रोमी १:१-७

यस पृष्ठलाई छाप्नुहोस्

परिचय


"ख्रीष्टियन विश्वासको एउटै मात्र आशा पावलीय ईश्वर-शास्त्रको पुनःस्थापना हो। कि त देहधारी ख्रीष्ट र उहाँको प्रायश्चितकारी रगतमा पूरै फर्कनुपर्छ, कि त नफर्किने गरी नास्तिकवाद र निराशामा पूरै डुब्नुपर्नेछ" -- फ्रान्सिस एल प्याटन, प्रिन्स्टन विश्वविद्यालयका भूतपूर्व प्रधानाध्यापक

रोमीलाई लेखिएको पत्र नयाँ नियमको उत्कृष्ट रचना र विशुद्ध सुसमाचारको लेखोट हो जसलाई एउटा ख्रीष्टिय जनले केवल शब्द-शब्द गरी कण्ठस्थ गरोस् मात्र होइन तर त्यससित मान्छेको दैनिक रोटीको रूपमा उसले दिनहुँ व्यवहार गरोस् पनि। यसलाई ज्यादा पढियो वा अध्ययन गरियो भन्ने कहिल्यै हुनेछैन, र यसलाई जति धेरै प्रयोग गरियो यो त्यति नै मूल्यवान् ठहरिनेछ र त्यति नै स्वादिलो लाग्नेछ" (मार्टिन लुथर)।

ई.सं. ५६ सालतिर कोरिन्थ शहरमा रहँदा पावलले यस पत्र लेखेका हुन्। पावल रोमको मण्डली पुगेका थिएनन्। उनी त्यहाँ जान चाहन्थे र सो कुरा सम्भव होस् भनी परमेश्वरसित प्रार्थना गर्दै थिए (रोमी १:१०-१२; १५:२३-२४)। रोम आएर पावल के सिकाउन चाहन्थे? यस पत्रमा पावलले पाठकलाई आफ्नो शिक्षण सेवाकार्य अन्तर्गत आफूले के सिकाउने गर्थे भन्ने कुराको पूर्वावलोलकन गर्ने मौका दिन्छन्। इसाई विश्वास वास्तवमा के हो? यसको मूल सन्देश के हो? परमेश्वरको साँचो सुसमाचार के हो? मुक्ति सम्बन्धी खुशीको शुभ-सन्देश वास्तवमा के हो? यी सबै प्रश्नहरूको जवाफ पाउन हामी नयाँ नियममा शिक्षा सम्बन्धी सबभन्दा महत्त्वपूर्ण पुस्तक, अर्थात् रोमीहरूलाई लेखिएको पावलको पत्रलाई अध्ययन गर्नुपर्ने हुन्छ।

रोमी १:१

रिसिभ्ड टेक्स्टबाट अनुवादित नेपाली बाइबलमा पहिलो वाक्यमै ९६ ओटा शब्द छन्। यो हो पावलको लेखन शैली (एफेसी १:३-१४ हेर्नुहोस्)। प्रेरित यूहन्नाको शैली भिन्न छ (छोटो, सरल तरैपनि गहकिला वाक्यहरू) -- १ यूहन्ना ४:८,१९। पवित्र शास्त्र बाइबल कसरी परमेश्वरबाट मानिसकहाँ आयो भन्ने सम्बन्धमा यो बुझ्न आवश्यक "छ कि पावल र यूहन्ना जस्ता मानवीय लेखकहरूले उहाँको वचन लेख्दा एउटा निर्जीव यन्त्रको जस्तै भूमिका निर्वाह गरेका थिएनन्। बरु ती लेखकका व्यक्तित्व र लेखन शैली आ-आफ्ना लेखोटमा झल्केको पाइन्छ तरैपनि उनीहरूले जे लेखे ती सबै त्रुटिरहित छन् र परमेश्वरले जे चाहनुभएको थियो ठीक त्यही नै उनीहरूले लेखे -- २ पत्रुस १:२०-२१ र २ तिमोथी ३:१६।

पहिलो पदमा पावलले आफ्नो विषयमा तीनओटा कुराहरू बताउँछन्:

१) "दास" = कमारा, बन्दी, नोकर, येशू ख्रीष्टको प्रेमको दास;

पावलको विगत जीवनलाई विचार गर्दा (प्रेरित ७:५८; ८:१-३; ९:१-२; १ कोरिन्थी १५:९; १ तिमोथी १:१३-१५ हेर्नुहोस्), यो भनाइ छक्कलाग्दो छ। एक समय टार्ससका शावल मण्डलीका सबभन्दा ठूला शत्रु थिए। मण्डलीका सबभन्दा ठूला शत्रु कसरी पछि मण्डलीकै सबभन्दा महान् प्रेरित बने? गलाती १:२३ मा बयान गरिएको उदेकलाग्दो परिवर्तनको कारण के थियो? इसाईहरूलाई सताउने शावल कसरी "येशू ख्रीष्टका दास" पावल बने (रोमी १:१)? यसको पछाडि कुनै न कुनै रहस्य हुनैपर्छ!

नयाँ नियम अनुसार कुनचाहिँ घटनाले यस्तो परिवर्तन ल्यायो? टार्ससको शावलको जीवन कुन कारण बदलियो? हेर्नुहोस् १ कोरिन्थी ९:१ -- "के मैले हाम्रा प्रभु येशू ख्रीष्टलाई देखेको छैन?" -- र यसलाई प्रेरित ९:३-६ र १ कोरिन्थी १५:८ सित तुलना गर्नुहोस्। इसाई विश्वासको खण्डन गर्न चाहने समाचोलकहरूले पावल प्रेरितको यस ताजुबलाग्दो परिवर्तनको सन्तोषजनक व्याख्या प्रस्तुत नगरी उनीहरूलाई सुखै छैन। इसाई विश्वासलाई झूटा प्रमाणित गर्ने मनसाय लिएर जर्ज लिटलटन (ई.सं. १७०९-१७७३) ले पावलको परिवर्तनलाई केलाएर अध्ययन गरे। आफ्नो अनुसन्धानको फलस्वरूप उनी आफै परिवर्तित भए! "सेन्ट पावलका परिवर्तन सम्बन्धी अवलोकन" ("Observations on the Conversion of St. Paul") शीर्षक भएको उनको सुस्पष्ट लेखमा उनले, मुद्दाको सबै सम्भाव्यताहरूलाई समेट्ने गरी, चारओटा प्रस्तावहरू प्रस्तुत गर्छन्:

  • पावल एक ठग (impostor) थिए। भ्रम फैलाउने मनसायले आफूले झूटा भनी जानेको कुरोलाई उनले प्रचार गरे (उनले बौरिउठेका ख्रीष्टलाई वास्तवमा देखेनन् तर देखें भनी प्रचार गरे)।
  • उनी एक धर्मान्ध व्यक्ति (fanatic) थिए। उनी आफ्नो असन्तुलित मनस्थितिबाट उब्जेको कल्पनाको शिकार बनेका थिए (आफूले बौरिउठ्नुभएको ख्रीष्टलाई देखें नै भनी उनले ठाने तापनि उनले वास्तवमा देखेका थिएनन्)।
  • उनी अरूद्वारा ठगिएका (deceived) थिए। (तिमीले बौरिउठ्नुभएको ख्रीष्टलाई देखेका हौ भनी अरूहरूले उनलाई कुनै चलाखिद्वारा विश्वस्त तुल्याए)।
  • उनले आफ्नो परिवर्तनको जे कारण बताए त्यो साँच्ची नै भएकै थियो, तसर्थ इसाई विश्वास ईश्वरबाटकै हो (पावलले बौरिउठ्नुभएको ख्रीष्टलाई वास्तवमै देखेका हुन् तसर्थ इसाई विश्वास साँचो हो र ख्रीष्ट जीवितै हुनुहुन्छ!)।

पहिलो तीनओटा तर्कहरूमा के-कस्ता त्रुटीहरू भेटिन्छन्?

२) "प्रेरित" = कुनै विशेष कामको लागि पठाइएको व्यक्ति;

पावल तथा अन्य प्रेरितहरूका निम्ति परमेश्वरको छुट्टै, विशेष सेवकाइ थियो। के मण्डलीमा आज पनि प्रेरितहरू हुन्छन्?

एफेसी २:२० अनुसार प्रेरितहरू "जग" का व्यक्तिहरू हुन्। जग भनेको भवन निर्माण गर्दा शुरूमा केवल एकपटक बसालिन्छ। मण्डली युगको प्रारम्भमा एउटा विशेष "जगरूपी" निर्माण कार्य सम्पन्न गर्नको लागि प्रेरितहरूको आवश्यकता थियो।

प्रेरित कहलिन आज कसैको पनि योग्यता छैन, किनभने एउटा प्रेरितले बौरिउठ्नुभएको ख्रीष्टलाई देखेकै हुनुपर्थ्यो (१ कोरिन्थी ९:१; १५:८-९; प्रेरित १:२२ – यहुदाको प्रतिस्थापन गर्नुपर्दा)। ख्रीष्ट आज मानिसहरूकहाँ देखापर्नुहुन्न (१ पत्रुस १:८)।

व्यावहारिक शिक्षा: प्रेरित २:४२ पढ्नुहोस्। आज हामीसित प्रेरितहरू छैनन् तर हामीसित प्रेरितहरूको शिक्षा भने छ। हामीसित पावल प्रेरित छैनन्, तर हामीसित पावल प्रेरितको शिक्षा अर्थात् रोमीको पुस्तक (साथै पवित्रशास्त्रमा समावेश उनका अन्य लेखोटहरू) भने छ।

३) "परमेश्वरको सुसमाचारका निम्ति अलग";

\

अलगपनताको नकारात्मक पक्ष पनि छ (पापबाट अलग, सांसारिक कुराहरूबाट अलग, आदि) तर यस पदले सकारात्मक पक्षलाई जोड दिन्छ ("बाट" अलग होइन "तर्फ" अलग)। परमेश्वरको सुसमाचारको निम्ति पावलको समर्पणताएकाग्रता यी पदहरूमा झल्कन्छः रोमी १:१६; १ कोरिन्थी १:१७-१८; २:१-२; ९:१६; १५:१-४; एफेसी ६:१९-२०; प्ररित २०:२१,२४।

रोमीको पुस्तकको चाबी वाक्यांश = परमेश्वरको सुसमाचार (रोमीको पुस्तकको विषय नै यही हो)

"सुसमाचार" = खुशीको खबर, सुसन्देश

बाइबलमा मुक्तिको सुसन्देशलाई सबभन्दा स्पष्टसित बयान गरिएको खण्ड यही रोमीको पुस्तक हो। पावलले यस पत्रमा कुशलतापूर्वक र तरिकापूर्वक परमेश्वरको सुसमाचारलाई प्रस्तुत गर्छन्। सुसमाचार वास्तवमा के हो र कसरी प्रस्तुत गरिनुपर्छ भन्ने कुरामा आज धेरै अलमल छ। हामी ध्यानपूर्वक अध्ययन गरौं पावलले सुसमाचारलाई कसरी परिभाषित गर्छन् र प्रस्तुत गर्छन् र कहाँबाट पावलले उक्त सुसमाचार प्राप्त गरे भन्ने कुरालाई हामी नबिर्सौं (गलाती १:११-१२)। साथै झूटा सुसमाचारहरू देखि हामी होशियार बसौं (गलाती १:६-९ हेर्नुहोस्)।

रोमी १:२

सुसमाचार वास्तवमा नयाँ कुरा होइन, अर्थात् यो हालै मात्र प्रकट गरिएको होइन। सुसमाचार पवित्रशास्त्रको पुरानो नियममा पनि प्रकट गरिएको थियो (दाँज्नुहोस् गलाती ३:८)।

खीष्टको मृत्यु र बौरिउठाइका महान् सत्यताहरू हालै मात्र पहिलो पटक प्रकट भइरहेका होइनन्। रोमीको पुस्तकमा (जसमा पावलले परमेश्वरको सुसमाचारको विस्तार लाउँछन्) पावलले घरीघरी (६१ पटक) पुरानो नियमबाट उद्धरण गर्छन्। जस्तो किः रोमी ३:१०-१८ र रोमी ४:१-३। पुरानो नियममा ख्रीष्टको विषयमा सुसमाचारको उल्लेख भएको पाइन्छ (दाँज्नुहोस् लूका २४:२६-२७,४४)। रोमी १-३ अध्यायहरूको सारांश यशैया ५३:६क ले दिन्छ (सबै मानिस पवित्र परमेश्वरका सामु दोषी छन्)। रोमी ४-५ अध्यायहरूको सारांश यशैया ५३:६ख ले दिन्छ (ख्रीष्ट पापी मानिसलाई बचाउन मर्नुभयो)।

"पवित्रशास्त्र" – बाइबलको आवरणमा लेखिएको कुरालाई दाँज्नुहोस् ("पवित्र बाइबल")। "पवित्र" = अलग गरिएको। बाइबल अन्य सबै पुस्तकभन्दा अलग छ। यो नै एकमात्र परमेश्वरबाट प्रेरित, निश्वासित पुस्तक हो (२ तिमोथी ३:१६)। यो परमेश्वरको पवित्र वचन हो भन्ने जानेर बाइबललाई हामी सधैं नै होशियारपूर्वक प्रयोग गरौं। पढ्नुहोस्: बाइबललाई एक श्रद्धाञ्जलि

रोमी १:३-४

सुसमाचार वास्तवमा के हो? रोमी १:३ अनुसार सुसमाचार चाहिँ परमेश्वरको पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको विषयमा हो। यो एक ख्रीष्ट-केन्द्रित सुसमाचार हो। (दाँज्नुहोस् रोमी १:९ "उहाँको पुत्रको सुसमाचार")। सुसमाचार ख्रीष्टको विषयमा हो तसर्थ ख्रीष्ट र ख्रीष्टले गरिदिनुभएको कामलाई अलग राखियो भने त्यहाँ सुसमाचार नै हुँदैन (१ कोरिन्थी १५:१-४ मा सुसमाचारको संक्षिप्त परिभाषा उल्लेख छ)। जुन प्रचार ख्रीष्ट-केन्द्रित छैन, त्यो साँचो सुसमाचार प्रचार होइन। साँचो सुसमाचार ख्रीष्ट-केन्द्रित हुन्छ। अन्य "सुसमाचार" प्रचार गर्नेहरूको विषयमा परमेश्वरले कडा चेतावनीहरू दिनुहुन्छ (गलाती १:३-९)।

ख्रीष्ट को हुनुहुन्छ भन्ने सवालमा हामीले विशेष गरी दुईओटा कुरालाई विचार गर्नुपर्छ:

  1. उहाँको मनुष्यत्व (रोमी १:३ र साथै हेर्नुहोस् यूहन्ना १:१४; मत्ती १:१; १ तिमोथी २:५)। उहाँ शरीरअनुसार दाऊदको वंशबाट जन्मनुभयो (यूहन्ना १:१४ हेर्नुहोस्)। ख्रीष्ट राजकीय पूर्ख्यौलीमा, दाऊदको घरानामा, जन्मनुभयो। परमेश्वर किन मानिस बन्नुभयो? यस प्रश्नको जवाफ पाउन हामीलाई हिब्रू २:९ ले मद्दत गर्छ।
  2. उहाँको ईश्वरत्व (रोमी १:४ र साथै हेर्नुहोस् यूहन्ना १:१; २०:२८; तीतस २:१३; १ यूहन्ना ५:२० इत्यादि)। उहाँ मानिस बन्नुभयो तर कहिल्यै परमेश्वर हुन छोड्नुभएन। "परमेश्वरका पुत्र" भन्ने संज्ञाले ख्रीष्टको पूर्ण ईश्वरत्वलाई जनाउँछ। पहिलो शताब्दीका यहूदीहरूले समेत यस संज्ञालाई सही अर्थमै बुझे (यूहन्ना ५:१७-१८ हेर्नुहोस्)।

द्रष्टब्य: मत्ती २२:४१-४६ पढ्नुहोस्। मसीह दाऊदका वंशबाट आउनेछन् भनी यहूदीहरू जान्दथे (मत्ती २२:४२)। साथै, भजनसंग्रह ११०:१ मसीहकै विषयमा हो भनी यहूदीहरूले बुझेका थिएः "परमप्रभु (अर्थात् परमेश्वर पिता) ले मेरा प्रभुलाई भने"। यस भजनका लेखक दाऊदले मसीहलाई नै "मेरा प्रभु" (हिब्रूमा आदोनाइ अर्थात् मालिक, प्रभु) भनेका हुन् भनी यहूदीहरूले सही बुझेका थिए। तब हाम्रा प्रभु येशूले सोध्नुभएको प्रश्नदेखि यहूदीहरू नाजवाफ (मत्ती २२:४५-४६) भए जुन प्रश्नलाई यसरी व्यक्त गर्न सकिन्छः दाऊदका पुत्र कसरी दाऊदकै प्रभु हुन सक्छन्? पावलले रोमी १:३-४ मा यस प्रश्नको जवाफ दिन्छन्।

उहाँको मनुष्यत्वले ("शरीरअनुसार") उहाँ दाऊदका पुत्र हुनुहुन्छ (रोमी १:३)। उहाँको ईश्वरत्वले उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ तसर्थ उहाँ दाऊदका प्रभु हुनुहुन्छ (रोमी १:४)।

देहधारणमा उहाँ परमेश्वर बन्नुभएको होइन, न ता पुत्र नै बन्नुभएको हो। देहधारण त इतिहासमा त्यो बिन्दु थियो जब परमेश्वरको अनन्त पुत्रले हाम्रो मनुष्यत्वलाई धारण गर्नुभयो, तरैपनि आफ्नो ईश्वरत्वलाई कायमै राख्नुभयो। परमेश्वरको पुत्र मानिसको पुत्र बन्नुभयो ताकि हामी मानिसका पुत्रहरू परमेश्वरका पुत्रहरू बन्न सकौं (यूहन्ना १:१२; गलाती ३:२६)। हामीलाई यति माथि अल्गाउनलाई उहाँ त्यति तल होचिन उहाँलाई अभिप्रेरित गर्ने उहाँको प्रेम र अनुग्रहका लागि हामी सधैं नै आश्चर्य र प्रशंसाले भरिएका हुन सकौं! "हेर त, पिताले हामीलाई कस्तो किसिमको प्रेम प्रदान गर्नुभएको छ – हामी परमेश्वरका सन्तान कहलिँदछौं" (१ यूहन्ना ३:१)।

रोमी १:३-४ लाई रोमी ९:५ सित दाँज्नुहोस् (उहाँको मनुष्यत्व तथा ईश्वरत्व दुवैलाई विशेष जोड दिइएको तथ्यलाई ख्याल गर्नुहोस्।)

"मरेकाहरूबाट बौरेर उठ्नुभएको कारणले" – येशू ख्रीष्टले आफ्नो विषयमा गर्नुभएको सबै दाबी सयमा-सय सही थियो भन्ने कुराको अन्तिम प्रमाण उहाँको बौरिउठाइ थियो (तुलनाको लागि हेर्नुहोस् मत्ती १२:३८-४० र यूहन्ना २:१८-२१)।

येशू ख्रीष्ट या त मरेकाहरूबाट बौरनुभयो या त बौरनुभएन। निम्नलिखित झूटा धारणाहरू किन सन्तोषजनक छैनन् र तिनमा के-कस्ता समस्या छन्:

  1. "येशूको लाशलाई चेलाहरूले चोरेर लगे" (तर मत्ती २८:११-१५)।

  2. "येशूको लाशलाई अरमथियाको यूसुफले चिहानबाट अन्यत्र सारे" (तर मत्ती २७-५७-६०)।

  3. "स्त्रीहरू साथै पछि जाने सबै नै झुक्किएर अर्कै चिहानमा पुगे" (तर मत्ती २७:६१; २८:१)।

  4. "ख्रीष्टलाई देखेको दाबी गर्नेहरूलाई वास्तवमा दृष्टिभ्रम (hallucination) परेको थियो। उनीहरूले ख्रीष्टलाई देखेको भान भयो तर उनीहरूले वास्तवमा देखेनन्" (तर १ कोरिन्थी १५:६)।

  5. "येशू वास्तवमा क्रूसमा मरेका थिएनन्। चिहानमा राखिँदा उनी जिउँदै थिए" (तर यूहन्ना १९:३४)।

"सामर्थ्यसहित" – पुरानो नियममा जब परमेश्वरले आफ्नो महान् सामर्थ्यलाई औंल्याउन चाहनुहुन्थ्यो तब उहाँले इस्राएलीहरूलाई लाल समुद्र पार गराउनुभएको आश्चर्यकर्मलाई औंल्याउनुहुन्थ्यो (व्यवस्था २६:८; प्रस्थान ३२:११; व्यवस्था ४:३७; २ राजा १७:३६; इत्यादि)। नयाँ नियममा भने यो पाईंदैन। आज परमेश्वरले आफ्नो महान् सामर्थ्यलाई औंल्याउनुपर्दा उहाँले कुनचाहिँ महान् घटनातर्फ हाम्रो ध्यान खिँच्नुहुन्छ (एफेसी १:१९-२०; फिलिप्पी ३:१०)? आफ्नो प्रेम देखाउनलाई परमेश्वरले क्रूसलाई औंल्याउनुहुन्छ (यूहन्ना ३:१६; रोमी ५:८; १ यूहन्ना ४:१०); आफ्नो महान् सामर्थ्यलाई देखाउनलाई परमेश्वरले रित्तो चिहानलाई औंल्याउनुहुन्छ।

ख्रीष्टले गर्नुभएको कामलाई विचार गर्दा मुख्यतया: दुईओटा कुरालाई सम्झनुहोस्: १) उहाँको क्रूसको मरण २) उहाँको बौरिउठाइ। यी दुई कुरा निम्न खण्डहरूमा भेट्टाउन सक्नुहुन्छः रोमी ४:२५; १ कोरिन्थी १५:३-४; २ कोरिन्थी ५:१४-१५ र १ थेस्सलोनिकी ४:१४।

रोमी १:५

सुसमाचार कसलाई प्रचार गरिनुपर्छ? पावलको जवाफ छ: "सबै जातिहरूलाई" (दाँज्नुहोस् मर्कूस १६:१५; मत्ती २८:१९; लूका २४:४७ र प्रेरित १:८)। "अनुग्रह" = नालायकलाई परमेश्वरको निगाह। आफू नालायक छु भनी पावल जान्दथे र प्रेरित कहलिन आफू अयोग्य छु भनी जान्दथे (१ कोरिन्थी १५:९-१० र एफेसी ३:८) "विश्वासप्रति आज्ञापालन पैदा गराऔं भनेर" – सुसमाचार, पालन गरिनुपर्ने सन्देश हो। सुसमाचार विश्वासद्वारा पालन गरिँदछ। निम्न कुरालाई ध्यान दिऔं:

  1. प्रेरित १६:३०-३१ पढ्नुहोस्। पद ३१ एउटा आज्ञा हो!

  2. १ यूहन्ना ३:२३ पढ्नुहोस्। पापीले मान्नु पर्ने पहिलो आज्ञा कुन हो? परमेश्वरलाई खुशी पार्न एउटा व्यक्तिले गर्नु पर्ने पहिलो कुरा के हो (हिब्रू ११:६ दाँज्नुहोस्)?

  3. प्रेरित १७:३० -- परमेश्वरको आज्ञा के छ? यो आज्ञा कसलाई हो?

  4. २ थेस्सलोनिकी १:८ – विश्वास नगर्नेहरूलाई "हाम्रा प्रभु येशू ख्रीष्टको सुसमाचार पालन नगर्नेहरू" भनी जनाइएकोछ।

  5. विश्वास नगर्नु ज्यादै गम्भीर कुरो हो: यूहन्ना ३:१८; ३:३६; ८:२४; १६:९ आदि।

पावलको जीवनको अभिप्रेरणा – "उहाँका नामका निम्ति"। पावल केवल आफ्ना प्रभु र मुक्तिदाताको नाम, महिमा र इज्जतको लागि फिक्री गर्दर्थे (१ कोरिन्थी १०:३१; ३ यूहन्ना ७)।

रोमी १:६

आज परमेश्वर संसारमा के गर्दै हुनुहुन्छ?

"उनीहरूकै बीचमा" = सबै जातिहरूको बीचमा (पद ५)

आज परमेश्वर अन्यजातिहरूलाई भेट्दै हुनुहुन्छ र उनीहरूका बीचबाट आफ्ना नामका निम्ति एउटा जाति निकाल्दै हुनुहुन्छ (प्रेरित १५:१४)। ख्रीष्टले आफ्नो मण्डली बनाउँदै हुनुहुन्छ (मत्ती १६:१८)। "मण्डली" (ग्रीकमा एक्लेसिया) भन्नाले परमेश्वरको, बोलाइएको सभा भन्ने बुझिन्छ। परमेश्वरले मानिसहरूलाई आफूसित सङ्गति गर्न बोलाउँदै हुनुहुन्छ (१ कोरिन्थी १:९)। के परमेश्वरले तपाईंलाई अन्धकारदेखि उहाँको अचम्मको ज्योतिभित्र बोलाउनुभएको छ (१ पत्रुस २:९)?

रोमी १:७

पावलको यस पत्रका प्रापकहरू रोमका विश्वासी जनहरू थिए।

  1. उनीहरू "परमेश्वरका प्रियहरू" थिए, अर्थात् परमेश्वरद्वारा अति प्रेम गरिएकाहरू। परमेश्वरको यस अचम्म र महान् प्रेमको विषयमा हामी रोमी ५ मा अझै सिक्नेछौं।
  2. उनीहरू "बोलाइएका पवित्र जनहरू" थिए। पवित्र जन भन्नाले "अलग पारिएको व्यक्ति, पापबाट अलग पारिएको र ख्रीष्टको सेवाको निम्ति अलग पारिएको व्यक्ति" भन्ने बुझिन्छ। हरेक विश्वासी पवित्र जन हो, तर कहिलेकाहिँ विश्वासीहरू पवित्र ढङ्गले जिउँदैनन्। पवित्र जीवन जिउने विषयमा हामी रोमी ६ मा सिक्नेछौं।