रोमी १३:६-१०

यस पृष्ठलाई छाप्नुहोस्

रोमी १३:६

हामीले कर तिर्नुपर्छ। किन? यी मानिसहरू परमेश्वरका सेवकहरू हुन् (१३:४) अनि हामीले परमेश्वरका सेवकहरूलाई टेवा दिनुपर्छ। उनीहरू सार्वजनिक सेवकहरू हुन् जोहरू परमेश्वरको इच्छा कार्यान्वयन गर्दैछन्, विशेष गरी जब उनीहरूले खराब गर्नेहरूलाई क्रोधले कारवाही गर्छन्। उनीहरू आ-आफ्ना सरकारी सेवामा निरन्तर लागिरहन्छन् (“तिनीहरू यही काममा निरन्तर लागिरहने”) र उनीहरूलाई टेवा दिइनु खाँचो छ। हाम्रो पक्षमा सेवा गर्ने र काम गर्ने प्रहरीहरू, आगलागी नियन्त्रकहरू र अन्य सार्वजनिक सेवकहरूका निम्ति हामी कति धन्यवादी हुनुपर्छ। उनीहरूलाई आर्थिक पारिश्रमिक दिइनुपर्छ।

रोमी १३:७

“तिनीहरूलाई दिनुपर्ने कुरा देओ”= ऋण लागेको कुरा फिर्ता दिनु, जे वास्तवमा अर्काको हो त्यो तिनीहरूलाई दिनु। हाम्रो समाजप्रति हाम्रो ऋण छ। सबै मानिसहरूप्रति रहेको हाम्रो दायित्वलाई हामीले पूरा गर्नुपर्छ। हामीले दिनुपर्ने त्यहाँ चारओटा कुरा छन्: कर, भन्सार, डर र आदर। “कर” = व्यक्तिलाई र जायजेथालाई लाग्ने कर, विशेष गरी सिजर (रोम) लाई तिर्नुपर्ने; “भन्सार” = आयात र निर्यात गरिने सामानलाई लाग्ने कर, पटके कर। त्यहाँ कोही छन् जो हाम्रो डर अथवा सम्मानको योग्य छन्। त्यहाँ कोही छन् जो हाम्रो आदरको योग्य छन्। पुलिस अफिसरहरू, न्यायधीशहरू जस्ता पदमा रहेका व्यक्तिहरू हाम्रो सम्मान र आदरको योग्य हुन्छन्। १ पत्रुस २:१७ मा “सबै मानिसहरूलाई आदर गर” भनी हामीलाई भनिएको छ। कर र भन्सार सम्बन्धी हाम्रा प्रभुले सिकाउनुभएको कुरालाई सम्झना गरौं: मत्ती १७:२४-२७ र लूका २०:२१-२६।

रोमी १३:८

“कुनै पनि कुरामा कसैको ऋणी नहोओ” = कसैप्रति कुनै कुराको ऋणी नहोओ। यस महत्त्वपूर्ण वाक्यांशको व्याख्या दुई तरिकाले गर्ने गरिएको छ: १) म कसैको ऋणी छैन किनकि म कहिल्यै ऋण लिने गर्दिनँ। म पैसा सापट लिन इन्कार गर्छु। म क्रेडिट कार्ड प्रयोग गर्न इन्कार गर्छु। आफूसित पैसा नभएसम्म म कुनै पनि कुरा किन्न इन्कार गर्छु। म कहिल्यै कुनै कुरा सापट लिनेछैन र फलस्वरूप म कसैप्रति कहिल्यै ऋणी हुनुपर्नेछैन। २) म कसैको ऋणी छैन किनकि मैले मेरा सबै ऋणहरू तिरेको छु। मैले मेरा सबै दायित्वहरू पूरा गरेको छु जब तिर्ने बेला हुन्छ। म कतिजना प्रति ऋणी थिएँ तर मैले मेरा ऋणहरू समयमै तिरेको छु र मैले आफ्ना दायित्यवहरू पूरा गरेको छु। मैले कुनै पनि ऋणहरू नतिरी राखेको छैन। पहिलो व्याख्या सही हुन सक्दैन भन्ने धेरै कारणहरू छन्। यस व्याख्याले भन्छ, “म कसैप्रति ऋणी छैन किनकि म कहिल्यै ऋणमा परेको छैन।” यसले अघिल्लो पद (पद ७) लाई खण्डन गर्दछ जहाँ भनिएको छ कि हामीले सबैलाई जे-जे दिन हामी ऋणी छौं त्यो दिनुपर्छ (भन्नाले, हामी हाम्रो समाजका मानिसहरूप्रति ऋणी छौं र हामीले उनीहरूलाई ती कुराहरू तिर्नुपर्छ जो उनीहरूलाई दिनुपर्छ)। तसर्थ, सातौं पदको जोड हामीले ऋण बोक्नुहुन्न भन्ने होइन कि बरु ती ऋणहरूको टुङ्गो लाउनुपर्छ र जे हामीले दिनुपर्छ त्यो फिर्ता दिनुपर्छ (तिर्नुपर्छ) भन्ने हो। तसर्थ हामीले पद ८ लाई यसरी बुझ्नुपर्छ: “म कसैप्रति ऋणी छैन किनकि मैले हरेक मानिसलाई मैले उसलाई दिनुपर्ने कुरा दिएको छु।” तसर्थ पद ८ को माने “कहिल्यै ऋण लिनुहुन्न” भन्ने हो भन्ने व्याख्यालाई रद्द गर्छौं। यसको माने बुझिनुपर्ने यसरी हो: “आफ्ना ऋणहरू तिर्नू (जे ऋण लागेको छ तिर्नू) ताकि तिमी कसैप्रति ऋणी नहोओ।”

यदि अर्को व्याख्या सही हुँदो हो त (“ऋण कहिल्यै लिनुहुन्न”), सबै सापटी लिने काम पापपूर्ण हुनेथ्यो, किनकि तपाईंले आफूलाई ऋणमा पार्नुहुनेथ्यो र सापट लिइएको कुरा तिर्न वा फिर्ता गर्न तपाईंको दायित्व हुनेथ्यो। यसअन्तर्गत पैसा मात्र नभई कुनै पनि सामान सापट लिने कुरा पर्नेथ्यो (जस्तै पुस्तकालयबाट किताब सापट लिनु, छिमेकीको मोबाइल चार्जर सापट लिनु, आदि)। साथै, सापट दिनु पनि गलत हुनेथ्यो किनकि त्यसो गरेर पापलाई हौसला दिइनेथ्यो (तपाईंले कसैलाई सापट लिन हौसला दिनुहुनेथ्यो र यसरी उसलाई ऋणी बन्न हौसला दिनुहुनेथ्यो)।

त्यसैले हामीले यो प्रश्न सोध्नुपर्ने हुन्छ: के पवित्रशास्त्रले सापट लिने दिने कामलाई दोष्याएको छ? यद्यपि बाइबलले सापट लिँदाका खतराहरू बारे हामीलाई चेतावनी दिन्छ, यसले यस कार्यलाई नै दोष्याएको छैन। भन्नुपर्दा, पवित्रशास्त्रले सापट दिन समेत हौसला दिन्छ। निम्न खण्डहरूलाई विचार गर्नुहोस्:

भजनसङ्ग्रह picture

११२:५ — भलो मानिसले कृपा देखाउँछ र उधारो दिन्छ; उसले आफ्ना कामकुरा सुझबुझले सञ्चालन गर्छ।
हितोपदेश १९:१७ — जसले गरिबमाथि दया देखाउँछ, उसले परमप्रभुलाई सापट दिन्छ; अनि उसले जे दिएको छ, त्यो उहाँले उसलाई फिर्ता गरिदिनुहुनेछ।
गरिबलाई सापट दिनु नोक्सानी ल्याउने कदम हो किनकि गरिबले ऋण फिर्ता दिन सक्दैन। तर गरिबलाई दिने काम (जब त्यो ठीक समयमा र ठीक तरिकामा गरिन्छ) लाई यहाँ परमप्रभुलाई सापट दिएको मानिएको छ, किनकि परमप्रभुले त्यसलाई फिर्ता तिरिदिनुहुन्छ जसले गरिबलाई दिन्छ।
“अनि एकजनाले एउटा बलोको काठ ढाल्दै गर्दा बन्चरो बिँडबाट खुस्केर पानीभित्र खस्यो; र तिनले पुकारेर भने: “हाय, मेरा स्वामी! किनकि यो ता मागेर ल्याइएको चीज थियो!” (२ राजा ६:५)
त्यो बन्चरो सापट लिनुमा कुनै आपत्ति थिएन। यहाँ आपत्ति कुन कुरामा आयो भने सापट लिइएको कुरा नदीभित्र हरायो जसले गर्दा त्यसलाई फिर्ता दिन असम्भव भयो। पवित्रशास्त्रले दोष्याएको कुरा सापट लिने कामलाई होइन तर सापट लिइएका सामानहरूलाई फिर्ता नदिने कामलाई र सापटलाई नतिर्ने कामलाई हो।
“धनीले गरिबहरूमाथि शासन चलाउँछ; अनि ऋण लिने ऋण दिनेको दास हुन्छ” (हितोपदेश २२:७)

सापट लिने व्यक्ति सापट दिने व्यक्तिको दास बन्दछ। यसले सापट लिने कामलाई दोष्याउँदैन तर यसमा रहेको खतराको विरूद्धमा चेतावनी दिन्छ। आफूलाई दीर्घकालीन ऋणमा पार्नुमा ठूलो खतरा छ। हामीले आफ्ना ऋणहरू सकेसम्म चाँडो तिर्नुपर्छ र हामीले तिर्न सक्ने भन्दा बढी ऋण लिनुहुँदैन भन्ने कुरामा एकदम होशियार हुनुपर्छ।
“दुष्टले ऋण लिन्छ, र तिर्दैन; तर धर्मी जनले कृपा देखाउँछ र दिन्छ” (भजनसङ्ग्रह ३७:२१)।

यस पदको पहिलो भागलाई विचार गर्नुहोस्। यस मानिसलाई किन “दुष्ट” भनियो? उसले सापट लिएकोले त होइन, तर उसले सापट लिएको कुरा फिर्ता नदिएकोले हो। आफूले सापट लिएको कुरा फिर्ता नदिनु वास्तवमा एक किसिमको चोरी हो। यो चाहिँ कुनै कुरा बढी लामो समयको लागि आफूसित राखिराख्नु र त्यो आफ्नै भएजस्तै चलाउनु हो, जब कि त्यो त्यसको आधिकारीक मालिकलाई फिर्ता दिइनुपर्थ्यो। मानौं तपाईंले आफ्नो छिमेकीको मोबाइल चार्जर चोर्नुभयो र त्यो तपाईंको कोठामा भेटियो। अब मानौं तपाईंले आफ्नो छिमेकीको मोबाइल चार्जर सापट लिनुभयो र त्यो फिर्ता दिन विफल हुनुभयो र महिनौंपछि पनि त्यो तपाईंको कोठामा भेटियो। दुवैमा तपाईंले जुन कुरा आफ्नो छिमेकिको हो त्यसलाई गलत तवरले आफूसित राख्नुभएको छ। त्यो सामान आफ्नै सामान भएजस्तै तपाईंले व्यवहार गर्नुहुँदैन, किनकि त्यो तपाईंको होइन। हामीले अर्काको सामानको आदर गर्नुपर्छ। माथिका दुईटा उदाहरणहरूका बीच फरक यति हो कि त्यो चार्जर तपाईंको कोठामा कसरी आइपुग्यो भन्ने कुरामा। पहिलो उदाहरणमा त्यो चोरीको पापले त्यहाँ आइपुग्यो। दोस्रो उदाहरणमा त्यो त्यहाँ आइपुग्यो किनकि त्यो तपाईंको छिमेकीको अनुमतिले तपाईंले सापट लिनुभयो। तपाईंले त्यो प्रयोग गर्न सक्नुहुन्छ भनेर छिमेकीले भन्यो। तर त्यो प्रयोग गर्न सक्नुहुन्छ र महिनौंसम्म राख्न सक्नुहुन्छ भनेर त छिमेकीले भनेको थिएन!

पुस्तकालयको विचार गर्नुहोस्। पुस्तकालयबाट किताब वा सीडी सापट लिनु कुनै गलती होइन। पुस्तकालय यसैका लागि हो अनि त्यसो गर्नु हौसला दिइन्छ। गलती तब हुन्छ जब हामीले समयमै किताबहरू फिर्ता ल्याउँदैनौं। त्यतिबेला जरिवाना र फाइन तिर्नुपर्ने हुन्छ।
“तर उसका निम्ति [गरिब मानसिका निम्ति] तिमीले आफ्नो मुठी ठूलो खोल्नु, र निश्चय उसलाई जे खाँचो छ, उसको त्यस खाँचोका निम्ति पुग्ने गरी उधारो दिनू!” (व्यवस्था १५:८)।

यहाँ उधारो दिन हौसला दिइएको छ।
“अनि उनीहरूबाट फिर्ता पाउने आशा राखी तिमीहरूले उनीहरूलाई सापट दिँदछौ भने त्यसमा तिमीहरूलाई के स्याबासी छ र? किनकि पापीहरूले पनि पापीहरूलाई दिएको जति फिर्ता पाउने आशामा सापट दिँदछन्। तर तिमीहरूका शत्रुहरूलाई प्रेम गर, र भलाइ गर, अनि फेरि केही पाउने आशा नगरीकन सापट देओ; र तिमीहरूको इनाम ठूलो हुनेछ, र तिमीहरू परमप्रधानका सन्तान हुनेछौ। किनकि उहाँ अधन्यवादी र दुष्टहरूप्रति दयालु हुनुहुन्छ” (लूका ६:३४-३५)।

यदि सापट दिनु आफैमा पाप हुँदो हो त, प्रभु येशूले कहिल्यै यसरी भन्नुहुनेथिएन। यहाँ सिकाइएको कुरा यो हो कि उनीहरूले हामीलाई बदलामा खराब गरे तापनि हामीले आफ्ना शत्रुहरूलाई प्रेम गर्नुपर्छ र उनीहरूको भलाइ गर्नुपर्छ। यहाँ हामीले गर्न सक्ने भलाइ भनेको सापट दिनु हो र उनीहरूले हामीलाई गर्न सक्ने खराबी भनेको उनीहरूले त्यो फिर्ता नदिन सक्ने सम्भावना हो।
“ऊ सदा कृपालु रहन्छ, र ऋण दिन्छ; अनि उसको सन्तान आशिषित हुन्छ” (भजनसङ्ग्रह ३७:२६)। धर्मी मानिस अनुग्रही हुन्छ र उसले ऋण दिन्छ
याद गर्नुहोस्, सापट लिनु पाप हुँदो हो त [जसरी कतिले रोमी १३:८ लाई गलत व्याख्या गरी सिकाउँछन्], ऋण दिनु पनि पाप हुनेथ्यो। किन? किनभने कसैलाई ऋण दिँदा उक्त व्यक्ति ऋणी बन्नेथ्यो र फलस्वरूप पापी हुनेथ्यो। ऋण दिने कामले अर्कोलाई पाप गर्न लाउँछ भने, ऋण दिनु गलत हुनेथ्यो। तर माथिका पदहरूले सिकाएको कुरा यो होइन। साँच्चै, प्रभु येशूले भन्नुभयो,
“जसले तिमीसित माग्छ, त्यसलाई देऊ; अनि जसले तिमीसँग सापट लिन चाहन्छ, त्यसपट्टि पिठ्यूँ नफर्काऊ” (मत्ती ५:४२)।
रोमी १३:८ को साँचो माने यो हो कि हामीले जिम्मेवारपूर्ण तवरले आफ्ना ऋणहरू तिर्नुपर्छ जसको फलस्वरूप “कसैको ऋणी नहोओ” भन्ने वचन पूरा होओस्। यसको माने तपाईं कहिल्यै ऋणमा पर्नुहुँदैन भन्ने होइन, किनकि त्यसो हुँदो हो त तपाईंले पुस्तकालयको किताब लिनुहुँदैन, कसैसित कलम सापट लिनुहुँदैन र छिमेकिसित उसको हँसिया वा हथौडि सापट लिनुहुँदैन।

यो नै सही माने हो भन्ने कुरा पदको अघिल्लो भागले प्रस्ट पार्दछ: “एक-अर्कालाई प्रेम गर्नुबाहेक कुनै पनि कुरामा कसैको ऋणी नहोओ; किनकि जसले अर्कोलाई प्रेम गर्दछ, उसैले व्यवस्था पूरा गरेको छ” (रोमी १३:८)। हामी कहिल्यै ऋणमा पर्नुहुँदैन भन्ने अवधारणाले यो सिकाउँछ कि हाम्रो कुनै दायित्वहरू हुनुहुँदैन। रोमी १३:८ ले हाम्रो कुनै दायत्वहरू हुनुहुँदैन भनेर सिकाउँदैन, तर बरु हामीले हाम्रा ऋणहरू तिरेर हाम्रा दायित्वहरू पूरा गर्नुपर्छ। तरैपनि त्यहाँ एउटा यस्तो दायित्व छ जुनचाहिँ हामीसँग सधैं भइरहन्छ अनि त्यो दायित्व हो प्रेमको ऋण। तपाईंले उक्त ऋण जति बढी तिर्नुहुन्छ, त्यति नै बढी तपाईंलाई ऋण लाग्छ।

मानौं तपाईंलाई कसैको १०० रुपैयाँ ऋण लागेको छ। एक हप्ता पछि तपाईंले उसलाई यति पैसा फिर्ता दिनुभयो। तब तपाईं भन्न सक्नुहुन्छ, “मैले आफ्नो दायित्व र जिम्मेवारी पूरा गरेको छु। म अब उसो ऋणमा छैन। यो पार लागिसक्यो। मैले अरू तिर्नुपर्दैन।” यसको तुलनामा, जब तपाईंले कसैलाई प्रेम देखाउनुहुन्छ र अर्को व्यक्तिको खातिर तपाईंले आफैलाई दिनुहुन्छ, तब तपाईंले भन्न सक्नुहुन्न, “मैले आफ्नो जिम्मेवारी पूरा गरेको छु। मैले यस व्यक्तिलाई प्रेम गरेँ र अब उसो मेरो दायित्व बाँकी छैन। मैले यस व्यक्तिलाई फेरि प्रेम गर्नुपर्दैन।” होइन, प्रेम यस्तो दायित्व हो जो निरन्तर रहन्छ र हामीले त्यो तिरिरहनुपर्छ।

मुक्तिको उदाहरण: हाम्रा पापहरूको कारण हामीलाई परमेश्वरप्रति ठूलो ऋण लागेको थियो। ख्रीष्टले यस्तो ऋण तिर्नलाई आउनुभयो जुन ऋण उहाँको थिएन किनकि हामीलाई यस्तो ऋण लागेको थियो जुन हामी तिर्न सक्दैनथ्यौं। “पापको ज्याला मृत्यु हो” र हामीले हाम्रो ऋण तिर्न सक्ने एउटै उपाय भनेको आगोको झीलमा अनन्तसम्म परमेश्वरबाट अलग गरिनु (मृत्यु) थियो। तर क्रूसमा प्रभु येशूले हाम्रो ठाउँ लिनुभयो, उहाँ हाम्रो प्रतिस्थापकको रूपमा मर्नुभयो र हामीलाई लागेको ऋण उहाँले पूरै तिरिदिनुभयो। पापीले सोध्न सक्थ्यो, “तर परमेश्वर, मेरो पापको कारण के अनन्तसम्म आगोको झीलमा बिताउनुपर्ने मेरो दायित्व छैन र?” परमेश्वरको जवाफ हुनेथ्यो, “त्यो ऋण तिरिसकिएको छ भन्ने कुरामा म पूर्णरूपमा सन्तुष्ट छु। मेरो प्रिय पुत्रले पूरै त्यो सबै तिरिसक्यो!” जसरी भजनले भन्दछ, “मेरो पापको ऋण येशूले तिरे, पापको त्यो रक्ताम्मे दाग हिँउसरी पारे!”

मेरो छिमेकीप्रतिको मेरो जिम्मेवारी मैले कसरी पूरा गर्न सक्छु? प्रेम बिना त्यसो गर्नु असम्भव छ: “किनकि जसले अर्कोलाई प्रेम गर्दछ, उसैले व्यवस्था पूरा गरेको छ।” गलाती ५:१४ ले पनि यही सिकाउँछ: “किनकि सारा व्यवस्था एउटै शब्दमा अर्थात् ‘तिमीले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर’ भन्ने कुरामा पूरा हुन्छ।”

रोमी १३:९-१०

यस पदमा पावलले व्यवस्थाको दोस्रो पाटीबाट उद्दरण गर्छन् जसले हाम्रो मानवमुखी जिम्मेवारीहरूसित सम्बन्ध राख्दछ, अर्थात् हाम्रो छिमेकीप्रतिका हाम्रा दायित्वहरूसित। उनले सातौं, छैठौं, आठौं, नवौं र दसौं आज्ञाहरूबाट उद्दरण गर्दछन् (हेर्नुहोस् प्रस्थान २०:१३-१७) र त्यसपछि उनले लेवी १९:१८ मा पाइने संक्षिप्त आज्ञालाई उल्लेख गर्छन्, “तिमीले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर्नू”, जुन आज्ञा प्रभु येशूले दोस्रो ठूलो आज्ञा हो भन्नुभयो (मत्ती २२:३८-३९)। यदि हामीले प्रभु परमेश्वरलाई साँच्ची नै प्रेम गर्दछौं भने (सबभन्दा ठूलो आज्ञा), हामी एउटा मूर्तिको सामु झुक्नेछैनौं, उहाँको नाम व्यर्थमा लिनेछैनौं, आदि। “प्रेमले आफ्नो छिमेकीको कुनै खराबी गर्दैन” (पद १०)। यदि हामी आफ्नो छिमेकीलाई साँच्ची नै प्रेम गर्छौं भने, हामीले उसको केही चोर्नेछैनौं, उसको पत्नीसित व्यभिचार गर्नेछैनौं, उसको हत्या गर्नेछैनौं, उसको कुनै कुराको लोभ गर्नेछैनौं, आदि। यसैले गर्दा हो प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो। यदि तपाईं परमेश्वरलाई र आफ्नो छिमेकीलाई ठीकसँग प्रेम गर्नुहुन्छ भने त्यो तपाईंले व्यवस्था पालन गर्नुभएको र त्यसका मागहरू पूरा गर्नुभएको बराबर हो। पद ९ ले भन्छ सम्पूर्ण व्यवस्थाको सार (“ती सबैको सार”) यही हो! व्यवस्थाका ६१३ ओटा आज्ञाहरूको सार प्रस्थान २० अध्याय र व्यवस्था ५ अध्यायमा भेटिने दस आज्ञाहरू हुन्। यी दस आज्ञाहरूको सार मत्ती २२:३६-४० मा भेटिने दुई आज्ञाहरू हुन्। यी दुई आज्ञाहरूको सार एउटै शब्द हो: “प्रेम”।
तर हामीले प्रेम कसरी गर्न सक्छौं त? हामी आफैंमा यो असम्भव छ! यसको चाबी भेटिन्छ गलाती ५:१६,२२ र रोमी ८:२-४ मा।

परमेश्वरको जागरण ध्वनि!