Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

रोमी १५:९ख-१२

यस पृष्ठलाई छाप्नुहोस्

रोमी १५:९ख-१२

पावल, जो अन्यजातिहरूका निम्ति येशू ख्रीष्टका दास थिए (पद १६), उनले अन्यजातिहरूप्रति परमेश्वरको दया प्रशस्त छ भन्ने देखाउनलाई पुरानो नियमबाट चारओटा खण्डहरू उद्दरण गर्दछन्। यी पुरानो नियमका खण्डहरू हुन् जसले परमेश्वरको कृपा अन्यजातिहरूसम्म तन्किएर पुग्दछ जसको फलस्वरूप उनीहरूको उद्धार हुन्छ भन्ने कुरा दर्शाउँदछ। पावलको तात्पर्य यो हो: के उहाँ यहूदीहरूका मात्र मुक्तिदाता हुनुहुन्छ? के उहाँ अन्यजातिहरूका मुक्तिदाता पनि हुनुहुन्न र? हो, उहाँ अन्यजातिहरूका पनि मुक्तिदाता हुनुहुन्छ (दाँज्नुस् रोमी ३:२९)।

खण्ड #१ — भजनसङ्ग्रह १८:४९ (२ शमूएल २२:५०)
हेर्नुहोस् रोमी १५:९

दाऊदले परमप्रभुलाई जातिजातिहरूका सामु स्वीकार गर्न चाहे। दाऊदले आफ्ना महान् परमेश्वरलाई इस्राएललाई मात्र होइन तर सबै जातिहरूलाई चिनाउन चाहे।

खण्ड #२ — व्यवस्था ३२:४३। हेर्नुस् रोमी १५:१०।

मोशाको गीतमा अन्यजाति राष्ट्रहरूलाई परमेश्वरको जाति (इस्राएल) सँगै आनन्द मनाउनलाई भनिएको छ। सन्दर्भमा परमेश्वरले इस्राएलका शत्रुहरूसित बदला लिनुहुने कुरा र आफ्ना जाति इस्राएलप्रति कृपालु हुनुहुने कुराको चर्चा गरिँदैछ। परमेश्वरले तिनीहरूलाई श्राप दिनुहुनेछ जसले इस्राएललाई श्राप दिनेछ (उत्पत्ति १२:३)। तरैपनि इस्राएललाई आशिष दिने र इस्राएलका परमेश्वरमाथि विश्वास गर्ने अन्यजातिहरू परमेश्वरको दयामा रमाहट गर्न इस्राएललाई साथ दिन सक्छन्। स्मरण होस्, अब्राहामसितको करारका आशिषहरू पृथ्वीका सबै कुलहरूसम्म फैलियोस् भन्ने ध्येय रहेको थियो (उत्पत्ति १२:३)।

खण्ड #३ — भजनसङ्ग्रह ११७:१। रोमी १५:११।

यो सबैभन्दा छोटो भजनमा सबै राष्ट्रहरू र सबै जातिहरूलाई उहाँको महान् कृपाको निम्ति परमप्रभुको प्रशंसा गर्न आज्ञा गरिएको छ।

खण्ड #४ — यशैया ११:१०। रोमी १५:१२।

हजार वर्षीय राज्यसम्बन्धी यस गहकिलो खण्डअनुसार यीशैका विशिष्ट पुत्र, ख्रीष्ट मसीहले राज्यको युगमा दुवै यहूदीहरू र अन्यजातिहरूमाथि शासन गर्नुहुनेछ भन्ने कुरा सिक्छौं। त्यस दिन अन्यजातिहरूले उहाँमाथि भरोसा राख्नेछन्।

यहूदीहरूप्रति परमेश्वरको आफ्नो वचनमा सत्य र आफ्ना प्रतिज्ञाहरूमा विश्वासयोग्य देखाउनुहुन्छ। अन्यजातिहरूप्रति परमेश्वर दयामा प्रशस्त देखाउनुहुन्छ!

रोमी १५:१३

धीरज र सान्त्वनाका परमेश्वर (पद ५) आशाका परमेश्वर पनि हुनुहुन्छ। उहाँ नै मेरो आशाको स्रोत हुनुहुन्छ। मेरो आशा उहाँबाट आउँछ। “हे मेरो प्राण, तँ परमेश्वरको मात्र बाटो हेर; किनकि मेरो आशा उहाँबाट नै पूरा हुन्छ” (भजनसङ्ग्रह ६२:५)। हाम्रा विश्वासयोग्य परमेश्वरको व्यक्तित्व र उहाँका प्रतिज्ञाहरू जति उज्याला छन् हाम्रो भविष्य पनि उत्तिकै उज्यालो छ। उहाँले विश्वास गर्नेको हृदयलाई “सारा आनन्द र शान्तिले” भरिदिन सक्नुहुन्छ।

आनन्द र शान्ति ख्रीष्टको हजार वर्षीय राज्यको चरित्र हुनेछ (रोमी १४:१७ अन्तर्गत हाम्रो टिप्पणी हेर्नुस्) जुन बेला उहाँले जातिजातिहरूमाथि राज्य गर्नुहुनेछ। विश्वास गर्ने हृदयमा ख्रीष्टले जब राज्य गर्नुहुन्छ तब यसको आशिषमय प्रतिफल आनन्द र शान्ति हुन्छ। तर विश्वासी जनचाहिँ विश्वास गरिरहेको हुनुपर्छ! विश्वास जरा हो; आनन्द र शान्ति फल हो (गलाती ५:२२ मा हेर्नुस् — “आत्माको फल हो प्रेम, आनन्द, शान्ति”)। विश्वास नगरीकन त्यहाँ कुनै आनन्द वा शान्ति हुँदैन। शरीरअनुसार हिँड्दै गरेको एउटा शारीरिक विश्वासीको निम्ति त्यहाँ कुनै आनन्द वा शान्ति हुँदैन। तर भरोसा गर्ने विश्वासीसित निरन्तर आनन्दको मनोभाव हुनु सम्भव छ (१ थेस्सलोनिकी ५:१६) र उसले एक अविचलित हृदयको शान्ति जान्न सक्दछ (यूहन्ना १४:२७)। साँचो आनन्द र साँचो शान्ति परमेश्वर स्वयंबाट आउने कुरा हुन्। याद गर्नुस्, उहाँले “मेरो आनन्द” (यूहन्ना १५:११) र “मेरो शान्ति” (यूहन्ना १४:२७) को कुरा गर्नुभयो। परमेश्वर आफूले गरिरहनुभएको कुरामा सधैं आनन्दित हुनुहुन्छ अनि यसरी हामीले उहाँको आनन्द र शान्तिको भागीदार हुन पाउँछौं। परमेश्वर कहिल्यै कुनै कुराको बारेमा विचलित हुनुहुन्न अनि हामीले उहाँको शान्तिको भागीदार हुन पाउँछौं यद्यपि हामी एउटा सङ्कष्ट-ग्रस्त संसारमा बाँचिरहेका छौं (यूहन्ना १६:३३)। परमेश्वरको आनन्द र परमेश्वरको शान्तिले भरिएको विश्वासी त्यो हो जो पवित्र-आत्माले भरिएको छ। आनन्द र शान्तिमा पुर्याउने अर्को कुनै बाटो वा मार्ग छैन, केवल “पवित्र आत्माको सामर्थ्यद्वारा” (रोमी १५:१३) मात्र त्यो सम्भव छ।

“प्रशस्त हुनु” एउटा क्रियापद हो जसको माने “एउटा निश्चित अङ्क वा नापभन्दा बढी हुनु हो, अधिक हुनु, प्रशस्त हुनु, चुलिएर पोखिनु” (थेयर)।

विश्वासी जन भित्रपट्टि प्रशस्त भइरहेको बयान

विश्वासी जन आशाले प्रशस्त (रोमी १५:१३)
विश्वासी जन सान्त्वनाले प्रशस्त (२ कोरिन्थी १:५)
विश्वासी जन अनुग्रहले प्रशस्त (२ कोरिन्थी ९:८)
विश्वासी जन आनन्दले प्रशस्त (फिलिप्पी १:२६)

विश्वासी जन बाहिरपट्टि प्रशस्त भइरहेको बयान

विश्वासी जन प्रभुको काममा प्रशस्त (१ कोरिन्थी १५:५८)
विश्वासी जन ख्रीष्टको निम्ति परिश्रममा प्रशस्त (१ कोरिन्थी १५:१०)
विश्वासी जन हरेक असल काममा प्रशस्त (२ कोरिन्थी ९:८)
विश्वासी जन अरूहरूतर्फ प्रेममा प्रशस्त (फिलिप्पी १:९; १ थेस्सलोनिकी ३:१२; ४:९-१०)
विश्वासी जन प्रभुलाई खुशी पार्ने हिँडाइमा प्रशस्त (१ थेस्सलोनिकी ४:१)

आशाका परमेश्वरले विश्वासीलाई आशामा प्रशस्त बनाउन सक्नुहुन्छ:

विश्वासी जन, सबै कुरा मिलेर भलाइ उत्पन्न गर्दछन् र हामीलाई ख्रीष्टको स्वरूपमा ढाल्ने प्रमुख लक्ष्य पूरा गर्दछन् भन्ने कुराको निश्चित प्रतीक्षाले प्रशस्त भइरहेको हुन्छ (रोमी ८:२८-२९)। विश्वासी जन सबै कुराहरूमा ख्रीष्ट महिमित हुनुहुनेछ भन्ने कुराको निश्चित प्रतीक्षाले प्रशस्त भइरहेको हुन्छ (फिलिप्पी १:२०)। विश्वासी जन यो निश्चित प्रतीक्षाले प्रशस्त भइरहेको हुन्छ कि जब ख्रीष्ट देखा पर्नुहुनेछ तब हामी पनि उहाँजस्तै हुनेछौं किनकि हामीले उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछौं (१ यूहन्ना ३:२-३)। यो अचम्मको कुरा हो कि हामी आशाले प्रशस्त हुन सक्छौं र चुलिएर पोखिन सक्छौं जब कि हामी एक पटक यसरी बयान गरिएकाहरू थियौं, “आशा नभएका र परमेश्वररहित” (एफेसी २:१२)। त्यो थियो हाम्रो विगतको अवस्था जब हामी बाँचेका थिएनौं तर अब येशू ख्रीष्ट नै हाम्रो आशा हुनुहुन्छ (तीतस १:१)!

रोमी १५:१४

“पूरा निश्चित भएको छु” भन्ने अभिव्यक्ति (जो पावलले रोमी ८:३८; १४:१४; फिलिप्पी १:६; २ तिमोथी १:१२, आदिमा प्रयोग गरेका छन्) को माने विश्वस्त हुनु, ढुक्क हुनु भन्ने हो। रोममा भएका आफ्ना भाइहरू (सङ्गी विश्वासीहरू) को सवालमा त्यहाँ तीनओटा कुराहरू थिए जसको विषयमा पावल निश्चित थिए र विश्वस्त थिए:

१) तिनीहरू भलाइले भरपूर छन् भन्ने कुरामा

“भलाइ” भन्ने शब्द गलाती ५:२२ र एफेसी ५:९ मा पाइन्छ। ती दुवै ठाउँमा त्यो चाहिँ आत्माको फल भएको कुरा उल्लेख छ (यो शब्द पाइने नयाँ नियम तेस्रो र अन्तिम ठाउँ हो २ थेस्सलोनिकी १:११)। यो धेरैपटक पाइने अर्को एउटा ग्रीक शब्द “आगाथोस्” (असल) सित सम्बन्धित शब्द हो। प्रेभु येशूले यो सिकाउनुभयो कि परमेश्वर बाहेक अरू कोही असल छैन (मत्ती १९:१६-१७)। “परमप्रभु भलो हुनुहुन्छ, सङ्कष्टको दिनमा एउटा किल्ला ठहरिनुहुन्छ; अनि जसले उहाँमाथि भरोसा राख्छन्, उनीहरूलाई उहाँ चिनुहुन्छ” (नहूम १:७)। पावल निश्चय गरी जान्दथे कि रोममा भएका विश्वासीहरूभित्र परमेश्वर अन्तरवास गर्नुहुन्छ जो असल हुनुहुन्छ। विश्वासीमा भएको कुनै पनि भलोपन (असलपन) उहाँ र उहाँकै कारण मात्र हो। हामी यदि असल छौं भने यो परमेश्वरको कारण हो। हामी यदि भलाइले भरपूर छौं भने त्यो चाहिँ हामी उहाँले भरपूर भएर हो, उहाँको व्यक्तित्व र उपस्थितिमा रमाइरहेकाले हो।

२) तिनीहरू ज्ञानले भरिएका छन् भन्ने कुरामा

उनीहरू भरिएका थिए र फलस्वरूप उनीहरू भरिएको अवस्थामा रहिरहेका थिए (पूर्णकालिक क्रियापद, perfect tense)। परमेश्वरले यी विश्वासीहरूलाई उहाँ को हुनुहुन्छ र उहाँको इच्छा के हो भन्ने ज्ञानले भरपूर पार्नुभएको थियो। कोरिन्थका विश्वासीहरूको बारेमा पावलले भनेका कुराको हामीलाई सम्झना आउँछ: “म तिमीहरूको विषयमा, येशू ख्रीष्टद्वारा तिमीहरूलाई दिइएको परमेश्वरको अनुग्रहका निम्ति मेरा परमेश्वरलाई सधैं धन्यवाद चढाउँछु, किनकि हरेक कुरामा तिमीहरू उहाँद्वारा धनवान् बनाइएका छौ - सारा वचनमा र सारा ज्ञानमा” (१ कोरिन्थी १:४-५)। विश्वासी जन किन ज्ञानले भरिएको छ? किनभने ऊ ख्रीष्टले अन्तरवास गरिएको छ जसमा नै “बुद्धि र ज्ञानका सम्पूर्ण सम्पत्तिहरू लुकेका छन्” (कलस्सी २:३)। हामीसित ख्रीष्ट हुनुहुन्छ त्यसैले हामीलाई ज्ञानको कहिल्यै अभाव छैन! “हामीसित ख्रीष्टको मन छ” (१ कोरिन्थी २:१६)। हामीसित जे छ त्यसको फाइदा उठाउनुपर्छ (दाँज्नुस् फिलिप्पी २:५ — “त्यही मन तिमीहरूमा पनि होओस्…”)। हामीसित ठूलो इन्साइक्लोपिडिया होला रे, तर हामी यदि त्यसलाई कहिल्यै प्रयोग गर्दैनौं र त्यसको कहिल्यै फाइदा उठाउँदैनौं भने त्यो सबै ज्ञानको हामीलाई के फाइदा भयो र?

३) तिनीहरू एक-अर्कालाई चेताउनी दिन सक्ने भएका थिए

यो क्रियापद (नूथेटेओ) नयाँ नियममा आठ पटक प्रयोग भएको छ र यसलाई “चेताउनी दिनु” वा “सम्झाउनु” भनेर अनुवाद गरिएको छ। पावलले तीन वर्षसम्म एफेससका विश्वासीहरूलाई दिन-रात आँसुसहित चेताउनी दिए (प्रेरित २०:३१), किनकि भेडाहरूलाई ब्वाँसाहरूदेखि जोगाउनलाई उनी जिम्मेवार थिए। पावलले कोरिन्थीहरूलाई चेताउनी दिए किनकि उनले उनीहरूलाई “प्रिय छोराहरूलाई” जस्तै प्रेम गर्थे (१ कोरिन्थी ४:१४)। पावलको सेवकाइ हरेक मानिसलाई चेताउनी दिनु र हरेक मानिसलाई सिकाउनु थियो ताकि हरेक मानिस ख्रीष्टमा परिपक्क्व (सिद्ध) अवस्थामा प्रस्तुत गर्न सकियोस् (कलस्सी १:२८)। यो चेताउनी र सम्झाउने काम भजनहरू र स्तुतिगानहरू र आत्मिक गीतहरूद्वारा पनि गर्ने गरिन्छ (कलस्सी ३:१६)। प्रभुमा हामीमाथि रहेकाहरू अर्थात् स्थानीय मण्डलीका अगुवाहरूले हामीलाई शिक्षा-चेताउनी दिनुपर्ने जिम्मेवारी बोकेका हुन्छन् (१ थेस्सलोनिकी ५:१२)। बेठीक चाल चल्ने विश्वासीहरूलाई अर्थात् पवित्र शास्त्रहरूको स्पष्ट शिक्षाभन्दा बाहिर हिँड्नेहरूलाई चेताउनी दिइनुपर्छ, सम्झाइनुपर्छ (१ थेस्सलोनिकी ५:१४; २ थेस्सलोनिकी ३:१५)।

चेताउनी दिने सेवकाइको महत्त्वलाई हामीले तुच्छ ठान्ने आँट नगरौं। चेताउनी सकली प्रेमको प्रमाण हो। जुन व्यक्तिले प्रस्टै कुनै खतरा देख्छ र चेताउनी दिँदैन भने उसले प्रेम होइन घृणा देखाउँदैछ। त्यसैले परमेश्वरका जनहरूलाई चेताउनी दिन नसक्नुको पछाडि दुई मध्ये एउटा कारण हो: १) प्रेमको अभाव २) खतराहरू चिन्न नसक्नु। हामी डरपोक पहरेदार कदापि नभएका होऔं (इजिकिएल ३३:६; प्रेरित २०:२६-२७)। चेताउनी दिनु सजिलो छैन तर त्यो आवश्यक छ। रोकथामको औषधी मीठो नलाग्ला तर त्यसले हामीलाई शल्यक्रिया वा मृत्युबाट बचाउन सक्छ। मानिसहरूलाई चेताउनीको कडा डोस चाहिन्छ ताकि उनीहरूले आफ्ना जीवनहरूलाई परमेश्वरको वचनको पक्षतिर सुधारमा लैजाऊन्।

चेताउनी भन्ने कुरा शिक्षण कार्यमा हुनुपर्ने अत्यावश्यक तत्त्व हो, तसर्थ महान् आज्ञा पूरा गर्ने कार्यमा हुनुपर्ने अत्यावश्यक तत्त्व हो (मत्ती २८:२०)। विश्वासीहरूलाई केवल “सकारात्मक” सत्यताहरू मात्र सिकाउनु र चेताउनीहरू नदिनु चाहिँ भेडाहरूलाई ब्वाँसाहरूका निम्तिपोस्याउनु हो जसले बगाललाई बाँकी राख्नेछैनन् (प्रेरित २०:२९-३०)। विश्वासयोग्य बाइबलीय शिक्षामा चेताउनी समावेश हुनैपर्छ। पावलले परमेश्वरको सारा मनसाय बताउन पछि हटेनन् मात्र होइन (प्रेरित २०:२७), उनले बगाललाई तीन वर्षसम्म दिनरात आँसुसित चेताउनी दिन छोडेनन् (प्रेरित २०:३१)। हरेक मानिस ख्रीष्ट येशूमा परिपक्क्व रूपमा उपस्थित गराइने हो भने निरन्तर सिकाउने र चेताउनी दिने सेवकाइ अपरिहार्य छ (कलस्सी १:२८)।

के परमेश्वरका जनहरू खतरारहित छन् र? के हामी सुक्ष्म भ्रमले सङ्क्रमित हुनदेखि टाढा छौं र? के हामी शिक्षागत रूपमा बाटो बिराउनै नसक्ने भएका छौं र? के यस संसारको ईश्वरले हाम्रा मनहरूलाई नियन्त्रण गर्न सक्ने र प्रभाव पार्न सक्ने क्षमता पूरै गुमाइसकेको छ र? हामीले एकअर्कालाई चेताउनी दिनुपर्छ जब हामी दिनहुँ हामीलाई सामना गर्ने खतराहरू देख्छौं। त्यस्तो चेताउनी तथ्यमा आधारित, निर्दिष्ट (specific, किटानसाथ), प्रासङ्गिक (relevant, सम्बद्ध) र व्यक्तिगत हुनुपर्छ। हाम्रा अबाइबलीय र टेढा विचारधाराहरूलाई सुधारिनैपर्छ। पापको सामना गरिनैपर्छ। जताततै दुष्टात्माका शिक्षाहरू भएको यस सङ्कटपूर्ण समयहरूमा, परमेश्वरले धेरैजना विश्वासयोग्य विश्वासीहरू उठाउनुभएको होस् जोहरूले दिनरात आँसुसहित चेताउनी दिन्छन्।

तरैपनि, यी सबैमा समेत खतरा छ! उन्नति र हौसलाबिनाको चेताउनी विफल हुन्छ। भेडाहरूलाई हानि हुन्छ — ब्वाँसाहरूबाट होइन तर भोकमरीबाट। हामी आओ, प्रेम र असल कामहरूका निम्ति हौसला दिनालाई एक-अर्काको चिन्ता गरौं — एक-अर्कालाई उत्साह दिँदै रहौं; अनि त्यो दिन जति नजिक-नजिक आउँदै गरेको तिमीहरू देख्छौ, उति नै बेसी हामी यसो गर्ने गरौं (हिब्रू १०:२४-२५; कलस्सी ३:१६; एफेसी ४:२९; १ थेस्सलोनिकी ५:१४)।

पावल पूरा निश्चित थिए कि रोमी विश्वासीहरू एक-अर्कालाई चेताउनी दिन सक्ने भएका थिए। यसमा ध्यान दिनुस् कि यो सेवकाइ हामीले एक-अर्काप्रति अभ्यास गर्नुपर्ने रहेछ। मण्डली अगुवाहरूले त्यो गर्नुपर्छ, तर उनीहरूले मात्र होइन। अवश्य पनि अगुवाहरूले पुलपिटबाट चेताउनी दिनुपर्छ, तर यो यस्तो कुरा हो जो सबै स्वस्थ विश्वासीहरूले गरिरहनुपर्छ। त्यसबेला रोमी विश्वासीहरूका बीचमा कुनै पनि प्रेरित सेवकाइ गरिरहेका थिएनन् तरैपनि तिनीहरू एकअर्कालाई चेताउनी दिन सक्ने भएका थिए।

रोमी १५:१५-१६

पद १५ मा पावलले रोमीहरूलाई लेख्दै गरेका पत्रको चर्चा गर्दैछन्: “भाइहरूहो…धेरै साहसिलो भएर मैले तिमीहरूलाई कुनै-कुनै विषयमा लेखेको छु”। पावलले विश्वासयोग्यसाथ र साहससित परमेश्वरको सुसमाचार अर्थात् परमेश्वरको पूरा मनसाय, उनीहरूलाई प्रस्तुत गरे। उनले वचनमा मिसाउने काम गरेनन्। उनले सत्यलाई चिनी छर्केर मीठो पार्न खोजेनन्। उसले जस्तो हो त्यस्तै बताइदिए। उनले तिनीहरूदेखि कुनै पनि त्यस्तो कुरा बाँकी राखेनन् जो उनीहरूको आत्माको लागि फाइदाजनक थियो (प्रेरित २०:२० सित तुलना गर्नुस्)। उनी परमेश्वरको वचनका विश्वासयोग्य प्रचारक थिए।

पावलले उनीहरूलाई याद दिलाए (अक्षरशः “मनमा फेरि पुनःसम्झना गराए”)। उनले रोमीहरूलाई उनीहरूले जानिसकेका सत्यताहरूको पुनःसम्झना गराए। हामीले जानेकै सत्यताहरू पनि फेरि सम्झनामा ल्याइनु आवश्यक छ र हृदय र मनमा ताजा राखिनु आवश्यक छ।

ख्रीष्टका प्रेरित भएर सेवा गर्ने क्रममा पावल, उसलाई दिइएको परमेश्वरको अनुग्रहको आफू ऋणी भएको कुराप्रति, सधैं संवेदनशील थिए। निम्न खण्डहरूले पावललाई दिइएको अनुग्रहलाई जोड दिन्छन् जुन अनुग्रह उनलाई सेवाका निम्ति दिइयो: रोमी १२:३; १ कोरिन्थी ३:१०; गलाती २:७-९; १ तिमोथी १:१२-१४ र एफेसी ३:६-१२। सेवाका निम्ति परमेश्वरको अनुग्रहमाथिको जोडको सबभन्दा सुन्दर सारांश १ कोरिन्थी १५:१० मा छ — “तर म जे छु, परमेश्वरको अनुग्रहद्वारा नै छु; अनि मलाई दिइएको उहाँको अनुग्रह व्यर्थ भएन; तर मैले उनीहरूले भन्दा साह्रै बेसी मेहनत गरें; तरै पनि मैले होइन, तर मसँग भएको परमेश्वरको अनुग्रहले नै हो”। जसरी भजन लेखकले व्यक्त गरेका छन्, “ईश्वरको अनुग्रह हेरी ऋणी आफूलाई ठान्छु!” पावलले आफ्नो सेवकाइलाई परमेश्वरबाटको एउटा अनुग्रहपूर्ण उपहारको रूपमा देख्थे र त्यसका निम्ति धन्यवादी थिए यद्यपि त्यससित नाप्न नसकिने दुःखकष्ट जोडिएको थियो (प्रेरित ९:१६)। हामी जो अनुग्रहले बचाइएका छौं, अनुग्रहले नै जिउनुपर्छ र अनुग्रहले नै सेवा गर्नुपर्छ: “यसकारण हल्लन नसक्ने राज्य हामीले पाइरहेका हुनाले आओ, हामी अनुग्रह प्राप्त गरौं, जसद्वारा हामी श्रद्धा र ईश्वरीय भयसाथ परमेश्वरलाई ग्रहणयोग्य सेवा चढाउन सकौं” (हिब्रू १२:२८)।

पावल अन्यजातिहरूका निम्ति येशू ख्रीष्टका सेवक थिए (पद १६), र हामीले यो कुरा याद राख्नुपर्छ कि रोमको मण्डली अधिकांश रूपमा अन्यजातिहरूले बनेको मण्डली थियो। रोमी ११:१३ मा पावलले लेखे, “किनकि म तिमी अन्यजातिअरूसँग बोल्दछु, म अन्यजातिहरूको प्रेरित भएको हुनाले म मेरो सेवाको बढाइ गर्दछु”। गलाती २:६-८ पढ्नुस् जहाँ पत्रुसको सेवकाइ यहूदीहरूपट्टि थियो भने पावलको सेवकाइ अन्यजातिहरूपट्टि थियो। यसको माने पत्रुसको सेवकाइमा अन्यजातिहरूका निम्ति कहिल्यै ठाउँ थिएन भन्ने होइन (प्रेरित १० अध्यायमा कर्नेलियसको घरानाको उदाहरण हेर्नुस्), न ता पावलको सेवकाइमा यहूदीहरूलाई कहिल्यै ठाउँ थिएन भन्ने हो। उनी आफू पुगेको शहरको सभाघरमा धेरैपटक जाने गर्थे र यहूदीहरूलाई ख्रीष्ट प्रचार गर्थे।

पद १६ ले पूजाहारीय सेवाको भाषा प्रयोग गर्दछ। पावलले सेवा गर्थे यस अर्थमा कि उनी एक पूजाहारीले जस्तै कामकुरा गर्थे। जसरी पूजाहारीले परमेश्वरलाई ग्रहणयोग्य बलिदान चढाउनुपर्थ्यो, त्यसरी नै पावलले विश्वास गर्ने अन्यजातिहरूलाई परमेश्वरकहाँ चढाए। जसरी पहिलो लेवीय पूजाहारी हारूनले लेवीहरूलाई प्रभुकहाँ अर्पण गरे “ताकि तिनीहरूले परमप्रभुको सेवाको काम गर्न सकून्”, त्यसरी नै आज बाँचिरहेका विश्वासी-पूजाहारीहरूले अन्यजातिबाटका विश्वासीहरूलाई प्रभुकहाँ अर्पण गर्न सक्छन् ताकि उनीहरूले उहाँको सेवा गर्न सकून् (गन्ती ८:१३)। अन्यजातिबाटका विश्वासीहरूलाई उहाँलाई चढाइँदा परमेश्वर खुसी हुनुहुन्छ किनकि यस युगमा “अन्यजातिहरूबाटको बीचबाट आफ्ना नामका निम्ति एउटा जाति निकाल्नालाई” (प्रेरित १५:१४) परमेश्वरको योजना रहेको छ। यस युगमा उहाँले यहूदीहरू र अन्यजातिहरूलाई एउटा शरीरमा एक बनाउँदै हुनुहुन्छ (एफेसी २:१३-१७)। अन्यजातिबाटको हरेक नयाँ विश्वासी पवित्र आत्माद्वारा पवित्र गरिएको हुन्छ, उसमा उहाँको अन्तरवास हुन्छ, ऊ परमेश्वरको निम्ति पवित्र र ग्रहणयोग्य बनाइएको हुन्छ। यस पदमा भएको धारणा यशैया ६६:२० बाट लिइएको हुन सक्छ जहाँ “सबै जातिहरूको बीचबाट” का मानिसहरू परमेश्वरकहाँ ल्याइने कुरा उल्लेख गरिएको छ (अनि पद १८ पढ्नुस् जहाँ “सबै जातिहरू” लाई आशिषको प्रतिज्ञा गरिएको छ।) हामी विश्वासी-पूजाहारीहरू भएको हैसियतले अनमोल आत्माहरू उहाँकहाँ ल्याउन हामीलाई परमेश्वरले प्रयोग गर्नुभएको होस् भनेर प्रार्थना गरौं ताकि परमेश्वरमा चढाइएका नयाँ विश्वासीहरू पवित्र आत्माद्वारा ग्रहणयोग्य र पवित्र तुल्याइएका होऊन्।

“ख्रीष्टको सुन्दरता देखियोस् आत्मा जित्ने प्रयासमा माध्यम भूली देखून् सबले केवल येशूलाई!”


पृष्ठ संशोधन मिति: Monday 28-Sep-15
WordofTruth.com.np © 2017