Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

रोमी १२:११-२१

यस पृष्ठलाई छाप्नुहोस्

रोमी १२:११

“अल्छे” = काम नगरी बस्‍ने, अल्छे (मत्ती २५:२६)। “प्रयत्न गर्नामा” = यो शब्दको माने उत्सुकता, जाँगर, उद्यम, जोश, प्रभुलाई हरेक कामकुरामा खुशी पार्न भएभरको बल लगाउनु। “आत्मामा जोशिला होओ” — जोशिलो भन्ने शब्द “उम्लनु, भकभक पाक्नु” भन्ने शब्दबाट आउँछ। आत्मिक जीवनमा हामी प्रभुको निम्ति अागोजस्तै हुनुपर्छ, रापिलो, उम्लिरहेको, तातो, जोशिलो, चम्किलो! कहिलेकाहीँ हामी चिसिन्छौं र मनतातो बन्छौं (प्रकाश ३:१६,१९)। हामी तातो भएको परमेश्वर चाहनुहुन्छ, एउटा ईश्वरीय जोश भएको र प्रभुका कुराहरूको निम्ति उत्तेजित भएको चाहनुहुन्छ। दाँज्नुहोस् तीतस २:१४ — “असल-असल कामहरूमा जोशिलो” (असल गर्नका लागि बल्दो जोश भएको)। तपाईंको आत्मिक तापक्रम कस्तो छ? के तपाईं जोशिलो हुनुहुन्छ? परमेश्वरका कुराहरूको निम्ति जोशको सवालमा के तपाईं उम्लने विन्दुमा हुनुहुन्छ? प्ररित १८:२५ मा हामी त्यस्तो एकजना मानिसको बारेमा सिक्छौं! “प्रभुको सेवामा गरिरहो” — हामी निरन्तर उहाँको प्रेमको दासको रूपमा प्रभुको सेवा गरिरहनुपर्छ। उहाँ हाम्रा धन्यको मालिक हुनुहुन्छ। परमेश्वर अल्छे दासहरू चाहनुहुन्न। उहाँ त्यस्ता विश्वासीहरू चाहनुहुन्छ जो परिश्रमी र जोशिला हुन्छन्।

रोमी १२:१२

“आशामा आनन्दित होओ” — विश्वासीहरू भएर हामी आफूसित भएको आशामा निरन्तर आनन्द गरिरहनुपर्छ। आशाले त्यस महिमित भविष्यको प्रतीक्षा जनाउँछ जो पक्का छ किनकि परमेश्वरले आफ्‍नो वचन दिनुभएको छ। भविष्यको बारेमा विचार गर्दा हामी निर्धक्क भई र हर्षित प्रतीक्षासहित त्यसको बाटो हेर्न सक्छौं। हाम्रो भविष्य परमेश्वरका प्रतिज्ञा जत्तिकै उज्यालो छ। प्रभु येशू ख्रीष्टको आगमन पक्का कुरा हो! परमेश्वरको हरेक सन्तानको एउटा एकदम उज्यालो भविष्य छ, र यस कुराले हाम्रा हृदयहरूलाई ठूलो रमाहट ल्याउनुपर्छ। रोमी ८ ले हाम्रो भविष्यको प्रतीक्षाको बारेमा धेरै कुरा बताएको छ!

“सङ्कष्टमा स्थिर रहो” — “स्थिर” को माने जीवनका परीक्षाहरूमुनि रहिरहनु, लागिरहनु, सहिरहनु, नछोडीकन बस्‍नु, हरेस नखानु, हार नखानु तर सबै कठिनाइहरू र बाधाअड्चन र समस्याहरू र दबाबहरूका बाबजुद पनि अगाडि बढिरहनु! १ थेस्सलोनिकी १:३ मा हामी सिक्छौं कि आशाले धीरज उत्पन्न गर्दछ। आशाको कारणले हामी सङ्कष्ट र च्यापोको बीचमा पर्दा पनि हामी सहन सक्छौं र लागिरहन सक्छौं। आशाले वर्तमान परीक्षाभन्दा पर हेर्छ र परमेश्वरका प्रतिज्ञाहरूलाई पक्रन्छ। “दृढतापूर्वक लागिरहो” = टाँसिनु, जोडपूर्वक नछोडीकन लागिरहनु। विश्वासीले आफूलाई प्रार्थनाको निम्ति अर्पनुपर्छ र प्रार्थनामा बलियो रहनुपर्छ। प्रार्थनाको निम्ति यत्न र दृढता आवश्यक पर्छ। प्रार्थना गर्न सजिलो छैन र त्यसमा लागिरहनु सजिलो छैन (यस क्रियावाचक शब्दको अन्य प्रयोगको लागि हेर्नुहोस्, प्रेरित १:१४; २:४२; ६:४; कलस्सी ४:२)।

रोमी १२:१३

“सहायता गर”= बाँड्नु, आदान-प्रदान गर्नु, कसैमा चासो लिनु, योगदान दिनु। “खाँचोमा” — आवश्यकताहरू। त्यहाँ विश्वासीहरू हुन्छन् जसलाई साँच्चीकै खाँचो परिरहेको हुन्छ जो पूरा गर्न मसित क्षमता हुन्छ। के म अरू विश्वासीहरूको खाँचोप्रति संवेदनशील छु? के म आफैबाट, मेरो समय, मेरो पैसा, आदि ख्रीष्टलाई आदर हुने तरिकाले दिन र यी खाँचोहरू पूरा गरिदिन इच्छुक छु? “पाहुनाहरूको सेवामा लागिरहो” — यो एउटा रोचक अभिव्यक्ति हो र अक्षरशः यसको माने हो पाहुना सत्कारको पछि लाग्‍नु वा दगुर्नु। यो एउटा ग्रीक शब्दबाट आउँछ जसलाई प्रायः “सताउनु” भनेर अनुवाद गरिन्छ। सतावट दिने व्यक्ति त्यो हो जसले कसैलाई हानी गर्न लखेट्छ। पाहुनासत्कारको पछि लाग्‍ने एउटा असल उदाहरण चाहिँ अब्राहाम हो, उत्पत्ति १८:१-६ (उनी कसरी दौडे, हेर्नुहोस्!)। “पाहुनाहरूको सेवा” = परदेशीहरूको प्रेम। ख्रीष्टिय सत्कारको विषयमा हेर्नुहोस् १ तिमोथी ३:२; तीतस १:७-८; १ तिमोथी ५:१०; हिब्रू १३:२ (उत्पत्ति १८:१-६ को बारेमा); १ पत्रुस ४:९ र ३ यूहन्ना ५-८।

रोमी १२:१४

“आशिष देओ” = कसैको बारेमा असल बोल्नु (श्रापको उल्टो जसरी यसै पदमा देख्छौं)। “सताउनेहरू” = पद १३ मा प्रयोग भएकै शब्द हो (पाहुना सत्कारको पछि लाग)। यहाँ चाहिँ तिनीहरूको उल्लेख छ जोहरूउनीहरूलाई हानी गर्ने वैरभावको नियतले विश्वासीहरूको पछि लाग्छन् र लेखेट्छन्। पावलले हामीलाई त्यस्ता व्यक्तिहरूमाथि न्यायको फैसला नगर्नलाई निर्देशन दिँदैछन्। बदला नलिऊ (यसको बारेमा पावलले अध्यायको अन्ततिर अझै बताउनेवाला छन्)। वास्तवमा पावल यहाँ स्वयं ख्रीष्टकै शिक्षा दोहोर्याउँदैछन् (हेर्नुहोस् मत्ती ५:४४)। “श्राप” = यो चाहिँ हाम्रा शत्रुहरूप्रतिको हाम्रो स्वाभाविक प्रतिक्रिया हो तर यो ख्रीष्टिय प्रतिक्रिया होइन। यस अध्यायको अन्तिम खण्डले बताउनेछ हामीले कसरी र कस्तो प्रतिक्रिया देखाउनुपर्छ जब मानिसहरूले हामीलाई दुर्व्यवहार गर्छन्!

रोमी१२:१५

हामीएउटैशरीरका पारस्परिक अङ्गहरू हौं। परमेश्वरले हामीलाई एउटा गजबको तरिकामा एकअर्कासित एक बनाउनुभएको छ। “अङ्गहरूले एक-अर्काका निम्ति एकै प्रकारको वास्ता राखून्। अनि एउटा अङ्गले दुःख पायो ने सबै अङ्गहरूले त्योसँगै दुःख भोग्छन्, अथवा एउटा अङ्गले आदर पायो भने सबै अङ्गहरूले त्योसँगै आनन्द मनाउँछन्” (१ कोरिन्थी १२:२५-२६)। हामीले एकअर्काको निम्ति सहानुभूति राख्नुपर्छ, उनीहरूको आनन्द र दुःखहरूमा संलग्‍न भएर। म तपाईंजस्तै उही शरीरको अङ्ग भएको हुनाले, तपाईंका आनन्दहरू मेरा आनन्द हुन् र तपाईंका आँसुहरू मेरा आँसु हुन्। म स्वतन्त्र छैन, तर बरु म शरीरको हरेक अर्को अङ्गसित जोडिएको छु। मलाई उनीहरूको खाँचो छ र उनीहरूलाई मेरो खाँचो छ। नोट: कहिलेकाहीँ कसैसित आनन्द मनाउनुभन्दा ऊसित रून सजिलो हन्छ। योचाहिँ घमन्ड, डाहा, इर्ष्या, आदिले हुन्छ।

रोमी१२:१६

“एकैमनकाहोओ” = उही कुरा सोच्नु, सहमत हुनु, सम्मतिमा जिउनु, एक्यपूर्ण हुनु। हामी शरीरको एकताबाट बेमेल भई जिउनुहुन्न (मानव शरीरको विचार गर्नुहोस्; एउटा खुट्टा उत्तरतिर अर्कोचाहिँ दक्षिण जान चाहे कस्तो हुन्थ्यो)। दाँज्नुहोस् फिलिप्पी ४:२ र २ कोरिन्थी १३:११। विश्वासीहरू आपसमा सहमत हुनुपर्छ, एउटै दृष्टिकोणलाई हृदयमा ठाउँ दिनुपर्छ, सर्वसम्मतिमा हुनुपर्छ। त्यहाँ कुनै अमेल वा असहमति हुनुहुन्न। “परमेश्वरको महिमा गर्न को सहमत हुनुहुन्छ?” सबैजना सहमत हुन्छन् र भन्छन्, “आमेन!” “ख्रीष्टलाई खुशी पार्नु पहिलो प्राथमिकता हो भनेर को विश्वास गर्नुहुन्छ?” सबैजना सर्वसम्मति जनाउँछन् र भन्छन्, “आमेन!” “ख्रीष्टलाई पछ्याउन र विश्वासको असल लडाइँ लड्न को चाहन्छ?” सबैजना अघि सर्छन् र भन्छन्, “म चाहन्छु!” “कसले पाप र भ्रमलाई घृणा गर्छ?” सबैजनाले जवाफ दिन्छ, “हामी सबैले!” विश्वासीहरूको बीचमा हुनुपर्ने यस्तो खाले सहमति हो। हामी बेग्‍लाबेग्‍लै लक्ष्यहरू र उद्देश्यहरूको पछि लागिरहेको हुनुहुँदैन। यसको माने हामी प्रभुमा बढ्दै जाँदा र परमेश्वरको सत्यता बुझ्न खोज्ने क्रममा शिक्षाका केही बुँदाहरू सम्बन्धी त्यहाँ कहिल्यै इमानदार र शान्तिपूर्ण असहमतिहरू हुँदैनन् भनेको होइन। हामीमध्ये कसैले पनि परमेश्वरको सत्यता जसरी बुझ्नु पर्ने हो त्यसरी बुझेका छैनौं र हामीमध्ये कसैले पनि सबै कुरा ठीकसँग जानेका छैनौं। परमेश्वरले जान्नुहुन्छ तर हामी जान्दैनौं। चाबी फिलिप्पी २:५ मा छ — जति हामी ख्रीष्टसित सहमत हुन्छौं, त्यति नै हामी एकअर्कासित सहमत हुन्छौं। जब सत्यता सम्बन्धी असहमति हुन्छ, त्यसको माने एक वा अर्को पक्षा (वा दुवै) ख्रीष्टसित सहमत छैन (कि त जानाजानी, कि अनजानमा)। हामीसँग यदि परमेश्वरकै दृष्टिकोण छ भने हामी एकअर्कासित सहमत हुन्छौं।

“अल्गा कुराहरू” = ज्यादै उच्च कुराका पछि सङ्घर्ष नगर्नुहोस्। योचाहिँ घमन्डी महत्त्वकाङ्क्षाको विरुद्धमा चेतावनी हो (उच्च कुराहरू खोज्नु जस्तै सम्मान र सम्पत्ति, ओहोदा र अधिकार, ज्यादै इच्छा गर्नु)। उच्च कुराहरूको पछि ज्यादै आकाङ्क्षा नगर्नुहोस् (भजनसङ्ग्रह १३१:१ पढ्नुहोस्)। “नम्रहरू” = व्याकरणको आधारमा यसको माने दुईटा मध्ये एउटा हुन सक्छ: १) होचा वा नम्र मानिसहरू (पुलिङ्); २) होचा कुराहरू (नपुंसक) “-तर्फ झुक” = बगाएर लगिनु, डोर्‍याएर लगिनु। पुलिङमा अर्थ यस्तो हुन्छ: नम्र मान्छेहरूसित सङ्गत गर, त्यस्तालाई तुच्छ नठान (ख्रीष्ट हाम्रो नमुना हुनुहुन्छ, महसुल उठाउने र पापीहरू, बहिष्कृत र गरिबहरू उहाँका मित्रहरूमध्ये पर्थे)। नपुंसकमा अर्थ यस्तो हुन्छ: उच्च कुराहरूमा नभएर, आफूलाई नम्र मार्गहरूसित मिलाऊ, आफूलाई होचा कुराहरू, परिस्थितिहरू, कामहरूतर्फ सुम्प वा तिनको अधीनमा राख।

“आफ्‍नो दृष्टिमा बुद्धिमान्” — यो चाहिँ अहङ्कार (आफ्‍नो विषयमा ज्यादा उच्च धारणा हुनु) को विरुद्धमा चेताउनी हो। आफ्‍नै मूल्याङ्कनमा बुद्धिमान् नहुनुहोस् (आफ्‍नो दृष्टिमा — हितोपदेश ३:७ र यशैया ५:२१)।

रोमी १२:१७

“खराबको बदलामा खराब” = खराबको सट्टा खराब फिर्ता दिनु। “बदला” = फिर्ता दिनु, इनाम दिनु, उनीहरूले गरेको कुनै खराबको निम्ति कसैलाई फिर्ता तिर्नु (कसैले तपाईंलाई नाकमा हिर्काउँछ भने तपाईंले पनि उस्तै व्यवहार उसलाई फिर्ता दिनु)। यो मनोभाव यसरी व्यक्त गर्न सकिन्छ, “त्यसको निम्ति म तँलाई साटो फेरेर छोड्नेछु! म बराबर गरेर छोड्नेछु! त्यो गरेर तँ त्यत्तिकै उम्कनेछैनस्। यसको लागि तैँले तिर्नेछस्!”) सुनौलो नियमको सट्टामा यहाँ मैलो नियम यस प्रकार छ: अरूले तिमीलाई जस्तो गरेका छन् उनीहरूलाई पनि त्यस्तै गर कि त अझ नराम्रो गर! यही विषय सिकाउने अरू नयाँ नियमका खण्डहरू १ थेस्सलोनिकी ५:१५ र १ पत्रुस ३:९। निजलाई उसले पाउनु पर्ने कुरा नदेऊ। हामी कति धन्यवादी हुनुपर्छ कि परमेश्वरले हामीलाई हामीले पाउनुपर्ने कुरा दिनुभएन (हेर्नुहोस् भजनसङ्ग्रह १०३:१०; १३०:३-४)।

पुरानो नियमले सिकाएको “आँखाको बदलामा आँखा, दाँतको बदलामा दाँत” (प्रस्थान २१:२४) आदिको विषयमा के भनौं? यसको माने यो हो कि सजायँचाहिँ अपराध बराबर हुनुपर्छ अनि यो सत्य र मान्य न्यायिक सिद्धान्त हो। एउटा व्यक्ति जे पाउन योग्य छ, उसले त्यही नै पाउनुपर्छ। जस्तै, उत्पत्ति ९:६ (ज्यानको सट्टा ज्यान)। के पुरानो नियमले प्रतिशोधको शिक्षा (बदला लिनु भन्ने शिक्षा) सिकाउँछ तर नयाँ नियमले चाहिँ बदला नलिनु भन्ने शिक्षा सिकाउँछ भन्ने हो त? हितोपदेश २०:२२ र हितोपदेश २५:२१-२२ दुवै नै पुरानो नियमका खण्ड हुन् र दुवै खण्डले बदला नलिनु भनेर सिकाउँछ। साथै रोमी १३:१-४ नयाँ नियमको खण्ड हो र यो खण्डले स्पष्टै सकाउँछ कि दुष्कर्म गर्नेहरूलाई सजायँ दिइनुपर्छ, र यो काम परमेश्वरले शासक (सरकार) हरू, अधिकारीहरू आदिद्वारा गर्नुहुन्छ। रोमी १२ मा पावलले खराब काम गर्नेहरूलाई सजायँ दिइनुहुन्न भनेर सिकाइरहेका होइनन्। उनको मुख्य बुँदा यो हो कि, जसरी हामी देख्नेछौं, विश्वासीले सिद्ध न्यायकर्ता परमेश्वरलाई नै अन्याय अत्याचारहरूको ठीक कारवाही उहाँको तरिकामा र उहाँको समयमा गर्न दिनुपर्छ (उदाहरणको लागि पद १९ मा हेर्नुहोस्)।

“चिन्ता गर” — यहाँ यसरी अनुवाद गरिएको उही ग्रीक शब्द १ तिमोथी ५:८ मा “प्रबन्ध गर्नु” भनेर अनुवाद गरिएको छ (आफ्‍नो घरपरिवारको निम्ति प्रबन्ध गर्नु)। शब्दको माने हो “कुनै कुरा, व्यक्तिको निम्ति विचार राख्नु, कुनै कुरा, व्यक्तिलाई नजरमा वा ध्यानमा राख्नु”। “भलो” = असल, नैतिकरूपमा राम्रो र सुन्दर, उत्कृष्ट, प्रशंसनीय। यो पद चाहिँ हितोपदेश ३:४ को उद्दरण हो (सप्टुआजिन्टबाट) र २ कोरिन्थी ८:२१ सित तुलना गर्नुहोस्। हामी सबैको दृष्टिकोणमा जे उिचत र असल छ त्यो गर्न ध्यान दिनुपर्छ। हामी साक्षी हौं। मानिसहरू हेरिरहेका छन्। ख्रीष्टियनको व्यवहार कस्तो हुनुपर्छ भनी उनीहरू जान्दछन्। संसारले जस्तै हामी पनि बदला लिन्छौं कि लिँदैनौं, साटो फेर्न खोज्छौं कि खोज्दैनौं, बराबरी हुन खोज्छौं कि खोज्दैनौं भनेर तिनीहरू नियालेर हेर्छन्। रोमी १२:१७ लाई धेरै प्रकाश पार्ने एउटा महत्त्वपूर्ण पद १ थेस्स्लोनिकी ५:१५ हो।

आज हामी मुद्दा-मामिलाले मोहित भएको समाजमा बाँचिरहेकाछौं जसको नीतिवाक्य भनेको “मुद्दा देऊ कि मुद्दा लेऊ” जस्तो देखिन्छ। मेरो आफ्‍नो व्यक्तिगत फाइदाको निम्ति मैले अर्को व्यक्तिबाट कति पाउन सक्छु, जोड त्यसैमा भएको देखिन्छ। यो त यस अध्यायमा प्रस्तुत गरिएको प्रेमको सिद्धान्तहरूको विपरीत हो। प्रेमले सधैं सोध्छ, “मैले यस व्यक्तिलाई कति दिन सक्छु, त्यसो गर्दा नोक्सानी र बलिदानको आवश्यक्ता किन नपरोस्” यस्तो भ्रमित समाजमा ख्रीष्टको प्रेमले हृदय भरिएका विश्वासीहरू अति उज्यालो भई चम्कनुपर्छ! हाम्रो काम अर्कालाई हाम्रो आफ्‍नै व्यक्तिगत फाइदाको निम्ति प्रयोग गर्नु वा दुरूपयोग गर्नु होइन!

रोमी१२:१८

“सम्भवभए” — यी शब्दले यो जनाइरहेको छ कि यो सधैं सम्भव हुँदैन।
“तिमीहरूबाटजहाँसम्महुनसक्छ” = जहाँसम्म त्योतिमीमाभरपर्ने कुरा हुन्छ। मेलमिलाप दुईतर्फी सडक हो। मेलमिलापमा बस्‍न हामीले आफ्‍नो भाग गर्नुपर्छ, तर अर्काको व्यवहारमाथि हाम्रो कुनै नियन्त्रण हुँदैन। मसित हिँउको एक डल्ला छ, अर्कोसित अर्को छ। म आफ्‍नो डल्लाले अर्कालाई हिर्काउँदिनँ भनेर निर्णय गर्न सक्छु, तर उसले उसको डल्लाले के गर्छ, त्यो म नियन्त्रण गर्न सक्दिनँ। पावलको बुँदा यति छ: मेलमिलापमा खलबली ल्याउने काम ख्रीष्टियनको पक्षबाट कहिल्यै सुरु हुनुहुँदैन। “मेल-मिलापमाबस” कोमाने “शान्तिसँगबस, शान्तिमाबस।”

नयाँनियमको ४ ठाउँमा विश्वासीलाई मेलमिलापको पछि लाग्‍न भनिएको छ (त्यसको पछि दगर्नु, त्यसलाई लखेट्नु!): रोमी १४:१९; २ तिमोथी २:२२; हिब्रू १२:१४ र १ पत्रुस ३:११।

रोमी१२:१९

“बदला” = अन्यायकोबदलालिनु (खराब गर्नेलाई सजायँ दिएर खराबीको पूरै क्षतिपूर्ति लिनु)।आफ्‍नोबदला प्राप्त नगर! “क्रोधलाईठाउँदेऊ” — परमेश्वरको क्रोधलाई त्यसको उद्देश्य पूरा गर्नलाई अवसर देऊ। एकातिर पन्छिएर बस र मामिला परमेश्वरलाई छोडिदेऊ र परमेश्वरसित छोडिदेऊ। आत्मसमर्पण गर र सम्बन्धित व्यक्तिलाई परमेश्वरको क्रोधका निम्ति सुम्पिदेऊ जसले ठीक समयमा ठीक तरिकाले व्यवहार गर्नुहुनेछ। दाँज्नुहोस् एफेसी ४:२७ — शैतानलाई उसको प्रभाव जमाउन कुनै मौका वा अवसर नदेऊ, उसलाई खुल्ला ढोका नदेऊ। परमेश्वर उहाँका सन्तानहरूलाई गरिएको खराबीहरूको हिसाब लिन अवसर चाहनुहुन्छ, अनि त्यसो गर्नु उहाँको अधिकार हो। परमेश्वर क्रोधले बदला लिनुहुन्छ! पाप देखेर हामीभन्दा परमेश्वर क्रुद्ध हुनुहुन्छ! उहाँ हामीभन्दा बढी सहनशील (रिसाउनमा ढिलो) हुनुहुन्छ! परमेश्वरले सबथोक ठीकठाक पर्नुहुनेछ। दुष्टहरू कुनै कुराबाट पनि उम्कनेछैनन्। मैले साटो फेर्नु खाँचो छैन, तर परमेश्वरले त्यो गर्नुहुनेछ।

“बदला लिने (सजाय दिने) काम मेरो हो” हिब्रू र अक्षरश: ग्रीकमा यस्तो छ (व्यवस्था ३२:३५ र हिब्रू १०:३०), “प्रतिशोध मेरो हो!” “बदला दिनेछु” = फर्काउनु, फिर्ता दिनु, दण्ड वा बदलामार्फत फेरि तिर्नु। उदारवादी (लिबरलहरू) र मडर्निस्टहरूले प्रायः यसरी भन्ने गरेका छन्: “पुरानो नियमको परमेश्वर निर्दयी, निष्ठुर (दया माया नभएको), दण्ड दिन, बदला दिन इच्छुक इन्साफ र क्रोधका परमेश्वर हन्, तर नयाँ नियमको परमेश्वर प्रेमिलो, कृपालु स्वर्गीय पिता हुन्।” तर यहाँ रोमी १२ मा हामीलाई बदला लिने परमेश्वरसित परिचय गराइँदैछ! अनि भजनसङ्ग्रह १०३:१३ मा परमेश्वरलाई एक दयालु पितासँग तुलना गरिएको छ! साथै भजनसङ्ग्रह १०३:१० मा पनि हेर्नुहोस् जसले यो जनाएको छ कि जसले परमेश्वरको डर मान्दैनन् तिनीहरू उनीहरूकै पाप र अपराधहरू अनुसार कारवाही गरिनेछन्! भजनसङ्ग्रह १०३:१७ पनि हेर्नुहोस् जसले परमेश्वरको क्रोध उहाँको डर नमान्नेहरू प्रति अनादिदेखि अनन्तसम्म रहिरहन्छ। जीवित परमेश्वरका हातमा पर्नु डरलाग्दो कुरा हो (अनि स्मरण होस्, यो पद पनि नयाँ नियमको पद हो — हिब्रू १०:३१)।

रोमी १२:२०

यहाँ हामी हाम्रा शत्रुलाई कसरी प्रेम गर्न सक्छौं भन्ने कुरा व्यावहारिक रूपमा व्यक्त गरिएको पाउँछौं (मत्ती ५:४४ सित दाँज्नुहोस्)। हितोपदेश २५:२१,२२ हेर्नुहोस्। शत्रूप्रति साँचो प्रेम हुनु भनेको निजप्रति हाम्रो भावना जस्तोसुकै भए तापनि हामी उसलाई आवश्यक परिरहेको कुरा दिनलाई रोज्नु हो। आफ्‍नो शत्रुलाई स्वाभाविक रूपमा नै प्रेम गरूँ जस्तो एक व्यक्तिलाई लाग्दैन। बरु उसलाई नाकमा हिर्काऊँ वा उसको साइकल वा गाडीको टायर पञ्चट पारिदिऊँ जस्तो लाग्‍न सक्छ, तर उसलाई केही कुरा खुवाऊँ र केही कुरा पिउन दिऊँ जस्तो लाग्दैन। हामी आफ्‍ना शत्रुलाई प्रेम गर्छौं, हामीलाई त्यसो गरूँ जस्तो लागेर होइन, तर किनकि परमेश्वरले हामीलाई आज्ञा गर्नुभएको छ (मत्ती ५:४४)। त्यो जुन बेला गरूँ जस्तो लाग्छ त्यति बेला म गर्छु भन्यौं भने त्यो कहिल्यै हुनेछैन! २ राजा ६:२०-२३ पढ्नुहोस्, एलिशाले आफ्‍ना शत्रुहरूलाई कसरी व्यवहार गरे भन्ने कुराको उदाहरणको लागि।

“आगोको भुङ्ग्रो”= बल्दो अँगार वा कोइला, फिलिङ्गो। “रास लाउनु” = थुपार्नु। तपाईंको शत्रुलाई जब तपाईं खुवाउनुहुन्छ र पियाउनुहुन्छ, तपाईंले उसको टाउकोमाथि आगोको भुङ्ग्रोको रास लाउँदैहुनुहुन्छ! निस्सन्देहः यो शाब्दिक अर्थमै लिइने कुरा होइन।
“जब पवित्र शास्त्रको सोझो अर्थ नै अर्थपूर्ण छ, अन्य अर्थ नखोज्नुहोस्, र शब्दलाई सोझो अर्थमा लिन निमल्ने कुराको स्पष्ट सङ्केत सम्बन्धित सन्दर्भका तथ्यहरूले नदेखाएसम्म हरेक शब्दलाई त्यसको सोझो अर्थमै लिनुहोस्” (डा डेविड कूपर)

तर यहाँ सोझो अर्थ अर्थपूर्ण छैन। तरैपनि, यस पदले सिकाइरहेको कुरालाई दर्शाउनका निम्ति, यसलाई सोझो अर्थमै लिएर हेरौं। मानौं कुनै बनभोजमा जाँदा कसैले तपाईंलाई जानाजानी एउटा भकुण्डोले ताकेर तपाईंलाई हिर्काई पठाउँछ जसले तपाईंलाई टाउकैमा बेसरी लाग्छ र त्यसपछि उसले तपाईंलाई हिलोले छ्याप्छ अनि मुखैमा थुक्छ। तपाईंले चाहिँ केही राता-राता झर्झराउँदो आगोको भुङ्ग्रो लिएर, ऊ अर्कोतिर फर्केर बसिरहेको बेलामा, त्यसलाई उसकै टाउकोमाथि रास लगाइदिनुभयो। के उसलाई यो मन पर्नेछ? अवश्य पर्नेछैन! त्यो त कसैलाई गर्न सकिने सबभन्दा नराम्रो व्यवहार हुन्थ्यो! त्यसभन्दा नराम्रो के गर्न सकिन्थ्यो र? त्यो असह्य हुनेथ्यो। त्यसले नराम्रो गरी चोट पुर्‍याउनेथ्यो। परमेश्वरले भनाइ यो हो: यदि तिमी आफ्‍नो शत्रुलाई आक्रमण गर्न चाहन्छौ भने, उसलाई भलाइ गर! त्यो उसलाई असह्य व्यवहार हुनेछ। त्यो तिमीले गर्न सक्ने सबभन्दा प्रभावकारी काम हुन्थ्यो। त्यो त दयाले मानिसहरूलाई मार्नु हो; सद्गुणद्वारा उनीहरूलाई बदला लिनु हो, प्रेमका कामद्वारा उनीहरूलाई नष्ट गर्नु हो र मेलमिलापले उनीहरूलाई सताउनु हो। स्टिफनसको विचार गर्नुहोस्। उनका शत्रुहरूका लागि प्रार्थना गर्नुको सट्टा उनीहरूलाई उनले ढुङ्गाले हानेका भए उनीहरूले चाहेजस्तै हुन्थ्यो! उनीहरूको निम्ति गरिएको उनको प्रार्थना उनीहरूलाई पीडादायी भएको हुनुपर्छ! अर्को पटक कसैबाट तपाईंलाई खराबी गरिँदा तपाईंले आफ्‍नो शत्रुलाई प्रेमको व्यवहार गरी देखाउनुहोस् र उनीहरूको हृदयहरूमा काम गर्नलाई परमेश्वरमा भरोसा गर्नुहोस्।

[टिप्पणी: हेन्ड्रिक्सन भन्छन्, “सोच्दै नसोचेको दयालु व्यवहारको पात्र बन्न जाँदा उत्पन्न भएको लाज, शरम र मनको चूर्णताको मानसिक पीडालाई जनाउँछन् प्रतीकको रूपमा यी आगाका भुङ्ग्राले। खराबीको सट्टा भलाइ दिने खराबी सहेको व्यक्तिको विशालहृदयताको व्यवहारले यस्तो नतीजा उत्पन्न गराउँछ।” — Romans 9-16, p. 423.

अल्बर्टबार्न्स्लेख्छन्, “मानिसको टाउकोमाथि रास लगाइएको आगोको भुङ्ग्रोले प्रचण्ड पीडालाई व्यक्त गरिरहेको छ। प्रेरित पावलले यो भन्दैछन् कि शत्रुलाई भलाइ गर्दाखेरि हुने नतीजा यो हो कि त्यसले पीडा उत्पन्न गर्दछ। तर उक्त पीडाचाहिँ लाज र शरम र पछुताउको विवेकबाट उत्पन्न हुन्छ, आफ्‍नो व्यवहार खराब थियो र आफूले परमेश्वरलाई रिस उठाएको छु भन्ने डरको महसुसद्वारा उत्पन्न हुन्छ र फलस्वरूप ऊ पश्चात्तापमा डोर्‍याइन सक्छ” — Barnes’ Notes, Acts - Romans, p. 283]

रोमी १२:२१

यहाँउहीक्रियापदको कृतिवाच्य (active voice) र कर्मवाच्य (passive voice) रूपहरू छन्। “नहार” =कर्मवाच्य; “जित” = कृतिवाच्य। खराबीलाई तिमीमाथि विजयी बन्न नदेऊ, तर जाऊ गएर बरु तिमी भलाइलेखराबीमाथि विजयी बन। खराबीलाई भलाइले डुबाऊ। पावल म्याकमिलन नाम गरेका एकजना समर्पित विश्वासीलाई चिन्दछु, जो मसँगै सेमिनरी (बाइबल कलेज) मा पढ्नुभयो। धेरै वर्ष अगाडि उनका बाबु सुसमाचारको सेवा गर्न गएको ठाउँमा उनलाई निर्ममतासाथ हत्या गरी मारिएको थियो। मेरो साथीको इच्छा त्यही ठाउँमा गएर जसले उनका बाबुलाई मारे, उनीहरूकै बीचमा मिसनरी भएर आफ्‍नो जीवन अर्पण गर्नु थियो। खराबीलाई भलाइले जित्ने यो सुन्दर उदाहरण हो: ख्रीष्टको सुसमाचार उनीहरूलाई नै दिनु जसले उनका बाबुको हत्या गरेका थिए। उनको हृदयमा बदलाले कुनै ठाउँ पाएन, तर ख्रीष्टको प्रेमले चाहिँ पायो। कालन्तरमा, प्रभुले पावललाई सेवकाइको बेग्‍लै क्षेत्रमा डोर्‍याउनुभयो। उनका बाबुले नै परिश्रम गरेकै ठाउँमा उनलाई फिर्ता पठाउनु परमेश्वरको रोजाइ थिएन, तर पावल त्यहाँ जान तयार थिए अथवा जुनसुकै ठाउँमा जहाँ प्रभुले डोर्‍याउनुहुन्थ्यो।

रोमी १२ अध्यायको अध्ययन यहीँ अन्त हुन्छ। रोमी १२ र १३ लाई एउटा जोड्ने कुरा छ। खराब गर्नेहरूलाई दण्ड दिनु विश्वासीकै काम होइन भनेर हामी सिकिसकेका छौं। त्यो परमेश्वरको काम हो। क्रोधको बदला लिने परमेश्वर हुनुहुन्छ। बदला लिने काम उहाँको हो। उहाँले आफ्‍नो तरिकामा र आफ्‍नै समयमा त्यसलाई फेरि तिर्नुहुन्छ। खराब गर्नेहरूलाई परमेश्वरले दण्ड दिने एउटा तरिका अध्याय १३ ले बताउँछ जुनचाहिँ हो मानव शासकहरू (सरकार) द्वारा जसलाई उहाँले नियुक्त गर्नुभएको छ र स्थापित गर्नुभएको छ (रोमी १३:४ मा हेर्नुहोस्)।


पृष्ठ संशोधन मिति: Friday 03-Apr-15
WordofTruth.com.np © 2017