रोमी १:१४-१७

यस पृष्ठलाई छाप्नुहोस्

ख्रीष्टियन सबैको ऋणी

"ऋणी" = मैले केही दिनु छ! मेरो एउटा जिम्मेवारी छ! सुसमाचारको कर्तव्य छ! दाँज्नुहोस् १ कोरिन्थी ९:१६।

"ग्रीकहरू र अन्यभाषीहरू" = अन्यजातिका दुई वर्गहरू। "ग्रीकहरू" ती थिए जोहरूमा ग्रीक सभ्यता र भाषाको प्रभाव परेको थियो (रोमी साम्राज्यकै साझा भाषा ग्रीक थियो; रोमीहरूलाई पावलको पत्र, ल्याटिन वा हिब्रूमा नभएर, ग्रीकमै लेखिएको थियो)। "अन्यभाषीहरू" चाहिँ विदेशीहरू थिए जसलाई ग्रीक सभ्यताले छोएको थिएन (हेर्नुहोस् प्रेरित २८:२,४)।

पावल, मानव जातिको प्रत्येक सदस्यप्रति सुसमाचारको ऋणी थिए। एक समय पावल (टार्ससका शाऊल) प्रत्येक ख्रीष्टियनलाई खेदो गर्नु आफ्नो जिम्मेवारी ठान्थे तर उनी अब हरेक प्राणीलाई सुसमाचार प्रचार गर्नु आफ्नो जिम्मेवारी ठान्दछन् (पावल सम्भवत: मर्कूस १६:१५ सित परिचित थिए)। सुसमाचारमा तपाईंको के-कस्तो जिम्मेवारी वा कर्तव्य छ (२ कोरिन्थी ५:१७-२१ पढ्नुहोस्)? परमेश्वरको सुसमाचार पाएकाहरू त्यसलाई अरूसित बाँड्न आफूलाई बोझ भएको र जिम्मेवार भएको महसुस गर्छन्। यदि तपाईं औषधि अनुसन्धानकर्ता हुनुहुन्थ्यो र तपाईंले क्यान्सरको औषधि पत्ता लगाउनुभएको भए, के त्यसलाई तपाईंले गोप्यमै राख्‍नुहुन्थ्यो होला?

रोमी १:१५

"तयार" = तयार, इच्छुक र उत्सुक (तुलना गर्नुहोस् प्रेरित १७:११ -- "मनको पूरा तयारीको साथ")।

"सुसमाचार प्रचार गर्न" = शुभ-सन्देशलाई घोषणा गर्न, प्रचार-प्रसार गर्न।

रोमी १:१६

पावल प्रेरितका निम्न तीन भनाइहरूलाई ध्यान दिनुहोस्:

"म… ऋणी छु" (पद १४)

"म… तयार छु" (पद १५)

"म… लजाउँदिनँ (पद १६)

"लजाउँदिनँ" -- सुसमाचारका निम्ति पवाल कारागारमा जान लजाउँदैनथे र मर्न समेत लजाउँदैनथे। हाम्रा प्रभुले लूका ९:२६ मा भन्नुभएको कुरालाई २ तिमोथी १:८,१२ सित तुलना गर्नुहोस्। ख्रीष्टियनहरू सुसमाचारसँग लजाउनुहुन्न र साथै यसका सिद्धान्तहरूको बिपरित खाले जीवन जिएर सुसमाचारको निम्ति लाजको कारण बन्नुहुन्न

"परमेश्वरको सामर्थ्य" = ग्रीक शब्द डुनामीस (अङ्ग्रेजीको "डाइनामाइट" सित दाँज्नुहोस्)। १ कोरिन्थी १:१८,२४ मा हेर्नुहोस्। संसारलाई सृष्टि गर्ने काम परमेश्वरलाई औंलाको खेल बराबर थियो (भजन सङ्ग्रह ८:३) तर पापीको उद्धार गर्न भने परमेश्वरकै बाहुबलको जरुरत पर्‍यो (यशैया ५१:१)। संसार सृष्टि गर्न परमेश्वरलाई खासै खर्च लागेन; उद्धार गर्न भने परमेश्वरले आफ्नो एकमात्र पुत्र खर्चनुपर्‍यो। सतावटका प्रमुख शावलको बदली गरी उसलाई प्रेरितहरूका प्रमुख पावल बनाउन परमेश्वरकै सामर्थ्यको आवश्यकता पर्‍यो। कुनै पनि पापीलाई बचाउन र बदली गर्न परमेश्वरकै सामर्थ्यको आवश्यकता पर्दछ (तुलना गर्नुहोस् कलस्सी १:१३ र प्रेरित २६:१८)।

"हरेकका लागि" -- परमेश्वरको सुसमाचार छानिएका थोरैका लागि मात्र नभएर सबैका लागि हो।

"विश्वास गर्ने" -- सुसमाचार विश्वास गर्ने हरेकले नै मुक्ति पाउँदछ (तुलना गर्नुहोस् प्रेरित १६:३०-३१; १ कोरिन्थी १:२१; १ कोरिन्थी १५:१-२; लूका ८:१२; यूहन्ना ६:४७ आदि)।

"पहिले यहूदीका लागि" -- यहाँ हामी परमेश्वरको अनुग्रहको अचम्मको प्रदर्शन देख्दछौं। यहूदीहरू नै ती थिए जसले आफ्नै मसीहलाई इन्कार गरे (यूहन्ना १:११) र उहाँलाई क्रूसमा टँगाए (यूहन्ना १९:१४-१६)। तरैपनि परमेश्वरको शुभ-सन्देश सुन्न सबैभन्दा पहिलो मौका पाउनेहरू उनीहरू नै थिए! सुसमचार सर्वप्रथम यहूदीहरूकहाँ पुर्‍याइयो। पेन्टेकोस्टको दिनमा (प्रेरित २) सुसमाचार सुन्नेहरू सबै नै यहूदीहरू थिए। प्रेरित अध्याय १० मा नपुगुञ्जेल अन्यजातिहरूले सुसमाचार सुन्न पाएनन्। आज सुसमाचार सबै मानिसहरूलाई कुनै भिन्नताबिना पुर्‍याइनुपर्छ (हेर्नुहोस् रोमी १०:१२-१३)।

पहिले यहूदीका लागि

तर पावल र बर्नबासले साहसी भएर भने: "परमेश्वरको वचन पहिले तपाईंहरूलाई सुनाइनु खाँचो थियो; तर यसलाई तपाईंहरू इन्कार गर्नुहुन्छ र अनन्त जीवनका लागि आफूलाई अयोग्य ठहराउनुहुन्छ; यसकारण हेर्नुहोस्, हामी अन्यजातिहरूतिर फर्किन्छौं" (प्रेरित १३:४६)।

यहाँ पावलको अभिव्यक्ति ज्यादै वजनदार छ: यसो गर्नु "खाँचो थियो!"  सुसमाचार पहिले यहूदीहरूकहाँ पुर्‍याइनु नितान्त आवश्यक थियो। परमेश्वरको वचन पहिले यहूदीहरूलाई नै घोषणा किन गरिनुपर्थ्यो भन्ने कुराका केही कारणहरू यस प्रकार छन्:

१) सुसमाचार पहिले यहूदीहरूकहाँ जानुपर्थ्यो किनकि "मुक्ति यहूदीहरूबाटको हो" (यूहन्ना ४:२२)। मुक्तिदाता आफैं एक यहूदी हुनुहुन्थ्यो। मुक्ति यहूदीहरूबाटको भएको हुनाले मुक्तिको यो गहकिलो सन्देश पहिले यहूदीहरूलाई नै सुनाइनु सुहाउँदो कुरा थियो।

२) सुसमाचार पहिले यहूदीहरूकहाँ जानुपर्थ्यो किनकि ख्रीष्ट "आफ्ना जनहरूलाई तिनीहरूका पापहरूबाट मुक्त" गर्ने उद्देश्यले संसारमा आउनुभएको हो (मत्ती १:२१)। "आफ्ना जनहरू" भन्नाले स्पष्टै इस्राएल भन्ने बुझिन्छ (मत्ती २:६ सित तुलना गर्नुहोस्; साथै प्रेरित १०:४२ मा "मानिसहरू" भन्नाले सम्भवतः यहूदीहरू बुझिन्छ)। तसर्थ मुक्तिको सन्देश र आशिषहरू सर्वप्रथम इस्राएलकहाँ नै पुर्‍याइनु उचित थियो (तुलना गर्नुहोस् प्रेरित ३:२६)।

३) सुसमाचार पहिले यहूदीहरूकहाँ जानुपर्थ्यो किनकि हिब्रू पवित्र शास्त्रहरू (३९ पुस्तकहरू) यहूदीहरूलाई नै सुम्पिएको थियो। रोमी ३:१-२ र ९:४ मा पढ्नुहोस्। अन्य जातिहरूले भन्दा उनीहरूले प्रतिज्ञा गरिनुभएको मुक्तिदातालाई ठम्म्याउन सक्नुपर्थ्यो र उहाँलाई ख्रीष्ट अर्थात् इस्राएलका मसीह भनी स्वीकार गर्न सक्नुपर्थ्यो। यसैकारण विश्राम दिनहरूमा यहूदीहरूका सभाघरहरूमा गई उनीहरूसित पवित्र शास्त्रहरूबाट तर्क गर्दै नासरतका येशू नै प्रतिज्ञा गरिनुभएको मुक्तिदाता हुनुहुन्छ भन्ने कुरालाई प्रस्तुत गर्ने पावलको आदत हुनु अनौठो कुरा होइन। परमेश्वरले सुसमाचार पहिले यहूदीहरूकहाँ पठाउनुभयो किनकि सुसमाचारमा घोषणा गरिनुहुने ख्रीष्टलाई व्यवस्था र अगमवक्ताहरूमा पहिल्यै प्रतिज्ञा गरिनुभएको जन भनेर पहिले चिन्न सक्ने त यहूदीहरू नै हुनुपर्थ्यो।

४) सुसमाचार पहिले यहूदीहरूकहाँ जानुपर्थ्यो किनकि परमेश्वरले आफू अनुग्रही छु भन्ने कुरा देखाउन चाहनुहुन्थ्यो। के यहूदीहरू सुसमाचार सुन्नेमा पहिलो हुन योग्य थिए? आफ्ना मसीहलाई इन्कार गरी क्रूसमा टँगाउनेहरू त उनीहरू नै थिए (हेर्नुहोस् मत्ती २७:२२; प्रेरित २:२३; २:३६; ३:१४-१५; ५:३०; ७:५२; १०:३९; १३:२७-२८; १ कोरिन्थी २:८; जकरिया १२:१०; १ थेस्सलोनिकी २:१४-१६)। उनीहरूलाई त आखिरमा सुनाइनुपर्थ्यो। वास्तवमा उनीहरूलाई सुनाइन उनीहरू योग्य नै थिएनन्। तिनीहरूले आफ्ना मुक्तिदातालाई इन्कार गरे तर परमेश्वरले तिनीहरूलाई इन्कार गर्नुभएन। यी अयोग्य यहूदी जातिलाई सबैभन्दा पहिले भेट्न खोज्नु परमेश्वरको तर्फबाट कत्रो अनुग्रह थियो। इस्राएलको पाप चरमबिन्दुमा पुगेको बेलामा, परमेश्वरको अनुग्रह झनै प्रशस्त भयो (तुलना गर्नुहोस् रोमी ५:२०)।

यहूदीहरूसितको परमेश्वरको अनुग्रही व्यवहारलाई सी एच म्याकिन्टोश (C.H. Mackintosh) ले सुन्दर ढङ्गमा ब्याख्या गरेका छन्:

"यरूशलेमदेखि शुरु गर्नू" भनी उनीहरूलाई उहाँ आज्ञा गर्नुहुन्छ। हो, यरूशलेमदैखि नै, जहाँ हाम्रा प्रभु क्रूसमा टँगाइनुभयो; जहाँ मानव द्वेषले कल्पना गर्न सक्ने जति हरेक अपमानजनक व्यवहार उहाँको ईश्वरीय व्यक्तित्वमाथि खन्याइयो; जहाँ मानिसले "शरीरमा प्रकट हुनुभएको परमेश्वर" को सट्टा एउटा हत्यारा र डाँकूलाई बढी मन परायो; परमेश्वरको पुत्रलाई कुकर्मी टाँगिने क्रूसमा काँटीले ठोकेर मानव अधर्म चरमबिन्दुमा पुगेको जहाँ थियो -- त्यहीँ नै प्रचारकहरूले त्यो आशिषमय कार्यको थालनि गर्नुपर्थ्यो; त्यो नै तिनीहरूको अनुग्रहपूर्ण सेवाको कार्यक्षत्रको केन्द्र हुनुपर्थ्यो; अनि त्यहाँबाट उनीहरू सारा जगतको पल्लो छेउसम्म यात्रा गर्नुपर्थ्यो। उनीहरूले "यरूशलेमी पापीहरू" बाट शुरु गर्नुपर्थ्यो -- परमेश्वरको पुत्रकै हत्याराहरूबाट -- अनि त्यसपछि त्यस महिमापूर्ण सन्देशलाई जहाँतहीँ प्रकाशित गर्दै जानुपर्थ्यो, ता कि सबैले यरूशलेमकै रगताम्य दोषलाई क्षमा दिन सक्ने परमेश्वरको त्यो अनमोल अनुग्रहलाई जान्न सकून्।

कति महिमापूर्ण छ यो कुरा! परमेश्वरको पुत्रका हत्याराहरू नै सबैभन्दा पहिले क्षमाशील प्रेमको मीठो ध्वनि सुन्न पाए ता कि परमेश्वरको अनुग्रह र ख्रीष्टको रगतले कतिसम्म गर्न सक्दो रहेछ भनेर उनीहरूमा सबैले एउटा नमुना देख्‍न पाऊन्। साँच्चै, यरूशलेमी पापीहरूलाई क्षमा दिन सक्ने अनुग्रहले जोकोहीलाई पनि क्षमा दिन सक्नेछ; परमेश्वरका ख्रीष्टलाई धोका दिने र हत्या गर्नेहरूलाई शुद्ध पार्न सक्ने रगतले नरक बाहिरको जोकोही पापीलाई पनि शुद्ध पार्न सक्दछ। यी मुक्तिका सन्देश बाहकहरूले, उनीहरू एक राष्ट्रबाट अर्को राष्ट्रमा यात्रा गर्ने क्रममा, श्रोताहरूलाई आफूहरू कहाँदेखि आएका हौं भनी बताउन सक्थे; उनीहरूले परमेश्वरको त्यो अति प्रशस्त अनुग्रहको बारेमा बताउन सक्थे जुन अनुग्रहले आफ्नो सेवाकार्य पृथ्वीकै सबैभन्दा दोषी स्थानदेखि शुरु गर्‍यो र आदमका सन्तानमध्ये सबैभन्दा नीचलाई समेत बचाउन पनि पूरै सक्षम थियो।

रोमी १:१७

"यसैमा" = सुसमाचारमा (पद १६ मा हेर्नुहोस्)। परमेश्वरको धार्मिकता सुसमाचारमा प्रकट भएको छ।

"परमेश्वरको धार्मिकता" -- मानिस धार्मिकतारहित छ (रोमी ३:१०), उसलाई धार्मिकताको खाँचो छ (१ कोरिन्थी ६:९ सित तुलना गर्नुहोस्)। आफूलाई खाँचो परेको धार्मिकता मानिसले कसरी पाउन सक्छ त?

"विश्वासद्वारा" -- मानिसले यो धार्मिकता विश्वासद्वारा ग्रहण गर्नुपर्छ र अपनाउनुपर्छ। मार्टिन लुथर (Martin Luther) को आँखाहरू खोलिदिन परमेश्वरले यही पद (रोमी १:१७) लाई प्रयोग गर्नुभयो। उनले यस पदलाई विचार गर्दै थिए जब एक्कासी उसलाई महसुस हुनगयो कि धर्मीकरण (justification) विश्वासद्वारा हुने कुरा हो, मानवीय प्रयासद्वारा होइन, असल कामहरूले होइन, स्याक्रामेन्ट (धार्मिक संस्कार) हरू द्वारा होइन, रीति पूरा गरेर वा अन्य त्यस्ता कुनै पनि कुराले होइन, तर येशू ख्रीष्टमा विश्वास गरेर हुने कुरा हो। लुथर आफैले भने, "किनकि परमेश्वरले हामीलाई हाम्रो आफ्नै धार्मिकताले होइन र एउटा बाह्य धार्मिकताद्वारा बचाउन चाहनुहुन्छ जुनचाहिँ हामी आफैंबाट उत्पन्न भएको नभएर तर हामीभन्दा बाहिरबाट उत्पन्न भएको छ, जुनचाहिँ संसारबाट उब्जेको होइन तर स्वर्गबाटको हो (लेक्चर्स् अन रोमन्स्)विश्वासद्वाराको धार्मिकता (JUSTIFICATION BY FAITH) प्रोटेस्टेन्ट अभियान (Protestant Reformation) का प्रमुख तीनमध्ये एउटा खाँबो हो (अरू दुईचाहिँ बाइबलको सर्वाधिकार (SUPREME AUTHORITY OF THE BIBLE) र सबै विश्वासीको पूजाहारीगिरी (THE UNIVERSAL PRIESTHOOD OF BELIEVERS) हुन्)।