Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

रोमी १:१८-२३

यस पृष्ठलाई छाप्नुहोस्

मानिसलाई कुनै बहाना छैन, किन?

(रोमी १:१८ क्रमशः)

"दबाइराख्‍ने" = दमन गर्ने, प्रकट हुन नदिने

यी मानिसहरूले सत्यतालाई नजानेका थिएनन् र उनीहरू सत्यको ज्ञानबिना थिएनन् भन्ने कुरालाई कृपया ध्यानमा राख्‍नुहोला। उनीहरूसित सत्यता थियो तर त्यसलाई उनीहरूले दबाएर राखेका थिए।

रोमी १:१९

यी मानिसहरूले सत्यलाई नजानेका थिएनन् भन्ने कुरा पद १८ मा सिक्यौं। उनीहरूसित सत्यता थियो तर उनीहरूले त्यसलाई दबाएर राखे। यी मानिसहरूसित सत्य परमेश्वरको बारेमा सत्यता कसरी थियो त भन्ने कुरा अब पावलले राम्ररी बताउन लागेका छन्। यी मानिसहरूकहाँ परमेश्वरले आफूलाई प्रकट गरिसक्नुभएको छ भन्ने कुरा रोमी १:१९ मा सिक्दछौं। उहाँले आफूलाई उनीहरूकहाँ प्रकट गरिसक्नुभएको छ। परमेश्वरले यो कसरी गर्नुभएको छ त? पद २० ले बताउनेछ।

द्रष्टब्य: रोमीको पहिलो तीन अध्यायहरूले मूलत: एउटै आधारभूत प्रश्नको जवाफ दिँदै छ: के सारा विश्व पवित्र परमेश्वरको सामु दोषी छ? के सारा विश्व हराएको छ अर्थात् विनाशको बाटोमा छ? सारा मानिस जातिलाई धर्मी न्यायधीश परमेश्वरका सामु खडा गराइँदा उनीहरूको फैसला कुनचाहिँ हुनेछ -- दोषी कि निर्दोष? जवाफको पूर्वावलोकनस्वरूप रोमी ३:९,१९,२३ मा हेर्न सक्नुहुन्छ। एक सृष्टिपूजक (heathen man) विनाशको बाटोमा छ र उसलाई कुनै बहाना छैन भन्ने कुरा पावलले अध्याय १ मा प्रमाणित गर्दछन्। एक नैतिकवादी मानिस (moral man) विनाशको बाटोमा छ र उसलाई कुनै बहाना छैन भन्ने कुरा पावलले अध्याय २ को पहिलो भागमा प्रमाणित गर्दछन्। परमेश्वरकै लिखित प्रकाश पाएको मानिस (अर्थात् यहूदी) पनि विनाशको बाटोमा छ र उसलाई कुनै बहाना छैन भन्ने कुरा पावलले अध्याय २ को आखिरी भाग र अध्याय ३ मा प्रमाणित गर्दछन्।

नबिर्सनुहोला! अहिलेसम्ममा हामीले के-के सिक्यौं त्यसलाई सारांशमा हेरौं:

रोमी १:१७ -- हामीलाई खाँचो परेको कुरा यो हो (परमेश्वरको धार्मिकता)

रोमी १:१८ -- हामीले पाउनु पर्ने कुरा यो हो (परमेश्वरको क्रोध)

हामीले पछिबाट सिक्नेछौं, परमेश्वरको अनुग्रहले हामीलाई खाँचो परेको धार्मिकता दिलाउँदछ (रोमी ३:२४; ५:१७; ५:२०-२१) र परमेश्वरको कृपाले हामीलाई हामीले पाउनु पर्ने क्रोधबाट बचाउँदछ (रोमी ५:९; ११:३२)। प्रभु येशू क्रूसमा मर्नुहुँदा परमेश्वरको क्रोध उहाँमाथि खस्यो (रोमी ५:६-१०) र मैले ख्रीष्टमाथि विश्वास गर्दा र उहाँलाई मैले विश्वासद्वारा आफ्नो मुक्तितादाको रूपमा ग्रहण गर्दा परमेश्वरको धार्मिकता मेरो हिसाबमा राखिँदछ (रोमी ३:२१-२२; ४:१-५; ५:१५-२१)।

रोमी १:२०

उन्नाइसौं पदको सन्दर्भलाई याद गर्नुहोस्। मानिससित परमेश्वरको ज्ञान छ। परमेश्वरले आफूलाई तिनीहरूकहाँ प्रकट गर्नुभएको छ। परमेश्वरले यो कसरी गर्नुभएको छ त? पद २० ले अब बताउँदछ।

"उहाँका" = परमेश्वरका। मानिसहरूले परमेश्वरका नदेखिने कुराहरूलाई छर्लङ्गै देख्‍न सक्छन्! नदेखिने परमेश्वरले मानिसहरूले उहाँलाई देखून् भन्ने चाहनुहुन्छ! परमेश्वर अदृश्य हुनुहुन्छ, तैपनि उहाँ छर्लङ्गै देखिनुहुन्छ!

"सृष्टि गरिएका कुराहरूद्वारा" -- सृष्टिले सृष्टिकर्तालाई प्रकट गरेको छ। सृष्टि गरिएका देखिने कुराहरूले नदेखिने सृष्टिकर्तालाई देखाइरहेको छ! प्रकृतिको रचना (design) ले रचनाकार (Designer) लाई औंल्याइरहेको छ! "सृष्टि गरिएका कुराहरू" ले ईश्वरीय रचनाकारलाई औंल्याउँदछन्।

हामीले सृष्टिबाट परमेश्वरको बारेमा सिक्न सक्ने दुइटा कुराहरू यी हुन्: १) उहाँको अनन्त शक्ति; २) उहाँको परमेश्वरत्व (GODHEAD)

सृष्टिलाई केवल हेरेर हामीले सृष्टिकर्ताको बारेमा थुप्रै कुराहरू सिक्न सक्छौं; जस्तै:

१) परमेश्वरको व्यवस्थाप्रियता (ORDERLINESS, उहाँ नियम र सुव्यवस्थाका परमेश्वर हुनुहुन्छ) -- गुरुत्वाकर्षणको सिद्धान्त तथा प्रकृतिका अन्य सबै अपरिवर्तनीय सिद्धान्त अथवा नियमहरू;

२) परमेश्वरको कला कौशल -- सुन्दर सूर्यास्त, मजुरका प्वाँख तथा समुद्री माछाका रङ्गहरू;

३) परमेश्वरको शक्ति -- आँधीबेहरी र चट्याङ्ग, तुफान, सुनामी;

४) परमेश्वरको भलोपन -- आकाशको वर्षा, फलदायी ऋतुहरू, घामको उज्यालो र न्यानो (प्रेरित १४:१७; मत्ती ५:४४-४५);

५) परमेश्वरको महानता -- ब्रह्माण्डको अपरिमित आयामहरू। हाम्रो आकाशगङ्गा ग्यालक्सीमा ३००,०००,००० सूर्यहरू रहेका छन्। सबै ग्यालक्सीहरू हामी गनेर सक्दैनौ, ताराहरूको कुरै नगरौं (भजनसङ्ग्रह ८:३-४; उत्पत्ति १५:५; यर्मिया ३१:३७; ३३:२२; भजनसङ्ग्रह १४७:४);

६) परमेश्वरको विचारशक्ति -- मानव मस्तिष्कको बनावट कुनै पनि मानव-निर्मित कम्प्युटरभन्दा अति धेरै जटिल हुन्छ (हेर्नुहोस् भजनसङ्ग्रह १३९:१४);

७) परमेश्वरको सृजनशक्ति (अनेकथरीका मौलिक रचना गर्न सक्ने उहाँको असीमित क्षमता) -- हिउँका एक-एक कण षट्कोण परेका दाना भए तापनि कुनै दुई कण उस्तै हुन्नन्; कुनै दुई व्यक्तिहरू उस्तै हुँदैनन् र जुम्ल्याहामा समेत भिन्नता हुन्छन्;

८) परमेश्वरको बुद्धि (सारा बुद्धिले सम्पन्न हुनुभएका परमेश्वरले संसारको सृष्टि सबैभन्दा उत्तम ढाँचामा गर्नुभयो) -- सूर्य पृथ्वीदेखि न बढ्ता टाढा छ न बढ्ता नजिक; पृथ्वीमा एकदम उचित मात्रामा पानी, अक्सिजन आदि रहेको छ, इत्यादि।

९) परमेश्वरको वास्ता (हेर्नुहोस्, मत्ती ६:२६-३०; २३:३७) -- चराचुरुङ्गीलाई आहारा, लिली फूललाई पहिरन; चल्लालाई माउको पखेटामुनि न्यानो सुरक्षा;

१०) परमेश्वरको विश्वासयोग्यता -- दिन-रातको चक्र; ऋतु-चक्र (हेर्नुहोस्, उत्पत्ति ८:२२; यर्मिया ३१:३५-३६; ३३:२०)।

सृष्टिकर्ताका दुई पुस्तकहरू

सृष्टिकर्ताको बारेमा हामी कसरी जान्न सक्छौं? मानिस (सृष्टिको एउटा प्राणी) ले परमेश्वर (सृष्टिकर्ता) को बारेमा कसरी जान्न सक्छ? हामीले उहाँलाई चिन्न सकौं भन्ने हेतुले सृष्टिकर्ताले आफूलाई हामीकहाँ कसरी प्रकट गर्नुभएको छ?

सृष्टिकर्ताले आफूलाई मानिसहरूकहाँ प्रकट गर्न चाहनु भएको हुनाले उहाँले दुइटा पुस्तकहरू लेख्‍नुभएको छ। यी दुइटा पुस्तकहरूले हामीलाई सृष्टिकर्ताको बारेमा बताउँछन्! मानिसहरूले यी दुवै पुस्तकहरू पढून् र उहाँलाई चिन्न सकून् भन्ने परमेश्वरको इच्छा हो।

पहिलो पुस्तक - सृष्टिकर्ताका सृष्टि
(भजनसङ्ग्रह १९:१-६)

पहिलो पुस्तक

सृष्टि

दोश्रो पुस्तक - सृष्टिकर्ताका वचन (बाइबल)
(भजनसङ्ग्रह १९:७-११)

दोश्रो पुस्तक

बाइबल

पहिलो पुस्तक सबैले पढ्छन्, तर दोश्रो पुस्तक थोरैले मात्र पढ्छन्। सृष्टिकर्ताका सृष्टि नै पहिलो पुस्तक हो र यसलाई भजनसङ्ग्रह १९:१-६ मा बयान गरिएको छ। सृष्टिकर्ताका वचन (बाइबल) नै दोश्रो पुस्तक हो र यसलाई भजनसङ्ग्रह १९:७-११ मा बयान गरिएको छ। दृष्टान्त: बालबालिकाका पुस्तकहरूको विचार गर्नुहोस्। कुनै-कुनैमा शब्द पनि हुन्छन् तर कतिमा चित्र मात्र हुन्छन्। पहिलो पुस्तक चित्र-पुस्तक हो। यसमा शब्द छैनन्। मान्छेले हेरेर देखे मात्र पुग्छ (रोमी १:२० - परमेश्वरको शक्ति र ईश्वरत्व "छर्लङ्गै देखा परेका छन्")। बच्चाले आफ्नो आँखा खोल्नेबित्तिकै पहिलो पुस्तक पढ्न थाल्दछ जब उसले आफू वरिपरिको संसारको बारेमा सिक्न थाल्दछ।

कुन पुस्तक अनपढहरूले समेत पढ्न र बुझ्न सक्छन् (हेर्नुहोस् भजनसङ्ग्रह १९:२-४)? __________

कुन पुस्तक विश्वव्यापी भाषामा लेखिएको छ (सबैले बुझ्ने भाषामा लेखिएकोले रूपान्तरणको समस्या छैन)? __________

आकाशहरूको बारेमा कुन पुस्तकले सिकाउँछ (उत्पत्ति १:१)? __________

स्वर्ग कसरी पुग्न सकिन्छ भन्ने बारेमा कुन पुस्तकले सिकाउँछ (यूहन्ना १४:६)? __________

कुन पुस्तकले एक व्यक्तिलाई परमेश्‍वरको सामर्थ्य, महानता र महिमाको बारेमा बुद्धिमान बनाउन सक्छ (रोमी १:२०; भजनसंग्रह १९:१)? __________

कुन पुस्तकले एक व्यक्तिलाई मुक्तिका निम्ति बुद्धिमान बनाउन सक्छ (२ तिमोथी ३:१५)? __________

कुन पुस्तकले प्राणलाई बदल्न सक्छ (भजनसंग्रह १९:७)? __________

कुन पुस्तक टलेर जानेछ (मत्ती २४:३५)? __________

कुन पुस्तक कहिल्यै टल्नेछैन (मत्ती २४:३५)? __________

कुन पुस्तक सबै वैज्ञानिकहरू पढ्ने र अध्ययन गर्न गर्छन्? __________

कुन पुस्तक थोरै मात्र वैज्ञानिकहरू पढ्ने र अध्ययन गर्ने गर्छन्? __________

कुन पुस्तकले हामीलाई परमेश्वरको बारेमा जान्न र परमेश्वरलाई व्यक्तिगत रूपमा साँच्ची नै चिन्न मदत गर्न सक्छ? __________ 

सृष्टिपूजकहरूका बारेमा हामी के भनौं? जङ्गलका बीच बास गर्नेहरूका बारेमा नि? जसलाई थाहै छैन, जसले सुनेकै छैनन्, तिनीहरूको बारेमा नि? परमेश्वरको छक्कलाग्दो जवाफ यस प्रकार छ: उनीहरूलाई थाह छ (रोमी १:१९-२१), उनीहरूले सुनेका छन् (रोमी १०:१३-१८)! रोमी १०:१३-१८ मा पावलको तर्कलाई ध्यान दिनुहोस्। मान्छेलाई सुन्न खाँचो छ (पद १४); सुसमाचार प्रचारिनु पर्छ (पद १५); सुसमाचार विश्वास गरिनु पर्छ (पद १६-१७); तर पद १८ ले सबैले सुनेका छन् भन्ने कुरालाई जोड दिन्छ! परमेश्वरले कम्तिमा पहिलो पुस्तकद्वारा सबै मानिसहरूलाई भेटिसक्नुभयो। मन्छेलाई मुक्तिमा डोर्‍याउन पहिलो पुस्तक पर्याप्‍त छैन (यसका लागि दोश्रो पुस्तक चाहिन्छ) तर मान्छेलाई बहानारहित तुल्याउन पहिलो पुस्तक पर्याप्‍त छ (रोमी १:२०)। यदि मान्छेले पहिलो पुस्तकको सन्देशलाई इन्कार गर्दछ भने (रोमी १:२१), के उसलाई दोश्रो पुस्तक दिन परमेश्वर ऋणी हुनुहुन्छ होला? [यसो भनिए तापनि हामीले रोमी १:१४ लाई बिर्सनुहुन्न जहाँ "ऋणी" शब्द उल्लेखित छ। हरेक ख्रीष्टियनले सबै मानिसलाई सुसमाचार पुर्‍याउन आफू ऋणी भएको ठान्नुपर्दछ।] पार्थिव दृष्टान्त: एक धनी मानिसले एक गरिबलाई देख्छन् जससित आफू र आफ्ना परिवारका लागि खानेकुरा छैन। दया लागेर उसले २०० रूपैयाँ दिन्छ। थप पैसा दिने उसको इच्छा छ तर उसले के गर्दो रहेछ भनेर उसलाई २०० रूपैयाँ मात्र दिन्छ। त्यस गरिबले उक्त पैसा तत्कालै रक्सीमा उडाउँछ। यो जानेर त्यस धनीले उसलाई १००० रूपैयाँ दिनेछ होला? हामीलाई दिइएको कुरालाई हामीले सही सदुपयोग गरेनौं भने हामीलाई अरू नदिइन सक्छ।

रोमी १:२१

"परमेश्वरलाई जानेर पनि" -- ज्ञान भएता पनि उनीहरूले के गरे? परमेश्वरले आफूलाई प्रकट गरिसक्नुभएको थियो (पद १९-२०), तर उनीहरूले उक्त प्रकाशलाई जानाजानी इन्कार गरे। याद गर्नुहोस्, बाइबलीय इतिहासअनुसार, प्रारम्भमा मानवजातिसित एकमात्र साँचो परमेश्वरको ज्ञान थियो: आदमसित एकमात्र साँचो परमेश्वरको ज्ञान थियो। नूह लगायत उनका परिवारसित एकमात्र साँचो परमेश्वरको ज्ञान थियो। तर पुस्ता-पुस्ता बित्दै जाने क्रममा उक्त ज्ञानको अपभ्रंश भयो, जसरी यस पदमा बयान गरिएको छ। आफूसित भएको ज्योतिलाई उनीहरूले इन्कार गरे र फलस्वरूप "तिनीहरूको मूर्ख हृदय _____________ भयो।"

"उहाँलाई…महिमा दिएनन्" -- उहाँ परमेश्वर हुनुभएकोले उहाँलाई आदर दिइनुपर्थ्यो तर तिनीहरूले सो गरेनन्।

"न ता धन्यवादी नै भए" -- परमेश्वरले जे गर्नुभएको छ त्यसका लागि उहाँलाई धन्यवाद दिइनुपर्थ्यो तर तिनीहरूले दिएनन्। उहाँलाई सृजनहारको रूपमा आदर गरिनुपर्थ्यो र साथै उहाँलाई पालनहारको (प्रेरित १७:२८) रूपमा धन्यवाद दिइनुपर्थ्यो तर तिनीहरू दुवै गर्नबाट चुके। तिनीहरूले दिनहुँ आफ्नो सृष्टिकर्ताको दयालु हातबाट खाए तर उहाँलाई धन्यवाद दिन इन्कार गरे (आजका मानिससित तुलना गर्नुहोस्)।

एक्काइसौं पदले मानिसको गिरावट भइरहेको देखाउँदछ (उँभो उक्लँदो प्रगति होइन, उँधो गिर्दो दुर्गति)। यो वास्तविकता विकासवादी सिद्धान्त (theory of evolution) को ठीक विपरित छ। [यसलाई धर्मको क्षेत्रमा लागु गर्न खोज्ने विकासवादीहरूले सिकाएअनुसार प्रारम्भमा मान्छे ईश्वरका बारेमा ज्यादै अविकसित धारणा राख्थे अर्थात् धेरैओटा ईश्वरहरू छन् भन्ने धारण (polytheism) बाट क्रमिक विकास भई एकमात्र ईश्वर छन् भन्ने विश्वास (monotheism) हुन आएको हो। बाइबलले यस परिकल्पनालाई अप्रमाणित तुल्याउँदछ। सुरुबाटै मान्छे (आदम, पछि नूह) सित एकमात्र साँचो परमेश्वरको ज्ञान थियो तर त्यसपश्चात् मान्छेका धारणाहरू अपभ्रंश भए।] मानवसित सुरुमा सृष्टिकर्ताको ज्ञान थियो तर त्यो ज्ञान इन्कार गरियो।

"बेकम्मा" = रित्तो; आफ्ना समझलाई परमेश्वरको योग्य विचारहरूले भर्नुको सट्टा तिनीहरू व्यर्थतातिर लागे।

"अँध्यारो भयो" -- तिनीहरूसित ज्योति थियो तर तिनीहरूले आफूसित भएको ज्योतिलाई इन्कार गरे र फलस्वरूप त्यहाँ केवल अन्धकार मात्र बाँकी रह्यो।

रोमी १:२२

"मूर्ख" = निर्बुद्धिहरू, ज्यादै नासमझ व्यक्तिहरू। भजनसङ्ग्रह १४:१ सित तुलना गर्नुहोस् -- "मूर्खले मन-मनमा भनेको छ: परमेश्वर छैन।" सृष्टिले परमेश्वर हुनुहुन्छ भन्ने तथ्य प्रकट गर्दछ; तर मूर्खले आफ्नो मनमा भन्छ, "परमेश्वर छैन।" प्रशस्तै प्रमाणका बावजूद गरिएको अस्वीकार हो यो। यो त विश्वकै सर्वोत्कृष्ट कम्प्युटरको अवलोकन गरेर "यो कम्प्युटर कसैले बनाएको होइन; यो आफैं फुत्त आयो!" भन्नु जस्तै हो। कत्रो मूर्खता!

 दृष्टान्त: निर्माता निर्मित वस्तुभन्दा ठूलो हुन्छ भनेर जान्न सक्न जङ्गलको आदिवासीको पनि बुद्धि छ। उसले के गर्छ? उसले एउटा रूख ढालेर त्यसको आधा भागले एउटा डुङ्गा बनाउँछ। डुङ्गाको निर्माता आफू भएकोले डुङ्गाभन्दा आफू नै ठूलो हुँ भनेर उसले जान्दछ। तर उसले त्यही रूखको बाँकी भागबाट एउटा मूर्ति बनाउँछ र त्यसलाई पूज्दछ! बरु उसको हृदयको चित्कार यस्तो हुनुपर्थ्यो, "म यस रूख लगायत यस विश्वलाई बनाउनुहुनेलाई चिन्न चाहन्छु!" के परमेश्वरले खोजी गर्ने हृदयलाई आदर गर्नुहुन्छ (यर्मिया २९:१३; हिब्रू ११:६)? आधुनिक मान्छे आफू बुद्धिमान् छु भन्ने दाबी गर्दै वास्तवमा मूर्ख नै भएको कुराको उदाहरणका लागि सेप्टेम्बर १९७६ को नेशनल जिओग्राफिक पत्रिका (National Geographic) को "कोषभित्रका अचम्मका संसारहरू" ("Awesome Worlds Within a Cell") भन्ने लेख पढ्न सकिन्छ। पृष्ठ ३५८ मा लेखकहरूले कोषको अत्यन्तै जटिल बनावटको बयान गर्दछन्। वास्तवमा "सरल एक-कोषीय जीव" भन्ने त्यस्तो कुनै कुरो पाइँदैन! सबैभन्दा सरल कोष समेत एउटा "माइक्रो ब्रह्माण्ड" ("a micro-universe") पो रहेछ (पृष्ठ ३५८)। अनि पृष्ठ ३८८ मा हामी पढ्छौं, "…यो नै जीवशास्त्रको प्रमुख समस्या हो। यस्तो जटिलपन (complexity) कसरी हुन आयो?…जीवशास्त्रीहरूले विज्ञानको यस गहिरो, आधारभूत रहस्यलाई अझसम्म बुझ्न सकेका छैनन् अर्थात् यी सब कुराको सुरु कसरी भयो?" त्यसपछि पृष्ठ ३९० मा "एक्सपर्टहरू" ले यसको जवाफ दिँदै पर्याप्‍त समय दिइयो भने असम्भव पनि सम्भव हुन्छ भन्दै सबै कुराको श्रेय सन्जोगलाई दिन्छन्! समय, सन्जोग र विकासवादी सिद्धान्त भए सबै कुरा सम्भव हुन्छन् अरे!!! "तिनीहरू मूर्ख बने" -- रोमी १:२१-२२।

रोमी १:२३

"परिवर्तन गरे" भनी रूपान्तर गरिएको ग्रीक शब्दलाई "साटफेर गरे" (exchanged) भनी रूपान्तरण गर्न सकिन्छ। मान्छेले सुरुमा साँचो धर्म मान्थ्यो अर्थात् उसले महिमापूर्ण सृष्टिकर्ता परमेश्वरको आराधना गर्दथ्यो। मान्छे छिट्टै गिर्‍यो र सृष्टिपूजा गर्न थाल्यो (पद २५)। परमेश्वरले प्रस्टै, कडाइका साथ सृष्टिको पूजा गर्न निषेध गर्नुभएको छ -- प्रस्थान २०:४-५; व्यवस्था ४:१५-१९; ५:८-९।

रोमी १:२३ लाई भजनसङ्ग्रह १०६:२० र यर्मिया २:११ सित तुलना गर्दा पद २२ मा "मूर्ख बने" भनेर बताइएको कुरा हामीलाई किन अनौठो लाग्थ्यो र?

यस "विनिमय" वा साटफेरमा मान्छेलाई फाइदा भएन। मान्छेले अनिवनाशी परमेश्वरको महिमालाई परित्याग गर्‍यो र उसको हातमा बेकामको कुरा मात्र बाँकी रह्यो (एउटा असहाय, निरीह मूर्ति)। याद गर्नुहोस्, यो प्रगति (evolution) होइन तर दुर्गति (DEVOLUTION) थियो। मान्छेको उन्नति भइरहेको छैन, अवनति भइरहेको छ। मान्छे पछि हट्दैछ, अघि बढ्दै होइन। यो, मान्छे माथि, माथि, माथि उक्लने काम नभएर तल, तल, तल ओर्लने काम हो। यो, मान्छे झन् झन् राम्रो हुने काम होइन, तर झन् झन् खराब हुने काम हो। यो, मान्छे चुचुरोमा पुग्ने काम होइन तर गहिराइमा डुब्ने काम हो। रोमीको पहिलो अध्यायले सामान्यतयाः सिकाइने कथित "धर्मको विकास" (evolution of religion) को ठीक विपरित कुरा बताउँछ। मान्छे क्रमिक रूपमा एक ईश्वरवाद (monotheism) को शिखरमा पुगेको होइन। मान्छे त्यहाँबाट सुरु भएर तल गिरेको हो।

होशे ४:१ लाई विचार गर्नुहोस्। मानिसहरू किन साँचो परमेश्वरको ज्ञानदेखि बिमुख छन्? के तिनीहरूसित यो ज्ञान कहिल्यै थिएन कि तिनीहरूसित यो ज्ञान भएर पनि त्यसलाई तिनीहरूले इन्कार गरेका थिए? होशे ४:६ ले यसको जवाफ प्रस्टै दिएको छ (होशेमा इस्राएलको सम्बन्धमा यो कुरा साँचो थियो भने यही सिद्धान्त रोमीको पहिलो अध्यायमा प्रस्टै पाउँदछौं)।


पृष्ठ संशोधन मिति: Friday 27-Mar-15
WordofTruth.com.np © 2017