Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

रोमी ३:१-८

यस पृष्ठलाई छाप्नुहोस्

परमेश्वरको न्यायबाट उम्कने प्रयास!

परिचय

दोस्रो अध्यायमा पावलले एउटा कुरा दक्षतापूर्वक प्रमाणित गरिसकेका छन्, अर्थात् यहूदीलाई कुनै बाहना छैन र ऊ परमेश्वरको दण्डको आज्ञा र इन्साफमुनि पर्न योग्य भएको छ। अब तेस्रो अध्यायमा के पाउँछौं त? यहाँ यहूदीले आफू उम्कनलाई अन्तिम प्रयास गरेको पाउँछौं, अर्थात् उसले न्यायबाट उम्कनलाई अब तर्क वितर्क गर्दछ! हिजोआज पनि यस्तै हुने गर्छ। जब हामी कसैलाई सुसमाचार सुनाउँछौं, र निजलाई उसको पापपूर्ण अवस्था स्पष्टै देखाउँछौं र उसलाई ख्रीष्टको आवश्यकता भएको देखाउँछौं, त्यतिबेला उसले जवाफमा परमेश्वरको न्यायबाट उम्कनलाई प्रायः विभिन्न तर्क वितर्क गर्न थाल्छ (जस्तै, "येशूको बारेमा सुन्दै नसुनेकाहरूलाई के हुन्छ नि?" "परमेश्वर यदि प्रेमिलो हुनुहुन्छ भने उहाँले कसैलाई नरकमा पठाउने काम कसरी गर्न सक्‍नुहोला र?" आदि-इत्यादि)।

रोमी ३:१-८

  1. त्यसो हो भने ता यहूदीलाई के लाभ रहेछ र? वा खतनाबाट के फाइदा रहेछ र?
  2. हर प्रकारले धेरै नै; विशेष गरी यो, कि उनीहरूलाई परमेश्वरका वचनहरू सुम्पिए।
  3. यसकारण यदि कसै-कसैले विश्वास गरेनन् भने के भयो त? के उनीहरूको अविश्वासले परमेश्वरको विश्वासलाई व्यर्थको तुल्याउनेछ र?
  4. त्यस्तो नहोस्! तर परमेश्वर सत्य ठहरिऊन्, र हरेक मानिस झूट; जस्तो लेखिएको छ: 'तपाईं आफ्ना वचनहरूमा धर्मी ठहरिनुहुनेछ, र तपाईंको न्याय हुँदा विजयी बन्नुहुनेछ।'
  5. तर यदि हाम्रो अधर्मले परमेश्वरको धार्मिकतालाई प्रकट गर्छ भने हामी के भनौं त? (म मानिसको रीतिअनुसार बोल्दछु।)
  6. त्यसो नहोस्; नत्रभने कसरी परमेश्वरले संसारको न्याय गर्नुहुनेछ त?
  7. किनकि मेरो झुटको कारणले परमेश्वरको सत्यता, उहाँकै महिमाका निम्ति झन् प्रशस्त हुन्छ भने, किन अझै पनि म पापीझैं न्यायमा पर्दछु त?
  8. अनि खराब कुरा गरौं, र असल कुरा निस्कोस्' भनी हामी किन नभनौं? आखिरमा हामीलाई त्यस्तै अपमानपूर्ण दोष लगाइएकै छ, र कतिले 'यिनीहरूले भन्छन् नै' भनी ठोकुवा दिएर भनेका पनि छन्। यस्ताहरूले दण्ड पाउनु उचित हो।
रोमी ३:१

"त्यसो हो भने ता" = तसर्थ। यस शब्दले हाम्रो ध्यानलाई फेरि दोस्रो अध्यायतिर लैजान्छ जहाँ यहूदीहरू तीनओटा कुराहरूमा भरोसा गर्दैछन् भन्ने कुरा हामीलाई देखाइएको थियो:

  1. उनीहरूसँग व्यवस्था छ भन्ने कुरामा
  2. उनीहरू खतना गरिएका छन् भन्ने कुरामा
  3. उनीहरू अब्राहामका सन्तान हुन् भन्ने कुरामा

पावलले दोस्रो अध्यायमा प्रस्टै के देखाए भने -

  1. व्यवस्था साथमा हुँदैमा कुनै लाभ हुने होइन (हेर्नू: २:१३)
  2. खतना गरिँदैमा कुनै लाभ हुने होइन (हेर्नू: २:२५)
  3. अब्राहामको सन्तान हुँदैमा कुनै लाभ हुने होइन (हेर्नू: २:२८-२९)

यी कुराहरूलाई विचार गरेपछि यहूदी जनलाई प्रश्न उठ्नु स्वभाविक नै हुन्छ जुनचाहिँ रोमी ३:१ मा व्यक्ति गरिएको छ -- "त्यसो हो भने ता यहूदीलाई के लाभ रहेछ र?" आदि। के फाइदा रहेछ त? यदि हामी बाँकी संसारजस्तै दण्डको आज्ञामुनि पर्छौं भने यहूदी हुनुमा के लाभ रहेछ त? अन्यजातिहरू जस्तै हामी पनि परमेश्वरको न्यायमुनि पर्छौं भने यहूदी हुनुमा के लाभ रहेछ त? फाइदा खोई? के लाभ भयो? यदि व्यवस्था साथमा भएर, खतना गरिएर, अब्राहामको सन्तान भएर मलाई कुनै लाभ हुँदैन भने यहूदी भएर मलाई के लाभ रहेछ त?

रोमी ३:२

"हर प्रकारले धेरै नै" -- यहूदीलाई लाभहरू धेरै थिए। अन्य कुनै पनि जातिलाई नदिइएका सौभाग्यहरू यहूदी जातिलाई दिइयो। पावलले तीमध्ये कतिलाई रोमी ९:४,५ मा सूचीत गरेका छन् तर यस खण्डमा भने उनले यहूदी भएको हैसियतले हुने सबैभन्दा ठूलो र प्रमुख लाभलाई उल्लेख गर्छन्: विशेष गरी यो, कि उनीहरूलाई परमेश्वरका वचनहरू सुम्पिए!

यहूदीहरूको जिम्मामा परमेश्वरको वचन सुम्पिएको थियो। उनीहरूले परमेश्वरको वचनको भण्डारी हुने सौभाग्य पाए (हेर्नू: व्यवस्था ४:७-८ र भजनसङ्ग्रह १४७:१९-२०)।

"सुम्पिए" -- तेस्रो पदको "विश्वास" भन्ने शब्द र "सुम्पिए" भन्ने शब्द ग्रीक भाषाको एउटै क्रियापदबाट आएका हुन्। अक्षरशः यसलाई यसरी अनुवाद गर्न सकिन्छ - " उनीहरूलाई परमेश्वरका वचनहरूका साथ विश्वास गरियो" अथवा अर्को तरिकाले भन्दा, "परमेश्वरको वचन उनीहरूको विश्वासमा छोडियो।" एक पटक हामी आ-आफ्नै विषयमा विचार गरौ न: तपाईंसँग बाइबल छ भने तपाईंलाई ठूलो लाभ छ, ठूलो सौभाग्य छ र ठूलो जिम्मेवारी छ। बाइबल आफूसँग हुनु भनेको एउटा गम्भीर जिम्मेवारी हो। हामीसँग सत्यता छ भने हामी आफूसँग भएको सत्यततालाई लिएर केही न केही गर्न जिम्मेवार छौं। कतिका घरमा बाइबल छन् तर ती कहिल्यै खोलिँदैनन्, प्रयोग गरिँदैनन्। यहूदीहरूलाई परमेश्वरको वचन सुम्पिएको थियो त्यसैले उनीहरू आफूसँग भएको लिखित प्रकाशलाई विश्वास गर्न र त्यसको आज्ञा पालन गर्न जिम्मेवार थिए। के उनीहरू उक्त जिम्मेवारीमा विश्वासयोग्य भए (हेर्नू: रोमी ३:३)?

रोमी ३:३

परमेश्वर विश्वासयोग्य हुनुभएन भनेर यहूदीहरूले उहाँलाई दोष लगाइरहेका थिए भन्ने देखिन्छ: "प्रभु, तपाईंले हामीलाई आफ्नो वचन दिनुभयो र तपाईंले हामीलाई एउटा जातिको रूपमा थुप्रै प्रतिज्ञाहरू दिनुभयो, तर अब तपाईं हामीप्रति किन विश्वासयोग्य नहुनुभएको?" तिनीहरूले परमेश्वरलाई विश्वासयोग्य नभएको दोष लगाउँदै थिए: "परमेश्वरले हामीलाई चुन्नुभयो र अब आएर हामीलाई दण्डको आज्ञा पो दिनुहुन्छ!" तर वास्तवमा को विश्वासयोग्य भएको थिएन भन्ने कुरा पावलले तेस्रो पदमा देखाउँछन्!

"विश्वास" = विश्वासयोग्यता

"के उनीहरूको अविश्वासले परमेश्वरको विश्वासयोग्यतालाई व्यर्थको तुल्याउनेछ? अहँ! के मानिसमा भएको विश्वासहीनताले परमेश्वरमा भएको विश्वस्नीयतालाई खारेज गर्छ? अहँ!" परमेश्वरले उनीहरूलाई आफ्नो वचन दिनुभयो र विश्वस्नीयता कायम नराख्नेहरू त उनीहरू थिए। परमेश्वर चुक्नुभएन! बाइबल चुकेन! चुकेका त उनीहरू थिए! मोतीलाई सुङ्गुरका सामु फ्याँक्न सकिन्छ र तिनीहरूले त्यसलाई हिलो कुल्चिमिल्ची गर्ला तर ती अझ पनि मोती नै रहिरहन्छन्। त्यस्तै गरी यहूदीहरूले परमेश्वरको वचनमाथि जताततै कुल्चिमिल्ची गरे पनि परमेश्वरको वचन बदलिँदैन र तिनका प्रतिज्ञाहरू बदलिँदैनन् र उहाँको विश्वस्नीयतालाई असर पार्दैन (हेर्नू: २ तिमोथी २:१३)।

रोमी ३:४

रोमी ३:३ मा उठाइएको प्रश्‍नलाई जोडदार यसरी जवाफ दिइएको छ -- "त्यस्तो नहोस्!" पावलले यस उद्‍गारलाई रोमीको पत्रमा बारम्बार प्रयोग गर्छन् (३:३१; ६:२; ६:१५; ७:७ आदि)। यसले कडासँग हुँदैन भन्दैछ।

तेस्रो पदमा "कसै-कसैले" भन्ने शब्दलाई पनि ध्यान दिनु आवश्यक छ। "सबैले" नभएर "कसै-कसैले" विश्वास गरेनन्। सबै यहूदीहरू विश्वासघाती थिएनन्। त्यहाँ कतिजना थिए (जस्तै पावल, पत्रुस, याकूब आदि) जसले परमेश्वरको वचनका प्रतिज्ञाहरूलाई विश्वास गरे। तर त्यहाँ अरूहरू थिए जसले विश्वास गरेनन्। बहुसङ्ख्यक यहूदीहरूले येशूलाई मसीहको रूपमा विश्वास गरेनन्।

रोमी ३:४

मानिसले झूट बोल्न सक्छ तर यसले परमेश्वरलाई झूटो तुल्याउँदैन! मानिस विश्वासघाती बन्न सक्छ तर यसले परमेश्वरलाई विश्वासघाती बनाउँदैन! विश्वभरीका मानिसले विकासवादी सिद्धान्तलाई विश्वास गरे पनि त्यो सत्य बन्दैन। परमेश्वर र परमेश्वरको वचन (विशेष गरी उत्पत्ति १-२) नै सत्य रहन्छ र सबै मानिस झूटा हुन्छन्!

यस पदमा पावलले भजनसङ्ग्रह ५१:४ बाट उद्दरण गर्छन् (जहाँ दाऊदले आफ्नो व्यभिचारको पापपछि गरेको गम्भीर पश्चात्तापको प्रार्थना पढ्न सकिन्छ):

"यस कारणले कि तपाईं बोल्नुहुँदा धर्मी र न्याय गर्नुहुँदा सच्चा ठहरिनुहुन्छ।" प्रभु तपाईंले जे भन्नुहुन्छ त्यो सही हुन्छ!

"र तपाईंको न्याय हुँदा विजयी बन्नुहुनेछ" = प्रभु, तपाईं सधैं विजयी हुनुहुन्छ। तपाईंले भनेको सधैं सही हुन्छ र हरेक मुद्दा तपाईंले नै जित्नुहुनेछ!

दाऊदको पश्चात्तापको प्रार्थनाका यी पङ्क्तिहरूलाई पावलले यहाँ प्रयोग गर्नु बुद्धिमानी कुरा थियो। यहूदीहरूले दाऊदलाई जत्तिकै अरू कसैलाई उच्च आदरले हेर्ने गर्दैनथे किनकि उनी इस्राएलका ईश्वर-भक्त राजा थिए जसले धेरै भजनहरू लेखेका थिए। दाऊदले समेत विश्वासघात गरेको कुरालाई पावलले यहाँ स्मरण गराउँदैछन्! दाऊद समेत एक व्यभिचारी र हत्यारा भए! उनले बाथशेबासित व्यभिचार गरे र युद्धभूमिमा तिनकी पतिको हत्या गराए। दाऊदले आफ्नै प्रार्थनामा भन्दै थिए, "प्रभु, तपाईं ठीक हुनुहुन्छ र म बेठीक छु!" म दोषी छु र मलाई परमेश्वरको कृपा चाहिन्छ भन्ने कुरा दाऊद जान्दथे।

यदि दाऊद दोषी थिए र दण्डको आज्ञामुनि थिए भने बाँकी सबै यहूदीहरू दोषी नहुने त कुरै भएन। कुनचाहिँ यहूदीले आफू दाऊदभन्दा असल भएको दाबी गर्ने आँट गर्न सक्थ्यो र? [टिप्पणी: चौथो अध्यायमा पुगेपछि दाऊद कसरी धर्मी ठहरिन सके भन्ने कुरा पावलले बताउनेछन्!]

रोमी ३:५

यहूदीहरूले परमेश्वरलाई विश्वासघात गरेको दोष मात्र नभएर यहाँ पाँचौं पदमा अधर्म (अन्याय) को दोष पनि लाउँदै थिए। "प्रभु, तपाईंले हामीलाई इन्साफ गर्नु न्यायोचित कुरा होइन।" (के आज पनि मानिसहरू यस्तै कुरा गर्छन्?) "प्रकट गर्छ" = प्रकाशमा ल्याउनु, ठूलो बनाउनु पावलले आफ्नो प्रश्नको जवाफ फेरि आफै दिन्छन् -- "त्यसो नहोस्!" -- हेर्नू: पद ६।

यहाँ प्रस्तुत गरिएको तर्कलाई विचार गरौं: मानिसको अधर्मले परमेश्वरको धार्मिकता अझ बुझ्न मद्दत गर्छ। दाँजोमा परमेश्वरको धार्मिकता अझ राम्ररी देख्‍न सकिन्छ। तपाईंको जुत्ता फोहोर छ जस्तो लाग्दैन भने त्सलाई हिलैहिलो लागेको जुत्ताको छेउमा राखी हेर्नुहोस्! आफू स्वस्थ छु जस्तो लाग्दैन भने केही बेर अस्पतालभित्र डुलेर हेर्नुहोस्! आफू पापी छु जस्तो लाग्दैन भने परमेश्वरको पवित्रताको एक झलक लिनुहोस् (जसरी यशैयाले यशैया ६:१-५ मा पाए)। ईश्वरीय धार्मिकता मानिसको अधर्मको अँध्यारो पृष्ठभूमिको दाँजोमा अझ राम्ररी चम्किलो देखा पर्छ। परमेश्वरको विश्वासयोग्यता मानिसको अविश्वसनीयताको अँध्यारो पृष्ठभूमिको तुलनामा अझ राम्ररी चम्किलो देखा पर्छ।

अब, तर्क यसरी गरिएको छ: "यदि मैले आफ्नो अधर्मले परमेश्वरको धार्मिकतालाई ठूलो तुल्याएको छु भने, कसरी त परमेश्वरले मलाई न्याय गर्न सक्‍नुहुन्छ? यदि मेरो पापले परमेश्वरलाई अझ धर्मी देखाउँछ भने परमेश्वरले मलाई कसरी मेरो पापको खातिर दोष लाउन सक्‍नुहुन्छ? मेरो पाप त परमेश्वरको लाभ हो! मेरो अधर्मले परमेश्वरलाई लाभ हुन्छ! मेरो पापले परमेश्वरलाई राम्रो देखाउँछ! मेरो अधर्मले परमेश्वरलाई धर्मी देखाउँछ! मेरो अविश्वसनीयताले परमेश्वरलाई विश्वासयोग्य देखाउँछ! त्यसैले उहाँको धर्मी चरित्रलाई ठूलो तुल्याएर, बढाएर मैले परमेश्वरलाई वास्तवमा उहाँको भलाइ गरेको छु! त्यसैले मेरो पापले परमेश्वरलाई यति लाभ हुँदो रहेछ भने परमेश्वरले मलाई मेरो पापको खातिर कसरी न्याय गर्न सक्‍नुहुन्छ र? त्यसैले यदि परमेश्वरले मलाई उहाँलाई सेवा पुर्‍याएको बापत न्याय गर्नुहुन्छ भने उहाँ अधर्मी ठहरिनुहुनेछ!"

"म मानिसको रीतिअनुसार बोल्दछु" -- पावलले केवल अरूहरूका तर्कलाई प्रस्तुत गर्दै थिए।

रोमी ३:६

परमेश्वर संसारको न्याय गर्नेवाला हुनुहुन्छ र उहाँले सो गर्नु न्यायसङ्त कुरा हो भनी यहूदीहरू जान्दथे! तर्क यस प्रकारको छ: "यदि मैले संसारको न्याय गर्नु सही हो भने मैले तिमीहरूलाई न्याय गर्नु पनि सही हो (किनकि तिमीहरूको संसारकै हो!)"

यहूदीहरूले प्रयोग गरिरहेको खोक्रो तर्कलाई संसारले पनि प्रयोग गर्न सक्छन्। जस्तै, यूहन्ना ३:१६ लाई विचार गर्नुहोस्: "परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो..." दुष्ट मानिसहरूले यसरी भन्न सक्छन्, "हे परमेश्वर, हामीले जति पाप गर्‍यौं त्यति नै तपाईंको प्रेमको महिमा हुन्छ। तपाईंले हामीलाई किन न्याय गर्नुहुन्छ त? हाम्रो दुष्टताले तपाईंको प्रेमलाई कति राम्रो गरी देखाउँदछ!" यस्तै टेढा र भ्रष्ट विचारको शैलीमा ईश्वर-निन्दा गर्ने एउटा यस्तो ब्यानर प्रयोग समेत भेटिएको थियो: "ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो...हामी उहाँलाई निराश नपारौं!"

रोमी ३:७

त्यस्तै खालको तर्क यहाँ पनि प्रयोग गरिएको छ। "यदि मेरो झूट (विश्वासघात) ले परमेश्वरको सत्यतालाई ठूलो बनाउँछ भने र मेरो झूटले परमेश्वरको महिमा हुन्छ भने परमेश्वरले मलाई किन न्याय गर्नुहुन्छ?"

हुन त यो सत्य कुरा हो कि परमेश्वरले मानिसको दुष्टता र क्रोधलाई आफ्नो नाउँको महिमाको लागि प्रयोग गर्न सक्‍नुहुन्छ (भजनसङ्ग्रह ७६:१०)। फारोजस्तो एक दुष्ट र कठोर हृदय भएको व्यक्तिले पनि परमेश्वरलाई महिमा ल्याउन सक्छ (हेर्नू: रोमी ९:१७,१८,२१-२३)। फारोले पनि उही बाङ्गो तर्कको प्रयोग गर्दै यसरी भन्न सक्थे, "प्रभु, मेरो न्याय गर्न तपाईंलाई अधिकार छैन। मैले त तपाईंलाई सेवा पो पुर्‍याएको छु! मैले तपाईंलाई आफ्नो नाउँको महिमा गर्न मद्दत पुर्‍याएको छु! तपाईं मप्रति कति धेरै सहनशील हुनुभयो र कसरी तपाईंको सामर्थ्य प्रकट भयो भन्ने कुरा मैले गर्दा सबैले देख्‍न पाए। मैले तपाईंलाई विरोध नगरेको भए तपाईंले ती सामर्थी चिन्ह र आश्चर्यकर्महरू मिस्रदेशमा प्रकट गर्न सक्‍नुहुनेथिएन!" मानिसको पापले परमेश्वरलाई महिमा ल्याउन सक्छ तर यसको मतलब मानिस न्यायबाट बञ्चित हुन्छ भन्ने कदापि होइन।

द्रष्टव्य: परमेश्वरले आफ्नो सृष्टिमा पाप र दुष्टतालाई छिर्न किन अनुमति दिनुभयो? यस प्रश्नको जवाफ मरणशील मानिसले पूर्णरूपमा कहिल्यै पनि बुझ्न सक्‍नेछैन। एउटा कारण यो हुन सक्छ: परमेश्वर मूख्यतयाः आफूलाई चिनाउन (उहाँ कति महान् र महिमित हुनुहुन्छ भनेर प्रकट गर्न) चाहनुहुन्छ। परमेश्वरको अद्भुत चरित्रका कतिपय पक्षहरू त्यस्ता छन् जुनचाहिँ पाप नभएको अवस्थामा कहिल्यै पनि जान्न सकिने थिएन -- उहाँको कृपा, उहाँको प्रेम, उहाँको सहनशीलता, उहाँको अनुग्रह, उहाँको न्याय, इत्यादि)। जस्तै, यदि क्षमा पाउन खाँचो भएका पापीहरू नै नभएका भए परमेश्वरले आफू पापीहरूलाई क्षमा गर्नलाई कति कृपालु हुनुहुन्छ भन्ने कुरा कसरी प्रकट गर्न सक्‍नुहुन्थ्यो र?

रोमी ३:८

"खराब कुरा गरौं, र असल कुरा निस्कोस्" -- उनले यस्तो कुरा सिकाउँछन् भनेर पावललाई झूटो आरोप लगाइँदै थियो। किन? किनकि मुक्ति कुनै पनि कामबिना केवल अनुग्रहले पाइन्छ भनी पावलले सिकाउँथे। सबभन्दा दुष्ट पापीले समेत, उसले कुनै असल काम नगरीकनै, मुक्ति पाउन सक्छ भनी पावलले सिकाउँथे (हेर्नू: रोमी ३:२८; ४:१-५)। पावलको शिक्षालाई सजिलै कसरी टेढामेढा पार्न सकिन्थ्यो भन्ने कुरा हामीले बुझ्न सक्छौं -- "हामी मनखुशीले जीवन बिताऔं र दुष्ट काम गरौं किनकि मुक्ति पाइने अनुग्रहले त हो नि। हामीले जति धेरै पाप गर्छौं उति नै उहाँको अनुग्रह चम्किलो हुन्छ त। हामी झन् झन् पाप गरौं किनकि यसले उहाँको अनुग्रहलाई झन् झन् ठूलो बनाउँछ।" यो चाहिँ अनुग्रहले मुक्ति पाइन्छ भन्ने सत्य शिक्षालाई बङ्ग्याउने दुष्प्रयास थियो। वास्तवमा परमेश्वरको अनुग्रहले यसको ठीक विपरित कुरा सिकाउँछ (हेर्नू: तीतस २:११-१२)!

"खराब कुरा गरौं, र असल कुरा निस्कोस्" -- असल लक्ष्यमा पुग्‍नलाई जस्तोसुकै उपाय अपनाए पनि हुन्छ (the end justifies the means) भन्ने दुष्ट र अबाइबलीय सिद्धान्तअनुसारको विचार हो यो। पावलले यस सिद्धान्तलाई बिलकुलै दोषी ठहर्‍याउँछन्: "यस्ताहरूले दण्ड पाउनु उचित (योग्य, न्यायसङ्गत कुरा) हो"। आज यो सिद्धान्त निकै व्यापक भएको छ। केही उदाहरणहरू यहाँ उल्लेख गरौं:

  1. साम्यवाद वा कम्युनिस्ट सिद्धान्त (COMMUNISM) -- कम्युनिस्ट नैतिकताको सिङ्गो प्रणाली यही सिद्धान्तमा आधारित छ। उनीहरू खराब कामप्रति आपत्ति जनाउँदैनन् यदि असल लक्ष्यमा पुगिन्छ भने ("असल" = कम्युनिस्ट उद्देश्यको विस्तार र प्रगति)। झूट बोल्नु, ठग्‍नु, हत्या गर्नु समेत उनीहरूका लागि कुनै ठूला कुरा होइनन् यदि तीबाट कम्युनिस्ट उद्देश्य हासिल हुन्छ भने। उनीहरूको उद्देश्यलाई वाधा दिने कुरा जति "पाप" भए (सत्य बोल्नु पनि पाप हुन सक्छ यदि सो गर्दा कम्युनिजमको लक्ष्यलाई वाधा पुर्‍याउँछ भने)।
  2. शुरुका इसाईहरू -- मानौं उनीहरूले यसरी तर्क गरे रे: "म ख्रीष्टलाई इन्कार गर्छु ताकि मलाई रोमीहरूले मृत्युदण्ड नदेऊन् अनि म थप दिनहरू बाँच्न सक्‍नेछु र अरूहरूलाई प्रभुको बारेमा बताउन सक्‍नेछु!"
  3. स्कूल -- "यो जाँचमा म चोर्नेछु र मेरो पढाइ पूरा गर्न सक्‍नेछु र डिग्री पाउनेछु र अन्तमा म डाक्टर बन्न सक्‍नेछु र त्यसपछि मैले धेरैजनाको ज्यान बचाउन सक्‍नेछु!"
  4. चोरी -- "यो पैसा म चोर्नेछु र मेरो भोको परिवारलाई खुवाउन सक्‍नेछु ताकि उनीहरू नमरून्।" ख्रीष्टियन तरिका: "प्रभु, तपाईंको दृष्टिमा जे खराब छ त्यो मैले गर्नु हुन्न र मैले दस आज्ञा उल्लङ्घन गर्नु हुन्न। म चोर्नलाई इन्कार गर्छु किनकि तपाईंले भन्नुभएको छ, "तिमीले चोरी गर्नेछैनौ।" कसरी हुन्छ मेरो भोको परिवारको खाँचो पूरा गरियोस् भनी म तपाईंमाथि भरोसा गर्नेछु र म आफैले गर्न सक्‍ने जुनसुकै पनि न्यायसङ्गत उपाय म अपनाउनेछु।")
  5. सुसमाचार प्रचार -- "जसरी हुन्छ, आत्माहरू जित्‍नुपर्छ!" "म ख्रीष्टका शत्रुहरूसँग समेत मिलेर काम गर्नेछु र उनीहरूले मेरा क्रुसेडहरूलाई स्पन्सर गरिदिनेछन्, तब मैले धेरैलाई सुसमाचार प्रचार गर्न पाउनेछु!" [यो इभान्जेलिकल एकतावाद (evangelical ecumenism) को भूल हो। हेर्नू: पोपसित हातेमालो] "संसारलाई ख्रीष्टमा ल्याउनलाई हामी संसारजस्तै हुनुपर्छ र मध्यम मार्ग अपनाएर आफ्ना मापदण्ड (standards) हरूलाई सम्झौता गर्नुपर्छ।" होइन, हामीले हराएकाहरूको मुक्तिका लागि आफ्नै प्राणहरू वलिदान दिन समेत तयार हुनुपर्छ, तर हामीले परमेश्वरको आज्ञालाई तोड्ने जस्तो मूल्य चुकाउने काम कहिल्यै गर्नहुँदैन। हाम्रो सिद्धान्त यस्तो हुनुपर्छ: "परमेश्वरप्रति विश्वासयोग्य बनौं र उहाँको वचन मान्न जस्तोसुकै मूल्य चुकाउन पनि तयार हौं"। २ तिमोथी २:५ मा हामीलाई स्मरण गराइएको छ -- हामीले परमेश्वरकै तरिकाले होडबाजी गर्नुपर्छ र उहाँकै नियमावलीको पुस्तक (बाइबल) लाई पछ्याउनैपर्छ! लक्ष्य हासिल गर्नलाई अपनाइने तरिका कस्तो छ भन्ने कुरा परमेश्वरलाई ज्यादै महत्त्वपूर्ण लाग्छ र हामीलाई पनि महत्त्वपूर्ण लाग्‍नुपर्ने हो!
याद राख्‍नुहोस्:

ठीक गर्छु भनेर बेठीक गर्नु कहिल्यै ठीक होइन!

हाम्रो मनोभाव सधैं यस्तो हुनुपर्छ: "प्रभु, जतिसुकै साह्रो वा गाह्रो परे तापनि म सही कुरा गर्नलाई नै रोज्नेछु अनि बाँकी परिणाम तपाईंकै हातमा छ भन्दै तपाईंमा भरोसा गर्नेछु। तपाईंले सबै कुरा ठीक ठाक मिलाउनुहुनेछ।" केवल ठीक मात्र गर्नुहोस् र बाँकी परिणामको लागि परमेश्वरमाथि भरोसा गर्नुहोस्!!!


पृष्ठ संशोधन मिति: Thursday 26-Mar-15
WordofTruth.com.np © 2017