृदय र इच्छासित एक मन बनाउँदछ ताकि उहाँ हामीमा र हामीद्वारा आफ्नो उद्देश्य झन् प्रभावकारी ढङ्गले अघि बढाउन सक्नुहुन्छ (फिलिप्पी २:१३)।

जब एक व्यक्तिले साँच्ची नै मुक्ति पाउँछ उसलाई अरूहरूले मुक्ति पाओस् भन्ने वास्ता हुन्छ, इच्छा र बोझ हुन्छ। उसले अरूलाई हराएका व्यक्तिहरूको रूपमा देख्नेछ जसलाई ख्रीष्टको नित्तान्त खाँचो छ। आफ्नो परमेश्वर र मुक्तिदाताको इच्छा जस्तो छ उसको पनि त्यस्तै इच्छा हुन्छ (१ तिमोथी २:३-४ हेर्नुहोस्)।

रोमी १०:२

पावल यहाँ भन्दैछन्: “म एउटा साक्षी हुँ! मलाई उनीहरूको जोशको बारेमा सब थाह छ किनकि म आफै एक यहूदी हुँ र म पनि उनीहरूजस्तै थिएँ (हेर्नुहोस् गलाती १:१४; फिलिप्पी ३:६ ज्ञानबिनाको जोश; ३:९-१० ज्ञानसहितको जोश)। ज्ञानबिनाको जोश हुनुचाहिँ एउटा फूटबल खेलाडीजस्तो हुनु हो जसले आफ्नो भएभरको बलले भकुण्डोलाई खेलाउँदै दगुर्छ, तर उल्टो दिशामा! कसैको जोश हुन्छ तर ज्ञान हुँदैन; अरूको ज्ञान हुन्छ तर जोश हुँदैन।

प्रभुका निम्ति जोश हुनु भनेको परमेश्वरलाई खुशी पार्न, उहाँको इच्छा पूरा गर्न, वर्तमान संसारमा हर तवरले उहाँको महिमाको प्रवर्तन गराउन ज्वलन्त अभिलाषा हुनु हो। जोशिलो मान्छे एउटै कुराको पछि लाग्छ। ‘ऊ लगनशील छ, उल्लसित छ, कट्टर छ, दिलोज्यान दिने खाले छ, आत्मामा जोशिलो छ’ आदि भनेर पुग्दैन। उसले केवल एउटै कुरा देख्छ, उसलाई एउटै कुराको वास्ता छ, ऊ एउटै कुराको निम्ति जिउँछ, ऊ एउटै कुराले निलिएको छ; अर्थात् परमेश्वरलाई खुशी पार्नु। ऊ बाँचे पनि वा मरे पनि — ऊ स्वस्थ्य होस् या रोगी — ऊ धनी होस् वा गरिब — उसलाई बुद्धिमान् ठानियोस् वा मूर्ख — उसलाई दोष लगाइयोस् वा प्रशंसा गरियोस् — उसले सुनाम कमाओस् वा बदनाम — उसलाई आदर गरियोस् वा अनादर — यी सबै कुराका लागि एक जोशिलो मानिसले कुनै मतलब राख्दैन। ऊ एउटै कुराको निम्ति जल्दछ; त्यो एउटा कुरा हो परमेश्वरलाई खुशी पार्नु, र परमेश्वरको महिमालाई अघि बढाउनु। यस जलनले नै उसलाई खान्छ भने पनि उसले वास्ता गर्दैन — ऊ सन्तुष्ट छ। ऊ ठान्दछ, जस्तो एउटा बत्ती, त्यस्तै ऊ पनि जल्नको लागि हो; अनि यदि ऊ जल्दै खर्चिन्छ भने उसले केवल त्यो काम पूरा गर्दछ जुन कामको लागि परमेश्वरले उसलाई नियुक्त गर्नुभयो। (जे सी राइली)

रोमी १०:३

“अनजान” शब्दचाहिँ पद २ को “ज्ञानअनुसार छैन” सित जोडिएको छ। तिनीहरू अनुग्रहमा आधारित धर्मीकरणको ईश्वरीय तरिकाको बारेमा अनजना थिए र तिनीहरू कामहरू/व्यवस्था/शरीरमा आधारित धर्मीकरणको आफ्नै तरिकालाई काममा लाउन खोज्दैथिए। जोडचाहिँ “आफ्नै” भन्ने शब्दलाई दिइएको छ। “खोजेर” भन्ने शब्दले रोजाइलाई जनाइरहेको छ। रोज्नुपर्ने कुरा यस प्रकार छ: धार्मिकता मैले आफ्नै प्रयासबाट प्राप्त गर्न खोज्ने कि परमेश्वरको अनुग्रहले? म आफ्नै धार्मिकतालाई स्थापना गर्न खोजूँ कि उहाँको धार्मिकताको अधीनतामा आफूलाई सुम्पूँ? मैले आफैलाई परमेश्वरकहाँ ल्याउन खोज्ने कि ख्रीष्टले मलाई परमेश्वरकहाँ ल्याउनुपर्ने हो (१ पत्रुस ३:१८)? धार्मिकता मैले सीनै पर्वतमा पाउने हो (व्यवस्था पालन गर्न खोजेर) कि कल्वरीमा पाउने हो (मेरा निम्ति क्रूसमा टाँगिनुभएको मुक्तिदातामाथि भरोसा गरेर)?

उदाहरण: व्यवस्था पालन गरेर आफ्नै धार्मिकता स्थापित गर्न खोजिरहेकाहरू ती मानिसहरूजस्ता हुन् जोहरू आफ्नै प्रयासले पौडी खेलेर समुद्र पार गरी जापानदेखि अमेरिका पुग्न खोज्छन्। त्यो असम्भव छ! कोहीकोही अरूअरू भन्दा अलिक पर पुग्लान्। कोही त थुप्रै किलोमिटर दूरी पनि पार गर्लान्। तर तिनीहरू सबै समुद्रमा डुबेर मर्छन्। एकैजना पनि सफल हुन सक्दैन। “आफूलाई अधीनतामा सुम्पनेहरू” ती जस्ता हुन् जोहरू जहाज चढ्छन् र उनीहरूलाई जापानदेखि अमेरिका पुर्याउनलाई जहाजमाथि भरोसा राख्छन्। पूरै काम जहाजले गर्छ। उनीहरू आफैले आफूलाई गन्तव्यमा पुर्याउँदैनन्, जहाजले उनीहरूलाई पुर्याउँछ। हामीलाई परमेश्वरकहाँ पुर्याउनेहुने चाहिँ ख्रीष्ट हुनुहुन्छ (१ पत्रुस ३:१८; यूहन्ना १४:६)। हाम्रा आफ्नै कामहरू, हाम्रा आफ्नै प्रयास, ती जतिसुकै इमानदारीपनमा गरिएका किन नहोऊन् र हामी जतिसुकै यत्नशील किन नहोऔं, तिनले हामीलाई परमेश्वरकहाँ कहिल्यै पुर्याउन सक्दैनन् (एफेसी २:८-९; तीतस ३:५)।

रोमी १०:४

जब म मुक्तिको निम्ति ख्रीष्टकहाँ आउँछु, यसले व्यवस्था पालनद्वारा धार्मिकता प्राप्त गर्न खोज्ने मेरा सबै खोजीलाई अन्त्य गरिदिन्छ। मलाई चाहिएको सम्पूर्ण धार्मिकता येशू ख्रीष्टमा पाइन्छ। व्यवस्थाले मलाई मेरो अधर्म देखाउन सक्छ तर त्यसले मलाई धार्मिकता दिन सक्दैन: “किनकि व्यवस्थाद्वारा धार्मिकता आउँदो हो ता ख्रीष्ट व्यर्थमा मर्नुभयो” (गलाती २:२१)। परमेश्वरको धार्मिकता कलवरीमा पाइन्छ, सीनैमा होइन। जहाजको उदारणलाई फेरि लिऊँ: जहाज चढ्नुचाहिँ ख्रीष्टमा विश्वास गर्नु जस्तै हो (“विश्वास गर्ने हरेक”)। जहाजमाथि चढिसकेको हरेकले भन्न सक्छ: “अब उसो मलाई पौडनु पर्ने कुनै आवश्यकता छैन! मैले त्यो भन्दा धेरै राम्रो तरिका भेट्टाएको छु! मैले पौडेर कहिल्यै पुग्न नसक्ने ठाउँमा मलाई पुर्याइदिन म जहाजमाथि भरोसा गर्दैछु! मेरा पौडने दिनहरू अन्त्य भइसके किनकि म जहाजमा छु!” व्यवस्थाद्वारा धार्मिकताको खोजी गर्ने मेरा दिनहरू अन्त्य भए!

जसरी पावलले अर्को ठाउँमा लेखेका छन्, “र उहाँमा भेट्टाइन सकूँ, व्यवस्थाबाट हुने आफ्नै धार्मिकता भएकोले होइन, तर ख्रीष्टमाथिको विश्वासद्वारा हुने धार्मिकताले अर्थात् परमेश्वरको धार्मिकता, जो विश्वासद्वारा प्राप्त हुन्छ” (फलिप्पी ३:८ख-९)। विश्वास नगर्ने यहूदीहरू परमेश्वरको क्रोधमुनि थिए किनकि तिनीहरूको जीवन उहाँको व्यवस्थाको नापोसम्म पुग्न सक्दैनथ्यो अनि उनीहरू उहाँको अनुग्रहको अधीनतामा आफूलाई सुम्पन चाहँदैनथे।

“अन्त” को माने “टुङ्गो” हो। मूरेको टिप्पणीले मदत दिन्छ:

एउटा शर्त थपिएको छ भन्ने कुरा यहाँ टिपोट गरिनु खाँचो छ: “विश्वास गर्ने हरेक”। यस शर्तले यो जनाउँछ कि विश्वास गर्ने व्यक्तिको लागि मात्र ख्रीष्ट व्यवस्थाको अन्त हुनुहुन्छ”। [अविश्वासीहरू, तेस्रो पदमा बताइएजस्तै, अझै पनि धार्मिकता पाउनलाई व्यवस्थाको पछि दगुरिरहेका छन्, यद्यपि त्यो उपायले कहिल्यै काम गर्नेछैन। तिनीहरूका निम्ति व्यवस्था अन्त भइसकेको छैन किनकि तिनीहरू अझै पनि आफ्नो धार्मिकताका लागि त्यसैमा भरोसा गर्दैछन्।] पावल भन्छन्, विश्वास गर्ने हरेकको लागि यो सत्य हो कि ख्रीष्ट व्यवस्थाको अन्त हो, अनि उनको यो भनाइको तात्पर्य यो हो कि धार्मिकता प्राप्त गर्ने उपायको सम्बन्धमा चाहिँ व्यवस्थासितको प्रत्येक विश्वासीको सम्बन्ध अब टुङ्गिसकेको छ (Epistle to the Romans, p.50)।

व्यवस्थाले सिद्ध धार्मिकताको माग गर्दछ जुन कुरा म आफैले हासिल गर्न वा प्राप्त गर्न कहिल्यै सक्दिन। जब मैले प्रभु येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गरें, मबाट परमेश्वरले सदासर्वदा माग गरिने जति सबै धार्मिकता मलाई ख्रीष्टमा दिइयो। मलाई खाँचो परेको कुरा मैले पाएँ, व्यवस्थाद्वारा होइन तर ख्रीष्टद्वारा। उहाँ नै मेरो धार्मिकता हुनुहुन्छ!

रोमी १०:५

यो उद्दरण लेवी १८:५ बाट लिइएको हो र जोडचाहिँ “गर्दछ” भन्ने शब्दमा छ। अक्षरशः अनुवाद गर्दा, “जुन मानिसले ती कुराहरू गरेको छ ऊ बाँच्नेछ।” यदि कुनै व्यक्तिले व्यवस्था पालन गरेको छ भने ऊ बाँच्नेछ! व्यवस्थाअनुसारको “सुसमाचार” यही हो, तर वास्तवमा यो असल खबर नै होइन जब हामी महसुस गर्दछौं कि यसको विपरीत पक्ष पनि साँचो हुन्छ: “तिमीले व्यवस्था पालन गर्न विफल भएका छौ भने तिमी मर्नेछौं!” भङ्ग गरिएको व्यवस्थाको बापत पाइने दण्डचाहिँ मृत्यु हो। तर यदि कुनै मानिसले व्यवस्था पालन गर्दछ भने ऊ बाँच्नेछ।

पौडने कि जहाज चढ्नेको उदाहरणलाई फेरि लिऊँ: तपाईं पौडी खेलिरहनुभयो भने तपाईं समुद्र पारी पुग्नुहुन्छ! यो एकदम साँचो हो तर यो एकदम असम्भव पनि छ! यदि तपाईंले व्यवस्था (सिद्ध रूपमा) पालन गर्नुभयो भने तपाईं बाँच्नुहुन्छ! यो पनि एकदम साँचो हो तर एकदम असम्भव हो। एक पापी व्यक्तिले व्यवस्था पालन गरेर मुक्ति कमाउनु भनेको असम्भव कुरा हो भनेर मत्ती १९:१६-१७, लूका १०:२५-२८ र गलाती ३:१०-१३ ले दर्शाएको छ।

मुक्तिको निम्ति व्यवस्थाको सुत्र यस्तो छ: गर र बाँच! (सबै आज्ञाहरू पालन गर र तिनलाई सिद्ध रूपमा पालन गर र तिनलाई निरन्तर पालन गरिराख र तिमी बाँच्नेछौ!)
मुक्तिको निम्ति अनुग्रह / क्रूसको सुत्र यस्तो छ: विश्वास गर र बाँच! ख्रीष्टले जे गरिसक्नुभयो त्यसमाथि विश्वास गर र अडेस लगाऊ (उहाँले सिद्ध्याइसक्नुभएकोक्रूसको काममा) र तिमीले अनन्त जीवन पाउनेछौ (यूहन्ना ३:१६; ५:२४; ६:४७ इत्यादि)।

मानिसले कहिल्यै भन्न सक्दैन, “अब सकियो! मैले गरी भ्याएँ! मैले हासिल गरें! मैले व्यवस्था पालन गरें अनि मैले यसलाई पूरै पालन गरें! (म पौडी खेल्दै समुद्र पार गरें!)” बिलकुल असम्भव! तर जुन कुरा मानिसले व्यवस्थाद्वारा गर्न सकेन, परमेश्वरले गर्न सक्नुभयो र त्यो गर्नुभयो, अनुग्रहद्वारा (हेर्नुहोस् रोमी ८:३-४)। जुन कुरा पौडी खेलेर गर्न सकिँदैनथ्यो त्यो जहाजमा चढेर हासिल गर्न सकिने भयो!

रोमी १०:६-७

पावलले यहाँ प्रयोग गरेको भाषा व्यवस्था ३०:११-१४ बाट लिइएको हो। कसले ख्रीष्टलाई स्वर्गबाट तल ल्याऊला? कसले ख्रीष्टलाई मरेकाहरूको बीचबाट माथि ल्याऊला?

“मानिसले दुइटै गर्न सक्दैथ्यो तर परमेश्वरले अनुग्रहमा मानिसलाई भेट्नुभयो। संसारमा आफ्नो पुत्रलाई पठाउने काम पिताले गर्नुभएको हो। उहाँ मरेकाहरूबाट बौराइनुभएको पिताको महिमाद्वारा भएको हो। ‘परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो’ अनि ‘परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराउनुभयो’” (विलियम केल्ली)।

ख्रीष्टलाई स्वर्गबाट ल्याउने काम तपाईंले गर्नुपर्दैन। पिताले पुत्रलाई पठाउनुभयो! उहाँ आइसक्नुभयो! त्यो भइसक्यो! “ख्रीष्ट येशू पापीहरूलाई बचाउनलाई संसारमा आउनुभयो” (१ तिमोथी १:१५)। यो त एउटा महिमापूर्ण, पूरा भइसकेको घटना हो (जसलाई विश्वास गरिनुपर्छ)।

ख्रीष्टलाई मरेकाहरूबाट बौराइनुपर्दैन। त्यो पूरा भइसक्यो! त्यो एक विश्वास गरिनुपर्ने तथ्य हो (पद ९)। मानिसले गर्नुपर्ने केही बाँकी छैन। मान्छेले होइन, परमेश्वरले देहधारण हुने गराउनुभयो अनि मानिसले होइन, परमेश्वरले पुनरुत्थान हुने गराउनुभयो। मानिसको मुक्तिको निम्ति ख्रीष्ट येशूले सबै आवश्यक काम पूरा गरिसक्नुभयो। उहाँ पृथ्वीमा ओर्लनुभयो, क्रूसमा मर्नुभयो र मरेकाहरूबाट बौरनुभयो। यी महान् तथ्यहरू प्रचारिनुपर्छ र विश्वास गरिनुपर्छ।

साँचो इसाईमत र संसारका सबै धर्महरूको बीचमा चौडा भिन्नता छ। संसारका धर्महरूलाई सारांशमा यसरी बयान गर्न सकिन्छ: “पूरा गर” जब कि साँचो इसाईमत लाई सारांशमा यसरी बयान गर्न सकिन्छ: “पूरा भइसक्यो”। ठूलोबोझमुनि दबिएको हृदयले विश्राम पाउँदा उसलाई हुने अनुभवलाई कसले बयान गर्न सक्छ जब उसले पत्ता लगाउँछ कि सब कामकुरा पूरा भइसकेको रहेछ र त्योचाहिँ अर्कोले पूरा गरिदिनुभएको रहेछ (यूहन्ना १९:३०)? पौडन खोजिरहेको त्यस व्यक्तिले अनुभव गर्ने विश्रामलाई कसले बयान गर्न सक्छ र जब उसले पत्ता लगाउँछ कि ऊ पौडेर समुद्र पारी पुग्नुपर्दैन तर ऊ केवल जहाजमाथि चढ्नुपर्छ र जहाजलाई सबै काम गर्न दिए पुग्छ!)


पृष्ठ संशोधन मिति: Wednesday 01-Apr-15
WordofTruth.com.np © 2017