रोमी १०:८-१२

यस पृष्ठलाई छाप्नुहोस्

रोमी १०:८-९

“ख्रीष्ट दिइनुभएको छ र प्रचारिनुभएको छ। उहाँको नामलाई आफ्नो मुखले लिनु र आफ्नो हृदयले विश्वास गर्नुचाहिँ मान्छेको भाग हो” (विलियम केल्ली)।

ख्रीष्टको सम्बन्धमा गरिने महिमित घोषणा नजिकै छ। त्यो टाढा छैन। त्यो सबैको पहुँचमा छ र सबैलाई प्राप्य छ! मुक्तिको शुभ खबर सबैको पहुँचभित्र पर्दछ। (पौडने र जहाजको उदाहरण: जहाज त्यहीँ छ! मात्र चढ्नुपर्छ!) कति नजिक छ? त्यो तपाईंको मुखमा छ र तपाईंको हृदयमा छ! तर तपाईंले त्यसलाई केही गर्नुपर्छ! हृदयले त्यसलाई विश्वास गर्नुपर्छ! मुखले त्यसलाई स्वीकार गर्नुपर्छ!

पद ८-९ लाई क्रूसमा टाँगिएको कुकर्मीको उदाहरणद्वारा दर्शाउन सकिन्छ (मर्कूस १५:३२ र लूका २३:३९-४३ हेर्नुहोस्)। क्रूसमा टँगाइनुभएको ख्रीष्ट उसको ज्यादै नजिक हुनुहुन्थ्यो! वचन कुकर्मीको मुखैमा थियो तर गलत तरिकाको (उसले उहाँलाई सुरुमा निन्दा गर्यो)। तर यो मान्छेले पश्चात्ताप गर्यो र आफ्नो हृदयमा विश्वास गर्यो कि परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराउनुहुनेछ (लूका २३:४२) र उसको मुखले उहाँलाई प्रभु र राजा भनी स्वीकार गर्यो (लूका २३:४२)। हामीले पनि उसले जस्तै विश्वास र स्वीकार गरेका होऔं!

मुक्तिको काम ख्रीष्टले गरिसक्नुभयो; विश्वास गर्ने र स्वीकार गर्ने जिम्मेवारी मान्छेको हो। (जहाज तपाईंलाई समुद्र पारी पुर्याउनलाई पूरै सक्षम छ तर तपाईं जहाजमाथि चढ्नुपर्छ!) हामीले प्रचार गर्ने विश्वासको यो वचन के हो (पद ८)? पद ९ ले जवाफ दिन्छ। स्वीकारचाहिँ ग्रीक शब्द “होमोलोगेओ” हो (होमो=उही; लोगेओ=भन्नु, बोल्नु भन्ने क्रियापदबाट आउँछ) तसर्थ यसको माने हो “अर्को व्यक्तिले जस्तै उही कुरा भन्नु, अर्को व्यक्तिसित सहमत हुनु।” विश्वासीले अरू मानिसहरूको सामु ख्रीष्टलाई स्वीकार गर्नुपर्छ (मत्ती १०:३२) जसको माने हो उसले मुख खोलेर, सार्वजनिक रूपमा परमेश्वरले आफ्नो पुत्रको बारेमा जे भन्नुभएको छ त्यस कुरामा उहाँसित सहमत छु भनी जनाउनुपर्छ (१ यूहन्ना ५:९-१२)। परमेश्वरले भन्नुभएको छ, “यिनी मेरा प्रिय पुत्र हुन् (मत्ती १७:५) अनि ख्रीष्टलाई स्वीकार गर्ने विश्वासीचाहिँ उक्त वाणीसित सहमत हुन्छ (१ यूहन्ना ४:१५ पढ्नुहोस्)। पुत्र परमेश्वर संसारमा आउनुभयो र आफैमा मानव शरीर धारण गर्नुभयो (यूहन्ना १:१४) ताकी उहाँ पापी मानिसहरूका निम्ति मर्न सक्नुभयो (१ तिमोथी १:१५), र ख्रीष्टलाई स्वीकार गर्ने विश्वासीचाहिँ यस तथ्यसित सहमत हुन्छ (१ यूहन्ना ४:२-३ पढ्नुहोस्)।

येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर स्वीकार गर्नुको माने निज येशू साँच्ची नै मसीह हुनुहुन्छ भन्ने कुरासित सहमत छ (यूहन्ना १:४१; ४:२५-२६,४२)। पुरानो नियम पवित्र शास्त्रहरूअनुसार, मसीह निम्नानुसार दर्शाइनुभएको थियो: १) परमेश्वर-मानवको रूपमा (यशैया ७:१४); २) शक्तिशाली परमेश्वरको रूपमा (यशैया ९:६); ३) पापीको प्रतिस्थापक र मुक्तिदाताको रूपमा (यशैया ५३:४); ४) अनन्त राजा (मीका ५:२) र ५) परमप्रभु (यहोवा) हाम्रो धार्मिकता (यर्मिया २३:५-६)। येशू मसीह हुनुहुन्छ भन्ने कुरा स्वीकार गर्दा त्यहाँ मूल्य चुकाउनुपर्ने हुन्छ (यूहन्ना ९:२२) र यस मूल्यको कारण धेरैजना उहाँलाई स्वीकार गर्न विफल हुन्छन् (यूहन्ना १२:४२)। तर जस-जसले उहाँलाई मानिसहरूका सामु साँच्चै स्वीकार गर्छन् उनीहरूलाई स्वयं ख्रीष्टकै प्रतिज्ञा छ कि उहाँले उनीहरूलाई स्वर्गदूतहरूको सामु र उहाँको स्वर्गीय पिताको सामु स्वीकार गर्नुहुनेछ (मत्ती १०:३२; लूका १२:८)।
“स्वीकार” को विपरीत अर्थ बोकेको शब्द हो “इन्कार” (यूहन्ना १:२०; १ यूहन्ना २:२२-२३)। स्वीकार गर्नुचाहिँ“हो” भन्नु हो; इन्कार गर्नुचाहिँ “हुँदैन” भन्नु हो। लूका २२:५७-६० मा पत्रुसले भन्नुपर्थ्यो, “हो, म उहाँलाई चिन्छु (पद ५७)!” “हो, म उनीहरूमध्ये एक हुँ (पद ५८)! “हो, म उहाँसँग थिएँ (पद ५९-६०)!” तर पत्रुसले ख्रीष्टलाई इन्कार गरे (यद्यपि उनको इन्कार अस्थायी थियो किनकि पछि, पेन्टेकोस्टको दिनमा, उनले हजारौंका सामु साहससँग ख्रीष्टलाई स्वीकार गरे र प्रचार गरे — प्रेरित अध्याय २)। तसर्थ, “के तिमी येशूलाई आफ्नो मुक्तिदाता र प्रभु भनी अङ्गिकार गर्दछौ? के तिमी उहाँलाई आफ्नो भनी दाबी गर्दछौ?” भन्ने प्रश्न गरिँदा एउटा विश्वासीले यसरी जवाफ दिन सक्दछ: “हो म गर्दछु! म मान्छु कि उहाँ मेरो हुनुहुन्छ! म परमेश्वरको पुत्रको हुँ जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई दिहाल्नुभयो!” दोस्रो र तेस्रो शताब्दीमा ख्रीष्टियनहरूले भोगेका भयङ्कर सतावटहरूमा, ठूला यातनाहरूको बाबजुद पनि प्रभुलाई इन्कार नगर्ने विश्वासीहरूलाई “कन्फेसरहरू” (स्वीकारकर्ताहरू) भन्ने नाम दिइन्थ्यो। हाम्रो लागि मर्नलाई नशर्माउने परमेश्वरका निम्ति हामी कहिल्यै नशर्माएका होऔं (२ तिमोथी १:८; रोमी १:१६; १ पत्रुस ४:१६)!

अन्तमा, हाम्रो मुखको स्वीकार हाम्रो जीवनको व्यवहारसित मेल खानुपर्छ। तीतस १:१६ मा पावलले एउटा मानव समूहको बयान गर्छन् जसले परमेश्वरलाई चिन्छौं भनेर स्वीकार गर्छन्! तर के तिनीहरूले साँच्ची नै जिउँदो परमेश्वरलाई चिन्छन् त? उनीहरूका ओठले भन्छन्, “अँ, हामी परमेश्वरलाई चिन्छौं!” तर उनीहरूको जीवनहरूले भनिरहेको छ, “अहँ, हामी परमेश्वरलाई चिन्दैनौं।” तिनीहरूको हिँडाइले उनीहरूको बोलीलाईखण्डन गरिरहेको छ अनि योचाहिँपरमप्रभुको निम्ति एउटा घिन लाग्ने कुरा हो। यी मानिसहरू ख्रीष्टको नाम लिन्छन् तर तिनीहरू परमेश्वरका होइनन् (२ तिमोथी २:१९)। उनीहरूले परमेश्वरलाई चिन्छौं भन्ने दाबी गरे तापनि उनीहरू झूटा हुन् र उनीहरूमा सत्य छैन (१ यूहन्ना २:३-४)। ख्रीष्टमा विश्वास गर्नेहरू भएर हामीले तिमोथीले जस्तै सबै मानिसहरूका सामु असल अङ्गीकार गरेका होऔं (१ तिमोथी ६:१२)। संसारले यो देखोस् कि हामीले हाम्रा ओठले जुन ख्रीष्टको नाम लिन्छौं उहाँ उही परमेश्वर हुनुहुन्छ जसको सेवा हामीले हाम्रा जीवनले गर्दैछौं! जसरी एउटा बट्टाको बिल्ला त्यसभित्रको चीजलाई स्वीकार गर्नलाई हो, त्यसरी नै विश्वासीहरूले पनि आफ्ना प्रभु र मुक्तिदातालाई छर्लङ्गै, बिना लाज स्वीकार गर्नुपर्छ।

“यदि तिमीले आफ्ना मुखलेप्रभुयेशूलाई स्वीकार गर्यौ भने” — यहाँ “प्रभु” भन्ने शब्दलाई जोड दिइएको छ। यो वाक्यांशलाई वास्तवमा यसरी अनुवाद गरिनुपर्छ, “यदि तिमीले आफ्ना मुखले येशू नै प्रभु हुनुहुन्छ भनेर स्वीकार गर्यौ भने”। वाक्य रचना फिलिप्पी २:११ को जस्तै हो (“हरेक जिब्रोले ‘येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ’ भनी स्वीकार गर्नुपर्छ”) जहाँ टीबीएस बाइबलमा ठीकसँग अनुवाद गरिएको छ। येशू नै प्रभु हुनुहुन्छ! हरेक विश्वासीको मुखबाट निस्कनुपर्ने स्वीकारोक्ति यही सत्यता हो। “प्रभु” भन्ने शब्द ग्रीकमा “कुरिअस्” हो जुन शब्दचाहिँ पुरानो नियमभरि (अर्थात् ‘सप्टुआजिन्ट’ नाम गरेको पुरानो नियमको ग्रीक अनुवादभरि) नियमित रूपमा यहोवा शब्दलाई जनाउन प्रयोग गरिएको छ। येशू नै यहोवा हुनुहुन्छ भनेर हामीले स्वीकार गर्नुपर्छ, जसको माने उहाँ परमेश्वर हुनुहुन्छ (उहाँ एकमात्र मुक्तिदाता र एकमात्र परमेश्वर हुनुहुन्छ — यशैया ४३:११; ४४:६,८; ४५:२१-२२ मा पढ्नुहोस् जहाँ यहोवाले आफू एकमात्र परमेश्वर र एकमात्र मुक्तिदाता हुनुभएको कुरा घोषणा गर्नुहुन्छ। अर्को कुनै छैन!)। येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ। उहाँ नै सार्वभौम प्रभु हुनुहुन्छ! उहाँ यहोवा-येशू हुनुहुन्छ! विश्वासीहरूले खुसीसाथ यस सत्यतालाई स्वीकार्छन् (रोमी १०:९)। एक दिन सबै मानिसहरूले यस सत्यतालाई स्वीकार्नेछन् (फिलिप्पी २:११)। सुरुका शताब्दीहरूमा ख्रीष्टिय विश्वासीहरू सीजरको सामु घुँडा टेक्न इन्कार गरे र उनीहरूले उहाँलाई प्रभु भनेर सम्बोधन गर्न इन्कार गरे। बरु तिनीहरूले येशू नै प्रभु हुनुहुन्छ भनी स्वीकार गरे!

येशू ख्रीष्ट साँच्ची नै मेरा प्रभु हुनुहुन्छ भने उहाँले मेरो खुसीसितको समर्पणता र हृदयदेखिको आज्ञापालन माग गर्नुहुन्छ र उहाँ त्यसको योग्य हुनुहुन्छ। म नम्रतामा उहाँको अधिकारमुनि आफूलाई झुकाउँछु र खुसीसित ती कुराहरू गर्दछु जुन कुराले उहाँलाई खुसी पार्दछ। योभन्दा कम म कसरी गरूँ? येशूले भन्नुभयो, “अनि तिमीहरू किन मलाई ‘हे प्रभु, हे प्रभु’ भन्दछौ, र मैले भनेका कुराहरूचाहिँ पालन गर्दैनौ?” (लूका ६:४६)। जर्मनी देशमा भेटिएको एउटा कबरस्थानको ढुङ्गामा निम्न शब्दहरू कुँदिएको पाइयो:

ख्रीष्ट हाम्रा प्रभु हामीसित यसरी बोल्नुहुन्छ:
तिमी मलाई मालिक भन्छौ, तर आज्ञा मेरो मान्दैनौ;
तिमी मलाई ज्योति भन्छौ, तर हेर्न मलाई चाहन्नौ;
तिमी मलाई बाटो भन्छौ, तर हिँड्न ममा मान्दैनौ;
तिमी मलाई बुद्धि भन्छौ, तर पछ्याउन मलाई चाहन्नौ;
तिमी मलाई सुन्दर भन्छौ, तर प्रेम मलाई गर्दैनौ;
तिमी मलाई धनी भन्छौ, तर माग्न मसित मान्दैनौ;
तिमी मलाई अनन्त भन्छौ, तर खोज्न मलाई चाहन्नौ;
तिमी मलाई अनुग्रही भन्छौ, तर भरोसा मलाई गर्दैनौ;
तिमी मलाई महान् भन्छौ, तर सेवा मेरो गर्दैनौ;
तिमी मलाई सामर्थी भन्छौ, तर आदर मलाई गर्दैनौ;
तिमी मलाई धर्मी भन्छौ, तर डर मेरो मान्दैनौ;
तिमीलाई मैले दोषी ठहराउँदा, आरोप मलाई नलगाऊ!

<ख्रीष्टको प्रभुत्व

आज ख्रीष्टको प्रभुत्वको शिक्षा सम्बन्धमा ठूलो वादविवाद चलिरहेको छ। कतिपटक यो प्रश्न सोध्ने गरिन्छ, “के एक व्यक्तिले ख्रीष्टलाई मुक्तिदाताको रूपमा ग्रहण गर्न तर प्रभुको रूपमा चाहिँ ग्रहण नगर्न पनि सक्छ?”एक छेउतिर ती छन् जोहरू सिकाउँछन् कि १) मानिसहरूले ख्रीष्टलाई मुक्तिदाता भनी ग्रहण गर्न सक्छन् तर उहाँको प्रभुत्वलाई इन्कार गर्न पनि सक्छन्, र यसरी उनीहरू मनलाग्दी जीवन बिताउन सक्छन्; २) विश्वासीहरू स्वर्ग जानेछन् किनकि उनीहरूले मुक्ति पाएका हुन्छन्, तर पृथ्वीमा रहँदा उनीहरूमध्ये धेरैजनाले अनैतिक र दुष्ट जीवन बिताउँछन् जसले गर्दा उनीहरूअविश्वासीहरूभन्दाकुनै फरक देखिन्नन्; तरैपनि यी शारीरिकहरूले इनामचाहिँ पाउँदैनन्; ३) विश्वासीहरू उनीहरूको जीवनहरूमाथि रहेको ख्रीष्टको अधिकारको पूरै विद्रोह गर्दै जीवन बिताउन सक्छन् तरैपनि उनीहरूले मुक्ति पाएका हुन्छन्। अर्को छेउतिर ती छन् जोहरू सिकाउँछन् कि हरेक मुक्ति पाएको व्यक्ति निश्चय गरी ख्रीष्टको अधिकारमुनि झुक्ने नै छ र आफ्नो जीवनको हरेक क्षेत्रमा उहाँको प्रभुत्वमुनि आफूलाई सुम्पनेछ र एक विश्वासयोग्य चेला बन्नेछ। उनीहरूको धारणाअनुसार शारीरिक ख्रीष्टियन भन्ने हुँदैन र यदि कसैमा उल्लेखनीय शारीरिकपन देखिन्छ भने उसले मुक्ति नै पाएको छैन। जस्तो प्रायः हुने गर्छ, यस विषयमा बाइबलीय शिक्षा यी दुई विषमताहरूको कतै बीचतिर भेटिन्छ। परमेश्वरको सत्यतालाई सधैं होशियारिपूर्वक सन्तुलनमा राखिनुपर्छ।

“पेन्डुलम मच्चिन्छ, हास्यास्पद विषमताहरू, बीचमा रहेको सत्यतालाई पार गरी।”

निम्न कुराहरूलाई विचार गर्नुहोस्:

१) “प्रभु” (कुरिअस्) भन्ने शब्दावली एक मालिकको सवालमा प्रयोग भएको छ जो आफ्नो दास वा दासहरूमाथि मालिक छन् (कलस्सी ३:२२)। विश्वासीले भन्न सक्छ, “येशू ख्रीष्ट मेरो मालिक हुनुहुन्छ र मचाहिँ उहाँको प्रेमको दास हुँ!”

२) “प्रभु” भन्ने शब्दावली एक सम्राट वा राजाको सम्बन्धमा प्रयोग भएको छ जो आफ्ना प्रजामाथि मालिक छन्। यो शब्द रोमी सम्राटलाई बयान गर्न प्रयोग गरिन्थ्यो: “सीजर प्रभु हुन्!” दाँज्नुहोस् प्रेरित २५:२६; मत्ती २७:६३ (पिलातसको बारेमा) र प्रकाश १७:१४। विश्वासीले भन्न सक्छ, “येशू ख्रीष्ट मेरो राजा हुनुहुन्छ र म उहाँको प्रजा हुँ!”

३) “प्रभु” भन्ने शब्दावली एक पतिको सम्बन्धमा प्रयोग भएको छ जो आफ्नी पत्नीमाथि मालिक छन् (१ पत्रुस ३:६)। विश्वासी जन प्रभु येशू ख्रीष्टसित विवाहित छन् (रोमी ७:४; एफेसी ५:२२-३३)।

४) यो शब्दावली एक काममा लाउने व्यक्तिको सम्बन्धमा प्रयोग भएको छ जो आफ्ना कर्मचारीमाथि मालिक छन् (लूका १६:३,५)। विश्वासीले भन्न सक्दछ, “प्रभु येशू मेरो मालिक र मेरो हाकिम हुनुहुन्छ।”

५) यो शब्दावली एक बुबाको सम्बन्धमा प्रयोग भएको छ जो आफ्नो छोरामाथि मालिक छन् (मत्ती २१:३०)। विश्वासी जन परमेश्वरलाई आफ्नो स्वर्गीय पिताको रूपमा मान्दै आफूलाई सुम्पन्छ।

६) यहूदीका निम्ति,“कुरिअस्” भन्ने शब्दावली एक ग्रीक शब्द थियो जुन शब्द परमेश्वरका दुई महत्त्वपूर्ण नामहरूलाई अनुवाद गर्न प्रयोग गरिन्थ्यो: १) आदोनाइ (माने मालिक र प्रभु र सार्वभौम व्यक्ति; र २) यहोवा (परमेश्वरको सबभन्दा पवित्र नाम, जहाँसम्म यहूदीहरूको सवाल थियो; यसले पूर्ण ईश्वरत्वलाई जनाउँथ्यो)। भजनसङ्ग्रह ११०:१ लाई हेर्नुहोस् — “परमप्रभु (यहोवा) ले मेरा प्रभु (आदोनाइ) लाई भन्नुभयो।” ग्रीक अनुवादमा यी दुवै नामलाई कुरिअस् (प्रभु) शब्दले अनुवाद गरिएको छ।

७) त्यसैले जब थोमाले बौरिउठ्नुभएका प्रभुलाई देखे, उनले भने, “मेरा प्रभु र मेरा परमेश्वर” (यूहन्ना २०:२८) र यसले यस्ता मानेलाई समेटिरहेको छ “मेरा प्रभु, मेरा मालिक, मेरा सार्वभौम, मेरा स्वामी, मेरा अधिकारी, आदि”।

८) हामीले प्रचार गर्ने मुक्तिदाता येशू ख्रीष्ट चाहिँ प्रभु हुनुहुन्छ! “किनकि हामी आफैलाई होइन, तर ख्रीष्ट येशूको प्रचार गर्दछौं जो प्रभु हुनुहुन्छ” (२ कोरिन्थी ४:५)। उहाँ जो हुनुहुन्छ त्यसभन्दा अर्कै हुन सक्नुहुन्न! ख्रीष्टलाई टुक्राइन सकिन्न (एक भाग मुक्तिदाता र अर्कोचाहिँ प्रभु)।

९) जब एक व्यक्तिले ख्रीष्टलाई मुक्तिदाताको रूपमा ग्रहण गर्दछ उसले उहाँलाई प्रभुको रूपमा पनि ग्रहण गर्दछ किनकि उहाँ ठीक त्यही नै हुनुहुन्छ! कलस्सी २:६ लाई ध्यानपूर्वक हेर्नुहोस् — “जसरी तिमीहरूले ख्रीष्ट येशू प्रभुलाई ग्रहण गरेका छौ।” यो मुक्तिदाता को हुनुहुन्छ जसमाथि मैले विश्वास गरेको छु? लूका २:११ मा हेर्नुहोस् — “एक मुक्तिदाता जो ख्रीष्ट प्रभु हुनुहुन्छ!” हामीले ख्रीष्टको प्रभुत्वलाई उहाँ मुक्तिदाता हुनुहुन्छ भन्ने कुराबाट कहिल्यै विच्छेद गर्नुहुँदैन। एक व्यक्तिले यसरी भन्न मिल्दैन, “म उहाँलाई मुक्तिदाताको रूपमा ग्रहण गर्दछु तर म उहाँलाई प्रभुको रूपमा इन्कार गर्दछु!” यो असम्भव छ किनकि जुन व्यक्तिलाई तपाईंले ग्रहण गर्नुभयो (यदि तपाईंले साँच्ची नै उहाँलाई ग्रहण गर्नुभएको हो भने) उहाँ सबैमाथि प्रभु हुनुहुन्छ (प्रेरित १०:३६)। उहाँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ र उहाँ सबैका प्रभु हुनुहुन्छ। उहाँ अहिले नै प्रभु हुनुहुन्छ तपाईंले यो विश्वास गर्नुभए पनि वा नभए पनि, तपाईं त्यसबमोजिम जिउनुभए पनि वा नभए पनि, तपाईंले यसलाई स्वीकार गर्नुभए पनि वा नभए पनि, तपाईंले आफूलाई उहाँमा समर्पण गर्नुभए पनि वा नभए पनि। उहाँ जो हुनुहुन्छ त्यही हुनुहुन्छ र परमेश्वरले जे जति भन्नुभएको छ उहाँ त्यही हुनुहुन्छ! जब एक व्यक्तिले प्रभुलाई ग्रहण गर्दछ उसले उहाँलाई उहाँको सम्पूर्ण वास्तविकतालाई ग्रहण गर्दछ।

१०) प्रेरित ९:६ मा हेर्नुहोस् र प्रेरित २२:१० मा पनि। प्रेरित पावलले सुरुबाटै आफूलाई ख्रीष्टको प्रभुत्वमुनि सुम्पे। हरेक साँचो विश्वासीको हृदयको उग्गार यस्तो होस्, “प्रभु, म के गरूँ, तपाईं के चाहनुहुन्छ?” (दाँज्नुहोस् यशैया ६:८ — प्रभु, म यहाँ छु!)

११) प्रेरित १६:३१ मा हेर्नुहोस्। हामीले विश्वास गर्नुपर्ने प्रभुमा हो! दाँज्नुहोस् यूहन्ना ९:३८।

१२) के येशू ख्रीष्ट तपाईंको प्रभु हुनुहुन्छ? प्रत्येक साँचो विश्वासीले कुनै हिच्किचाहटबिना भन्नुपर्छ, “हो” र “आमेन!” यदि एक व्यक्तिले त्यसो भन्न सक्दैन भने, हामीलाई प्रश्न उठ्नुपर्छ निजले मुक्ति पाएको छ कि छैन भनेर (१ कोरिन्थी १२:३)।

१३) के तपाईं उहाँ प्रभु हुनुहुन्छ भन्ने वास्तविकलाई सुहाउने जीवन बिताउँदैहुनुहुन्छ? यो बेग्लै प्रश्न हो, र एक इमानदार विश्वासीले आफ्नो जीवन कतिपटक असुहाउँदो भएको स्वीकार गर्नेछ। लज्जित हुँदै तर इमानदारीतामा उसले सायद यसरी भन्नेछ, “धेरै पटक मैले मेरा प्रभुको आज्ञापलान गर्न र उहाँको अधीनतामा आफूलाई सुम्पन विफल भएको छु, र मेरो जीवनमाथि उहाँलाई पूर्ण अधिकार दिन विफल भएको छु। म आफैमा विद्रोह गर्ने एकदम झुकाव छ। तर उहाँ नै प्रभु हुनुहुन्छ भनी म जान्दछु र मेरो इच्छा चाहिँ सबै कुरामा उहाँको आज्ञापालन गर्नु हो।”

१४) यस्तो बेमेल भएको कुरा बाइबलका पन्नाहरूमा पटकपटक भेटिन्छ। जस्तै: येशू यदि साँच्ची नै हुनुहुन्छ भने पत्रुसले कसरी भन्न सकेका, “हुँदैन, प्रभु” (प्रेरित १०:१४)? येशू यदि साँच्ची नै हुनुहुन्छ भने पत्रुसले कसरी उहाँको वचनलाई काट्दै यसो भन्न सकेका, “यस्तो नहोस्, प्रभु! तपाईंमाथि यो कुरा कुनै रीतिले परिआउनेछैन!” (मत्ती १६:२२)? यदि येशू साँच्ची नै प्रभु हुनुहुन्छ पत्रुसले यूहन्ना १३:६,८ मा भनेका कुराहरू कसरी भन्न सकेका? हरेक अवज्ञा (आज्ञा उल्लङ्घन गर्ने काम), विश्वासीले गरेको हरेक पाप, ख्रीष्टको प्रभुत्वलाई चुनौती दिने कुरा हो। तर परमेश्वरले यी कुराका खातिर हामीलाई आफ्नो भन्न छोड्नुहुन्न। उहाँ कति अनुग्रही हुनुहुन्छ! यसैका लागि हामीसित एकजना वकिल अर्थात् सहायक हुनुहुन्छ (१ यूहन्ना २:१-२)!

१५) हामी जति प्रभुमा बढ्दै जान्छौं त्यति नै बढी हामी ख्रीष्टको प्रभुत्वको व्यावहारिक माने र कसरी यस सत्यताले हाम्रा जीवनहरूको हरेक क्षेत्रलाई प्रभाव पार्दछ भन्ने कुरा बुझ्दछौं। यो क्रमिक रूपमा हुने कुरा हो, एक्कासी होइन (२ कोरिन्थी १३:८)।

“आफ्नो हृदयमा विश्वास गर्यौ भने” — कुरा यहाँ समयको क्रम अनुसार बताउन खोजिएको होइन। विश्वास गर्ने काम वास्तवमा स्वीकार गर्ने कामभन्दा पहिले आउँछ (जसरी पद १० मा)। स्वीकार चाहिँ भित्रपट्टिको विश्वासको बाहिर, कानले सुनिने अभिव्यक्ति हो। “हृदयले” — धेरैजनासँग ख्रीष्ट सम्बन्धी दिमागी ज्ञान त हुन्छ, तर त्यति भएर पुग्दैन (प्रेरित ८:३७ — “आफ्नो सम्पूर्ण हृदयले”)। एक व्यक्तिले मुक्ति पाउँदा परमेश्वरले उसको हृदयमा एउटा उदेकको काम गर्नुहुन्छ (प्रेरित १६:१४)। सुसमाचार “हृदयबाट पालन गरेका छौ” (रोमी ६:१७)। प्रभुको सेवा गर्ने सम्बन्धमा पनि हृदय नै लागिपरेको हुन्छ, “हृदयदेखि नै परमेश्वरको इच्छा पूरा गर्नेहरू होओ” (एफेसी ६:५-६)।

“परेमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो भनी…विश्वास” — ख्रीष्टको बौरिउठाइमा विश्वास गर्ने काम मुक्तिको निम्ति अनिवार्य छ। हाम्रो विश्वास एक जिउँदो मुक्तिदातामाथिको विश्वास हो (रोमी ४:२५; १ कोरिन्थी १५:१४-१९)। ख्रीष्टको प्रतिस्थापनकारी मृत्यु यहाँ उल्लेख भएको छैन तर त्यो यहाँ मानिलिइएको छ (बौरि उठ्न उहाँ मरेको हुनुपर्थ्यो), साथै उहाँको मृत्युको महत्त्वलाई पावलले रोमीको यस पुस्तकमा बारम्बार सिकाइसकेका छन्। “तिमीले मुक्ति पाउनेछौ” — यो हो मुक्ति पाइन्छ भन्ने परमेश्वरको पक्का प्रतिज्ञा! मानिसले यदि विश्वास गर्दछ ने बचाउने काम परमेश्वरले गर्नुहुन्छ। के तपाईंले यो मुक्तिको महिमित प्रतिज्ञालाई दाबी गर्नुभयो र आफ्नै बनाउनुभयो? के तपाईंको हृदयले उहाँमाथि विश्वास गरिरहेको छ? के तपाईंको मुखले उहाँको बारेमा बोलिरहेको छ?

रोमी १०:१०

यस पदले पद ९ को व्याख्या गर्दछ (“किनकि”) र घटनाक्रमलाई समयको क्रमअनुसार प्रस्तुत गर्दछ: पहिले विश्वास आउँछ र त्यसपछि स्वीकार आउनुपर्छ। “धार्मिकताका निम्ति हृदयले विश्वास गरिन्छ” — रोमी ४:३,५ सित दाँज्नुहोस् (एक व्यक्तिले परमेश्वरमाथि विश्वास गर्दछ र यो उसको निम्ति धार्मिकता गनिन्छ)। विश्वास गर्ने काम भित्रपट्टि हुने काम हो; स्वीकार गर्ने काम बाहिरपट्टि गरिने काम हो (जसरी हृदय र मुख हुन्छ - हृदय भित्रपट्टि छ र अदृश्य छ; मुख बाहिर छ र देखिन्छ)।
स्वीकार चाहिँ विश्वासलाई सुनिने बनाउनु हो! विश्वास हृदयभित्र हुने कुरा हो, कसैले तपाईंको विश्वासलाई देख्न सक्दैन। जब हामी आफ्नो मुख खोल्छौं र अरूहरूसित ख्रीष्टले हाम्रो निम्ति गरिदिनुभएको कुरा र उहाँ कति उदेकको मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा बताउँछौं, तब हामीले हाम्रो विश्वासलाई सुन्न सकिने बनाउँछौं र त्यसलाई अरूका निम्ति छर्लङ्ग पार्दछौं। [स्वीकार चाहिँ विश्वासलाई सुन्न सकिने बनाउनु हो जसरी असल कामहरू विश्वासलाई देख्न सकिने बनाउनु हो — याकूब २:१४-२६] तपाईंले साँच्चै मुक्ति पाउनुभएको छ भनेर मैले कसरी जान्न सक्छु र, जबसम्म तपाईंले त्यो स्वीकार गर्नुहुन्न र मलाई बताउनुहुन्न? एक व्यक्ति ख्रीष्टलाई आफ्ना ओठले स्वीकार गर्नुभन्दा अगाडि नै उसले आफ्नो हृदयमा ख्रीष्टमाथि विश्वास गरिसकेको हुन्छ। ख्रीष्टलाई स्वीकार्ने काम बचाउनेविश्वासको साथसाथैजाने कुरा हो। हामीले यदि मुक्ति पाएका छौं भने के सो कुरा हामीले बताउनुपर्दैन र? हामीले यदि साँच्ची नै उद्धार पाएका छौं भने के सो कुरा हामीले बताउनुपर्दैन र (भजनसङ्ग्रह १०७:२)? ख्रीष्टले उसको निम्ति जे गरिदिनुभएको छ,त्यससित एउटा साँचो विश्वासी कसरी लजाउन सक्छ र? मेरा निम्ति जसले आफ्नो जीवन दिनुभयो, के म उहाँको बारेमा खुलेर कुरा गर्नुपर्दैन र, अनि गर्व गर्नुपर्दैन र?
“मुक्तिका निम्ति मुखले स्वीकार गरिन्छ” — यसको माने स्वीकार गर्ने कामचाहिँ मुक्ति पाउनका निम्ति पूरा गर्नुपर्ने एउटा शर्त हो भन्ने होइन, तर बरु स्वीकार चाहिँ मुक्तिको स्वाभाविक परिणाम वा प्रमाण हो। कसैले मुक्ति पाउनका निम्ति ख्रीष्टलाई स्वीकार गर्नुपर्ने होइन; निजले ख्रीष्टलाई स्वीकार गर्दछ किनकि उसले मुक्ति पाएको छ। स्वीकार, एक व्यक्तिले मुक्ति पाउनलाई गर्ने काम होइन; स्वीकार, एक मुक्ति पाएको व्यक्तिले गर्ने काम हो! विश्वास बाहिरी रूपमा र सार्वजनिक रूपमा व्यक्त गरिनुपर्छ। विश्वास गर्ने काम जरा हो; स्वीकार चाहिँ फल हो। साँच्ची नै विश्वास गर्ने हरेकले ख्रीष्टलाई स्वीकार गर्नुपर्छ (मत्ती १०:३२; १०:९ र दाँज्नुहोस् प्रकाश ३:५)। तरैपनि ख्रीष्टलाई स्वीकार गर्ने हरेक नै साँचो चेला हुँदैन (हेर्नुहोस् मत्ती ७:२३; तीतस १:१६ र २ तिमोी २:१९)। परमेश्वरको अात्मिक सेनामा “गोप्य विश्वासी” को लागि कुनै ठाउँ छैन। हामी हाम्रा प्रमुख सेनापतिदेखि कहिल्यै नलजाएका होऔं (२ तिमोथी २:३-४)!
जसरी एउटा बट्टाको बिल्लाले बट्टाभित्र के छ भनेर बताउँछ, त्यसरी नै स्वीकारद्वारा विश्वासीले आफूभित्र को जिउनुहुन्छ भनेर घोषणा गर्दछ (२ कोरिन्थी १३:५ “…येशू ख्रीष्ट तिमीहरूभित्र हुनुहुन्छ”)। साथै गलाती २:२० पनि हेर्नुहोस्।

रोमी १०:११

यस पदले पद १० लाई व्याख्या गर्दछ (“किनकि”)। हामी यदि ख्रीष्टमाथि साँच्ची नै विश्वास गर्छौं भने हामी उहाँदेखि शर्माउनेछैनौं र फलस्वरूप उहाँलाई खुसीसित स्वीकार गर्नेछौं! “विश्वास गर्ने हरेक” — रोमी १:१६ मा पनि यही वाक्य-रचना भेटिन्छ। हाम्रो मुक्तिदाताले हाम्रो निम्ति के गरिदिनुभयो भनेर हामीले साँच्ची नै बुझेका छौं भने हामी उहाँको बारेमा कसरी गर्व नगर्न सक्छौं र? कसरी हामी उहाँले हाम्रो निम्ति गरिदिनुभएको कुराको बारेमा खुसीसित नबोलीकन बस्न सक्छौं र? “परमप्रभुले हाम्रा निम्ति ठूला-ठूला कामहरू गर्नुभएको छ, यसैकारण हामी आनन्दित छौं!” (भजनसङ्ग्रह १२६:३)।

रोमी १०:१२

“कुनै भिन्नता छैन” भन्ने वाक्यांश रोमी ३:२२-२३ मा पनि भेटिएको थियो। उक्त खण्डमा, सबैले पाप गरेका हुनाले र सबै नै दोषी भएकाले (सबै नै उही दोषको सहभागी भएकाले)त्यहाँ कुनै भिन्नता छैन भन्ने कुरा उल्लेख छ। रोमी १० अध्यायमा चाहिँ, उही प्रभुले उहाँलाई पुकार्ने सबैमाथि आफ्नो धन वर्षाउनुहुने भएकोले (सबै मानिसहरूलाई उही मुक्तिको भागीदार हुनलाई निम्तो दिइएको हुनाले)त्यहाँ कुनै भिन्नता छैन भन्ने कुरा उल्लेख छ। सबैले पाप गरेका छन् तर त्यहाँ एकजना मुक्तिदाता हुनुहुन्छ जो सबैका निम्ति प्रबन्ध गरिनुभएको छ! कुनै भिन्नता बिना सबै मानिसहरू दोषी ठहरिएका छन्; कुनै भिन्नता बिना सबै मानिसहर मुक्ति पाउनलाई निम्त्याइएका छन्!
उहाँ यहूदीहरूमाथि प्रभु हुनुहुन्छ र उहाँ ग्रीक (अन्यजाति) हरू माथि प्रभु हुनुहुन्छ! रोमी ३:२९ र प्रेरित १०:३४-३६ (जुन बेला सुसमाचार अन्यजातिहरूलाई प्रचार गरिएको थियो)। परमेश्वर उहाँलाई पुकार्नेहरूप्रति धनवान् हुनुहुन्छ। उहाँको नाम पुकार्नेहरूमाथि उहाँले आफ्नो सम्पत्ति खन्याउनुहुन्छ। यो वरदान कति बहुमूल्य छ भन्ने कुरा परमेश्वरको वरदान (रोमी ६:२३; ५:१७; एफेसी २:८-९ आदि) लिएकाहरूले मात्र जान्दछन्। परमेश्वरको भलाइ, त्यसलाई“चाखेर हेर्नेहरू” (दाँज्नुहोस् भजनसङ्ग्रह ३४:८ र १ पत्रुस २:३) ले मात्र जान्दछन्। विश्वासीहरूले मात्र “उहाँको अनुग्रहको धन” (एफेसी १:७) लाई र “ख्रीष्टको खोजेर नसकिने धन” लाई जान्न थाल्न सक्छन्। “उहाँको अनुग्रहको धन — मैले मुक्ति पाएको दिनदेखि म के कस्ता कुराको भागीदार बनेको छु — २१५ ओटा सत्यताहरू” शीर्षक गरेको पर्चा पढ्नुहोस् (wordoftruth.com.np)।