रोमी १३:११-१४

यस पृष्ठलाई छाप्नुहोस्

रोमी १३:११-१४

येशू ख्रीष्टमा विश्वास राख्नेहरू भएकाले हामी सुतिरहेको भेटिनुहुँदैन। हामी जागो र सतर्क, प्रभुको सेवा गरिरहेको हुनुपर्छ। तरैपनि, खेदको कुरा यो छ कि कति विश्वासीहरू आत्मिक निद्रा र झप्कीमा छन् जुन कारणले गर्दा परमेश्वरले एउटा जागरण ध्वनिको आवाज उठाउनुहुन्छ। नयाँ नियममा चारओटा खण्डहरू छन् जहाँ परमेश्वरले विश्वासीहरूलाई बिउँझ भन्नुहुन्छ!

१) एफेसी ५:१४

हे निदाउने, बिउँझ! उठ! उठ्ने समय भयो! आफूलाई बिउँझाऊ! विश्वासीहरू तिनीहरूको आत्मिक निद्राबाट झस्स्याङ्गै पारिनुपरेको छ।
विश्वासीहरू ख्रीष्टको निम्ति उठेर चम्कनुपरेको छ! किन? किनकि हामी ज्योतिका सन्तान हौं, अन्धकारका होइनौं (पद ८)। “मुर्दाहरूका बीचबाट उठ।” यस पदमा प्रयोग भएको भाषा बौरिउठाइको भाषा हो। विश्वासीहरूलाई आत्मिक पुनर्जागरण चाहिएको छ, विश्वासीहरू आत्मिक मृत अवस्थाबाट उठ्नुपरेको छ। हामी आत्मिक रूपमा जागो (बिउँझेको) हुनु खाँचो छ र हामी आत्मिक रूपमा जिउँदो हुनु खाँचो छ। यस पृथ्वीमा बाँच्नुको उद्देश्य नै हाम्रो प्रभु येशू ख्रीष्टको जीवन प्रकट गर्नु हो (२ कोरिन्थी ४:१०-११), उहाँको जीवन दर्शाउनु हो। येशू ख्रीष्ट आज जीवित हुनुहुन्छ भनेर संसारले कसरी जान्न सक्नेछ? उहाँका विश्वासी जनहरूमा उहाँ जिउनुभएको देखेर हो: “ख्रीष्ट मभित्र जिउनुहुन्छ” (गलाती २:२०)। यो कसरी पूरा हुन सक्छ? एफेसी ५:१८ नै चाबी हो: “आत्माले भरपूर होओ!”

२) १ कोरिन्थी १५:३२-३४

कोरिन्थको मण्डलीमा शिक्षाको एउटा गम्भीर समस्या थियो। कोरिन्थमा भएकाहरूमध्ये कतिले बौरिउठाइ हुँदैन भन्दैथिए (१ कोरिन्थी १५:१२)। यो झूटा शिक्षाअनुसार मानिसहरू मरेपछि सबै कुरा सकिन्छ! उनीहरू फेरि बौराइँदैनन्।

सही शिक्षालाई इन्कार गर्नु ज्यादै गम्भीर कुरा हो किनकि यसले नैतिक सडावट ल्याउँछ। एक व्यक्तिले विश्वास गरेको कुराले उसको व्यवहारलाई असर पार्दछ। झूटा शिक्षाले मानिसको जीवन जिउने तरिकालाई प्रभाव पार्दछ। उनीहरूको विश्वास ठीक छैन भने उनीहरूको जीवन ठीक हुँदैन। मरेकाहरू भोलि बौरेर उठ्दैनन् भने आज बरु शारीरिक अभिलाषाहरूमा किन नजिउने? भोलि मर्नुछ भने आज किन मोजमस्ती नगर्ने? एपिक्यूरियन अवधारणा यही थियो कि मान्छे जिउनुको उद्देश्य भनेको मोजमस्ती गर्नु हो: “खाऔं र पिऔं, किनकि भोलि ता हामी मर्छौं” (१ कोरिन्थी १५:३२)। एउटा एपिक्यूरियन झिङ्गाको एउटा प्राचीन किम्बदन्ती थियो जो एक भाँडो महमा डुब्दैथियो र मर्न लाग्दै थियो। झिङ्गाले भन्छ, “मैले खाएँ, पिएँ र नुहाएँ; म मरे भने मलाई कुनै फिक्री छैन।”

“धोका नखाओ; खराब सङ्गतहरूले असल चरित्र बिगार्छन्” (१ कोरिन्थी १५:३३)। “खराब सङ्गत” को माने हो “खराब मित्रताहरू, खराब साँठगाँठहरू”। खराब शिक्षा अँगाल्नेहरूसित र त्यसअनुसार व्यवहार गर्नेहरूसित सङ्गत नगर्नुहोस्। त्यसो गर्नुभयो भने तपाईं बिग्रनुहुनेछ। खराब सङ्गतले असल नैतिकता (असल चरित्र) लाई बिगार्छ। ठीक खालका मानिसहरूसित हिँड्नु र सङ्गत गर्नु ज्यादै महत्त्वपूर्ण कुरा हो (हितोपदेश १३:२०; भजनसङ्ग्रह ११९:६३)।

पावलको जागरण ध्वनि पद ३४ मा भेटिन्छ, “धार्मिकताका निम्ति जागी उठ, र पाप नगर; किनकि कतिसँग परमेश्वरको ज्ञान छैन; तिमीहरूलाई शर्ममा पार्नालाई म यो भन्दछु” (१ कोरिन्थी १५:३४)। यस पदमा “धार्मिकता” भनेर अनुदित शब्द वास्तवमा एउटा क्रियाविशेषण (adverb) हो: “धर्मी तवरले, ठीक तरिकाले, धर्मी तरिकाले जागी उठ।” “जागी उठ” को माने मातेर सुतेपछि होशमा उठ्नु हो, मात लागेर निद्रामा परेपछि आफ्नो होशमा आउनु हो। पावल भन्दैछन्, “होशमा फर्केर उठ! तिम्रो नैतिक बेहोसीपन र निद्राबाट उठ! यो बिगार्ने र झूटा शिक्षाको रक्सीले नमात। यो गलत शिक्षाको नराम्रो असरमुनि बसिरहन छोड।”

३) १ थेस्सलोनिकी ५:४-९

परमेश्वरको वचनको सत्यता जानेका हुनाले विश्वासीहरू संसारमा भइरहेका कुराको बारेमा सजग हुन्छन्। परमेश्वरले पवित्रशास्त्रमा प्रकट गर्नुभएको उहाँका भावी योजनाहरू विश्वासीहरू जान्दछन्। आउनेवाला घटनाहरूले नबाँचेकाहरूलाई भने बिलकुलै बेतयारी अवस्थामा भेट्टाउनेछन् (१ थेस्सलोनिकी ५:२-३)।

पद ४-५ हेर्नुस्। विश्वासीहरू अन्धकारमा छैनन्, यद्यपि एक समय उनीहरू त्यस अवस्थामा थिए (१ पत्रुस २:९; कलस्सी १:१३)। विश्वासीहरू ज्योतिका सन्तान हुन्। हामी संसारमा छौं तर संसारका होइनौं। हामी अन्धकारको संसारमा छौं तर हामी अन्धकारका होइनौं। हामी ज्योतिका हौं, दिनका हौं।

“यसैकारण हामी अरूझैं नसुतौं; तर हामी जागा रहौं र सचेत रहौं” (१ थेस्सलोनिकी ५:६)। यो बेग्लै किसिमको जागरण ध्वनि हो। अरू खण्डहरूमा “जागी उठ!” भनिएको थियो। यो खण्ड अलिकति यस प्रकारले बेग्लै छ कि यसले भन्छ, “ननिदाऊ!” यहाँ “अरू” भनेर जनाइएकाहरू नबाँचेका मानिसहरू हुन्। “सुतिरहेकाहरू” चाहिँ नबाँचेकाहरू हुन्। विश्वासीहरू जागा रहनुपर्छ। प्रभु येशू ख्रीष्टलाई आफ्ना मुक्तिदाताको रूपमा नचिन्नेहरू सुतिरहेका छन्! तिनीहरूका आत्मिक आँखा बन्द छन्। के हुँदैछ र उनीहरू कति भयङ्कर खतरामा छन् भन्न कुराको सम्बन्धमा उनीहरू अचेत छन्।

पद ७ मा हामी सिक्छौं कि सुत्ने काम रातको काम हो। यो काम दिवाको लागि बिलकुलै असुहाउँदो छ। तपाईं बैङ्कमा जानुभयो भने खजाञ्चीलाई सुतिरहेको त भेट्टाउनुहुन्न सामान्यतया। अथवा तपाईंले हुलाकीलाई तपाईंको घरको आगनमा सुतिरहेको त देख्नुहुन्न। त्यस्तो काम दिवा समयमा अनुचित र असुहाउँदो हुन्छ।

विश्वासीहरू दिवा समयका मानिसहरू हुन्। नबाँचेकाहरू रातका मानिसहरू हुन् (पद ८)। दिनका मानिसहरू ती हुन् जो जागो र सतर्क र सचेत हुन्छन्। ख्रीष्टका निम्ति जागा र जलिरहेको चम्किरहेको एकजना सचेत विश्वासीको सुन्दर बयान १ थेस्सलोनिकी ५:१६-१९ मा भेटिन्छ।

४) रोमी १३:११-१४

यो चाहिँ नयाँ निमयको चौथो खण्ड हो जसले हामीलाई परमेश्वरको जागरण ध्वनि सुनाउँछ।

रोमी १३:११

बिउँझने बेला भयो! वास्तवमा, तपाईं बिउँराखेको हुनुपर्ने! एकजना ढिलोसम्म सुतिरहेको युवालाई विचार गर्नुस्। उसका बुबाआमाको आवाज सुनिन्छ, “एई, उठ, उठ! यतिबेलासम्म के सुतिरहेको? कति बजिसक्यो थाहा छ? ढिलो भइसक्यो! तिमी त दुई घण्टा अघि उठिसक्नुपर्ने!” पावल भन्दैछन्, “यो कुन समय हो थाहा छ? यो सुत्ने समय होइन! यो त जागो र सतर्क रहनुपर्ने समय हो। उठ र प्रभुको सेवा गर!”

“हाम्रो मुक्ति” ले हाम्रो भविष्यको र अन्तिम मुक्तिलाई जनाउँछ। यसलाई “छुटकाराको दिन” (एफेसी ४:३०; रोमी ८:२३) पनि भनिएको छ। योचाहिँ त्यो घडी हो जब हाम्रो मुक्ति पूरा हुनेछ, त्यसले आफ्नो अन्तिम रूप प्राप्त गर्नेछ, अनि त्यो कत्रो रमाहटको दिन हुनेछ! तब हामी प्रभुको उपस्थितिमा हुनेछौं, पापको उपस्थितिबाट सदाको लागि स्वतन्त्र बन्नेछौं! हाम्रो मुक्ति पूरा हुने समय हामीले ख्रीष्टमा पहिले विश्वास गरेको दिनमा भन्दा नजिक छ। तपाईंले विश्वास गर्नुभएको कति वर्ष भयो? ___________। यसको माने तपाईंले पहिले विश्वास गरेको भन्दा अब __________ वर्ष नजिक हुनुहुन्छ। प्रभुको आगमन नजिक आउँदैछ, ख्रीष्टको दिन नजिकै छ र जुन परमेश्वरले तपाईंभित्र एउटा असल काम सुरु गर्नुभयो उहाँले त्यसलाई त्यो दिन पूर्णतामा पुर्याउनुहुनेछ (फिलिप्पी १:६)। हाम्रो छुटकारा र मुक्तिको अन्तिम दिन नजिकिँदै छ (लूका २१:२८ सित तुलना गर्नुस्)। त्यो दिन छिटो-छिटो आउँदैछ (तुलना गर्नुस् हिब्रू १०:२५)। अल्फोर्डले लेखेका छन्: “यस खण्डलाई निष्पक्ष हिसाबले व्याख्या गर्न खोज्ने व्यक्तिले यो महसुस गर्नेनैछ कि प्रेरित [पावल] ले यहाँ, अरू ठाउँमा जस्तै [१ थेस्सलोनिकी ४:१७; १ कोरिन्थी १५:५१] प्रभुको आगमन छिटोछिटो नजिकिँदै गरेको छ भनेर बताउँदैछन्।”

अहिले प्रभुको सेवा गर्नलाई समय सिमित छ। हाम्रा दिनहरू गन्तिमा थोरै छन्। हामी जागा रहन र समयलाई सदुपयोग गर्न र उहाँको सेवा गर्ने क्रममा हाम्रो परमेश्वरले हामीलाई दिनुहुने हरेक अवसरको सक्दो फाइदा उठाउन कति महत्त्वपूर्ण छ। हाम्रो अन्तिम मुक्तिको दिन जब आउनेछ, हामी फेरि पनि सुसमाचार घोषणा गरिरहेका हुँदैनौं। हामी अझ पनि ख्रीष्टका निम्ति आत्माहरू जितिरहेका हुँदैनौं। यस्ता कामहरू अहिले हामीले गर्ने काम हुन्, ख्रीष्टको खातिर र परमेश्वरको महिमाको निम्ति।

रोमी १३:१२

रात धेरै बितिसक्यो (रात छिप्पिसक्यो, करिब सकिसक्यो)। अझै पनि रातको समय छ, तर रात झण्डै बितिसक्यो। दिन आइसकेको छैन, तर झण्डै आइसक्यो। दिन “नजिकै” छ। दिन नजिकिँदैछ र झन् झन् नजिक झन् झन् नजिक आउँदैछ (तुलना गर्नुस् हिब्रू १०:२५)। “नजिकै” भन्ने शब्द पद ११ कै शब्द हो। यो मत्ती ३:२ मा “राज्य” को सम्बन्धमा प्रयोग भएको छ (राज्य “नजिकै आएको छ”) र याकूब ५:८ मा प्रभुको आगमनको सम्बन्धमा प्रयोग भएको छ। प्रभुको आगमन यति नजिक छ कि त्यो झण्डै आइसक्यो! हामी यो अन्धकारमय संसारमा बाँचिरहेका छौं। अझै पनि रातकै समय छ, तर दिन चाँडै खस्नेछ। हामी ख्रीष्टको आगमनको दिन पर्खँदैछौं (र्याप्चरको दिन)। “त्यो धन्यको आशाको बाटो हेर्दै” (तीतस २:१३)। “हाम्रो प्रभु येशू ख्रीष्टको आगमनको बाटो हेर्दै” (१ कोरिन्थी १:७ र पद ८ जहाँ उक्त आगमनलाई “ख्रीष्टको दिन” बराबर भएको मानिएको छ)। “फालौं” को माने “फुकाल्नु, कुनै कुरादेखि आफूलाई रहित पार्नु, लुगा फुकाल्नु जस्तै”। “भिरौं” को चाहिँ ठीक उल्टो माने हुन्छ (तसर्थ वस्त्र पहिरनु, वस्त्र पहिरेको हुनु, कुनै कुरा धारण गर्नु)। “हतियार” शब्दले हामी एउटा युद्धमा छौं भन्ने कुरा जनाउँदैछ। अझै पनि रातकै समय छ! हामी एउटा वास्तविक लडाइँमा छौं। सिपाहीहरू सुतिरहेको अवस्थामा भेटिनुहुँदैन। हामी जागो र सतर्क हुनुपर्छ ताकि हामी लड्न सकौं र जित्न सकौं! उठ र चम्क र लड! ज्योतिको हतियार भिर। परमेश्वरले विश्वासीको लागि प्रबन्ध गर्नुभएको पूर्ण हातहतियारको लागि एफेसी ६:१०-१८ र १ थेस्सलोनोकी ५:८ मा पढ्नुहोस्। रोचक कुरा के छ भने विश्वासीको हातहतियारको चर्चा गर्ने यी दुवै खण्डहरू परमेश्वरको जागरण ध्वनिबाट सुरु हुन्छन् (हेर्नुस् एफेसी ५:१४ र १ थेस्सलोनिकी ५:६)।

रोमी १३:१३

विश्वासीहरू “इमानदार भएर” अथवा शिष्ट(१ कोरिन्थी १४:४० कै शब्द)तरिकालेहिँड्नुपर्छ। ज्योतिका सन्तानलाई सुहाउने प्रकारले हामी हिँड्नुपर्छ। रातकै समय छ, तर हामी रातका होइनौं, अनि हामी यसरी हिँड्नुपर्छ जसरी दिन र ज्योतिको राज्यसित आवद्ध भएकाहरूलाई सुहाउँछ।हामीले फाल्नुपर्ने अन्धकारका केही त्यस्ता पापहरू यस पदमा सूचित गरिएका छन्:

पार्टीका पापहरू:
मोजमज्जा - अचाक्ली खानपान, मद्यपानोत्सव, होहल्लापूर्ण उत्सव(गलाती ५:२१ मा शरीरका कामहरूमध्ये एक)। हामीले मुक्ति पाउनुभन्दा अघिको हाम्रो पुरानो जीवनको बयान गर्न यही शब्दलाई १ पत्रुस ४:३ मा “रक्सीधोकाइ” भनेर अनुवाद गरिएको छ।

मतवालापन— लूका २१:३४ मा हर्नुस्। हामी जागा, सचेत र सतर्क रहनुपर्छ, रक्सीले मातेको नभएर आत्माले भरपूर हुनुपर्छ (एफेसी ५:१८)।
ओछ्यानका पापहरू:

व्यभिचार — अक्षरशः यसको माने हो “ओछ्यान”। यसले ओछ्यानमा गरिने पापपूर्ण क्रियाकलापलाई जनाइरहेको छ। विवाहको ओछ्यान पवित्र र निष्कलङ्क हुन्छ, तर सबै अरू “ओछ्यानहरू” परमेश्वरको न्यायमुनि पर्छन् (हिब्रू १३:४)। कुनै पनि किसिमको यौन अनैतिकता उहाँको निम्ति घिनलाग्दो कुरा हो जुन परमप्रभुले विवाहलाई एउटा पवित्र संस्थाको रूपमा र मानिसको भलाइको निम्ति स्थापना गर्नुभएको थियो।

कामुकता — यसले यौन उच्छृङ्खलतालाई जनाउँछ; अर्थात् लगामरहित अभिलाषा, सीमारहित भोगविलासीपन जसअन्तर्गत पत्नी सट्टापट्टा गर्ने, मद्यपान नैशोत्सव (मदिरा पान गरेर रातमा व्यभिचार पूर्ण तवरले मनाउने उत्सव) र अन्य यौन ज्यादतीहरू पर्दछन्। यो शब्दावली शरीरका कामहरूलाई जनाउन प्रयोग भएको छ (गलाती ५:१९), नबाँचेकाहरूको हिँडाइलाई (१ पत्रुस ४:३), हृदयको अवस्थालाई (मर्कूस ७:२२) र सदोमीहरूको व्यवहारलाई (२ पत्रुस २:७) बयान गर्न प्रयोग भएको छ।

शैतानिक पापहरू:
झगडा — अमेल, विवाद, कलह, बाझाबाझ, भनाभनी (हेर्नुस् गलाती ५:२० र १ कोरिन्थी १:११ र ३:३)। डाहा — अर्कासित भएको कुराको लागि वा अर्कोले गर्न सक्ने कुराले गर्दा डाही बन्नु (गलाती ५:२० हेर्नुस्)। झगडा र डाहा दुवैको जरामा घमन्ड रहेको हुन्छ, त्यही पाप जसले गर्दा शैतानको पतन भयो (हेर्नुस् १ तिमोथी ३:६ र दाँज्नुस् १ तिमोथी ६:४)।

रोमी १३:१४

पद १३ मा उल्लेखित अन्धकारका कामहरूको ठीक विपरीतमा विश्वासीहरूले ज्योतिका हतियार भिर्नुपर्छ, अर्थात् प्रभु येशू ख्रीष्टलाई, जो नै हाम्रो जीवन हुनुहुन्छ (कलस्सी ३:३-४)। “प्रबन्ध” शब्दको माने हो “पूर्वदृष्टि, वास्ता, पूर्वविचार”। जस्तै, एउटा परिवार छ जो यात्रामा जाँदैछ। तब उनीहरूले सामान्यता यात्राको लागि प्रबन्ध गर्दछ। त्यसको योजना बनाउँछ, राम्ररी सोचविचार पुर्याउँछ, यात्राको निम्ति चाहिएका सरसामान जुटाउँछ, यातायातको साधनको प्रबन्ध गर्दछ, इत्यादि। पापले त्यसको घातक काम गर्न सक्छ जब हामीले त्यसको निम्ति ठाउँ दिन्छौं। हामीले त्यसको निम्ति प्रबन्ध गर्छौं। हामीले त्यसको योजना गर्छौं र त्यसको बारेमा सोच्छौं र त्यसको निम्ति हामीले हजारौं फरकफरक तरिकाले प्रबन्ध गर्छौं। हामीले आफ्नो पुरानो, पापपूर्ण स्वभावलाई कसरी सन्तुष्ट पारौं भनेर हामीले सोच्नुहुँदैन र योजना गर्नुहुँदैन। याद गर्नुस्, शरीरलाई सुधार्न, राम्रो बनाउन, बदल्न, सुन्दर बनाउन सकिन्न। त्यसको समाधानको एउटै मात्र उपाय हो: क्रूस (मृत्यु!): “अनि जो ख्रीष्टका हुन् उनीहरूले शरीरलाई वासना र लालसाहरूसँगै क्रूसमा टाँगेका छन्” (गलाती ५:२४)।

प्रभु येशू ख्रीष्टलाई पहिर! “पहिर” को माने लुगा लगाउनु हो, आफूलाई वस्त्रले ढाक्नु। हामीले आफूलाई ख्रीष्टले पहिरनुपर्छ। हामीले उहाँको चरित्र पहिरनुपर्छ। लुगा प्रस्टै देखिने कुरा हो। मानिसहरूले हामीलाई हेर्दाखेरि उनीहरूले हाम्रा लुगाहरू सजिलै देख्न सक्छन्। मानिसहरूले हामीलाई हेर्दा, ख्रीष्ट देखिनुभएको होस्। हाम्रो चालचलनमा उहाँ देखिनुभएको होस्। मानिसहरूले हामीलाई हेर्दा, के तिनीहरूले प्रभु येशूलाई देख्छन् कि तिनीहरूले शरीर (पाप स्वभाव) को कुरूपता देख्छन्? तिनीहरूले व्यक्तिगत स्वार्थको लागि जिइरहेको जीवन देख्छन् कि उहाँको निम्ति जिइरहेको देख्छन् जो हाम्रा निम्ति मर्नुभयो र फेरि बौरनुभयो (२ कोरिन्थी ५:१५)?

एक व्यक्तिलाई पहिरने भन्ने कुरा हामीलाई अनौठो लाग्न सक्छ, तर ग्रीकहरूले यस अभिव्यक्तिको माने “उहाँको उदाहरणको देखासिकी गर्नु, उहाँको आत्माको नकल गर्नु, उहाँजस्तै हुनु” हो भनेर बुझ्थे। [कसैले सिंहको वस्त्राभूषण पहिरन्छ भने सामान्यतया ऊ सिंहको नक्कल गर्न खोज्छ, सिंहजस्तै हिँड्न खोज्छ, सिंहको जस्तै आवाज निकाल्न खोज्छ, आदि]। हामीले प्रभु येशू ख्रीष्टको सुन्दर चरित्र पहिरनुपर्छ ताकि उहाँ देखिनुभएको होस्। ख्रीष्टलाई पहिरनुहोस्! उहाँ नै हाम्रो जीवन हुनहुन्छ, हाम्रो पहिरन हुनुहुन्छ!

यस पदलाई गलाती ३:२७ सित तुलना गर्नुस् जहाँ सिकाइएको छ कि हरेक विश्वासीले ख्रीष्टलाई पहिरिसकेको छ:
तपाईंले ख्रीष्टलाई पहिरनुभएको छ (गलाती ३:२७)
ख्रीष्टलाई पहिरनुहोस् (रोमी १३:१४)

एउटा खण्डले तपाईंले त्यो गरिसक्नुभएको छ भन्छ; अर्को खण्डले तपाईंले त्यो गर्नुपर्छ भन्छ। गलातीको खण्डले विश्वासीको ओहोदाको चर्चा गर्दैछ; रोमीको खण्डले विश्वासीको अवस्थाको चर्चा गर्दैछ। ख्रीष्टमा हाम्रो एउटा सिद्ध ओहोदा छ, र यसको कारण हामीले ख्रीष्टलाई पहिरेका छौं। परमेश्वरले मलाई ख्रीष्टमा देख्नुहुनेभएकोले, म ख्रीष्टजस्तै छु। मसित उहाँको धार्मिकता छ! म उहाँमा सिद्ध र पूर्ण छु! मसित कुनै चरित्र खोट छैनन्! तर मेरो वास्तविक अवस्था (दिनदिनको हिँडाइ) को सम्बन्धमा, जब मानिसहरूले मलाई देख्छन्, के तिनीहरूले ख्रीष्टलाई देख्छन्? के उनीहरूले उहाँको चरित्र देख्छन्? के तिनीहरूले आत्मको फल देख्छन् (गलाती ५:२२-२३)?
नयाँ मान्छेलाई पहिरने सम्बन्धमा पनि यही कुरा हामी देख्छौं:

१ कलस्सी ३:९-१० तिमीले नयाँ मान्छे पहिरेका छौ (पूरा भइसकेको कुरा, गर्नुपर्ने आज्ञा होइन) एफेसी ४:२२-२४: नयाँ मान्छे पहिर (एउटा आज्ञा)

कलस्सीले तथ्यलाई प्रस्तुत गर्छ; एफेसीले विश्वासको माग गर्छ। जुन कुरा परमेश्वरले तथ्यको रूपमा पूरा गरिसक्नुभएको छ, त्यो कुरा हामीलाई विश्वासद्वारा गर्नलाई भनिएको छ। रोमी १३:१४ ले पनि ख्रीष्टमा भएको हाम्रो ओहोदाको तथ्यको आधारमा विश्वासको माग गर्दछ। विश्वासैद्वारा हामीले प्रभु येशू ख्रीष्टलाई पहिरनुपर्छ, अनि हामीमा उहाँको जीवन र चरित्र देखिन दिनुपर्छ। हामीले विश्वासैद्वारा आफूलाई पापका निम्ति साँच्चै मरेका, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरका निम्ति जिउँदा भएका ठान!” (रोमी ६:११)। जसरी भजन लेखकले भन्छन्,

“ख्रीष्टको सुन्दरता देखियोस्, आत्मा जित्ने प्रयासमा
माध्यम भूली देखून् सबले, केवल येशूलाई।”

- केट विल्किन्सन्