रोमी २:११-१५

यस पृष्ठलाई छाप्नुहोस्

रोमी २:११

“पक्षपात” -- अक्षरश: “(व्यक्तिको) अनुहारलाई ग्रहण गर्नु”। परमेश्वरले कुनै पनि व्यक्तिसित उसको “अनुहार” को आधारमा व्यवहार गर्नुहुन्न (बाहिरी भागलाई ध्यान दिनु जस्तै: राष्ट्रियता, वंश, छालाको रङ्ग, धन इत्यादी)। परमेश्वरले बाहिरी सतहमा भन्दा भित्र गहिराइमा हेर्नुहुन्छ। ग्रीक चलनमा रहेकी ‘इन्साफकी देवी’ को अगाडि न्यायको निम्ति आएको व्यक्तिलाई नदेखून् भनेर त्यस इन्साफकी देवीको आँखामा पट्टी बाँधिएको हुन्थ्यो।

न्याय सिद्धान्त #९ – परमेश्वर पक्षपात गर्नुहुन्न।

रोमी २:१२

यस पदले पद ११ को विचारलाई नै निरन्तरता दिन्छ। परमेश्वर न्याय गर्नमा पक्षपाती हुनुहुन्न। परमेश्वरले न्यायमा अन्यजातिहरूमाथि यहूदीहरू (उहाँका चुनिएका व्याक्तिहरु) को पक्ष लिनुहुन्न। दुवै यहूदी र अन्यजातीहरूको न्याय स्वच्छतापूर्ण हुनेछ।

“व्यवस्था नभए” काहरू को हुन् (रोमी २:१४)?

व्यवस्था भएकाहरू को हुन् (रोमी२:१७-२०)?

नोट: परमेश्वरले अरू राष्ट्रहरू (जस्तै मिश्र, अश्शूर इत्यादि) लाई कहिल्यै पनि व्यवस्था दिनुभएन। व्यवस्था केवल इस्राएल राष्ट्रलाई मात्र दिइएको थियो (प्रस्थान १९:३-५; २०:२; ३४:२७ पढ्नुहोस् र व्यवस्था ४:१-८ र रोमी ९:४ सित दाँज्नुहोस्)

१२ पदको पहिलो भाग अनुसार, बिना व्यवस्था पाप गरेका अन्यजाति (सृष्टिपूजक व्यक्ति)हरूलाई के हुनेछ? (“के सृष्टिपूजकहरू हराएका छन्?” भन्ने प्रश्नमा यसले प्रकाश पार्दछ।) १२ पदको अघिल्लो भागअनुसार, व्यवस्था पाएको हुँदा-हुँदै पनि पाप गरेका यहूदीहरूलाई के हुनेछ? “तर जतिले... पाप गरेका छन्” भन्ने वाक्यशैलीलाई ध्यान दिनुहोस्। कतिजनाले पाप गरेका छन् (रोमी ३:२३ र ३:९ पढ्नुहोस्)?

पावलले बताउन चाहेको कुरा यो हों:

  • व्यवस्थाको अज्ञानताले अन्यजातिहरूलाई मुक्ति दिँदैन।
  • व्यवस्थाको आधिकारीताले यहूदीहरूलाई मुक्ति दिँदैन।

धर्मी न्यायकर्ताको सामु दुवै दोषी छन्।

न्याय सिद्धान्त # १० – एउटा व्यक्तिसँग भएको प्रकाशबमोजिम उसको न्याय हुन्छ।

जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै लिइनेछ (लूका १२:४८ पढ्नुहोस्)। यहूदीहरूलाई धेरै प्रकाश दिइएको थियो। यहूदीहरूसँग परमेश्वरको व्यवस्था लिखित रूपमा थियो (१० आज्ञाहरू इत्यादी)। यहूदीको न्याय ऊसँग भएको व्यवस्थाद्वारा गरिनेछ। व्यावस्था नभएको अन्यजातिको न्याय त्यस व्यवस्थाद्वारा गरिनेछैन। ऊसँग नभएको थोकको निम्ति उसलाई जवाफदेही बनाइनेछैन। तर अन्यजातिसँग अरू नै थोक छ। उसलाई केही प्रकाश दिइएको छ र ऊसँग भएको त्यस प्रकाशबमोजिम नै उसको न्याय गरिनेछ। मोशाको व्यवस्था त अन्यजातिहरूसँग थिएन तर त्यहाँ अर्कै व्यवस्था थियो जुन तिनीहरूसँगै थियो (हामीले पद १५ मा देख्‍नेछौं)।

रोमी २:१३-१५ (उपवाक्य)

१३-१५ पदहरू कोष्ठक भित्र राखिएका (उपवाक्य) हुन्। (यसलाई बुझ्नका लागि, १२ पद पढ्नुहोस् र त्यसपछि सोझै १६ पदमा जानुहोस्)। यहाँ रहेको बनावट विपरीत समानान्तरता हो (CHIASM) र यसलाई स्पष्ट बुझ्नलाई तल हेर्नुहोस्:

A1 पद १२(क) – यहाँ अन्यजातिहरूको बारेमा बताइएको छ (जससँग व्यवस्था छैन)

A2 पद १२(ख) – यहाँ यहूदीहरूको बारेमा बताइएको छ (जससँग व्यवस्था छ)

B2 पद १३ – यहाँ यहूदीहरूको बारेमा बताइएको छ

A2 पद १४-१५ – यहाँ अन्यजातिहरूको बारेमा बताइएको छ

फिलेमोन ५ र प्रेरित २०:३२ मा पनि यस्तै किसिमको विपरीत समानान्तरता छ। तिनीहरूलाई पत्ता लगाउन सक्नुहुन्छ?

१३ पद – यस पदले यहूदीहरूको बारेमा बताउँछ जससँग व्यवस्था थियो र जसले व्यवस्था सुनेका थिए। व्यवस्था हुनु मात्र पर्याप्त छैन। व्यवस्था सुन्नु मात्र पनि पर्याप्त छैन। एउटा व्यक्तिले व्यवस्था पालन गर्नैपर्छ (मान्नै पर्छ)। पावलको तर्क एकदम सरल छ: यहूदीहरूसँग व्यवस्था थियो (स्वामित्व थियो), तिनीहरूले व्यवस्था सुने, तर व्यवस्था पालन गरेनन्, र त्यसैले, यहूदीहरू दोषी छन्।

यस वाक्यशैलीलाई ध्यान दिनुहोस्: “व्यवस्था पालन गर्नेहरू चाहिँ धर्मी ठहरिनेछन् (पद १३)”। यसको मतलब के परमेश्वरको व्यवस्था पालन गरेर कुनै व्यक्ति स्वर्ग पुग्न सक्छ भन्ने हो? तलका यथार्थहरूलाई ध्यान दिनुहोस्:

  1. रोमीको पुस्तकका अघिल्ला अध्यायहरूको उद्देश्यलाई नभुल्नुहोस्। सबै मानिसहरू (यहूदीहरू र अन्यजातिहरू समान रूपमा) परमेश्वरका सामु पतित र दोषी अवस्थामा छन् भनी पावलले देखाइरहेका छन्। सबै नै मानिसहरू दोषी छन् भनेर पावलले देखाउँदैछन्। मुक्ति पाउन एउटा व्यक्तिले के गर्नैपर्छ भनेर उनले रोमीका पछिल्ला भागहरूमा देखाउनेछन् (रोमी ३:२८; ५:१; १०:९-१३ इत्यादी)।
  2. व्यवस्था पालन गरेर एउटा व्यक्तिले मुक्ति पाएको हुँदैन भन्ने कुरालाई रोमीका पछिल्ला भागरूमा पावलले एकदम छर्लङ्ग बनाउनेछन् (रोमी ३:२० पढ्नुहोस्)
  3. “व्यवस्था पालन गर्नेहरू चाहिँ धर्मी ठहरिनेछन्” – मानौं, यो भनाई सही हो। व्यवस्था पालन गर्नेहरूले मुक्ति पाउनेछन्। सैद्धान्तिक रूपमा त यो सत्य हो तर व्यावहारिक रूपमा यो कदापि सम्भव छैन। जब मानिसहरू पवित्र न्यायकर्ताका सामु उभिनेछन्, व्यवस्था पालन गर्नेहरू सबैजना धर्मी ठहरिनेछन् र व्यवस्था भङ्ग गर्नेहरू सबैजना दोषी ठहरिनेछन्। समस्या यही हो कि व्यवस्था पालन गर्ने व्यक्ति त्यहाँ कोही पनि छैनन्, अहँ, एउटै पनि छैनन् (रोमी ३:१०-१२)
    (सैद्धान्तिक रूपमा) व्यवस्था पालन गरेर अनन्त जीवन प्राप्त गर्नु सम्भव छ। बाइबलले यसबारे के बताउँछ? बिचार गरौं:
    1. रोमी १०:५ बाट हामी जान्दछौं कि व्यवस्थामा भएका कुराहरू पालन गर्ने मानिस जिउनेछ (लेवी १८:५)।
    2. मत्ती १९:१६-१९ मा अनन्त जीवन पाउन तिमीले आज्ञाहरू पालन गर्नैपर्छ भनी प्रभु येशूले बताउनुभयो। लूका १०:२५-२८ मा पनि त्यही सन्देश छ: आज्ञाहरू पालन गर र तिमीले अनन्त जीवन पाउनेछौ।< br />
      समस्या: के पापी मानिसले परमेश्वरको पवित्र व्यवस्था पालन गर्नु सम्भव छ र? के कसैले १० आज्ञाहरू कहिल्यै पूर्ण रूपमा पालन गरेको छ? के कसैले सिद्ध रूपमा परमेश्वरलाई र उसको छिमेकीलाई प्रेम गरेको छ (मत्ती २२:३६-४०)? व्यवस्था साँच्चै पालन गर्ने व्यक्ति त्यहाँ कोही छ कि? कि बरु हामी सबै नै व्यवस्था भङ्ग गर्ने दोषीहरू हौं?
    3. गलाती ३:१०-१३। परमेश्वरको व्यवस्था पूर्ण रूपमा पालन गर्ने व्यक्ति धन्य हो। परमेश्वरको व्यवस्था सिद्ध रूपमा पालन गर्न नसक्ने व्यक्ति श्रापित र दोषी र मृत्युको योग्यको हो। सु-समाचारको शुभ-सन्देश यही हो कि ख्रीष्ट व्यवस्था भङ्ग गर्नेहरूका लागि मर्नुभयो (गलाती ३:१३) र हाम्रो श्राप आफूमाथि नै लिनुभयो।

त्यसैले पावलको तर्क यति हो: “सुन मेरा यहूदी भाइहरूहो, व्यवस्था सुनेर मात्र पुग्दैन। तिमीहरूले व्यवस्था पूर्ण रूपमा पालन गर्नैपर्छ नत्रता तिमीहरू परमेश्वरको श्राप र दण्ड मुनि छौ!” व्यवस्थाद्वारा धर्मी ठहरिन चाहनेहरूले सम्पूर्ण व्यवस्थाको पालन गर्नुपर्छ र यसलाई सिद्ध रूपमा पालन गर्नैपर्छ।

रोमी २:१४-१५

अन्यजातिहरूसँग परमेश्वरको लिखित व्यवस्था छैन। तिनीहरूसँग मोशाको व्यवस्था छैन। तर यी पदहरू अनुसार तिनीहरूसँग परमेश्वरको व्यवस्था तिनीहरूभित्रै छ, “आफ्नै हृदयहरूमा... लेखिएको देखाउँछन्”। तिनीहरूले १० आज्ञाका प्रतिलिपी कहिल्यै नदेखे तापनि हत्या गर्नु, चोरी गर्नु, झूट बोल्नु आदि गलत हो भन्ने कुरा तिनीहरूलाई थाहा छ। अनि जब तिनीहरूले यस्ता कामहरू गर्दछन् तब तिनीहरूको विवेकले नै उनीहरूलाई दोषी ठहराउँदछ। यहाँ दुई उदाहरणहरू छन्: १) प्रेरित २८:३-४। यी आदिवासीहरूले १० आज्ञाहरू कहिल्यै पनि देखेका थिएनन् तर हत्या गर्नु गलत हो र त्यसो गर्ने व्यक्ति मृत्यु दण्ड पाउन योग्य हुन्छ भन्ने कुरा तिनीहरूलाई थाहै थियो! २) यी अन्यजाति राजाले १० आज्ञाहरू कहिल्यै पनि देखेका थिएनन् तरैपनि व्यभिचार गर्नु गलत हो भन्ने तिनलाई थाहा थियो।

“दोषी” – “तिमी दोषी छौ! तिमीले जे गर्‍यौ, त्यो गलत छ!”

“निर्दोष” – “तिमी दोषी छैनौ! तिमीले जे गर्‍यौ त्यो गलत छैन!”

जब तिनीहरूले असल गर्दछन्, तिनीहरूको विवेक हर्षित हुँदछ र प्रशंसा गर्दछ। जब तिनीहरूले गलत गर्दछन्, तिनीहरूको विवेकले तिनीहरूलाई दोषी ठहराउछ र भन्दछ, “छि:!”

त्यसैले, मोशाको व्यवस्थाले आज्ञा गरेको काम गर्न असफल भएकाले यहूदीहरूले पाप गरेका ठहरियो। आफ्नो विवेकले भनेको काम गर्न असफल भएकाले अन्यजातिहरूले पाप गरेका ठहरियो। परमेश्वरले दिनुभएको प्रकाशमा जिउन दुवै यहूदी र अन्यजाति विफल भए। त्यसैले, दुवै परमेश्वरको सामु दोषी छन्।