रोमी २:१६-२९

यस पृष्ठलाई छाप्नुहोस्

रोमी २:१६

(यो वाक्य १२ पदकै अंश हो।)

“त्यो दिन” = ५ औं पद पढ्नुहोस्। यस पदले पनि यही दिनको बयान गर्दैछ।

“गुप्‍त कुराहरू” = लुकेका, छिपाएर राखिएका कुराहरू

न्याय सिद्धान्त #११ – न्यायकर्ताको नजरदेखि कुनै पनि कुराहरू लुकेका अथवा छिपाएर राखिएका हुँदैनन्

हिब्रू ४:१२-१३ र मत्ती १०:२६ सित तुलना गर्नुहोस्। प्रकाश २०:१२ बाट हामी सिक्दछौं: एक दिन पुस्तकहरू खोलिनेछन् र सबै गुप्‍त कुराहरू प्रकट गरिनेछन्। हामीले कुनै पनि समयमा सोचेका, बोलेका वा गरेका हरेक कुराको ठीक-ठीक लेखा परमेश्वरले राख्ने गर्नुहुन्छ।

“येशू ख्रीष्टद्वारा” = मानिसहरूको अन्तिम न्यायकर्ता अरू कोही हुनेछैन, केवल ख्रीष्ट स्वयं हुनुहुनेछ (यूहन्ना ५:२२,२७)। पिता परमेश्वरले सम्पूर्ण न्याय उहाँको पुत्रलाई सुम्पिनुभएको छ।

न्याय सिद्धान्त #१२ – येशू ख्रीष्ट अन्तिम न्यायकर्ता हुनुहुनेछ जसको सामुन्ने सबै मानिसहरू उभिनेछन्।

“मेरो सुसमाचार अनुसार” = सुसमाचार प्रचार गर्दा पावलले परमेश्वरको न्यायको बारेमा पनि प्रचार गर्दथे (रोमी १:१३-१८ र प्रेरित १७:३१)। परमेश्वरको न्यायको बारेमा केही नबताउने प्रचार सुसमाचारको सही प्रस्तुति होइन।

रोमी २:१७

पावलले यहूदीको सवालमा चर्चा गर्दैछन्, अर्थात् एउटा धर्मकर्म गर्ने व्यक्तिको सवालमा। रोमीको पुस्तकको अघिल्ला अध्यायहरूमा पावलको उद्देश्य थियो सबै मानिसहरू दोषी छन् र उनीहरूलाई मुक्तिदाताको खाँचो छ भनेर देखाउनु। (रोमी ३:९,१९,२३)। यस खण्डमा उनले धर्मकर्म गर्ने यहूदी दण्डको आज्ञामुनि छ भनेर देखाउन लाग्दैछन्।

टिप्पणी: धर्मकर्म गर्ने व्यक्तिहरू स्वधर्मी (आफैंलाई धर्मी ठहराउने) हुन्छन् र सामान्यतयाः तिनीहरूलाई उनीहरू परमेश्वरको सामु दोषी र अपराधी छन् भनेर देखाउनु एकदमै गाह्रो हुन्छ (तुलना गर्नुहोस् लूका ५:२९-३२; १८:९-१४)।

यी पदहरूमा चाबी शब्द = व्यवस्था (२:१७,१८,२०,२३,२५,२६,२६ पढ्नुहोस्)। यहूदीहरूको साथमा अन्यजातिहरूसित नभएको कुरा थियो, अर्थात् परमेश्वरको लिखित व्यवस्था। उनीहरूलाई दिइएको कुराका निम्ति उनीहरू जवाफदेही हुने भएकाले, यहूदीहरू यही व्यवस्थाद्वारा न्याय गरिनेछन् (रोमी २:१२)। पावलले उनीहरूलाई अगाडि नै बताएअनुसार, आफ्नो साथमा व्यवस्था भएर मात्र पुग्दैन, त्यसलाई सुनेर मात्र पुग्दैन, तर के पनि आवश्यक छ (रोमी २:१३)?

“यहूदी भनिँदछौ” = आफूहरू अब्राहामका सन्तान भएकोमा यी मानिसहरू निकै गर्व गर्थे (मत्ती ३:९; यूहन्ना ८:३३,३९ पढ्नुहोस्)। “हामी यहूदीहरू भएका हुनाले हामी अरू सबैजनाभन्दा उत्तम छौं। हामी परमेश्वरको चुनिएको वंश हौं!” कतिजना त उनीहरू यहूदी भएकोले नै स्वर्गमा निश्चय पुग्ने सोचाइ राखेका जस्तै देखिन्थे। तर परमेश्वरको वचनबाट यो स्पष्ट छ कि यहूदी हुँदैमा कुनै पनि व्यक्ति परमेश्वरको सामु धर्मी बन्दैन। बाहिरी यहूदी हुनु (शारीरिक र वंशाणुगत यहूदी हुनु) एउटा कुरा हो तर आत्मिक र भित्रबाटको साँचो यहूदी हुनु अर्कै कुरा हो (रोमी २:२८-२९ पढ्नुहोस्)।

“व्यवस्थामाथि भर पर्दछौ” = व्यवस्थामा आड लिनु, आराम लिनु, निर्धक्क भएर बस्नु। यस खण्डमा पावल उनीहरूको निर्धक्कतालाई तहसनहस पार्न चाहन्छन्! उनले तिनीहरूको मुनिबाट तिनीहरू आराम गरिरहेका शैयालाई स्वाट्ट थुत्‍न लाग्दैछन्।

“परमेश्वरमा गर्व गर्दछौ” = परमेश्वरमा गर्व गर्नु। “अरू सबै जातिरूले झूटा इश्वरहरू र मुर्तिहरूलाई पुज्दछन् तर हामी त एकमात्र सत्य परमेश्वरको उपासना गर्दछौं।”

रोमी २:१८

“उहाँको इच्छा जान्दछौ” – यहूदीहरूसँग परमेश्वरको वचन थियो र त्यसैकारण उहाँको इच्छा उनीहरूलाई थाहा थियो (लूका ८:२१ लाई मत्ती १२:५० सँग तुलना गर्नुहोस् जहाँ हामीले देख्न सक्छौं कि परमेश्वरको वचनको पालना गर्नु नै उहाँको इच्छा पालन गर्नु बराबर हो)। परमेश्वरको इच्छा जान्नु एउटा कुरा हो, तर परमेश्वरको इच्छा पूरा गर्नु विल्कुलै अर्को कुरा हो।

“उत्तम-उत्तम (श्रेष्ठ) कुराहरू मन्जुर गर्दछौ” — तिनीहरूसँग नैतिक भेदको तिखो ज्ञान थियो, के असल हो र के खराब हो, तिनीहरूले प्रस्टैसँग अन्तर छुट्याउन सक्थे। तर असल के हो भनेर जान्नु एउटा कुरा हो तर जे असल हो, त्यो गर्नु अर्को कुरा हो। टिप्पणी: विश्वासीहरूसँग पनि असल-खराब छुट्याउन सक्ने ठीक क्षमता हुनुपर्छ (फिलिप्पी १:९-१० सित तुलना गर्नुहोस्)।

“व्यवस्थाबाटको शिक्षा पाएकोले (सिकाइएकोले)” – परमेश्वरबाट प्रकट गरिएको सत्यताको सवालमा तिनीहरू कुनै हिसाबले पनि अनजान थिएनन्। तर कसैको साथमा परमेश्वरको पवित्र व्यवस्था हुँदैमा त्यसले उसलाई पवित्र बनाउँदैन! कसैको साथमा परमेश्वरको धर्मी आज्ञाहरू हुँदैमा त्सयले उसलाई धर्मी बनाउँदैन! रोमीको पुस्तकको चाबी प्रश्न यही हो: एउटा व्यक्ति पवित्र परमेश्वरका सामु कसरी धर्मी हुन सक्छ? यो व्यवस्थाको कामहरूले हुने होइन (रोमी ३:२० पढ्नुहोस्)।

रोमी २:१९-२०

“आफूमाथि भरोसा” – पावल यी मानिसहरूलाई कस्ता शब्दहरूले बयान गर्दैछन्, ध्यान दिनुहोस्: भर परिरहेकाहरू, गर्व गरिरहेकाहरू, आफैंमाथि भरोसा गरिरहेकाहरू, इत्यादी। पावलले यी मानिसहरूलाई नम्र बनाउन, तिनीहरूको विश्रामलाई तहसनहस गर्न र तिनीहरूलाई कोमल बनाउन खाँचो थियो (लूका १८:१४ सित तुलना गर्नुहोस्)। धार्मिक घमण्डलाई पूरै तोड्न एकदम गाह्रो हुन्छ। धार्मिक व्यक्तिहरूले आफैंमा विश्वास गरिरहेका हुन्छन्, ख्रीष्टमा होइन। तिनीहरूको आरामदायी अवस्था खतरापूर्ण छ।

“आफूमाथि भरोसा” – मनाइएको हुनु, निश्चिन्त हुनु। यी दुई पदहरूमा यहूदीलाई आफूलाई अरूहरूभन्दा एकदमै श्रेष्ठ ठान्ने व्यक्तिको रूपमा चित्रण गरिएको छ। आफूहरू त्यही नै भएको कुरामा उनीहरू विश्वस्त थिए (र परमेश्वरको गवाहीको रूपमा उनीहरू यस्तै नै हुनु पर्नेर्थ्यो – यशैया ४३:१०-१२ र व्यवस्था ४ अध्याय पढ्नुहोस्)।

“हामी आत्मिक कुरा देख्न सक्नेहरू हौं र अन्धाहरूहरूलाई मद्दत गर्न सक्ने हामी हौं।”
“हामीसँग ज्योति छ र अरू सबै जना अन्धकारमा छन्।”
“हामी बुद्धिमान छौं र मुर्खहरूलाई मद्दत गर्न सक्ने हामी मात्र हौं।”
“हामी आत्मिक रुपमा परिपक्व छौं र बालकहरूलाई मद्दत गर्ने सक्ने हामी हौं।”

ठूलै धक्का दिनलाई पावलले उनीहरूलाइ तयार पार्दैछन्। पावलले उनीहरूलाई तलै पछार्नेछन्।

“रूप” — यसले बाहिरपट्टीको कुरालाई जनाउँदछ (२ तिमोथी ३:५ सित तुलना गर्नुहोस्)। सतहमा उनीहरूको जीवन एकदम राम्रो देखिन्थ्यो र उनीहरूको धर्म बाहिरपट्टी उत्तम नै देखिन्थ्यो। तिनीहरूले १० आज्ञाहरू भटटट भट्ट्याउन सक्थे, शुद्ध र अशुद्ध पशु छुट्ट्याउन सक्थे, आदि इत्यादि। तर पावलले देखाउन लाग्दैछन्, रितिमा, सतहमा र बाहिरी क्रियाकलापमा सीमित धर्म यथेष्ट हुँदैन (रोमी २:२८)। यो ता वास्तविक र भित्रबाटको र “हृदयको” (रोमी २:२९) नै हुनु खाँचो छ। बाहिरबाट मात्रै धर्मी बन्दैमा एउटा व्यक्ति परमेश्वरसँग ठीक बन्दैन।

रोमी २:२१-२२

यी धार्मिक यहूदीहरूले आड लिइरहेको खम्बालाई धक्का दिएर ढालीदिन पावल अब तयार भएका छन्। यी मानिसहरूसित परमेश्वरको व्यवस्था थियो र तिनीहरूले परमेश्वरको व्यवस्था सुनेका थिए तर तिनीहरूले परमेश्वरको व्यवस्था पालन गरेका थिएनन् (पद १३) र त्यसैले परमेश्वरको व्यवस्थाद्वारा नै तिनीहरूको न्याय गरिनेछ (पद १२)। व्यवस्था पालन गर्नेहरू हुनुको सट्टा तिनीहरू व्यवस्था भङ्ग गर्नेहरू थिए (पद २३,२५)।

अरूहरूलाई सिकाउनुभन्दा पहिले हामीले आफैलाई सिकाउनुपर्छ (पद २५), विशेषगरी परमेश्वरको वचन सिकाउने सवालमा। कसैलाई सिकाउनुभन्दा पहिले वचनको सन्देश तपाईंकै हृदयमा छिरेको होस् भन्ने कुराको निश्चय गर्नुहोस्। आफूले प्रचार गरेका कुरालाई आफैले अभ्यास गर्न ती यहूदीहरू चुकेका थिए: “तिम्रो शब्दहरूको बोली भन्दा तिम्रो व्यवहारको बोली यति चर्को छ कि मैले तिम्रो कुरै खान सकिरहेको छैन!” उनीहरूको मुखको बोलीसित उनीहरूको जीवन मेल खाँदैनथ्थो। तिनीहरूले आज्ञाहरू सिकाउन त सिकाए तर ती आज्ञाहरू उनीहरू आफैंले पालन गरेनन्। मत्ती २३:१-३ मा प्रभुले बताउनुभएको धार्मिक यहूदीलाई तुलना गर्नुहोस्। के तिनीहरूका शिक्षालाई पछ्याऊ भनेर येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो? के तिनीहरूका कामहरूलाई पछ्याऊ भनेर येशूले उनीहरूलाई सिकाउनुभयो? यसलाई फिलिप्पी ४:९ मा पावलको असल नमुनासित तुलना गर्नुहोस्।

रोमी २:२३

यहूदीहरू आफूलाई परमेश्वरका उत्कृष्ट गवाही ठान्थे (पद १९ पढ्नुहोस्) तर वास्तवमा तिनीहरू कामै नलाग्ने गवाहीहरू थिए। परमेश्वरको पवित्र व्यवस्थालाई तोडेर तिनीहरूले परमेश्वरको अनादर गरे (पद २३)। यसको थप व्याख्या पद २४ मा गरिएको छ।

रोमी २:२४

“परमेश्वरको नाम” – परमेश्वरको नामले परमेश्वरको व्याक्तित्त्व र उहाँको मर्यादा (प्रतिष्ठा) लाई जनाउँछ। परमेश्वरको नामको प्रयोग कसरी गरिनुपर्छ भन्ने कुरामा यहूदीहरू एकदम होसियार थिए, विशेषगरी यहोवा वा याहवे नामको सवालमा। उनीहरूले यो नामलाई यति पवित्र मान्दथे कि यस नामको उच्चारणसम्म पनि गर्दैनथे। ‘यहोवा’को सट्टामा परमेश्वरलाई जनाउने अरू नै शब्द प्रयोग गर्ने गर्थे। तरैपनि उनीहरूको जीवन जिउने तरिकाबाट तिनीहरूले परमेश्वरको नामको अनादर गर्दैथे।

“जसरी लेखिएको छ” – पावलले यही कुरा बताउने पुरानो नियमको कुनै खण्डको बारेमा सोच्दैथिए। यी दुई खण्डहरूलाई बिचार गर्नुहोस्: १) यशैया ५२:५; २) इजकिएल ३६:२१ (पद २२-२३ पनि पढ्नुहोस्।) परमेश्वरलाई आफ्नो नाम (आफ्नो मर्यादा, आफ्नो महिमा) भन्दा अन्य कुनै पनि कुरा ठूलो हुँदैन। यहूदीहरूले बेठीक जीवन बिताउँदा अरू जातिहरूको सामु परमेश्वर पनि बेठीक देखिनुहुने समस्या थियो। अरू राष्ट्रहरूले इस्राएललाई पापी जातिको रूपमा देखे भने तिनीहरूले यहोवा परमेश्वर पवित्र हुनुहुन्छ भनी कसरी सोच्न सक्लान् र? परमेश्वरका जनहरूले सँधै नै परमेश्वरलाई प्रस्तुत गरिरहेका हुन्छन्, या त सकारात्मक रूपमा या त नकरात्मक रूपमा। गवाही भनेको त्यस्तो व्यक्ति हो जसले आफ्नो जीवनले र जिब्रोले मानिसहरूलाई परमेश्वरको बारेमा ठीकसँग सोच्न बाध्य बनाउँछ।

रोमी २:२५

“खतना” – उनीहरूको खतना गरिएको छ भन्ने कुरामा यहूदीहरू ढुक्कसाथ भरोसा गर्दैथिए। रब्बीहरू (यहूदी धर्मगुरुहरू) का प्राचीन लेखोटहरूमा “खतना गरिएको कुनै पनि व्यक्ति नष्ट हुने छैन” भन्ने कुरा लेखिएबमोजिम यहूदीहरू खतनाको महत्त्व ठूलो भएको मान्थे। पावलको समयमा, खतना गरिएको कोही पनि नरकमा नफालियोस् भन्ने उद्देश्यले अब्राहाम नरकको ढोकामै उभिरहेको हुन्छ भन्ने भनाइ समेत थियो। स्मरण होस्, खतना केवल एक बाहिरी विधि मात्र थियो, भित्रपट्टिको वास्तविकताको बाहिरी सङ्केत वा चिन्ह (रोमी ४:११) थियो। भित्रपट्टि वास्तविकता छ भने मात्र बाहिरी विधिको अर्थ हुन्छ। भित्रपट्टि वास्तविकता नभएको खण्डमा बाहिरी रीति व्यर्थको हुन्छ, त्यसबाट त्यो रीति गर्नेलाई कुनै लाभ हुँदैन।

रोमी २:२६-२७

“बेखतना”— यसले अन्यजातिहरूलाई जनाउँछ जोहरूले खतनाको बाहिरी विधि पूरा गरेका हुँदैनन्।

यदि अन्यजातिसँग भित्री वास्तविकता छ भने, ऊसँग साँच्चै एक महत्त्वपूर्ण कुरा छ। बप्तिस्माको उदाहरण: तपाईं कुनचाहिँ व्यक्ति हुन रोज्नुहुन्छ? - ख्रीष्टमाथि विश्वास गरे तापनि कारणवश बप्तिस्मा नलिएको व्यक्ति हुन कि बप्तिस्मा लिए तापनि ख्रीष्टमाथि विश्वास नगरेको व्यक्ति हुन? यदि तपाईंलाई विधि (ritual) कि वास्तविकता (reality) मा एउटा छान्नु पर्ने भयो भने वास्तविकतालाई छान्नुहोस्। निश्चय नै दुइटै गरिनु सर्वोत्तम हो। एउटा साँचो विश्वासीले ख्रीष्टको आज्ञापालन गर्न र उसले मुक्ति पाएको क्षणमा उसलाई के भयो भनी देखाउन उसले बप्तिस्मा लिनुपर्छ। हामीले भन्न खोजेको यतिमात्र हो कि बप्तिस्मा लिएको एउटा अविश्वासी हुनु भन्दा बप्तिस्मा नलिएको एउटा विश्वासी हुनु नै उत्तम हो! विवाहको औँठीबाट उदाहरण: विवाहको औँठी भनेको एउटा पतिले आफ्नी पत्नीप्रति आफू विश्वासयोग्य हुन्छु भनेर परमेश्वरको सामु व्यक्त गरेको प्रतिवद्धताको केवल एक चिन्ह मात्र हो। तपाईं कुनचाहिँ रोज्नुहुन्छ? पाँच-पाँचजना परस्त्रीको पछि लाग्ने औँठी लगाएको पति कि आफ्नी पत्नीप्रति विश्वासयोग्य व्यवहार गर्ने औँठी नलगाएको पति? वास्तविकता (विश्वासयोग्यता) बिनाको चिन्ह (औंठी) को कुनै औचित्य छैन। पावलले भन्न खोजेको यही हो, एकातिर खतना नहुँदैमा अन्यजाति दोषी ठहरिँदैन र अर्कोतिर खतना हुँदैमा यसले यहूदीलाई बचाउँदैन (गलाती ५:६ र ६:१५ पढ्नुहोस्)।

रोमी २:२८-२९

यी पदहरूमा औंल्याइएका भिन्नताहरूलाई हेर्नुहोस् (बाहिरी-भित्री, शरीर-हृदय, व्यवस्था-आत्मा, मानिसहरू-परमेश्वर)। जन्मजात यहूदी (racial Jew) हुनु एउटा कुरा हो; नयाँ जन्म पाएको यहूदी (regenerated Jew) (साँचो यहूदी) हुनु अर्को कुरा हो। मानिसको भित्रपट्टि के छ, त्यो नै महत्त्वपूर्ण कुरा हो। पावलले हामीलाई तेस्रो अध्यायको निम्ति तयार पार्दैछन् जहाँ हामीलाई हामी वास्तवमा भित्रपट्टि कस्ता छौं भन्ने कुरा देखाइनेछ (३:१०-१८ हेर्नुहोस्)। “हृदयको खतना” को सम्बन्धमा हेर्नुहोस्: व्यवस्था १०:१६; ३०:६; यर्मिया ४:४; ९:२५-२६: यर्मिया ६:१० (तिम्रो कानको खतना गर!), प्रेरित ७:५१,५७; योएल २:१३; फिलीप्पी ३:३; भजनसङ्ग्रह ५१:६।

कृपया याद गर्नुहोस्: पद २८ मा पावलले यहूदीको बारेमा (अन्यजातिको बारेमा होइन) कुरा गर्दैछन् जोचाहिँ बाहिरी यहूदी हो। उसको खतना गरिएको छ र ऊ अब्राहामको वंशको हो, तर ऊ एउटा विश्वासी होइन (उसको हृदय परमेश्वरसँग ठीक छैन)। शारिरीक र बाहिरी रूपमा ऊ यहूदी हो, तर ऊ भित्रबाटको आत्मिक यहूदी भने होइन। पद २९ मा, पावलले यहूदीको बारेमा (अन्यजातिको बारेमा होइन) कुरा गर्दैछन् जोचाहिँ भित्रबाटको यहूदी हो। अर्थात्, ऊ त्यस्तो यहूदी हो जसले अब्राहाम, इसहाक र याकूबको परमेश्वरमाथि विश्वास गर्दछ। ऊ केवल अब्राहामको सन्तान होइन, तर ऊ परमेश्वरको सन्तान पनि हो। पद २९ मा, अन्यजातिहरू भित्रबाटका यहूदी हुन् भनी पावलले भनेका होइनन्। उद्धार पाएका अन्यजातिहरू कहिल्यै पनि यहूदीहरूको रूपमा हेरिएका छैनन् र उनीहरू कहिल्यै पनि “इस्राएल” को रूपमा हेरिएका छैनन्। यस महत्त्वपूर्ण भिन्नताको विस्तृत अध्ययनका लागि अङ्ग्रजीका पाठकलाई The Use of the Term Israel in the New Testament अध्ययन गर्न सल्लाह दिइन्छ।