Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

रोमी १३:१-५

यस पृष्ठलाई छाप्नुहोस्

रोमी अध्याय १३

मानव शासन र परमेश्वरको जागरण ध्वनि

परिचय

खराब काम गर्नेहरूमाथि क्रोध र न्याय सम्पादन गर्ने परमेश्वरको एउटा तरिका चाहिँ मानव शासन (रोमी १२ को अन्तिम भाग यस प्रकारले रोमी १३ सित जोडिन्छ) प्रणाली हो। परमेश्वरले जलप्रलय पश्चात् मानिसलाई शासन चलाउने अधिकार सुम्पनुभयो। यो कुरा विशेष गरी यसबाट देखिन्छ कि परमेश्वरले मानिसलाई अपराधीहरूलाई, विशेष गरी हत्याराहरूलाई, दण्ड दिने अधिकार सुम्पनुभएकोबाट देखिन्छ (उत्पत्ति ९:६)। यही सत्यता रोमी अध्याय १३ मा पनि प्रस्तुत गरिएको छ।

रोमी १३:१

“हरेक प्राण” = हरेक व्यक्ति

“अधीनतामा रहोस्”= यो एउटा सैनिक शब्दावली हो जसको माने हुन्छ “दर्जाको मुनि रहनु, अधिकारीको मुनि आफ्नो उचित स्थान लिनु, अधीनमा बस्नु, सुम्पनु, आज्ञाकारी हुनु।” तीतस ३:१ मा पाइने आज्ञासित तुलना गर्नुहोस्। “उच्च अधिकारीहरू”= अधिकारीहरू, शासन गर्ने अधिकारीहरू, जसलाई पद ३ मा शासकहरू अर्थात् सरकारी अधिकारीहरू भनेर परिभाषित गरिएका छन्। मानव शासन जलप्रलय पश्चात् परमेश्वरद्वारा स्थापना गरिएको हो। चाबी पद उत्पत्ति ९:६ हो जसअनुसार मान्छेको रक्तपात गर्ने व्यक्ति (हत्यारा) को मानिसद्वारा नै रक्तपात गरिनुपर्छ। परमेश्वर स्वयं आफैले हत्याराहरूलाई सजायँ दिने निर्णय गर्न सक्नुहुन्थ्यो, तर त्यसको सट्टा उहाँले यसको जिम्मा मानिसलाई दिन रोज्नुभयो। मानव शासन परमेश्वरद्वारा स्थापना गरिएको र नियुक्त गरिएको निकाय हो, र चाहे मुक्ति पाएका होस् वा नपाएका, सबै मानिसहरू सरकारी सेवाबाट लाभान्वित भइरहेका हुन्छन्, र सरकारका नियमहरू अवज्ञा गर्ने र त्यसको अधिकारको विरुद्धमा विद्रोह गर्ने जति सबै मानिसहरूले सरकारको डर मान्नुपर्छ।

“किनकि कुनै अधिकारी छैन, जो परमेश्वरबाटको होइन”— परमेश्वर नै अन्तिम र सर्वोच्च अधिकारी हुनुहुन्छ। उहाँ हरेक शासकको माथि हुनुहुन्छ। यो कुरा प्रभु येशूले यूहन्ना १९:११ मा ज्यादै स्पष्ट पार्नुभयो। साथै दाँज्नुस्, दनियल ४:१७,२५,३२; २ इतिहास २०:६ र भजनसङ्ग्रह ७५:७। “नियुक्त”=स्थापित, पदमा बहाल गरिएको। स्वर्गका सार्वभौम परमेश्वरको इच्छा र अनुमतिबिना कुनै पनि मानिस कुनै पनि अधिकारको स्थानमा हुँदैन।

रोमी १३:२

सरकारी अधिकारीहरू परमेश्वरबाट नियुक्त भएका हुनाले, उनीहरूको विरोध नगर्नुहोस्! परमेश्वरले स्थापना गर्नुभएको विधिको विरुद्धमा लड्नु बुद्धिमानी होइन। “विरोध” = विरुद्धमा खडा हुनु, प्रतिरोध गर्नु (“अधीनतामा सुम्पनु” को विपरीत)। “दण्ड” =न्याय वा सजाय। अधिकारीहरूको अवज्ञा गर्नु परमेश्वरको अवज्ञा गर्नु हो (हेर्नुस् १ पत्रुस २:१३-१७)।

रोमी १३:३

“डर” = शासकहरूले सुकर्मको सराहना गर्नुपर्छ र कुकर्मलाई सजाय दिनुपर्छ। साधारणतया सरकारहरूले असललाई इनाम दिन्छन् र खराबलाई सजाय दिन्छन्। कसैले नियमहरू पालन गर्छ भने र ऊ नियमअनुसार जिउने नागरिक हो भने साधारणतया उसले कुनै कुराको डर मान्नुपर्दैन। पत्रुसको पहिलो पत्रले आफूले गरेको गल्तीको कारण दुःख भोग्नेहरू र आफ्नो ख्रीष्टियन गवाहीको कारणले दुःख भोग्नेहरूका बीच स्पष्ट भिन्नता राखेको छ (हेर्नुस् १ पत्रुस २:१४,१९-२०; ३:१३-१४; ४:१४-१६)।

रोमी १३:४

शासक (सरकारी अधिकारी) परमेश्वरको सेवक हो! आज यसले हाम्रो राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, प्रहरी, आदिलाई जनाउँछ। यीमध्ये धेरैजसो मानिसहरू मुक्ति नपाएका भए तापनि तिनीहरू परमेश्वरका सेवकहरू हुन् यस अर्थमा कि कुकर्म गर्नेहरूलाई सजाय दिएर तिनीहरूले परमेश्वरको इच्छा कार्यान्वयन गर्दैछन्। हाम्रो भलाइका लागि ती व्यक्तिहरूलाई परमेश्वरले अधिकारका स्थानहरूमा राख्नुभएको हो। कानून तोड्ने र कुकर्म गर्नेहरू डराउनुपर्ने कारण छ, किनकि उनीहरू पक्राउ परे भने अधिकारहरूले तोकेको सजाय उनीहरूले भोग्नुपर्ने हुन्छ। कुकर्मीहरूलाई परमेश्वरले आफै सजाय दिन सक्नुहुन्थ्यो, तर कुकर्मी गर्ने व्यक्तिमाथि क्रोधको काम गर्न उहाँले बरु मानव सरकारलाई रोज्नुभएको छ। यही कारणले गर्दा शासकहरू हाम्रा फाइदाका निम्ति र हाम्रो भलाइका निम्ति हुन्। नियम तोड्ने व्यक्तिहरूलाई सजाय दिईकन र नियम तोड्न चाहनेहरूलाई त्यसो गर्नदेखि निरुत्साहित पारीकन र रोकथाम गरीकन सरकारले हामीलाई सुरक्षा दिन्छ। जोहरू सजायदेखि डराउँछन् र पक्राउ परिएला कि भनी डराउँछन् उनीहरूले अपराध गर्ने सम्भावना कम हुन्छ। बदला लिने काम परमेश्वरको हो (रोमी १२:१९), अनि बदला लिने परमेश्वरले उहाँका सरकाररूपी सेवकलाई कुकर्मीहरूमाथि क्रोधको कारवाही गर्न अनुमति दिनुभएको छ (रोमी १३:४)।

परमेश्वरले सरकारलाई जीवन र मृत्युको अधिकार दिनुभएको छ, अर्थात् मृत्युदण्ड दिने अधिकार दिनुभएको छ। उसले निरन्तर तरवार भिरेको हुन्छ, अनि त्यो तरवार कुकर्मीहरूलाई सजाय दिनलाई प्रयोग हुन्छ। सरकारले तरवार व्यर्थमा भिरेको हुँदैन, बरु त्यसले एउटा ज्यादै महत्त्वपूर्ण उद्देश्य पूरा गर्दछ। नयाँ नियमहरूको समयमा तरवार चाहिँ मृत्युदण्ड दिने हतियार थियो। बप्तिस्मा दिने यूहन्ना तरवारले फाँसी दिइए (प्रेरित १२:२)। पावल सम्राट नीरोका दिनहरूमा तरवारले फाँसी दिइए (पावल रोमी नागरिक भएकाले उनलाई क्रूसमा फाँसी दिन मिल्दैनथ्यो)। क्रूसीकरण चाहिँ सबभन्दा जघन्य अपराधीहरूलाई फाँसी दिने तरिका थियो। मृत्युदण्ड दिने प्रचलित तरिका चाहिँ तरवारले टाउको काट्नु थियो।

मृत्युदण्ड (capital punishment) एउटा महत्त्वपूर्ण विषय हो र यसबारे बाइबलले के सिकाउँछ भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण कुरा हो।
१) परमेश्वर स्वयंले स्थापना गर्नुभएको
मृत्युदण्ड,विश्वव्यापी जलप्रलयपछि परमेश्वर स्वयंले स्थापना गर्नुभएको कुरा हो। यो कुरा हामी उत्पत्ति ९:६ मा सिक्छौं — “हरेक जसले मानिसको रगत बगाउँछ, त्यसको रगत मानिसद्वारा नै बगाइनेछ; किनकि उहाँले मानिसलाई परमेश्वरको स्वरूपमा बनाउनुभयो।” यस पदले एउटा हत्याराको कुरा गर्दछ, जसले जानाजानी र हिंसात्मक किसिमले अर्को मानिस मर्ने गरी उसको रगत बगाउँछ। हत्यारालाई मृत्युदण्ड दिन परमेश्वरले यहाँ मानिसलाई कर्तव्यस्वरूप अधिकार दिनुभएको छ: “त्यसको रगत मानिसद्वारा नै बगाइनेछ।” यसको कारणचाहिँ मानव जीवनको मूल्य र पवित्रता भएको बताइएको छ: “किनकि उहाँले मानिसलाई परमेश्वरको स्वरूपमा बनाउनुभयो।” यहाँ “प्राणको बदलामा प्राण, आँखाको बदलामा आँखा, दाँतको बदलामा दाँत” (प्रस्थान २१:२३-२४) भन्ने नियमको आधारमा न्याय सम्पादन गरिने कुरा छ। दण्ड अपराधलाई मिल्दो हुनुपर्छ। यस खण्डमा अपराध हत्या हो र दण्ड मृत्यु हो। स्मरण होस्, मोशाको व्यवस्था दिइनुभन्दा अघि मानिसलाई उत्पत्ति ९:६ दिइएको थियो।

२) “तिमीले हत्या नगर्नू”?
मृत्युदण्ड छैटौं आज्ञासित जुध्दैन जसले भन्छ, “तिमीले हत्या नगर्नू” (प्रस्थान २०:१३)। जुनसुकै हत्या, मार्ने कार्य भए तापनि तर सबै मार्ने कार्य हत्या होइन। मारेर हत्या नहुने केही उदाहरणहरू यस प्रकार छन्: क) युद्धमा शत्रुलाई मार्नु (बाइबलको उदाहरण: दाऊदले गोल्यतलाई मारेको, भूमि कब्जा गर्दा यहोशू र इस्राएलीहरूले मारेका; ख) पतिले उसकी पत्नी, बालबच्चालाई कसैले हत्या गर्न लाग्दा प्रतिरक्षा गर्नलाई आक्रमणकारीलाई मारेको; ग) प्रहरीले आफ्नो काम-कर्तव्यको सिलसिलामा निर्दोष ज्यानको प्रतिरक्षा गर्न मारेको; घ) जसले मृत्युदण्ड सम्पादन गर्छ, जस्तै जसले बिजुली-मेचको करेन्ट पठाउन स्वीच अन गर्दछ; ङ) कसैलाई अनायास मारेको, जब मार्नेले उसको ज्यान लिने लक्ष्य राखेकै थिएन। साथै यो पनि टिप्पणी गरिनुपर्छ कि प्रभु येशू ख्रीष्ट स्वयंले उहाँको दोस्रो आगमनमा “न्याय र लडाइँ गर्नुहुन्छ” जसको नतीजास्वरूप अनगिन्ती मृत्युहरू हुनेछन् (प्रकाश १९:११-२०)।
३) मृत्युदण्ड पाउन लायकका अपराधहरू
मृत्युदण्डलेदस आज्ञालाई मिच्दैन भन्ने कुरामा हामी विश्वस्त छौं। यो कुरा दस आज्ञा उल्लेख गरिएपछिकै अध्यायलाई अध्ययन गर्दा छर्लङ्ग हुन्छ अर्थात् प्रस्थान २१ अध्याय (दस आज्ञा प्रस्थान २० मा भेटिन्छ)। परमेश्वरले प्रस्थान २१ अध्यायमा कतिपय अपराधहरूको बदला मृत्युदण्डको माग गर्नुभयो, जस्तै हत्या, अपहरण, बाबुआमालाई सराप्ने काम, आदि। प्रस्थान २१:१२,१५,१६,१७ मा हेर्नुस्। मोशाको नियममा मृत्युदण्ड लायकका अरू अपराधहरूको लागि लेवी २०:१०-१७ मा हेर्नुस्।
४) न्याय सम्पादन गर्ने व्यक्ति परमेश्वरका सेवक हुन्
नयाँ नियमको समयहरूमा मृत्युदण्डको अभ्यास अझै हुने गर्थ्यो। रोमी १३:४ ले भन्छ, परमेश्वरले कुकर्मीहरूमाथि तरवारद्वारा क्रोध सम्पादन गर्न मानव सरकारहरूलाई अधिकार दिनुभएको छ (तरवार, नयाँ नियमको समयहरूमा मृत्युदण्ड दिने सामान्य हतियार थियो)। प्रेरित पावल यस्तो समयमा जिउँथे जुन बेला रोमी साम्राज्यमा मृत्युदण्ड सामान्यतया प्रचलनमै थियो (जुन कुरा चाहिँ आजको भन्दा फरक छ), तरैपनि उनले त्यस अभ्यासलाई गल्ती ठहराएनन्। बरु उल्टो, तरवार भिर्ने व्यक्ति परमेश्वरको सेवक हुन् भनी उनले बयान गर्छन्। तसर्थ कुकर्मीलाई सजाय दिने व्यक्तिले परमेश्वरद्वारा अधिकृत भएको हैसियतले नै त्यसो गर्ने गर्छन्।
५) एउटा प्रभावकारी प्रतिरोधक (deterrent)
जब मृत्युदण्ड दृढतापूर्वक अभ्यास गरिन्छ त्यो अपराधी निरुत्साहित पार्ने ज्यादै प्रभावकारी प्रतिरोधक बन्दछ किनकि मृत्युको डर मानिसको सबभन्दा ठूलो डर हो (हिब्रू २:१४-१५ मा हेर्नुस्)। मृत्यु नै डरहरूको राजा भएको हुनाले, एउटा मान्छेले अपराध गर्नु अघि दुईपटक सोच्छ यदि उसले आफ्नो ज्यान गुमाउनुपर्ने हुन्छ भनेर उसलाई थाह छ भने। तर उसलाई आइपर्न सक्ने सबभन्दा अप्रिय कुरा भनेको आजीवन कारागारमा खानेकुरा, टेलिभिजन आदिको प्रबन्धसहित बिताउनु हो भन्ने थाहा छ भने कसैको हत्या गर्न उसलाई कम हिच्किचाहट हुनेछ। जब न्याय छिट्टै सम्पादन गरिन्छ तब “अनि बाँकी मानिसहरूले यो सुन्नेछन् र डराउनेछन्, अनि तिमीहरूको बीचमा यस्तो खराब काम फेरि कहिल्यै गर्नेछैनन्” (व्यवस्था १९:२०)। जब सही सजाय तुरुन्त सम्पादन हुँदैन, तब त्योचाहिँ अपराध गर्नलाई प्रोत्साहन बन्छ (उपदेशक ८:११ हेर्नुस्)।
६) निर्दयी र अमानवीय?
के मृत्युदण्ड निर्दयी र अमानवीय कुरा हो? मृत्यु सामान्यतया हेर्नलाई अप्रिय कुरा हो, र निश्चय पनि अपराधीलाई मृत्युदण्ड दिने जिम्मेवारी पाएको व्यक्तिको काम लोभलाग्दो काम होइन। तैपनि हामी होशियार हुनुपर्छ नत्र हामी अपराधको पीडित पक्षलाई बिर्सेर पीडकमाथि ध्यानकेन्द्रित होऔंला। जानीबुझी कसैको हत्या गर्नु ज्यादै निर्दयी र अमानवीय कुरा हो। बलजफ्ती बलत्कार गर्नु ज्यादै निर्दयी र अमानवीय कुरा हो। हवाइजहाज अपहरण गर्नु र थुप्रै निर्दोष व्यक्तिहरूको ज्यान जोखिममा पार्नु ज्यादै निर्दयी र अमानवीय कुरा हो। मान्छेको जिन्दगी बर्बाद पार्ने लागु औषधिको धन्दा गर्नु ज्यादै निर्दयी र अमानवीय कुरा हो। अपराधीलाई बचाउने हाम्रो जोशमा हामीले अपराधको जघन्यता बिर्सन पुगौंला। मृत्युदण्डको सम्बन्धमा एक व्यक्तिको धारण जस्तोसुकै किन नहोस्, एउटा कुरामा सबैजनाले सहमत जनाउनै पर्छ कि यदि हत्यारालाई मृत्युदण्ड दिइयो भने उसले फेरि कहिल्यै हत्या गर्नेछैन। यो उल्लेखनीय छ कि जोहरू मृत्युदण्ड मानिसहरूका जीवनहरूलाई नष्ट पार्ने निर्दयी र अमानवीय तरिका हो भनी यसको निन्दा गर्दछन्, कतिपटक तिनै व्यक्तिहरू नै हुन्छन् जसले गर्भपतनको बेसरी समर्थन गर्दछन्। एउटा नजन्मिएको बच्चाको भन्दा एउटा दोषी हत्याराको कसरी बढी बाँच्ने अधिकार भयो?
७) पावलको व्यक्तिगत गवाही
प्रेरित पावल मृत्युदण्डको बारेमा कस्तो धारणा राख्थे? के उनले त्यो अन्यायपूर्ण र निर्दयी र अमवानीय कुरा हो भनी ठान्थे? हुन त हामीले रोमी १३ मा पावलको शिक्षालाई हेरिसकेकाछौं, तर हामीले प्रेरित २५:११ मा प्रेरित पावलले भनेको कुरालाई पनि टिप्पणी गर्नु राम्रो हुन्छ: “किनकि म अपराधी छु भने वा मारिन लायकको कुनै काम गरेको छु भने म मर्नलाई इन्कार गर्दिनँ।” कुनै कुनै अपराधहरू मृत्युदण्ड सजायको योग्य हुन्छ भन्ने कुरा पावल जान्दथे र त्यस्ता अपराधहरूको दोषीहरू मारिनुपर्छ भन्ने कुरा उनी जान्दथे। यदि त्यस्तो कुराको दोषी आफै भएको खण्डमा उनी मर्न इन्कार गर्नेथिएनन्। मृत्युदण्डको योग्यका कामहरू आफूबाट भएको भए उनी मृत्युदण्डको अधीनतामा आफूलाई सुम्पनेथिए। अवश्य नै पवाल त्यस्ता अपराधहरूदेखि निर्दोष थिए तरैपनि उनी सम्राट नीरोको आदेशमा मारिए। कुन अपराधका निम्ति? परमेश्वरको अनुग्रहको सुसमाचार प्रचार गरेका हुनाले!
८) जानकार आदिवासीहरू
असभ्य मानिसहरू समेत उनीहरूको हृदयको अन्तस्करणमा केही अपराधहरूले मृत्युदण्डको माग गर्दछ भन्ने कुरा जान्दछन्। यो कुरा प्रेरित २८ अध्यायमा दर्शाइएको छ जब पावल आफू चढेको जहाज भताभुङ्ग भएर मल्टा टापुमा उत्रे जहाँ दयालु आदिवासीहरूको एउटा समूहसित उनको भेट भयो (पद १-२)। पावलले आगो बाल्न झिक्रा जम्मा गर्ने क्रममा एउटा घातक विषालु सर्पले उनको हातमा डस्यो। साधारणतया यस्तो डसाइले केही मीनेटमै मृत्युमा पुर्याउँथ्यो। यो देख्ने आदिवासीहरूले भने, “ ________________???” (पद ४)। यी आदिवासीहरूले आफूले देखेको कुरालाई मृत्युदण्ड ठाने र त्यसबाट उनीहरूले उनको अपराधको अड्कल काटे (तिनी हत्यारा हुनुपर्छ)। पछिबाट आफूहरू भूलमा परेको कुरा उनीहरूले बुझे, तर यहाँ भन्न खोजिएको कुरा यो हो कि यी आदिवासीहरूभित्र न्यायको एउटा मानदण्ड स्वभावैले थियो अनि तिनीहरू यो कुरा जान्दथे कि हत्याराहरू मृत्युदण्डको अपराधको योग्य हुन्छन्।
९) कुकर्मीको गवाही
लूका २३ मा हामी एउटा मानिसको इमानदार गवाही पढ्छौं जुन मान्छे उसले गरेका अपराधहरूका निम्ति मृत्युदण्ड भोग्दैथिए। यो चाहिँ रोमीहरूको क्रूसीकरणद्वाराको मृत्युदण्ड थियो। यो मान्छे एउटा कुकर्मी थियो, ऊ पक्राऊ परेको थियो र मृत्युदण्ड लायकका अपराधहरूको दोषी भेट्टाइएको थियो। आधुनिक समयमा मृत्युदण्ड दिइने तरिकाहरू रोमीहरूको क्रूसको दाँजोमा ज्यादै नरम र पीडारहित हुन्छन्। त्यो मान्छेले मृत्युदण्ड दिने सम्बन्धमा कस्तो विचार राख्थे? के त्यसलाई उनले निर्दयी र अमानवीय ठान्थे? के त्यसलाई उनले अन्यायपूर्ण र अनुचित ठान्थे? उसको गवाही यस्तो थियो (दोषी ठहराइएको अपराधीलाई सम्बोधन गरिएका उनका शब्दहरू):
“के तँ परमेश्वरको डर मान्दैनस्, जब कि तँ पनि त्यही दण्डमा परिरहेछस्? हामीले ता साँच्चै न्यायअनुसार नै; किनकि हामीले आफ्ना ”कामहरूको उचित फल पाइरहेछौं, तर यी मानिसले कुनै अनुचित काम गरेका छैनन्” (लूका २३:४०-४१)।
अर्को शब्दमा, तिनी भन्दैथिए, “हामीले ठीक जे पाउनुपर्ने त्यही पाउँदैछौं: क्रूसीकरणको मृत्यु। हामीले जे गरेका छौं त्यो मृत्यदण्डको योग्छ छ!” मानिसहरू र मानव सरकारहरूको सामु हामीमध्ये धेरैजसो मृत्युदण्डको योग्यका अपराधहरू गरेका हुँदैनौं। तरैपनि, पवित्र परमेश्वरका सामु हामी सबैले यो महसुस गर्नैपर्छ कि हामीले त्यस्ता केही कामहरू गरेका छौं जो मृत्युदण्डका योग्य छन् (हेर्नुस् रोमी १:२९-३२; ६:२३क)। जसरी पुरानो नियमले भन्दछ, “जुन प्राणीले पाप गर्छ, त्यही मर्छ” (इजिकिएल १८:४)। हामी कति धन्यवादी हुनुपर्छ कि हाम्रा प्रभु येशू ख्रीष्ट हाम्रा निम्ति हाम्रो मृत्युदण्ड भोग्नुभयो: “तर परमेश्वरले हामीतर्फ आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ - हामी पापी हुँदा-हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो” (रोमी ५:८)।
१०) एउटा निर्दोष व्यक्तिको मृत्यु
मृत्युदण्ड अभ्यास गरियो भने, के बेलाबखत निर्दोष व्यक्ति दोषी ठहराइएर मारिन सक्दैन र? हो, खेदको कुरा, यो सत्य हो। हाम्रो न्यायिक प्रणाली ज्यादै असिद्ध छ र कतिपटक दोषीहरू निर्दोष ठहराइन्छन् र निर्दोषहरू दण्डमा पर्छन् (दाँज्नुस् व्यवस्था २५:१)। मृत्युदण्ड अभ्यास नगरिए पनि यो सत्य हो कि कहिलेकाहिँ कतिपय निर्दोष मानिसहरू आजीवन कारागारमा पठाइन्छन्। हामीले यो बिर्सनुहुन्न कि स्वर्गमा एक सत्य र धर्मी न्यायकर्ता हुनुहुन्छ जसले सबै जान्नुहुन्छ र जसले एकदिन सबै गल्तीहरूलाई सच्च्याउनुहुनेछ र सबै बाङ्गा कुरालाई सोझ्याउनुहुनेछ। अनन्ततामा सबै कुरा सच्च्याइनेछ (लूका १६:२५ यसलाई दर्शाउने एउटा उदाहरण हो)। निर्दोष व्यक्ति मारिएको सबभन्दा ठूलो उदाहरण स्वयं प्रभु येशू ख्रीष्टको हो, “जसले कुनै पाप गर्नुभएन, न ता उहाँको मुखमा छल पाइयो” (१ पत्रुस २:२२)। आजसम्मको एकमात्र पापरहित व्यक्तिलाई क्रूसमा फाँसी दिइयो! ख्रीष्टको मृत्युको विचार गर्दा हामीले यो सम्झनुपर्छ कि उहाँले दुःख भोग्नुभएको र रगत बहाउनुभएको र मर्नुभएको हाम्रा पापहरूको निम्ति हो (१ कोरिन्थी १५:३; रोमी ५:८)।
“किनकि हामीलाई परमेश्वरकहाँ पुर्याउनालाई ख्रीष्टले पनि - धर्मी जनले अधर्मीहरूका निम्ति - पापहरूका लागि एकपल्ट दुःख भोग्नुभयो र शरीरमा मारिनुभयो, तर आत्माद्वारा जीवित पारिनुभयो” (१ पत्रुस ३:१८)।
दोषी त हामीहरू हौं जसले मृत्युदण्ड पाउनुपर्थ्यो (रोमी ६:२३), येशूले पूरै तिरिदिनुभयो! हामी बाँच्न सकौं भनेर उहाँ मर्नुभयो (यूहन्ना ५:२४)!

रोमी १३:५

हामी सरकारी अधिकारीहरूको अधीनतामा रहनुपर्छ भन्ने कुरा पावल यहाँ सिकाउँछन्: “तिमीहरू…अधीनतामा रहनुपर्छ”। यो आवश्यक छ! रहनुपर्छ! त्यसपछि उनले हामी किन अधीनतामा रहनुपर्छ भन्ने दुईटा कारणहरू दिन्छन्। १) “क्रोध” — हामी अधीनताबाट हट्न डराउँछौं; हामी परमेश्वरका सेवकसित डराउँछौं, जो “खराब काम गर्नेमाथि क्रोध प्रकट गरी बदला लिने परमेश्वरका सेवक हुन्” (पद ४)। योचाहिँ कानुन भङ्ग गरेको खण्डमा हामीले पाउनुपर्ने दण्डको सम्बन्धमा हामीसित एउटा स्वस्थ किसिमको डर हुनु हो। योचाहिँ देशका नियमहरूको विरुद्धमा लाग्ने र विद्रोह गर्नेहरू र तिनलाई उल्लङ्घन गर्नेहरूमाथि आइपर्ने नराम्रो प्रतिफलदेखि हामी डराउनु हो। अपराधलाई प्रतिरोध गर्ने (त्यो गर्नदेखि निरुत्साहित पार्ने) त्यहाँ केही न केही कुरा हुनैपर्छ। अधिकारीहरूले यदि दण्डलाई हटाइदिए भने, तिनीहरूले डरलाई पनि हटाउन पुग्छन्, अनि फलस्वरूप त्यहाँ अपराधको कुनै प्रतिरोधक रहँदैन। २) “विवेक” — हामी हाम्रो विवेकको कारणले अधीनतामा रहनुपर्छ। हामीसित सफा विवेक हुनु आवश्यक छ। सफा विवेक भएको व्यक्तिले भन्न सक्छ, “म जान्दछु म एउटा नियमबद्ध जिउने नागरिक हुँ। म परमेश्वरका व्यवस्थाहरू पालन गर्दैछु र म देशका व्यवस्थाहरू पनि पालन गर्दैछु। म यसो गर्छु किनकि परमेश्वरले यही आज्ञा छ।” धेरैजना मानिसहरू पहिलो कारणले अधीनतामा रहन्छन् (“क्रोध”) तर दोस्रो कारण (“विवेक”) ले होइन। उनीहरू तर्क गर्छन्, “जबसम्म म छलेर उम्कन सक्छु र सजायबाट बच्न सक्छु, तबसम्म नियम उल्लङ्घन गर्न मलाई कुनै समस्या लाग्दैन” (राजस्व, कर छल्ने, नक्कलि प्रमाण पत्र बनाउने, उमेर ढाँट्ने आदि काम)।
अन्य ठाउँमा बाइबलले यो सिकाउँछ कि यस्तो समय पनि हुन्छ जब हामी अधीनतामा रहनुहुँदैन, जब हाम्रा माथिका अधिकारीहरूको आज्ञा नमान्न आवश्यक पर्छ। तीनओटा उदाहरणहरू प्रस्ट छन्: १) दानियल ३ अध्यायमा जब शद्रक, मेशेक र अबेद-नेगोकोलाई राजा नबुकदनेसरले मूर्तिलाई ढोग्ने हुकुम गरे; २) दानियल ६ अध्यायामा जब दानियललाई प्रार्थन नगर भन्ने हुकुम गरियो; ३) प्रेरित ५ मा जब सुरुका ख्रीष्टियनहरूलाई धार्मिक अधिकारीहरूले प्रचार नगर भन्ने आदेश दिए। त्यस किसिमका मामिलाहरूमा अधिकारीहरू परमेश्वरकै अधिकारक्षेत्रभित्र छिरेका हुन्छन् जुनचाहिँ परमेश्वरको व्यवस्थापनको उल्लङ्घन हो। जब आज्ञाहरू जुध्छन्, तब हामी प्रेरित ५:२९ को शिक्षालाई पछ्याउनुपर्छ — “तब पत्रुस र अरू प्रेरितहरूले जवाफ दिँदै भने: “हामीले मानिसहरूको भन्दा परमेश्वरकै आज्ञा पालन गर्नुपर्छ।” मानव अधिकारीहरूको अवज्ञा गरेको दुईटा अरू उदाहरणहरू यी हुन्: १) हिब्रू सुडेनीहरू (प्रस्थान १:१५-१७); २) पूर्वबाट आएका विद्वानहरू जसले हेरोद राजाको स्पष्ट आज्ञालाई उल्लङ्घन गरे (मत्ती २:८,१२,१६)।
सरकारी अधिकारीहरूप्रतिको विश्वासीहरूको जिम्मेवारीको बारेमा बताउने अरू खण्डहरू यी हुन्: १ पत्रुस २:१३-१७; ३:१३-१४; ३:१६-१७।


पृष्ठ संशोधन मिति: Friday 03-Apr-15
WordofTruth.com.np © 2017