रोमी ३:२४-२६

यस पृष्ठलाई छाप्नुहोस्

रोमी ३:२४

"धर्मी ठहरिन्छन्" = धर्मी भनेर घोषित हुन्छन् (यो एक कानुनी शब्दावली हो)। प्रायः "धर्मी ठहरिनु" लाई "कहिल्यै पाप नगरेझैं ठहरिनु" भनेर परिभाषित गरिन्छ तर यसको माने योभन्दा बढी छ। परमेश्वरले मलाई मैले कहिल्यै पाप नगरेझैं देख्नुहुने मात्र नभई मैले सधैं सिद्ध रूपमा धर्मी जीवन बिताएझैं देख्‍नु पनि हो, मेरो जन्म भएदेखि नमरेसम्म मैले आफ्‍नो सारा हृदयले, प्राणले, मनले र बलले उहाँलाई प्रेम गरेझैं र आफ्‍नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गरेझैं परमेश्वरले मलाई देख्‍नु हो। परमेश्वरले मलाई कसरी यसरी देख्न सक्नुहुन्छ? यसकारणले कि परमेश्वरले मलाई उहाँको सिद्ध पुत्रको सिद्ध धार्मिकताले पहिराइएको देख्‍नुहुन्छ र जसरी उहाँ धर्मी हुनुहुन्छ उसरी नै मलाई देख्‍नुहुन्छ (हेर्नुहोस् १ यूहन्ना ३:७)। हो, आफैमा त हामी धर्मी छैनौं (रोमी ३:१० आदि), तर जब हामी ख्रीष्टमाथि विश्वस गर्दछौं तब परमेश्वरले येशू ख्रीष्टको सिद्ध धार्मिकतालाई हाम्रो हिसाबमा राखिदिनुहुन्छ (हेर्नुहोस् रोमी ४:३-५ र उत्पत्ति १५:६ सित तुलना गर्नुहोस्)। अनि त्यस घडीबाट परमेश्वरले मलाई उहाँको धर्मी पुत्रमा देख्‍नुहुन्छ (२ कोरिन्थी ५:२१ सित दाँज्नुहोस्, "उहाँमा" भन्ने शब्दलाई ध्यान दिनुहोस्)।

"धर्मी ठहरिनु" को माने "धर्मी बनाउनु" होइन। हेर्नुहोस रोमी ३:४ मा (कुनै पनि व्यक्तिले परमेश्वरलाई धर्मी बनाउन सक्दैन, उसले केवल उहाँ धर्मी हुनुहुन्छ भनेर भन्न सक्छ र उहाँ धर्मी भएको कुरालाई घोषणा गर्न सक्छ)। पुरानो नियमले "दुष्टलाई निर्दोष ठहर्‍याउने" काम कहिल्यै गर्नु हुँदैन भनेर भन्दछ (हेर्नुहोस् हितोपदेश १७:१५)। अर्को शब्दमा भन्नुपर्दा, एकजना अपराधीलाई "तिमी दोषी छैनौ, तिमी निर्दोष छौ!" भनेर कहिल्यै नभन। त्यसो गरियो भने निजलाई धर्मी बनाइँदैन (ऊ त जस्ताको तस्तै अपराधी नै छ) तर निजलाई (गलत तवरले) धर्मी वा निर्दोष भनेर घोषणा गरिन्छ। डाक्टर अल्भा जे. मक्लेनले धर्मीकरणलाई यसरी व्याख्या गर्नुभएको छ:

धर्मी ठहराउनुको माने धर्मी भएझैं घोषित गर्नु र व्यवहार गर्नु हो। माफ गरिनुभन्दा अत्यन्तै बढी हो; क्षमाभन्दा हजारौं गुणा बढी हो। तपाईंले मलाई गलती गर्नुभयो, मानो, र तपाईं मकहाँ आउनुभयो; अनि मैले यसरी भन्न सक्छु, "म तपाईंलाई क्षमा गर्छु।" तर मैले तपाईंलाई धर्मी ठहराएको छैन। मैले तपाईंलाई धर्मी ठहराउन सक्दिनँ। तर जब परमेश्वरले जब एक मानिसलाई धर्मी ठहराउनुहुन्छ, उहाँ भन्नुहुन्छ, "म तिमीलाई एक धर्मी व्यक्ति भनेर घोषित गर्छु। अबदेखि उसो म तिमीलाई तिमीले कुनै पनि पाप नगरेको झैं व्यवहार गर्नेछु।" धर्मीकरणको माने पाप सबै बिगतमा राखियो, सबै हटाइयो - मेटियो - केवल क्षमा गरियो मात्र होइन, माफ गरियो मात्र होइन; यसको माने यो हो कि अपराधहरूको अभिलेखलाई पूरै साफ गरिनु र पापीलाई एक धर्मी मानिसको रूपमा खडा गरिनु, मानो उसले कहिल्यै पाप नगरेझैं, ऊ स्वयम् प्रभु येशू ख्रीष्ट जत्तिकै धर्मी भएझैं ठान्नु (Romans: The Gospel of God's Grace, p. 107)।

हो, परमेश्वरले हामीलाई ख्रीष्टजत्तिकै धर्मी देख्‍नुहुन्छ। यसैले हो १ यूहन्ना ३:७ मा विश्वासीलाई "ऊ धर्मी हो, जसरी उहाँ पनि धर्मी हुनुहुन्छ" भनिएको छ। हामी आफैमा त हामीले पाप गरेका छौं र परमेश्वरको धर्मी मानदण्डको नापभन्दा घटी छौं (रोमी ३:२३)। तर ख्रीष्टमा हामी घटी हुन्नौं बरु हामी सिद्ध रूपमा परमेश्वरले माग गर्नुभएको सम्पूर्ण कुराको नाप बराबर हुन्छौं!

"सित्तैंमा" = अक्षरशः "वरदानको रूपमा" (यही ग्रीक शब्द "डोरेआन्" लाई प्रकाश २२:१७ मा प्रयोग गरिएको छ)। यसलाई "बिनाकारण अर्थात् कुनै कुरा दिइन हामीमा कुनै कारण नभईकन हामीलाई दिइनु" (William Newell, Revelation - A Complete Commentary, p. 366) भनेर परिभाषित गर्न सकिन्छ)। यही शब्द यूहन्ना १५:२५ मा पनि पाइन्छ जहाँ येशूले भन्नुभयो, "तिनीहरूले मलाई बिनाकारण घृणा गरे।" तिनीहरूको घृणाको पात्र बनिन त्यस योग्यको एउटै काम ख्रीष्टले गर्नुभएन (पाउनै नपर्ने घृणा)। त्यसरी नै, म एक विश्वास गर्ने पापी पनि, सित्तैंमा धर्मी ठहराइएँ, "बिनाकारण" (पाउनै नपर्ने धार्मिकता)। परमेश्वरको धार्मिकता पाउनलाई मैले एउटै काम गरिनँ। परमेश्वरले मलाई सित्तैंमा धर्मी ठहराउनुभयो नकि मैले गरेको कुनै कामले (ठिक जसरी तिनीहरूले ख्रीष्टलाई घृणा गरे तर उहाँले गरेको कुनै कामले गर्दा होइन)। "अनि जो तिर्खाउँछ, ऊ आओस्। अनि जसले चाहन्छ, उसले सित्तैंमा जीवनको पानी लेओस्" (प्रकाश २२:१७)।

"उहाँको अनुग्रहद्वारा" = अनुग्रहको माने "पाउनै नपर्ने दया, अनर्जित निगाह।" यहाँ हामी अनुग्रहको दुईटा बाइबलीय परिभाषाहरू पाउँछौं:

  1. एफेसी २:७ - "ख्रीष्ट येशूमा हामीतर्फ भएको उहाँको दयाद्वारा पछि आउने युगहरूमा उहाँको अनुग्रहको अपार धन देखाउनका निम्ति।"

    येशू ख्रीष्टको कारणले, परमेश्वर तिनीहरूप्रति दयालु बन्न सक्नुहुन्छ जोहरू कुनै पनि दया पाउनलाई योग्य छैनन्। हामी पापमा मरेका थियौं र परमेश्वरको क्रोध पाउन योग्य थियौं भनेर एफेसी २:१-३ ले सिकाउँछ, तरैपनि परमेश्वरले, ख्रीष्टको कारण, हामीहरू जस्ता प्रति दयालु बन्न सक्नुहुन्छ जोहरू केवल उहाँको क्रोध मात्र पाउन योग्य थियौं। अनुग्रहको माने परमेश्वरबाटको पाउनै नपर्ने दया हो!
  2. तीतस ३:४ - "तर जब हाम्रा मुक्तिदाता परमेश्वरका दया र मानिसप्रतिको प्रेम प्रकट भए।"

    मुक्तिदाताको कारण, परमेश्वर मानिसप्रति आफ्‍नो प्रेम र दया प्रकट गर्न सक्नुहुन्छ, त्यस मानिसप्रति समेत जो तीतस ३:३ मा वर्णित छ (मूर्ख, अनाज्ञाकारी, भ्रममा परेको, तरह-तरहका अभिलाषा र सुखविलासहरूको कमारा, द्वेष र डाहामा जीवन बिताउने, घृणित र एकअर्कालाई घृणा गर्ने)। यो मानिस परमेश्वरको क्रोध बाहेक कुनै कुरा पाउन योग्य छैन, तरैपनि ख्रीष्टको कारण उसले परमेश्वरको दया र प्रेमलाई जान्न सक्दछ। "अचम्मको अनुग्रहले, बाँच्यो तुच्छ प्राण मेरो!"

यसरी, परमेश्वरको अनुग्रह भनेको मानिसप्रतिको उहाँको त्यस्तो दया र प्रेम हो जसको एक छेउ पाउन पनि ऊ योग्य छैन!

"परमेश्वरको अनुग्रह" = जुन कुरा परमेश्वरले हामीलाई दिनुहुन्छ यद्यपि हामी त्यो पाउन योग्य छैनौं! परमेश्वरले तपाईंलाई दिनुहुने केही त्यस्ता कुराहरू के हुन् जो पाउन तपाईं योग्य नै हुनुहुन्न? (क्षमा, अनन्त जीवन, स्वर्ग, आदि)

"परमेश्वरको कृपा" ‍‍= जुन कुरा परमेश्वरले हामीलाई दिनुहुन्न यद्यपि हामी त्यो पाउन योग्य छौं! परमेश्वरले तपाईंलाई नदिनुहुने केही त्यस्ता कुराहरू के हुन् जो पाउन तपाईं योग्य हुनुहुन्छ? (उहाँको क्रोध, उहाँको न्याय, अनन्त दण्ड, अग्‍नि-कुण्ड, आदि)।

"छुटकारा" = यो महत्त्वपूर्ण शब्दावलीको माने "दाम तिरीकन बचाइनु वा स्वतन्त्र पारिनु" हो। प्रभु येशूले आफ्‍नो रगत बहाउनुभई कलवरी क्रूसमा मर्नुहुँदा त्यो दाम तिर्नुभयो (हेर्नुहोस् १ पत्रुस १:१८-१९)। हाम्रो मुक्ति सित्तैंमा पाइने मुक्ति हो (दाँज्नुहोस् रोमी ३:२४ मा, "सित्तैंमा") तर यो कुनै हालतले पनि सस्तो छैन! दाम तिरिनुपरेको थियो! परमेश्वरको न्याय पूरा गरिनैपर्छ। पापको पूर्ण दाम तिरिनैपर्छ। तब मात्र परमेश्वर हामीप्रति अनुग्रही बन्न स्वतन्त्र हुनुहुन्छ।

रोमी ३:२५

"उहाँलाई" -- यसले "ख्रीष्ट येशू" लाई जनाउँदछ (२४ पदको अघिल्लो भागमा उल्लेखित)। भर्खरै छुटकाराको उल्लेख गरियो (पद २४) र छुटकाराले सधैं हामीलाई ख्रीष्टले क्रूसमा गर्नुभएको कार्यलाई सम्झना गराउनुपर्छ जुन कुरा नै पद २५ को विषय हो।

"ठहराउनुभयो" -- सार्वजनिक रूपमा प्रकट गर्नुभयो। ख्रीष्टको मृत्यु गोप्य घटना थिएन; मानिस र स्वर्गदूतहरू यसको सार्वजनिक साक्षी थिए।

"प्रायश्चित" -- ख्रीष्टको क्रूसको कार्यलाई बयान गर्ने एउटा चाबी शब्दावली यो हो। यसले हाम्रो मुक्तिको परमेश्वरमुखी पक्षलाई विशेष जोड दिन्छ। [छुटकारा - पापको दासत्वबाट (पापमुखी); मिलाप - मानिस परमेश्वरको शत्रु हुन छोड्छ (मानिसमुखी); प्रायश्चित - परमेश्वर सन्तुष्ट हुनुभयो (परमेश्वरमुखी)] हेर्नुहोस् १ यूहन्ना ४:१०। "प्रायश्चित" भन्ने शब्द पुरानो नियममा प्रयोग भएको छ, र त्यहाँ यसलाई "कृपा आसन" भनेर अनुवाद गरिएको छ। कृपा आसन चाहिँ भेट हुने पालको महापवित्रस्थानमा अवस्थित करारको सन्दुकलाई ढाक्ने ढकन थियो। उक्त ढकन निखुर सुनको थियो (प्रस्थान २५:१७) र त्यसका दुई छेउतिर पखेटा भएका करुब वा स्वर्गदूतको आकार निकालिएको थियो (प्रस्थान २५:१८)। सन्दुकभित्र परमेश्वरको व्यवस्था अर्थात् दस आज्ञा राखिएको थियो (प्रस्थान २५:२१)। रोमी ७:१२ मा व्यवस्थालाई पवित्र, न्यायपूर्ण र असल भनेर बयान गरिएको छ। कुनै पनि पापी मानिसलाई परमेश्वरको व्यवस्थालाई सिद्ध रूपमा पालन गर्नु के सम्भव छ (गलाती ३:१०; रोमी ३:२०; याकूब २:१०)? कदापि सम्भव छैन। तसर्थ सन्दुकभित्रबाट व्यवस्थाले ठूलो स्वरमा यस्तो सन्देश दिइरहेको हुन्थ्यो:

"व्यवस्था भङ्ग गर्दाको एउटा दण्ड छ अनि यो दण्ड पूरा हुनैपर्छ! हरेक व्यवस्था भङ्ग गर्ने व्यक्ति मर्नैपर्छ (प्रस्थान २१:१२-१७); रोमी १:३२; ६:२३)! पूर्णरूपमा दण्ड पूरा नभएसम्म परमेश्वरको न्याय सन्तुष्ट हुनेछैन!"

पापलाई दण्ड नदिएसम्म र पापको दण्ड पूर्णरूपमा पूरा नभएसम्म परमेश्वर कहिल्यै सन्तुष्ट हुन सक्नुहुन्न। येशू जब क्रूसमा मर्नुभयो त्यतिखेर मानिसको पापलाई दण्ड दिइयो र पापको दण्ड पूर्णरूपमा तिरियो (यूहन्ना १९:३०; १ यूहन्ना २:२)।

हरेक वर्षको एक पटक प्रायश्चितको दिनमा महापूजाहारी पशु बलिको रगत लिएर महापवित्रस्थानभित्र प्रवेश गर्दथ्यो र कृपा आसनमाथि रगत छर्कन्थ्यो (लेवी १६:१४-१५; हिब्रू ९:३-७)। कृपा आसनमाथिको रगतले ख्रीष्टको क्रूसको कार्यको पूर्व-छायाँ थियो अनि त्यसले यो सन्देश बोकेको हुन्थ्यो:

"दण्ड पूर्णरूपमा तिरिएको छ! एक प्रतिस्थापकको मृत्यु भएको छ र न्यायका सबै मागहरू पूरा भएका छन्! व्यवस्था भङ्ग गर्ने दोषीलाई न्याय गर्नुको सट्टा परमेश्वर अब ऊप्रति कृपालु हुन स्वतन्त्र हुनुहुन्छ!"

येशूले क्रूसमा सम्पन्न गर्नुभएको कार्यसित परमेश्वर पूर्णरूपमा सन्तुष्ट र खुसी हुनुहुन्छ। तपाईं नि? विश्वासले भन्छ, "परमेश्वर सन्तुष्ट हुनुहुन्छ र म पनि सन्तुष्ट छु (रोमी ३:२५) -- यथेष्ट येशू मर्नुभो, मेरो लागि मर्नुभो!"

परमेश्वरको पवित्रता र न्याय सन्तुष्ट पारिएका छन् त्यसैले परमेश्वर हामीसित उहाँको अनुग्रहमा (रोमी ३:२४) व्यवहार गर्न स्वतन्त्र हुनुहुन्छ। तसर्थ हामी अनुग्रहको सिंहासन नजिक साहससित आउन सक्छौं नकि डरसित न्याय र क्रोधको सिंहासन नजिक (हिब्रू ४:१६; १०:१९-२२)! क्रूसमा सम्पन्न भएको कार्यको लागि परमेश्वरलाई प्रशंसा होस्!

"उहाँको रगतमा गरिएको विश्वासद्वारा" -- "रगत" ले क्रूसमा उहाँले सम्पन्न गर्नुभएको कार्यलाई जनाउँदछ। ख्रीष्टले गर्नुभएको कार्यलाई व्यक्तिगत रूपमा लिइनुपर्छ र विश्वासद्वारा व्यक्तिगत बनाइनुपर्छ नत्र भने त्यसले कुनै फाइदा दिँदैन। यसको उदाहरण प्रस्थान १२:७ मा पाइन्छ। निस्तार चाडको पाठोलाई मारेर मात्र पुग्दैनथ्यो। रगतलाई व्यक्तिगत रूपमा ढोकाको चौकोसमा लगाइनुपर्थ्यो अनि मात्र उक्त घरको परिवार परमेश्वरको दण्डबाट उम्कन सक्थ्यो जुन दण्ड हरेक घरमाथि आइरहेथ्यो जहाँ रगत लगाइएको थिएन। विश्वासद्वारा के तपाईंले आफ्‍नै निम्ति त्यो कुरा दाबी गर्नुभयो जुन कुरा प्रभु येशू ख्रीष्टले क्रूसमा पूरा गर्नुभयो? के तपाईंले त्यसलाई आफ्‍नै बनाउनुभयो? कसरी ख्रीष्टको क्रूसको कार्य व्यक्तिगत रूपमा अपनाइनुपर्छ भन्ने कुराको अर्को उदाहरण यूहन्ना ६:५३-५४ मा भेटिन्छ। खाने र पिउने कुराको विचार गर्नुहोस्। खानेकुरा र पिउने कुराले तिनलाई व्यक्तिगत रूपमा अपनाइए मात्र र शरीरमा ग्रहण गरिए मात्र भौतिक जीवन प्रदान गर्न सक्छन्। मानो आफ्‍नो अगाडि नानाथरीका व्यञ्जन छन् र ती कति पौष्टिक छन् भनेर विश्वास गरिँदैमा तपाईंलाई कुनै फाइदा हुँदैन! तपाईंले त्यसलाई खानुपर्छ र उक्त भोजनलाई आफ्‍नै बनाउनुपर्छ!

रोमी ३:२५

"आफ्‍नो धार्मिकता प्रकट गर्नका निम्ति" -- क्रूसमा परमेश्वरले आफ्‍नो धार्मिकता प्रकट गर्नुभयो र आफ्‍नो चरित्रलाई पुष्टि गर्नुभयो। "एक पवित्र परमेश्वरले पापलाई कसरी दण्डहीन छोड्न सक्नुहुन्छ?" पाप दण्डहीन छोडिन्न भनेर क्रूसले प्रमाणित गर्‍यो! पापको सवालमा आफू तटस्थ रहनुहुन्न भन्ने कुराको परमेश्वरले प्रमाण दिनुभयो। पापलाई परमेश्वरले केही गरेर छाड््नुहुन्छ, उहाँले त्यससित भयङ्कर कठोरतापूर्वक व्यवहार गर्नुहुन्छ।

"योचाहिँ परमेश्वरको सहनशीलतामा पहिले गरिएका पापहरूको क्षमाका विषयमा आफ्‍नो धार्मिकता प्रकट गर्नका निम्ति हो" -- पवित्र र धर्मी परमेश्वरले हजारौं वर्षसम्म (आदमदेखि क्रूसको समयसम्म) पापलाई सहनुभयो र दण्डहीन छोड्नुभयो। क्रूसअघि पुरानो नियमका विश्वसीहरू "उधारोमा" (तिनीहरूले ऐतिहासिक रूपमा त्यसबेलासम्म जुन कुरा सम्पन्न भइसकेको थिएन त्यसबाटका केही उपलब्धिहरू प्राप्‍त गरे यद्यपि उनीहरूको पापहरूको निम्ति तिर्ने काम भइसकेको थिएन) स्वर्गलोक पुग्थे; जसरी हामीले कुनै कुरा उधारोमा किन्यौं भने किनिएको मालको उपभोग गर्न सक्छौं यद्यपि त्यसको लागि हामी तिरिसकेका हुँदैनौं)। परमेश्वरको धार्मिकता क्रूसमा प्रकट भयो यस हिसाबले कि परमेश्वरले मानिसले गरेको (वा गर्नेवाला) एक-एक पापलाई न्याय गर्नुभयो र दण्ड दिनुभयो। क्रूस नै सम्पूर्ण इतिहासको केन्द्रीय बिन्दु र मुख्य बिन्दु हो। पुरानो नियमका विश्वासीहरू परमेश्वरले एक दिन जे गर्नुहुनेवाला थियो त्यसको प्रतीक्षामा जिए; आजका विश्वासीहरू भने ख्रीष्टले जे गरिसक्नुभयो त्यसलाई फर्केर हेर्न सक्छन्।

रोमी ३:२६

सुसमाचारमा मात्र समाधान हुन सक्ने परमेश्वरको सामु खडा भएको विशाल समस्या चाहिँ यो थियो: परमेश्वरले आफ्‍नो न्याय (धार्मिकता) लाई सम्झौता नगरीकन एक भक्तिहीन, दुष्ट, पापी व्यक्तिलाई कसरी धर्मी ठहराउन सक्नुहुन्छ? पापलाई न्याय गर्नु परमेश्वरका निम्ति न्यायसङ्गत कुरा हो, तर पापीलाई धर्मी ठहराउनु उहाँको निम्ति कसरी न्यायसङ्गत कुरा हुन सक्नुहुन्छ? यो समस्या केवल ख्रीष्टको क्रूसमा र ख्रीष्टको प्रतिस्थापनकारी मृत्युमा मात्र समाधान हुन सक्यो। क्रूसमा परमेश्वरले यस्तो योजना रच्नुभयो जसद्वारा उहाँले आफ्‍नो धर्मी र पवित्र चरित्रलाई कुनै पनि हिसाबले सम्झौता नगरीकन पापीलाई धर्मी ठहराउन सक्नुहुन्छ। आजका धेरै उदारवादीहरू मानिसको पापलाई आँखा चिम्लेर वा त्यसलाई बिर्सिदिएर, आदि, परमेश्वरको चरित्रलाई सम्झौता गराउन चाहन्छन्। परमेश्वरले कहिल्यै त्यसो गर्न सक्नुहुन्न। पापलाई न्याय नगरिएसम्म परमेश्वर कहिल्यै सन्तुष्ट हुन सक्नुहुन्न।

परमेश्वरबाटको धर्मीकरण सबै मानिसका लागि उपलब्ध गराइएको भए तापनि परमेश्वरले केवल "येशूमा विश्वास गर्नेलाई" मात्र धर्मी ठहराउनुहुन्छ भन्ने कुरालाई यस पदमा ख्याल गर्नुहोस्। धर्मीकरणको परमेश्वरको अनुग्रहपूर्ण वरदान सबैलाई प्रदान गरिएको छ, तर त्यसलाई व्यक्तिगत रूपमा विश्वासद्वारा ग्रहण गरिनुपर्छ (हेर्नुहोस् रोमी ५:१७)।

रोमी ३:२७

मुक्ति र धर्मीकरणको सम्बन्धमा घमन्ड गर्ने कुनै ठाउँ छैन किनकि सब गर्नुहुने परमेश्वर हुनुहुन्छ! योजना उहाँकै हो, मुक्ति उहाँकै, रगत बहाइएको उहाँकै थियो र हामी केवल एक महान् मुक्तिदातामा मात्र घमन्ड गर्न सक्छौं, कुनै हिसाबले पनि हामी को हौं र हामीले के गर्‍यौं भन्ने कुरामा होइन। हामी उहाँको योग्यता (उहाँ जो हुनुहुन्छ भन्ने कुरा) ले, उहाँको काम (उहाँले जे गरिदिनुभयो भन्ने कुरा) ले र उहाँको वचन (उहाँले जे भन्नुभएको छ भन्ने कुरा) ले बचाइन्छौं अनि उहाँलाई नै सब श्रेय जान्छ! हेर्नुहोस् एफेसी २:८-९; तीतस ३:५; १ कोरिन्थी १:२९-३१। यदि मुक्ति कामहरूबाट हुँदो हो त मानिसले घमन्ड गर्न सक्नेथ्यो (रोमी ४:२; एफेसी २:९), तर त्यसो होइन!

कामहरूको व्यवस्थाले भन्दछ, "गर र तिमी बाँच्नेछौ!" तर तपाईंले सिद्धरूपमा गर्नुपर्छ र व्यवस्थालाई पूरै पालन गर्नुपर्छ किनकि परमेश्वरले सिद्धताको माग गर्नुहुन्छ अनि त्यसमा कुनै घटी भेटिनुहुन्न।

विश्वासको व्यवस्थाले भन्दछ, "विश्वास गर र तिमी बाँच्नेछौं!" (यूहन्ना ६:४७; ५:२४; आदि)। ख्रीष्टले क्रूसमा गर्नुभएको सिद्ध काममाथि विश्वास गर्नुहोस्!

रोमी ३:२८

यहाँ पावल निष्कर्षमा आइपुग्छन्। धर्मीकरण हुने विश्वासद्वारा हो, कामहरूद्वारा होइन। रोमन क्याथोलिक धार्मिक प्रणालीले सिकाएको कामहरूद्वारा धर्मीकरणको विरुद्धमा "विश्वासद्वारा धर्मीकरण" नै मार्टिन लुथर र अरु प्रचारकहरूको ठूलो नारा थियो।

"निष्कर्ष" = रोमी ६:११ र ८:१८ मा पाइने "ठान्नु" भनेर अनुदित शब्द (यसको माने एक व्यक्तिले सत्य-तथ्यको आधारमा हिसाब गर्नु र एउटा ठन्डा र ठोस निष्कर्षमा आइपुग्‍नु जसलाई दृढतापूर्वक विश्वास गरिनुपर्छ)।

"कामहरूबिना" = पूर्णरूपमा कामरहित (दाँज्नुहोस् हिब्रू ४:१५ "पापरहित"; रोमी ३:२१ आदि)। पावलको निष्कर्ष सतहमा हेर्दा याकूब २:२४ सित बाझेको जस्तो देखिन्छ --"अब ता तिमीहरूले, विश्वासद्वारा मात्र होइन, तर कामहरूद्वारा मानिस धर्मी ठहरिन्छ भन्ने कुरा देख्यौ।" यो सतही अन्तर्विरोध समाधान हुन्छ जब हामी बुझ्छौं कि याकूब र पावलले मानिसको मुक्तिलाई दुई भिन्न दृष्टिकोणहरूबाट हेर्दैथिए।

पावल र याकूबका शिक्षा आपसमा बाझेका छैनन् बरु एउटाचाहिँ अर्कोको परिपूरक हुन्। दुवैले लेखेका कुरा परमेश्वरको प्रेरणाद्वारा दिइएका हुन् (२ तिमोथी ३:१६)। मुक्ति नपाएको व्यक्ति कसरी परमेश्वरसित ठिक सम्बन्धमा आउन सक्छ भन्ने कुरा बताउनु पावलको उद्देश्य रहेको छ भने मुक्ति पाइसकेको व्यक्तिले आफ्‍नो विश्वास वास्तविक भएको कुरा कसरी प्रकट गर्न सक्दछ भन्ने कुरा बताउनु याकूबको उद्देश्य रहेको छ।

रोमी ३:२९-३०

परमेश्वरको महिमित सुसमाचार कुनै एक जातिमा सीमित राखिएको छैन। परमेश्वरले सबै मानिसहरूलाई सृष्टि गर्नुभएको हो र परमेश्वर सबै मानिसका निम्ति मर्नुभएको हो, त्यसैले सुसमाचारको सन्देश सबै मानिसलाई प्रदान गरिन्छ। यो कुरा रोमी १०:१२ मा सिकाइएको छ -- "किनकि यहूदी र ग्रीकमा कुनै भिन्नता छैन; किनकि उहाँ, जो सबका प्रभु हुनुहुन्छ, आफूलाई पुकार्ने सबैका निम्ति धनवान् हुनुहुन्छ।" परमेश्वरको सुसमाचार यहूदीहरूका लागि मात्र होइन; यो "हरेक" (रोमी १०:१३) का निम्ति हो।

"खतना भएकाहरू" = यहूदीहरू

"खतना नभएकाहरू" = अन्यजातिहरू

पावलले रोमीको अघिल्ला अध्यायहरूमा यहूदी लगायत अन्यजातिहरू दुवै पापमा हराएका छन् र परमेश्वरको दण्डाज्ञामुनि छन् (रोमी ३:१०) भन्ने कुरा निपुणतापूर्वक प्रमाणित गरिसके। यो थियो अशुभ-समाचार! अब पावलले यो शुभ-समाचार बताउँछन् कि सबै मानिसहरूलाई, दुवै यहूदी र अन्यजातिलाई, धर्मीकरण प्रदान गरिएको छ। अनि दुवै समूहकाहरूले एउटै तरिकामा मात्र त्यो प्राप्‍त गर्न सक्छन्: विश्वासद्वारा! मूल प्रश्न तपाईं यहूदी हुनुहुन्छ कि अन्यजाति भन्ने होइन। मूल प्रश्न चाहिँ तपाईं धर्मी ठहरिनुभएको छ कि छैन भन्ने हो (तपाईं क्रूसीकृत र पुनरुत्थित् प्रभुमा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ कि हुनुहुन्छ भन्ने हो)।

रोमी ३:३१

"व्यर्थको तुल्याउँछौं" -- प्रभावहीन तुल्याउँछौं, रद्द गर्नु

"त्यस्तो नहोस्!" -- यो कहिल्यै नहोस्, यस्तो विचार नष्ट होस्!

"तर" -- बरु

व्यवस्था तब स्थिर पारिन्छ जब त्यसले आफ्‍नो उद्देश्य पूरा गर्दछ (हेर्नुहोस् रोमी ३:२०)। कति कुराहरू छन् जो व्यवस्थाले गर्न सक्छ (रोमी ३:२०; ७:७-१४) र कति कुराहरू छन् जो व्यवस्थाले गर्न सक्दैन (रोमी ८:३; गलाती २:१६; रोमी ३:२० आदि)।

बाइबलीय इसाईमत न व्यवस्थावादी हुन्छ न ता व्यवस्थाहीन नै। व्यवस्थावादले व्यवस्थालाई स्थिर पार्दैन तर बरु रद्द गरिदिन्छ। अनुग्रहद्वारा मुक्ति पाइने कुरा (साँचो सुसमाचार) ले व्यवस्थालाई स्थिर पार्दछ।

"तब के हामी विश्वासद्वारा व्यवस्थालाई व्यर्थको तुल्याउँछौं त?" के हामी व्यवस्थालाई निष्कामको बनाउँछौं (व्यवस्थालाई निष्क्रिय तुल्याउँछौं, कामरहित बनाउँछौं)? के व्यवस्थाको कुनै काम नै छैन? के हामीले व्यवस्थालाई निष्क्रियतामा पुर्‍यायौं? होइन! कदापि होइन! व्यवस्था र सुसमाचारका भिन्न भिन्नै काम छन्। दुवैका आ-आफ्‍नै काम छन्। समस्या त्यसबेला आउँछ जुनबेला व्यवस्थालाई सुसमाचारको काम (मुक्ति दिनु) सुम्पन्छौं वा जुनबेला सुसमाचारलाई व्यवस्थाको काम (दोषी ठहराउनु) सुम्पन्छौं। हेर्नुहोस् गलाती ३:१७ जहाँ व्यवस्थाले सुसमाचारलाई निष्कामको बनाउन सक्दैन भन्ने कुरा सिकाइएको छ (हेर्नुहोस् गलाती ३:१९ -- व्यवस्थाको आफ्‍नो छुट्टै काम छ)। व्यवस्थाको काम "क्रोध उत्पन्न गर्नु" हो (रोमी ४:१५)। यी दुईलाई कहिल्यै नमिसाउनुहोस् नत्र भने दुवैलाई बिगारिन्छ! सुसमाचारले परमेश्वरको पवित्रताका धर्मी मानदण्डहरू ("व्यवस्था") लाई कहिल्यै पन्यालो पार्दैन। अर्कोतिर, व्यवस्थावाद (legalism) ले व्यवस्थालाई स्थिर पार्दैन बरु त्यसलाई अपमानित तुल्याउँछ। व्यवस्थावादले व्यवस्थालाई यस्तो तहमा ल्याउँछ जसलाई मान्छेले (मानो) पालन गर्न सक्छ।

व्यवस्था स्थिर पारिन्छ जब तिनका दण्डहरूलाई मजबूत पारिन्छ। प्रभु येशू ख्रीष्टले व्यवस्थाको दण्डलाई भोगेर व्यवस्थालाई स्थिर पार्नुभयो।

परमेश्वरको व्यवस्थाले हामीलाई परमेश्वरको बलि हुनुहुने थुमाकहाँ डोर्‍याएको होस्!