रोमी २:७-१०

यस पृष्ठलाई छाप्नुहोस्

न्याय सिद्धान्त #८: खराब गर्नेलाई परमेश्वरले दण्ड दिनुहुन्छ र असल गर्नेलाई इनाम दिनुहुन्छ।

यस खण्ड (पद ७-१०) को संरचनालाई प्रतीपसादृश्य (chiasm) वा विपरीत समानान्तरता (inverted parallelism) भनिन्छ जसलाई यसरी दर्शाउन सकिन्छ:

पद ७-- असल गर्नेलाई परमेश्वरले यसरी इनाम दिनुहुन्छ। (क१)

पद ८ -- खराब गर्नेलाई परमेश्वरले यसरी दण्ड दिनुहुन्छ। (ख१)

पद ९ – खराब गर्नेलाई परमेश्वरले यसरी दण्ड दिनुहुन्छ। (ख१)

पद १० – असल गर्नेलाई परमेश्वरले यसरी इनाम दिनुहुन्छ। (क१)

[प्रतीपसादृश्य (chiasm) सम्बन्धी विस्तृत जानकारी लिन चाहनुहुने अङ्ग्रेजीका पाठकलाई Englishman’s Greek को अध्ययन गर्न सुझाव दिइन्छ]

यी शब्दका परिभाषा (ग्रीकअनुसार) निम्नअनुसार छन्:

“दिनुहुनेछ” (पद ६) = फिर्ता दिनु, भुक्तानी गर्नु, प्रतिफल दिनु (जसले जे कमाएको छ उसलाई त्यही दिनु)।

“झगडालु” (contentious) = स्वार्थी, आफ्नै भलाई खोज्ने

“पहिले यहूदीमाथि” (पद ९) – किन यहूदीहरू न्यायमा “पहिले” पर्छन् त? किनभने लूका १२:४८ अनुसार, “जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै लिइनेछ”। यहूदीलाई धेरै दिइएको थियो (रोमी ३:१-२ र रोमी ९:१-५ पढ्नुहोस्)। जसलाई बढी दिइएको छ उसको दायित्व पनि बढी हुन्छ। “तिमीलाई जति प्रकाश र सत्यता प्रदान गरिएको थियो, त्यो पाएर तिमीले के गर्‍यौ त?” भनेर परमेश्वर हाम्रा न्यायकर्ताले हामीलाई सोध्नु कुनै अनुचित कुरो होइन। जस्तै, सुसमाचारको एउटै गवाही नभएको कुनै बिकट जङ्गलमा बस्ने अख्रीष्टिय आदिवासीभन्दा काठमाण्डौं शहरको एउटा बाइबलीय चर्चघरको नजिकै बस्ने अख्रीष्टियन बढी जवाफदेही हुन्छ। जङ्गलमा बस्ने उक्त व्यक्ति परमेश्वरको न्यायमा नै पर्दैन भन्ने होइन, तर जसलाई बढी अवसर दिइन्छ उसलाई परमेश्वरले उत्तिकै कडासित न्याय गर्नुहुन्छ भन्ने हो। “के येशूको बारेमा सुन्नै नपाएकाहरू नरक जानेछन् त?” भन्ने प्रश्नको बाइबलीय जवाफका लागि पाठकलाई रोमी १ अध्यायको टिप्पणी अध्ययन गर्नलाई सुझाव दिइन्छ।

ईश्वर-शास्त्रीय समस्या


पावलले यहाँ असल कामहरू गरेर अनन्त जीवन कमाइन्छ भनेर सिकाउँदैछन् कि जस्तो देखिन सक्छ। "अनन्त जीवनको अधिकारी हुन मैले के गर्नुपर्छ?" पहिलो झलकमा पावलको उत्तर यस्तो भएजस्तै देखिन्छ: "अनन्त जीवन पाउन तिमीले धैर्यताका साथ असल कामहरूमा लागिरहनुपर्छ।"(पद ७) अथवा "अनन्त जीवन पाउन तिमीले असल कर्म गर्नुपर्छ।"(पद १०)। यस ईश्वर-शास्त्रीय समस्यालाई हल गर्न निम्न बुँदाहरूलाई विचार गरौं:

  1. पवित्र शास्त्र मुताबिक, अनन्त जीवन पाउनका लागि मान्छेले के गर्नुपर्छ (यूहन्ना ३:१६; ३:३६; ६:४७; ५:२४; ११:२५-२६; प्रेरित १६:३०-३१ इत्यादि)?
  2. पवित्र शास्त्र मुताबिक, अनन्त जीवन असल काम बापत कमाइने कुरा हो कि यो विश्वासद्वारा कुनै पनि पापीले प्राप्‍त गर्ने सक्ने सित्तैंको वरदान हो (रोमी ६:२३; ५:१६-१८; एफेसी २:८-९)?
  3. रोमीको पुस्तकका अन्य खण्डमा पावलले सिकाएअनुसार कोही पनि आफ्नै असल कर्मले स्वर्ग पुग्न सक्दैन (रोमी ३:२८) तर उसले ख्रीष्ट येशूमा राखेको विश्वासद्वारा मात्र पुग्न सक्छ (रोमी ४:५)।
  4. "असल मानिस स्वर्ग जान्छन् तर खराब मानिस नरक जान्छन्" भन्ने भनाइ मानिसमा व्याप्‍त एउटा गलत अवधारणा हो। यसको तुलनामा तलका कुरालाई विचार गरौं:
    1. असल मानिस कति जना छन् (रोमी ३;१०,१२)?
    2. खराब मानिस कति जना छन् (रोमी ३:१९,२३; ५:१२)?
    3. लूका १८:९-१३ मा बयान गरिएको फरिसी धर्मकर्ममा लिप्‍त थियो, नैतिकवान् थियो, र धेरै असल कर्महरू गर्ने उसको आदत थियो। पद १४ अनुसार के यो “असल मान्छे" स्वर्गमा भेटिएला त?
    4. ख्रीष्टसँगै क्रूसमा टाँगिएको एक जना अपराधीले -- जसले पश्चात्ताप गरेको थियो -- निःसन्देह ऊ एक “खराब मान्छे" थियो, र पनि ऊ स्वर्गमा भेटिनेछ कि (लूका २३:४२-४३)?
    5. के बाइबलले भक्तिहीन मान्छेहरू धर्मी ठहराइने र बचाइने कुरा गरेको छ (रोमी ४:५; ५:६)? के कुनै पापीहरू बचाइन्छन् र स्वर्ग जान्छन् (१ तिमोथी १:१५)? अवश्य नै, स्वर्ग अनुग्रहद्वारा बचाइएका पापीहरूले भरिएको हुनेछ। यदि स्वर्गप्राप्‍तिको सवाल हामी कत्तिको असल र योग्य बन्न सक्छौं भन्ने कुरामा निर्भर भएको भए, हामी मध्ये एक जना पनि स्वर्ग जाने थिएनौं!
    1. रोमी २:७-१० को खण्ड लेख्नुमा पावलको उद्देश्य जे थियो त्यसैलाई मध्यनजरमा राखिनु आवश्यक छ। यस खण्डमा मुक्तिको विषयलाई होइन तर न्यायको विषयलाई प्रसङ्ग बनाइएको छ। मान्छेले मुक्ति कसरी पाउन सक्छ भन्ने कुरा पावलले यहाँ चर्चा गरिरहेका छैनन्; बरु मानिसहरू पतित छन् र उनीहरू पवित्र र धर्मी न्यायकर्ता परमेश्वरका सामु दोषी छन् भन्ने कुरालाई पावल यहाँ देखाइरहेका छन्। पावलले केवल न्यायसम्बन्धी यौटा आधारभूत सिद्धान्तलाई औंल्याउँदैछन्, अर्थात् परमेश्वर खराब मानिसलाई दण्ड दिनुहुन्छ र धर्मी मानिसलाई इनाम दिनुहुन्छ। तर पावलले यस खण्डमा मानिस कसरी धर्मी बन्न सक्छन् भन्ने कुराको चर्चा गर्दैनन्। उनले यसको चर्चा रोमीको पुस्तकमा अलि पछि गर्नेछन् जब उनले धर्मीकरणको अचम्मको शिक्षाको चर्चा गर्नेछन् (रोमी ३:२४; ३:२८; ४:५;५:१ इत्यादि पढ्नुहोस्)
    2. रोमी २:७-१० मा पावलले दुई समूहका मानिसहरूको बारेमा बताउँछन् र बयान गर्छन्।

    3. समूह १ समूह २
      "धीरजसँग असल काममा" लागिरहनेहरू (पद ७) जोहरू धीरजसँग असल काममा लागिरहँदैनन्
      जोहरू स्वार्थी छैनन् जोहरू "झगडालु" (स्वार्थी) छन् (पद ८)
      जोहरू सत्यता पालन गर्छन् जोहरू "सत्यता पालन गर्दैनन्" (पद ८)
      जोहरू अधर्म पालन गर्दैनन् जोहरू "अधर्म पालन गर्दछन्" (पद ८)
      जोहरू दुष्ट काम गर्दैनन् जोहरू "दुष्ट काम" गर्दछन् (पद ९)
      जोहरू "असल काम गर्ने" हरू (पद १०) जोहरू असल काम गर्दैनन्

      यसलाई यूहन्ना ५:२९ सित दाँज्नुहोस् जहाँ पनि दुई समूहको कुरा छ: १) भलो गर्नेहरू (जीवन): २) दुष्ट काम गर्नेहरू (दण्ड)

      1. यूहन्ना ३:१९-२१ ले यस ईश्वर-शास्त्रीय कठीनाइलाई सुल्झाउन निकै मद्दत गर्दछ। त्यहाँ हामीलाई बताइएको छ कि दुष्ट काम गर्नेहरू ती हुन् जसले ज्योति (येशू ख्रीष्ट) लाई घृणा गर्दछन् र जोहरू ज्योति (येशू ख्रीष्ट) कहाँ आउन इन्कार गर्दछन्। अर्को शब्दमा, दुष्ट काम गर्नेहरू चाहिँ विश्वास नगर्नेहरू हुन्। परमेश्वरको दृष्टिमा, असल काम गर्ने अथवा “सत्य काम गर्ने” व्यक्ति त्यो व्यक्ति नै हो जो ज्योति (येशु ख्रीष्ट) कहाँ आउछ
      2. ३ यूहन्ना ११ पनि महत्त्वपूर्ण छ। “जसले भलाइ गर्दछ, ऊ परमेश्वरबाटको हो (ऊ परमेश्वरको निजी हो, ऊ परमेश्वरबाट जन्मेको व्यक्ति हो, ऊ ख्रीष्टमा विश्वास गर्ने व्यक्ति हो); तर जसले खराबी गर्दछ, त्यसले परमेश्वरलाई देखेको छैन (१ यूहन्ना ३:६ दाँज्नुहोस्, दुष्ट काम गर्ने मानिस नबचाइएको व्यक्ति हो जो कहिल्यै नयाँ गरी जन्मेको छैन”। त्यसैले, माथिका हरफहरूबाट हामीले यो निष्कर्ष निकाल्न सक्छौं कि समूह १ (माथि हेर्नुहोस्) नयाँ जन्म पाएका विश्वासीहरूले बनेको समूह हो र समूह २ (माथि हेर्नुहोस्) विश्वास नगर्नेहरू र ख्रीष्टकहाँ आउन इन्कार गर्नेहरूले बनेको समूह हो।
      3. कुनै पनि व्यक्ति आफैंमा वा आफैद्वारा असल कामहरू गर्न सक्दैन (सोमी ३:१२)। हाम्रा सबै धार्मिक काम फोहोर झुत्राझैँ छन् (यशैया ६४:६)। विश्वासबाहेक र बिना विश्वास हामीले परमेश्वरलाई खुशी पार्न सक्दैनौं (हिब्रू ११:६ र रोमी ८:८)। अर्को शब्दमा भन्नुपर्दा, मुक्ति दिने अनुग्रहबिना सबका सब नै समूह २ मा पर्नेथिए (माथि हेर्नुहोस्)।
      4. जब एक जना व्यक्तिले मुक्ति पाउँदछ र नयाँ गरी जन्मन्छ, त्यहाँ एउटा उदेकको काम हुँदछ! परमेश्वरले नै उक्त बचाइएको पापीलाई असल काम गर्न सक्ने तुल्यानुहुन्छ। किनभने, अब परमेश्वर त्यस व्यक्तिभित्र जिउनुहुन्छ र त्यस व्यक्तिद्वारा आफ्नो शुभ इच्छा पुरा गर्नुहुन्छ (फिलिप्पी २:१३)। मुक्ति पाएको व्यक्तिले असल कामहरू सम्पादन गर्न सक्छ (एफेसी २:१०)। विश्वासी जनले मुक्ति पाउनको निम्ति असल काम गर्दैन तर उसले मुक्ति पाएको कारणले असल काम गर्दछ। असल कामहरू मुक्तिको प्रतिफल वा परिणाम हो तर मुक्तिको कारक चाहिँ होइन। जसरी मत्ती ७:१७-१९ ले प्रस्टै सिकाएको छ, एकातिर मुक्ति पाएको हरेक व्यक्तिले असल काम गर्नेछ भने अर्कोतिर मुक्ति नपाएको हरेक व्यक्तिले असल काम गर्न सक्दैन

      निष्कर्ष: पावलले यहाँ परमेश्वरले असललाई इनाम दिनुहुन्छ र खराबलाई दण्ड दिनुहुन्छ भन्ने न्यायको साधारण सिद्धान्तलाई प्रस्तुत गरिरहेका छन्। पावलले यहाँ मानिसको न्याय कसरी गरिन्छ भन्ने बारेमा चर्चा गर्दैछन् न कि मानिसले मुक्ति कसरी पाउँछन् भन्ने बारेमा। पावलले पछि रोमी ३ र ४ अध्यायमा दुष्ट मानिसलाई परमेश्वरले आफ्नो अनुग्रहद्वारा बचाउन सक्नुहुन्छ भन्ने खुशीको खबर घोषणा गर्नेछन्। तब हामी मुक्ति कसरी पाइन्छ भन्ने बारेमा सिक्नेछौं।