Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

रोमी १२:१-२

यस पृष्ठलाई छाप्नुहोस्

अध्याय१२

परिचय

यस अध्यायबाट रोमीको पुस्तकको व्यावहारिक खण्ड सुरु हुन्छ। अहिलेसम्म रोमीको पुस्तकमा हामीले एकदम थोरै मात्र आज्ञाहरू भेटेका छौं (अध्याय ६ का केही आज्ञाहरू बाहेक — “थाह गर”, “ठान”, “सुम्प”, आदि)। अघिल्लो अध्यायहरूले हामीलाई हामीले के गर्नुपर्छ भन्ने कुरामा जोडदिँदैन, तर परमेश्वरले के गर्नुभएको छ भन्ने कुरामा। यस्तै ढाँचा एफेसीको पुस्तकमा पनि पाइन्छ। पहिलो तीन अध्यायहरूमा परमेश्वरले अनुग्रहमा जे गरिदिनुभएको छ त्यसलाई जोड दिइएको छ। पछिल्ला तीन अध्यायहरू व्यावहारिक छन् र तिनमा धेरैओटा आज्ञाहरू भेटिन्छन्। जुन कुरा परमेश्वरले अनुग्रहमा गर्नुभएको छ, त्यो नै ख्रीष्टिय व्यवहार र चालचलनको निम्ति साँचो आधार हो।

रोमी १२:१

“यसकारण” — यसले हामीलाई पावलले पहिलो ११ अध्यायहरूमा प्रस्तुत गरेको सबै कुरातर्फ औंल्याउँछ (दोषी, भक्तिहीन पापीको लागि परमेश्वरले गरिदिनुभएका ती सबै कुराहरूतर्फ!)।

“विन्ती” — पावल मानो हात जोड्दै विन्ती गर्दैछन्, आग्रह गर्दैछन् (एफेसी ४:१ मा उही शब्द छ)। व्यवस्थाले भन्छ, “म तिमीलाई आज्ञा गर्छु,” तर अनुग्रहले भन्छ, “म तिमीलाई विन्ती गर्छु।” व्यवस्थाको आज्ञापालन डरमा आधारित हुन्छ (निजले आज्ञापालन गर्छ किनकि आज्ञापालन नगर्दा भोग्‍नुपर्ने दण्डदेखि ऊ डराउँछ); सुसमाचारीय आज्ञापलान चाहिँ प्रेममा आधारित हुन्छ (२ कोरिन्थी ५:१४ — ख्रीष्टको प्रेमले मलाई विवश पार्दछ”)।

“परमेश्वरका कृपाहरूद्वारा” — यो रोमी ११:३०-३२ कै “कृपा” भन्ने शब्द त होइन, तर यसले पनि उस्तै भाव बोकेको छ। यसको माने हो, “दया, कृपा, सहानुभूति।” परमेश्वर हामीप्रति कति दयालु हुनुभयो र टिठाउनुभयो भन्ने कुरा सम्झँदा यसले हामीलाई भक्तिपूर्ण ख्रीष्टिय जीवन जिउनलाई ठूलो प्रेरणा दिनुपर्ने हो। परमेश्वर मप्रति यदि टिठाउनुभयो र यति कृपालु हुनुभएको छ भने, किन मैले मेरो जीवन र मेरो सर्वस्व उहाँको सेवाको लागि नदिऊँ? यदि परमेश्वरको पुत्र मेरो निम्ति मरिदिनुभएको हो भने, कसरी म उहाँको निम्ति जिउन छोडेर कुनै कमसल मार्ग अपनाऊँ? आइज्याक वाट्सले लेखे:

“यस्तो अचम्मको, यस्तो ईश्वरीय प्रेमले,
मेरो प्राणको माग गर्दछ,
मेरो जीवनको माग गर्दछ,
मेरो सर्वस्व माग गर्दछ!”

“भाइहरूहो” — पावल यहाँ रोमका विश्वासीहरूलाई सम्बोधन गर्दैछन्। आफ्‍नो शरीरलाई बलिदानको रूपमा परमेश्वरलाई चढाउने काम (रोमी १२:१), मुक्ति नपाएका व्यक्तिहरूलाई गर्नलाई भनिएको कुरा होइन (जस्तो Lordship Salvation “लर्डशीप साल्भेसन” का समर्थकहरूले सिकाउलान्), तर यो त मुक्ति पाएका व्यक्तिहरूले गर्नुपर्ने कुरा हो (हामीले यसोगर्छौं किनकि हामीले मुक्ति पाएका छौं, मुक्ति पाउनलाई होइन)।

“आफ्‍ना शरीरहरूलाई चढाइदेओ” — “चढाइदेओ” भन्ने शब्द रोमी ६:१३ कै शब्द हो (जहाँ “सुम्प” भनेर अनुवाद गरिएको छ), र यी दुई पदको तुलनाले यो देखाउँछ कि “तिम्रो शरीरलाई” को माने “आफैलाई” हो। जब तपाईं आफ्‍नो शरीर परमेश्वरलाई दिनुहुन्छ, तपाईं आफू जे जति हुनुहुन्छ र आफूसित जे जति छ त्यो दिनुहुन्छ। “चढाइदेओ” शब्द ग्रीक व्याकरणको एओरिस्ट (aorist) कालमा छ जसको मानेहो, “सो गरिछाड!”। यो कुनै त्यस्तो काम होइन जुन चाहिँ निरन्तर गरिन्छ (नत्रता वर्तमानकालिक क्रियापद प्रयोग हुन्थ्यो)। यदि हरेक विश्वासीले यसो गर्न सके भने र यस कामलाई एकैचोटी सदाका लागि फत्ते गर्न सके भने सबभन्दा उत्तम हुनेथ्यो। आफूलाई यसरी सुम्पेको विश्वासीले पछिपछिको समयमा त्यसको सम्झना गर्न सक्थ्यो र यो काम आफूले गरिसकें भनेर ठान्न सक्थ्यो:
“प्रभु, मेरो शरीर तपाईंको लागि चढाइसकिएको छ र तपाईंलाई दिइसकेको छ! म दाम तिरी किनिएको हुँ! म तपाईंको दास हुँ! मेरो शरीर तपाईंको निजी हो भनेर म कहिल्यै नभुलूँ!” (दाँज्नुहोस्, १ कोरिन्थी ६:१९-२०)

एओरिस्ट कालको माने यस्तो होइन (जसरी धेरै बाइबल शिक्षकहरूले सिकाउँछन्) कि त्यो एक पटक गरिने कार्य हो जो फेरि कहिल्यै दोहोराइँदैन। त्यस्ता समयहरू हुन्छन् जब हामी विश्वासीहरू लड्छौं, विफल हुन्छौं र हामीले रोमी १२:१ ले भनेको कुरा गर्नुपर्छ,
“प्रभु, तपाईंले मलाई आफ्‍नो अचम्मको अनुग्रहले बचाउनुभएको छ, अनि यद्यपि मैले पाप गरें र तपाईंलाई धोका दिएँ, म खुसीसित मेरो शरीर तपाईंको सेवाको निम्ति तपाईंलाई चढाउँछु। म आफूलाई (म जे जति छु, मसित जे जति छन्) नयाँ गरी तपाईंलाई समर्पण गर्छु। लिनोस् प्रभु मेरो जीवन यो, होस् सम्पूर्ण तपाईंको। लिनोस् मलाई हे प्रभु, पूरै हुन्छु तपाईंको, पूरै हुन्छु तपाईंको!”

“बलिदान” — प्रत्येक नयाँ नियमको विश्वासी एउटा पूजाहारी हो, अनि पूजाहारीहरू बलिदान चढाउँछन्। बलिदानचाहिँ पूरै परमेश्वरको हुन्थ्यो — त्यो उहाँकै हुन्थ्यो! विश्वासी-पूजाहारीले चाहिँ आफैलाई पूरै (उसको शरीरलाई) परमेश्वरलाई, उहाँको प्रयोजनको लागि, चढाउनुपर्छ, दिनुपर्छ। एकजान विश्वासीले रोमी १२:१ पढे र वास्तवमै कुनै डाँडामाथि गए र ढुङ्गाहरू जम्मा पारेर एउटा कामचलाउ वेदी तयार गरे। त्यसपछि उनले आफूलाई वेदीमाथि सुताए र भने, “प्रभु, म यहाँ छु! म तपाईंको जिउँदो बलिदान हुँ। तपाईंले मलाई जसरी चाहनुहुन्छ त्यसरी प्रयोग गर्नुभएको म चाहन्छु। मेरो जीवन तपाईंकै हो।” परमेश्वरले हामीलाई ढुङ्गाकै वेदी निर्माण गर त भन्नुभएको छैन, तर हाम्रा शरीरहरूलाई जिउँदो बलिदानको रूपमा चढाइदेओ चाहिँ भन्नुभएको छ।

“जिउँदो” — काटिएरमरेको अवस्थामा पुग्‍ने पुरानो नियमको पशु बलिदानको तुलनामा। यो जिउँदो बलिदान किन हो भनेर अझ राम्रोसित बुझ्न सहायता होस् भनेर जेम्स भेन्टिलाटोले निम्न टिप्पणी थप्नुभएको छ:
“हामीले आफूहरूलाई मरेकाहरूबाट बौरेर जिउँदो भएकाहरूको रूपमा परमेश्वरकहाँ चढाउनुपर्छ (रोमी ६:१३)।” “जिउँदो” भन्नाले केवल काटेर मारिएका बलिदानहरूसितको तुलनामा मात्र होइन, तर ख्रीष्ट येशूमा भएको हाम्रो बौरिउठाइको जीवनको ओहोदा वा धरातलको दृष्टिकोणबाट पनि “जिउँदो” बलिदान, र यसरी यो कुरा रोमी ६-८ अध्यायहरूका सम्मिलिकरणका सत्यताहरूसित जोडिएको छ।

साथै यसले “लर्डशीप मुक्ति” (Lordship Salvation) भनिने शिक्षाको अर्थहीनता पनि देखाउँछ। किनकि “पापीहरूलाई” उनीहरू आफ्‍नो जीवनको रूपमा (यसर्थ पुरानो आदम जीवनप्रति मरेको) ख्रीष्ट येशूमा बौरिउठाइको ओहोदा र धरातलमा अवस्थित गराइनुभन्दा अगाडि उनीहरूले परमेश्वरकहाँ आफूहरूलाई चढाउनुपर्छ, सुम्पनुपर्छ, समर्पण गर्नुपर्छ, उहाँको अधीनतामा सुम्पनुपर्छ भन्नु व्यर्थ र मूल्यहीन कुरा हो! रोमी १२ मा निजले आफूलाई परमेश्वरकहाँ “चढाउनु” अघि रोमी ६ अध्यायअनुसार “ठान्नु” पर्छ। अनि मुक्ति नपाएको व्यक्ति, जो ख्रीष्ट येशूमा अवस्थित छैन, “ठान्न” लाई उसित कुनै आधार नै छैन। “समर्पण अघि क्रूसको मृत्यु आउँछ।”
माइल्स जे स्टानफर्डले यसलाई यसरी व्यक्ति गरे:
यहाँ विषयको मुख्य बुँदा यस प्रकार छ। प्रश्न यो हो, कुनचाहिँ जीवन उहाँलाई समर्पण गरिनुपर्ने हो, पुरानो स्व-जीवन कि नयाँ ख्रीष्ट-जीवन? परमेश्वरले पुरानोबाट (जो क्रूसमा दोषी ठहराइयो) एउटै कुरा ग्रहण गर्न सक्नुहुन्न — उहाँले केवल त्यसलाई मात्र देख्नुहुन्छ र मान्नुहुन्छ जुनचाहिँ उहाँको पुत्रमा केन्द्रित छ जो हाम्रो जीवन हुनुहुन्छ। त्यसैले समर्पणको सम्बन्धमा परमेश्वरको केवल एउटै शर्त छ: “मरेकाहरूबाट जिउँदा भएझैं गरी तिमीहरूले आफूलाई परमेश्वरको वशमा सुम्प” (रोमी ६:१३)। हाम्रो धरातल यही मात्र हो अनि यही मञ्चबाट हामीले आफूलाई पाप, व्यवस्था, संसारको लेखि मरेको र बौरनुभएका ख्रीष्टमा परमेश्वरप्रति जिउँदो ठान्नुपर्छ ‘ताकि हामी जीवनको नयाँपनामा, बौरेको जीवनमा हिँड्न सकौं’ (रोमी ६:११,४ख)।
“मरेकाहरूबाट जिउँदा भएझैं गरी तिमीहरूले आफूलाई परमेश्वरको वशमा सुम्प” (रोमी ६:१३)। यो नै समर्पणको साँचो ठाउँ हो। तिनीहरूले ख्रीष्टसितको आफ्‍नो सम्मिलिकरण (identification, एकसाथ जोडिएको भन्ने सत्यता) सिक्नु अगाडि विश्वासीहरूले आफूहरूलाई परमेश्वरकहाँ सुम्पनु भनेको उनीहरूले केवल प्राकृतिक मानिस (पुरानोमानिस, क्रूसमा दोषी ठहराइएको आदमीय जीवन) का अङ्गहरूलाई चढाउनु हो जसलाई उहाँले स्वीकार गर्न सक्नुहुन्न। केवल तिनीहरू जो “मरेकाहरूबाट जिउँदो” भएका छन् — भन्नाले, मृत्युमा उहाँसितको आफ्‍नो समानतालाई पूरै अपनाएका छन् — तिनीहरूलाई आफ्‍ना अङ्गहरूलाई परमेश्वरकहाँ हतियारको रूपमा चढाउनलाई आग्रह गरिएको छ।”
पावलका सबै पत्रहरूको होशियारपूर्वक अध्ययनले यो देखाउनेछ कि ती पत्रहरू रोमी ६ अध्यायमा प्रस्तुत गरिएको क्रूसको धरातलको आधारमा लेखिएका छन् — यो तथ्य कि परमेश्वरले पुरानो पतित आदमीय-जीवनलाई क्रूसमा सुम्पनुहुन्छ र त्यससित कुनै सरोकार राख्नुहुन्न। परमेश्वरले सबै विश्वासीहरूसित ‘ख्रीष्टमा तिमी मर्‍यौ’ भन्ने आधारमा व्यवहार गर्नुहुन्छ” (माइल्स स्टानफर्ड)।

“पवित्र” — परमेश्वरको पवित्र इच्छा र सेवाको निम्ति अलग गरिएको। परमेश्वरका जनहरू “पवित्र जनहरू” हुन्, राजाहरूको राजाको सेवाका निम्ति अलग गरिएका! के तपाईं आफूलाई सर्वोच्च परमेश्वरको एक पवित्र सेवकको रूपमा हेर्ने गर्नुहुन्छ?

“ग्रहणयोग्य” — मनपर्दो (परमेश्वर यस्ता बलिदानसित खुशी हुनुहुन्छ)। जब विश्वासीहरू आफ्‍नो सर्वस्व दिन इन्कार गर्छन् त्यसमा परमेश्वर खुशी हुनुहुन्न। हाम्रो प्राण र मुक्तिदाताको बीचमा अलग पार्ने कुरा त्यहाँ एउटै नहोस्।

“उचित”“तर्कसङ्गत” भन्ने अर्थ लाग्‍ने अङ्ग्रेजी शब्द (logical) उही ग्रीक शब्दबाट आउँछ। ख्रीष्टले हाम्रा निम्ति जे गरिदिनुभएको छ, त्यसलाई सम्झेर, पूर्ण समर्पणताको सुम्पने कार्यले हामीले आफैलाई पूरै दिनु भनेको हामीले गर्न सक्ने एकमात्र मुनासीब र तर्कसङ्गत कुरा हो। साँचो विश्वासीको निम्ति, यस बाहेक अन्य कुनै कुराको अर्थ हुँदैन! यो नै गर्नुपर्ने मुनासीब कुरा हो। यसरी नै हो विश्वासीहरूले परमेश्वरको उपासना गर्ने (यो एक ‘सेवा’ हो), जब उहाँको सेवाको निम्ति आफूलाई पूर्णरूपमा दिन्छन्।

समर्पणसम्बन्धी एउटा टिप्पणी: कुनै कुनै मण्डलीहरूले विश्वासीहरूलाई अगाडि आउन र आफ्‍ना जीवनहरू प्रभु येशूलाई सुम्पन बेसरी जोड दिन्छ। यस्तो समर्पणको महत्त्वलाई हामी कुनै हालतले पनि न्यूनीकरण गर्न चाहन्नौं, तर बाइबलीय सन्तुलन कायम गर्न हामी होसियार पनि हुनुपर्छ। “लर्डशीप मुक्ति” का समर्थकहरू, प्रभुलाई आफ्‍नो जीवन समर्पण गर्नु वा ख्रीष्टको प्रभुत्वमा आफूलाई सुम्पनु चाहिँ मुक्ति पाउनलाई पूरा गर्नुपर्ने शर्त हो जस्तै कुरा गर्छन्। ख्रीष्टको प्रभुत्वमुनि आफूलाई सुम्पने कार्य मुक्ति पाइसकेपछिको प्रतिफल हुनुपर्छ, मुक्ति प्राप्तिको शर्त होइन। मुक्ति, हामीले परमेश्वरको निम्ति के गर्छौं भन्ने कुरामा नभएर परमेश्वरले हाम्रो निम्ति के गरिसक्नुभएको छ भन्ने कुरामा आधारित छ।

धेरैले यो पनि सिकाउँछन् कि समर्पणता चाहिँ मुक्ति पाइसकेपश्चात् ख्रीष्टिय जीवनको कुनै घडीमा गरिने कुरा हो। उनीहरूले यसरी भन्न सक्छन्, “पहिले एकजना व्यक्तिले ख्रीष्टलाई मुक्तिदाताको रूपमा ग्रहण गर्नुपर्छ। त्यसपछि सायद महिनौंपछि वा वर्षौंपछि निजले ख्रीष्टलाई आफ्‍नो जीवनको प्रभु बनाउनुपर्छ र आफ्‍नो जीवनलाई प्रभुमा सुम्पनुपर्छ।” यसमा केही सत्यता त छ, तर निम्न महत्त्वपूर्ण बुँदाहरूलाई विचार गर्नुहोस्:

१) समर्पणता चाहिँ मुक्तिकै घडीमा गरिनुपर्ने कुरा हो। प्रेरित पावलको जीवनमा यो साँचो थियो। उसको बदली हुनेबित्तिकै उसले भने, “प्रभु, म के गरूँ, तपाईं के चाहनुहुन्छ?” सुरुबाटै उनले आफूलाई ख्रीष्टको प्रभुत्वमुनि समर्पित गरे। हामीले मुक्ति भर्खरै पाएको बेलामा ख्रीष्टले हाम्रो निम्ति गरिदिनुभएको सब थोकका निम्ति हामी यति कृतज्ञ हुन्छौं कि हाम्रा निम्ति मर्नुहुने र फेरि बौरनुहुने प्रभुलाई खुशी पार्नु नै हाम्रो इच्छा हुन्छ (२ कोरिन्थी ५:१४-१५)। हामी उहाँको निम्ति जिउन र सबै कामकुरामा उहाँलाई आदर गर्न चाहन्छौं जो हाम्रा निम्ति मर्नुभयो!

२) के कसैले ख्रीष्टलाई प्रभु बनाउन सक्छ? अहँ! तपाईंले उहाँलाई प्रभु बनाउने त होइन; उहाँ प्रभु हुनुहुन्छ। उहाँ जो हुनुहुन्छ त्यही हुनुहुन्छ। तपाईंले उहाँलाई आफ्‍नो जीवनको प्रभु बनाउन सक्नुहुन्न। उहाँ तपाईंको जीवनको प्रभु हुनुहुन्छ, तपाईंले यस तथ्यलाई स्वीकार गरे पनि, नगरे पनि। उहाँ प्रभु हुनुभएकोले, मैले उहाँलाई प्रभु भनेर मानिलिनुपर्छ। उहाँ प्रभु हुनुभएकोले, मैले उहाँलाई प्रभु भनेर अादर गर्नुपर्छ, उहाँको अधिकारमुनि झुक्नुपर्छ, उहाँको वचनको सामु थरथर काम्नुपर्छ। उहाँ प्रभु हुनुभएको हुनाले मैले आफ्‍नो शरीरलाई एउटा जिउँदो बलिदानको रूपमा उहाँलाई चढाउन सक्छु (रोमी १२:१-२)। “म ख्रीष्टलाई मेरो जीवनको प्रभु बनाउन चाहन्छु” भनेर मानिसहरूले भन्दा, उनीहरूको भनाइको तात्पर्य त अवश्य नै हामी बुझ्दछौं। तिनीहरूले आफूहरूलाई उहाँको प्रभुत्वमुनि समर्पित गर्न चाहन्छन् र उहाँको सठीक अधिकारको अधीनतामा आउन चाहन्छन् भन्ने कुरा उनीहरूले जनाएका हुन्। तरैपनि त्यस कुरालाई अझ राम्रो तरिकाले व्यक्त गर्न सकिन्छ: “म आफ्‍नो जीवन येशू ख्रीष्ट मेरो प्रभु हुनुहुन्छ भन्ने तथ्यसित मेल खाने गरीकन जिउन चाहन्छु। मेरो जीवनमा उहाँको सिद्ध इच्छा के उहाँको प्रभुत्वले मेरो अधीनता र आज्ञापालन र खुशीसितको समर्पणताको माग गर्दछ।”

३) हामी यदि इमानदार छौं र वास्तविकतालाई मुखैमा हेर्छौं भने हामीले यो स्वीकार गर्नैपर्छ कि त्यस्ता समयहरू हुन्छन् जब हरेक साँचो विश्वासीले ख्रीष्टको अधिकारको विरोध गर्छ र उहाँको वचनको अवज्ञा गर्छ। उहाँको प्रभुत्वप्रति पूर्ण अधीनता हुनलाई उहाँका सबै आज्ञाहरूप्रति पूर्ण आज्ञाकारिता हुनपर्छ, तर हामी सबै नै यसभन्दा घटी नै भएका छौं। विश्वासी हुँ भन्ने ‘क’ र ‘ख’ विश्वासीका दुई भनाइहरूलाई विचार गर्नुहोस्:

विश्वासी हुँ भन्ने ‘क’ विश्वासी:

“मैले ख्रीष्टलाई मेरो मुक्तिदाताको रूपमा ग्रहण गरेको छु, तर म उहाँलाई प्रभुको रूपमा आफूलाई अधीनमा राख्न इन्कार गर्छु! मेरो जीवनमाथिको उहाँको अधिकारलाई इन्कार गर्दछु र म उहाँको आज्ञा पालन गर्न इन्कार गर्दछु। नरकबाट बचाउने मुक्तिदाताको रूपमा म उहाँलाई लिन म खुशी छु, तर मैले के गर्नुपर्छ भनेर उहाँले मलाई भन्न पाउनुहुनेछैन।”

विश्वासी हुँ भन्ने ‘ख’ विश्वासी:

“म मेरा प्रभुको आज्ञा पालन गर्न चाहन्छु, जो मेरो लागि मर्नुभयो, तर त्यस्ता धेरै समयहरू छन् जब म विफल हुन्छु। मेरो हृदय गहिरोसित दुःखित हुन्छ जब म उहाँको आज्ञा पालन गर्न विफल हुन्छु र म कायल हुन्छु र मलाई चैन हुँदैन। मैले मेरा प्रभुलाई अनादर गरेको छु र उहाँको नामलाई गिराएको छु।”

विश्वासी हुँ भन्ने ‘क’ विश्वासीले, उसको भनाइ र मनोभावबाट, प्रभु येशू ख्रीष्टसित उसको साँचो, व्यक्तिगत र मुक्ति पाएको सम्बन्ध छ भन्ने कुराको खासै प्रमाण प्रस्तुत गरेको देखिँदैन। विश्वासी हुँ भन्ने ‘ख’ विश्वासी चाहिँ एउटा ख्रीष्टको साँचो चेला भएको देखिन्छ, किनकि यद्यपि उसले पाप गरेको छ र आफ्‍नो प्रभुको विरुद्धमा विद्रोह गरेको छ, ऊ त्यसबारे चिन्तित र चूर्ण भएको देखिन्छ। पाप गर्ने विश्वासीभित्र अन्तरवास गर्नुहुने पवित्र आत्मा शोकित बन्नुहुन्छ र उहाँले आफ्‍नो शोकित उपस्थितिको अनुभव दिनुहुन्छ। आर जी रेनोल्डले यसरी लेख्नुभएको छ:
जुन व्यक्ति पापपूर्ण तरिकामा जिउँदैछ, जो जान्दछ आफू पापपूर्ण तरिकामा जिउँदैछु भनेर, जो त्यसरी जिउन खुशी छ, जसले त्यो पापपूर्ण जिउने तरिकामा जिइरहने नियत वा लक्ष्य राखेको छ — त्यस व्यक्तिसित पवित्र आत्मा अन्तरवास गर्नुभएको छैन। आफ्‍नो पापको सम्बन्धमा ऊ “निश्चिन्त” हुन सक्नु नै पवित्र आत्मा उसमा हुनुहुन्न भन्ने कुराको प्रमाण हो। उसको आत्मिक जीवनको जाँच गर्दा परिणाम निस्कन्छ — “जीवनरहित”।

४) के एउटा नयाँ विश्वासीलाई ख्रीष्टको प्रभुत्वको सम्पूर्ण मतलब वा तात्पर्यको बोध हुन्छ? हुँदैन, ख्रीष्टको प्रभुत्वको माने र त्यससित संलग्‍न दायित्व के हो भनेर नयाँ विश्वासीले भर्खरै सिक्न थालेको हुन्छ। ख्रीष्टमा नयाँ जन्मेको बालकलाई समर्पणता र अधीनताको बारेमा एकदम थोरै थाह हुन्छ। उसका पापहरू उसलाई क्षमा भए र उसले ख्रीष्टलाई ग्रहण गरेको छ र उसित अनन्त जीवन छ भन्ने कुरा उसलाई थाह हुन्छ। आफूले पाएको यति ठूलो मुक्तिको निम्ति ऊ धन्यवादले भरिएको हुन्छ र उसको निम्ति मरिदिनुहुने प्रभुलाई ऊ खुशी पार्न इच्छुक हुन्छ। तर ख्रीष्टको प्रभुत्वले उसको विवाहलाई, उसको परिवारलाई, उसको आर्थिक कुराहरूलाई, उसको मण्डलीलाई, उसले आफ्‍नो शरीरको स्याहार गर्ने तरिका आदिलाई कसरी प्रभाव पार्दछ भन्ने यी सब कुराहरू त उसलाई सिक्न समय लाग्छ।

त्यस्तै गरी एउटा नयाँ विश्वासीले मुक्ति दिने ख्रीष्टको अनुग्रहको सम्पूर्ण अर्थ र आशय एकैचोटीमा बुझ्दैन। अनुग्रहले मुक्ति पाउनु भनेको के हो, त्यसको माने उसले सिकिरहेको हुन्छ र यो कुरा उसले सिक्नु भनेको जीवनभर लाग्‍ने प्रकृया हो। एउटा विश्वासीले यूहन्ना ३:१६ लाई एक वर्ष अगाडि जति बुझेको थियो उसले अहिले त्यसको आशय अझ गहिरो गरी बुझेको हुनुपर्छ र एक वर्षपछि त्यो उसको लागि झन् बढी अर्थपूर्ण बन्नुपर्छ। चेलापन र प्रभुत्वको सम्बन्धमा पनि यही कुरा साँचो हुन्छ। यसमा एउटा सिक्ने प्रकृया समावेश भएको हुन्छ। ख्रीष्टको प्रभुत्वको वास्तविकता एक वर्ष अगाडि भन्दा अहिले मलाई झन् प्रिय हुनुपर्ने हो। म ख्रीष्टमा बढ्दै जाँदाहुँदी, ख्रीष्ट आफ्‍नो प्रभुको अधीनमा आफूलाई सुम्पनु भनेको के हो म क्रमैसँग बुझ्दै जान्छु।

रोमी १२:१ ले हरेक विश्वासीलाई निरन्तर सम्झना गराओस् कि हामी आफैका होइनौ किनकि हामी दाम तिरी किनिएका हौं (१ कोरिन्थी ६:१९-२०)। आफ्‍नो शरीरलाई मनलागी प्रयोग गर्ने हामीलाई अधिकार छैन। येशू ख्रीष्टको प्रेमका दासको कर्तव्यबमोजिम आफ्‍नो शरीरलाई उहाँलाई मनपर्दो हिसाबले प्रयोग गर्नुपर्छ। हामी रगतले किनिएका हौं र प्रेमले बाँधिएका छौं। हामीले आफूलाई मरेकाहरूबाट बौरेकाहरू झैं परमेश्वरकहाँ चढाउनुपर्छ (रोमी ६:१३)। कलवरीमा देखाइएको परमेश्वरको कृपा र अनुग्रहको कारणले हामी यसभन्दा कम कसरी गर्न सक्छौं र?

रोमी १२:२

यस पदमा दुईटा आज्ञाहरू छन् भन्ने कुरालाई ध्यान दिनुहोस्। पहिलो चाहिँ नकरात्मक आज्ञा छ (हामीले के गर्नुहुँदैन) र दोस्रो चाहिँ सकारात्मक (हामीले के गर्नुपर्छ)। “यस संसार” = यस युग (ग्रीक αιων)।२कोरिन्थी ४:४ मा शैतान “यस संसार (युग) को ईश्वर” हो भनेर सिक्छौं। यस वर्तमान दुष्ट संसार (युग) बाट हामीलाई छुटकारा दिनाका लागि ख्रीष्टले आफैलाई हाम्रा पापहरूका निम्ति दिहाल्नुभयो” — गलाती १:४। जब हामीले मुक्ति पाएका थिएनौं हामी यही दुष्ट, शैतानिक युग/संसारको अङ्ग थियौं, तर परमेश्वरले हामीलाई यसबाट छुटकारा दिनुभएको छ। कलस्सी ४:१४ मा एउटा वफादार विश्वासी मानिएकोडेमासलाई, पछिबाट पावलका यी दुःखद शब्दहरूमा बयान गरिएको छ, “किनकि डेमासले यस वर्तमान संसारलाई प्रेम गरेर मलाई त्यागेको छ” (२ तिमोथी ४:१० — “वर्तमान” भन्नाले त्यो अहिले छ तर धेरै बेर टिक्दैन; त्यो ज्यादै अस्थायी छ)। अन्तमा तीतस २:१२ मा विश्वासीहरूलाई यस वर्तमान युगमा अनुग्रहले भक्तिसाथ जिउनलाई सिकाइएको छ। हामी यस संसारमा छौं, तर हामी “यस संसारकै” जस्तो गरी र संसारकै प्रणालीको अङ्ग जस्तै गरी जिउनुहुँदैन जुन संसार सत्य र जिउँदो परमेश्वरको विपरीतमा छ।

“एकनासे नहोओ” — यस क्रियापदको माने “उस्तै रूप बनिनु, एकरूप बनिनु, एउटै रूपमा ढालिनु, एउटाको आकार वा ढाँचा अर्कोजस्तै बनाउनु।” पावल भन्दैछन्, “तिमीलाई उसकै ढाँचामा ढाल्ने काम गरिराख्न संसारलाई नदेऊ!” त्यसको आचार, बोली, अभिव्यक्तिहरू, शैलीहरू र आनीबानीहरूद्वारातिमीनढालिऊ! केनेथ वीस्टले यस पदलाई यसरी भावानुवाद गरेका छन्:
“यस संसारको ढाँचाअनुसारको बाह्य अभिव्यक्तिलाई अपनाउन छोड, जुनचाहिँ, तिमी एउटा नयाँ जन्म पाएको परमेश्वरको सन्तानको हैसियतले, तिम्रो भित्री व्यक्तित्वमा जे छौ त्यसबाट आएको अभिव्यक्ति होइन।”

“तर” — यस शब्दले जोडदार तुलना जनाउदैछ। परमेश्वरले माथिको नकारात्मक आज्ञा पश्चात् एउटा प्रबल सकारात्मक आज्ञा दिनुहुन्छ! “बदली हुँदै जाओ” — यस क्रियापदको माने हो बदली हुनु, अर्को रूप बन्नु। यहाँ प्रयोग भएको ग्रीक शब्द चाहिँ मेटामोर्फोसिस हो (जुन शब्द अङ्ग्रेजीमा झुसिलकिरो पुतली बन्ने प्रकृयालाई बयान गर्न प्रयोग हुन्छ)। यो शब्द मत्ती १७:२ मा हाम्रो प्रभुको रूप परिवर्तनलाई बयान गर्न प्रयोग भएको छ। प्रभु यसरी बदली हुनुभयो कि उहाँको भित्री महिमा बाहिर देखा पर्न आयो (यूहन्ना १:१४ सित तुलना गर्नुहोस्)। यहाँ र २ कोरिन्थी ३:१८ मा ख्रीष्टिय जीवनमा हुने परिवर्तनको प्रकृयालाई जनाउन प्रयोग भएको छ जब विश्वासी जन झन् झन् ख्रीष्टको रूपमा बदली हुँदै जान्छ (हिजोभन्दा आज र आजभन्दा भोली झन् ख्रीष्टजस्तै बनिनु)। यो शब्द २ कोरिन्थी ३:१८ मा पवित्र आत्माले उत्पन्न गराउनुहुने परिवर्तनलाई जनाउन प्रयोग भएको छ जुन परिवर्तनचाहिँ विश्वासी जनले प्रभु येशूको महिमालाई उहाँको वचनमा हेर्दाहुँदी हुने नतिजा हो, जब ऊ क्रमिक रूपमा (एउटा महिमादेखि अर्को महिमामा) ख्रीष्टको समानतामा बदली हुँदै जान्छ। रोमीको पुस्तकमा हामीले देखिसेका छौं कि परमेश्वरको उद्देश्य भनेको हामीलाई ख्रीष्टको रूपमा ढाल्नु हो (रोमी ८:२९)। यो क्रियापद चाहिँ वर्तमान कालमा प्रयोग भएको छ (२ कोरिन्थी ३:१८): हामी निरन्तर बदली गराइँदै जानु पर्छ। यो परिवर्तन एकै दिनमा वा एकै महिनामा वा एकै वर्षमा हुने परिवर्तन होइन। यो यस्तो प्रकृया हो जो हामी ख्रीष्टसित हुन नगएसम्म जारी रहन्छ (१ यूहन्ना ३:२)। यो क्रियापदचाहिँ कर्मवाचक (passive voice) शब्द भएकोले (२ कोरिन्थी ३:१८) यसले यो जनाउँदैछ कि यो बदली हामी आफैले उत्पन्न गर्ने बदली होइन!

हामी बदली गराइँदै जानुपर्छ। योचाहिँ परमेश्वरले हामीमा र हामीद्वारा गर्ने काम हो। हामीले उहाँमा भरोसा गर्नुपर्छ र उहाँलाई त्यो काम गर्न दिनुपर्छ जो उहाँले मात्र गर्न सक्नुहुन्छ।

यो बदली कसरी उत्पन्न हुन्छ? “तिमीहरूको मनको नयाँ हुवाइद्वारा” । यो एउटा मनमा हुने प्रकृया हो जसलाई भाइन्सले यसरी बयान गर्छन्:
“यो चाहिँ नैतिक र आत्मिक हेराइ तथा विचारधारालाई परमेश्वरको मनसित समायोजन गर्ने वा मिलाउने कार्य हो, जसको उद्देश्य चाहिँ जीवनमै परिवर्तनशील प्रभाव पार्नु हो।”

विश्वासीको मन परमेश्वरको वचनले भिजेको हुनुपर्छ ताकि हामीले झन् झन् परमेश्वरले जस्तै देख्न, विचार गर्न र भावना राख्न सकौं। नवीकरण सम्बन्धी अरू नयाँ नियमका पदहरूको लागि कलस्सी ३:१० र २ कोरिन्थी ४:१६ हेर्नुहोस्। जुन विश्वासी बदली हुँदैछ उसले निरन्तर परमेश्वरको इच्छा प्रमाणित गर्दैछ अथवा जाँचेर थाह गर्दैछ, अँ त्यस्तो कुरा जुन परमेश्वरको लागि ग्रहणयोग्य (मनपर्दो) हुन्छ र उहाँको सिद्ध इच्छा हो। विश्वासीको हृदयदेखिको खोजी यो हो: “परमेश्वर जे चाहनुहुन्छ, म त्यही चाहन्छु, त्यसभन्दा बढ्ता होइन, कम पनि होइन! म अरू केही चाहन्न, तर परमेश्वरकै सर्वोत्तम चाहन्छु! मेरो इच्छा होइन तर तपाईंको इच्छा पूरा होस्!”


पृष्ठ संशोधन मिति: Friday 03-Apr-15
WordofTruth.com.np © 2017