Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

रोमी १५:१-९(क)

यस पृष्ठलाई छाप्नुहोस्

रोमी अध्याय १५

रोमी १५:१

यस अध्यायमा पावलले कमजोर भाइप्रति बलिया विश्वासीहरूको जिम्मेवारी देखाउँदै रोमी १४ अध्यायकै विषयमा अझै चर्चा गर्दैछन्। सायद यो अध्याय विभाजनलाई खेदजनक मान्नुपर्छ, किनकि रोमी १४ अध्यायको अन्तिम भागले रोमी १५ अध्यायको सुरुको भागलाई बुझ्न हामीलाई मद्दत दिन्छ। (अध्याय विभाजनहरू पछि थपिएका हुन्, ती परमेश्वरको प्रेरणायुक्त मौिलक रचनामा थिएनन्)।

पावलले विश्वासमा बलियाहरूको जिम्मेवारीलाई अघि सार्छन्। “हामी बलियाहरूले” — पावलले आफैलाई पनि बलियाहरूमध्ये गन्छन्। “पर्दछ” भन्नु “गर्नैपर्छ, हाम्रो दायित्व छ” भन्नु हो। यसको मतलब हाम्रो नैतिक दायित्व वा जिम्मेवारी छ। यो नैतिक दायित्व कमजोरप्रति रहेको छ। उनीहरूलाई हाम्रो प्रेमको दायित्व छ, ऋण छ (रोमी १३:८)। “दुर्बलताहरू” को माने कमजोरीहरू, अक्षरशः “बलको अभाव” भन्ने हुन्छ। क्रियापद “सहनु” को माने “बोक्नु, कुनै भार धान्नु, भारी थेग्नु, धैर्यतापूर्वक सहनु, सहेर बस्नु” हुन्छ। आफ्ना चेलाहरूसितको प्रभु येशूको उदाहरणलाई विचार गर्नुस्। उनीहरू धेरै तवरले कमजोर थिए तर उहाँले उनीहरूको कमजोरीहरूलाई धैर्यपूर्वक सहनुभयो, उनीहरूप्रति धैर्य गर्नुभयो र कोमलतापूर्वक उनीहरूलाई परिपक्क्व बनाउँदै लानुभयो ।

कमजोर विश्वासीप्रति बलियो विश्वासीको जिम्मेवारी:

  1. कमजोर विश्वासीलाई ग्रहण गर्नु, जसरी परमेश्वरले गर्नुभयो (रोमी १४:१,३)
  2. कमजोर विश्वासीलाई तुच्छ नठान्नु (रोमी १४:२)
  3. उसको बाटोमा ठेस लाग्ने कुरा नराखिदिनु (रोमी १४:१३,२०)
  4. “प्रेममा हिँड्नु”, अर्थात् प्रेमबमोजिम हिँड्नु (रोमी १४:१५)
  5. आफ्नो भाइ नष्ट नहोस् भनेर हाम्रा आफ्ना अधिकार तथा स्वतन्त्रतालाई त्याग गर्न तयार हुनु (रोमी १४:१५
  6. ख्रीष्टको शरीरमा शान्तिको पछि लाग्नु (रोमी १४:१७,१९)
  7. कमजोर विश्वासीका निम्ति टेक्ने ढुङगाहरू प्रदान गर्दै उसलाई निर्माण गराउनु, उन्नति गर्नु (रोमी १४:१९)
  8. कमजोर भाइको सामु हाम्रो स्वतन्त्रतालाई घमण्डपूर्वक प्रदर्शनी नगर्नु (रोमी १४:२२)
  9. उसका दुर्बलताहरूलाई धैर्यतापूर्वक सहनु (रोमी १५:१)
  10. आफैलाई खुशी पार्ने काम गरिनरहनु (रोमी १५:१)

बलियो विश्वासीले आफैलाई खुशी पार्ने काम गरिरहनुहुँदैन। यसको मतलब, उसले आफ्नै स्वार्थी इच्छाहरू पूरा गरिरहनुहुँदैन। हाम्रो प्राथमिक वास्ता आफैलाई कसरी खुशी पारूँ भन्ने पट्टि नभएर कमजोर भाइको कसरी उन्नतिको गरूँ भन्ने पट्टि हुनुपर्छ, यद्यपि त्यसो गर्दा व्यक्तिगत बलिदानको आवश्यकता पर्ला र आफैलाई इन्कार गर्नुपर्ला (आफूलाई ‘नाइ’ भन्नुपर्ला)।

रोमी १५:२

आफ्नो छिमेकीलाई खुशी पार्नुपर्ने कर्तव्य र दायित्व हरेक विश्वासीको हो। पावलले यहाँ हामीहरू मानिसलाई खुशी पार्ने खाले मानिसहरू बन्नुपर्छ भनेर सिकाउन खोजिरहेका होइनन्। “किनकि अब म मानिसहरूलाई मनाउँदैछु कि परमेश्वरलाई? अथवा के म मानिसहरूलाई खुशी पार्न खोज्दैछु? किनकि अझै मैले मानिसहरूलाई खुशी पारेको छु भने म ख्रीष्टको दास हुनेथिइनँ” (गलाती १:१०)। मानिसहरूलाई खुशी पार्नेहरू ख्रीष्टलाई खुशी पारिरहेका हुँदैनन् र उहाँको सेवा गरिरहेका हुँदैनन्। मानिसलाई खुशी पार्ने व्यक्तिले वास्तवमा आफैलाई खुशी पारिरहेको हुन्छ। ऊ आफ्नै स्वार्थ र फाइदाको निम्ति मानिसहरूसित राम्रो व्यवहार गर्दछ। यहाँ पावलले चर्चा गरिरहेको “छिमेकीलाई खुशी पार्ने” व्यक्तिले आफ्नै फाइदा खोजिरहेको छैन तर उसले आफ्नो छिमेकीको फाइदा खोजिरहेको छ। ऊ आफ्नो छिमेकीको भलाइको निम्ति व्यक्तिगत बलिदान गर्न तयार छ। यसलाई पावलले १ कोरिन्थी १०:३३ मा थप व्याख्या गरेका छन् — “जसरी म पनि तिनीहरूले मुक्ति पाऊन् भनेर मेरो आफ्नै फाइदा खोज्दिनँ, तर धेरैको फाइदा खोज्दै सबै मानिसहरूलाई सबै कुरामा खुशी राख्दछु”। तुलना गर्नुस् १ कोरिन्थी १३:५ सित — “प्रेमले आफ्नै भलाइ खोज्दैन”। सही मनोभाव यस्तो हुन्छ: “म आफ्नो छिमेकीलाई प्रेम गर्दछु र म उसको भलाइ र उसको फाइदा खोज्दैछु, म उसको निम्ति परमेश्वरकै उच्चतम भलाइ र सर्वोत्तम चाहन्छु। उसको उन्नति भएको ऊ निर्माण गरिएको म चाहन्छु, मेरो तर्फबाट ठूलो व्यक्तिगत बलिदानको आवश्यक्ता किन नपरोस्। यो व्यक्ति आत्मिक रूपमा स्वस्थ र आत्मिक रूपमा धनवान् बनेको म चाहन्छु!”

रोमी १५:३

पावलले अब हामीलाई ख्रीष्टको नमुना प्रस्तुत गर्दछन्। अर्काको भलाइको निम्ति आफैलाई खुशी नपारेको मानिस उहाँजस्तै अर्को नमुना भेट्टाउन सकिँदैन। ख्रीष्टको क्रूसमा जाने काम 0आफैलाई खुशी पार्ने अनुभव थिएन। पावलले भजनसङ्ग्रह ६९:९ बाट उद्दरण गर्दछन् — “किनकि तपाईंको घरको जोशले मलाई खाएको छ; अनि तपाईंलाई निन्दा गर्नेहरूका निन्दाहरू ममाथि परेका छन्”। यी शब्दहरू परमेश्वर पितालाई सम्बोधन गरिएका छन्। ख्रीष्ट आउनुभएको संसार परमेश्वरलाई घृणा गर्ने र परमेश्वरलाई गिल्ला गर्ने संसार थियो। उहाँ पिताको प्रतिनिधि भई आउनुभयो र पितातर्फ लक्षित गिल्ला र घृणाका अभिव्यक्तिहरू उहाँले आफैमाथि लिनुभयो। त्यसैगरी हामी पुत्रका प्रतिनिधि हौं र हामीले उहाँको निन्दा बोक्नुपर्छ (हेर्नुस् हिब्रू १३:१३)। जब आफैलाई खुशी पारूँ कि र अर्काको उन्नति गर्नुको सट्टा स्वार्थ पूरा गर्नपट्टि लागूँ कि भन्ने परीक्षाले घेर्छ, त्यसबेला हामी कलवरी क्रूसको उदाहरण र हाम्रा धन्यको मुक्तिदातालाई विचार गरौं जो सेवा गरिनलाई होइन तर सेवा गर्न र आफैलाई धेरैको छुटकाराको दामको रूपमा अर्पण गर्न आउनुभयो (मर्कूस १०:४२-४५)।

ख्रीष्टले कहिल्यै आफ्नै भलाइ खोज्नुभएन: सारा संसारलाई यो कुरा थाहा छ! “अनि येशूले तिनलाई भन्नुभयो: स्यालहरूका ओडार र आकाशका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको शिर राख्ने ठाउँधरि छैन” (मत्ती ८:२०)। तरैपनि बिहानको सबेरैदेखि रातको अबेरसम्म, अनि कतिपटक ढिलो रातीसम्म पनि, उहाँको पूरै जीवन अर्काको सेवा गर्नमा व्यवस्त हुन्थ्यो! निरन्तर भीडहरूले उहाँबाट खिँचिरहने कार्य गर्दथ्यो — उहाँको समय, उहाँको प्रेम, उहाँको शिक्षण, उहाँका चङ्गाइ — उहाँमा स्वार्थको एक छेउ पनि छैन भन्ने कुरामा उनीहरू भरोसा गर्न सक्थे भन्ने कुराको सुन्दर प्रमाण त्यो थियो।” — विलियम न्यूवेल

रोमी १५:४

बलियाहरू यदि कमजोरहरूप्रति जस्तो हुनुपर्छ त्यस्तो हुने हो भने (पद १-२) उनीहरूसित ख्रीष्टको मन हुनु आवश्यक छ (पद ३)। ख्रीष्टको मन हुने एउटै उपाय भनेको पवित्रशास्त्रहरू बुझेर हो, ती कुराहरू जो “पहिल्यै लेखिए” । यी कुराहरू हाम्रा निम्ति लेखिएका हुनाले हामी कति धन्यवादी हुनुपर्छ:

“तर येशू नै परमेश्वरका पुत्र ‘ख्रीष्ट’ हुनुहुन्छ भनी तिमीहरूले विश्वास गर्न सक र विश्वास गरेर तिमीहरूले उहाँको नामद्वारा जीवन पाओ भनी यीचाहिँ लेखिएका हुन्” (यूहन्ना २०:३१)

“मैले तिमीहरूलाई अर्थात् परमेश्वरको पुत्रको नाममा विश्वास गर्नेहरूलाई यी कुराहरू लेखेको छु — तिमीहरूसित अनन्त जीवन छ भन्ने कुरा तिमीहरूलाई थाहा होस्, र परमेश्वरको पुत्रको नाममा तिमीहरूले विश्वास गर” (१ यूहन्ना ५:१३)।

“कि उहाँले विशेष हाम्रा निम्ति यसो भन्दै हुनुहुन्छ? हो, जोत्नेले आशासित जोत्नुपर्छ, र आशासित अन्न झाँट्नेले उसको आशाको भागीदार हुनुपर्छ भनेर हाम्रा निम्ति नै यो लेखिएको हो” (१ कोरिन्थी ९:१०)।

“अब उदाहरणका निम्ति यी सबै कुराहरू तिनीहरूमाथि आइपरे, र हाम्रै चेताउनीका निम्ति लेखिएका हुन्, जसमाथि संसारका अन्तहरू आइपुगेका छन्” (१ कोरिन्थी १०:११)।

परमेश्वरको वचन हाम्रै निम्ति हो! प्रिय पुस्तक! परमेश्वरले हामीलाई अन्धकारमै छोड्नुभएको छैन। परमेश्वरले हामीलाई निर्देशन बिना छोड्नुभएको छैन। परमेश्वरले हामीलाई सान्त्वना र आशा बिना छोड्नुभएको छैन। परमेश्वरले हामीलाई कम्पास र नक्सा बिना छोड्नुभएको छैन। परमेश्वरले हामीलाई उहाँको महिमाको निम्ति वर्तमान समयमा यस संसारमा कसरी जिउन सक्छौं भनेर निश्चित निर्देशनहरू दिनुभएको छ। यी कुराहरू हाम्रा निम्ति लेखिएका हुन्, हाम्रै शिक्षाका निम्ति (पद ४), हाम्रो निर्देशनको निम्ति, हाम्रो शिक्षणको निम्ति, ताकि हामी सिकाइएका हौं। दाँज्नुस् २ तिमोथि ३:१६ — “सबै पवित्रशास्त्र शिक्षाका निम्ति लाभदायक छन्।”

यस पदले देखाउँछ कि पवित्रशास्त्रले एउटा विश्वास गर्ने हृदयलाई दुईटा कुरा प्रदान गर्दछ — धैर्य र सान्त्वना: “हामीले धीरज र पवित्र शास्त्रबाटको सान्त्वनाद्वारा आशा पाउन सकौं भनेर”। धैर्य र सान्त्वना आउने पवित्रशास्त्रहरूबाट हो। पवित्रशास्त्रहरू धैर्य र सान्त्वनाका स्रोत हुन्। धैर्य भन्नाले ठूलो सङ्कटहरू र परीक्षा र कष्टका बीच सहने शक्ति, लागिरहन सक्ने क्षमता भन्ने बुझिन्छ। अक्षरशः यसको माने हो “मुनि रहनु”, यसैले यसको अर्थ हो जीवनका कठिन परीक्षाहरूका बीच स्थिर रहनु। सान्त्वना भन्नाले हौसला भन्ने बुझिन्छ। पवित्रशास्त्रले जो विश्वासीको मन भिजेर रहेको छ र जसका विचारहरू परमेश्वरको वचनमा डुबेको छ उसले यस स्रोतबाट सबैभन्दा कठिन परिस्थितिहरूमा समेत परमेश्वरप्रति विश्वासयोग्य रहन र लागिरहन हरेक प्रकारको उत्साह प्राप्त गर्नेछ। यसको प्रतिफल के हुन्छ त? “आशा पाउन सकौं भनेर”! पवित्रशास्त्रहरूको माध्यमद्वारा हामी सबैभन्दा ठूला कठिनाइहरूमा समेत परमेश्वरमा भरोसा गर्न लागिरहन उत्साह पाउँदछौं यस्तो ठूलो प्रतीक्षा र निश्चित आशाका साथ कि परमेश्वरले सफलतापूर्वक हामीलाई पार गराउनुहुनेछ र भविष्य केवल उज्यालो मात्र हुन सक्नेछ!

दौडको चित्रण: ख्रीष्टिय जीवनलाई दौडसित तुलना गर्ने गरिएको छ (हिब्रू १२:१-२; १ कोरिन्थी ९:२४; २ तिमोथी ४:७)। दौड दौडने क्रममा त्यहाँ केही कठिनाइहरू हुन्छन् र परीक्षा र बाधा-अड्चनहरू हुन्छन् जसलाई हामीले बाटोमा सामना गर्नुपर्ने हुन्छ। तरैपनि, जतिसुकै गाह्रो किन नहोस् वा हाम्रो ज्यान जतिसुकै लखत्रान किन नहोस् हामी दौडमा दौडिरहनैपर्छ। हामीले छोड्नुहुन्न (धैर्य, दाँज्नुस् हिब्रू १२:१), सहनुपर्छ, लागिरहनुपर्छ। हामीले हार खानुहुँदैन। हामीले दौड पूरा गर्नैपर्छ। बाटो अगाडि बढ्दै गर्दा हामीले सान्त्वना र हौसला पाउँछौं। दर्शकहरूले हामीलाई उत्साह देलान्, हामीलाई फेरि सुरुमा जस्तै जोश प्राप्त हुन सक्छ, अनि सबभन्दा महत्त्वपूर्ण कुरा त हामीले उहाँलाई सम्झना गर्नुपर्छ जसले सफलतापूर्वक दौड पूरा गरिसक्नुभएको छ (हिब्रू १२:२)। अझ हामी निशानाको ठूलो आशा र निश्चित प्रतीक्षासहित दौडनुपर्छ। त्यहाँ हामीलाई पर्खिरहेका आनन्दहरू र आशिषहरू हामी जान्दछौं, अनि दौड पूरा गरेपछि “स्याबास!” भनिएको सुन्न पाउने ठूलो प्रतीक्षासित हामी अगाडि हेर्दछौं। यसरी धैर्य र सान्त्वनाद्वारा हामीसँग आशा (खुशीको प्रतीक्षा) हुन सक्छ।

रोमी १५:५

पद ४ मा परमेश्वरको वचन धैर्य र सान्त्वनाको स्रोत भएको कुरा उल्लेख छ।
पद ५ मा परमेश्वर स्वयं नै धैर्य र सान्त्वनाको स्रोत भएको कुरा उल्लेख छ।

मैले कसरी धैर्य (कठिन परीक्षाहरूमा सहनशीलता) र सान्त्वना (कठिनाइहरूका बीच हौसला) पाउन सक्छु? म सबै सान्त्वनाका परमेश्वरमा रहिरहनुपर्छ र उहाँको वचन मभित्र रहन दिनुपर्छ (यूहन्ना १५:७)।

पद ४ मा चाबी शब्दहरू धैर्य, सान्त्वना र आशा हुन्। पद ५ मा परमेश्वरलाई धैर्यका परमेश्वर र सान्त्वनाको परमेश्वर भनिएको छ। पद १३ मा उहाँलाई आशाको परमेश्वर भनिएको छ। यही महान् परमेश्वरले उहाँका विश्वासी जनहरूलाई एकै मनको हुन, एउटै विचार राख्न, सहमतमा हुन, एकमत हुन प्रदान गर्नुभएको होस्। नयाँ नियमका निम्न पदहरूले विश्वासीहरूलाई एकै मनको हुन अर्ती दिन्छन्: २ कोरिन्थी १३:११; फिलिप्पी २:२ र दाँज्नुस् पद ५; फिलिप्पी ३:१४,१६; ४:२; रोमी १२:१६।

विश्वासीहरूलाई एउटै मनको हुन कसरी सम्भव छ? हामीहरू कसरी उस्तै विचार राख्न सक्छौं? हामी कसरी एकमत हुन सक्छौं। यसको चाबी रोमी १५:५ को अन्तमा भेटिन्छ — “येशू ख्रीष्ट अनुसार”। हाम्रो विचार उहाँको विचारसित मेल खानुपर्छ। उहाँ नै मानदण्ड हुनुहुन्छ।

दृष्टान्त: लमाइको नापको सम्बन्धमा त्यहाँ एउटा मानदण्ड हुन खाँचो छ। एक फुट (१२ इञ्च) भनेको कति लामो हो? एक फुट कति लामो हुन्छ भन्ने सवालमा हामी सबैजना कसरी समहतमा आउन सक्छौं? एक फुट कति लामो हुनुपर्छ भन्ने सवालमा हामी हरेकको आ-आफ्नै धारणा हुन सक्छ। अथवा यदि हामीले एक फुट भनेको एक वयस्कको पैतलाजत्तिकै लामो हुनुपर्छ भन्ने निर्णय गर्यौं भने कोहीकोही वयस्कहरू, जस्तै बास्केटबल खेलाडीहरूका पैतलाहरू ठूलो र लामा हुन्छन् जब कि अरूका साना र छोटा हुन्छन्। तर खुसीको कुरा त्यहाँ एउटा मानदण्ड छ जसको सम्बन्धमा हामी सबैजना सहमत हुन सक्छौं, ठ्याक्कै कति हो एक इञ्च लामो भनेको, एक फुट भनेको र एक गज भनेको। एक फुटको लमाइ संयुक्त राज्य अमेरिकाको नेशनल ब्यूरो अफ स्ट्याण्डर्डस नाम गरेको संस्थाले निर्धारण गरेको लमाइ हो। विश्वासीहरूले कसरी विचार गर्नुपर्छ भन्ने कुराको सम्बन्धमा भने येशू ख्रीष्ट नै मानदण्ड हुनुहुन्छ। हामी यदि एकै मनको हुने हौं भने हामीसित उहाँको मन हुनुपर्छ (फिलिप्पी २:२,५)। हाम्रो विचार उहाँको विचारसित मेल खानुपर्छ अनि उहाँको विचार परमेश्वरको वचनमा प्रकट गरिएको छ। म यदि तपाईंसित सहमत हुने हो भने हामी दुवैजना ख्रीष्टसित सहमत हुनु खाँचो छ। यदि म ख्रीष्टसित असहमत छु वा तपाईं ख्रीष्टसित असहमत हुनुहुन्छ भने वा हामी दुवैजना ख्रीष्टसित असहमत छौं भने हामी एकै मनका हुनेछैनौं। अनि यदि हामी परमेश्वरको मानदण्डसित असहमत छौं भने हामी दुईजना एकअर्कासित सहमत हुनुको महत्त्व के नै हुन्छ र? परमेश्वरका जनहरूले येशू ख्रीष्ट र उहाँको वचनसित सहमत हुनलाई हरेक प्रयास गर्नैपर्छ। उहाँले जुन कुरालाई प्रेम गर्नुहुन्छ हामीले प्रेम गर्नुपर्छ, जुन कुरालाई उहाँले घृणा गर्नुहुन्छ हामीले पनि घृणा गर्नुपर्छ, उहाँले जे विचार राख्नुहुन्छ त्यही विचार हामीले राख्नुपर्छ।

विश्वासीहरू एउटै पन्नामा हुनु आवश्यक छ। हामी एकै मनको हुनु पर्ने हो। मानौं सबै विश्वासीहरू आराधना सेवाका लागि जम्मा भएका छन् र भजन गाउने समय आइपुग्दा कुनै भजनको नम्बर अगाडिबाट बताइएन। हरेक विश्वासी आ-आफूलाई जुन भजनमा पल्टाउन मन लाग्छ त्यहाँ पल्टाउँछ र किबोर्ड बजाउने र गितार बजाउने पनि आ-आफूले जहाँ पल्टाउन मन लाग्छ त्यहाँ पल्टाउँछ। हामी अब सबैजना फरक-फरक पन्नामा छौं र अगुवाइ गर्नेले गीत गाउन थाल्न सङ्केत दिन्छ। तपाईं अब कल्पना गर्न सक्नुहुन्छ भजन गाउने यस तरिकाले त्यहाँ कस्तो भद्रगोल स्थिति उत्पन्न हन्छ? त्यो पूरै बेमेल हुन्छ। हामी सबैजना एउटै पन्नामा हुनुपर्छ अनि हामीले निर्देशन चाहिँ परमेश्वरबाट र उहाँको वचनबाट पाउनुपर्छ। परमेश्वर निर्देशक हुनुपर्छ। हामी सबै फरक-फरक चरणहरूमा र तहहरूमा छौं। एकजना ख्रीष्टमा नयाँ बालकै छ, अर्को ऊ भन्दा पाको छ, उसले मुक्ति पाएको र बढ्दै गरेको ५० वर्ष भइसक्यो — जस्तो सुकै किन नहोस्, हामी सबैजना हाम्रा जिउँदो प्रभु र उहाँको वचनमा केन्द्रित हुनुपर्छ र हामीले हाम्रो निर्देशन उहाँबाट पाउनुपर्छ।

रोमी १५:६

“तिमीहरू” बहुवचन शब्द हो। विश्वासीहरूलाई पावलको सन्देश यो थियो: यद्यपि हामीहरू धेरैजना छौं, हामी एकझैं हुनुपर्छ। यद्यपि हाम्रा धेरै मनहरू छन्, हामीहरूको एउटै मन हुनुपर्छ, अँ ख्रीष्टकै मन (फिलिप्पी २:५; १ कोरिन्थी २:१६)। यद्यपि हाम्रा धेरै मुखहरू छन्, हामी एउटै मुखझैं हुनुपर्छ। सबै विश्वासीहरू सबै कुराहरूमा परमेश्वर महिमित हुनुभएको होस् भन्ने एउटै इच्छामा एक हुनुपर्छ। “एउटै मन” भनेको एकमत हुनु, एउटै मनको हुनु हो। प्रेरितको पुस्तकमा यो पटक-पटक सुरुका विश्वासीहरूको सम्बन्धमा प्रयोग भएको छ जोहरू एउटै मन र एउटै हृदयका थिए (प्रेरित १:१४; २:१,४६; ४:२४; ५:१२; १५:२५)। सुरुको मण्डलीका दिनहरूमा विश्वासी जन यदि ख्रीष्ट र उहाँको वचनसित सहमत नभएको पाइएको भए ऊ बेठिक ठाउँमा भएको ठहरिन्थ्यो। प्रेरित ७:५७ मा उही शब्द स्टिफनसका शत्रुहरूको सम्बन्धमा प्रयोग भएको छ जब तिनीहरू “एकै मनका भएर तिनीमाथि झम्टे”। तिनीहरू स्टिफनसको सुसमाचार र उनले प्रतिनिधित्व गरेका ख्रीष्टको विरुद्धमा एकमत थिए।

रोमी १५:७

हामीले भाइहरूलाई ग्रहण गर्नुपर्ने किन हो? किनकि ख्रीष्टले हामीलाई ग्रहण गर्नुभएको छ। मैले अर्को भाइलाई कसरी ग्रहण गरूँ? ठीक जसरी ख्रीष्टले मलाई ग्रहण गर्नुभयो! तुलना गर्नुस् रोमी १४:१,३। परमेश्वरले यदि मलाई आफ्नो परिवारमा र उहाँको शरीर मण्डलीमा स्वागत गर्नुभएको छ भने मैले अर्कोलाई स्वागत गर्न कसरी इन्कार गर्न सक्छु र जसलाई ख्रीष्टलाई स्वागत गर्नुभएको छ? ख्रीष्टले स्वीकार गर्नुभएको व्यक्तिलाई मैले कसरी इन्कार गर्न सक्छु र? नयाँ नियमले निम्न कुराहरू सिकाउँछ:

जसरी ख्रीष्टले मलाई प्रेम गर्नुभयो मैले त्यसरी नै अर्कोलाई प्रेम गर्नुपर्छ (यूहन्ना १३:३४)।
जसरी ख्रीष्टले मलाई क्षमा गर्नुभयो मैले त्यसरी नै अर्कोलाई क्षमा गर्नुपर्छ (एफेसी ४:३२)
जसरी ख्रीष्टले मलाई सहनुहुन्छ मैले त्यसरी नै अर्कोलाई सहनुपर्छ (कलस्सी ३:१३)
जसरी ख्रीष्टले मलाई ग्रहण गर्नुभयो मैले त्यसरी नै अर्कोलाई ग्रहण गर्नुपर्छ (रोमी १५:७)

सारांशमा, “ख्रीष्ट येशूमा जन मन थियो, त्यही मन तिमीहरूमा पनि होओस्” (फिलिप्पी २:५)। म यदि ख्रीष्टसित सहमत छु भने मैले उहाँले जस्तै ग्रहण गर्नेछु, उहाँले जस्तै प्रेम गर्नेछु, उहाँले जस्तै क्षमा दिनेछु, आदि। “ग्रहण” शब्द मेलिटाको टापुमा त्यहाँका आदिवासीहरूले पावललाई दिइएको न्यानो स्वागतलाई बयान गर्न प्रयोग भएको छ (प्रेरित २८:१-२)। साथै यो फिलेमोन १२ र १७ मा प्रयोग भएको छ जहाँ पावलले फिलेमोनलाई उनका भागेर गएका दासलाई तिनी पछिबाट ख्रीष्टमा एक भाइ बनेकाले फेरि स्वागत गर्नलाई उत्साह दिए।

रोमी १५:८

येशू ख्रीष्ट खतनाका (यहूदी जातिका, परमेश्वरका करारगत जनहरूका) एक सेवक हुनुहुन्थ्यो (यसैबाट “डिकन” भन्ने शब्द आउँछ; मत्ती २०:२८, ख्रीष्ट सेवा गर्न आउनुभयो, सेवा गरिनलाई होइन)। हामीले उहाँ पृथ्वीमा आउनुको उद्देश्य बुझ्नुपर्छ:

“तर उहाँले जवाफ दिएर भन्नुभयो: इस्राएलका घरानाका हराएका भेडाहरूँकहाँ बाहेक अरू कसैकहाँ पठाइएको होइन”( मत्ती १५:२४)।

“उहाँ आफ्नैकहाँ आउनुभयो, उहाँका आफ्नैले चाहिँ उहाँलाई ग्रहण गरेनन्” (यूहन्ना १:११)।

यहूदीका पितापूर्खाहरू (अब्राहाम, इसाहक, याकूब, दाऊद, आदि) लाई दिइएका प्रतिज्ञाहरू पुष्टि गर्ने उद्देश्यले यहूदीहरूप्रतिको ख्रीष्टको सेवकाइ परमेश्वरको सत्यताका निम्ति थियो।परमेश्वरका प्रतिज्ञाहरू पूर्णरूपमा सत्य छन्, अनि ख्रीष्टले यस तथ्यलाई पुष्टि गर्नुभयो। परमेश्वरले आफ्ना जनहरूलाई एक मसीहको प्रतिज्ञा गर्नुभयो। ख्रीष्ट, यस प्रतिज्ञाको पूरा हुवाइ हुनुभएको नाताले यस प्रतिज्ञालाई पुष्टि गर्नुभयो र परमेश्वर आफ्नो वचनको सम्बन्धमा कति सत्य र विश्वासयोग्य हुनुहुन्छ भन्ने देखाउनुभयो। परमेश्वरले आफ्ना जनहरूलाई मुक्तिको प्रतिज्ञा गर्नुभयो र यस प्रतिज्ञाको सत्यता पूरा भयो जब उहाँले मुक्तिदातालाई पठाउनुभयो! परमेश्वरले आफ्ना जनहरूलाई अगमवक्ताहरूको मुखद्वारा राज्यको प्रतिज्ञा गर्नुभयो अनि परमेश्वरले यस प्रतिज्ञाप्रति आफूलाई विश्वासयोग्य प्रमाणित गर्नुभयो जब उहाँले स्वयं राजालाई पठाउनुभयो जसले यो सन्देश प्रचार गर्नुभयो: “स्वर्गको राज्य नजिकै आएको छ।” परमेश्वर आफ्नो वचनप्रति र आफ्ना प्रतिज्ञाहरूप्रति विश्वासयोग्य हुनुहुन्छ। परमेश्वरका सबै प्रतिज्ञाहरू र बिनाशर्तका करारहरू होआमेन छन् (२ कोरिन्थी १:२०)!

रोमी १५:९क

माथिको दफामा चर्चा गरिएका सबै प्रतिज्ञाहरू यहूदीहरूलाई दिइएका थिए, अन्यजातिहरूलाई होइन। उहाँले मसीह पठाउनुहुनेछ भन्ने कुरा परमेश्वरले यहूदीहरूलाई प्रतिज्ञा गर्नुभयो, तर अन्यजातिहरूलाई त्यस्तो कुनै प्रतिज्ञा थिएन। मुक्तिदाता इस्राएलको घरानाको हराएको भेडाकहाँ पठाइनुभएको थियो, अन्यजातिहरूलाई होइन (मत्ती १०:५-६)। राज्यका प्रतिज्ञाहरू इस्राएलीहरूलाई दिइएका थिए, अन्यजातिहरूलाई होइन। करारहरू (अब्राहामसितको, दाऊदसितको, नयाँ, आदि) इस्राएल जातिसित बाँधिएका थिए, अरू जातिहरूसित होइन।

यहूदीहरूले त्यसैले परमेश्वरकहाँ उहाँका प्रतिज्ञाहरूका आधारमा यसरी पुकार गर्न सक्थे। “प्रभु, तपाईंले जस्तो प्रतिज्ञा गर्नुभएको छ तपाईंले त्यस्तै गर्नुहुनेछ भनेर हामी तपाईंमा भर पर्दैछौं। तपाईंको वचनप्रति वफादार भइदिनुहोस्। आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहोस्। हाम्रा पितापूर्खाहरूसित बाँध्नुभएका तपाईंका करारहरूलाई सम्झना गर्नुहोस्। तपाईंको वचनअनुसार हामीलाई तपाईंको उद्धार प्रदान गर्नुहोस्।” तर अन्यजातिहरूले भने यस किसिमको आधारमा परमेश्वरलाई पुकार्न सक्दैनथे। उनीहरूसित दाबी गर्नलाई यस्ता प्रतिज्ञाहरू थिएनन्। परमेश्वर उनीहरूसित कुनै करारले बाँधिनुभएको थिएन। परमेश्वरले उनीहरूलाई कोही मसीह पठाउने प्रतिज्ञा गर्नुभएको थिएन। तब उनीहरूले पुकार गर्ने आधार के थियो त? अन्यजातिहरूले परमेश्वरलाई उहाँको दयाको आधारमा मात्र पुकार गर्न सक्थे: “परमेश्वर हामीप्रति दयालु हुनुहोस्! हामीलाई कुनै प्रतिज्ञा दिइएको छैन र हामी तपाईंको क्रोधबाहेक केही पाउन योग्यका छैनौं। तपाईं एक दयालु परमेश्वर हुनुभएको आधारमा हामीलाई तपाईंको उद्धार प्रदान गर्नुहोस्!”

परमेश्वरले आफ्ना प्रतिज्ञाहरू विश्वासयोग्यताका साथ पूरा गर्नुभएकोले र उहाँका करारगत वाचाहरूलाई सम्मान गर्नुभएकोले यहूदीहरूले परमेश्वरलाई महिमा दिन सक्थे। अन्यजातिहरूले चाहिँ परमेश्वरलाई उहाँको दयाका निम्ति महिमा दिन सक्थे: “अन्यजातिहरूले पनि उहाँका दयाका निम्ति परमेश्वरको महिमा गरून्।”


पृष्ठ संशोधन मिति: Wednesday 30-Sep-15
WordofTruth.com.np © 2017