रोमी १०:१३-२१

यस पृष्ठलाई छाप्नुहोस्

रोमी १०:१३

यहाँ हामी मुक्तिको एउटा सुन्दर प्रतिज्ञा पाउँछौं। पुकार्ने काम मानिसले गर्नुपर्छ; बचाउने काम परमेश्वरले गर्नुहुन्छ। यो पद योएल २:३२ को उद्दरण हो जुन सन्दर्भमा यहोवाको नाम उल्लेख गरिएको छ। नयाँ नियमले यस योएलको खण्डलाई प्रेरित २:२१ मा र यहाँ रोमी १०:१३ मा उद्दरण गर्दछ, दुवै सन्दर्भमा येशूको नामलाई इङ्गित गरिएको छ (यसरी येशू यहोवासित बराबरी हुनुभएको जनाइएको छ जुन कुराचाहिँ ख्रीष्टको ईश्वरत्वको ठोस तर्क हो (‘ख्रीष्टको ईश्वरत्व’ शीर्षक गरेको अध्ययन पर्चा पढ्नुहोस् — wordoftruth.com.np)। विश्वभरिमा सबैभन्दा धनवान् मानिसहरू ती हुन् जोहरूले मुक्ति पाएका छन्! मुक्ति नपाएका संसारका खरबपतिहरू एक क्षणका लागि धनी हुन्छन् तर अनन्त अनन्तसम्म गरिब हुन्छन्! यस खण्डमा पाइने महत्त्वपूर्ण निमन्त्रणाका शब्दहरूलाई ध्यान दिनुहोस्: पद ११ — “हरेक” ; पद १२ — “सबै” (टीबीएस बाइबलमा यो शब्द छुटेको छ); पद १३ — “हरेक”

प्रभुको नाममा पुकार्ने व्यक्तिहरूको दुईटा प्रस्ट बाइबलीय उदाहरणहरू छन्: १) महसुल उठाउने, लूका १८:१०-१४ — “हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्” २) क्रूसमा टँगाइएका कुकर्मी, लूका २३:३९-४३ — “हे प्रभु, जब तपाईं आफ्नो राज्यमा आउनुहुन्छ, तब मलाई सम्झिदिनुहोस्”। आफ्नो असाध्य ठूलो खाँचो महसुस गरेर तिनीहरूले विश्वासमा उनीहरूको खाँचो पूरा गर्न सक्नुहुने एकमात्र प्रभुलाई पुकारा गरे। महसुल उठाउने “धर्मी ठहरियो” र कुकर्मी चाहिँ धेरै समय नबित्दै “स्वर्गलोक” पुग्यो। फरिसी र अर्को चाहिँ कुकर्मी दुवैले प्रभुलाई पुकार्न इन्कार गरे र मुक्तिको निम्ति पुकार्न इन्कार गरे, अनि दुवै आ-आफ्ना पापमा रहिरहे। उनीहरू नरकमा ख्रीष्टरहित अनन्ताको सामना गर्नुपर्ने भए।

मानिसहरूले प्रभुलाई फरक-फरक तरिकाले पुकार्न सक्छन्। कुकर्मी भन्छन्, “हे प्रभु, मलाई सम्झिदिनुहोस्।” महसुल उठाउने भन्छन्, “हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्।”एकजनाले भन्न सक्छ, “प्रभु, मलाई बचाउनुहोस्” वा “हे प्रभु, मेरो हृदयमा आउनुहोस् र मेरा सबै पापहरू क्षमा गरिदिनुहोस्” अथवा “हे प्रभु, म एक ठूलो पापी हुँ र मलाई तपाईंको कृपा र अनुग्रह चाहिएको छ” अथवा “हे प्रभु, मैले के भन्नुपर्ने हो म जान्दिनँ, तर तपाईं मेरो मुक्तिदाता बनिदिनुहुन मलाई खाँचो छ।” शब्दहरू नै मुख्य कुरा होइनन्; मामिला हृदयको हो। कसैले केवल मुखले सुन्दर शब्दमा एउटा “पापीको प्रार्थना” गर्ला तर शब्दहरूले बचाउने होइन। परमेश्वर हृदयभित्र हेर्नुहुन्छ। परमेश्वरले त्यो व्यक्तिको खोज गर्दै हुनुहुन्छ जसले आफ्नो सम्पूर्ण भरोसा ख्रीष्टको व्यक्तित्व र कार्यमाथि राख्दैछ, जो ख्रीष्टमै र उहाँमा मात्र भरोसा गर्दैछ।
के तपाईंले प्रभुको नामलाई पुकार्नुभएको छ?

रोमी १०:१४-१५

यी ज्यादै गहकिला मिसनरी पदहरू हुन् जुन पदहरूले नसुनेकाहरूलाई सुसमाचार प्रचार गर्नुको महत्त्व दर्शाइरहेका छन्। पावलले यहाँ विपरीत क्रममा प्रस्तुत गर्छन्: उहाँलाई पुकार्नु, विश्वास गर्नु, सुसमाचार सुन्नु, सुसमाचार प्रचार गर्नु, पठाइनु। समयको क्रम अनुसार प्रस्तुति यसको ठीक विपरीत हुन्छ: पहिले परमेश्वरले प्रचारक पठाउनुहुन्छ र उसले सुसमाचार प्रचार गर्दछ, पापीले सुन्छ, उसको हृदयमा विश्वास गर्दछ र प्रभुको नाममा पुकार्दछ। हामी बचाइएकाहरूले परमेश्वरलाई त्यस व्यक्तिका निम्ति धन्यवाद दिन सक्छौं जसलाई हामीकहाँ सुसमाचारको सन्देश बोकाएर पठाउनुभयो। हामी बचाइएकाहरूको अरूहरूप्रति सुसमाचारको “ऋण” छ जसले सुनेका छैनन् (रोमी १:१५-१६ हेर्नुहोस् जहाँ हामी सिक्छौं कि पावल एक ऋणी थिए!)।

प्रभुको नाम पुकार्नु भनेको मुक्ति पाउनलाई विश्वास गर्नुबाहेक छुट्टै अर्को शर्त चाहिँ होइन। प्रभुको नाम पुकार्ने काम भित्रपट्टिको विश्वासको बाहिरी अभिव्यक्ति हो। कसैले ख्रीष्टलाई पुकार्नु अघि उसले पहिले ख्रीष्टलाई आफ्नो हृदयमा विश्वास गर्नुपर्छ। कुकर्मीले “हे प्रभु, मलाई सम्झिदिनुहोस्!” भनेर पुकार्नु अघि उसले पहिले आफ्नो हृदयमा विश्वास गर्यो। उसका शब्दले केवल उसको विश्वासलाई व्यक्त गरिरहेको थियो जुन विश्वास उसको हृदयमा आइसकेको थियो। महसुल उठाउनेले प्रभुसित दयाको निम्ति पुकार गर्दा, उसले आफ्नो हृदयमा विश्वास गरिसकेको थियो। त्यसैले हो, रोमी १०:१४ ले भन्छ, “तर जसमाथि तिनीहरूले विश्वास गरेका छैनन् उहाँलाई तिनीहरूले कसरी पुकार्लान् त?” तपाईंले आफ्नो हृदयमा उहाँमाथि पहिले विश्वास गर्नुभएको छैन भने तपाईंले मुक्तिको निम्ति ख्रीष्टलाई पुकार्न सक्नुहुन्न। उहाँको नामलाई पुकार्ने काम, एक व्यक्तिमा आइसकेको विश्वासको स्वाभाविक प्रकटिकरण वा अभिव्यक्ति हो।

कसैले ख्रीष्टमाथि विश्वास गर्नु अगाडि उसले सुन्नुपर्छ (यूहन्ना ९:३५-३८ सित तुलना गर्नुहोस्)। कसैले ख्रीष्टको बारेमा सुनेकै छैन भने उसले ख्रीष्टमाथि विश्वास गर्न सक्दैन। विश्वासले आफूलाई ख्रीष्ट को हुनुहुन्छ र उहाँले के गरिदिनुभएको छ भन्ने तथ्यहरूमा बलियोसित जाम गराउँछ। ती तथ्यहरू परमेश्वरको वचनमा भेटिन्छन् र ती तथ्यहरू सुन्नु खाँचो छ (दाँज्नुहोस् रोमी १०:१७)।
कसैले सुन्न सक्नलाई, उसलाई सुसमाचार प्रचार गरिनुपर्छ (वा सुसमाचार उसकहाँ कुनै पर्चा अथवा पुस्तक आदिको माध्यमद्वारा पुर्याइनुपर्छ)। प्रचारकबिना सुसमाचारको सन्देश सुन्न पाइन्न र फलस्वरूप त्यहाँ विश्वास आउँदैन र मुक्ति पाइँदैन। यसमा विश्वासीहरूको एउटा ज्यादै ठूलो जिम्मेवारी छ किनकि हामी नै ती प्रचारकहरू हौं जसलाई परमेश्वरले प्रयोग गर्नुहुन्छ (न स्वर्गदूहरू न ता अरू कोही नै)।
एक व्यक्तिले प्रचार गर्नु अघि (पद १५) ऊ पठाइनुपर्छ (परमेश्वरद्वारा)! पठाउने काम परमेश्वरले गर्नुहुन्छ! परमेश्वरले, मान्छेले होइन, उहाँका दासहरू र उहाँका मिसनरीहरूलाई पठाउनुहुन्छ। हामीले प्रार्थना गर्नुपर्छ (मत्ती ९:३८) र परमेश्वरले पठाउने काम गर्नुहुन्छ। परमेश्वरले पठाउनुभएकाहरूको पाउ कति सुन्दर जोहरूले सुसमाचारको सन्देश विश्वासयोग्य रूपमा घोषणा गर्दैछन्! झूटा सन्देश प्रचार गर्दै निस्केकाहरूको पाउ कति असुन्दर जो परमेश्वरद्वारा कहिल्यै पठाइएका थिएनन् (हेर्नुहोस् यर्मिया १४:१४,१५; २३:२१,३२ र साथै गलाती १:८-९)।
एकजना मिसनरी कुनै गाउँको बजारमा प्रचार गर्दै थिए र कोही व्यक्तिहरू उसलाई हेर्दै हाँसिरहेका थिए किनकि उनी त्यति सुन्दर थिएनन्। केही बेर त उनले सहे, र त्यसपछि भीडलाई उनले भने, “यो साँचो हो मेरो केश सुन्दर छैन किनभने मेरो तालु करिब करिब खुइलिसक्यो। न ता मेरा दाँत सुन्दर छन्, किनकि ती खास मेरा होइनन्; ती एक डेन्टिस्टले बनाएका हुन्। न ता मेरो अनुहार सुन्दर छ, न ता म राम्रा-राम्रा लुगा किन्न सक्छु। तर एउटा कुरा मलाई थाह छ; मेरा पाउहरू सुन्दर छन्! परमेश्वरले यही भन्नुभएको छ!” त्यसपछि उनले यशैया ५२:७ र रोमी १०:१५ लाई उद्दृत गरे।
सुसमाचार सुन्ने हरेकले नै सुसमाचारलाई विश्वास गर्ने र मुक्ति पाउने भएका भए कति असल हुन्थ्यो। तर दुःखको कुरा यो हो कि सुसमाचार सुन्ने अधिकांशले सुसमाचारलाई इन्कार गर्छन्, अनि अब यस कुराले हामीलाई पद १६ मा ल्याइपुर्याउँछ।

रोमी १०:१६

कति खेदको कुरा! परमेश्वरसँग असल खबर छ तर मानिसहरू त्यो चाहन्नन्! उनीहरू परमेश्वरको शान्तिको प्रस्तावलाई इन्कार गर्छन् (पद १५)। उनीहरू मुक्ति पाउनलाई दिइएको परमेश्वरको निमन्त्रणालाई इन्कार गर्छन् (पद १३)। उनीहरू परमेश्वरको धनहरूलाई इन्कार गर्छन् (पद १२)। उनीहरू परमेश्वरको यति महान् मुक्तिलाई इन्कार गर्छन् (पद ९)। उनीहरू परमेश्वरको धार्मिकतालाई इन्कार गर्छन् (पद ३)। मानिसको मूर्ख अविश्वासको दुष्परिणाम हो यो! तिनीहरू सबैले सुसमाचार पालन गरेका छैनन्। साँच्चै, अधिकांश मानिसहरूले सुसमाचारलाई इन्कार गरेका छन्। एक व्यक्तिले सुसमाचारलाई कसरी अवज्ञा गर्दछ? त्यसलाई विश्वास गर्न इन्कार गरेर! परमेश्वरको आज्ञा १ यूहन्ना ३:२३ मा प्रस्टै देखिन्छ (पदको पहिलो भाग), र यो आज्ञालाई पालन नगर्नेहरू सुसमाचारप्रति अनाज्ञाकारी हुन्। यशैया अगमवक्ताले यो भयङ्कर अविश्वासको भविष्यवाणी यशैया ५३:१ मा गर्छन् जुन महत्त्वपूर्ण अध्यायमा मसीह हाम्रा पापका निम्ति मर्नुहुनेभविष्यवाणीगरिएको थियो। “कसले हाम्रो समाचार विश्वास गरेको छ?” धेरैजनाले छैन! कति खेदको कुरा कि आजसम्म पनि अधिकांश यहूदीहरूले यशैया ५३ को महान् समाचारलाई इन्कार गर्दछन् (साथै अधिकांश अन्यजातिहरूले पनि त्यसै गर्छन्!)। “अनि कसकहाँ परमप्रभुको पाखुरा (बल र सामर्थ्यको प्रतीक) प्रकट भएको छ?” सुसमाचारमा घुम्टो लागेको छ त हराएकाहरूका निम्ति लागेको छ (२ कोरिन्थी ४:३) र क्रूसको सन्देश उनीहरूको निम्ति“मूर्खता”भएको छ (१ कोरिन्थी १:१८) तर हामी मुक्ति पाएकाहरूको निम्ति यो परमेश्वरको सामर्थ्य हो (१ कोरिन्थी १:१८,२४; रोमी १:१६)। यशैया ५३:१ को भविष्यवाणी यूहन्ना १२:३७-३८ मा पूरा भयो, र आज पनि पूरा हुँदैछ जतिखेर मानिसहरूले परमेश्वरको अनुग्रहको सुसमाचारलाई इन्कार गर्छन् र परमेश्वरको पुत्र, एकमात्र मुक्तिदातामाथि भरोसा गर्न इन्कार गर्छन्।

रोमी १०:१७

यहाँ दुई पटक उल्लेख भएको “सुनाइ” भनेर अनुवाद गरिएको शब्द, पद १६ को “समाचार” भनेर अनुवाद गरिएको शब्द, एउटै ग्रीक शब्दबाट आउँछ। कसैले मुक्ति पाउने हो भनेउसले सुन्नुपर्ने समाचार र सन्देश त्यहाँ हुनु आवश्यक छ, अनि यो समाचार वा सन्देश विश्वास गरिनुपर्छ। बचाउने विश्वास मैले कसरी प्राप्त गर्न सक्छु? बचाउने विश्वास मकहाँ कसरी आउँछ? मैले परमेश्वरको वचनको सन्देश सुन्नुपर्छ र त्यसप्रति सकारात्मक जवाफ दिनुपर्छ। परमेश्वरको वचन शक्तिशाली छ (हिब्रू ४:१२)। परमेश्वरको वचन प्रभावशाली छ (१ थेस्सलोनिकी २:१३)। परमेश्वरको वचन जिउँदो छ (यूहन्ना ६:६३,६८; हिब्रू ४:१२)। परमेश्वरको वचन छेड्ने हुन्छ (हिब्रू ४:१२; एफेसी ६:१७)। परमेश्वरको वचनले एक व्यक्तिलाई मुक्तिका निम्ति बुद्धिमान् तुल्याउन सक्छ (२ तिमोथी ३:१५)। उसको विश्वासले मानिसले आफूलाई परमेश्वरका तथ्यहरूसित टँसाउनुपर्छ र परमेश्वरका ती तथ्यहरू चाहिँ परमेश्वरको वचनमा छन्। यसको माने बाइबलबाट सुसमाचारका तथ्यहरू सुन्ने सबैले नै मुक्ति पाउँछन् भन्ने होइन (जस्तो रोमी १०:१६ मा देख्यौं)। तर यसको माने यो हो कि बाइबलबाट सुसमाचारका तथ्यहरू नसुनीकन कसैले पनि मुक्ति पाउन सक्दैन।

बाइबलबिना पापीको हृदयलाई छेड्न खोज्नु सिपाहीले शत्रुको हृदयलाई तरवारबिना छेड्न खोज्नु जस्तै हो। विश्वासीहरूले बाइबलकै प्रतिरक्षा गर्नुपर्ने होइन, न ता बाइबल सत्य छ भनेर प्रमाणित गर्न प्रयास गर्नुपर्ने हो। उनीहरूले केवल बाइबललाई प्रयोग गर्नुपर्छ, र उहाँले आफ्नो वचनलाई आदर गर्नुभएको होस् र मानिसहरूको हृदयमा आवश्यक काम गरिदिनुभएको होस् भन्दै एक महान् परमेश्वरमाथि भरोसा गर्नुपर्छ। परमेश्वरको वचन निस्की जानेछ र यसले आफ्नो लक्ष्य हासिल गर्नेछ (यशैया ५५:११)। परमेश्वरका प्रचारकहरू बाइबलका मानिसहरू हुनुपर्छ! हामीले कहिल्यै त्यस विशुद्ध, नमिसिएको परमेश्वरको वचनको सत्यताको सट्टामा आफ्नै विचारहरू, धारणाहरू, दार्शनिक विचारहरू प्रतिस्थापन नगरेका होऔं! तुलना गर्नुहोस् एफेसी १:१३ (विश्वास सुसमाचार सुनेर आउँछ!)।

रोमी १०:१८

मानिसहरूले सुसमाचार किन पालन गर्दैनन् (पद १६)? मानिसहरू किन ख्रीष्टमाथि विश्वास गर्दैनन् (पद १७)? किन यतिका धेरै यहूदीहरू सुसमाचार पालन गर्न र ख्रीष्टकहाँ विश्वासमा आउन सकिरहेका छैनन्? के यो तिनीहरूले सुन्न नपाएकोले हो त? होइन, तिनीहरूले सुनेका छन्! तिनीहरूले खबर पाए! तिनीहरूले खबर सुने! समस्या के भने तिनीहरूले खबरप्रति सकारात्मक जवाफ दिएनन्। पावलले भजनसङ्ग्रह १९:४ बाट उद्दरण गर्दछन्, जुन खण्डले त्यो सत्यता प्रस्तुत गर्दछन् कि परमेश्वरको ज्ञान र परमेश्वरको महिमा सृष्टिद्वारा संसारको प्रत्येक भागमा रहेका सबै मानिसहरूकहाँ प्रकट गरिएको छ। हामीले यसलाई रोमी १ अध्यायमा विस्तृत रूपमा अध्ययन गर्यौं। फलस्वरूप सबै मानिसहरू बाहनारहित छन् किनकि परमेश्वरले आफैलाई प्रकट गर्नुभएको छ। कतिपटक मानिसहरू प्रश्न गर्छन्, “सुसमाचार कहिल्यै नसुनेका टाढा-टाढा देशका मानिसहरूको सम्बन्धमा चाहिँ के त?” एकातिर यो निश्चय सत्य कुरा हो कि एक प्रचारकबिना तिनीहरूले सुसमाचारको सन्देश (ख्रीष्ट र क्रूसको सन्देश) सुन्न सक्दैनन् (रोमी १०:१४), साथै येशू ख्रीष्टको मण्डलीलाई हरेक प्राणीलाई सुसमाचार प्रचार गर्ने (मर्कूस १६:१५) र सबै जातिहरूलाई चेला बनाउने (मत्ती २८:१९-२०) जिम्मेवारी र आज्ञा दिइएको छ। हामीले यो पनि ख्याल राख्नुपर्छ कि प्रचारकहरूलाई पठाउनुहुने परमेश्वर नै हुनुहुन्छ (रोमी १०:१५ र मत्ती ९:३८) अनि उहाँको बुद्धिमा उहाँले ठीक व्यक्तिलाई, ठीक सन्देशसहित, ठीक ठाउँमा पठाउनुहुन्छ। अर्कोतिर, यो सत्य हो कि पृथ्वीभरिका सबै मानिसहरूले सृष्टिमा प्रकट गरिएको परमेश्वरको सन्देशलाई सुनिसकेका छन्। पापले गर्दा मानिसहरूले उनीहरूसित भएको परमेश्वरको ज्ञानलाई इन्कार गरे र दबाएर राखे (रोमी अध्याय १, विशेष गरी पद २१-२३, २८)।

सबै मानिसहरूले प्रकृतिमा परमेश्वरको प्रकाशलाई सुनेका छन् मात्र होइन, तर त्यहाँ अर्को सन्देश छ जुनचाहिँ यस मण्डली युगमा चारैतिर, टाढा-टाढासम्म घोषणा गरिँदैछ, अर्थात् सुसमाचारको सन्देश:

मर्कूस १६:१५ — “सारा संसारमा जाओ र हरेक प्राणीलाई सुसमाचार प्रचार गर”
मर्कूस १६:२० — “अनि तिनीहरूले निस्केर जहाँतहीँ प्रचार गरे”
कलस्सी १:५-६ — “तिमीहरूले अघि नै सुसमाचारको सत्यताको वचनमा सुन्यौ जो तिमीहरूकहाँ आएको छ जसरी सारा संसारमा नै आएको छ”
कलस्सी १:२३ — “जुन सुसमाचार तिमीहरूले सुनेका छौ जुनचाहिँ स्वर्गमुनि भएको हरेक प्राणीलाई प्रचार गरिएको थियो”
रोमी १६:२६ — “तर अहिले प्रकट भएको छ र अनन्तका परमेश्वरको आज्ञा अनुसार भविष्यवक्ताहरूका पवित्र शास्त्रहरूद्वारा विश्वासप्रति आज्ञाकारी बनाउनलाई सबै जातिहरूलाई बताइएको छ।”

रोमी १०:१९

परमेश्वरको सन्देश सारा जगतमा, मानिसहरू बसोबासो गर्ने संसारको कुनाकाप्चासम्म, अवहेलित अन्यजातिहरूकहाँ समेत, फैलाइनेछ भन्ने कुरा के इस्राएललाई थाह थियो? उनीहरूले जान्नुपर्थ्यो किनकि उनीहरूकै पवित्रशास्त्रले यो कुरा बताएको थियो। पावलले पहिले मोशालाई उद्दृत गर्दछन् (व्यवस्था ३२:२१ हेर्नुहोस्, र ध्यान दिनुहोस् कि व्यवस्थाको पुस्तकका लेखक मोशा हुन् भन्ने कुरा बाइबलले स्पष्टै सिकाएको कुरा हो, जुन कुरालाई कतिले मान्दैनन्। व्यवस्था ३२:२१ मा यहूदीहरूले जो ईश्वर होइन त्यसद्वारा परमेश्वरलाई रिस उठाए र जलन पैदा गरिदिए, त्यसैले परमेश्वरले पनि “जो जाति नै होइनन्” तिनीहरूद्वारा उनीहरूलाई रिस उठाउनुहुनेछ र जलन पैदा गर्नुहुनेछ। तिनीहरूले अर्कै ईश्वरलाई चुने; परमेश्वरले अर्कै जातिलाई चुन्नुहुनेछ! “मूर्ख” को माने समझ नभएको। यहाँ एउटा जाति छ जससँग समझ छैन (तीतस ३:३ मा हेर्नुहोस्), तरैपनि उनीहरूले सुसमाचारलाई विश्वास गर्छन्। यहूदीहरू, जससँग पवित्रशास्त्र थियो र जससँग समझ हुनुपर्थ्यो, उनीहरूले ख्रीष्टलाई र उहाँको सुसमाचारलाई इन्कार गरे। हेर्नुहोस् रोमी ११:११।

रोमी १०:२०-२१

पावलको दोस्रो उद्दरण यशैया ६५:१-२। “प्रकट गरिएँ”। अन्यजातिहरूले परमेश्वरलाई खोजेनन् (रोमी ९:३०), तर परमेश्वरले तिनीहरूलाई खोज्नुभयो र भेट्टाउनुभयो (दाँज्नुहोस् लूका १९:१०)। खोजकर्ता चाहिँ परमेश्वर हुनुहुन्छ र उहाँले अहिले “जसले मेरो विषयमा खोजीनिती गरेनन्” उहाँ तिनीहरूलाई खोज्दै हुनुहुन्छ र “जसले मलाई खोजेनन्” तिनीहरूद्वारा उहाँ भेट्टाइनुभएको छ। तिनीहरूले केवल सुसमाचार सुने र विश्वास गरे! उहाँको अतुलनीय अनुग्रहको प्रशंसा होस्!
“विरोधी” को माने “परमेश्वरको विरोधमा, विद्रोही, परमेश्वरको कुनै पनि कुरासित सरोकारै राख्न इन्कार गर्ने।” परमेश्वर आफ्ना खुल्ला हात पसारेर पर्खनुहुन्छ (हितोपदेश १:२४; यशैया ६५:२); पापी मानिसहरूलाई परमेश्वरको कोमल निमन्त्रणालाई यो भन्दा राम्ररी कुन शब्दले व्यक्त गर्न सक्छ र? “दिनभरि पसारिएको हात चाहिँ त्यो अटुट विन्तीपूर्ण प्रेमको प्रतीक हो जुन प्रेमलाई इस्राएलले उसको इतिहासभरि नियमित रूपमा तुच्छ ठान्यो” (Expositor’s Greek New Testament)। मत्ती २३:३७ पढ्नुहोस्। परमेश्वर कति इच्छुक हुनुहुन्थ्यो! मानिस कति विद्रोही थियो! नष्ट हुनेहरूले आफूलाई मात्र दोष्याउन सक्छन्। परमेश्वरले यति अनुग्रह गरीकन प्रबन्ध गर्नुभएको र प्रदान गर्नुभएको औषधिलाई इन्कार गर्नु भनेको उपचारबिहिन बन्नु हो।