रोमी १४:७-१२

यस पृष्ठलाई छाप्नुहोस्

रोमी १४:७-९

हामी जे गर्दछौं त्यो महत्त्वपूर्ण छ र हरेक विश्वासी आफ्नै मनमा पूरा निश्चित हुनुपर्छ। हामी जे गर्छौं त्यो कसरी गर्छौं अझ महत्त्वपूर्ण छ, र हरेक विश्वासीले यो निश्चित गर्नुपर्छ कि उसले जे गर्दछ त्यो प्रभुको निम्ति गरोस्। खास कुरा यो तथ्य हो कि “हामी प्रभुका हौं”। हामी आत्मा, प्राण र शरीर उहाँका हौं! उहाँ हाम्रो मालिक हुनुहुन्छ र हामी उहाँका दासहरू हौं। यो नै हाम्रो ख्रीष्टिय स्वतन्त्रता हो: हामी उहाँका प्रेमका दासहरूको रूपमा ख्रीष्टको सेवा गर्न स्वतन्त्र छौं! कुनै पनि विश्वासी “आफ्नै निम्त??” (पद ७) जिउँदैन। किन? यसको कारण २ कोरिन्थी ५:१४-१५ मा बताइएको छ, “किनकि ख्रीष्टको प्रेमले हामीलाई विवश पार्दछ, किनभने हामी यो निर्णय गर्दछौं - सबैका लागि एकजना मर्नुभयो भने साँच्चै सबै मरे; अनि सबैका निम्ति उहाँ मर्नुभयो; यसकारण जिउनेहरू अब उसो आफ्ना निम्ति जिउनुहुँदैन, तर उहाँका निम्ति जिउनुपर्छ, जो उनीहरूका निम्ति मर्नुभयो र बौराइनुभयो।” हामी अबदेखि उसो हाम्रो आफ्नै निम्ति जिउनु हुँदैन। हामीले मुक्ति नपाएको बेलामा आफ्नो सारा जीवन त्यसरी बितायौं (१ पत्रुस ४:१-२)। बरु हामी उहाँको निम्ति जिउनुपर्छ जो हाम्रो निम्ति मर्नुभयो र बौरेर उठ्नुभयो।

ख्रीष्टिय जीवन जिउनु भनेको उहाँको लेखि जिउनु हो — अर्थात् उहाँको सेवा गर्नु, उहाँको आदर गर्नु, उहाँलाई खुशी पार्नु, खुशीसित उहाँको आज्ञा पालन गर्नु हो। हामीले उहाँको महिमा गर्नुपर्छ चाहे जीवनद्वारा चाहे मृत्युद्वारा (हेर्नुहोस्, फिलिप्पी १:२०-२३)। हाम्रो मृत्युसमेत उहाँको निम्ति गरिने एउटा सेवा गनिनुपर्छ (दाँज्नुहोस् यूहन्ना २१:१९)। हाम्रो मराइ र जिआइ उहाँकै हातमा छन् किनकि हामी उहाँका हौं। हाम्रा दिनहरू र आयु उहाँकै शासनमुनि छन्। मृत्युले यस सम्बन्धलाई बदल्दैन। हामी जीवित छँदा उहाँ नै हाम्रो प्रभु हुनुहुन्छ। हामी मर्दा उहाँ नै हाम्रो प्रभु हुनुहुन्छ। भन्नुपर्दा, मृत्युले यस सम्बन्धलाई अझ उत्तम बनाउँछ किनकि बिदा लिनु र ख्रीष्टसँग रहनु अति उत्तम (“far better”) हो (फिलिप्पी १:२३) र यसलाई “लाभ” ठानिन्छ (फिलिप्पी १:२१), अनि शरीरबाट अलग हुनु त प्रभुसित रहनु हो (२ कोरिन्थी ५:८)। उहाँ प्रभु हुने उद्देश्यले ख्रीष्ट मर्नुभयो र बौरनुभयो र फेरि जीवित हुनुभयो (फिलिप्पी २:९-११)।

१) म आफ्नै प्रभु होइन (१ कोरिन्थी ६:१९-२०)
२) म आफ्ना सङ्गी विश्वासीहरूमाथि प्रभु र न्यायकर्ता होइन (रोमी १४:१०)।
३) उहाँ प्रभु हुनुहुन्छ र म उहाँको सेवक हुँ र प्रेमको दास हुँ, म आफ्ना सङ्गी विश्वासीहरूसँगै सेवा गर्दैछु, उहाँप्रति र केवल उहाँप्रति मात्र जवाफदेही छु!

रोमी १४:१०

यस पदको मनसाय पद ३ सित जोडिएको छ। पद ३ मा कमजोर विश्वासीलाई अर्को विश्वासीको न्याय नगर्न भनिएको थियो र बलियो विश्वासीलाई कमजोर विश्वासीलाई तुच्छ नठान्न भनिएको थियो। विश्वासीहरूले अरू विश्वासीहरूको न्याय गर्नु हुँदैन र उनीहरूलाई हेलाको दृष्टिले हेर्नुहुन्न। पद ६ को प्रकाशमा यो सम्झना गर्नुहोस् कि तपाईंले न्याय गर्ने वा हेला गर्ने व्यक्ति त तपाईंको भाइ हो। उसको ठीक मनोभाव छ, ठीक हृदय छ, उसले प्रभुको सेवा गर्दैछ र धन्यवाद दिँदैछ। उसको अभिप्राय ठीक छ। ऊ तपाईंको शत्रु होइन। उसलाई सहायता गर्न र उसको उन्नति गर्न र उसको निम्ति उदाहरण बन्न खोज्नुहोस्, तर उसलाई न्याय नगर्नुस् वा उसलाई तल्लो दर्जामा नराख्नुस्। प्रभु येशू ख्रीष्ट आफै हरेक साँचो विश्वासीको न्याय बन्नुहुनेछ: “किनकि हामी सबै ख्रीष्टको न्यायआसको सामु उभिनेछौं।”

“हामी” — सन्दर्भमा यसले केवल विश्वासीहरूलाई जनाउँदछ, जोहरूले “हामी प्रभुकै हौं” भन्न सक्छन् (पद ८)।
“सबै” — यो न्याय सबै विश्वासीहरूलाई समेट्ने न्याय हो; एउटै पनि छुट्नेछैन।
“उभिनेछौं” — यो भविष्यमा हुने घटना हो जुन घटना मण्डलीको र्याप्चरको लगत्तै पछि हुनेछ (दाँज्नुस् १ यूहन्ना २:२८)।
“हामी सबै उभिनेछौं” — यो एउटा प्रतिज्ञा हो। हामीमध्ये एक-एक नै त्यहाँ उभिनेछौं। यो पक्का (ग्यारेन्टीको) कुरा हो।
“उभिनेछौं” — एउटा न्यायकर्ताको सामु उभिनु वा देखा पर्नु (दाँज्नुस् प्रेरित २७:२४ जहाँ उही क्रियापद प्रयोग भएको छ — पावल सिजरको सामु उभिनैपर्छ, जुन सिजर त्यसबेलाको समयमा सबैभन्दा उच्च मानव न्यायकर्ता थियो)।

हरेक विश्वासी आफ्नो लेखा दिनलाई उभिने कुन न्यायधीशको सामु हो? उक्त न्यायधीश ख्रीष्ट स्वयं हुनुहुन्छ। यो ख्रीष्टको न्यायआसन हो। ख्रीष्ट न्यायको सिंहासनमा बस्नुभएको छ। यस तथ्यले येशू ख्रीष्ट परमेश्वर नै हुनुहुन्छ भनेर स्पष्ट देखाउँछ। ख्रीष्ट यहाँ हरेक विश्वासीको अन्तिम न्यायधीश हुनुहुन्छ भनी बताइएको छ, जसको सामु हामी हाम्रा हरेक शब्द, विचार वा कामका लागि जवाफदेही हुनेछौं। परमेश्वर पिताले सबै न्याय पुत्र परमेश्वरलाई सुम्पनुभएको छ (हेर्नुस् यूहन्ना ५:२२,२७)।

“न्यायआसन” भन्ने शब्द ग्रीकमा “बेमा” भन्ने शब्द हो। हरेक विश्वासी ख्रीष्टको “बेमा” को सामु उभिनुपर्छ। अनुवाद ठीक छ। यसको माने एउटा न्याय आसन हो, एउटा आसन जसमा एक न्यायधीश बस्दछन्। सामान्यतया त्यो एउटा उठाइएको ठाउँ हुन्थ्यो, कहिलेकाहिँ सिँढी चढेर जाने गरी बनाइन्थ्यो। “बेमा” लाई हाम्रा वर्तमान अड्डा अदालतमा रहने न्यायधीशको कुर्सीसित तुलना गर्न सकिन्छ जो सामान्यतया कक्षको अन्य कुनै पनि कुर्सीभन्दा उच्च तहमा अवस्थित हुन्छ। “बेमा” लाई ओलम्पिक खेलकुदको सन्दर्भमा पनि प्रयोग हुने गरिन्थ्यो। खेलकुदको न्यायधीशले प्रतियोगिताका विजेता (दौडने, कुस्ती खेल्ने वा अन्य) लाई “स्टेफानोस्” (मुकुट) प्रदान गर्दथे। “बेमा” शब्दावली नयाँ नियममा १२ पटक उल्लेख छ। पिलातस आफ्नो न्यायआसनमाथि बसे जब उनले ख्रीष्टको न्याय गरे (मत्ती २७:१९)। प्रेरित २५:६ मा पावल सिजरियाको फेस्टसको न्यायआसनमा बसे। पछि पावल सिजरको न्यायआसनका सामु उभिए (प्रेरित २७:२४)।

पावल फरक-फरक न्यायआसनका सामु उभिने अनुभव भएर गरे, तर पावललाई एउटै मात्र बेमाको खास मतलब थियो अर्थात् ख्रीष्टको न्यायआसन! “यसकारण चाहे हामी शरीरमा रहौं चाहे नरहौं, उहाँका निम्ति ग्रहणयोग्य बनिने प्रयत्न गर्दछौं।” (२ कोरिन्थी ५:९)। “अँ, साँच्चै मेरा प्रभु येशू ख्रीष्टको ज्ञानको सर्वश्रेष्ठताका निम्ति म सबै कुराहरू हानि ठान्छु; उहाँकै निम्ति मैले सबै कुराहरूको हानि खपेँ, अनि ख्रीष्टलाई प्राप्त गरूँ र उहाँमा भेट्टाइन सकूँ भनेर म तिनीहरूलाई कसिङ्गर ठान्छु।” (फिलिप्पी ३:८)।

त्यसोभए यस पदमा पावल के भन्न खोज्दैछन्? तिमी किन आफ्नो भाइको न्याय गर्दैछौ? न्यायधीश तिमी होइनौ, ख्रीष्ट हुनुहुन्छ! तिम्रो भाइ मात्र होइन, तिमी पनि न्याय गरिनेछौ! तिमीले त्यस दिन ख्रीष्टबाट “स्याबास” र इनाम पाउन सकूँ भनेर तिमीले आफ्नै विषयमा फिक्री गर!

याद गरौं, ख्रीष्टको न्यायआसनको सम्बन्धमा कुरा गर्दाखेरि हामी अनन्त दण्डमा पुर्याउने खालको दोषी ठहराउने न्यायको कुरा गरिरहेका छैनौं। विश्वासी जन ख्रीष्ट येशूमा अवस्थित छ र ख्रीष्टमा उसको निम्ति कुनै दण्डको आज्ञा छैन (हेर्नुस् रोमी ८:१ र यूहन्ना ५:२४)। विश्वासी आफै चाहिँ बच्नेछ (हेर्नुस् १ कोरिन्थी ३:१५ — “कसैको काम जलिजान्छ भने उसले हानि भोग्नेछ; तर ऊ आफैचाहिँ बाँच्नेछ, तर आगोबाट भएर उम्केजस्तो”)। तरैपनि कति विश्वासीहरूको लागि त्यो कति खेदजनक कुरा हुनेछ कि त्यो बचेको आत्मा भए तापनि खेर फालिएको जीवन हुनेछ! (आत्मा अनन्तकालको लागि बच्यो तर अनन्तताको मूल्यमान्यताद्वारा लेखाजोखा गरिँदा उसको जीवन भने खासै उल्लेखनीय भएन।)

रोमी १४:११

यस पदमा पावलले यशैया ४५:२३ बाट उद्दरण गर्दछन् — “मैले आफ्नै नाममा कसम खाएको छु; धार्मिकताका साथ मेरो मुखबाट वचन निस्केर गएको छ, र त्यो फर्कनेछैन: मेरो सामु हरेक घुँडा टेकिनेछ, हरेक जिब्रोले कसम खानेछ।” सन्दर्भलाई हेर्दा, यशैयाको यस खण्डमा बोल्नुहुने व्यक्ति परमप्रभु (यहोवा), सृष्टिकर्ता नै हुनुहुन्छ (यशैया ४५:१८,२१)। पद २२ मा सबै ठाउँका सबै मानिसहरूलाई मुक्तिको निम्ति बोलाइएको छ: “हे पृथ्वीका छेउछेउका मानिसहरूहो, मलाई हेर, र उद्धार पाओ; किनकि परमेश्वर म नै हुँ, र अरू कोही पनि छैन” (यशैया ४५:२२)। पद २२ मा यशैयाको मुख्य बुँदा यो छ: मुक्ति सबैको निम्ति उपलब्ध छ! पद २३ मा यशैयाको मुख्य बुँदा यो छ: सबैको निम्ति व्यक्तिगत जवाफदेहीता छ! हरेक घुँडा टेक्नेछ! आज मुक्तिदाताको सामु घुँडा टेक्न अस्वीकार गर्नेहरू (पद २२) ले पछिको समयमा न्यायकर्ताको सामु घुँडा टेक्नेछ (पद २३)।

कसम भनेको म सत्य बोल्नेछु, प्रतिज्ञा पूरा गर्नेछु, विश्वासयोग्य रहनेछु आदि जनाउने एउटा त्यस्तो घोषणा हो जो परमेश्वरको वा अन्य कुनै आदरको व्यक्ति वा वस्तुको नाउँ काढेर व्यक्त गरिन्छ। मानिसहरूले आफूभन्दा ठूलोको नाममा कसम खान्छन् (हिब्रू ६:१६), तर परमेश्वरभन्दा ठूलो कोही छैन त्यसैले यहोवाले आफ्नै नाममा कसम खानुहुन्छ (हेर्नुस् यशैया ४५:२३, “मैले आफ्नै नाममा कसम खाएको छु” र दाँज्नुस् हिब्रू ६:१३ सित)। हरेक घुँडा टेक्नेछ भन्ने तथ्य यही अपरिवर्तनीय कसमद्वारा पक्का छ।

यशैया ४५:२३ भक्तिहीन अविश्वासीहरूलाई लागु हुन्छ भनेर हामी प्रायः सोच्ने गर्छौं: “म एकजना व्यक्तिलाई चिन्छु जसको मुख फोहोर कुराले भरिएको हुन्छ जसले ख्रीष्टलाई जहिले पनि निन्दा गर्ने गर्छ। एक दिन यही व्यक्तिले ख्रीष्टको सामु घुँडा टेक्नेछ र येशू प्रभु नै हुनुहुन्छ भनेर स्वीकार गर्नेछ!” यो साँचो हो र फिलिप्पी २:९-११ ले यो प्रस्टै सिकाएको कुरा हो जहाँ यशैयाको यही खण्डलाई उद्दृत गरिएको छ। साँचो विश्वासीहरू यूनिभर्सलिज्मको शिक्षा अर्थात् एक दिन सबैजनाले मुक्ति पाउनेछ भन्ने शिक्षालाई अस्वीकार गर्छन्। तर घुँडा टेक्ने सवालमा र ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्ने सवालमा चाहिँ हामी यूनिभर्सलिज्मलाई विश्वास गर्दछौं। सबै ठाउँका सबै मानिसहरूले यसो गर्ने नै छन्। फरक यो छ कि मुक्ति पाएकाहरूले यही जीवनमा ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्ने सुअवसर लिन्छन् (रोमी १०:९-१०)। मुक्तिदाताको सामु घुँडा टेक्ने समय आज हो। हामीले आज नै राजीखुशीले सो गर्नुपर्छ, पछिबाट बाध्यताले सो गर्नुको सट्टा।

यहाँ येशू ख्रीष्टको ईश्वरत्वको बलियो प्रमाण देख्दछौं। यशैयाको खण्डमा परमप्रभु (यहोवा) को सामु मानिसहरूले घुँडा टेक्नेछन् भनिएको छ। तर जब यो खण्डलाई नयाँ नियममा उद्दरण गरिन्छ, दुवै फिलिप्पी २:९-११ र रोमी १४:११ मा, मानिसहरूले घुँडा टेक्ने प्रभु येशू ख्रीष्टको सामु हो भन्ने कुरा देख्छौं। साँच्ची नै उहाँ यहोवा येशू हुनुहुन्छ, बाइबलको सुस्पष्ट सत्यता जसलाई यहोवाका साक्षीहरूले पूरै अस्वीकार गर्दछन्। “ख्रीष्टको ईश्वरत्व” शीर्षक गरेको हाम्रो अध्ययन सामग्रीमा पनि हेर्नुहोस् जहाँ “यहोवा” को पवित्र नाम प्रयोग भएका धेरै खण्डहरू येशू ख्रीष्टलाई लागु गरिएको कुरा देखाइएको छ।

यहाँ रोमी १४:११ मा पावलले यशैया ४५:२३ को सत्यतालाई लिन्छन् र विश्वासीहरूलाई लागु गर्छन्। जोड चाहिँ “हरेक” भन्ने शब्दलाई दिइएको छ। हरेक एउटा एउटा विश्वासीले उहाँको न्यायआसनमा ख्रीष्टको सामु घुँडा टेक्नेछ। हरेक विश्वासीले सर्वोच्च न्यायधीशको हैसियतले उहाँको पूरा अधिकारलाई स्वीकार गर्नेछ।

रोमी १४:१२

फेरि जोड चाहिँ “हरेक” भन्ने शब्दमै छ। “हामीमध्ये हरेकले”। यस न्यायबाट उम्कने कुनै उपाय छैन। जोड दिइएको कुरालाई ध्यान दिनुहोस्:
“हामी सबै” — पद १०
“हरेक घुँडा” — पद ११
“हरेक जिब्रो” — पद ११
“हामीमध्ये हरेक” — पद १२

ध्यान दिनुहोस् त्यस भययोग्य, व्यक्तिगत जवाफदेहीदा: “हामीमध्ये हरेकले परमेश्वरलाई आफ्नो-आफ्नो [आफ्नै सम्बन्धमा] लेखा दिनेछ।” मैले तपाईंको निम्ति लेखा दिनुपर्नेछैन। तपाईंले मेरो निम्ति लेखा दिनुपर्नेछैन। हरेक विश्वासी परमेश्वरको सामु एक निजी व्यक्तिको रूपमा खडा हुनुपर्नेछ। उसले के गर्यो वा उसले कसरी सेवा गर्यो भन्दै तपाईंले अर्को व्यक्तिको अनावश्यक मतलब नराख्नुस्। सवाल यहाँ तपाईंको हो। प्रत्येक विश्वासी व्यक्तिगत रूपमा नै ख्रीष्टको सामु जवाफदेही छ र उसले आफ्नै लेखा दिनुपर्छ। हाम्रो ठूलो लालसा उहाँका निम्ति ग्रहणयोग्य (मनपर्दो) बन्नलाई होस् (२ कोरिन्थी ५:९)। हामी ख्रीष्ट हाम्रा दाखको बोट (हाम्रो जीवनको श्रोत) मा रहिरहेका हौं ताकि हामी उहाँको आगमनमा उहाँको सामु शर्ममा पर्नु नपरोस् (१ यूहन्ना २:२८)। जो हाम्रा निम्ति मर्नुभयो र फेरि बौरनुभयो (दाँज्नुस् मत्ती २५:२१) उहाँकै ओठहरूबाट “स्याबास!” भन्ने वचन एक दिन सुन्न पाउनु भन्दा बढी इनामदायी कुरा अर्को कुनचाहिँ हुन सक्ला र? २ तिमोथी ४:७-८ मा पावलले भने जस्तै हामीले पनि अन्तमा भन्न पाउनु भन्दा सन्तुष्टदायी अर्को कुरा के हुन सक्ला र —

“मैले असल लडाइँ लडेको छु, मैले मेरो दौड पूरा गरेको छु, मैले विश्वासको रखवाली गरेको छु; अब उप्रान्त मेरो लागि धार्मिकताको मुकुट राखिएको छ जोचाहिँ धार्मिक न्यायकर्ता प्रभुले त्यस दिन मलाई दिनुहुनेछ; र मलाई मात्र होइन, तर उहाँको आगमनलाई प्रेम गर्ने सबैलाई पनि दिनुहुन्छ” (२ तिमोथी ४:७-८)।

ख्रीष्टको न्यायआसन सम्बन्धी अर्को चाबी खण्ड २ कोरिन्थी ५:१० हो — “किनकि शरीरमा गरिएका कामहरूका निम्ति चाहे असल होस् चाहे खराब, हरेले जे गरेको छ, त्यसअनुसारको फल पाउनलाई हामी सबै ख्रीष्टको न्यायआसनका सामु देखा पर्नुपर्छ”। “पाउनेछौं” भन्ने शब्द महत्त्वपूर्ण छ। यसको माने जे आफ्नो हो त्यो पाउनु हो (प्रतिफल), जे पहिले आफ्नै थियो त्यो पाउनु, फिर्ता पाउनु, जे आफूले कमाएका छौं त्यही पाउनु, जे आफूले पाउनुपर्थ्यो त्यो पाउनु, आफूले जे गरेका थियौं त्यसको आधारमा जे आउँदैछ त्यो प्राप्त गर्नु। ख्रीष्टको न्यायआसनमा यो प्राप्त गराइ वा प्रतिफल कि त सकारात्मक हुन्छ कि त नकारात्मक: “चाहे असल (सकारात्मक) होस् चाहे खराब (नकारात्मक)”। एफेसी ६:८ मा पावलले यही न्यायको चर्चा गर्दा यही “पाउने” भन्ने शब्दलाई सकारात्मक प्राप्तिको अर्थमा प्रयोग गर्दछन्: “यो जानेर कि हरेक मानिसले, चाहे ऊ दास होस् चाहे स्वतन्त्र, जे-जे भलो काम (सकारात्मक) गर्दछ, प्रभुबाट उसले त्यही पाउनेछ” यससित मिल्ने समानान्तर खण्ड कलस्सी ३:२५ मा पावलले यहाँ पनि ख्रीष्टको न्यायआसनको चर्चा गर्दै उही “पाउनेछौं” भन्ने शब्दलाई नकारात्मक प्राप्तिको अर्थमा प्रयोग गर्दछन्: “तर जसले खराबी (नकारात्मक) गर्दछ, त्यसले आफूले गरेको खराबीको प्रतिफल पाउनेछ; अनि त्यहाँ पक्षपात हुँदैन।”

मुक्तिको सवालमा विश्वासीहरूले उनीहरूले पाउनुपर्ने कुरा पाउँदैनन्। उनीहरूले कमाएकै कुरा उनीहरूले फिर्ता पाउँदैनन्। उनीहरूले अनन्त मृत्यु कमाएका छन्, तर परमेश्वरको अनुग्रहले उनीहरूलाई अनन्त जीवन दिइन्छ (रोमी ६:२३)। इनामको सवालमा, विश्वासीहरूले आफूले जे कमाएका छन् ख्रीष्टको न्यायआसनमा त्यही पाउनेछन् उनीहरूले मुक्ति पाएको दिनदेखि आफ्नो शरीरमा जे गरेका छन् त्यही बमोजिम पाउनेछन्।

मुक्ति र इनामहरूका बीच भिन्नता

एक बाइबल विश्वासीले, रोमीको पुस्तकमा र परमेश्वरको वचनभरि, मुक्ति र इनामहरूको बीचमा भिन्नता कायम राख्न ख्याल गर्नुपर्छ। जस्तै रोमी ८:१ मा हामी सिक्छौं ख्रीष्टमा हुने व्यक्तिको निम्ति त्यहाँ न्याय छैन, दण्डको आज्ञा छैन किनभने हाम्रा प्रतिस्थापक हाम्रो स्थानमा दण्डित हुनुभयो (रोमी ८:३)। तरैपनि, यहाँ रोमी १४ मा हामी सिक्छौं विश्वासीहरूका निम्ति त्यहाँ न्याय छ किनकि हामी सबैजना ख्रीष्टको न्यायआसनको सामु उभिनुपर्छ (रोमी १४:१०)। रोमी ८:१ को न्याय चाहिँ त्यो न्याय हो जसबाट हामी बचाइसकिएका छौं (यूहन्ना ३:१८; ५:२४ सित दाँज्नुस्)। रोमी १४:१० को न्याय सबै बचाइएका व्यक्तिहरूको निम्ति हो र यसको सरोकार इनाम पाउने वा गुमाउने कुरासित छ। मुक्ति र इनामहरूका बीच राम्ररी भिन्नता राख्नुपर्ने आवश्यकता १ कोरिन्थी ३:१५ जस्तो खण्डमा देखिन्छ —

“कसैको काम जलिजान्छ भने उसले हानि भोग्नेछ; तर ऊ आफैचाहिँ बाँच्नेछ, तर आगोबाट भएर उम्केजस्तो।”
इनाम गुमाउने कुरा, यद्यपि विश्वासीको निम्ति यसले अनन्तकालीन असरहरूसित सरोकार राख्दछ, यसले उसको मुक्तिको सुनिश्चयतालाई असर पार्दैन। निम्न तालिकाले हामीलाई मुक्ति र इनामहरूका बीचको भिन्नताका केही चाबी बुँदाहरूमा ध्यान दिन मद्दत गर्दछ: