Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

रोमी ४:१-१२

यस पृष्ठलाई छाप्नुहोस्

परिचय

रोमीको चौथो अध्यायका चाबी शब्द हुन् "विश्वास गर्नु" र "विश्वास"। यी चाबी शब्दहरू रोमी ४ अध्यायको ३,५,११,१२,१४,१६,१८,१९,२० र २४ मा भेटिन्छन्। धर्मीकरण विश्वासद्वारा हो, कामद्वारा होइन। यो हामी कसरी जान्दछौं? पुरानो नियमले यो प्रमाणित गर्दछ (अब्राहम र दाऊदको उदाहरणबाट यो देख्न सकिन्छ)!

रोमी ४:१

अब्राहाम कसरी धर्मी ठहरिए? उनले कसरी मुक्ति पाए? अब्राहामले परमेश्वरको धार्मिकता कसरी पाए? उनको सवालमा कुन कुरा साँचो थियो? अब्राहामले के पाए? अब्राहामले कुन कुरा पत्ता लगाए? व्यक्तिगत प्रश्न: के तपाईंले परमेश्वरको धार्मिकतालाई पत्ता लगाउनुभयो? के तपाईंले परमेश्वरको मुक्तिको उपाय पत्ता लगाउनुभयो? खेदको कुरा, धेरैजसो मानिसहरूले यस कुराको पत्ता लगाएकै छैनन्।

रोमी ४:२

तर्क पेश गर्ने हेतुले एकछिन पावल एउटा कुरालाई मानिलिन्छन् जुन सत्य छैन। "मानौं अब्राहाम कामहरूद्वारा धर्मी ठहरिएका थिए। यो साँचो हो भने उनले घमन्ड गर्न सक्थे।" साँचो मुक्तिको सवालमा घमन्ड (धाक, श्रेय लिनु, आफूलाई प्रशंसा गर्नु, घमन्ड साथ बोल्नु, समर्थन गर्नु, आदि) लाई कुनै ठाउँ छैन भन्ने कुरालाई देख्‍न रोमी ३:२७ र एफेसी २:८-९ मा हेर्नुहोस्। परमेश्वरलाई एउटै खाले घमन्ड मात्र स्वीकारयोग्य छ: प्रभुमा गरिने घमन्ड (१ कोरिन्थी १:२९,३१), अर्थात्, उहाँले गर्नुभएको कामको लागि सारा श्रेय र प्रशंसा परमेश्वरलाई दिनु (हाम्रा मुक्तिदाताको सम्बन्धमा घमन्ड गर्नु!)।

कुनै पापी मानिसले परमेश्वरको सामु कहिल्यै घमन्ड गर्नेछैन भन्ने कुरा छर्लङ्ग छ (१ कोरिन्थी १:२९ हेर्नुहोस् र रोमी ४:२ का अन्तिम चार शब्दहरूलाई पनि), तसर्थ अब्राहाम कामहरूद्वारा धर्मी ठहरिएको हुन सक्दैन भन्ने कुरा प्रस्ट हुन्छ।

टिप्पणी: कोही आफैंमा घमन्ड गर्दैछ वा प्रभुमा गर्दैछ भनेर हामी कसरी जान्न सक्छौं? कोही आफैंमा भरोसा गर्दैछ कि ख्रीष्टमा भनेर हामी कसरी भन्न सक्छौं? कहिलेकाहिँ यस्तो प्रश्नले त्यो प्रकट गरिदिन सक्छ: "तपाईं भययोग्य, पवित्र र जीवित परमेश्वरका सामु उभिनुभएको भए र उहाँले तपाईंलाई, 'मेरो पवित्र उपस्थितिमा हुन तिम्रो के अधिकार छ?' भनेर सोध्नुभएको भए तपाईंले के जवाफ दिनुहुनेथ्यो?" जवाफ राम्ररी सुन्नुहोस् र निजले आफैंमाथि भरोसा गर्दैछन् कि येशू ख्रीष्टमाथि भनेर जान्न खोज्नुहोस्। कुनै व्यक्ति येशू ख्रीष्ट बाहेक कुनै कुरामा विश्वास नगर्ने साँचो विश्वासी हो कि होइन भनेर पत्ता लगाउन "के म साँचो विश्वासी हुँ?" भन्ने अध्ययनलाई हेर्नुहोस्।

रोमी ४:३

अब्राहामले कसरी मुक्ति पाए (धर्मी ठहरिए) -- कामहरूद्वारा कि विश्वासद्वारा? यो निर्णायक प्रश्न हो। संसारका सबै धर्म (साथै विभिन्न कल्ट र वादहरू) ले कुनै न कुनै किसिमको कामहरूद्वारा पाइने मुक्तिको प्रचार गर्छन् -- मुक्ति पाउन र परमेश्वरको निगाह आर्जन गर्नलाई मानिसले केही काम गर्नुपर्छ र मानिसले केही मागहरू पूरा गर्नुपर्छ। परमेश्वरको मुक्तिको मार्ग बिलकुलै फरक छ। मानिस परमेश्वरका धर्मी मागहरू पूरा गर्न पूर्णतया विफल भएको छ (रोमी १-३) तर परमेश्वरले ख्रीष्टद्वारा पापी मानिसलाई मुक्ति पाउन र धर्मी ठहरिन सम्भव तुल्याउनुभएको छ।

यस पदले बाइबल नै विश्वास र अभ्यासको एकमात्र अधिकार हो भन्ने कुरा सिकाउँछ। जीवनका सबभन्दा महत्त्वपूर्ण प्रश्नहरूको जवाफ बाइबलले दिन्छ, केवल बाइबलले मात्र। "पवित्र शास्त्रले के भन्दछ?" "बाइबलले के भन्दछ?" यो एउटै कुराको मात्र मतलब छ। पोप वा पूजाहारी वा पास्टर वा प्रधानमन्त्रीले के भन्दछ, त्यसको मतलब छैन। परमेश्वरले के भन्नुहुन्छ भन्ने कुराको मात्र मतलब हुन्छ!

एक व्यक्तिले कसरी मुक्ति पाउँछ भन्ने कुरा देखाउन पावलले किन अब्राहामलाई मुख्य उदाहरणको रूपमा लिएका हुन्? अब्राहामलाई संसारभरि करोडौंले उच्च आदरका साथ लिन्छन्। यहूदीहरूले उनलाई आफ्‍नो जातिको ठूलो पूर्वजको रूपमा हेर्छन्, यहूदी जातिकै पिताको रूपमा। मुस्लिमहरूले पनि उनलाई उत्तिकै आदरभावले हेर्छन् किनकि अब्राहामबाटै इश्माएल आए जो अरबीहरूका पिता हुन्। सम्भवतः हामीले यस तथ्यलाई यहूदी र मुस्लिमलाई सुसमाचार सुनाउने माध्यमको रूपमा लिन सक्छौं। "अब्राहाम कसरी एक धर्मी व्यक्ति ठहरिए भनेर के तपाईंलाई कसैले बताएको छ?"

अब्राहाम कसरी धर्मी ठहरिए? बाइबलले यसको जवाफ प्रस्टै दिन्छ। पावलले उत्पत्ति १५:६ लाई उद्दृत गर्दछन्। उक्त पदले अब्राहाम विश्वासद्वारा धर्मी ठहरिएका हुन् भनेर स्पष्टै सिकाउँछ। "उनले परमेश्वरमाथि विश्वास गरे" अनि त्यसरी नै हो उनी धर्मी ठहरिएका। उक्त पदले कामहरूका बारेमा एउटै कुरा गर्दैन! आज मानिसले कसरी मुक्ति पाउँछ? हेर्नुहोस् एफेसी २::८-९ (ठिक जसरी अब्राहामले मुक्ति पाए त्यसरी नै!)। सबै समयका सबै मानिसहरूले एउटै तरिकाले मात्र मुक्ति पाएका छन्: "विश्वासद्वारा अनुग्रहले"। तरैपनि, विश्वास गरिनुपर्ने कुरा सधैं एकैनास रहेको छैन। जस्तै, मुक्ति पाउनलाई अब्राहामले विश्वास गर्नुपरेको कुरा के थियो (हेर्नुहोस् उत्पत्ति १५:५ र उत्पत्ति १२:१-३ सित दाँज्नुहोस्)? मुक्ति पाउन आज मानिसहरूले विश्वास गर्नुपर्ने कुरा के हो (हेर्नुहोस् गलाती २:२०; रोमी १०:९; १ कोरिन्थी १५:१-४; आदि)?

मुक्ति पाउनलाई के गर्नुपर्छ? -- के गर्नुपर्छ भन्ने कुरा सबै समयहरूमा एकैनास रहँदै आएको छ। परमेश्वरलाई विश्वास गर्नुपर्छ र उहाँलाई उहाँको मुखको वचनकै आधारमा मानिलिनुपर्छ। विश्वासयोग्य परमेश्वरमाथि भरोसा राख्‍नुपर्छ। मुक्ति विश्वासद्वारा हो। मुक्ति सधैं र सदा येशू ख्रीष्टको बहाइएको रगतमा आधारित कुरा हो।

मुक्ति पाउनलाई के विश्वास गर्नुपर्छ? -- के विश्वास गर्नुपर्छ भन्ने कुरा सबै समयहरूमा एकैनास रहँदै आएको छैन किनकि परमेश्वरले प्रत्येक पुस्तालाई उत्तिकै प्रकाश दिनुभएको छैन। प्रत्येक व्यक्ति परमेश्वरले उसलाई दिनुभएको प्रकाशको निम्ति जिम्मेवार छ। जसलाई धेरै दिइएको छ उसबाट धेरै माग गरिन्छ।

रोमी ४:३ अनुसार परमेश्वरले अब्राहामको विश्वासलाई धार्मिकता गन्नुभयो। अब्राहामको विश्वास अब्राहामलाई धार्मिकता गनियो। धर्मीकरणको माने यही नै हो। बैङ्क खाताको उदाहरणलाई विचार गरौं। तपाईं आफैंबाट तपाईंको बैङ्क खातामा कत्तिको धार्मिकता छ (रोमी ३:१०)? येशू ख्रीष्टमा विश्वास गर्ने व्यक्तिको हैसियतले तपाईंको बैङ्क खातामा के छ (हेर्नुहोस् रोमी ३:२२)? परमेश्वरले मेरो बैङ्क खातामा आफ्‍नो धार्मिकता हालिदिनुभयो!

बहीखाताको एक पृष्ठलाई विचार गर्नुहोस्। उक्त पृष्ठमा सिद्ध धार्मिकता भेटिनुपर्छ भन्ने परमेश्वरले माग राख्‍नुहुन्छ। तर आफ्‍नो पृष्ठलाई हेर्दा मेरो आफ्‍नो कुनै धार्मिकता नभएको म महसुस गर्दछु (रोमी ३:१०; यशैया ६४:६)। तर सुसमाचारको सत्यताले गहिरोसँग प्रभावित भएर मेरो पृष्ठमा मैले यी शब्दहरू लेख्न पुग्छु: "म आफ्‍नो सारा हृदयले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दछु। उहाँ मेरो लागि मर्नुभयो र फेरि बौरेर उठ्नुभयो।" मैले आफ्‍नो खातामा लेखेको कुरालाई परमेश्वरले लिनुहुन्छ र भन्नुहुन्छ, "यो कुरालाई म धार्मिकता गन्दछु।" अनि केवल यस आधारमा मात्र म धर्मी ठहरिन सक्छु।

के तपाईंले कहिल्यै २ कोरिन्थी ५:२१ कति उदेकलाग्दो पद छ भनेर विचार गर्नुभएको छ? उहाँले मेरो पाप लिनुहुनुभयो र मैले उहाँको धार्मिकता पाएँ! कस्तो अद्भूत् सट्टापट्टा!

रोमी ४:४

यस पदले त्यो व्यक्तिको बयान गर्छ जसले काम गर्छ। यसपछिको पद (पद ५) ले काम नगर्ने व्यक्ति (विश्वासी जन) को बयान गर्दछ। जसले काम गर्दछ (पद४) उसले आफ्‍नो कामको बापत इनामको अपेक्षा गर्दछ। उसका कामहरूले उसलाई मुक्ति आर्जन गर्न र परमेश्वरसित निगाह कमाउन सक्छ भन्ने उसको विश्वास छ। यी पदबीचका भिन्नतालाई ध्यान दिनुहोस्:

परमेश्वरले यदि हामीले पाउनुपर्ने कुरा दिनुभएको खण्डमा त्यो के हुनेथ्यो (रोमी ६:२३; रोमी १:२९-३२ आदि)? हामीलाई मुक्ति दिन परमेश्वरलाई कर छैन तर उहाँले आफ्‍नो अनुग्रहले ख्रीष्टद्वारा हामीलाई मुक्ति दिनुहुन्छ। आफ्‍ना कामहरूद्वारा पापी मानिसले केवल दण्ड र अनन्त मृत्यु मात्र कमाएको छ।

रोमी ४:५

आज धेरैजसोको विचारमा मुक्ति पाउने उपाय भनेको "असल बन्नु" हो। उनीहरू यही विश्वास गर्छन् र सिकाउँछन् कि मुक्ति असल बनेर आर्जन गरिन्छ ("असल" को मानदण्ड उनीहरूले जस्तोसुकै स्थापना गरेको किन नहोस्)। रोमी ४:५ ले यो सिकाउँछ कि मुक्ति पाउने उपाय असल बनेर होइनविश्वास गरेर हो। असलको सिद्ध, ईश्वरीय मानदण्डको नाप बराबर हामी कोही पनि हुन सक्दैनौं।

"प्रभु, म असल छैन। म ठिक छैन। म पवित्र छैन। म धर्मी छैन। म एक दोषी, असहाय र आशारहित पापी हुँ। मेरो एउटै मात्र आशा भनेको एक अनुग्रही र कृपालु परमेश्वरकहाँ आउनु हो। म तपाईंको पुत्र प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दछु जसले आफ्‍नो रगत मेरो निम्ति बहाउनुभयो र मेरो पापको दण्ड पूरै तिरिदिनुभयो। मलाई बचाउनलाई र म हुनुपर्ने किसिमको व्यक्ति बन्नलाई म तपाईंमाथि भरोसा गर्दैछु। म असल बन्न सक्छु केवल तपाईंको बचाउने अनुग्रहले मात्र!"

"जसले काम गर्दैन" -- जब एक व्यक्तिले काम गरिरहेको हुँदैन, उसले आराम लिइरहेको हुन्छ! मुक्ति (धर्मीकरण) भनेको काम गर्ने कुरो होइन, तर अर्कैले गरेको काममाथि आराम लिनु हो अर्थात् क्रूसमा ख्रीष्टले पूरा गर्नुभएको काम -- यूहन्ना १९:३०)। विश्वासीको ख्रीष्टमाथीको विश्वास धार्मिकता गनिन्छ (अब्राहामको सवालमा जस्तै गरी, पद ३)।

धेरैजनाले मुक्ति पाउँदैनन् किनकि तिनीहरूले आफूलाई भक्तिहीन भएको देख्दैनन् अनि आफूलाई मुक्तिको खाँचो छ भन्ने कुरा देख्न सक्दैनन्। हामीले आफूलाई परमेश्वरले देख्‍नुभए जस्तै देख्‍नु आवश्यक छ। तपाईंलाई रोमी ५:६ मा परमेश्वरले कसरी बयान गर्नुभएको छ? रोमी ५:८ मा? रोमी ५:१० मा?

तसर्थ रोमी ४:४-५ मा काम गर्ने र काम नगर्नेहरू (विश्वासीहरू) का बीच ठूलो भिन्नता छ। यी दुई समूहको बीच स्वर्ग र नरककै भिन्नता छ। संसारका सबै धर्मकर्म गर्ने व्यक्तिहरू (कल्ट र वादहरू समेत) लाई "गर" भन्ने शब्दले बयान गर्न सकिन्छ। उनीहरूका धर्मकर्मको सार नै यही शब्द हो। उनीहरू परमेश्वरका सामु स्वीकारयोग्य बन्नलाई यो अनि त्यो गर्न खोजिरहेका छन्। बाइबलीय इसाईमत (मुक्तिको ईश्वरीय उपाय) लाई भने "गरिसक्नुभयो!" भन्ने शब्दले बयान गर्न सकिन्छ। "म मेरो प्राण येशू ख्रीष्टले जे गरिसक्नुभयो त्यसमाथि पूरै भरोसा राख्छु!" कुनचाहिँ शब्दले तपाईंलाई ठिकसँग बयान गर्दछ? के तपाईं "गर" पट्टी हुनुहुन्छ कि "गरिसक्नुभयो" पट्टी? के तपाईं अनेक कुरा गर्नमा व्यस्त हुनुहुन्छ कि येशू ख्रीष्टले गरिसक्नुभएको काममाथि भरोसा गर्दै हुनुहुन्छ?

>रोमी ४:६ -- तीन महान् गणनाहरू
यहाँ 'गणना' भन्नाले एक व्यक्तिका निम्ति ठान्नु, ठहर्‍याउनु, उसको खातामा राखिदिनु भन्ने अर्थमा कुरा गर्दैछौं। बाइबलले तीन महान् गणनाहरूलाई उल्लेख गरेको छ:

तीन महान् गणनाहरू:

  1. आदमको पाप सम्पूर्ण मानव जातिको खातामा गनियो (रोमी ५:१२)। "आदमको पाप, हामी सबैको पाप!" साथै हेर्नुहोस् रोमी ५:१८-१९। परमेश्वरले पूरै संसारलाई दोषी देख्‍नुहुन्छ।
  2. मानव जातिको पाप येशू ख्रीष्टको खातामा गनियो जब उहाँ क्रूसमा मर्नुभयो (२ कोरिन्थी ५:२१)। उहाँ "हाम्रा निम्ति पाप बनाइनुभयो।" सारा संसारका पापहरू येशू ख्रीष्टमाथि राखियो जो परमेश्वरका थुमा हुनुहुन्थ्यो (यूहन्ना १:२९ र १ यूहन्ना २:२)। परमेश्वरले यो देख्‍नुहुन्छ कि मुक्ति सबैको लागि उपलब्ध गराइएको छ।
  3. परमेश्वरको धार्मिकता पापीको खातामा गनिन्छ जसले येशू ख्रीष्टमाथि विश्वास गर्दछ (रोमी ४:६ र साथै हेर्नुहोस् २ कोरिन्थी ५:२१; रोमी ३:२२ र रोमी ४:५)। परमेश्वरले विश्वासीलाई येशू ख्रीष्टमा पूर्णरूपमा धर्मी देख्‍नुहुन्छ। ख्रीष्टले क्रूसमा उसको निम्ति जे पूरा गर्नुभएको थियो त्यसबाट कुनै उपलब्धि हुँदैन जब सम्म एक पापीले उहाँमाथि विश्वास गर्दैन।

पहिलो दुईटाचाहिँ तथ्यहरू हुन्। तेस्रोचाहिँ विश्वासद्वारा अनुभवमा साँचो बन्दछ (हेर्नुहोस् रोमी ५:१७)।

रोमी ४:६-८ दाऊदको उदाहरण

दाऊद मोशीय भण्डारीपन (व्यवस्थाको प्रबन्ध) अन्तर्गत जिउँदथे। उनले मुक्ति कसरी पाए? परमेश्वरको व्यवस्था पालन गरेर हो त? होइन! भन्नुपर्दा त दाऊद एक व्यवस्था भङ्ग गर्ने व्यक्ति थिए (२ शमूएल ११ -- एक व्यभिचारी)। जसरी अब्राहामले मुक्ति पाए उसरी नै दाऊदले मुक्ति पाए अनि आज पनि उही तरिकामा मानिसहरूले मुक्ति पाउँदछन्: विश्वासद्वारा अनुग्रहले (एफेसी २:८-९)। यी पदहरूले अब्राहाम जसरी धर्मी ठहरिएका थिए उसरी नै दाऊद पनि धर्मी ठहरिएका थिए (परमेश्वरको धार्मिकता उनको खातामा गनियो) भन्ने कुरा देखाउँछन्। दाऊद "कामहरूबिना" (पद ६) धर्मी ठहरिएका थिए। ठिक यिनै शब्दहरू ("कामहरूबिना") रोमी ३:२८ मा पनि पाइन्छन्।

‌पावल फेरि आफ्‍नो भनाइलाई प्रमाणित गर्न पवित्र शास्त्रलाई आधार बनाउँछन्। उनले दाऊदकै भजन ३२:१-२ बाट उद्दृत गर्छन्। धर्मीकरणको उदेकको शिक्षाभित्र क्षमादानको सुन्दर सत्यता पनि समावेश छ भन्ने कुरालाई यहाँ ध्यान दिनुहोस्। पाप-क्षमालाई यहाँ तीन तरिकाले बयान गरिएको छ:

  1. अधर्म (बाङ्गोपना, गलतपना) क्षमा गरिएको छ।
  2. पापहरू (जो धेरै हुन्छन् र ठूला हुन्छन्) ढाकिएका छन्।
  3. पाप (जसको म साँच्ची नै दोषी छु) कहिल्यै मेरो खातामा गनिनेछैन ("कदापि" गनिनेछैन भनेर व्यक्ति गर्नलाई यहाँ ग्रीक भाषाको दोब्बर नकारात्मक (double negative) जनाउने शब्दहरू प्रयोग भएका छन्)।

धन्य (सुखी) भन्ने शब्दमा यहाँ जोड दिइएको कुरालाई ध्यान दिनुहोस्। हेर्नुहोस् रोमी ४:६,७,८,९। सुखको वास्तविक चाबी धन-सम्पत्ति वा सफलता वा ख्याति वा बौद्धिक प्राप्‍ति वा शक्ति वा मान्छेले जोडसाथ खोजी गर्ने त्यस्तो कुनै कुरा होइन। साँच्ची नै सुखी वा खुसी व्यक्ति त्यो हो जसले येशू ख्रीष्टमाथिको विश्वासद्वारा यो जान्दछ कि उसका पापहरू पूरै ढाकिएका छन् र क्षमा भएका छन्। आफू र आफ्‍नो सृष्टिकर्ताको बीच सबकुरा ठिक-ठाक छ भनेर उसले जान्दछ।

के तपाईंले परमेश्वरबाटको पाप-क्षमाको पूर्णता र उदेकतालाई कहिल्यै गहिरिएर विचार गर्नुभएको छ जुनचाहिँ ख्रीष्टको क्रूसको कारणले गर्दा मात्र सम्भव भएको छ? निम्न खण्डहरूलाई विचार गर्नुहोस्:

  1. मीका ७:१९ -- मेरा पापहरू सदाका लागि गए! तिनीहरू कहिल्यै सतहमा उठेर आउनेछैनन्!
  2. यर्मिया ५०:२० -- मेरा पापहरू भेटिनेछैनन्!
  3. भजनसङ्ग्रह १०३:१०-१२ -- परमेश्वरले मेरा पापहरू मबाट कति टाढा पुर्‍याइदिनुभएको छ त? (टिप्पणी: उत्तरदेखि दक्षिणसम्मको दूरी सीमित दूरी हो तर पूर्वदेखि पश्चिमसम्मको दूरी असीमित दूरी हो। तपाईं पश्चिम दिशामा जति पनि गएको गऐ गर्न सक्नुहुन्छ तर तपाईं उत्तर दिशमा सधैं गएक गऐ गर्न सक्नुहुन्न!)
  4. यशैया ३८:१७ -- मेरा पापहरू उहाँको दृष्टिबाट पूरै हटाइए!
  5. यशैया ४४:२२ -- मेरा पापहरू मेटाइए!
  6. यशैया १:१८ -- मेरा पापहरू सेता पारिए! [रातो + रातो ‍= सेतो!"]
  7. हिब्रू १०:१६ (ग्रीकमा डबल नेगेटिभ)। मेरो पाप परमेश्वरले कहिल्यै सम्झना गर्नुहुनेछैन।
  8. लेवी १६:२०-२२ -- लखेटेर पठाइएको बाख्राले यो सन्देश बोकेको थियो: जाऊ, हराऊ!
  9. यूहन्ना १:२९ -- "उठाऊ र हरण गर।" मेरा पापहरू पूरै उठाइए र हरण गरिए (मानौं बाह्य अन्तरीक्षमा रकेटले उडाइलगिए!)
  10. हिब्रू ९:२५ -- "हटाइए" = कसरी हटाइए? पापको बलिदानद्वारा! परमेश्वरले पापलाई आँखा चिम्लन सक्नुहुन्न, बेवास्ता गर्न सक्नुहुन्न। उहाँले त्यसलाई कारवाही गर्नैपर्छ, त्यसको न्याय गर्नैपर्छ। अनि त्यो चाहिँ उहाँले हाम्रो धन्यको प्रतिस्थापक प्रभु येशू ख्रीष्टद्वारा गर्नुभयो!

ईश्वरीय पाप-क्षमा भन्ने कुरा नभएको भए हाम्रो हालत के हुनेथ्यो? त्यो मानिस कति श्रापित हुन्छ जसको खातामा पापको गणना गरिन्छ (दाँज्नुहोस् रोमी ४:८)! कुनै व्यक्ति उसका पापहरूमा मरे भन्ने कुराको विचार कति भयङ्कर डरलाग्दो छ (हेर्नुहोस् यूहन्ना ८:२१,२४)! परमेश्वरले यदि तपाईंसित तपाईंका पापहरू अनुसार व्यवहार गर्नुहुँदो हो त अर्थात् तपाईंका पापहरूले कमाएकै दण्ड तपाईंलाई दिनुहुँदो हो त के हुनेथ्यो (भजनसङ्ग्रह १०३:१०)? परमेश्वरले तपाईंलाई तपाईंका अपराधहरू अनुसार प्रतिफल दिनुहुँदो हो त तपाईंलाई के हुनेथ्यो (भजनसङ्ग्रह १०३:१०)? परमेश्वरले तपाईंसित बरु उहाँको अनुग्रह र कृपाअनुसार गर्नु नै बढी उत्तम छैन र (भजनसङ्ग्रह १०३:८)? यदि परमप्रभुले अपराधको हिसाब लिनुहुँदो हो त, को खडा हुन सक्थ्यो र (हेर्नुहोस् भजनसङ्ग्रह १३०:३)? यदि कडा न्याय कार्यान्वयन गरिँदो हो त र परमेश्वरले तपाईंको जीवनलाई नियालेर मूल्याङ्कन गर्नुहुँदो हो त र तपाईंका सबै पापहरूको हिसाब तपाईंको विरुद्धमा लिनुहुँदो हो त तपाईंको नतिजा के थियो? के तपाईं भजनसङ्ग्रह १३०:४ को लागि धन्यवादी हुनुहुन्छ? के तपाईंले व्यक्तिगत रूपमा परमेश्वरबाटको पाप-क्षमाको अनुभव गर्नुभयो? के तपाईंले त्यो सुखी मानिसको अनुभव गर्नुभयो जसलाई प्रभुले कहिल्यै पापको हिसाब लगाउनुहुन्न?

एकजनाको कबरस्थानमा केवल यति लेखिएको पाइयो: क्षमा पाएको! यो दुईटा शब्दले निजको सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा बताएको छ। पाप-क्षमा केवल येशू ख्रीष्टमा मात्र पाइन्छ (एफेसी १:७)।

रोमी ४:९

खतना भएकाहरू = यहूदी जाति
खतना नभएकाहरू = अन्यजातिहरू

परमेश्वरबाटको धर्मीकरणको आशिष कस-कसले पाउँछन्? पापहरूको क्षमाको आनन्द कस-कसले पाउँछन्? के यो आशिष यहूदीहरूका लागि मात्र हो कि अन्यजातिहरूका लागि पनि? [अब्राहाम, इसाहक र याकूबका सन्ततिलाई यहूदी भनिन्छ; गैरयहूदीलाई अन्यजाति भनिन्छ।] के धर्मीकरण र पाप-क्षमा यहूदीहरूको मात्र पेवा हो र? पावलले उदाहरणस्वरूप अघि सारेका व्यक्तिहरूको नाम सुनेर कसैलाई त्यसो हो कि जस्तो लाग्न सक्थ्यो: अब्राहामलाई यहूदीहरूको पिता मानिन्छ भने दाऊद यहूदीहरूका सबैभन्दा प्रख्यात राज थिए। अन्यजातिहरूको सम्बन्धमा कुरा के हो त? के उनीहरूका लागि कुनै आशिष छ त? यस प्रश्नको जवाफ पावलले रोमीको पुस्तकको अन्य ठाउँमा दिन्छन्: हेर्नुहोस् रोमी ३:२२ (परमेश्वरको धार्मिकता विश्वास गर्ने सबैका लागि हो) र रोमी ३:२९ र रोमी १०:१२-१३।

रोमी ४:९ख-१०

पावल फेरि उत्पत्ति १५:६ लाई उद्दृत गर्दछन्। अब्राहाम विश्वासद्वारा धर्मी ठहरिए भन्ने कुरा सिकाउने चाबी खण्ड नै यही हो। यस खण्डको आधारमा तब पावलले पद १० मा एउटा प्रश्न सोध्छन्: अब्राहाम धर्मी ठहिरँदा (उत्पत्ति १५:६) उनी यहूदी थिए कि अन्यजाति? उनी खतना गरिएका थिए कि थिएनन्? कुनचाहिँ पहिला आयो, उसले मुक्ति पाएको घटना कि उसको खतना भएको घटना? यसको जवाफ त छर्लङ्गै छ। अब्राहामको मुक्ति (उत्पत्ति १५:६) उनको खतना (उत्पत्ति १७:२४) हुनुभन्दा धेरै अगाडिको कुरा थियो। भन्नुपर्दा अब्राहाम धर्मी ठहरिएपछि उनको छोरा इश्मएलको जन्म भयो (उत्पत्ति १६:११) अनि अब्राहामको खतना गरिँदा यो केटो तेह्र वर्षको थियो (उत्पत्ति १७:२५)। तसर्थ, अब्राहाम पहिला धर्मी ठहरिएका हुन् अनि त्यसको १३ वर्षभन्दा पछि उनी खतना गरिएका हुन्। स्टिफ्लरले रोमीको आफ्‍नो टिप्पणीमा लेख्छन्, "पावलले यहूदीको घमन्डलाई उलटपुलट पारिदिएका छन्। मुक्तिका लागि अन्यजाति यहूदको खतनाकहाँ आउनुपर्ने होइन; बरु यहूदी पो अन्यजातिको विश्वासकहाँ आउनुपर्छ, त्यस्तो विश्वासकहाँ जस्तो चाहिँ आफ्‍नो खतना हुनुभन्दा धेरै अगाडि अब्राहामसित थियो।"

रोमी ४:११-१२

खतना दुईटा कुरा हो भन्ने जनाइएको छ: १) एउटा चिन्ह -- चिन्हले कुनै कुरालाई दर्शाउँछ, अनि यस सन्दर्भमा खतनाले अब्राहामसित भएको उसको विश्वासलाई र उसलाई गनिएको धार्मिकतालाई जनाउँदछ। २) एउटा छाप -- प्राचीन समयहरूमा कुनै दस्तावेजको सक्कलीपन देखाउनलाई छापहरू प्रयोग गरिन्थे (राजाबाट तपाईंले पत्र पाउनुभयो र त्यसमा राजाको छाप छ भने उक्त दस्तावेज नक्कली होइन, सक्कली हो भनेर जानिन्थ्यो)। अब्राहामको खतनाले उसको विश्वासको सक्कलीपन र वास्तविकतालाई दर्शाउने काम गर्‍यो। अब्राहाम खतनाले धर्मी ठहरिएका थिएनन्; उनी धर्मी ठहरिएकाले उनी खतना गरिए। आज पानीको बप्तिस्माको सवालमा पनि यही कुरा साँचो हुन्छ। कसैले पानीको बप्‍तिस्मा लिएकोले उसले मुक्ति पाउँदैन; तर उसले मुक्ति पाएको हुनाले उसलाई बप्‍तिस्मा दिइन्छ। विधिले मान्छेलाई परमेश्वरको दृष्टिमा ठिक बनाउने होइन। पहिला आफू परमेश्वरको दृष्टिमा ठिक हुनु खाँचो छ (विश्वासद्वारा) अनि त्यसपछि विधि पनि सार्थक हुन्छ।

अब्राहाम विश्वास गर्नेहरू सबैका पिता हुन् (रोमी ४:११)। उनी विश्वासयोग्यहरूका पिता हुन्। हरेक साँचो विश्वासीले भन्न सक्छ, "अब्राहाम मेरा पिता हुन् र म उनको सन्तान हुँ"। विश्वास गर्ने हरेक अन्यजातिले यो भन्न सक्छ (रोमी ४:११) र विश्वास गर्ने हरेक यहूदीले यो भन्न सक्छ। विश्वास नगर्ने यहूदीले शारीरिक वंशको दाबी गर्न त सक्छन् तर विश्वासको सवालमा भने उनीहरूसित पारिवारिक समानता भने छैन (हेर्नुहोस् मत्ती ३:७-१० र यूहन्ना ८:३३,३७,३८,३९-४४)। सन्तान उनीहरूका बाबुआमाजस्ता हुनुपर्ने हुन् र अविश्वासीहरूको अब्राहामसित कुनै आत्मिक समानता छैन जो एक विश्वासी थिए।

अब्राहाम विश्वासीहरूका पिता हुन् भनेर सिकाउने अरू खण्डहरू हुन्: रोमी ४:१६ र गलाती ३:७,८,९,१४,२६-२९ (जोहरू विश्वासद्वारा ख्रीष्टका हुन् उनीहरू अब्राहामका वंशका हुन्) र तुलना गर्नुहोस् लूका १९:९। यस प्रसङ्गमा लूका १६:१९-३१ को खण्ड ज्यादै चाखलाग्दो छ। स्वर्गलोकमा देखिएका "पिता" (लूका १६:२४) को हुन्? अझ, उक्त ठाउँलाई समेत "अब्राहामको काख" भन्ने संज्ञाले जनाइएको छ (पद २२)। विश्वासीहरू जाने ठाउँ त्यही हो अनि अब्राहाम चाहिँ विश्वासीहरूका पिता हुन्। दुःखको कुरा धनी मानिसले अब्राहामलाई आत्मिक पिता भनेर कहिल्यै चिनेनन् (पद २४)। उनी धनी थिए तर विश्वासमा धनी थिएनन् (दाँज्नुहोस याकूब २:५)।

शारीरिक रूपमा अब्राहाम यहूदीहरू (जोहरू इसाहक र याकूबबाट आए) का मात्र पिता नभईकन इश्माएलबाट आएकाहरूका पनि पिता थिए (अरबीहरू) र साथै एसाबबाट आएकाहरूका पनि (एदोमीहरू)। आत्मिक रूपमा अब्राहाम विश्वास गर्नेहरू सबैका पिता हुन्, चाहे यहूदी चाहे अन्यजाति। सम्भवतः उत्पत्ति २२:१७ ले अब्राहामका दुवै पार्थिव वा शारीरिक वंश ("बालुवा") र साथै उनका स्वर्गीय वा आत्मिक वंश ("ताराहरू") लाई जनाउँदैछ। वा त्यसले केवल एउटै कुरा जनाइरहेको पनि हुन सक्छ, कि अब्राहामका सन्तान अनगिन्ती हुन्छन् भनेर।


पृष्ठ संशोधन मिति: Friday 27-Mar-15
WordofTruth.com.np © 2017