Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

रोमी ११:१६-३६

यस पृष्ठलाई छाप्नुहोस्

रोमी ११:१६

“किनकि” — पावलले अब भविष्यमा हुने इस्राएलको पुनःस्थापनाको र साथै अन्यजातिहरूको वर्तमान स्थितिको थप कारण खुलाउँछन्। यो व्याख्या अबको तीनओटा पदहरूमा भेटिन्छ जुन पदहरूमा जैतुनको रूखको दृष्टान्त प्रस्तुत गरिएको छ। “पहिलोफल” ले मुछेको पीठोलाई जनाउँछ। “ढिका” ले मुछेको सम्पूर्ण पीठोलाई जनाउँछ (हेर्नुहोस् गन्ती १५:१७-२१ जहाँ “मुछेको पीठोको पहिलो ढिकाबाट तिमीहरूले परमप्रभुलाई…चढाउनु”)। मूरे भन्छन्,
“प्रभुलाई चढाइएको मुछेको पीठोको पहिलो ढिकाबाट मुछेको सम्पूर्ण पीठो अर्पण गरिएको (पवित्र ठहरिएको) बुझिन्थ्यो।”
पावल अब हामीलाई मुछेको पीठोको दृष्टान्तपछि जैतुनको रूखको दृष्टान्तपट्टि लान्छन् जुन दृष्टान्त पद २४ सम्मै छ। पूरै ढिका (मुछेको सम्पूर्ण पीठो) पीठोको पहिलोफल जत्तिकै पवित्र हुनुपर्छ। त्यस्तै हाँगाहरू पनि जरा जत्तिकै पवित्र हुनुपर्छ। पवित्र जराको पवित्र हाँगाहरू हुन्छन्। पहिलोफल र जराले अब्राहाम, इसाहक र याकूबलाई जनाउँछ (दाँज्नुहोस् रोमी ११:१८ र ९:५ “पूर्खाहरू”)। पूर्खाहरू पवित्र थिए किनकि तिनीहरू परमेश्वरबाट चुनिएका थिए। तिनीहरू एउटा विशेष उद्देश्यले परमेश्वरद्वारा अलग गरिएका र चुनिएका थिए। उनीहरूबाट परमेश्वरको विशेष र पवित्र जातिको उद्भव भयो (व्यवस्था ७:६-८; दाँज्नुहोस् यर्मिया २:२-३)।

रोमी ११:१७

परमेश्वर, जरालाई सुहाउने हाँगाहरू चाहनुहुन्छ। “परमेश्वरलाई विश्वास” (उत्पत्ति १५:६) गर्ने पूर्खा अब्राहाम र विश्वासहीन यहूदीहरूका बीच कुनै समानता छैन। स्वाभाविक हाँगाहरूले इस्राएललाई जनाउँछ। जङ्गली हाँगाहरूले अन्यजातिहरूलाई जनाउँछ। खनजोत गरिएको जैतुनको रूखले परमेश्वरको आशिषको स्थानलाई जनाउँछ। जङ्गली जैतुन रूख चाहिँ आशिषको ठाउँ होइन (दाँज्नुहोस् एफेसी २:११-१३) तर जङ्गली जैतुनको रूखका हाँगाहरू खनजोत गरिएको जैतुनको रूखमा कलम गाँसिन्छन् अनि तब ती हाँगाहरूले जैतुनको रूखको जरा र पोषिलोपनमा सहभागी हुन सक्छन् (रोमी ११:१७)। कति स्वाभाविक हाँगाहरू “भाँचिए”, र पद २० ले यसको कारण बताउँछ (“अविश्वासको कारणले”)। जङ्गली हाँगाहरू, ख्रीष्टमा राखिएको विश्वासको कारण “तिनीहरूमा कलम गासिए” — दाँज्नुहोस् रोमी ९:३०-३२ — र यसरी आशिषको स्थानमा अवस्थित छन्। विश्वास गर्ने अन्यजातिहरू परमेश्वरको मुक्ति, परमेश्वरको धार्मिकता र परमेश्वरका आत्माको भागीदार हुन सक्छन् — हेर्नुहोस् गलाती ३:१४ — ताकि अब्राहामको आशिषहरू येशू ख्रीष्टद्वारा अन्यजातिहरूमाथि आऊन्, ताकि हामी विश्वासद्वारा आत्मा पाऔं।

रोमी ११:१८

“ती (स्वाभाविक) हाँगाहरूको विरोधमा घमन्ड नगर!” पावल यहाँ अन्यजातिहरूलाई सम्बोधन गर्दैछन् र उनीहरूलाई कडा चेताउनी दिँदैछन्। उनीहरूले जरालाई सम्हालेका होइनन्, तर जराले उनीहरूलाई सम्हालेको हो, अनि यस कुरालाई उनीहरूले महसुस गर्नु खाँचो थियो। उनीहरूले जुन स्थान पाएका थिए त्यो उनीहरूले आफ्नो योग्यता वा असलपनको कारण पाएका थिएनन्, तर केवल अब्राहामका परमेश्वरमा राखिएको उनीहरूको विश्वासद्वारा उनीहरू अब्राहामसित सम्बन्धित भएकाले थियो (रोमी ४:१२,१६)।

रोमी ११:१९-२०

मूरेको टिप्पणी यहाँ सुहाउँदो छ:
“जुन गर्व गराइलाई यहाँ दोषी ठहराइएको छ त्यो चाहिँ त्यो घमन्ड र स्वाभिमानी निर्धक्कता हो जसप्रति विश्वासी अन्यजातिहरू झुक्न सक्छन् जब तिनीहरूले इस्राएलको हटाइले गर्दा ओगटेको विशेषाधिकार र आदरको स्थानलाई विचार गर्दछन्… कसैलाई अनुशासन गर्नु परेको कारण निलम्बित गरिएको अवस्थामा, जुन व्यक्तिलाई उसको रिक्त स्थानमा राखिन्छ, त्यस व्यक्तिलाई आफ्नो पदोन्नती भएको देखेर, आफ्नोस्वधर्मीपनमा सेखी गर्ने र लोटेको व्यक्तिलाई तिरस्कारको भावनाले हेर्नेजोखिम आइपर्छ।”

अन्यजातिले भन्छ, “मलाई कलम गाँसियोस् भनी हाँगाहरू भाँचिएका हुन्”। पावल भन्छन्, “ठीकै भन्यौ! तिम्रो भनाइ ठीकै हो!” (पद २०)। यो सत्य हो कि इस्राएलको लोटाइले गर्दा मुक्ति अन्यजातिहरूमा आयो (पद ११), तर यो किन सत्य हो भन्ने कुरा अन्यजातिहरूले बुझ्नु खाँचो छ। इस्राएल लोटेको अविश्वासको कारणले हो र अविश्वासको कारणले हो स्वाभाविक हाँगाहरू भाँचिएका। विश्वासको कारणले हो अन्यजातिहरू खडा भएका। त्यसैले यो चेताउनी: “अभिमानी नहोऊ, तर डराऊ!” तिमी चाहिँ लोट्न सक्दैनौ भनेर नसोच! यदि यहूदीहरूले ख्रीष्टलाई अविश्वासले गर्दा इन्कार गरे भने, के अन्यजातिहरूले पनि त्यस्तै गर्न सक्दैनन्? यो चेताउनी गत २००० वर्षको मण्डली इतिहासमा अधिक मात्रामा बेवास्ता गरिएको पाइन्छ। किनकि हामीले अन्यजातिहरूलाई देखेका छौं जो ख्रीष्टमा सकली विश्वास नराखीकनै आशिषको स्थानमा रहन सक्छौं भन्ने सोच्छन् (विश्वासको सट्टामा रीतिवाद, धर्म, मानवीय विचारवाद, आदिको पछि लागेर)।

रोमी ११:२१

यदि परमेश्वरले रूखकै अङ्ग हुनुपर्ने स्वाभाविक हाँगाहरूलाई (अविश्वासको कारणले) हटाउनुभयो भने, परमेश्वरले झन् बढ्ता गरी जङ्गली अस्वाभाविक हाँगाहरूलाई हटाउनुहुन्छ, जुन अस्वाभाविक हाँगाहरू परमेश्वरको भलोपन र कृपा बिना त त्यहाँ हुनै नपर्ने हाँगाहरू हुन्! यदि परमेश्वरले यहूदीहरूलाई बाँकी राख्नुभएन भने, उहाँले अन्यजातिहरूलाई किन बाँकी राख्नुहुनेथ्यो र? यदि परमेश्वरले इस्राएलमा भएको अविश्वासलाई न्याय गर्नुभयो भने के उहाँले अन्यजातिहरूको बीचमा भएको अविश्वासलाई न्याय गर्नुहुन्न? यदि परमेश्वरका चुनिएका जनहरू अविश्वासमा लोटे भने, के यस कुराले अन्यजातिहरूलाई आफ्नो विषयमा होशियार हुन लगाउनुपर्ने होइन र, ताकि उनीहरूले पनि त्यस्तै नगरून्?

रोमी ११:२२

अन्यजातिहरूका प्रेरित पावल (पद १३) अन्यजातिहरूले ध्यानपूर्वक परमेश्वरको भलोपन (दया) र कठोरता (कडापन) दुवैलाई विचार गरेको चाहन्छन्। परमेश्वरको कडापनचाहिँ विश्वासहीन इस्राएलसित गर्नुभएको उहाँको व्यवहारमा देखिन्छ। तिनीहरू आशिषको स्थानबाट काटिएका छन्। परमेश्वरको दयाचाहिँ विश्वास गर्ने अन्यजातिहरूसितको उहाँको अनुग्रहपूर्ण व्यवहारमा देखिन्छ जुन अन्यजातिहरू मुक्तिका आशिषहरूको भागीदार भइरहेका छन्। “यदि उहाँको दयमा लागिरहय्यौ भने”। “लागिरह्यौ” भन्ने शब्द पद २३ को “रहनु” शब्द नै हो। इस्राएल सधैं नै अविश्वासमा रहनेछैनन् (पद २३), तर अन्यजातिहरूले यो पक्का गरून् कि तिनीहरू विश्वासमा रहिरहून् ताकि उनीहरू परमेश्वरको भलोपनमा निरन्तरता पाऊन् नत्रता उनीहरू काटिनेछन्।

नोट: यो खण्डलाई विश्वासीको अनन्त सुरक्षाको दृढ शिक्षाको विरुद्धमा विवाद गर्न प्रयोग गर्नु हुँदैन। पावलले कुनै व्यक्ति विशेषलाई होइन, तर यहूदीहरू र अन्यजातिहरू तर्फ आफ्नो नजर लगाउँदैछन्। उनले भन्न खोजेको सरल कुरा यहि हो: ठीक जसरी यहूदीहरूले ख्रीष्टलाई इन्कार गरे र आशिषहरूको स्थानबाट हटाइए, त्यसरी नै अन्यजातिहरू पनि, यदि तिनीहरूले ख्रीष्टलाई इन्कार गरे भने आशिषको स्थानबाट हटाइनेछन्। उनले यहाँ कुनै एउटा अन्यजाति व्यक्तिको बारेमा कुरा गरिरहेका छैनन् जसले ख्रीष्टमाथि विश्वास गरेको छ र मुक्ति पाएको छ, र कालान्तरमा उसको जीवनमा उसले ख्रीष्टलाई मुक्तिदाताको रूपमा इन्कार गर्दछ, आफ्नो मुक्ति गुमाउँदछ र नरकमा जाँदछ। यो बाइबलीय रूपमा असम्भव छ। जोहरूलाई पिताले ख्रीष्टलाई दिनुभएको छ (साँचो विश्वासी), उनीहरू कहिल्यै नष्ट हुनेछैनन् (यूहन्ना ६:३७-४०; १०:२७-३०)। परमेश्वरले हामीलाई मुक्ति दिनु मात्र हुँदैन तर हामीलाई बचाएर राखिराख्नु पनि हुन्छ। साँचो विश्वासी कहिल्यै पनि घातक तरिकाले र पूर्ण रूपले विश्वासबाट हट्दैन (यद्यपि उसको जीवनमा विश्वासको गम्भीर ह्रासहरू हुन सक्छन्)। यो कुरा लूका २२:३१-३२ मा सफासँग सिकाइएको छ। पत्रुसको जीवनमा विश्वासको गम्भीर ह्रास आएको थियो र आफ्नो परमेश्वरलाई समेत इन्कार गर्यो, तर ख्रीष्टको अन्तर्विन्तीको लागि धन्यवाद, उसको विश्वास टुटेन! त्यहाँ कमजोरीपन र परिक्षा अनि विफलताका समयहरू भए तापनि, हामीले विश्वास गरिरहौं भनेर परमेश्वरले हाम्रा हृदयहरूमा काम गर्नुहुन्छ: “अनि तिमीहरूचाहिँ अन्तिम समयमा प्रकट हुनालाई तयार भएको मुक्तिका निम्ति परमेश्वरको शक्तिले विश्वासद्वारा सुरक्षित छौ” (१ पत्रुस १:५)। यो कुरालाई प्रेरित २७:२२-३१मा सफासँग देखाइएको छ। ती मानिसहरूको कुशलता र सुरक्षा परमेश्वरद्वारा पहिल्यै नै बताइएको र प्रतिज्ञा गरिएको अनि निश्चयता गरिएको थियो (प्रेरित २७:२२,२४,२५) तरैपनि जहाजभित्र राख्नु नै उनीहरूलाई सुरक्षित राख्नको निम्ति परमेश्वरको तरिका थियो (३१ पद)। “विश्वासको जहाज”मा भएका मानिस (साँचो विश्वासी)हरूलाई परमेश्वरद्वारा सुरक्षाको प्रतिज्ञा र निश्चयता दिइएको छ (यूहन्ना १०:२७-३०), तरैपनि हामीलाई जहाज छोडेर जानुको (विश्वासबाट हटेर जानुको) खतराको बारेमा दोहोरो चेतावनीहरू दिइरहनु नै हामीलाई सुरक्षित राख्नको निम्ति परमेश्वरको तरिका हो। त्यस प्रकारका चेतावनीहरू (कलस्सी १:२३; प्रेरित १३:४३; प्रेरित १:२२मा भएझैं) विश्वासीलाई ख्रीष्टमा सँधैको निम्ति सुरक्षित र कुशल राख्नलाई परमेश्वरद्वारा प्रयोग गरिन्छन्। साँचो विश्वासी सदाको निम्ति विश्वासको जहाजमा रहिरहन्छ। ऊ चािहँ जहाजको तखतामा बेस्सरी पच्छारिन सक्छ (पत्रुसझैं), तर ऊ कहिल्यै पनि जहाजबाट बाहिर खस्नेछैन!

रोमी ११:२३-२४

पावल अब भविष्यमा हुने इस्राएल जातिको पुनःस्थापनासित सम्बन्धित मुख्य बुँदामा फर्कन्छन् (पद १२ र १५ तुलना गर्नुहोस्)। “तिनीहरू” ले इस्राएल (यहूदीहरू) लाई जनाउँछ। आज यहूदीहरू अविश्वासमा छन् (उनीहरूमध्य अधिकांश, यद्यपि सबै ता होइन), अनि यही कारणले गर्दा उनीहरू जैतुनको रूखका अङ्ग रहेका छैनन्। तर उनीहरू अविश्वासमा रहेनन् भने (अर्थात् उनीहरूले ख्रीष्टलाई मुक्तिदाताको रूपमा विश्वास गरे भने), उनीहरू जैतुनको रूखमा फेरि कलम गाँसिनेछन् र फेरि पनि आशिषको स्थानमा हुनेछन् (पद १७)। तिनीहरू अविश्वासको कारणले हटाइएका थिए (पद २०) र तिनीहरू विश्वास गरेर फेरि फर्कन सक्छन् (पद २३)। तिनीहरूलाई हटाउनुहुने र भाँच्नुहुने परमेश्वर अवश्य पनि तिनीहरूलाई फेरि कलम गाँस्न सक्नुहुन्छ। वास्तवमा, स्वाभाविक हाँगाहरूलाई कलम गाँस्ने काम जङ्गली हाँगाहरूलाई कलम गाँस्नु जति असाधारण काम होइन। जुन काम परमेश्वरले अन्यजातिहरूलाई गर्नुहुन्छ त्यो “स्वभावको विपरीत” काम हो। झन् कति बढ्ता गरी यहूदीहरू (स्वाभाविक हाँगाहरू) तिनीहरूको आफ्नै जैतुन रूखमा कलम गाँसिनेछन्? भन्नुपर्दा, तिनीहरूको स्थान त्यहीँ नै हो!

कलमगाँस्ने बारेमा नोट: कलम गाँस्नु (कृया)को अर्थ कुनै विरुवा वा वृक्षको मुना वा कोपिलालाई कलमको रूपमा कुनै अर्को विरुवा वा वृक्षमा गाँस्नु हो, जहाँ उक्त कलम, स्थायी अङ्गको रूपमा बढ्न थाल्छ।
“जैतुनको रूख प्राय: जसो जङ्गली रूखझैं हुर्कन्छन्, र त्यसैले मानिसलेतिनको खेती गर्नुपर्दा, त्यहाँ कलम गाँस्ने काम गरिनुपर्छ। विकासी जैतुनको रूखको कलम जङ्गली जैतुनको रूखको मूल डाँठमा गाँसिन्छ, र त्यसपछि जङ्गली जैतुनको रूखलाई जमिनबाट अलिकति मास्तिर काटेर ढालिन्छ, र तल्लो भागचाहिँ जरा र गाँसिएको कोपिलाको निम्ति पोषक बन्दछ। कलम गाँस्ने प्राचीन चलनचल्तीको प्रकृया यही हो। प्रेरित पावलले भने, आफ्नो तर्कको खातिर, कलम गाँस्ने प्रकृयालाई प्राकृतिक प्रकृयाभन्दा त्यसविपरीतको प्रकृयाको रूपमा लिएर आफ्नो चर्चालाई प्रस्तुत गर्छन्। तिनले अन्यजातिहरूको जङ्गली जैतुनलाई परमेश्वरले यहूदी जातिको असल कलमी डाँठमा कलम गाँस्नुभएको बारेमा बताउँदैछन्, जुनचाहिँ विपरीत चलनचल्ती हो (रोमी ११:२४)” (MannersandCustoms of Bible Lands, by Fred H. Wight)

रोमी ११:२५

रोमका विश्वासीहरू वर्तमान युगमा इस्राएलको आंशिक अन्धापनाको बारेमा अनजान रहेको पावल चाहँदैनथे। नयाँ नियमको रहस्य भनेको त्यो हो जसलाई छिपाइएको, गोप्य राखिएको थियो र विगतका युगहरूमा मानिसहरूलाई प्रकट गरिएको थिएन तर अब यस युगमा नयाँ नियमका प्रेरित र अगमवक्ताहरूद्वारा प्रकट गरिएको छ र थाह गराइएको छ (एफेसी ३:४-५; ३:९; कलस्सी १:२६; रोमी १६:२६)। जुन कुरा पावलले रोमका विश्वासीहरूले जानेको चाहन्थे त्यो यस्तो कुरा थियो जुन कुरा पहिलेका युगकाहरूलाई केही थाह थिएन। मोशा, दाऊद र यशैयालाई पावलले यहाँ बताइरहेका कुराको बारेमा केही जान्दैनथे। पावलले एउटा विशेष कुराको बारेमा चर्चा गर्दैछन् जुन कुरा परमेश्वरले यस युगमा, ख्रीष्टका दुई आगमनहरूको अन्तरालमा, अन्यजातिहरूको बीचमा गर्दैहुनुहुन्छ (दाँज्नुहोस् प्रेरित १५:१४),जुनअन्तरालमा इस्राएल अन्धाअवस्थामा छ। इस्राएलको अन्धापनाको बारेमा २ कोरिन्थी ३:१४-१६ मा हेर्नुहोस्। यो अन्धापना यहूदी व्यक्तिहरूबाट हटाइनु सम्भव छ जब तिनीहरू प्रभु येशूकहाँ फर्कन्छन्; यो अन्धापना इस्राएल जातिबाटै चाहिँ उहाँको दोस्रो आगमनको समयमा हटाइनेछ जुन बेला इस्राएल जाति प्रभुकहाँ फर्कनेछ (२ कोरिन्थी ३:१६ र रोमी ११:२६)। अन्यजातिहरू घमन्डले फुलेको पावल चाहँदैनथे (“तिमीहरूले आफूलाई आफ्नो दृष्टिमा बुद्धिमान् ठानौला भनेर”), र त्यस्तो हुनदेखि जोगिन अन्यजाति विश्वासहरूले इस्राएलको निम्ति परमेश्वरको वर्तमान र भविष्यको योजना बुझ्नु खाँचो छ। इस्राएलको अन्धापनाको बारेमा पावलले दुईटा मुख्य बुँदा प्रस्तुत गर्छन्: १) उसको अन्धापना आंशिक अन्धापना हो, पूर्ण अन्धापना होइन। यद्यपि धेरैजसो यहूदीहरू आज अन्धा छन्, सबै यहूदीहरू अन्धा छैनन्। कोही यहूदीहरू छन् जोहरू ज्यादै सफा देख्छन् किनकि तिनीहरूले येशूलाई आफ्नो मसीहको रूपमा ग्रहण गरेका छन्; २) उसको अन्धापना अस्थायी हो, स्थायी होइन। त्यो चाहिँ “जबसम्म अन्यजातिहरूको पूरा सङ्ख्या भित्र आउँदैन तबसम्म” रहने कुरा हो (पद २५)। “अन्यजातिहरूको पूर्ण सङ्ख्या” के हो? आज ख्रीष्ट आफ्नो मण्डली बनाउँदै हुनुहुन्छ, जो चाहिँ मुख्य गरी अन्यजातिहरूले बनेको छ। परमेश्वरले आफ्नो संसारका जातिहरूसँग भेट गर्दै हुनुहुन्छ उनीहरूको बीचबाट एउटा जाति निकाल्नलाई (प्रेरित १५:१४)। भविष्यको एक समयमा आएर (जुन समय परमेश्वरलाई मात्र थाह छ), अन्यजातिहरूको पूर्ण सङ्ख्या भित्र आइसक्नेछ (अर्थात् परमेश्वरले आफ्नो मण्डलीमा समावेश गर्न चाहनुभएकाहरू सबै नै जम्मा पारिएपछि, बचाइएपछि)।

“अन्यजातिहरूको पूर्ण सङ्ख्या” (रोमी ११:२५) लाई “अन्यजातिहरूको समयहरू” सित अलमल नगर्नुहोस् (लूका २१:२४)।

१) अन्यजातिहरूको पूर्ण सङ्ख्याभन्ने कुराचाहिँ यस वर्तमान युगको समयमा मण्डलीसितको अन्यजातिहरूको सम्बन्धको विषय हो। परमेश्वरले आफ्नो मण्डलीमा दिनहुँ मुक्ति पाएकाहरूलाई थप्ने काम गर्दै हुनुहुन्छ (प्रेरित २:४७), अनि प्रमुख रूपमा यस शरीरमा थपिँदै गरेकाहरू चाहिँ अन्यजातिहरू हुन् यद्यपि केवल अन्यजातिहरू मात्र ता होइनन्। जब अन्यजातिहरूको पूर्ण सङ्ख्या भित्र आउँछ, तब मण्डलीको उठाइलगिने कार्य (र्याप्चर) हुन्छ (ख्रीष्टको शरीर त्यसको पूर्णतामा पुग्नेछ!)।

२) अन्यजातिहरूको समयचाहिँ इस्राएल जातिसितको अन्यजातिहरूको सम्बन्धको विषय हो। लूका २१:२४ मा जसरी भनिएको छ — “अन्यजातिहरूका समयहरू पूरा नहोउन्जेल यरूशलेमचाहिँ अन्यजातिहरूद्वारा कुल्चीमिल्ची गरिनेछ।” स्कोफिल्डले यस समयावधिलाई यस प्रकारले बयान गर्छन्:
“अन्यजातिहरूका समयहरू त्यो लामो समयावधि हो जसको सुरुआत नबुकदनेजर राजाको शासनकालमा यहूदाको बेबिलोनी कैदबाट सुरु भयो; यस समयावधिको अन्तचाहिँ ‘कसैका हातहरूबिना काटिएको एउटा ढुङ्गा’ (दनियल २:३४,३५,४४), अर्थात् प्रभुको महिमापूर्ण आगमनद्वारा (प्रकाश १९:११,२१) अन्यजातिहरूको विश्व-शक्तिको विनाश भएर टुङ्गिन्छ, जुन समय नआएसम्म चाहिँ यरूशलेम राजनीतिक रूपमा अन्यजातिको शासनमुनि हुन्छ (लूका २१:२४)।”
“अन्यजातिहरूको पूर्ण सङ्ख्या” कोसम्बन्धमा, विश्वासीहरू मिलेर बनेको शरीर पूरा नभएसम्म बचाइँदै गरेका र मण्डलीमा थपिँदै गरेकाहरू चाहिँ अन्यजातिहरू हुन्। “अन्यजातिहरूका समयहरू” को सम्बन्धमा, ख्रीष्टको दोस्रो आगमनसम्म यरूशलेममाथि शासन गर्ने र नियन्त्रण गर्नेहरू चाहिँ अन्यजातिहरू हुन्। यी दुई वाक्यांशहरू उस्तै-उस्तै सुनिए तापनि ती दुईलाई छुट्ट्याइनुपर्छ (तर कति पटक क्रस-रेफरेन्स बाइबलहरू आदिमा रोमी ११:२५ लाई लूका २१:२४ सित एउटै भए झैं जोडिएको पाइन्छ)। हामीले फरक कुराहरूको बीच भिन्नता राख्नुपर्छ।

रोमी ११:२६

अन्यजातिहरूको पूर्ण सङ्ख्यापछि (पद २५) इस्राएलको पूर्णता आउनेछ (पद १२, पद २६ “सारा इस्राएल बचाइनेछ”। यस पदले प्रस्टै इस्राएल जातिको भविष्यमा हुने मुक्तिको भविष्यवाणी गर्दछ। साथै त्यो कहिले हुनेछ भनेर पनि यसले बताउँछ: त्यस बेला जब महान् उद्धारक सियोनबाट निस्केर आउनुहुनेछ (जुनचाहिँ येशू ख्रीष्टको दोस्रो आगमनको स्पष्ट उल्लेख हो — दाँज्नुहोस् यशैया ५९:२०)। इस्राएलको उज्यालो भविष्य छ। यो ध्यानमा राखिनुपर्छ कि इस्राएल जाति आज एक भक्तिपूर्वक जिउने जाति होइन। यो एक विश्वास नगर्ने जातिको रूपमा छ, अनि अधिकांश रूपमा परमेश्वरलाई इन्कार गर्ने जातिको रूपमा छ (जसले पुत्रलाई आदर गर्दैनन् उनीहरूले पितालाई आदर गर्दैनन् — यूहन्ना ५:२३, अनि जसले पुत्रलाई इन्कार गर्छन् उनीहरूसित पिता हुँदैन — १ यूहन्ना २:२३)। तर एउटा दिन आउँदैछ जब ख्रीष्ट उद्धारकले यस जातिबाट अभक्ति हटाउनुहुनेछ र इस्राएल एक परमेश्वरको भय मान्ने र परमेश्वरको आदर गर्ने जाति बन्नेछ।

रोमी ११:२७

इस्राएलले सामूहिक (राष्ट्रिय) रूपमा मुक्ति पाउनेछ भन्ने कुरा (पद २६) यस जातिसित परमेश्वरले गर्नुभएको एउटा विशेष करार (वाचा) द्वारा पक्का गरिएको कुरा थियो। उक्त करार (वाचा) मा एउटा प्रबन्ध के गरिएको थियो भने इस्राएलका पापहरू हटाइनेछन्। कुनचाहिँ करार (वाचा) थियो यो? स्पष्टै रूपमा यो त नयाँ करार(वाचा) हो जसको बारेमा हामी यर्मिया ३१:३१-३४ मा पढ्छौं (पद ३४ को अन्ततिर पढ्नुहोस् जहाँ एउटा उल्लेखनीय प्रतिज्ञा गरिएको छ, “म तिनीहरूको अधर्म क्षमा गर्नेछु, र तिनीहरूको पाप म फेरि कहिल्यै सम्झनेछैनँ।” पद २७ मा “तिनीहरूसित” र “तिनीहरूका” ले पद २६ को “इस्राएल” र “याकूब” लाई जनाउँछ। यर्मिया ३१:३१ ले छर्लङ्गै देखाउँछ कि नयाँ करारचाहिँ इस्राएल र यहूदाका दुवै घरानासित बाँधिएको करार हो (तसर्थ यसले सम्पूर्ण इस्राएल जातिलाई समेट्छ)। यस पदले नयाँ नियमको तर्फबाट यो प्रमाण दिन्छ कि परमेश्वरले आफ्ना नयाँ करारका प्रतिज्ञाहरू भविष्यमा इस्राएल जातिसित पूरा गर्नुहुनेछ।

टिप्पणी: धेरैजानले यस्तो सिकाउँछन् कि इस्राएल जातिसित परमेश्वरको अब कुनै सरोकार छैन र परमेश्वरले आफ्नो नयाँ करारका प्रतिज्ञाहरू यस जातिसित पूरा गर्नुहुनेछैन। उनीहरू सिकाउँछन् कि मण्डली नै “परमेश्वरको साँचो इस्राएल” हो र नयाँ करारका प्रतिज्ञाहरू मण्डलीमा पूरा हुँदैछन् जुन कुरा पुष्टि गर्न उनीहरू मत्ती २६:२८; २ कोरिन्थी ३:१-८ र हिब्रू ८:६-१३; १०:१६-१७ जस्ता खण्डहरू प्रस्तुत गर्छन्। यस युगका विश्वासीहरू नयाँ करारका आत्मिक आशिषहरूको भागीदार हुन्छन् भन्ने कुरा सत्य हो (माथि उल्लेखित खण्डहरू हेर्नुहोस्), इस्राएलमा डाहा पैदा गर्न (रोमी ११:११ अन्तर्गतको टिप्पणी हेर्नुहोस्), तरैपनि यो पनि सत्य हो कि इस्राएलले उसलाई प्रतिज्ञा गरिएका नयाँ करारका आशिषहरू सबै प्राप्त गर्नेछ जब ख्रीष्ट फर्कनुहुनेछ, जसरी रोमी ११:२६-२७ मा सिकाइएको छ। भन्नुपर्दा, पद २८-२९ ले परमेश्वरले यी प्रतिज्ञाहरू इस्राएललाई पूरा गर्न विफल हुनु असम्भव कुरा हो भनेर देखाउँछन्। इस्राएल परमेश्वरको सामु एक जाति हुन छोड्नु हो भने त्यसभन्दा पहिले के कस्तो कुरा हुनु आवश्यक छ भनेर परमेश्वरले यर्मियाद्वारा भन्नुभएको कुरालाई ध्यानपूर्वक विचार गर्नुहोस् — यर्मिया ३१:३५-३७ र यर्मिया ३३:१९-२६। यहूदी-विरोधी (anti-Semetic) हरूलाई यो निकै ठूलो चुनौती हो! इस्राएललाई निमिट्ट्यान्न पार्न चाहनेहरूलाई परमेश्वरबाटको यो रोचक चुनौती हो!

रोमी ११:२८

सुसमाचारको सम्बन्धमा, यहूदीहरू शत्रुहरू हुन्; चुनाउको सम्बन्धमा, यहूदीहरू परमेश्वरद्वारा चुनिएका हुन् र उहाँका अपरिवर्तनीय प्रतिज्ञाहरूका पात्र हुन् जुन प्रतिज्ञाहरू उहाँले अब्राहाम, इसाहक र याकूबसित गर्नुभयो। सुरुको मण्डलीका दिनहरूमा (जस्तो प्रेरितको पुस्तकमा देख्न सकिन्छ) सुसमाचार प्रचारमाथि सबभन्दा ठूलो विरोध आएको भनेको विश्वास नगर्ने यहूदीहरूबाट थियो। यो कुरा सायद सबभन्दा प्रस्टसित १ थेस्सलोनिकी २:१४-१६ मा देख्न सकिन्छ (यी ज्यादै कडा शब्द हुन्, तर याद गर्नुहोस् यी शब्द तिनै प्रेरितद्वारा लेखिएका हुन् जसले रोमी ९:१-४ र १०:१ लेखे)। कुनै-कुनै यहूदीहरूको अविश्वास र वैरभावले आफूले चुन्नुभएको जातिसित गर्नुभएको परमेश्वरको प्रतिज्ञालाई अदल-बदल गर्दैन (व्यवस्था ७:६-८ र व्यवस्था १०:१५ हेर्नुहोस्)। यहूदीहरूप्रति आज हाम्रो मनोभाव कस्तो हुनुपर्छ भन्ने कुरा देखाउनलाई रोमी ११:२८ ले हामीलाई धेरै मदत गर्दछ। एकातिर हामीले उनीहरूले गरेको भूललाई न्यूनीकरण गर्न वा ढाकछोप गर्न सक्दैनौं। हामी यति साह्रो “इस्राएल-पक्षी” हुनुहुन्न कि उनीहरूले कुनै भूल गर्दैनन् जस्तो गरी हामी बहाना गरौं। परमेश्वरले यस जातिबाट अभक्ति हटाउनुभएको छैन (पद २६ हेर्नुहोस्) र यहूदी जनहरूद्वारा थुप्रै नै अभक्तिका क्रियाकलापहरू भएका छन्। अर्कोतिर, परमेश्वरको योजना र कार्यक्रममा यस जातिको ज्यादै विशेष स्थान छ भन्ने कुरा हामी बिसर्नु हुँदैन, अनि उत्सुकतासाथ हामी यस जातिलाई परमेश्वरले आफ्ना सबै प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भन्ने कुरा जानेर त्यसको बाटो हेर्नुपर्छ। मोशा र बालामका दिनहरूमा इस्राएल जातिलाई श्राप दिने त्यहाँ प्रयास गरिएको थियो, तर जहाँ परमेश्वरले आशिष दिनुभएको छ, मान्छेले श्राप दिन सक्दैन (गन्ती २३:२० हेर्नुहोस्) किनभने परमेश्वरले जे जति बोल्नुभएको छ र प्रतिज्ञा गर्नुभएको छ उहाँले ती कुरा पूरा गर्नुहुन्छ नै (गन्ती २३:१९ हेर्नुहोस्)!

रोमी ११:२९

कारण यहाँ छ, किन इस्राएल परमेश्वरको सामु प्रिय जाति रहिरहेको छ! “किनकि परमेश्वरका अनुग्रहका दानहरू र बोलावट नउल्टिने हुन्छन्।” परमेश्वरले आफ्नो मन बदल्नुहुनेछैन र उहाँले इस्राएलको निम्ति आफ्नो भविष्यको योजना र कार्यक्रम बदल्नुहुनेछैन। यस जाति प्रति परमेश्वरको वचनबद्धता (commitment) अटल र रद्द गर्न नसकिने (irrevocable) छ, (त्यो यस्तो छ कि परमेश्वरले त्यो कुरा फिर्ता लिनुहुनेछैन!)। परमेश्वरले आफ्नो मन बदल्नुहुनेछैन! परमेश्वरले आफ्नो वचन अर्थात् अब्राहाम, इसाहक र याकूबलाई दिनुभएका प्रतिज्ञाहरू बदल्नुहुनेछैन। परमेश्वरले यस जातिलाई आफ्नो वचन (वचनबद्धता) दिनुभएको छ र उहाँले त्यसलाई तोड्नुहुनेछैन।

रोमी ११:३०-३२

यस पदमा अन्यजातिहरूको विषयमा चर्चा गरिँदैछ (“तिमीहरू” = अन्यजातिहरू) र यसपछिको पदमा यहूदीहरूको चर्चा गरिँदैछ (“तिनीहरूले” र “तिनीहरूले” (पद ३१) =  यहूदीहरू)। यी पदमा “विश्वास” भन्ने शब्द वास्तवमा “आज्ञापालन” भन्ने शब्द हो। जसरी न्यूवेलले भनेका छन्
हाम्रो अन्यजाति इतिहासलाई छोटकरीमा यसरी बयान गर्न सकिन्छ, “परमेश्वरप्रति अनाज्ञाकारी” तर हाम्रो वर्तमान ओहोदालाई यसरी बयान गर्न सकिन्छ, “कृपा पाएको”।
परमेश्वर दयनीय र नालायकहरूप्रति कृपालु हुन रूचाउनुहुन्छ! पद ३१ मा हामी सिक्छौं कि आज यहूदीहरू अनाज्ञाकारी र अविश्वासी छन्, तर भविष्यमा उनीहरूले पनि कृपा पाउनेछन्। इस्राएलको अविश्वासद्वारा अन्यजातिहरूले अहिले कृपा पाउँछन् (पद ३०); परमेश्वरको कृपा अन्यजातिहरूलाई देखाइएकोले एकदिन इस्राएलले कृपा पाउनेछन् (पद ३१)। रोमी ११:११ पनि हेर्नुहोस् जहाँ हामी यही सत्यता पाउँछौं (इस्राएल लोट्छन् ताकि मुक्ति अन्यजातिहरूलाई आओस्; अन्यजातिहरूले इस्राएलमा डाहा पैदा गर्दछ ताकि इस्राएलले मुक्ति पाउन सकोस्!)। केवल उहाँको क्रोध मात्र पाउन लायकहरूमाथि परमेश्वरको कृपा पोख्याइन्छ (पद ३२)!

रोमी ११:३३-३६

पावलले यहाँ एउटा प्रशंसाको उद्गारसहित यस खण्डलाई अन्त गर्छन्, परमेश्वरको खोजेर नसकिने बुद्धिको कारण उनी उल्लसित भई परमेश्वरलाई स्तुति चढाउँछन्। रोमी ९:१९-२० मा परमेश्वरसित सवाल-जवाफ गर्ने व्यक्तिसित पावलका शब्दलाई दाँज्दा त्यहाँ ठूलो अन्तर देखिन्छ। हृदयको नम्रतामा पावल परमेश्वरको उपासना गर्छन्, यो स्वीकार गर्दै कि त्यहाँ परमेश्वरको बारेमा र परमेश्वरका मार्गहरूको बारेमा धेरै कुरा छन् जो उनी बुझ्दैनन्, तरैपनि यो उनी पूर्ण निश्चयतामा जान्दछन् कि परमेश्वरले जो सिद्ध रूपमा बुद्धिमानी छ र सर्वोत्तम छ त्यो मात्र गर्नुहुन्छ। परमेश्वरलाई मानवीय सल्लाहकारहरूको आवश्यकता पर्दैन! बरु हामी उहाँको सामु झुक्नुपर्छ र उहाँको सल्लाहको अधीनतामा आफूलाई सुम्पनुपर्छ! परमेश्वर महान् शिक्षक हुनुहुन्छ। हामी उहाँलाई सिकाउँदैनौं, तर उहाँले हामीलाई सिकाउनुहुन्छ (पद ३४)। परमेश्वर नै महान् दाता हुनुहुन्छ। हामीसँग के छ र जो हामीले उहाँबाट पाएनौं? (१ कोरिन्थी ४:७ सित दाँज्नुहोस्)। परमेश्वर हामीप्रति ऋणी हुनुहुन्न, हामी उहाँप्रति ऋणी छौं!

अन्तिम पद (पद ३६) मा हामी देख्छौं पावलको सोचाइ र परमेश्वर सम्बन्धी उसको ज्ञान कति परमेश्वर-केन्द्रित थियो (तुलनामा आजका थुप्रै मानवीय, मानव-केन्द्रित दृष्टिकोण र तरिकाहरू पावलका भन्दा धेरै भिन्न छन्):

“उहाँबाट” — परमेश्वर सबै कुराका श्रोत हुनुहुन्छ। उहाँ सबै कुराका सुरु हुनुहुन्छ। सबै कुरा उहाँबाटै आउँछन्। सबै कुराको थालनी उहाँबाटै हुन्छ। उहाँ अल्फा (ग्रीक वर्णमालाको पहिलो अक्षर), सुरु हुनुहुन्छ!
“उहाँद्वारा” — सबै कुरा परमेश्वरबाट भएरै जान्छन्। उहाँ सबै कुराका माध्यम हुनुहुन्छ। उहाँ सबै कुरासित पूरै संलग्न वा सरिक हुनुहुन्छ। कुनै पनि कुरा उहाँको योजना र मनसायभन्दा बाहिर पर्न सक्दैन। सबै कुराको प्रवाह उहाँद्वारै हुनुपर्छ र उहाँबिना कुनै पनि कुरा गरिनु सम्भव छैन।
“उहाँकै निम्ति” — सबै कुराको लक्ष्य उहाँ हुनुहुन्छ। सबै कुरा परमेश्वरमा टुङ्गिनुपर्छ। उहाँ नै सबै कुराको अन्तिम उद्देश्य र लक्ष्य हुनुहुन्छ। उहाँ अल्फा मात्र हुनुहुन्न, उहाँ ओमेगा पनि हुनुहुन्छ; उहाँ सुरु मात्र हुनुहुन्न, उहाँ अन्त पनि हुनुहुन्छ! उहाँ प्रथम मात्र हुनुहुन्न, उहाँ अन्तिम पनि हुनुहुन्छ! यसो भन्नु बाहेक हामी अरू के भन्न सक्छौं र — “उहाँलाई नै सदासर्वदा महिमा होस्! आमेन!” (पद ३६)


पृष्ठ संशोधन मिति: Wednesday 17-Jun-15
WordofTruth.com.np © 2017