रोमी ११:२-१५

यस पृष्ठलाई छाप्नुहोस्

रोमी ११:२-३

पद १ मा उठाइएको प्रश्नको यहाँपावलले स्पष्ट जवाफ दिन्छन्: “परमेश्वरले आफ्ना जनहरूलाई, जसलाई उहाँले पहिले जान्नुभएको थियो, त्याग्नुभएको छैन।” परमेश्वरले आफ्नो प्रेम यी मानिसहरूमाथि राख्नुभएको थियो र तिनीहरूलाई आफ्नो निज प्रजा भनेर स्वीकार्नुभएको थियो (रोमी ८:२९ अन्तर्गत “पूर्वज्ञान” को मानेको चर्चा हेर्नुहोस्)। के उहाँ अब उनीहरूलाई परित्याग गर्नेवाला हुनुहुन्थ्यो त? कदापि हुनुहुन्नथ्यो! “एलियाको विषयमा पवित्रशास्त्रले के भन्दछ, के तिमीहरूलाई थाह छैन?” पुरानो नियमबाट यसको पृष्ठभूमि बुझ्नलाई १ राजा १९ अध्याय पढ्नुहोस् (विशेष गरी पद १०,१४,१८)। जब एलियाले भने, “तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारेका छन्, तपाईंका वेदीहरूलाई भत्काएका छन्…” उनले इस्राएलका सन्तानको कुरा गर्दैथिए (१ राजा १९:१०)। ती दिनहरू इस्राएलको इतिहासमा अन्धकारमय दिनहरू थिए (उत्तरी राज्य)। राजा आहाब र तिनकी दुष्ट, मूर्तिपूजक पत्नी इजेबेलले मानिसहरूलाई यहोवाको साँचो उपासनादेखि भड्काएर बाल (कनानीहरूको उर्वरा देवता) देउताको झूटा उपासनातिर लग्दैथिए। त्यो समय भनेको सबै इस्राएलीहरूकै सत्यत्यागको भयङ्कर घडी थियो। एलियालाई आफू मात्र एक्लै खडा रहिरहेको छु भन्ने लागेको थियो। सत्य परमेश्वर यहोवालाई आदर गर्नमा आफू एक्लै मात्र बाँकी रहेको उसलाई लागिरहेको थियो। उनी एकजना बाहेक सबैजना बाल देवताका पूजकहरू बनेको देखिन्थ्यो। तर यस कुरामा एलिया भूलमा परेका थिए अनि परमेश्वरले उनलाई सच्च्याउनुपरेको थियो।

रोमी ११:४

एलियालाई परमेश्वरको जवाफ यहाँ पाइन्छ र साथै १ राजा १९:१८ मा। “मैले मेरा निम्ति सात हजार मानिसहरूलाई जोगाइराखेको छु”। परमेश्वरसित इस्राएलीहरूको एउटा बाँकी रहेको भाग थियो, सङ्ख्यामा ७०००, जसले बाललाई घुँडा टेकेका थिएनन्, बरु तिनीहरू यहोवाप्रति बफादार रहेका थिए। अधिकांश इस्राएलीहरू परमप्रभुबाट हटेर गएका थिए र इजेबेलको देवतालाई पछ्याउने दुष्कर्म गरेका थिए, तर त्यसो नगरेका त्यहाँ ७००० को अल्पसङ्ख्यक समूह थियो। तर उनीहरू “मौन अल्पसङ्ख्यक” थिए भन्ने देखिन्छ किनकि तिनीहरू छन् भनेर एलियालाई थाह समेत थिएन, तर तिनीहरू को-को हुन्, कता छन्, र कतिजना छन् भनी परमेश्वर जान्नुहुन्थ्यो। “परमप्रभुले आफ्नाहरूलाई चिन्नुहुन्छ” (२ तिमोथी २:१९)।

रोमी ११:५

जुन कुरा एलियाको समयमा साँचो थियो, त्यो प्रेरित पावलको समयमा पनि साँचो थियो। एलियाको समयमा त्यहाँ ७००० इस्राएलीहरू थिए जसले यहोवालाई इन्कार गरेका थिएनन्। पावलका दिनहरूमा पनि त्यहाँ हजारौं इस्राएलीहरू थिए जसले प्रभु येशू ख्रीष्टलाई इन्कार गरेका थिएनन् तर जसले उहाँमाथि विश्वास गरेका थिए। कतिजना थिए भनेर परमेश्वरले हामीलाई बताउनुभएको त छैन तर पावलले यी शब्दहरू रोमीहरूलाई लेख्ने बेलातिर ख्रीष्टमाथि विश्वास गर्ने त्यहाँ ७००० भन्दा बढी यहूदीहरू थिए भनेर हामीले राम्रै अनुमान लाउन सक्छौं (प्रेरित २:४१ र ४:४ मा हेर्नुहोस्)। अधिकांश यहूदीहरूले ख्रीष्टमाथि विश्वास गरेनन् तर अल्पसङ्ख्यक (बाँकी रहेको भाग) ले गरे, अनि प्रेरित पावल त्यस विश्वास गर्ने बाँकी रहेको भागको एक अंश थिए (रोमी ११:१), साथै यहून्ना, पत्रुस, मत्ती र हजारौं अरू यहूदीहरू थिए जसले ख्रीष्टमाथि भरोसा राखेका थिए। बाँकी रहेको यस भागलाई “अनुग्रहको चुनाउअनुसार बाँकी रहेको भाग” भनिएको छ। यी यहूदीहरूले ख्रीष्टमाथि विश्वास गरेका थिए (मानिसको तर्फबाट हेर्दा) र तिनीहरू परमेश्वरबाट चुनिएका थिए (परमेश्वरको तर्फबाट हेर्दा), “(तिनीहरूका) कामहरूअनुसार होइन, तर उहाँकै आफ्नो मनसाय र…अनुग्रहअनुसार” (२ तिमोथी १:९)। “छ” भनेर अनुवाद गरिएको ग्रीक क्रियापद पूर्णकालिक क्रियापद हो, त्यसैले यसको माने “अनुग्रहको चुनाउअनुसार बाँकी रहेको भाग रहँदै आएको छ र अहिले पनि छ।” पावलका दिनहरूमा, सबै यहूदीहरू बाँचेका थिएनन्। त्यो त परै जाओस्! बाँकी रहेको भाग मात्र बाँचेको थियो (रोमी ९:२७ हेर्नुहोस्)। विश्वास गर्ने त्यो बाँकी रहेको भागको निम्ति परमेश्वरलाई धन्यवाद होस्! तिनीहरूले उहाँको पुत्रलाई क्रूसमा टँगाएपछि पनि यहूदीहरूसित गर्नुभएको परमेश्वरको अनुग्रही व्यवहारका निम्ति उहाँलाई धन्यवाद होस्! टार्ससका शाउलले परमेश्वरको मण्डलीलाई बेजोडसँग सताएपछि पनि परमेश्वरले उनीसित गर्नुभएको अनुग्रहको व्यवहारका निम्ति उहाँलाई धन्यवाद होस्! आफ्नो जातिलाई त्याग्नुको सट्टा परमेश्वरले अनुग्रहमा निहुरिनुभयो र एउटा बाँकी रहेको भागलाई बचाउनुभयो! “उहाँको अनुग्रहको महिमाको प्रशंसाको निम्ति” (एफेसी १:६)। अझ उहाँको अनुग्रहमा सुसमाचार “पहिले यहूदीहरूलाई” (रोमी १:१६) सुनाइयोस् भनेर परमेश्वरले आदेश दिनुभयो (रोमी १:१६)।

रोमी ११:५ (क्रमशः)

“वर्तमान समयमा” भन्ने अभिव्यक्तिलाई ध्यानपूर्वक ख्याल गर्नुहोस्। अहिले, “वर्तमान समयमा”, परमेश्वरको उद्देश्य र योजना के हो भनेर हामीले बुझ्नु एकदम महत्त्वपूर्ण कुरा हो। धेरैजनाले आफ्ना आँखाहरू आज संसारमा भइरहेका घटनामाथि लगाउँछन् र एकदम दिकदार र निराश हुन्छन्, र भयभीत पनि बन्छन् किनभने यस वर्तमान युगको निम्ति रहेको परमेश्वरको उद्देश्य र योजनालाई उनीहरू बुझ्न सकिरहेका हुँदैनन्।

आज संसारमा परमेश्वर के गर्दै हुनुहुन्छ?

१) प्रेरित १५:१४ (सन्दर्भ: सुसमाचार अन्यजातिहरूकहाँ जान थालेको थियो र यस कुरालेधेरैजना यहूदीहरूलाई चिन्तित बनायो जसले परमेश्वर के गर्दै हुनुहुन्छ भन्ने कुरा बुझिरहेका थिएनन्)। संसारमा आज परमेश्वर के गर्दै हुनुहुन्छ? उहाँ अन्यजातिहरूलाई भेट गर्दै हुनुहुन्छ उनीहरूमध्येबाट आफ्नो नामको निम्ति एउटा जाति निकाल्नलाई (“उहाँको नामको निम्ति” = उहाँको व्यक्तित्वको महानता देखाउन, र विशेष गरी, उहाँको अनुग्रहको महानता देखाउनका निम्ति। हेर्नुहोस् एफेसी २:७ मा जहाँ हामी सिक्छौं कि मण्डली परमेश्वरको अतुलनीय अनुग्रहलाई अनन्तसम्म देखाउने भाँडो हो)।

२) मत्ती १६:१८ (ख्रीष्टले भविष्यमा के गर्नुहुनेछ भन्ने कुराको भविष्यवाणी थियो यो, जुनचाहिँ पेन्टेकोस्टको दिनमा सुरु भयो, प्रेरित अध्याय २)। संसारमा आज परमेश्वर के गर्दै हुनुहुन्छ? उहाँले आफ्नो मण्डली निर्माण गर्दै हुनुहुन्छ। मण्डली भनेर अनुवाद गरिएको ग्रीक शब्द एकलेसिया हो अनि यसले परमेश्वरको बाहिर बोलाइएको सभालाई जनाउँछ। परमेश्वरले जातिहरूलाई भेट गर्दै हुनुहुन्छ र उनीहरूबाट आफ्नो नामको निम्ति एउटा जाति निकाल्दै हुनुहुन्छ (प्रेरित १५:१४)। को हुन् यी मानिसहरू? तिनीहरू परमेश्वरका बाहिर-बोलाइएकाहरू हुन्, उहाँको मण्डली!

३) १ कोरिन्थी १२:१३ (यस पदले मानिसहरू कसरी मण्डलीका अङ्ग-अङ्ग बन्दछन् भन्ने कुराको बयान गर्दछ, जुन मण्डलीचाहिँ ख्रीष्टको शरीर हो)। संसारमा आज परमेश्वर के गर्दै हुनुहुन्छ? उहाँले मानिसहरू (विश्वासी गर्नेहरू) लाई ख्रीष्टको शरीरभित्र बप्तिस्मा (गाभ्ने काम) गर्दै हुनुहुन्छ, र यसरी उनीहरूलाई परमेश्वरको अद्वित्तीय र विशेष संरचनाका अङ्गहरू बनाउँदै हुनुहुन्छ।

४) प्रेरित २:४७ संसारमा आज परमेश्वर के गर्दै हुनुहुन्छ? उहाँले मण्डलीमा दिनहुँ मुक्ति पाउनेहरूलाई थप्दै हुनुहुन्छ। स्मरण होस्, उहाँले व्यक्तिहरूलाई बचाउँदै हुनुहुन्छ, संसारलाई होइन। शैतानको नेतृत्वमुनिको संसार दोषी ठहरिएको छ र विनाशको निम्ति नियुक्त गरिएको छ। परमेश्वरले अनुग्रहमा यस संसारको प्रणालीबाट बचाउनुहुन्छ (यूहन्ना १५:१९; १७:१४)। दृष्टान्त: टाइटानिक जहाजको विचार गर्नुहोस् जब त्यो डुब्दै थियो। त्यहाँ व्यक्ति-व्यक्तिलाई बचाउने प्रयास गरियो जोहरू कि त साना डुङ्गाहरूमा चढाइएका थिए कि त बरफजस्तो पानीमा तैरँदै थिए, तर डुब्दै गरेको जहाजलाई नै बचाउने कुनै प्रयास गरिएन। परमेश्वरको योजना संसारलाई बचाउनु होइन (त्यो डुब्दैछ — १ यूहन्ना २:१७)। परमेश्वरको उद्देश्य संसारलाई इसाईकरण गर्नु होइन ताकि संसारका सरकारहरू, व्यापार-धन्दाहरू, स्कूलहरू र घर-परिवारहरू बाइबलीय सिद्धान्तबमोजिम सञ्चालित होस्। होइन, परमेश्वरको उद्देश्य आफ्नो मण्डलीमा दिनहुँ मुक्ति पाएकाहरूलाई थप्नु हो। परमेश्वरले हामीलाई माछा समात्नु भन्नुभयो, माछाको भाँडो सफा गर्नु होइन।

५) रोमी ११:२५ (यस पदलाई अझ विस्तृत रूपमा पछि चर्चा गर्नेछौं जब हामी त्यस खण्डमा पुग्छौं)। संसारमा आज परमेश्वरले के गर्दै हुनुहुन्छ? उहाँले अन्यजातिहरूको बीचमा एउटा विशेष काम गर्दै हुनुहुन्छ तबसम्म जब पूर्ण सङ्ख्या भित्र आइपुग्दैन। मण्डली निर्माण हुँदै जाने क्रममा (मत्ती १६:१८), परमेश्वरले दिनहुँ आफ्नो मण्डलीमा अरूअरू व्यक्तिहरू थप्दै हुनुहुन्छ (प्रेरित २:४७)। एउटा दिन आउँदैछ जब भवनको निर्माण कार्य समाप्तहुनेछ जब त्यसमा हुनुपर्ने अन्तिम व्यक्ति बचाइनेछ र ख्रीष्टको शरीरमा अङ्गको रूपमा गाभिनेछ। त्यसबेला ख्रीष्ट आफ्ना विश्वासी जनहरूलाई आफूकहाँ लिनलाई फर्कनुहुनेछ जुन घटनालाई ‘र्याप्चर’ भन्ने गरिन्छ (यूहन्ना १४:२-३; १ थेस्सलोनिकी ४:१३-१८; १ कोरिन्थी १५:५१-५२; तीतस २:१३; फिलिप्पी ३:२०-२१; आदि)।

रोमी ११:६

अनुग्रह र कामहरू दुई सिद्धान्तहरू हुन् जो आपसमा बिलकुलै विपरीत छन्। तिनीहरू एक अर्काको उल्टो छन्। जहाँ अनुग्रह छ त्यहाँ कामहरूका लागि ठाउँ हुँदैन। जहाँ कामहरू छन् त्यहाँ अनग्रहको लागि ठाउँ हुँदैन। मुक्तिचाहिँ अनुग्रह रकाम दुईटै मिसाइएरआउने परिणाम हुन सक्दैन। कि त्यो पूरै कामहरूबाट हुनुपर्छ (अर्थात् मानिसले आफ्नोजीवन बिताउने तरिकाबाट कमाइएको मुक्ति) कि त त्यो पूरै अनुग्रहले हुनुपर्छ (अर्थात् नालायक मानिसलाई परमेश्वरले दिनुभएर पाएको मुक्ति)।

अनुग्रह भन्नाले परमेश्वरले पापीलाई सित्तैंको दानको रूपमा दिनुहुने कुरा बुझिन्छ जुनचाहिँ उहाँले विश्वास गर्ने पापीलाई दिनुहुन्छ जो पाउन ऊ लायक छैन र जो उसले कमाएको होइन। परमेश्वरको यस्तो व्यवहार चाहिँ क्रूसमा सम्पन्न गरिएको परमेश्वरकै काममा आधारित हुन्छ (रोमी ३:२४)। कामहरू भन्नालेएक व्यक्तिले गर्ने ती प्रयासहरू बुझिन्छ जोचाहिँ उसले परमेश्वरको स्याबासी र परमेश्वरको आशिष कमाउनलाई गर्दछ। यी कामहरू मान्छेको आफ्नै प्रयासमा आधारित हुन्छन्, स्वर्ग पुग्नकानिम्ति गरिने मान्छेका कमजोर प्रयासहरूमा आधारित। दाँज्नुहोस् रोमी ४:४-५ र गलाती २:१६। रोमी ४:४ ले कामहरूको उल्लेख गरेको छ जससँग ज्याला जोडिन्छ जुन चाहिँ कामगर्ने व्यक्तिलाई दिइनुपर्छ। पापी मानिसहरूले “ज्याला” पाउने दिनमा आफूले गरेका कामहरू र बिताएका जीवनहरू आधारमा कुनै पनि असल थोक पाउने प्रतीक्षा गर्न सक्दैनन् किनकि तिनीहरूले आफ्नो निम्ति कमाएको एउटै कुरा भनेको मृत्यु हो (रोमी ६:२३)। रोमी ४:५ ले “अनुग्रह” को उल्लेख गर्दछ र यससित भनेसित्तैंको वरदानको रूपमा दिइने सिद्ध धार्मिकता जोडिन्छ जुन वरदान चाहिँ क्रूसमा ख्रीष्टले पूरा गरिसक्नुभएको काममा आधारित कुरा हो।

दाँज्नुहोस् एफेसी २:५-९

अनुग्रह (पद ५,७,८) र परमेश्वरको सित्तैको दान (पद ८)। मुक्ति अनुग्रहद्वारा पाइने भएकोले, मुक्ति कामहरू बिना हो (पद ९)। पद १० मा बेग्लै किसिमका कामहरूको उल्लेख छ (यी चाहिँ मुक्ति नपाएको व्यक्तिले मुक्ति कमाउनलाई गर्ने कामहरू नभएर, मुक्ति पाएको व्यक्तिले उसले मुक्ति पाएको हुनाले गर्ने कामहरू हुन्, अनि यी चाहिँ विश्वासीभित्र परमेश्वरले गर्नुहुने काममा आधारित कामहरू हुन् - फिलिप्पी २:१२-१३)।

तीतस ३:३-८

अनुग्रह (पद ७) मा दिइएको जोडलाई ध्यान दिनुहोस् जसलाई पूरै नालायक मानिसप्रतिको परमेश्वरको दया र प्रेम भनेर परिभाषित गरिएको छ (पद ३-४)। मुक्ति अनुग्रहद्वारा भएकोले, मुक्ति कामहरू बिना हो (पद ५)। पद ८ मा बेग्ले किसिमका कामहरूको उल्लेख भएको कुरालाई ध्यान दिनुहोस् (यी कामहरू विश्वासीहरूद्वारा गरिने काम हुन् जो चाहिँ विश्वासीभित्र हुनुहुनेस्वयं परमेश्वरकै जीवनका फल हुन् — मत्ती ७:१८; याकूब २:१४-२६)।

भजन लेखकले भन्छन्, “ईश्वरको अनुग्रह हेरी, ऋणी आफूलाई ठान्छु!” परमेश्वरको अनुग्रहका केही धनहरूलाई विचार गर्नुहोस्:

अनुग्रहले हामी चुनियौं (रोमी ११:५ “अनुग्रहको चुनाउ”)।
अनुग्रहले हामीले मुक्ति पायौं (एफेसी २:५,८; प्रेरित १५:११)।
अनुग्रहले हामी धर्मी ठहरियौं (तीतस ३:७)।
अनुग्रहले हामीले छुटकारा र क्षमा पायौं (२ कोरिन्थी ८:९)
अनुग्रहले हाम्रा सबै खाँचोहरू पूरा हुन्छन् (२ कोरिन्थी ९:८; हिब्रू ४:१६)
अनुग्रहले हामी कठीन परीक्षाहरू सहन्छौं (२ कोरिन्थी १२:९)।
अनुग्रहले हामी अनन्त सान्त्वना र आशा पाउँछौं (२ थेस्स २:१६)
अनुग्रहले हामी प्रार्थनामा परमेश्वरकहाँ आउँछौं (हिब्रू ४:१६)
अनुग्रहले हामी हाम्रा ख्रीष्टिय जीवनहरूमाशिक्षा पाउँछौं र चेलापनमा हुर्काइन्छौं (तीतस २:११-१२)।
साथै परमेश्वरको अनुग्रहले हामी ख्रीष्टमा विश्वास गरेका हौं (प्रेरित १८:२७)।

पावलले यसलाई संक्षेपमा यसरी बताए: “म जे छु, परमेश्वरको अनुग्रहद्वारा नै छु” (१ कोरिन्थी १५:१०)। परमेश्वरको अनुग्रह भन्नाले ती सबै कुरा पर्छन् जो पाउन नालायक भएर पनि हामीलाई परमेश्वरले दिनुभएको छ!! परमेश्वरको कृपा भन्नाले ती सबै कुरा पर्छन् जो हाम्रा पापको कारणले हामीले पाउन लायक भएर पनि परमेश्वरले हामीलाई दिनुभएको छैन! हामी दिनहुँ परमेश्वरलाई उहाँको कृपा र अनुग्रहको निम्ति धन्यवाद दिएका होऔं!

रोमी ११:७

इस्राएल (का बहुसङ्ख्यक) ले आफूले खुरन्धार खोजेको कुरा पाएन तर चुनाउ (विश्वास गर्ने यहूदीहरूको सानो बाँकी रहेको भाग — अङ्ग्रेजीमा remnant,“रेम्नेन्ट”) ले पायो। पद ७ को “चुनाउ” ले पद ५ को “बाँकी रहेको भाग” लाई जनाइरहेको छ। यी शब्दावलीले ती यहूदीहरूलाई जनाउँदैछन् जसले यस वर्तमान मण्डली युगको समयमा आफ्नो भरोसा ख्रीष्टमा राखेका छन्। “बाँकी रहेका” ले अरू सबै इस्राएलीहरूलाई जनाउँछ जोहरू विश्वास गर्ने यहूदीहरूमध्येमा पर्दैनन्। पद ७ मा “बाँकी रहेका” र “इस्राएल” दुवैले इस्राएलीहरूको त्यो बहुसङ्ख्यक जमातलाई जनाउँदछ जसले ख्रीष्टमा विश्वास गरेनन्। रोमी ९:३१ र १०:३ पढ्नुहोस्। यहूदीहरूले परमेश्वरको धार्मिकता पाउन खोज्दैथिए, तर तिनीहरूले त्यसलाई बेठीक तरिकाले खोज्दैथिए, अर्थात् “व्यवस्थाका कामहरूद्वारा” (रोमी ९:३२)। बाँकी रहेको भागले चाहिँ केवल आफ्नो विश्वास ख्रीष्टमा राखेर त्यसलाई प्राप्त गरे; ख्रीष्ट विश्वास गर्ने हरेक जनका लागि धार्मिकताका निम्ति व्यवस्थाका अन्त हुनुहुन्छ (रोमी ९:३२; १०:४)। यी यहूदीहरूले मुक्ति पाएका थिए तर ख्रीष्टमाथि विश्वास नगरेका “बाँकी रहेका” यहूदीहरू चाहिँ अन्धापारिएका (वा कठोर पारिएका) थिए, जुन चाहिँ रोमी ११:२५ मा प्रयोग गरिएकै शब्द हो (सबै यहूदीहरू अन्धा छैनन् तर धेरैजसो चाहिँ छन्)। इस्राएलको अन्धापनालाई २ कोरिन्थी ३:१४-१६ मा थप बयान गरिएको छ र साथै २ कोरिन्थी ४:३-४ र १ कोरिन्थी १:१८, २३-२४ मा पनि हेर्नुहोस्। बाँकी चाहिँ न्यायिक रूपमा “अन्धा पारिए”। परमेश्वरको न्याय त्यस जातिमाथि आयो जुन जातिले पहिले आफ्ना आँखा बन्द गरे। मानिसले यदि “म चाहन्न” भन्छ भने त्यस्तो समय आउन सक्छ जब उसले भन्नेछ, “म सक्दिनँ” (Alva J. McClain, Romans, p. 198)।

रोमी ११:८-१०

“अन्धापना” वा “कठोर पारिनु” पुरानो नियम शास्त्रसम्मत कुरा थियो जसरी पावलले अब देखाउँछन्। उनले पहिले यशैयाको पुस्तकका दुईटा खण्डबाट उद्दरण गर्दछन् (यशैया २९:१० र ६:९)। “निद्राको आत्मा” को माने लठ्ठ हुनु, असंवेदी बन्नु, भावनारहित हुनु)। मसीहलाई कसैले चिन्नुपर्ने थियोत यहूदीहरूले चिन्नुपर्थ्यो, तर तिनीहरूले अविश्वासको कारण आफ्नो आत्मिक संवेदनशीलता हराए। पावलले तब भजनसङ्ग्रह ६९:२२-२३ बाट दाऊदलाई उद्दरण गर्दछन् (पद ९-१०)। यो एउटा मसीह सम्बन्धी भजन (Messianic Psalm) हो जसमा दुःख भोग्नुहुने मसीहको तस्वीर प्रदानगरिएको छ (पद २१ हेर्नुहोस् र दाँज्नुहोस् मत्ती २७:३४,३८; मर्कूस १५:२३; लूका २३:३६ र यूहन्ना १९:२९-३०)। यहूदी जातिले क्रूसीकृत जनलाई इन्कार गरे अनि यस कामको पूरै जिम्मेवारी उनीहरू आफैले लिए (मत्ती २७:२५)। यस जातिमाथि आइएरेको न्याय देखेर हामी छक्क पर्नुपर्दैन जुन न्याय अन्तर्गत उनीहरूको अन्धापना र हृदयको कठोरपना पनि पर्दछन्।

रोमी ११:११

“लोट्नु” = नष्ट हुने गरी लोट्नु, नउठ्ने गरी लोट्नु, उठ्न नसक्ने गरी लोट्नु। “ठेस खानु” = ठक्कर खानु। “लोटेका” भनेर अनुदित दोस्रो शब्द चाहिँ बेग्लै शब्द हो जसको माने “गलत पाइला, अपराध, पाप” (अविश्वासलाई जनाउँदै) भन्ने बुझिन्छ। यही शब्द रोमी ५:२० मा “अपराध” भनेर अनुवाद गरिएको छ। इस्राएल जातिले पाप गर्यो र लोट्यो र ख्रीष्टलाई इन्कार गर्यो, तर त्यो लोटाइ घातक थिएन। इस्राएल जाति फेरि उठ्नै नसक्ने आशाबिहीन रूपमा पतन भएको छैन। अझ राम्रो दिन आउँदैछ! यो जाति फेरि उठ्नेछ! जब ख्रीष्ट पहिलो पटक आउनुभयो इस्राएलले “उहाँलाई ग्रहण गरेन” (यूहन्ना १:१०-१२)। जब ख्रीष्ट दोस्रो पटक आउनुहुनेछ इस्राएल जातिले उहाँको पुनरागमनको ठीक अगाडि आफ्नो मसीहलाई धन्यको भन्नेछ (मत्ती २३:३९)। आज इस्राएल जाति अन्धा पारिएको छ र परमेश्वरले उनीहरूलाई निन्द्राको आत्मा दिनुभएको छ (रोमी ११:८)। भविष्यमा इस्राएल जातिलाई ‘देख्ने’ बनाइनेछ (जकरिया १२:१०) अनि परमेश्वरले आफ्नो जातिमाथि “अनुग्रह पाउने र निवेदनहरू चढाउने आत्मा” दिनुहुनेछ।” वर्तमान इन्कार पश्चात् भविष्यमा ग्रहण गर्ने काम हुनेछ। इस्राएलको वर्तमान इन्कार र लोटाइ इस्राएलको लागि श्राप हो तर अन्यजातिहरूको लागि आशिष हो किनकि “तिनीहरू लोटेको कारणले अन्यजातिहरूकहाँ मुक्ति आएको छ।” यस वर्तमान मण्डली युगमा, ख्रीष्टको शरीरका अधिकांश अङ्गहरू अन्यजातिहरू हुन् (यद्यपि हामी अपवादमा रहेका विश्वास गर्ने यहूदीहरूका लागि धन्यवादी छौं!)। परमेश्वरले अन्यजातिहरूलाई भेट्दै हुनुहुन्छ उनीहरूको बीचबाट आफ्नो नामको निम्ति एउटा जाति निकाल्नलाई (प्रेरित १५:१४)। यो कुरा यूहन्ना १:११-१२ ले दर्शाउँदछ (यहूदीहरूले ख्रीष्टलाई ग्रहण गरेनन्, त्यसैले परमेश्वरले उहाँको मुक्ति उहाँलाई ग्रहण गर्ने जोकोहीलाई प्रदान गर्नुहुन्छ!)। इस्राएलको लोटाइमा परमेश्वरको उद्देश्य छ: अन्यजातिहरूलाई मुक्ति ल्याउनु। अन्यजातिहरूलाई मुक्तिमा ल्याउनुमा परमेश्वरको उद्देश्य छ: इस्राएलमा डाहा पैदा गर्नु, इस्राएललाई डाही बनाउनु (रोमी १०:१९ र रोमी ११:१४ मा हेर्नुहोस्)। जब यहूदीहरूले मसीहलाई इन्कार गरे, परमेश्वरले आफ्नो मनमा अन्यजातिहरूको भलाइ सोच्दैहुनुहुन्थ्यो र उनीहरूकहाँ मुक्ति ल्याइयो (रोमी ११:११)। परमेश्वरले यस युगमा, अन्यजातिहरूसित व्यवहार गर्ने क्रममा यहूदीहरूलाई उनीहरूको भलाइको लागि सोच्दै हुनुहुन्छ, यस हिसाबले कि उहाँले अन्यजातिहरू मार्फत इस्राएलमा डाहा उत्पन्न गराउन चाहनुहुन्छ।

अन्यजातिहरूलाई प्रयोग गरीकन यहूदीहरूमा डाहा पैदा गराउने उद्देश्य रहेको कुरा पावलले तीन-तीन पटक उल्लेख गर्दछन् (रोमी १०:९; ११:११ र ११:१४ र दाँज्नुहोस् व्यवस्था ३२:२१)। जब कुनै व्यक्ति डाही बन्छ, उसले भन्छ, “तिमीसँग केही कुरा छ जो म चाहन्छु। तिमीसँग कुनै ज्यादै असल कुरा छ

जुन कुरा मसित छैन!” अब हामी तीमध्ये केही कुराहरूलाई विचार गरौं जुनचाहिँ बाँचेका अन्यजातिहरूसित अहिले छ जसले यहूदीहरूलाई डाही बनाउनुपर्ने हो। यी आशिषहरू चाहिँ यहूदी जातिसित हुनुपर्ने थियो तर तिनीहरूले अविश्वासको कारण तिनलाई गुमाए। यी आशिषहरू ख्रीष्टमा आज मण्डलीसित आज छ (जुनचाहिँ प्रायः अन्यजातिहरूले बनेको छ) र ती आशिषहरूमा मण्डली आज आनन्द मनाउँदछ। निम्न कुराहरूलाई विचार गर्नुहोस्:

रोमी ११:१२

इस्राएल “लोट्नु” चाहिँ “संसारको धन ठहरियो”“लोट्नु” शब्द पद ११ कै शब्द हो (“तिनीहरू लोटेका कारणले अन्यजातिहरूकहाँ मुक्ति आएको छ”)। अधिकांश इस्राएल जाति यस वर्तमान युगमा अविश्वासमा लोटेका छन्, तर संसारलाई फाइदा भएको छ! मुक्तिको सन्देश संसारभरि फैलिएर गएको छ (मर्कूस १६:५)। आत्मिक धनहरू सबै ठाउँमा सबै मानिसहरूलाई प्रदान गरिँदैछ ज-जसले ख्रीष्टमा केवल विश्वास गर्दछन्। संसारले कस्तो खाले “धन” प्राप्त गर्न सक्छ? रोमी २:४ — “परमेश्वरको कृपा, सहनशीलता र धीरजरूपी धन”; एफेसी १:७ — “परमेश्वरको अनुग्रहको धन” (एफेसी १:७); आदि। यसकै लागि ख्रीष्ट संसारमा आउनुभयो र क्रूसमा मर्नुभयो — ताकि हामी धनवान् बन्न सकौं (२ कोरिन्थी ८:९)!

“घट्ती” = घट्नु, कम हुनु, नोक्सानी हुनुको अवस्था। अविश्वासको कारण, इस्राएल घट्ने क्रममा छ (यो कुरा प्रेरितको पुस्तकमा दर्शाइएको छ जहाँ प्रेरित अध्याय २ मा त्यसबेला भर्खरै सुरु भएको मण्डली सबै यहूदीहरूले बनेको थियो तर प्रेरितको पुस्तकका घटनाक्रमसँगै यात्रा गर्दै जाँदा, मण्डलीमा यहूदीहरूको सङ्ख्या झन् झन् थोरै, झन् झन् थोरै हुँदै गएको र अन्यजातिहरूको सङ्ख्या झन् झन् धेरै हुँदै गएको पाउँछौं)। तर परमेश्वरको योजनामा इस्राएलको एउटा सुन्दर भविष्य छ। पावलले यहाँ इस्राएलको “पूर्णता” को चर्चा गर्छन्। यस वर्तमान मण्डली युगचाहिँ अन्यजातिहरूको पूर्णताको समय हो (रोमी ११:२५ हेर्नुहोस्), तर भविष्यको हजार वर्षीय राज्यको समयचाहिँ इस्राएलको पूर्णताको समय हुनेछ (रोमी ११:१२)। इस्राएल अहिले “लोटाइको चरण” मा छ तर एउटा दिन आउँदैछ जब इस्राएल “पूर्णताको चरण” मा पुर्याइनेछ। यदि इस्राएलको लोटाइले आत्मिक धन संसारतर्फ र अन्यजातिहरूतर्फ फैलिन्छ भने, इस्राएलको पूर्णताको समयमा झन् कति बढ्ता गरी संसार आशिषित हुनेछ (हजार वर्षीय राज्यको समयचाहिँ दुवै यहूदी र अन्यजातिको निम्ति आशिषको युग हुनेछ)। पावलले इस्राएलको पूर्णताको चर्चा गरेकोबाट यहूदीहरूको निम्ति एउटा सुन्दर भविष्य राखिएको छ भन्ने कुराको ठोस प्रमाण मिल्छ।

रोमी ११:१३-१४

पावल “अन्यजातिहरूको प्रेरित थिए”। रोमी १५:१६; प्रेरित ९:१५ र गलाती २:७-८ हेर्नुहोस्)। “सेवा” = सेवकाइ, काम; “बढाइ” = महिमित पार्नु। अन्यजातिहरूको बीचमा गरिएको पावलको प्रेमको सेवाचाहिँ यहूदीहरूलाई बेवास्ता गरीकन गरिएको सेवा थिएन। बरु, परमेश्वरले अन्यजातिहरूको बीचमा मुक्तिको आफ्नो महान् काम गर्ने क्रममा, पावल यो आशा गर्दै थिए कि यसले यहूदीहरूमा डाह पैदा गरोस् जसको फलस्वरूप उनीहरूमध्ये कतिले मुक्ति पाओस्। आफ्ना यहूदी दाजुभाइहरूको मुक्तिको निम्ति पावलको वास्ताचाहिँ यी अध्यायहरूभरि भेटिन्छन् (हेर्नुहोस् ९:१-४; १०:१)।

रोमी ११:१५

“अफालिनु” — यो चाहिँ पद १ को भन्दा बेग्लै शब्द हो। उनीहरूसित सम्बन्ध विच्छेद गर्ने अर्थमा र सदाका निम्ति परित्याग गर्ने अर्थमा परमेश्वरले यहूदीहरूलाई त्याग्नुभएको छैन (पद १)। उनीहरू अझै पनि उहाँका चुनिएका जनहरू हुन्, तर चुनिएको जातिका धेरैजसोले आफ्नो मसीहलाई इन्कार गर्न रोजेका छन्, र यसैले गर्दा परमेश्वरले उनीहरूलाई आफ्नो आशिषभित्र ग्रहण गर्न सक्नुहुन्न (र यस अर्थमा उनीहरू “अफालिएका” छन् जसरी पद १५ मा उल्लेख छ)। इस्राएलले गरेको ख्रीष्टको इन्कार पश्चात् परमेश्वरले मिलापको सन्देशसहित संसारतर्फ आफूलाई तन्काउनुभयो (यूहन्ना १:११-१२; र २ कोरिन्थी ५:१९-२१)। यो पद चाहिँ पद १२ सँग समानन्तर छ (इस्राएलको लोटाइचाहिँ इस्राएल अफालिएको तथ्यसँग समानन्तर छ; इस्राएलको पूर्णताचाहिँ इस्राएल ग्रहण गरिने तथ्यसँग समानन्तर छ; अनि दुवै पदहरूमा हामी देख्छौं कसरी इस्राएलको लोटाइ र पूर्णता दुवैबाट संसारलाई लाभ हुन्छ)। इस्राएलको निम्ति एउटा महिमित भविष्य साँचेर राखिएको छ जसको प्रतीक्षा उसले गर्न सक्छ। इस्राएल ग्रहण गरिनेछ! उनीहरू “अफालिनु” (पदको पहिलो भाग) केवल अस्थायी रूपमा मात्र हो, तर एउटा दिन आउँदैछ जब परमेश्वरले उनीहरूलाई ग्रहण गर्नुहुनेछ र उनीहरूले उहाँलाई ग्रहण गर्नेछन् (जकरिया १२:९-११; मत्ती २३:३७-३९)। यस वर्तमान युगमा, इस्राएल अफालिएको समयमा, संसारलाई मिलापमा ल्याइँदैछ। भविष्यको युगमा, इस्राएल ग्रहण गरिएको समयमा, संसारको मानो बौरिउठाइ (मृत्युबाट जीवन) नै हुनेछ। त्यो एउटा अर्कै नयाँ संसार जस्तो हुनेछ (हेर्नुहोस् यशैया ११:९)। पृथ्वीमा ख्रीष्टको राज्य स्थापनाले मानव क्रियाकलापको हरेक विभागमा व्यापक र आमूल परिवर्तनहरू ल्याउनेछ, त्यो यतिसम्म व्यापक हुनेछ कि यशैयाले त्यसको प्रभाव क्षेत्रलाई “नयाँ पृथ्वी” भनेर संज्ञा दिन्छन् (यशैया ६५:१७)। मानव जातिको हरेक खाँचोको पूर्वविचार गरिसकिएको हुनेछ र त्यसको लागि प्रबन्ध गरिएको हुनेछ। यसको परिणाममध्ये केही चाहिँ यस प्रकार हुनेछन्: सबै सैनिक युद्धहरू निमिट्यान्न पारिनेछन् (मीका ४:३); सिद्ध शासन व्यवस्था त्यहाँ हुनेछ (यशैया ३३:२२); शारीरिक रोगबिमार र अपाङ्गता लोप हुनेछन् (यशैया ३५:५-६; ३३:२४); जनावरहरूको प्रकृतिमा पनि परिवर्तन हुनेछ (यशैया ११:६-८); आदि।