रोमी १५:१७-३३

यस पृष्ठलाई छाप्नुहोस्

रोमी १५:१७-१८

पावल गर्व गर्न खूब मन पराउँथे! पावल एकदम “घमन्डी” मानिस थिए — उनी आफ्ना मुक्तिदाताको सम्बन्धमा घमन्ड गर्थे! ख्रीष्टले गरिदिनुभएको कुरामा उनलाई घमन्ड थियो। हरेक विश्वासीले भन्न सक्नुपर्छ, “प्रभुले मेरा निम्ति ठूला-ठूला कामहरू गर्नुभएको छ” जसको सम्बन्धमा म गर्व गर्दछु! आफूतर्फ घमन्ड गर्न बिलकुल निषेध गरिएको छ (१ कोरिन्थी १:२९)। परमेश्वरतर्फ घमन्ड गर्न भने पूरा हौसला दिइएको छ (१ कोरिन्थी १:३०-३१)। पावलको गर्व वा घमन्ड येशू ख्रीष्टमा थियो (पद १७)। उसले अन्य कतै पनि गर्व गर्न आँट गरेनन् (पद १८)। उनले आफैले गरेका कामहरूमा गर्व गर्न वा घमन्ड गर्न इन्कार गरे; उनले केवल ख्रीष्टले उनमा गर्नुभएका कामको विषयमा मात्र चर्चा गर्थे र गर्व गर्थे (पद १८)। पावल परमेश्वरका हातमा केवल एक भाँडो थिए। “कुनै पनि बुरुशले त्यसको प्रयोगले रङ्गाइएको तस्वीरका लागि श्रेय लिँदैनन्। कुनै पनि भायोलिनले त्यसको प्रयोग गरी बजाइएको मीठो सङ्गीतका लागि श्रेय लिँदैनन् (म्याकआर्थर)।

उनले यसरी भनेनन्, “जुन कामहरू मैले ख्रीष्टद्वारा पूरा गरेँ ती काममा मात्र म गर्व गर्नेछु।”
बरु उनले भने, “जुन कामहरू ख्रीष्टले मद्वारा पूरा गर्नुभयो ती काममा मात्र म गर्व गर्नेछु।”

ख्रीष्ट स्वर्गमा हुनुहुन्छ तरैपनि उहाँ पृथ्वीमा आफ्ना चुनिएका भाँडाहरूद्वारा सक्रिय रूपमा काम गर्दै हुनुहुन्छ (मर्कूस १६:२०)। ख्रीष्टले पावलद्वारा गर्नुभएको कामको लक्ष्य थियो “अन्यजातिहरूलाई आज्ञाकारी बनाउन” र यहाँ “आज्ञाकारी” भन्नाले सुसमाचारको आज्ञापालनलाई जनाउँदछ। एक अन्यजाति सुसमाचारको आज्ञाकारी बन्दछ जब उसले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दछ। ख्रीष्टलाई र सुसमाचारलाई इन्कार गर्नु भनेको परमेश्वरले सबै मानिसहरूलाई पश्चात्ताप गर्नू (प्रेरित १७:३०) र मुक्ति पाउनू (प्रेरित १६:३१) भनेर दिनुभएको आज्ञालाई पालन नगर्नु अर्थात् अवज्ञा गर्नु हो। सुसमाचारको अवज्ञा सम्बन्धमा एउटा ज्यादै स्पष्ट खण्ड २ थेस्सलोनिकी १:८-९ हो।

ख्रीष्टले पावलद्वारा “वचन र कार्यद्वारा” ठूला-ठूला कामहरू गर्नुभयो। ख्रीष्टले पावलद्वारा “वचन र कार्यद्वारा” काम गर्दै हुनुहुन्थ्यो भन्ने तथ्यले हामीलाई प्रेरित १:१-२ को सम्झना गराउँछ। यस खण्डमा हामीलाई बताइएको छ कि ख्रीष्टले उहाँको स्वर्गारोहणको समयसम्ममा जे-जति कामहरू गर्नुभयो ती उहाँका कामहरू र शिक्षणका केवल सुरुआत मात्र थिए (“येशूले जे गर्न र सकाउन थाल्नुभयो” — प्रेरित १:१)। प्रेरितको पुस्तकले उहाँका कार्यहरू र शिक्षण (उहाँका वचन र कार्यहरू) को निरन्तरताको अभिलेख प्रस्तुत गर्दछ। ख्रीष्टले आफ्नो पार्थिव सेवकाइमा जे सुरु गर्नुभयो, उहाँले आफ्नो मण्डलीद्वारा निरन्तरता दिँदै हुनुहुन्छ। ख्रीष्ट पृथ्वीमा जे सुरु गर्नुभयो, उहाँले स्वर्गबाट निरन्तरता दिनुहुन्छ पृथ्वीमा भएका आफ्ना चुनिएका भाँडाहरूद्वारा (पावल लगायत अरू विश्वासीहरू)। ख्रीष्टको महिमित सेवकाइ क्रूसमा वा बौरिउठाइमा वा स्वर्गारोहणमा अन्त भएन। त्यो आजसम्म जारी छ! मर्कूस १६:२० फेरि हेर्नुस्।

ख्रीष्टले पावलद्वारा, वचन र कार्यद्वारा, “सामर्थी चिन्हहरू र अचम्मका कामहरूद्वारा” (अन्यजातिहरूको मुक्तिको निम्ति) ठूला-ठूला कामहरू गर्दै हुनुहुन्थ्यो। ख्रीष्टले पावलद्वारा गजबका आश्चर्यकर्महरू गर्नुभयो। पावलले कोरिन्थीहरूलाई यस्तै कुरा गरेका थिए: “म कुनै कुरामा सबैभन्दा मुख्य प्रेरितहरूभन्दा कम छैन। साँच्ची नै प्रेरितका लक्षणहरू तिमीहरूका बीचमा सम्पूर्ण धीरजसाथ चिन्हहरू, अचम्मका कामहरू र सामर्थ्यका कामहरूमा प्रकट गरिएका थिए” (२ कोरिन्थी १२:११-१२)। यो ख्याल राख्नुहोस् कि यी चाहिँ “प्रेरितका लक्षणहरू” थिए (साथै तुलना गर्नुस् प्रेरित २:४३; ५:१२)। पहिलो शताब्दीको मण्डलीमा समेत आश्चर्यकर्महरू गर्ने सामान्यतयाः प्रेरितहरू नै हुन्थे। यी आश्चर्यकर्महरू सबै विश्वासीहरूले गर्दैनथे। प्रेरितहरू जब बितेर गए, प्रेरितका चिन्हहरू पनि उनीहरूसितै बितेर गए। यी सुरुका चिन्हरूपी आश्चर्यकर्महरूको उद्देश्य हिब्रू २:३-४ मा प्रस्तुत गरिएको छ। आश्चर्यकर्महरूले प्रेरितहरूको सन्देशलाई समर्थन गरे र साँचो प्रमाणित गरे। प्रायः “अनपढ र अशिक्षित” (प्रेरित ४:१३) भनी बयान गरिएका प्रेरितहरूको आफ्नै योग्यता केही थिएन। तसर्थ परमेश्वरले तिनीहरलाई यस्ता योग्यताहरू दिनुभयो जोचाहिँ अतिदर्शनीय थिए र उल्लेखनीय थिए अनि तिनले प्रेरितहरूको सन्देश परमेश्वरबाट आएको हो भन्ने कुरा जनाए।

आज, प्रेरित-पश्चातको युगमा, सुसमाचार प्रचारका निम्ति चिन्हरूपी आश्चर्यकर्महरू आवश्यक छैनन्। परमेश्वरले हामीलाई आफ्नो पूर्ण वचन (६६ पुस्तकहरू) ले र आफ्नो सामर्थी आत्माले र परमेश्वरको सारा हातहतियारले (एफेसी ६:१०-१८) सुसज्जित पार्नुभएको छ। हामीलाई अरू के कुरा चाहिन्छ र? सुसमाचार प्रचारको निम्ति “चिन्हहरू र आश्चर्यकर्महरू” आज पनि आवश्यक छन् भनेर सिकाउनेहरू (कथित “पावर इभान्जेलिज्म”) देखि होसियार हुनुहोस्। आज हामीसँग कुनै प्रेरितहरू छैनन्, न ता हामीसित प्रेरितका चिन्हहरू नै छन्, तर हामीसित प्रेरितका शिक्षाहरू छन् जसलाई हामीले यत्नसित प्रचार गर्नुपर्छ र सिकाउनुपर्छ। जब त्यसलाई आत्माको सामर्थ्यमा प्रचार गरिन्छ तब स्वर्गकै सम्पूर्ण असीम सामर्थ्यसहित परमेश्वर स्वयंले आफ्नो वचनलाई समर्थन गर्नुहुनेछ र त्यसको पछाडि उभिनुहुन्छ।

ख्रीष्टले पावलद्वारा गर्नुभएका आश्चर्यकर्महरू के कस्ता थिए?

      प्रेरित १३:६-१२ — टुन्याहा एलिमास अन्धापनाले प्रहार गरिए
      प्रेरित १४:१-३ — उनीहरूको हातहरूबाट चिन्हहरू र आश्चर्यकर्महरू भए
      प्रेरित १४:८-१० — जन्मैदेखिको लङ्गडो तुरुन्तै निको पारियो
      प्रेरित १६:६-१८ — एउटी युवतीबाट दुष्ट आत्मा हटाइयो
      प्रेरित १६:२५ आदि — झ्यालखानाबाट अलौकिक छुटकारा गरियो
      प्रेरित १९:११-१६ — धेरैजना निको पारिए र दुष्टात्माहरू निकालिए

यी आश्चर्यकर्महरूले कस्तो नतीजा ल्यायो?

“तब त्यहाँ जे भएको थियो, सो देखीकन प्रभुको शिक्षाले चकित भएर ती अञ्चलाधीशले विश्वास गरे” (प्रेरित १३:१२)।

“अनि यो कुरा एफेससमा बस्ने सबै यहूदीहरू र ग्रीकहरूले पनि थाह पाए; अनि तिनीहरू सबैलाई डर भयो, र प्रभु येशूको नामको बढाइ भयो। यसरी परमेश्वरको वचन शक्तिसित बढ्दै गयो र विजयी भयो” (प्रेरित १९:१७,२०)। परमेश्वर-केन्द्रित सुसमाचार प्रचार “परमेश्वरको आत्माको सामर्थ्यमा” गरिनुपर्छ। परमेश्वरको काम परमेश्वरको तरिकामा र परमेश्वरको सामर्थ्यमा गरिनुपर्छ। “न बलद्वारा, न शक्तिद्वारा, तर मेरो आत्माद्वारा, सेनाहरूको परमप्रभु भन्नुहुन्छ” (जकरिया ४:६)। यस युगमा ख्रीष्टले आफ्नो मण्डली निर्माण गर्दै हुनुहुन्छ (मत्ती १६:१८) जोचाहिँ उहाँको घर हो (१ तिमोथी ३:१५; दाँज्नुस् हिब्रू ३:६)। “परमप्रभुले नै घर निर्माण गर्नुभएन भने ता यसको निर्माण गर्नेहरूले व्यर्थमा यसमा परिश्रम गर्दछन्; परमप्रभुले नै शहरको रक्षा गर्नुभएन भने पाले व्यर्थमा जागो बस्दछ” (भजनसङ्ग्रह १२७:१)। सुरुका चेलाहरू परमेश्वरको आत्माको सामर्थ्य र निर्देशनमा परिचालित थिए भन्ने कुरा निम्न पदहरूबाट प्रस्ट छ: प्ररित १:८; २:१५-१७; ४:८; ४:३१; ६:५; ७:५५; ९:१७; १३:२,४; १३:५२; १५:२८; १६:६।

रोमी १५:१९

“यरूशलेमदेखि…इल्लुरिकुमसम्म” (पद १९) — पावलको मिसनरी परिश्रमको सिमानाहरू यिनै हुन्। उनको परिश्रम कहाँसम्म पुगेको थियो? दक्षिण-पूर्वी सिमाना चाहिँ यरूशलेम थियो; उत्तर-पश्चिमी सिमाना चाहिँ इल्लुरिकुम थियो जुनचाहिँ म्यासिडोनिया र अखैयाको उत्तर र पश्चिमपट्टि थियो। यी दुई सिमानाहरू बीचको दूरी करिब २२०० किलोमिटर थियो (स्मरण होस् पावलको सेवकाइ केवल सीधा रेखामा सीमित थिएन तर उक्त भू-भागको “चारैतिर” सम्म पुगेको थियो)!। प्रेरितको पुस्तकले इल्लुरिकुम पुगेको यात्रालाई उल्लेख गरेको छैन। तर उक्त यात्रा प्रेरित २०:१-२ को समयमा पूरा भएको हुन सक्छ अथवा पावल आफू कोरिन्थमा अवस्थित भएको बेलामा त्यहाँ गएको हुन सक्छ जुन कोरिन्थमा हुँदा नै रोमीहरूलाई यो पत्र लेखिएको थियो। पावलले कोरिन्थबाट रोमीहरूलाई यो पत्र आफ्नो तेस्रो मिसनरी यात्राको अन्ततिर लेखेका हुन्। पावलको काम सतही थिएन, गहिरो थियो। उनले परमेश्वरले उनलाई दिनुभएको कामलाई पूरा गरे। उनले आफ्नो काम फत्ते गरी छाडे।

पावलले ख्रीष्टको सुसमाचार “पूरा प्रचार गरे”; अक्षरशः उनले सुसमाचारपूरा गरे (भर्नु, भरिएको बनाउनु, पूरा गर्नु, सम्पन्न गर्नु)। यो शब्द बप्तिस्मा दिने यूहन्नाको सम्बन्धमा प्रयोग भएको छ जसले “आफ्नो (जीवनको) दौड पूरा गरे” (प्रेरित १३:२५)। उनले उसलाई परमेश्वरबाट दिइएको कामलाई पूरा गरे। पावलले आफ्नो सुसमाचारीय काम पूरा गरे। परमेश्वरले उनलाई निर्देशित गर्नुभएका सबै ठाउँहरूलाई उनले ख्रीष्टको सुसमाचार विश्वासयोग्यसाथ घोषणा गरे। उनी मण्डली सुरु गर्ने वा स्थापना गर्ने व्यक्ति थिए। जसरी पावलले कोरिन्थीहरूलाई भने, “मैले रोपें” (१ कोरिन्थी ३:८), अरूहरूले पानी लगाए। रोप्नेले आफ्नो रोप्ने काम गर्छ र त्यसपछि अर्को ठाउँमा सरेर जान्छ। पावलले विश्वासयोग्यसाथ रोपिसकेपछि उसले भन्न सके, “अब यी इलाकाहरूमा कुनै ठाउँ नरहेको हुनाले” (रोमी १५:२३)। रोमी १५ का बाँकी पदहरूमा बयान गरिएअनुसार पावल अर्को ठाउँमा सर्ने बेला भएको थियो।

पावलले जुन सुसमाचारीय सेवकाइ पूरा गरे त्यो सतही वा थोरै गहिराइको थिएन। उनको सन्देश न्यूनतम आवश्यकता भन्दा धेरै परसम्म पुग्थ्यो। उनले परमेश्वरको अनुग्रहको सुसमाचारको गवाही दिने क्रममा (प्रेरित २०:२४) उनी परमेश्वरको पूरा मनसाय बताउन अठोट गर्थे (प्रेरित २०:२७)। यो त वर्तमान समयको आत्माभन्दा पूरै भिन्न छ; आज केवल न्यूनतम कुराहरू मात्र प्रचार गर्नुपर्छ र विभाजन ल्याउने र अरूलाई चोट पर्ने शिक्षाहरू सिकाउनुहुँदैन भन्ने गरिन्छ। हाम्रा प्रभुले हामीलाई “मैले तिमीहरूलाई जे-जे आज्ञा गरें, ती सबै तिनीहरूलाई पालन गर्न सिकाओ” भन्नुभयो (मत्ती २८:२०)। पावलको सुसमाचारीय सेवकाइ केवल खँदिलो मात्र थिएन, त्यो उल्लेखनीय गरी प्रभावकारी पनि थियो। उनको तेस्रो मिसनरी यात्राको समयमा एफेससमा पावलको बसाइको अवधि लामो थियो (प्रेरित २०:३१)। यस सेवकाइको असर कस्तो थियो? “अनि यो कुरा दुई वर्षसम्म भइरह्यो; यसो हुँदा एशियामा बस्ने सबैले - दुवै यहूदीहरू र ग्रीकहरूले - प्रभु येशूको वचन सुने” (प्रेरित १९:१०)। “यसरी परमेश्वरको वचन शक्तिसित बढ्दै गयो र विजयी भयो” (प्ररित १९:२०)। पावलले सुसमाचार पूरा गरे। उनले यस्तै अभिव्यक्ति कलस्सी १:२६ मा पनि प्रयोग गर्दछन्। उनको सेवकाइ भनेको “परमेश्वरको वचनलाई अर्थात् त्यस रहस्यलाई पूरा गर्नालाई” थियो।

“यसकारण यरूशलेमदेखि, र चारैतिर इल्लुरिकुमसम्म मैले ख्रीष्टको सुसमाचार पूरा प्रचार गरेको छु” (रोमी १५:१९)

“परमेश्वरको वचनलाई अर्थात् त्यस रहस्यलाई पूरा गर्नालाई” (कलस्सी १:२६)

दुवै खण्डहरूले अन्यजातिहरूको बीचमा रहेको पावलको सेवकाइको चर्चा गर्दैछन्। दुवै खण्डहरूले सुसमाचारको त्यस पक्षलाई जनाउँदैछन् जोचाहिँ एउटा “रहस्य” थियो जुनचाहिँ बिगतका युगहरूमा लुकाई राखिइएको थियो। यसलाई हामी विस्तृत रूपमा अध्ययन गर्नेछौं जब हामी उक्त रहस्यको पावलद्वाराको प्रकट हुवाइलाई रोमी १६:२५-२६ मा हेर्नेछौं।

रोमी १५:२०-२१

मण्डली स्थापना गर्ने काममा पावलको नीति भनेको त्यस्तो ठाउँमा जानु थियो जहाँ सुसमाचार प्रचार गरिएको छैन। पावल एक अग्रज मिसनरी थिए, बाटो खोल्ने व्यक्ति थिए, मण्डली सुरुकर्ता थिए। उनको नीति २ कोरिन्थी १०:१४-१६ मा पनि प्रस्तुत गरिएको छ। आजकल पावलको यस नीतिलाई बलजफ्ती गर्ने मानिसहरूद्वारा पटकपटक अवहेलना भइरहेको पाइन्छ जब तिनीहरू यस्तो गाउँ वा बस्तीमा मण्डली सुरु गर्न जान्छन् जहाँ पहिल्यै एउटा ठोस किसिमको, बाइबल विश्वास गर्ने, विश्वासीहरूको सुस्थापित मण्डली छँदैछ। यसले शारीरिक प्रतिस्पर्धा र अनावश्यक गडबडी ल्याउँछ जुनचाहिँ नयाँ नियमको नमुनाको बिलकुलै विपरीत कुरा हो। ख्रीष्टको निम्ति दाबी गरिसकिएको इलाकाभित्र यसरी छिर्नु कति खेदजनक कुरा हो जब कि त्यहाँ कति धेरै इलाकाहरू छन् जहाँ सुसमाचारको गवाही बेसरी खाँचो परिरहेको छ!

पद २१ मा पावलले यशैया ५२:१५ बाट उद्दरण गर्छन्, जुन पद त्यस खण्डको ठीक अगाडि रहेको छ जुन खण्ड ख्रीष्टको प्रतिस्थापनकारी मृत्युको भविष्यवाणी गर्ने पुरानो नियमकै सबभन्दा महत्त्वपूर्ण खण्ड हो (यशैया ५३)। यहोवाका दुःख भोग्नुहुने सेवकका कारण, सुसमाचारको सन्देश राजाहरू र अन्यजातिहरूकहाँ पुग्न सक्छ, अनि यो कुरा पावलका दिनहरूमा निश्चय पनि पूरा हुँदै थियो (प्रेरित ९:१५ सित दाँज्नुस्)। मुक्तिदाताको नाम कहिल्यै नसुनेकाहरूका लागि हरेक विश्वासीको हृदय उत्तेजित हुन र बोझिलो बन्न सकोस्। अन्यजातिहरूको बीचमा ख्रीष्टको खोजेर नसकिने धनहरूलाई प्रचार गर्नु पावलको लागि सबैभन्दा महान् अवसर थियो (एफेसी ३:८)।

रोमी १५:२२-२४

परमेश्वरको पूर्वदृष्टि र उहाँको अगुवाइमा हिँड्ने क्रममा, पावल रोममा आउनदेखि निरन्तरै रोकिएका थिए (२२ पद, रोमी १:१३ हेर्नुहोस्)। उनी किन रोकिए? यरूशलेमदेखि इल्लुरिकुमसम्म (१९पद) पूर्ण रूपमा प्रचार कार्यको आफ्नो सेवकाइ पूरा नगरेसम्म उनी आउन सक्ने थिएनन्। तर ती इलाकाहरूमा यो कार्यभार पूरा गरेपछि “उनी अब मिसनरी आँखालाई थप टाढाका ठाउँहरूमा फैलाउन स्वतन्त्र थिए” (मूर्रे)। उनले आफ्नो आँखा स्पेनतर्फ लगाए (२४ पद)।

तीन प्रचार-यात्राहरू मार्फत ती इलाकाहरूमा सुसमाचार सुनाएपछि, तिनले अब रोममा गएर विश्वासीहरूलाई देख्ने तृष्णा गरे। धेरै वर्षहरूदेखि पावललाई रोमका जनहरू भेट्ने ठूलो इच्छा थियो र उनले यो इच्छा यस पत्रको सुरुमा पनि प्रकट गरेका थिए (रोमी १:९-१३)। जसरी उनीहरू तिनका निम्ति उत्साह बन्नेथिए (रोमी १:१२), उसरी नै उनी पनि उनीहरूका निम्ति आशिष र उत्साह बन्न चाहन्थे (रोमी १:११)। उनले रगतद्वारा किनिएका ख्रीष्टमा आफ्ना भाइहरू र बहिनीहरूसँगै हुने लालसा गरे (रोमी १५:२४; १ यूहन्ना ३:१४ सित तुलना गर्नुहोस्)।

पावलको मूलभूतउद्देश्यचाहिँ रोम होइन स्पेन जानु थियो। योचाहिँ सुसमाचार प्रचार नगरिएको इलाकामा पुग्ने उनको योजनाअनुसार नै थियो (२०पद)। रोममा सुसमाचार प्रचार गरिएको थियो र त्यहाँ मण्डली राम्ररी स्थापित गरिएको थियो। तर स्पेनतर्फ जाँदा पावलले रोममा विश्वासीहरूलाई सहायता गर्न र उनीहरूद्वारा सहायता गरिनको निम्ति पहिले रोकिने योजना गरे। उनले रोमका जनहरूले उनलाई स्पेनतर्फको यात्रामा परसम्म पुर्याइदिने (उनको यात्राको निम्ति आवश्यक कुराहरूको प्रबन्ध गरिदिने) अपेक्षा गरेका थिए। “त्यसैगरी नै ती दिनहरूमा सुसमाचार “फैलाइन्थ्यो”, हो, र अहिले पनि! किनभने हामी पवित्र जनहरूको यस्तो जमात पाउँदछौं जोहरूले प्रार्थना र दानहरूद्वारा प्रचारकलाई अन्य भूमिहरूमा पठाउँछन्!” (न्यूवेल)।

पावलले रोमीहरूलाई भेट्ने र त्यसपछि स्पेनतर्फ लाग्ने योजना बनाए, तर उनको योजना परमेश्वरद्वाराहेरफेर गर्न सकिने गरी उहाँकै अधीनतामा गरिएको थियो। पावलको यात्रा-तालिका उनको आफ्नो योजना अनुसार भएन। उनी रोममा त आइपुगे, तर स्पेन जानको निम्ति होइन, बरू ज्यानै जानसक्ने जहाज दुर्घटना हुँदै कैदीको रूपमा। पावलले सोचेअनुसार त भएन, तर निश्चय नै पावलका सार्वभौम अगुवाले सोचेअनुसारचाहिँ भयो। त्यसैगरी, हामीले पनि हरेक पटक हाम्रा योजनाहरू र समयतालिकाहरूलाई परमेश्वरको हातमा राख्नुपर्छ, ताकि उहाँले आफ्नै इच्छा अनुसार तिनलाई संशोधन गर्न अथवा रद्द गर्नु सक्नुभएको होस्।

के पावल कुनै समयमा स्पेन पुगे त? बाइबलले हामीलाई जवाफ दिँदैन। बाइबलभन्दा बाहिरका केही लेखहरू छन् जसले उनी स्पेन पुगेको सम्भावित सङ्केत दिन्छन्। “पावलले सारा संसारलाई धार्मिकताको प्रचार गरेपछि पश्चिमको पल्लो छेऊमा गएपछि...” (Clement of Rome, 1 Corinthians V.vii)। “पश्चिमको पल्लो छेऊ” भन्नाले सम्भवत: यूरोपको पश्चिमी भागहरूलाई देखाउँछ जसले स्पेनलाई पनि पूर्ण रूपमा सङ्केत गर्दछ।

रोमी १५:२५-२६

रोमको बाटो भएर स्पेन जानलाई पावलले यात्रा सुरु गर्नुभन्दा अगाडि, उनले गर्नुपर्ने केही काम थियो। उनले यरूशलेममा भएका यहूदी जनहरूको सेवा गर्नुपर्नेथियो। पावललाई पत्रुस, याकूब र यूहन्नाले अन्यजातिहरूकहाँ जानु अनि गरिबहरू (गलाती २:१०, सायद यरूशलेमका गरिब विश्वासीहरू) लाई कहिल्यै नभुल्नु भनी भनेको कुरालाई उनले बिर्सेनन्। यी विश्वासीहरू निकै गरिब थिए र उनीहरूलाई सहायताको खाँचो थियो, र म्यासिडोनिया र अखैयाका विश्वासीहरूले आफ्नो तर्फबाट उदार रत्यागी हृदयलेदिएका थिए। यरूशलेमका जनहरूलाई दिनको निम्ति पावलले म्यासिडोनिया र अखैयाका विश्वासीहरूलाई उत्साह दिएको मुख्य भूमिकालाई यहाँ उल्लेख गरिएको छैन (१ कोरिन्थी १६:१-४ र २ कोरिन्थी ८-९ अध्यायहरू पढ्नुहोस्)।

यरूशलेमका विश्वासीहरू किन यस्तो खाँचोमा परेका थिए? हामी जान्दछौं कि मण्डलीका सुरुका दिनहरूमा यरूशलेमका यहूदीहरूले आफ्नो सम्पत्तिहरू बेचेर बाँडेका थिए: “अनि विश्वास गर्नेहरू सबै एकैसाथ थिए, र तिनीहरूका सबै थोकहरू साझा थिए। अनि तिनीहरूले आफ्ना सम्पत्ति र सामानहरू बेचेर हरेकलाई खाँचो परेअनुसार ती सबै मानिसहरूलाई बाँडिदिन्थे” (प्रेरित २:४४-४५)। यसको अर्थ, उक्त समयमा पनि त्यहाँ आवश्यकतामा परेका विश्वासीहरू थिए। त्यति धेरै जनाको गरिबीको मूख्य कारणचाहिँ सतावट हुनसक्छ। मण्डली इतिहासमा, विश्वास गर्ने यहूदीहरू उनीहरूको आफ्नै मानिसहरूद्वारा सताइएका छन्, उनीहरूको आफ्नै परिवारद्वारा त्यागिएका छन् र यहूदी समाजबाट निकालिएका छन्। यो कुराको अलिकति पूर्वस्वाद यूहन्ना ९:३४-३५ मा पाइन्छ (जन्मैदेखिको अन्धो मानिस सभाघरबाट निकालिएको थियो; यूहन्ना ९:२२ पनि हेर्नुहोस्)। यो कुराले हामीलाई जब मानिसहरू बाहिर फ्याँकिन्छन्, येशू उनीहरूलाई स्वीकार गर्न पर्खिरहनुभएको हुनुहुन्छ भनी सम्झना गराउँदछ (यूहन्ना ६:३७ पनि हेर्नुहोस्)। विश्वास गर्ने एउटा यहूदी कसरी उसको परिवारबाट त्यागिन्छ भन्ने हृदय-स्पर्शी घटना पढ्न, चार्ली कोल्सन, युद्ध ढोलक बजाउने केटो नामक पुस्तिका हेर्नुहोस्। यरूशलेमका यहूदीहरूमाझ गरिबी आउनुको अर्को कारणचाहिँ प्यालेस्टाइनलाई बेस्सरी असर पार्ने गरी आएको अनिकाल थियो। यस अनिकालको कारणले “चेलाहरूले, हरेकले आफ्नो औकातमुताबिक यहूदियामा बसेका भाइहरूका निम्ति सहायता पठाउने निर्णय गरे” (प्रेरित ११:२७-३०)।

रोमी १५:२७

सङ्कष्टमा परेका यहूदीहरूको निम्ति त्यस्तो भेटी दिन अन्यजाति विश्वासीहरू खुशी थिए। यो काम उनीहरूले स्वेच्छापूर्वक गरे। उनीहरूले वाध्यताले होइन र इच्छुक हृदयले गरे। उनीहरूले २ कोरिन्थी ९:७ अनुसारको मनोभावले दिए।

अन्यजातिहरू यहूदीहरूका ऋणी हुन्। हामी उनीहरूप्रति एकदम ऋणी छौं किनभने “मुक्ति यहूदीहरूबाट छ” (यूहन्ना ४:२२)। हामी उनीहरूप्रति एकदम ऋणी छौं किनभने बाइबल यहूदीहरूबाटको हो। साँच्चै, लूकाबाहेक नयाँ नियमका अन्य सबै लेखकहरू यहूदीहरू नै थिए। हामीहरू यहूदीहरूका ऋणीहरू हौं किनभने उनीहरूको परमेश्वर अब हाम्रो परमेश्वर हुनुभएको छ। उनीहरूको मसीह हाम्रो मसीह हुनुभएको छ! अन्यजातिहरू आत्मिक कुराहरूका भागीदार बनाइएका छन्! अन्यजातिहरूले शारीरिक (भौतिक) कुराहरूमा यहूदीहरूको सेवा गर्नु केवल यथायोग्य कुरा मात्र हो। ठूला आत्मिक आशिषहरू उनीहरूबाट हामीकहाँ आएका छन्। त्यसैले ठूला शारीरिक वा भौतिक आशिषहरू हामीबाट उनीहरूलाई जानु उचित कुरा हो। हामीले हाम्रो यहूदी भाइहरूलाई हर सम्भव तरिकाले सहयोग गर्नुपर्छ। उनीहरूको ईश्वरीय इतिहासको कारणले पनि हामी विश्वास नगर्ने यहूदीहरू प्रति ऋणी छौं, यद्यपि उनीहरूको वर्तमान अविश्वासको कारणले उक्त सम्पत्तिलाई उनीहरूले ठीकसँग प्रतिनिधित्व गरिरहेका छैनन्। संसारमै यहूदीको सबैभन्दा मिल्ने मित्र ख्रीष्टमा विश्वास गर्नेहरू हुनुपर्छ।

रोमी १५:२८-२९

पावलले आफूलाई परमेश्वरको इच्छामनिराख्दैआफ्ना योजना तथा विचार बाँड्छन्।

  1. पहिलो, यहूदी विश्वासीहरूलाई सुरक्षितसाथ दान पुर्याउनु।
  2. ख्रीष्टको सुसमाचारको आशिषको भरपूरीमा रोममा भएका विश्वासीहरूकहाँ आउनु।
  3. स्पेनमा सुसमाचार प्रचार गर्नु (२८पद), र रोमको मण्डलीको सहायताद्वारा त्यहाँ आइपुग्नु।

पावलले कुरा गरेको “फल” भनेको म्यासिडोनिया र अखैयामा भएका अन्यजाति विश्वासीहरूबाट यहूदियाका गरिब जनहरूका निम्ति उदार हृदयलेदिइएको प्रेमको उपहार हो (फिलिप्पी ४:१७ लाई पनि दाँज्नुहोस् जहाँ “फल” शब्दको प्रयोग विश्वासीद्वारा विश्वासीलाई उदार हृदयले दिइएको दानको बारेमा बताउन प्रयोग गरिएको छ)। जुन थोकलाई कसै-कसैले खेर गएको बलिदान भन्छन्, त्यसलाई परमेश्वरले रहिरहने फल ठहराउनुहुन्छ। “कसै-कसैले चारैतिर छर्छ, तर पनि उसको बढ्ती नै हुन्छ” (हितोपदेश ११:२४)।

उनले उक्त दानलाई सफलतापूर्वक र सुरक्षासाथ नपुर्याएसम्म पावलको यरूशलेम तर्फको यात्रा सफल हुनेथिएन। तिनले “यो फल तिनीहरूलाई सुम्पिनुपर्नेथियो” अथवा मोहर (छाप) मार्नुपर्नेथियो। उक्त दान सुरक्षित साथ पुर्याइएपछि र उनीहरूलाई सुम्पिदिएपछि त्यो दानमा मोहर मारियो। दान सङ्कलन कार्य पहिल्यै भइसकेको थियो तर पुर्याइएको थिएन। “छाप” शब्दलाई परमेश्वरको सन्तानलाई सुरक्षितसाथ पुर्याउने सवालमा पनि प्रयोग गरिएको छ। परमेश्वरले हामीलाई पवित्र आत्माद्वारा छाप मार्नुभएको छ (२ कोरिन्थी १:२१-२२; एफेसी १:१३; ४:३०) जोचाहिँ हाम्रो अन्तिम छुटकाराको वैना वा जमानत हुनुहुन्छ। हामीभित्र वास गर्नुहुने आत्माचाहिँ हामी सुरक्षितसाथ परमेश्वरको स्वर्गमा पुर्याइनेछौं भन्ने कुराको निश्चयता (ग्यारेन्टी) हुनुहुन्छ। कसैले पनि त्यो छापलाई तोड्न सक्दैन। पावलले अन्यजाति विश्वासीहरूबाटको उक्त प्रेम-दानलाई सुरक्षित साथ पुर्याउनको निम्ति तिनको आफ्नै शक्ति, समय, बल र आवश्यक परेमा आफ्नै जीवन पनि (प्रेरित २१:१३ हेर्नुहोस्) दिन तयार थिए। परमेश्वर पनि उहाँको आफ्नै व्यक्तित्वमा तेस्रो स्वर्गमा हाम्रो सुरक्षित आगमनको निश्चयता (ग्यारेन्टी) हुनुहुन्छ! हामीहरू पवित्र पारिएका छौं, छाप मारिएका छौं र सुरक्षित पारिएका छौं!

पावलको योजना “तिमीहरूबाट भएर स्पेन” जानु थियो (२८ पद), अर्थात्, रोमीहरूबाट भएर। रोमीहरूको सहयोग र भौतिक सहायताको माध्यमद्वारा उनीहरूले तिनलाई स्पेनमा पुर्याउनेथिए। परमेश्वरका मानिसलाई परमेश्वरको कार्यको निम्ति सहयोग गर्नु परमेश्वरको मण्डलीहरूको विशेष अधिकार हो।

पावल कसरी रोम जानेथिए? “ख्रीष्टको सुसमाचारको आशिषको भरपूरीमा” (२९ पद)। पावलको हृदय परमेश्वरको असल खबरहरूले यति भरिएको र यति आशिषित भएको थियो कि रोमीहरूमा यो भरिएर पोखिनेथियो। रोमीको पुस्तकको चाबी शब्द नै “सुसमाचार” हो। यो पुस्तकको विषयवस्तु “परमेश्वरको सुसमाचार” हो (रोमी १:१)। पावलले केवल सुसमाचार प्रचार मात्र गरेनन्, तर सुसमाचार अनुसार जिए पनि; उनी सुसमाचारमा डुबेका थिए’ उनी “सुसमाचारका निम्ति अलग पारिएका” थिए (रोमी १:१)। कुनै व्यक्तिले पावललाई भेटेर पनि सुसमाचारको आशिषचाहिँ नभेट्न सक्दैनथियो। कुनै व्यक्तिले पावललाई भेट्दा परमेश्वरको असल खबरको बारेमाचाहिँ नसुन्न सक्दैनथियो।

रोमी १५:३०-३३ पावलको प्रार्थनाको बिन्ती

प्रभु येशू ख्रीष्ट र पवित्रआत्माबाट आएको प्रेमद्वारा (गलाती ५:२२), पावलले रोमका विश्वासीहरूलाई उनीसँगै मिलेर प्रार्थनामा कष्ट भोग्नर संघर्ष गर्न बिन्ती गर्दछन्। “संघर्ष” शब्दको अर्थ कुनै प्रतियोगितामा परिश्रम गर्नु, कुस्ती लड्नु, भिड्नु, युद्ध लड्नु भन्ने हुन्छ। यसको अर्थ सशक्त प्रयास गर्नु हुन्छ र अन्य ठाउँमा पावलले प्रार्थनासँग सम्बन्धित गरेर (कलस्सी ४:१२ हेर्नुहोस्) र विश्वासको असल लडाइँ लड्ने विषयमा (१ तिमोथी ६:१२; २ तिमोथी ४:७) उक्त शब्दको प्रयोग गरिएकोछ। बाइबलीय प्रार्थना भनेको सहज अभ्यास होइन (कलस्सी २:१ सँग तुलना गर्नुहोस्)। यसले हाम्रो सर्वोत्तम माग गर्दछ। आज निकै थोरै जनहरूले मात्र प्रार्थनामा परमेश्वरसँग कुस्ती लड्न र कष्ट भोग्न व्यक्तिगत रूपमा अनुभव गरेका छन्। “प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्” लूका ११:१ हेर्नुहोस्।

(टिप्पणीको निम्ति: ३० पदमा त्रिएक परमेश्वरको सबै सदस्यहरूको उल्लेख गरिएको छ: प्रभु येशू ख्रीष्ट, आत्मा, परमेश्वर। यो खण्डमा आत्माको फलको पनि उल्लेख गरिएको छ: प्रेम (३०पद), आनन्द (३२पद) र शान्ति (३३ पद)—गलाती ५:२२ सित तुलना गर्नुहोस्)

प्रार्थनाको पहिलो बिन्ती
(३१पद)—यहूदियामा भएका विश्वास नगर्नेहरूको हातबाट उम्कनको निम्ति।

पावल यरूशलेम जाँदाहुँदि उनी ठूलो खतरामा हिँडे (प्रेरित २१:११)। पावलको जीवन कसरी जोगियो भन्ने कुरा उल्लेखनीय छ। पावलले आफूलाई मार्ने निधो गरेका क्रोधले भरपूर यहूदी भीडको बीचमा आफैंलाई भेट्टाए। भीडले यसो भन्दै कराए, “त्यसलाई हटाइदेऊ!” (प्रेरित २१:३६)। “पृथ्वीबाट यस्तो मान्छेलाई हटाइदेऊ, किनकि त्यो जीवित रहनु उचित छैन!” (प्रेरित २२:२२)। यरूशलेमका ती अविश्वासीहरूको हातबाट पावलले पाएको अचम्मको छुटकाराको बारेमा पढ्नको निम्ति प्रेरित २१-२३ अध्यायहरू हेर्नुहोस्। “विश्वास नगर्नेहरू”—जोहरू अनाज्ञाकारी छन्, अर्थात्, सुसमाचारप्रति अनाज्ञाकारी।

प्रार्थनाको दोस्रो बिन्ती
(३१ पद)—उनको दान पुर्याउने सेवा पूरा होस् र त्यो सेवा पवित्र जनहरूका लागि ग्रहणयोग्य होस् भनेर।

“ग्रहणयोग्य” भन्नाले राम्ररी स्वीकार गरिएको। यही शब्द १६ पदमा पनि प्रयोग गरिएको छ। पावलले यहूदियामा भएका गरिब जनहरूप्रतिको प्रेमको निम्ति आफ्नो मिसन पूरा गर्न चाहन्थे र उक्त दान सधन्यवाद स्वीकार गरिएको देख्न चाहन्थे। पावल कसरी ती यहूदीहरूद्वारा ग्रहण गरिए? प्रेरित २१:१७ हेर्नुहोस्। त्यो भन्दा पनि महत्त्वपूर्ण त यी यहूदीहरूले अन्यजातिहरूको माझमा परमेश्वरले महान् कार्य गरिरहनुभएको कुरालाई महसुस गरे (प्रेरित २१:१९-२०)। अन्यजातिहरूको बीचबाट आफ्ना नामका निम्ति एउटा जाति निकाल्नालाई परमेश्वरले अन्यजातिहरूसँग भेट गर्नुभएको महान् कामप्रति उनीहरू अप्रसन्न भएनन् (प्रेरित १५:१४)।

प्रार्थनाको तेस्रो बिन्ती
(३२ पद)—परमेश्वरको इच्छाद्वारा रोममा आइपुग्नको निम्ति

पावल परमेश्वरको इच्छाद्वारा रोममा त आइपुगे तर उनले योजना गरे अनुसार चाहिँ होइन। मानिसले योजना बनाउँछ तर परमेश्वरले निर्धारण गर्नुहुन्छ। उनी रोमी कैदी भएर बन्धनहरूमा आइपुगे, तर यो परमेश्वरको इच्छामा थियो र “सुसमाचारका प्रगतिका” निम्ति थियो (फिलिप्पी १:१२)। पावल आनन्दसाथ रोममा आइपुगे। रोमका भाइहरूलाई पहिलोचोटि भेट्दा पावलले महसुस गरेको आनन्द प्रेरित २८:१४-१५ मा देख्न सकिन्छ। “ताजा हुनु" को अर्थ विश्राम गर्नु वा कसैको आत्मामा ताजा हुनु हो (थेयर)। यो कृयालाई (उपसर्गको प्रयोग नगरिकन) मत्ती ११:२८ मा प्रयोग गरिएको छ—“म तिमीहरूलाई विश्राम दिनेछु”। “ताजा” शब्दको अर्थको निम्ति १ कोरिन्थी १६:१८; २ कोरिन्थी ७:१३; फिलेमोन ७,२० हेर्नुहोस्। पावल उनीहरूको निम्ति र उनीहरू पावलको निम्ति ताजा तुल्याउने आशिष हुनेथिए।

तिनओटै बिन्तीहरूको जवाफ दिइयो!

पावलले आशिषको वचन दिएर यो अध्यायको अन्त्य गर्दछन् (३३ पद)।