Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

रोमी १४:१३-२३

यस पृष्ठलाई छाप्नुहोस्

रोमी १४:१३

हामी एक अर्कालाई अबदेखि उसो न्याय नगरौं। न्याय गर्ने काम परमेश्वरको हातमा छौडिदिऔं (पद १०)। तपाईंको भाइको न्यायधीश तपाईं होइन, ख्रीष्ट हुनुहुन्छ। भाइको न्याय गर्नुको सट्टा बरु तपाईंले आफ्नो भाइलाई प्रेम गर्नुपर्छ। पावलले यस खण्डमा “ठेस लाग्ने कुरा” को सिद्धान्तलाई प्रस्तुत गर्छन् जसलाई धेरैले “प्रेमको सिद्धान्त” भनेर पनि जनाउने गर्छन्। यस पदमा बताइएको कुरा के हो त्यसमा ध्यान दिनुहोस्: “न्याय नगरौं…तर न्याय (संकल्प) गरौं”। पावलको तात्पर्य यो हो: आफ्नो भाइको न्याय नगरौं बरु आफैलाई न्याय गरौं र आफ्नो भाइको बाटोमा कुनै ठेस लाग्ने कुरा नराखेका हौं भनेर निश्चित गरौं। न्याय गर्नुपर्ने हाम्रो भाइलाई होइन, आफैलाई हो। यो कुरा भजनसङ्ग्रमा पटकपटक दोहोरिएको अभिव्यक्तिसित दाँज्नुस्: “हे परमेश्वर, मेरो न्याय गर्नुहोस्।” ख्रीष्टमा भएको हाम्रो भाइलाई ठक्कर खुवाउने वा हानि गर्ने कुनै पनि कुरा हामीले गरिरहेका छैनौं भन्ने कुरा हामीले निश्चय गरौं। आफ्नो भाइलाई उठाउन खोजौं, उसलाई ढलाउन होइन। उसलाई सहायता गर्न खोजौं, चोट पुर्याउन होइन। उसलाई निर्माण गर्न खोजौं, भत्काउन होइन। आफ्नो भाइको बाटोमा टेक्न मिल्ने ढुङ्गा राखौं, ठेस लाग्ने कुरा होइन।

रोमी १४:१४

यहाँ कुनै पनि कुरा अशुद्ध छैन भनेर बताउँदा पावल मान्छेले खाने खाद्यवस्तुहरूको सन्दर्भलाई लिएर चर्चा गर्दैछन् (पद २,६,१५,१७,२१,२३ हेर्नुस्)। त्यहाँ कति कुराहरू नैतिक रूपमा अशुद्ध हुन्छन् भनेर पावल राम्ररी जान्दथे (जस्तै, पावलले एफेसी ५:३-६; गलाती ५:१९-२१ र कलस्सी ३:५-६ मा लेखेका कुराहरूलाई हेर्नुस्)। यस पदमा पावलको तात्पर्य यो हो: “कुन कुराहरू खान हुन्छ भन्ने विषयमा म जान्दछु र निश्चित छु कुनै पनि कुरा आफै-आफ अशुद्ध छैन।” यस सत्यताको बारेमा पावललाई कसले विश्वस्त बनायो? जवाफ हो, प्रभु येशू ख्रीष्ट आफैले (“म प्रभु येशूमा निश्चित छु”)। “अशुद्ध” भन्ने शब्द यस पदमा तीन-तीन पटक भेटिन्छ। यस ग्रीक शब्दको माने “साधारण” (common) हो र यो अपवित्र वा अशुद्ध कुरालाई जनाउन प्रयोग हुन्थ्यो। यो शब्द प्रेरित १०:१४ मा प्रयोग भएको छ — “तर पत्रुसले भने: कुनै रीतिले हुँदैन, प्रभु; किनकि मैले कहिले पनि कुनै अपवित्र (common) वा अशुद्ध वस्तु खाएको छैनँ”। यहाँ हामी देख्छौं यो शब्द “अशुद्ध” को पर्यायवाची हो। एक असल यहूदी भएकाले, पत्रुसले शुद्ध खानेकुराहरू र अशुद्ध खानेकुराहरूका बीच लेवीय भिन्नताहरू लागु गर्दथ्यो। त्यस अवसरमा परमेश्वरले पत्रुसलाई दिनुभएको जवाफ यो थियो: “परमेश्वरले जसलाई शुद्ध पार्नुभएको छ, त्यसलाई तिमी अपवित्र नभन” (प्रेरित १०:१५)।

पवित्रशास्त्रले यो प्रस्टै सिकाएको कुरा हो, यस वर्तमान मण्डली युगमा विश्वासीहरूले अशुद्ध मान्नुपर्ने त्यस्ता कुनै पनि खानेकुराहरू छैनन्:
“जसले विवाह गर्न मनाही गर्छन् र खानेकुराहरूबाट अलग रहनू भनी आज्ञा गर्छन्; जसलाई विश्वास गर्नेहरू र सत्यलाई जान्नेहरूले धन्यवादसाथ ग्रहण गरून् भनी परमेश्वरले सृष्टि गर्नुभयो। किनकि परमेश्वरले सृष्टि गर्नुभएको हरेक वस्तु असल छ, र धन्यवादसाथ लिइयो भने कुनै कुरा पनि अस्वीकार गरिने लायकको छैन; किनकि यो परमेश्वरको वचन र प्रार्थनाद्वारा पवित्र गरिन्छ” (२ तिमोथी ४:३-५)।

परमेश्वरले खानेकुरा अशुद्ध छैन भन्नुभएको छ र पावल यसमा सहमत छ: “कुनै पनि कुरा आफै-आफ अशुद्ध छैन” (रोमी १४:१४)। त्यसोभए कुनै कुरालाई अशुद्ध बनाउने केले हो? जब कुनै व्यक्तिले कुनै कुरा अशुद्ध ठान्दछ, तब उसको निम्ति त्यो अशुद्ध हुँदछ! जस्तै उदाहरणको लागि एउटा विश्वासी यहूदी छ जसले अझै यो ठान्दछ उसले लेवी ११ अध्यायमा उल्लेखित लेवीय खानपान सम्बन्धी नियमावलीलाई पछ्याउनुपर्छ। “के मैले सुङ्गुरको मासु खानु हुन्छ? लेवी ११ मा सुङ्गुर अशुद्ध पशु भनेर सूचित छ। यसैले मेरो विवेकले मलाई तिमीले सुङ्गुरको मासु खानु हुँदैन र मेरो निम्ति सुङ्गुरको मासु अशुद्ध हो भन्दछ। मैले सुङ्गुरको मासु खाएँ भने के हुन्छ? मेरो विवेकले मलाई दोषी ठहराउँछ र मलाई भन्छ तिमीले अशुद्ध र साधारण कुरा खानु गलत हो” (प्रेरित १०:१४ मा पत्रुसको अनुभवसित तुलना गर्नुस्)। उक्त विश्वासीले यदि सुङ्गुरको मासु खाँदो हो ऊ आफ्नो विवेकको विरुद्धमा जाने थियो र उसले गलत ठानेको कुरा गरिरहेको हुनेथ्यो। “सुङ्गुरको मासु खानु गलत हो भनेर म जान्दछु तर जेसुकै होस् म त्यो खाइदिन्छु।” यो पाप हो (हेर्नुस् रोमी १४:२२-२३)। यो किन पाप हो? यो किन गलत हो? सुङ्गुरको मासु खानु गलत भएकोले हो त? होइन! हामीले अघिबाटै प्रमाणित गरिसक्यौं यस वर्तमान प्रबन्धमा सुङ्गुरको मासु धन्यवादसित ग्रहण गर्न सकिन्छ (१ तिमोथी ४:३-५)। उक्त व्यक्तिका निम्ति सुङ्गुरको मासु खानु गलत हो किनकि उसले आफूले आफूलाई गलत भनेर विश्वास गरेको कुरालाई खान लगायो।

मेरो हृदय र विवेकमा यदि मैले कुनै कुरा गलत हो भनेर ठान्दछु भने त्यो मैले गर्नु हुँदैन। समय बित्ने क्रममा मैले केही कुरा पुनर्विचार गर्नु पर्ने हुन सक्छ, परमेश्वरको वचनको प्रकाशमा ठीकसँग मैले फेरि सिक्नुपर्ने हुन सक्छ र मैले जुन कुरा गलत छ भनेर ठानेको थिएँ त्यो आखिरमा गलत छैन भनेर मैले पत्ता लगाउनु सम्भव छ। तर यस अध्यायमा पावलले एक कमजोर विश्वासीको चर्चा गर्दैछ जसले यी कुराहरू ख्रीष्टमा आफ्नो हुर्काइको चरणमा बुझेका हुँदैनन्।

रोमी १४:१५

आफूले खाने खानेकुराको कारणले गर्दा तपाईं यदि आफ्नो भाइका निम्ति एउटा ठेस लाग्ने कुरा बन्नुहुन्छ भने तपाईं प्रेममा हिँडिरहनुभएको छैन। यसको माने, तपाईं प्रेम बमोजिम हिँडिरहनुभएको छैन। तपाईं प्रेमको नियम मुताबिक हिँडिरहनुभएको छैन। याद गर्नुस्, प्रेमले उन्नति गराउँछ अर्थात् निर्माण गराउँछ (१ कोरिन्थी ८:१)। परमेश्वरबाटको जे सर्वोत्तम र सर्वश्रेष्ठ छ प्रेमले भाइको निम्ति त्यसैको चाहना गर्दछ। रोमी १४:१५ को एउटा उदाहरण लिऊँ — तपाईं सुङ्गुरको मासु खानुहुन्छ र त्यो खान तपाईंलाई कुनै समस्या लाग्दैन। तपाईंको भाइले चाहिँ सुङ्गुरको मासु खानु गलत हो भनेर ठान्दछ र तपाईंले सुङ्गुर मासु खाएको देख्दछ र आफूलाई भन्दछ, “उसले त्यसो गर्न हुन्छ भने मैले किन नहुने?” ऊ सुङ्गुरको मासु खान अगाडि बढ्छ र खान्छ तर पछिबाट उसलाई दोषको महसुस हुन्छ र उसले जे गर्नुहुँदैन भनेर उसले विश्वास गर्थ्यो त्यो गरेकोमा उसको विवेकले उसलाई दोषी ठहराउँछ। यसरी तपाईंले उसलाई उसले गलत ठानेको कुरा गर्नलाई उक्साउनुभयो। १ कोरिन्थी ८:१० -१३ मा रहेको समानन्तर खण्डसित दाँज्नुस्।

“नष्ट” भन्ने शब्द एउटा ज्यादै कडा शब्द हो। यसको प्रयोग धेरैजसो विश्वास नगर्नेहरूको अनन्त विनाशको सवालमा भएको छ। यसको माने हो, “ध्वस्त स्थितिमा ल्याउनु, नाश हुने बनाउनु।” यूहन्ना ३:१६ मा प्रयोग भएकै शब्द हो यो (“नष्ट”)। पावल भन्दैछन्, “आफ्नो भाइलाई ध्वस्त नपार।” बरु आफ्नो भाइलाई प्रेमको व्यवस्था मुताबिक व्यवहार गर जुन कुरा परमेश्वरले नै दर्शाउनुभएको छ यूहन्ना ३:१६ मा — परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो”। परमेश्वरले ख्रीष्टमा यस भाइलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले सबैभन्दा ठूलो बलिदान दिन इच्छुक हुनुभयो ताकि ऊ अनन्तसम्म नष्ट नहोस्। कलवरी क्रूसको प्रकाशमा के हामी आफ्नो भाइको अलिकति भलाइ होस् भनेर एउटा ज्यादै सानो कुरा (अर्थात् अलिकति सुङ्गुरको मासु) त्याग्न इच्छुक बन्नुपर्ने होइन र? ख्रीष्टले सर्वस्व त्याग गर्नुभयो ताकि यो भाइ अनन्तसम्म नष्ट नहोस्। के मैले सुङ्गुरको अलिकति मासु त्याग्न सक्दिनँ ताकि मेरो भाइ यस संसारको हिँडाइमा खत्तम नहोस्? परमेश्वरलाई विश्वासीहरूको उन्नति कति धेरै महत्त्वपूर्ण रहेछ भन्ने कुराको सङ्केत यस पदले हामीलाई दिएको छ। उन्नति गराउनुको विपरीतलाई बयान गर्दा परमेश्वरले “नष्ट नगर” जस्तो ज्यादै कडा शब्दावली प्रयोग गर्नुहुन्छ। यो शब्द १ कोरिन्थी ८:११ मा पनि यस्तै सन्दर्भमा प्रयोग भएको छ। एउटा विश्वासीको उन्नति गराइएको छैन भने हामीले त्यस कुरालाई हलुका ठान्नुहुँदैन। उसको वर्तमान उन्नति र भलाइ एकदम महत्त्वपूर्ण कुरा हो, नत्रता ऊ “नष्ट” वा “ध्वस्त” हुनेछ।

यो प्रस्ट छ, एक विश्वासीको अनन्त विनाश असम्भव छ। यूहन्ना १०:२८ ले भन्दछ, “अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै नष्ट हुनेछैनन्; न ता कसैले तिनीहरूलाई मेरो हातबाट खोसेर लैजान्छ”। अक्षरशः ग्रीकमा व्यक्त गरिएको कुरा यो हो, “सदाको लागि तिनीहरू कहिल्यै नष्ट हुनेछैनन्” अथवा “तिनीहरू कहिल्यै, कदापि नष्ट हुनेछैनन्, अहँ कदापि!” विश्वासी जन अनन्तसम्म नष्ट नहोस् भनेर परमेश्वरले पक्का गरिदिनुभएको छ। ख्रीष्टमा हाम्रो भाइ वर्तमान समयको हिँडाइमा नष्ट नहोस् भनेर हामी भएभरको सक्दो गर्नुपर्दछ।

रोमी १४:१६

तपाईंको लागि त्यो खानु “भलाइ” हो। त्यसमा कुनै गलती छैन। जस्तो कि सुङ्गुरको मासु खानुमा कुनै समस्या छैन जहाँसम्म त्यसले कुनै भाइलाई ठेस खुवाउँदैन भने। परमेश्वरको हरेक सृष्टि असल छ र धन्यवादसित ग्रहण गर्न सकिन्छ भनेर तपाईं आफ्नै मनमा विश्वस्त हुनुहुन्छ। खानलाई तपाईं स्वतन्त्र हुनुहुन्छ, तर तपाईंको यो असल स्वतन्त्रतालाई दुरुपयोग नगर्नुहोस्। आफ्नो भाइलाई चोट पर्ने गरी व्यवहार गर्न तपाईं स्वतन्त्र हुनुहुन्न। हामी प्रेम बमोजिम हिँड्नुपर्छ। दाँज्नुस् १ कोरिन्थी ८:१ — “अब मूर्तिलाई बलिदान चढाइएका चीजहरूको विषयमा - हामी जान्दछौं, हामी सबैसँग ज्ञान छ। ज्ञानले घमन्डी बनाउँछ, तर प्रेमले उन्नति गराउँछ”। ज्ञानले भन्दछ, “यो मासु मैले खानु हुन्छ भनेर मलाई थाहा छ किनकि परमेश्वरले १ तिमोथी ४:३-५ मा सो भन्नुभएको छ।” प्रेमले भन्दछ, “मेरो कमजोर भाइको खातिर म यो मासु खाने मेरो आफ्नो अधिकारलाई एकातिर पन्छाउँछु। मेरो क्रियाकलाप उसको लागि वाधा बनेको म चाहँदिनँ।”

रोमी १४:१७

कुन कुरा अत्यावश्यक छ र कुन कुरा कम महत्त्वको छ त्यसको हामी सधैं ख्याल गर्नुपर्छ। एउटा विश्वासी जनले एउटा सङ्गी विश्वासीप्रतिको प्रेमको खातिर सुङ्गुरको मासु खाँदैन भने उसले खासै कुनै अत्यावश्यक कुरा गुमाएको वा त्यागेको छैन। एउटा विश्वासी जनले यदि धार्मिकतालाई गुमाउँछ वा त्याग्दछ भने तब यो एउटा गम्भीर समस्या हो। तपाईंले मासु खानु हुन्छ कि हुन्न महत्त्वपूर्ण छैन। तर, तपाईंसँग परमेश्वरको आनन्द वा परमेश्वरको शान्ति गुमाइरहनुभएको छ भने त्यो त त्यस व्यक्तिको लागि ठूलो चिन्ताको विषय हो जसलाई परमेश्वरले पवित्र आत्माले निरन्तर भरिनलाई आज्ञा गरिएको छ (एफेसी ५:१८ र दाँज्नुस् गलाती ५:२२-२३)। महत्त्वपूर्ण कुरा खानेकुरा होइन तर परमेश्वरद्वारा हुने फल हो।

“परमेश्वरको राज्य”, सामान्य अर्थमा परमेश्वरले जहाँसुकै राज्य गर्नुहुन्छ त्यसलाई जनाउँदछ। भविष्यमा परमेश्वरले वास्तवमै यस पृथ्वीमा राज्य गर्नुहुनेछ। त्यसबेला: धार्मिकता संसारमा एक वास्तविकता बन्नेछ (यर्मिया ३३:१५)
शान्ति संसारमा एक वास्तविकता बन्नेछ (यशैया ९:६-७)
आनन्त संसारमा एक वास्तविकता बन्नेछ (यशैया ६५:१८-१९)। मत्ती २५:२१,२३ ले राज्यभित्र पस्नै लागेकाहरूलाई यसरी सम्बोधन गर्दछ, “प्रभुको आनन्दमा प्रवेश गर।”

आज परमेश्वरले कहाँ राज्य गर्नुहुन्छ? उहाँले विश्वासीहरूको हृदयहरूमा राज्य गर्नुहुन्छ। ख्रीष्ट प्रथम पटक आउनुभयो मानिसको हृदयभित्रको अवस्थालाई ठीक पार्न। ख्रीष्ट दोस्रो पटक आउनुहुनेछ संसारमा भएको अवस्थालाई ठीक पार्न। आज धार्मिकता, शान्ति र आनन्द हाम्रो संसारमा पाइने वास्तविकताहरू होइनन्, तर तिनीहरू आत्माको फलको रूपमा हाम्रो जीवनहरूमा पाइने वास्तविकताहरू बन्न सक्छन् (गलाती ५:२२-२३, “प्रेम, आनन्द, शान्ति”)। के धार्मिकता आत्माको फल हो? एफेसी ५:९ र फिलिप्पी १:११ मा हेर्नुस्।

रोमी १४:१८

“यी कुराहरू” भन्ने शब्दहरूले जनाएका कुरा के हुन्? यी शब्दहरूले हामीलाई अघिल्लो पदमा हेर्न लगाउँछ र यिनीहरूले धार्मिकता, शान्ति र आनन्दलाई जनाउँछन्। हामीले ख्रीष्टको सेवा गर्नुपर्ने कसरी हो? हामीले ख्रीष्टको सेवा धार्मिकताको लेखि जिएर गर्नुपर्छ (१ पत्रुस २:२४), परमेश्वरको शान्ति दाबी गरेर त्यसलाई अपनाएर गर्नुपर्छ (यूहन्ना १४:२७) र परमेश्वरको आनन्दको भरपुरी अनुभव गरेर गर्नुपर्छ (यूहन्ना १५:११)। “मनपर्दो” को माने “ग्रहणयोग्य” वा “खुशी तुल्याउने” हो। विश्वासीहरू आत्माले भरपूर हुँदा (एफेसी ५:१८), आत्माको फल प्रकट गर्दा (गलाती ५:२२-२३) त्यसले परमेश्वरलाई खुशी पार्छ। परमेश्वर यस्तो व्यवहारसित प्रसन्न हुनुहुन्छ र मानिसहरूका सामु समेत यस्तो व्यवहार स्वीकारयोग्य मानिन्छ। यस्तो व्यवहारलाई स्वीकार गर्नु बाहेक उनीहरूले अरू के गर्न सक्छन् र? धार्मिकताको जीवनलाई उनीहरूले कसरी अस्वीकार गर्न सक्छन् र? परीक्षाहरूको बीचमा पनि शान्तिमा रहेको व्यक्तिको विरोधमा उनीहरू कसरी बोल्न सक्छन्? परिस्थितिहरूमा भर नपर्ने किसिमको आनन्दले जब कोही आनन्दित हुन्छ यसको विरुद्धमा उनीहरूले कसरी आपत्ति जनाउन सक्छन् र?

रोमी १४:१९

“पछि लागौं” भन्ने क्रियापदको माने कुनै कुराको पछि दगुर्नु, पिछा गर्नु, लखेट्नु जसरी शिकारीले शिकारलाई लखेट्छ अथवा दौड दौडने व्यक्ति पुरस्कार वा तक्माको निम्ति दौडन्छ। यही क्रियापद शब्द १ तिमोथी ६:११; २ तिमोथी २:२२; फिलिप्पी ३:१२ (“पछि लाग्छु”); फिलिप्पी ३:१४ (“दगुर्छु”) जस्ता खण्डहरूमा प्रयोग गरिएको छ। हिब्रू १२:१४ सित दाँज्नुस् — “शान्तिको पछि लाग” (उही क्रियापद; TBS: “मेलमिलापमा बस्ने प्रयत्न गर”)। जसरी हामीलाई एफेसी ४:३ मा आज्ञा गरिएको छ, हामीले मेलमिलापको बन्धनमा आत्माको एकता कायम राख्ने प्रयत्न गर्नुपर्दछ। पावलले पनि अर्काको उन्नति गराउने कामको महत्त्वलाई जोड दिन्छन् जसरी विश्वासीहरूलाई एकअर्काको उन्नति गर्ने जिम्मेवारी दिइएको छ। उन्नति गराउने सम्बन्धमा एउटा चाबी अध्याय १ कोरिन्थी १४ हो। यो अध्याय पढ्नुहोस् र “उन्नति” भन्ने शब्द हरेक ठाउँमा चिन्ह लगाउनुहोस्। त्यसपछि १ कोरिन्थी १४:२६ मा भेटिने सार वक्तव्य पढ्नुहोस्।

रोमी १४:२०

खानेकुराका लागि परमेश्वरको काम नष्ट नगर्नुहोस्! “नष्ट” को माने हो “भत्काउनु, भताभुङ्ग पार्नु” जसरी एउटा पुरानो घरलाई भत्काइन्छ। ग्रीकमा यो “नष्ट” भन्ने शब्द पद १५ को “नष्ट” भन्दा फरक शब्द हो। परमेश्वरको काम के हो? परमेश्वरको काम निर्माण गर्नु हो, उन्नति गराउनु हो। नभत्काउनुहोस् बरु निर्माण गराउनुहोस्। प्रेमले निर्माण (उन्नति) गराउँछ (१ कोरिन्थी ८:१)। सबै कुराहरू शुद्ध छन् (पद १४), त्यसैले मैले जुनसुकै खानेकुरा खान सक्छु। तर खाँदा यदि त्यसले मेरो भाइलाई ठेस खुवाउँछ भने म आफ्नो स्वतन्त्रतालाई पन्छाउँछु र त्यो कुरा नखान रोज्नेछु: “यसकारण खानेकुराले मेरो भाइलाई ठेस खुवाउँछ भने मेरो भाइलाई ठेस नदिऊँ भनेर म कहिल्यै मासु खानेछैनँ” (१ कोरिन्थी ८:१३)। खानु र ठेस खुवाउनु (भाइलाई ठक्कर लाग्न दिनु) खराब हो। यो पाप हो। जुन बखत तपाईं आफ्नो भाइलाई ठेस खुवाउने गरी आफ्नो स्वतन्त्रता प्रयोग गर्नुहुन्छ, त्यसबेला तपाईंले पाप गर्नुभएको हुन्छ। तपाईंले आफ्नो भाइको विरुद्धमा पाप गर्नुभएको हुन्छ र तपाईंले ख्रीष्टको विरुद्ध पाप गर्नुभएको हुन्छ (१ कोरिन्थी ८:१२)।

रोमी १४:२१

यस पदमा आएर अब हामी यस विषयको निष्कर्षमा आइपुगेका छौं। खान र पिउन मसित अधिकार छ तर मेरो भाइको खातिर म खुसीसित यो अधिकार एकातिर पन्छाउँछु। मेरो भाइलाई ठेस नखुवाउनलाई म कुनै पनि कुरा नगर्ने अठोट गर्दछु। खानु र पिउनुभन्दा आफ्नो भाइको उन्नति गराउनु मेरो लागि बढी महत्त्वपूर्ण कुरा हो। दाँज्नुहोस् १ कोरिन्थी ८:१३। रोमी १४:२१ मा “कुनै काम” भन्ने शब्दहरूलाई ध्यान दिनुहोस्। यसले ठेस नखुवाउने सिद्धान्त सबै कुरामा लागु हुन्छ भन्ने कुरा देखाउँछ। पावलले खाने र पिउने कामको उदाहरणलाई चर्चा गरे तर आफ्नो भाइलाई ठेस खुवाउने समस्या जुनसुकै पनि हुन सक्छ। कुनै पनि बलिदान बढी ठूलो हुँदैन यदि त्यसले एउटा सङ्गी विश्वासी जनलाई बढ्नलाई र उसलाई प्रभुमा बलियो बन्न मद्दत गर्दछ भने।

प्रेमको नियम ठेस नखुवाउने सिद्धान्तको थप अध्ययन गर्नलाई १ कोरिन्थी ८ र १० मा हेर्नुहोस्।

रोमी १४:२२

यस पदको सरोकार बलियो विश्वासीसित छ। यस सन्दर्भमा “विश्वास” को परिभाषा चाहिँ आफूले जे गर्दैछु त्यो सही हो भन्ने कुराको दृढ विश्वास र निश्चयता। विश्वास हुने व्यक्ति शङ्का गर्ने व्यक्तिसित तुलना गरिएको छ (पद २३) जो आफूले जे गर्दैछु त्यो सही हो भन्ने कुराको उसलाई निश्चयता छैन। बलियो विश्वासीलाई आफूले खान स्वतन्त्रता छ भन्ने कुराको बलियो विश्वास छ: “यो खानेकुरा मैले खान हुन्छ भन्ने कुरामा म जान्दछु र निश्चित छु” (दाँज्नुस् पद १४)। बलियो विश्वासीलाई उक्त स्वतन्त्रताको घमन्डपूर्ण प्रदर्शनी अरूहरूको सामु नगर्नलाई बताइएको छ तर त्यसलाई परमेश्वरको सामु आफैसँग राख्नलाई भनिएको छ: “प्रभु, यो खानेकुरा मैले खान हुन्छ भनेर तपाईं जान्नुहुन्छ, तर मेरो खाने र पिउने काममा म सबै कुरा परमेश्वरको महिमाको निम्ति गर्न चाहन्छु (१ कोरिन्थी १०:३१), म कसैको निम्ति ठेस खुवाउने कारण बन्न चाहन्न, चाहे मुक्ति पाएका वा नपाएकाको सामु (१ कोरिन्थी १०:३२)।” हेन्ड्रिक्सनले यस पदको अन्तिम भागलाई यसरी व्याख्या गर्छन्:

त्यो मानिस धन्य हो — अर्थात् त्यो “बलियो” विश्वासी — जसले मैले आफ्नो “स्वतन्त्रता” को अभ्यास गर्न पाउनैपर्छ भन्ने जिकीर गर्दै आफूमाथि परमेश्वरको न्याय निम्त्याउँदैन जुन जिकीरले “कमजोर” सङ्गी विश्वासी जनलाई चोट पुर्याउन पुगिन्छ।

रोमी १४:२३

यस पदको सरोकार कमजोर विश्वासीसित छ। विवेकले एउटा आन्तरिक, नैतिक न्यायधीशको काम गर्दछ: “तिमीले जे गर्दैछौ त्यो गलत छ। तिमी दोषी छौ” अथवा “तिमीले जे गर्यौ त्यो ठीक छ।” विश्वासीले त्यस्तो कुनै काम आफूलाई गर्न दिनुहुन्न जुन कामलाई उसको विवेकले दोषी ठहराउँदछ। अर्को शब्दमा भन्नुपर्दा, विश्वासी जन उसको काम सही छ भन्ने कुरामा विश्वस्त हुनु आवश्यक छ। हामीले जे गर्दछौं त्यसबारे हामीसित असल र सफा विवेक हुनुपर्छ। आफूले चाल्न लागेको कुनै कदमको बारेमा हामीलाई शङ्का लाग्छ भने उक्त कदममा अगाडि बढ्नु सुरक्षित काम होइन, बरु त्यसलाई तुरुन्तै परित्याग गर्नुपर्छ। “शङ्का गर्नेले खायो भने ऊ दोषी ठहरिन्छ”। शङ्का गर्ने चाहिँ त्यो कमजोर विश्वासी जस्तै हो जसलाई १ कोरिन्थी ८:७,१०,११ मा बयान गरिएको छ। मूर्तिहरूलाई चढाइएका मासु खानु गलत हो भन्ने लाग्छ उसको व्यक्तिगत धारणा हो तर उसले बलियो विश्वासीले त्यो खाइरहेको देख्छ र अलमलमा पर्छ: “अरे, सायद त्यो खाँदा हुन्छ क्यारे”, तरैपनि उसले त्यसो गर्नु ठीक हो कि होइन भन्ने कुरामाथि उसलाई प्रश्नै छ। कुनै पनि कुरा त्यो ठीक छ भन्ने पूर्ण निश्चयताबिना गरिन्छ भने त्यो पाप हो। विश्वासीले त्यस्तो कुनै काम गर्नुहुँदैन जुन काम उसले गलत ठान्दछ वा त्यो गलत हुन सक्छ भन्ने उसलाई लाग्दछ। यदि विश्वासीले कुनै काम गर्दछ जो ठीक छ भन्ने उसलाई विश्वास छैन, त्यो पाप हो। यदि विश्वासीले जुन काम गलत हो भनेर विश्वास गर्छ र पनि त्यसमा अगाडि बढ्छ भने त्यो विद्रोह हो। हामीले कुनै कदम चाल्नुहुँदैन जुन कदम गलत छ भन्ने हामी विश्वास गर्छौं वा गलत हुन सक्छ भन्ने हामीलाई लाग्दछ।

कुनै कुरा गलत छ भनी कोही विश्वस्त छ र उसले त्यो गर्छ भने त्यो पाप हो। यसको विपरीत भने साँचो होइन। कुनै कुरा सही छ भनी कोही विश्वस्त छ र उसले त्यो गर्छ भन्दैमा त्यो सही हो भन्न सकिन्न। यूहन्ना १६:२ पढ्नुस् जहाँ केही यहूदीहरू विश्वासीहरूलाई मार्नु ठीक हो भन्ने कुरामा विश्वस्त थिए। साथै प्रेरित २६:९ पनि हेर्नुस् जहाँ पावल (शावल) नासरतको येशूको नामको विरोधमा उसले धेरै कुराहरू गर्नुपर्छ भनी साँच्ची नै सोचेका थिए।

विवेकको आवाजलाई बेवास्ता गर्नुहुँदैन। परमेश्वरको वचनको ज्ञानमा हामी जति बढ्दै जान्छौं हाम्रो विवेक निःसन्देह सच्च्याइनुपर्ने हुन्छ। आशा गरिन्छ १ कोरिन्थी ८:७,१०,११ को कमजोर विश्वासीले कालान्तरमा मूर्तिलाई चढाइएको मासु खानु (कुनै भाइलाई ठेस खुवाएको खण्डमा बाहेक) पाप होइन भन्ने कुरा बुझ्नेछ। हामीले यदि कुनै काम गर्यौं जो विश्वासबाटको थिएन (अर्थात् हामीले सही र स्वीकारयोग्य भनेर विश्वास गरेको कुराको विपरीत कुरा हो) भने त्यो पाप हो।

विचार गर्नलाई एउटा प्रश्न: हामीले जे गर्दैछौं ती ठीक छन् र प्रभुलाई मनपर्दा छन् भन्ने कुरामा पूरै निश्चित भईकन काम गर्ने आदत हाम्रो कत्तिको छ? “किनकि हरेक कुरा, जो विश्वासबाटको होइन, त्यो पाप हो।”

साँचो विश्वासको लङ्गरले बाइबलीय यथार्थहरूलाई पक्रेको हुन्छ, आफूलाई परेको छाप (कुनै कुराको बारेमा हाम्रो मनमा परेको भावना) माथि होइन। जर्ज म्यूलरले एक पटक यसरी भने,
“मनमा परेकाछापहरू विश्वाससित कुनै सरोकार राख्ने कुरा होइनन्। विश्वासको सरोकार परमेश्वरको वचनसित हुन्छ। मनमा परेको छाप, चाहे त्यो कमजोर होस् वा प्रबल, त्यसले कुनै फरक पार्ने होइन। हाम्रो सरोकार भनेको लिखित वचनसित हो, हामी आफैसित होइन नता हाम्रा मनमा परेका छापसित।”
विश्वास भनेको सम्भावनामा आधारित कुरा होइन (“म यो विश्वास गर्नेछु किनकि यो पूरा हुने सम्भावना छ”)। फेरि म्यूलरले जवाफ दिन्छन्:

“धेरैजना मानिसहरू उनीहरूलाई सम्भव देखिने कुरामा विश्वास गर्न तयार हुन्छन्। सम्भावनाहरू विश्वाससित कुनै सरोकार राख्ने कुरा होइनन्। विश्वासको कार्य क्षेत्र त्यहाँ सुरु हुन्छ जहाँ सम्भावनाहरू अन्त हुन्छन् र दृष्टि र संवेदनशक्ति हार खान्छन्। रूप (हाम्रो दृष्टिमा कस्तो देखिन्छ भन्ने कुरा) लाई हिसाबमा लिइनुहुँदैन। महत्त्वपूर्ण प्रश्न यति हो, परमेश्वरले आफ्नो वचनमा त्यो कुरा भन्नुभएको छ कि छैन।


पृष्ठ संशोधन मिति: Friday 03-Apr-15
WordofTruth.com.np © 2017