रोमी १४:१-६

यस पृष्ठलाई छाप्नुहोस्

रोमी अध्याय १४

रोमी १४:१

यस पदमा बयान गरिएको कमजोर व्यक्ति को हो? ऊ कमजोर छ, बलियो छैन, तर ऊ एक विश्वासी हो किनकि ऊ “विश्वासमा” छ। शिक्षाको बुझाइमा ऊ कमजोर छ। हुन सक्छ ऊ एक नयाँ विश्वासी हो अथवा परमेश्वरका कुराहरूमा बढ्न सकेको छैन (२ पत्रुस ३:१८; १ कोरिन्थी ३:१-४)। हुन सक्छ ऊ खाँटी शिक्षाको मुनि हुर्कन पाएको छैन। उक्त कमजोर विश्वासी पापमै जिइरहेको त छैन। सन्दर्भलाई हेर्दा त्यहाँ कुनै नैतिक समस्या संलग्न भएको देखिँदैन। तरैपनि, उक्त व्यक्तिले ख्रीष्टिय स्वतन्त्रताको विषय नै नबुझेको देखिन्छ।

यस कमजोर भाइप्रति हाम्रो जिम्मेवारी कस्तो हुनुपर्छ त? त्यस्तोलाई “ग्रहण” गर्नुपर्छ। यस व्यक्तिलाई अस्वीकार नगर। उसलाई ग्रहण गर्नुपर्छ, उसलाई आफूकहाँ लिनुपर्छ, ग्रहण गर्नुपर्छ, उसलाई आफ्नैजस्तो ठान्नुपर्छ, उसलाई ख्रीष्टमा एक प्रिय भाइ ठान्नुपर्छ। “ग्रहण” भन्ने शब्दलाई प्रेरित २८:२ मा “स्वागत गरे” भनेर अनुवाद गरिएको छ: “अनिती आदिवासी मानिसहरूले हामीलाई ठूलो दया देखाए; किनभने पानी परिरहेको र जाडो भएको हुनाले तिनीहरूले आगो बाले, र हामी सबैलाई स्वागत गरे।”. आदिवासीहरूबाट पावलले न्यानो स्वागत पाए र असल व्यवहार पाए। कमजोर विश्वासीहरूलाई ख्रीष्टको खातिर दयालु व्यवहार गरिनुपर्छ।

यस कमजोर विश्वासीलाई हामीले किन ग्रहण गर्नुपर्छ? यसको कारण पद ३ को अन्तमा बताइएको छ: “किनकि परमेश्वरले उसलाई ग्रहण गर्नुभएको छ।” साथै रोमी १५:७ मा पनि हेर्नुहोस्। ख्रीष्टले उसलाई ग्रहण गर्नुभएको छ भने, कसरी हामीले उसलाई अस्वीकार गर्न सक्छौं र? प्रभुले हामीलाई ग्रहण गर्नुभयो भन्ने कुरामा हामी कति धन्यवादी हुनुपर्छ: “पिताले मलाई जतिजना दिनुहुन्छ, ती सबै मकहाँ आउनेछन्; अनि जो मकहाँ आउँछ, उसलाई म कुनै रीतिले अफाल्नेछैन” (यूहन्ना ६:३७)! परमेश्वरले हामीलाई ग्रहण गर्नुभएको छ र हामीलाई कहिल्यै अफाल्नुहुनेछैन र अस्वीकार गर्नुहुनेछैन।

“शङ्कापूर्ण कुराहरूको विषयमा वादविवाद” — कमजोर विश्वासीलाई ठूलो वादविवाद र झगडा गर्ने उद्देश्यमा ग्रहण नगर्नुहोस्। उसका सङ्कुचित विचारधाराहरूको आलोचना गर्ने र उसका विचारधारणाहरूलाई न्याय गर्ने उद्देश्यले नै उसलाई ग्रहण नगर्नुहोस्: “तपाईंलाई हाम्रो मण्डलीमा आउन त दिन्छौं तर ख्रीष्टियनहरूले के-के खान हुन्छ भन्ने कुराको बारेमा चाहिँ तपाईंले धेरै सिक्नुछ भन्ने कुराचाहिँ महसुस गर्नुपर्छ!” “यद्यपि तपाईं केही गम्भिर कुराहरूमा अड्किरहनुभएको छ, तपाईंलाई यहाँ स्वागत छ, तर हामीले तपाईंलाई सोझ्याउनै पर्छ।” “अब तपाईं हामीसित आवद्ध बन्नुभएको नाताले हामीले के खान हुन्छ र हुँदैन भन्ने विषयमा हामी वादविवाद गरौं र तपाईं गलती हुनुहुन्छ भनेर म बाइबलबाट प्रमाणित गरेर देखाउँछु!” कमजोर विश्वासीलाई ग्रहण गरिनुपर्ने तरिका यस्तो होइन।

रोमी १४:२

सही शिक्षा बुझेको विश्वासीले जान्दछ उसले सबै कुराहरू खान सक्छ। व्यवस्थाअन्तर्गत यहूदीहरूले केही खानेकुराहरू खान सक्थे र केही खानेकुराहरू खान सक्दैनथे (लेवी ११ पढ्नुहोस्)। परमेश्वरले उनीहरूलाई शुद्ध र अशुद्धका बीच अनि पवित्र र अपवित्रका बीच भिन्नता राख्न सिकाउँदै हुनुहुन्थ्यो, (लेवी ११:४४-४७)। वर्तमान प्रबन्धमा परमेश्वरले सृष्टि गर्नुभएको कुनै पनि कुरा निषेधित छैन यदि त्यो धन्यवादसाथ ग्रहण गरिन्छ भने: “ किनकि परमेश्वरले सृष्टि गर्नुभएको हरेक वस्तु असल छ, र धन्यवादसाथ लिइयो भने ुनै कुरा पनि अस्वीकार गरिने लायकको छैन; किनकि यो परमेश्वरको वचन र प्रार्थनाद्वारा पवित्र गरिन्छ” (१ तिमोथी ४:४-५)। रोमी १४:२ मा उल्लेखित कमजोर विश्वासीको केवल सागपात वा सब्जीहरू मात्र खाने बानी रहेछ, सबै कुरा खान मिल्दैन भन्ने उसको विश्वास रहेछ (मासु निषेधित छ भन्ने विश्वास गर्दो रहेछ)।

रोमी १४:३

यो पद बलियो र कमजोर दुवै खालको विश्वासीलाई चेतावनी हो। बलियो विश्वासीमा कमजोरलाई तुच्छ ठान्ने प्रवृत्ति हुन्छ (उसलाई तल्लो दर्जाको ठान्नु, आफूभन्दा मुनिको ठान्नु)। कमजोर विश्वासीमा चाहिँ बलियोलाई न्याय गर्ने वा आलोचना गर्ने प्रवृत्ति हुन्छ।

बलियो विश्वासी भन्ला, “कस्तो मूर्ख शाकाहारी! तपाईं शिक्षामा यतिसम्म कमजोर कसरी हुनुभएको? ख्रीष्टमा विश्वासीहरू भएको नाताले हामीले सबै कुराहरू खान सक्छौं भनेर तपाईंलाई त्यति पनि थाहा छैन?” [तुच्छ ठान्ने काम]

कमजोर विश्वासीले भन्ला, “तपाईंले मासु खान नहुने थियो। तपाईंले सुङ्गुरको मासु खान नहुने थियो। तपाईंले यस्तो काम गर्नु गलत हो!” [न्याय गर्ने काम] पद ३ को अन्तिम वाक्यांश [“परमेश्वरले त्यसलाई ग्रहण गर्नुभएको छ”] ले सम्भवतः बलियो विश्वासीलाई मात्र जनाउँदछ जसलाई कमजोर विश्वासीले न्याय गर्ने काम गर्दैछ, तर यसले दुवैलाई जनाइरहेको पनि हुन सक्छ [“जसले खाँदछ” र “जसले खाँदैन”]। यदि यसले “जसले खान्छ” उसलाई मात्र जनाइरहेको भए तापनि यो साँचो नै रहन्छ कि परमेश्वरले दुवैलाई ग्रहण गर्नुभएको छ (रोमी १५:७) र यसैको कारण हामीले हाम्रा विश्वासी दाजुभाइहरूलाई ग्रहण गर्नुपर्छ चाहे उनीहरू कमजोर हुन् चाहे बलिया (हेर्नुस् रोमी १४:१ मा जहाँ विश्वासीहरूलाई कमजोरहरूलाई ग्रहण गर्न भनिएको छ)।

स्मरण रहोस् परमेश्वरले (पावलद्वारा) जो “कमजोर छ” (पद १) उसलाई त्यसरी जनाउनुहुन्छ तर बलियो विश्वासीलाई “बलियो” भनेर जनाउनुहुन्न। एक विश्वासी परिपक्क्व भए पनि र शिक्षागत मुद्दाहरूलाई बुझेको भए पनि ऊ परमेश्वरको अनुग्रहबिना त ज्यादै कमजोरै हुन्छ (२ तिमोथी २:१, “ख्रीष्ट येशूमा भएको अनुग्रहमा तिमी बलियो होऊ”) अनि आफ्नो भाइलाई तुच्छ ठान्ने जस्तो पाप गर्ने (रोमी १३:३,१०) अनि आफ्नो ज्ञानको कारण घमण्डले फुलिने (१ कोरिन्थी ८:१) प्रवृत्ति उसमा हुन्छ। परमेश्वरको सामर्थ्य सिक्ने भनेको हाम्रो कमजोरीमा हो (२ कोरिन्थी १२:१०)।

रोमी १४:४

यो पद त्यो व्यक्तिको लागि हो जसले आफ्नो विश्वासी भाईलाई उसको खानेकुराको कारणले न्याय गर्दछ। “दास” भन्ने शब्दले एउटा घरमा बस्ने दासलाई जनाउँदछ। न्याय गर्ने व्यक्तिले आफू नै घर मालिक होइन भन्ने कुरा महसुस गर्नुपर्छ। ऊ नै त्यस मानिसको मालिक वा प्रभु होइन। ऊ पनि नोकर नै हो, केवल एक सङ्गी दास हो, सङ्गी विश्वासी हो। दास केवल आफ्नो मालिकप्रति मात्र जिम्मेवार रहन्छ। ऊ उसको मालिकप्रति जवाफदेही हुन्छ, अरू कसैप्रति होइन। उसलाई न्याय गर्ने अधिकार केवल उसको मालिकलाई मात्र हुन्छ। विश्वासीको मालिक प्रभु येशू ख्रीष्ट हुनुहुन्छ (पद ९)। विश्वासी उहाँप्रति जवाफदेही र जिम्मेवार रहन्छ। हामी एक दिन उभिने उहाँकै न्यायआसनको सामु हो (पद १०)।

मानौं दुईजना मानिसहरू एउटा कारखानामा काम गर्दैछन् र एउटाले अर्कोलाई भन्छ, “तिमीले गरेको काम त खत्तम छ!” त्यो सहकर्मीले के भन्दछ, चाहे त्यो साँचो होस् या नहोस्, त्यसले खासै फरक पार्दैन। ऊ नै हाकिम होइन। यदि हाकिमले उसलाई तिमीले गरेको काम खत्तम छ भन्यो भने चाहिँ उसले चिन्ता गर्नुपर्ने हुन्छ।

हाम्रा प्रभु येशू कस्तो खालको मालिक हुनुहुन्छ? हाम्रो प्रभुले आफ्ना दासहरू लडेको चाहनुहुन्न। उनीहरू खडा रहेको उहाँ चाहनुहुन्छ। परमेश्वरले उनीहरूलाई खडा राख्नुहुन्छ। परमेश्वरको उनीहरूको पक्षमा हुनुहुन्छ, उहाँ उनीहरूको विरोधमा हुनुहुन्न (रोमी ८:३१)। जसरी भजनले भन्दछ, “तँ खडा हुनेछस् मेरो सामर्थ्यले”। परमेश्वरले तिनीहरूलाई खडा राख्न सक्नुहुन्छ! विश्वासीहरू भएर हामीले यस कुरामा परमेश्वरको देखासिकी गर्नुपर्छ। हाम्रो इच्छा यस्तो हुनुपर्छ कि हाम्रा सङ्गी विश्वासीहरू खडा रहून् र हामीले उनीहरूलाई खडा हुनलाई सक्दो सहायता गर्नुपर्छ। हामीले उनीहरूलाई न्याय गरेर वा तुच्छ ठानेर ढाल्न खोज्नुहुन्न। हामी उनीहरूलाई उठाऔं र अझ उच्च धरातलमा उकास्न मदत गरौं। “सबै कुराहरू उन्नतिका निम्ति नै गरिऊन्” (१ कोरिन्थी १४:२६)।

रोमी १४:५

खानेकुराको विषयलाई छोडेर अब पावल दिन मान्ने विषयमा चर्चा गर्दछन्। के हामीले एउटा दिनलाई अर्को दिन भन्दा बढी विशेष वा बढी पवित्र मान्नुपर्छ? एउटा विश्वासीले त्यस्तै ठान्दछ तर अर्को विश्वासीले हरेक दिनलाई उस्तै ठान्दछ। खानेकुराको सवालमा पावलले कमजोर विश्वासी को हुन् भनेर औंल्याए (पद २)। तर यहाँ पावलले त्यस्तै गरी औल्याउँदैनन्। एउटा विश्वासीले एउटा दिन छनोट गर्छ र भन्छ, “यो दिन विशेष हो। यो दिन पवित्र हो।” अर्को विश्वासीले सबै दिनहरू पवित्र ठान्छ: “शनिवारको दिन आइतवार जत्तिकै पवित्र हुन्छ र आइतवार सोमबार जत्तिकै पवित्र हुन्छ।” कुनचाहिँ विश्वासी ठीक हो? कुनचाहिँ विश्वासी बलियो विश्वासी हो जससित दिनहरूको बारेमा सही शिक्षागत बुझाइ छ?

अर्को ठाउँमा पावलले कुनै दिनहरूलाई पालना गर्ने व्यवस्थावादी खतराको विरुद्धमा चेतावनी दिएका छन्: “तिमीहरू दिन, महिना, समय र वर्षहरू मान्दछौ। व्यर्थैमा मैले तिमीहरूका लागि मेहनत गरें कि भनी मलाई तिमीहरूसँग डर लागेको छ” (गलाती ४:१०-११)। ख्रीष्ट मरेकाहरूबाट बौरेर उठ्नुभएको दिन, “प्रभुको दिन” अथवा हप्ताको पहिलो दिन (आइतवारको दिन) आराधनाको लागि जुट्ने दिनको रूपमा विश्वासीहरूले मान्दै आएको चलन छ। हिब्रू १०:२५ ले अरू विश्वासीहरूसित सँगै नजुट्नेहरूलाई कडा चेतावनी दिएको छ। तरैपनि, हामीले नयाँ नियममा कतै पनि यस्तो आज्ञा भेट्दैनौं: “तिमीले प्रभुको दिन पालना गर्नेछौ!” अथवा “तिमीले आइतवारलाई मान्नुपर्छ!” [नेपालमा प्रायः शनिवारको दिन जुट्ने गरिन्छ किनकि अधिकांश मानिसहरू भेला हुन सक्ने दिन यही हो।] ख्रीष्टमा रहेको विश्वासीको लागि हरेक दिन नै “पवित्र भूमि” हुन्छ जब हामी प्रभुलाई सेवा गर्छौं र हाम्रो उच्च, स्वर्गीय र पवित्र बोलावटको योग्य चालमा हिँड्छौं (एफेसी ४:१)। यो कुरा प्रस्ट छ, हामी अरू दिनहरूमा भन्दा शनिवार बढी समर्पित भएर जिउनु त हुँदैन। तरैपनि त्यहाँ कति “शनिवारे ख्रीष्टियनहरू” पनि छन् भनेर हामी स्वीकार गर्दछौं जोहरूले शनिवारको दिन राम्रो देखा पर्दछन् जब कि बाँकी हप्ता भने अर्कै प्रकारले जिउँदछन्। प्रियहरूहो, यस्तो त नहुनुपर्ने हो!

दिने सम्बन्धमा पनि यही सिद्धान्त लागु हुन्छ। आफ्नो आयको दसौं अंश प्रभुको हो र बाँकी आफ्नै हो भनी ठान्ने काम कमजोर विश्वासीले गर्दछ: “मसित दस रूपैयाँ छ। यो एक रुपैयाँ चाहिँ पवित्र र विशेष हो। यो दसौं अंश हो। अरू नौं रूपैयाँ चाहिँ मेरै प्रयोजनका लागि हुन्।” बलियो विश्वासीले यसलाई एकदम बेग्लै दृष्टिकोणले हेर्दछ: “मसित भएको जम्मै प्रभुको हो किनकि म आफैको होइन; म दाम तिरी किनिएको हुँ (१ कोरिन्थी ६:१९-२०)। मैले आफूसित भएको दस रूपैयाँमा एक वा बढी रुपैयाँ स्थानीय मण्डलीलाई दिऊँला, तर बाँकी रूपैयाँहरू पनि प्रभुकै हुन् र परमेश्वरले मलाई दिनुभएको जे जति छ त्यो सबैको म असल भण्डारी हुन चाहन्छु।”

रोमी १४:५ ले प्रेरितहरूको समयमा विश्रामदिन पालन गर्ने सवालसित पनि सरोकार राख्दछ। अल्फोर्डले यस खण्डमा टिप्पणी गर्दा यसरी लेख्छन्:
अब प्रश्न उठ्छ, यदि सात दिनमा एक दिनलाई कुनै न कुनै रूपमा मान्नुपर्छ भनेर परमेश्वरबाट सुम्पिएको दायित्व छ भन्ने पावलको मान्यता हुँदो हो त के उनले रोमी १४:५ मा यस्तो कुरा भन्न सक्थे र? उनको तर्कको प्रवाहको स्पष्ट तात्पर्य रहेको यो देखिन्छ कि त्यस्तो कुनै पनि दायित्व उनी जान्दैनथे बरु विश्वासमा बलियो रहेका ख्रीष्टियनका निम्ति सबै समयहरू र दिनहरू उस्तै हुन्छन् भन्ने कुरा उनले विश्वास गर्दथे। यस खण्डको अन्य कुनै वैकल्पिक अर्थ म देख्दिनँ। यदि हप्ताको कुनै एक दिनको विश्रामदिनको जस्तै पृथक चरित्र हुँदो हो त प्रेरित पावलले सबै दिन बराबर महत्त्वको हुन्छ भनेर ठान्ने व्यक्तिको सराहना गर्नु वा समर्थन गर्नु पूर्ण रूपमा असम्भव कुरा हुनेथ्यो किनकि उक्त व्यक्तिले पद ६ अनुसार कुनै दिनलाई विशेष स्थान नै दिँदैन। नत्र भने पावलले उक्त व्यक्तिलाई परमेश्वरको आज्ञा उल्लङ्घन गरेको भन्दै उसलाई आफ्न कडा असमर्थन जनाउनुपर्नेथ्यो। तसर्थ, म यो ठान्दछु हप्ताको कुनै एक दिन, चाहे सातौं वा पहिलो, मान्नुपर्छ भन्ने मान्यता प्रेरितहरूको समयमा थिएन। [अल्फोर्ड्स ग्रीक टेस्टामेन्ट, रोमी १४:५ अन्तर्गतको टिप्पणी]

विलियम न्यूवेल, आफ्नो रोमीको टिप्पणीमा, दोस्रो शताब्दीका मण्डली अगुवाहरूले विश्रामदिन पालन गर्ने सम्बन्धमा उनीहरूको बुझाइसम्बन्धी उनीहरूको भनाइहरूलाई उद्दरण गर्दछन्। उनले इग्नेशियस (Ignatius) लाई उद्दृत गर्दछन् जो इसं ११५ मा शहीद बने:
“पुराना कुराहरूसित सरोकार राखेकाहरू निश्चयताको नयाँपनामा आएका छन् र अबउसो विश्रामदिनहरू पालन गर्दैनन्, बरु प्रभुको दिन बमोजिम जिउँदछन् जसमा नै हाम्रो जीवन, उहाँ बौरिउठ्नुभएको हुनाले, उहाँमै निर्भर रहेको छ।”

जस्टिन मार्टर (जो इ सं १६८ ताका शहीद बने) ले विश्रामदिनलाई परित्याग गरेकोमा उनी ट्राइफोद्वारा जब हप्काइए उनले यसरी जवाफ दिए:
“हामीले विश्रामदिन कसरी पालन गर्न सक्छौं र जब कि हामी हप्ताका सबै दिनहरूमा पापबाट विश्राम लिन्छौं?”

पद ५ को अन्तमा पावलले भने, “हरेक आफ्नै मनमा पूरा निश्चित होस्”। आज हामी यस्तो समयमा जिउँदैछौं जब शिक्षाको महत्त्वलाई न्यूनीकरण गरिन्छ र धेरै पटक यस्तो मनोभाव आपनाएको पाइन्छ: “ख्रीष्टियनहरूले के विश्वास गर्छन् खासै फरक पार्ने कुरा होइन, विशेष गरी फरक-फरक अवधारणाहरू भएका विषयहरूको सम्बन्धमा। महत्त्वपूर्ण कुरा यो हो कि हामीले एक अर्कालाई प्रेम गरौं।” तर ध्यान यसमा दिनुहोस् कि पावलले यी कुराहरू महत्त्वपूर्ण छैनन् भनेर भन्दैनन्। उनले यसरी भन्दैनन्: “खानेकुराको विषयमा र दिन मान्ने बारेमा तपाईंले के विश्वास गर्नुहुन्छ त्यो जेसुकै भए पनि फरक पर्दैन।” होइन, बरु उल्टो उनले भन्छन् कि हरेक विश्वासी आफ्नो मनमा यी विषयहरूको बारेमा विश्चस्त होओस्। कुन कुरा ठीक हो भन्ने कुरामा तपाईंलाई विश्वस्त तुल्याउन र निश्चित तुल्याउन परमेश्वरलाई दिनुहोस्! विश्वासमा कमजोरहरूलाई हामीले प्रेम गर्नुपर्छ (पद १ र ३) र हामीले तिनीहरूको उन्नति गर्नुपर्छ तर परमेश्वरले विश्वासी जनलाई कहिल्यै पनि विश्वासमा र शिक्षामा कमजोर हुनलाई प्रोत्साहन दिनुहुन्न। शिक्षागत मामिलाहरू र विश्वास र अभ्यासको मामिलाहरूमा विश्वासी “पूरा निश्चित” हुनुपर्छ। परमेश्वरले हामीलाई खडा हुन र सामना गर्न र समझमा स्थिर हुन सहायता गर्नुभएको होस्।

रोमी १४:६

विश्वासी “पूरा निश्चित” (पद ५) हुनुपर्छ मात्र होइन, उसले जे पनि गर्दछ त्यो “प्रभुको निम्ति” गर्नुपर्छ (पद ६)। “अनि जे पनि तिमीहरू गर्दछौ, सो मानिसहरूका निम्ति होइन, तर प्रभुका निम्ति गरेझैं तनमनले गर; यो जानेर कि प्रभुबाट तिमीहरूले पैतृक-सम्पत्तिरूपी इनाम पाउनेछौ; किनकि तिमीहरू प्रभु ख्रीष्टको सेवा गर्दछौ” (कलस्सी ३:२३-२४)। पद ६ ले यहाँ चर्चा गरिएका दुवै विवादस्पद विषयहरूसित सरोकार राख्दछ: खानेकुराको सम्बन्धमा (पद २) र दिन मान्ने सम्बन्धमा (पद ५)। यस पदको वाक्यरचना कियज्मस् (chiasmus) अथवा inverse parallellismको रचना हो:

क) कमजोर विश्वासी जसले दिन मान्दछ
ख) बलियो विश्वासी जसले दिन मान्दैन
ख) बलियो विश्वासी जसले सबै कुरा खन्छ — पद २
क) कमजोर विश्वासी जसले सबै कुरा खाँदैन, सागपात मात्र खान्छ

यद्यपि खाने र दिन मान्ने सम्बन्धमा अभ्यासहरू फरक-फरक हुन्छन् तरैपनि ख्याल गर्नुपर्ने महत्त्वपूर्ण कुरा यो छ कि जहाँसम्म हरेकको आफ्नो व्यक्तिगत सवालको कुरा छ, उसको अभिप्राय सही हुनुपर्छ, हृदय ठीक हुनुपर्छ र मनोभाव ठीक हुनुपर्छ। प्रत्येक विश्वासीले जे गर्दैछ त्यो उसले प्रभुको निम्ति गर्नुपर्छ, प्रभुलाई खुशी पार्न र प्रभुलाई आदर गर्न। प्रत्येकले धन्यवादसित त्यो गरोस्, परमेश्वरको डरमा। प्रत्येकले १ कोरिन्थी १०:३१ को सिद्धान्तलाई अभ्यास गरोस् — “यसकारण चाहे तिमीहरू खाओ, चाहे पिओ, चाहे तिमीहरूले जेसुकै गर, सबै कुरा परमेश्वरकै महिमाका निम्ति गर” । आफू सबै कुरा खान स्वतन्त्र छु भनी बुझेको विश्वासी परमेश्वरलाई ध्यानपूर्वक धन्यवाद देओस् (१ तिमोथी ४:३-५)। सागपात खाने विश्वासी (पद २) उसको सामु पस्किएको सागपातको निम्ति परमेश्वरलाई ध्यानपूर्वक धन्यवाद देओस्। सुरुका ख्रीष्टियनहरू खाने बेलामा परमेश्वरलाई धन्यवाद चढाउँथे (प्रेरित २७:३५ मा पावलको असल नमुनालाई हेर्नुस्)।