रोमी २:१-७

यस पृष्ठलाई छाप्नुहोस्

परिचय

एउटा सृष्टिपूजक परमेश्वरदेखि पतित अवस्थामा रहेको छ र त्यस्तो व्यक्तिलाई कुनै बहाना छैन भन्ने कुरा पावलले प्रस्ट र चित्तबुझ्दो रूपमा देखाइसकेका छन् (रोमी १:१७-३२)। अब दोस्रो अध्यायको पहिलो खण्डमा पावलले एक नैतिकतावादी पनि परमेश्वरदेखि पतित अवस्थामा रहेको र उसलाई कुनै बहाना नभएको कुरा देखाउनेछन्। अनि दोस्रो अध्यायको पछिल्लो खण्डमा र तेस्रो अध्यायमा लिखित प्रकाश पाएको व्यक्ति (यहूदी) समेत पतित अवस्थामा रहेको र उसलाई कुनै बहाना नभएको कुरा पावलले देखाउनेछन्।

न्याय सिद्धान्त #१: धर्मी न्यायकर्ता परमेश्वरका सामु नैतिक मानिसलाई कुनै बहाना छैन।

रोमी २:१

"कुनै बहाना नहुनु" को अर्थ "निरुत्तर हुनु" हो (रोमी १:२० सित दाँज्नुहोस्)। अर्थात् ऊसँग भन्ने कुरा केही छैन, उसको मुख बन्द गरिएको छ (रोमी ३:१९ सित दाँज्नुहोस्)। ऊ दोषी छ र आफू दोषी भएको ऊ जान्दछ।

यस पदमा त्यस्तो व्यक्तिको चर्चा गरिएको छ जसले अर्काको न्याय गर्दछ र अर्काको कामकुरालाई दोषी ठहराउँदछ। तसर्थ, यहाँ एक नैतिकतावादीको चर्चा गरिँदैछ (नैतिकतावादी एक नैतिक विवेचना गर्ने क्षमता भएको व्यक्ति हो जसले कसैलाई नैतिक आधारमा न्याय गर्दछ)। नैतिकतावादी र सृष्टिपूजकको बीचमा भिन्नता छ। रोमी १:३२ अनुसार सृष्टिपूजकले पापी आचरणको समर्थनसराहना गर्दछ तर रोमी २:१ अनुसार नैतिकतावादीले पापी आचरणको निन्दान्याय गर्दछ।

नैतिकतावादीले अर्काको पापी आचरण देखेर उसलाई दोषी ठहराउँदछ तर उही कुराको दोषी ऊ आफैं पनि भएको हुनाले वस्तुतः उसले आफैंलाई दोषी ठहराइरहेको हुँदछ। यस आधारभूत तथ्यलाई निम्न तीनओटा उदाहरणहरूद्वारा स्पष्ट रूपले देखाउन सकिन्छ।

  1. यहूदा (उत्पत्ति ३८:१२-२६): के यहूदाले अर्को व्यक्तिलाई दोषी ठहर्‍याएको थियो (पद २४)? के उही कुरामा यहूदा आफै दोषी थियो? के यसले यहूदालाई निरुत्तर पारेको थियो र उसलाई आफूले केही भन्न नसक्ने, कुनै बहाना गर्न नसक्ने स्थितिमा पुर्‍याएको थियो (पद २६)? त्यस स्त्रीलाई दोषी ठहर्‍याउँदा के उसले आफैलाई दोषी ठहर्‍याएको थियो?
  2. दाऊद (२ शमूएल १२:१-९; २ शमूएल ११): के दाऊदले कसैलाई दोषी ठहर्‍याएको थियो (२ शमूएल १२:५-६)? अर्कालाई दोषी ठहर्‍याउँदा के उसले वास्तवमा आफैलाई दोषी ठहर्‍याउँदै थियो (पद ७)? के आफ्नो दोष महसुस गर्न दाऊदलाई कर लाग्यो (पद १३)?
  3. यूहन्ना ८:१-११: यी यहूदीहरूले एउटी दोषी स्त्रीको न्याय गर्दैथे तर दोषी व्यक्ति उनी मात्र थिइनन् भन्ने कुरा तिनीहरूले छिट्टै महसुस गरे! ती नैतिकतावादीहरू र धर्मगुरुहरूलाई एक शब्द बोल्न नसक्ने गरी त्यहाँबाट फर्कन कर लाग्यो।

सिद्धान्त: अर्काको पाप हामीले सजिलै देख्‍न किन सक्छौं भने हामी आफैंमा पाप छ र पापसित हामी राम्ररी परिचित छौं। कसैलाई दोष्याउन एउटा औंला ठडाइँदा, तीन-तीनओटा औंलाहरूले दोष्याउनेलाई ताकिरहेका हुन्छन्!

रोमी २:२

न्याय सिद्धान्त #२: परमेश्वरको न्याय सत्यता अनुसार हुन्छ।

हामी जान्दछौं = हामी निश्चित छौं।

एउटा मानव न्यायधीशले कुनै पनि मामिलाको खास कुरा जान्ने र त्यसका सत्य‍-तथ्यहरू ठम्याउने प्रयास त गर्ला तर ऊ एउटा सीमित मानव मात्र हो। उसले मानिसहरूको गवाहीलाई ग्रहण गर्नुपर्ने हुन्छ जसमध्ये धेरैले शपथ खाएर पनि झूट बोल्दछन्। "म सत्य, पूरै सत्य र केवल सत्य मात्र बोल्नेछु" भनेर शपथ खाने मान्छेले सत्य नबोल्न सक्छ तर यस कुराले परमेश्वरलाई कुनै बाधा पुर्‍याउँदैन। उहाँका सामु हरेक मामिलाका यथार्थ तथ्यहरू नाङ्गा र खुल्ला छन्। उहाँलाई न गवाहीहरूको आवश्यकता पर्दछ नता न्यायसमितिको नै किनकि सम्पूर्ण मानवजातिको एक-एक अपराध र पापलाई व्यक्तिगत रूपमा देख्‍नुहुने प्रत्यक्ष गवाही उहाँ स्वयं हुनुहुन्छ। उहाँले सबै तथ्यहरू एक-एक गरी जान्नुहुन्छ (हिब्रू ४:१२-१३ पढ्नुहोस्)। कुनै पनि व्यक्तिको मामिलालाई बङ्ग्याउने काम उहाँले कहिल्यै गर्नुहुन्न! परमेश्वरको न्याय सधैं सत्यता अनुसार नै हुन्छ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौं।

रोमी २:३

न्याय सिद्धान्त #३ परमेश्वरको न्यायबाट उम्किन असम्भव छ।

यस पदमा भएको प्रश्नको उत्तर निस्सन्देह यही हो: "अहँ! उम्किने बाटो छैन।" यदि कुनै व्यक्तिले आफू परमेश्वरको न्यायबाट उम्किनेछु भनी सोच्दछ भने उसले गलत सोच्दैछ! "अच्युत अपराध" अर्थात् सबैलाई छल्न सक्ने अपराध खास कुनै हुँदैन । मानिसहरू मानवीय न्यायबाट त उम्केलान् तर ईश्वरीय न्यायबाट तिनीहरू कदापि उम्कनेछैनन्।

रोमी २:४

न्याय सिद्धान्त #४: मानिसहरू परमेश्वरबाट भाग्नु हुँदैन (पद ३-- "उम्किन" असम्भव छ) तर उनीहरू परमेश्वरतिर भाग्नु पर्छ (पद ४-- "पश्चात्ताप" अत्यावश्यक छ)।

कृपा = दया, उदारता। परमेश्वरको भलाइ सबै मानिसहरूकहाँ पुग्दछ (मत्ती ५:४५ र प्रेरित १४:१७ पढ्नुहोस्)।

सहनशीलता = लगाम लगाउने काम, (परमेश्वरले आफ्नो न्यायलाई लगाम लगाइराख्‍नुभएको छ), परमेश्वरले आफ्नो सजायलाई ढिलो गर्नुहुन्छ। उहाँले पापको न्याय तत्कालै, तरुन्तै गर्नुहुन्न।

धीरज (धैर्य) = धेरै समयपछि मात्र रिसाउनु, रिसाउनलाई ढिलो (यसको अर्थ परमेश्वर कहिल्यै रिसाउनुहुन्न भन्ने होइन तर यसको अर्थ उहाँ रिसाउनमा ढिलो हुनुहुन्छ भन्ने चाहिँ हो। उहाँको धैर्य सधैंभरि रहिरहँदैन)।

परमेश्वर कृपालु अनि सहनशील र धैर्यवान् हुनुहुन्छ भन्ने कुराले मान्छेलाई पश्चात्तापमा डोर्‍याउनुपर्ने हो! मान्छे परमेश्वरतर्फ दगर्नुपर्ने हो - उहाँको कृपा पाउनलाई! तर उल्टो मानिसहरूले परमेश्वरलाई तिरस्कार गर्छन्, आफ्ना हृदयहरूलाई कठोर बनाउँदछन् र पश्चात्ताप गर्नै मान्दैनन्! आज यस अनुग्रहको युगमा परमेश्वरको उदारता, अनुग्रह र कृपा सबै मानिसहरूमा प्रशस्त गरी आएको छ, तरैपनि मानिसहरू पश्चात्ताप गर्न मान्दैनन्। भावी सङ्कष्टकालको समयमा, परमेश्वरको कठोरता, न्याय र महामारीहरू मानिसहरूमाथि प्रशस्त गरी खनिनेछन्, तर अझै पनि, मानिसहरू पश्चात्ताप गर्न राजी हुनेछैनन् ( प्रकाश ९:२०-२१ पढ्नुहोस्)। तै पनि जब कुनै एउटा पापीले पश्चात्ताप गर्दछ, चाहे अनुग्रहको युगमा होस् या सङ्कष्टकालमा, त्यतिखेर स्वर्गमा ठूलो आनन्द हुन्छ (लूका १५:७,१०)।

रोमी २:५

न्याय सिद्धान्त #५: अधर्मीहरूको अन्तिम न्यायको दिन आइरहेको छ।

यस न्यायको दिनलाई "क्रोध र परमेश्वरको धर्ममय न्यायको प्रकट हुने दिन" भनी व्याख्या गरिएको छ। अधर्मीहरूको अन्तिम न्यायको त्यस दिनलाई २ पत्रूस ३:७ मा ("न्यायको दिन र भक्तिहीन मानिसहरूका विनाश") र प्रकाश २०:११-१५ मा पनि बयान गरिएको छ।

कठोरता: मान्छेले परमेश्वरको कृपा, सहनशीलता र धैर्यतालाई जति बेवास्ता गर्दछ त्यति नै उसको हृदय झन् झन् कठोर बन्दै जान्छ।

पश्चात्तापी नहुने: अर्थात् पश्चात्ताप गर्न इन्कार गर्ने (क्रूसमा टाँगिएका ती दुई कुकर्मीहरूको तुलना गर्नुहोस् -- एउटा पश्चात्ताप गर्ने वा पश्चात्तापी व्यक्ति थियो र अर्को चाहिँ पश्चात्ताप नगर्ने व्यक्ति थियो)।

तिमीले आफ्ना निम्ति क्रोध थुपारिरहेका छौ = क्रोध थुपार्नेहरू, क्रोधको लोभ गर्नेहरू। स्वर्गमा सम्पत्ति थुपार्नुको सट्टा (मत्ती ६:१९-२०) उनीहरू स्वर्गबाटको क्रोध थुपारिरहेका छन् (त्यस अन्तिम दिनको लागि सञ्चय गरिरहेका छन्)।

न्याय सिद्धान्त # ६: परमेश्वरको न्याय पूर्णतया धर्ममय हुन्छ!

यसलाई "परमेश्वरको धर्ममय न्याय" भनिन्छ। धर्मी न्यायकर्ता परमेश्वरले भूल गर्नुहुन्न! उत्पत्ति १८:२५ र रोमी ९:१४ पढ्नुहोस्। ईश्वरीय न्यायकर्ताले कुनै कुराको फैसला गर्नुहुँदा त्यो अवश्य सही हुनुपर्छ। सजाय पनि सही नै हुनुपर्छ। परमेश्वर भूल गर्नुहुन्न। सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय गर्नुहुन्छ। उहाँले गल्ती गर्न सक्नुहुन्न। नरकको प्रत्येक भागीदार पूर्ण रूपमा त्यसको लायक हुनेछन्।

न्याय सिद्धान्त #७: परमेश्वरको न्याय न्यायोचित हुन्छ – हरेक मानिस जस्तो पाउनलाई योग्य छ, उसले ठीक त्यस्तै पाउनेछ।

“परमेश्वरले हरेकलाई उसका कामहरूअनुसार प्रतिफल दिनुहुनेछ।" सिद्ध इन्साफले यसरी काम गर्दछ। परमेश्वरले मानिसको कामको लेखाजोखा गर्नुहुन्छ र त्यहीअनुसारको न्याय गर्नुहुन्छ। उहाँले अपराधलाई ठ्याक्कै सुहाउने दण्ड दिनुहुनेछ। हरेक मानिसले आफूले पाउनुपर्ने प्रतिफल प्राप्‍त गर्नेछ, चाहे त्यो असल होस् या खराब।

यही सिद्धान्त निम्न खण्डहरूमा पनि सिकाइएको छ: मत्ती १२:३६-३७ (मानिसहरूले बोलेका शब्दहरूअनुसार तिनीहरूको न्याय गरिनेछ); मत्ती १६:२७ (हरेक मानिसलाई उसका कामहरूअनुसार प्रतिफल दिइनेछ); रोमी १२:१९ (मानिसहरूले गरेका खराबीहरूको बदला तिनीहरूलाई दिइनेछ।); प्रकाश १८:४-६, न्यायकर्ता १:७ (“मैले उनीहरूलाई जस्तो गरेको थिएँ, परमेश्वरले मलाई त्यस्तै गर्नुभएको छ।"); २ शमूएल ३:३९; भजनसङ्ग्रह २८:४; भजनसङ्ग्रह ६२:१२; भजनसङ्ग्रह ९४:१-२; हितोपदेश २२:१२; विलाप ३:६४ र यर्मिया १७:१०।

परमेश्वरलाई धन्यवाद होस्, उहाँ केवल इन्साफको परमेश्वर हुनुहुन्न तर उहाँ अनुग्रहको परमेश्वर पनि हुनुहुन्छ। इन्साफको अनुसार, पापको न्याय गरिनैपर्छ र दण्डित हुनैपर्छ। अनुग्रहको अनुसार, पापलाई क्षमा र माफ गर्न सकिन्छ (भजनसङ्ग्रह १०३:३ र एफेसी १:७)। परमेश्वर न्यायको परमेश्वर हुनुहुन्छ तर उहाँ अनुग्रहको परमेश्वर पनि हुनुहुन्छ (भजनसंग्रह १०३:८)। परमेश्वरको अनुग्रहको कारणले मात्र भजनसङ्ग्रह १०३:१० सत्य हुन सकेको हो। सुसमाचारको अचम्मको सत्यता यही हो कि आफ्नो इन्साफलाई सम्झौता नगरीकनै परमेश्वर पापी व्यक्तिहरू प्रति अनुग्रही बन्न सक्नुहुन्छ। प्रभु येशू ख्रीष्ट हाम्रा पापहरूको निम्ति मर्नुभयो -- यसरी परमेश्वरले हाम्रो पापहरू अनुसारको व्यवहार ख्रीष्टसँग गरिसक्नुभयो र परमेश्वरले ख्रीष्टलाई हाम्रा पाप-अपराधहरू अनुसारको प्रतिफल दिनुभइसक्यो (भजनसङ्ग्रह १०३:१०)! उहाँले आफ्नो न्याय र क्रोध ख्रीष्टमाथि खन्याउनुभएको हुनाले उहाँको पुत्रमाथि विश्वास गर्ने पापीलाई परमेश्वरले सित्तैंमा धर्मी ठहराउन सक्नुहुन्छ र पनि आफू धर्मी रहिरहन सक्नुहुन्छ (रोमी ३:२६; ४:५)। परमेश्वरको प्रशंसा होस्!