Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

रोमी ४:१३-२५

यस पृष्ठलाई छाप्नुहोस्

रोमी ४:१३

सन्दर्भलाई यादमा राख्नुहोस्। यस अध्यायको चाबी शब्द हो "विश्वास"। अब्राहामका सन्तान "विश्वास गर्नेहरू सबै" हुन् (पद ११)। कसैको पनि आफ्‍नो परिवारसितको आफ्‍नो समानता झल्कनुपर्ने कुरा हो! हामीले अब्राहामका विश्वासयोग्य पाइलालाई पछ्याउनुपर्छ (पद १२)। उनले जस्तै हामीले विश्वास गर्नुपर्छ! अब्राहामले जस्तै हामीले परमेश्वरको वचनलाई पत्‍याउनुपर्छ (पद ३)।

"हकवाला" ‍= अधिकारी

पद १३ मा उल्लेखित प्रतिज्ञा ठिक यिनै शब्दमा पुरानो नियमको कतै पाइँदैन। "अब्राहाम, तिमी संसारका हकवाला हुनेछौ" भनेर परमेश्वरले भन्नुभएको पुरानो नियममा कतै भेटिँदैन। त्यस्तै पद त छैन। योचाहिँ अब्राहाम र उनका वंशले पाउने आशिषहरू र सम्पत्तिहरूलाई बयान गर्ने पावलको तरिका हो।

ख्याल गर्नुहोस्, उक्त प्रतिज्ञा अब्राहामलाई मात्र नभई उनका सबै सन्तानलाई हो (पद १३ र पद १६ -- "उनका सबै सन्तानलाई")। त्यसैले यो प्रतिज्ञा अब्राहामलाई र उनका सबै आत्मिक सन्तानलाई हो (पद ११ ''विश्वास गर्नेहरू सबै")। प्रतिज्ञा यो हो कि अब्राहाम र सबै विश्वासीहरू संसारका हकवालाहरू हुनेछन् र संसारलाई अधिकार गर्नेछन्!

मत्ती ५:५ हेर्नुहोस् -- "नम्रहरू पृथ्वीका अधिकारीहरू हुनेछन्" ("नम्र" भनेको कमजोर होइन; तर त्यो व्यक्ति हो जोसित टुटेको हृदय छ र परमेश्वरको इच्छामुनि रहन्छ)। हेर्नुहोस् मत्ती २५:३४ -- ख्रीष्ट जब पृथ्वीमा फेरि आउनुहुनेछ त्यसबेला कतिले राज्यलाई अधिकार गर्नेछन्। त्यो उनीहरूको हुनेछ र त्यसको आनन्द उपभोग गर्नेछन्! कतिचाहिँ बञ्चित हुनेछन् (पद ४१)।

लूका १३:२७-२९ पढ्नुहोस्। कतिजना राज्यभित्र हुनेछन् (समाविष्ट) र कतिजना बाहिर हुनेछन् (बञ्चित)। अब्राहाम लगायत अरू विश्वासीहरू समाविष्ट हुनेछन्! उनीहरूले संसारलाई अधिकार गर्नेछन् र राज्यमा रमाहट गर्नेछन्। जो अब्राहामका सन्तान होइनन् (अविश्वासीहरू) उनीहरू हकवाला हुनेछैनन् (उनीहरू राज्यबाट बञ्चित हुनेछन्)।

अब्राहामको साँचो वंश वास्तवमा प्रभु येशू ख्रीष्ट नै हुनुहुन्छ (हेर्नुहोस् गलाती ३:१६)। येशू ख्रीष्ट नै हुनुहुन्छ (परमेश्वरका मसीह, परमेश्वरका अभिषिक्त राजा - भजनसङ्ग्रह २:१-२) जसले भजनसङ्ग्रह २:८ अनुसार (पद १२ सित दाँज्नुहोस्) पृथ्वीलाई अधिकार गर्नुहुनेछ। पृथ्वी उहाँकै निजी हो। यो उहाँको राज्य हो! अब्राहाम र उनका सबै आत्मिक सन्तान (विश्वासीहरू) उक्त राज्यका आशिषहरूका भागीदार बन्नेछन्।

त्यसैले "संसारका हकवाला" भन्नुको सारभूत माने "ख्रीष्टको राज्यको भागीदार" हुनु हो। रोमी ४:१३ अनुसार कुनै पनि व्यक्ति उक्त राज्यको भागीदार कसरी बन्दछ? एक व्यक्ति कसरी संसारको हकवाला बन्दछ? व्यवस्थाद्वारा होइन तर विश्वासद्वारा! यदि व्यवस्थाद्वारा हुँदो हो त निम्न कुराहरू आवश्यक पर्नेथ्यो: कामहरू, व्यवस्थामा परमेश्वरले दिनुभएका मागहरू पूरा गर्न खोज्नु, परमेश्वरको व्यवस्था पालन गरेर परमेश्वरको निगाह आर्जन गर्न खोज्नु, परमेश्वरको आशिषहरू कमाउन खोज्नु, आफैलाई योग्य बनाउन खोज्नु, पूरा गरेको काम बापत भुक्तानी प्राप्त गर्न खोज्नु, सङ्घर्ष गर्नु, हासिल गर्नु, आदि। विश्वास बिलकुलै भिन्न सिद्धान्तको आधारमा काम गर्दछ: परमेश्वरले दिनुहुन्छ र मैले प्राप्‍त गर्दछु। त्यो कुनै पनि पाउन म योग्य छैन तर परमेश्वरले मलाई त्यो कुरा दिनुहुन्छ जो मैले पाउनु नै नपर्ने थियो (यो हो अनुग्रह!)।

रोमी ४:१४

एकछिनको लागि पावलले एउटा कुरा सत्य भएझैं मानिलिन्छ जुन कुरा सत्य छैन। यहाँ ज्यादै ठूला-ठूला तुलनाहरू गरिँदैछ: व्यवस्थाको विपरितमा अनुग्रह; कामहरूको विपरितमा विश्वास; आर्जन गर्ने प्रणालीको विपरितमा परमेश्वरको सित्तैंको वरदान र अनर्जित निगाह; परमेश्वरको व्यवस्था पूरा गर्न खोज्नुको विपरितमा परमेश्वरको प्रतिज्ञालाई विश्वास गर्नु। व्यवस्थाले सिद्ध आज्ञापालनको माग गर्दछ; मुक्तिले परमेश्वरको कृपा र अनुग्रहको माग गर्दछ। व्यवस्थाको मार्ग चाहिँ मानिसको सर्वोत्तम प्रयासमा आधारित छ जुनचाहिँ कहिल्यै पर्याप्‍त छैन; विश्वासको मार्ग चाहिँ क्रूसमा ख्रीष्टले सिद्ध्याउनुभएको काममा आधारित छ (यूहन्ना १९:३०) जुनचाहिँ पूरै पर्याप्‍त छ। परमेश्वरको पवित्र व्यवस्थाले सबैभन्दा असल मानिसलाई पनि बिलकुलै दोषी ठहर्‍याउँदछ; परमेश्वरको अचम्मको अनुग्रहले चाहिँ सबैभन्दा खराब मानिसलाई पनि धर्मी ठहराउँदछ। व्यवस्थाद्वारा पापी दोषी ठहरिन्छ र परमेश्वरको क्रोधमुनि राखिँदछ; अनुग्रहद्वारा पापी बचाइन्छ र परमेश्वरको पखेटामुनि राखिँदछ। व्यवस्था र अनुग्रह सधैं परस्परमा नमिल्ने सिद्धान्तहरू हुन् (रोमी ११:६ मा हेर्नुहोस्)।

यदि व्यवस्थाकाहरू हकवाला हुन् भने त मैले विश्वास गरेर हुने होइन रहेछ, मैले काम गरेर पो पाइने रहेछ भन्ने हुन्थ्यो! मैले आफ्‍ना कामहरूद्वारा र व्यवस्था पालनद्वारा म राज्यभित्र छिर्न कमाउनुपर्छ भन्ने हुन्थ्यो। तर व्यवस्थाको मार्ग भएर मुक्ति कमाउनु पूरै असम्भव छ (हेर्नुहोस्, लूका १०:२५-२८ -- "यो गर तर तिमी बाँच्नेछौ!", तर कुनै पनि पापीले यी कुराहरू गर्न सक्दैन!)। त्यसैले उक्त प्रतिज्ञा बिनकामको ठहरिनेथ्यो! कोही पनि हकवाला बन्नैथिएन र कोही पनि राज्यमा प्रवेश गर्नेथिएन! सबै व्यवस्था भङ्ग गर्ने अधर्मीहरू बञ्चित हुनेथिए (हेर्नुहोस् १ कोरिन्थी ६:९-१० र एफेसी ५:५)।

रोमी ४:१५

व्यवस्था केवल क्रोध उत्पन्न गराउँछ। व्यवस्थाले केवल श्राप मात्र उत्पन्न गराउन सक्छ, आशिष होइन (गलाती ३:१०)। किन? किनकि मेरो पापी अवस्थाले गर्दा। एक पापीले परमेश्वरका पवित्र व्यवस्था पालन गर्न सक्दैन अनि त्यसैले म एक व्यवस्था भङ्ग गर्ने व्यक्ति हुँ। परमेश्वरको क्रोध ममाथि आइपर्नैपर्छ! व्यवस्था भङ्ग गर्नेहरू मृत्युदण्ड पाउन लायक छन्! व्यवस्था पालन गर्नेहरू जीवन पाउन योग्य हुन्छन्, तर हामीमध्ये कतिजनाले परमेश्वको पवित्र व्यवस्थालाई साँच्ची ने पालन गरेका छौं, सिद्ध रूपमा र हाम्रो जीवनभरि?

व्यवस्थाले धार्मिकता र आशिष ल्याउँदैन नता हकवाला नै बनाउँदछ, बरु यसले केवल परमेश्वरको क्रोध ल्याउँदछ। यदि मानिसले परमेश्वरको पवित्र र सिद्ध व्यवस्था पालन गर्ने सक्ने हुँदो हो त व्यवस्थाले जीवन र आशिष ल्याउनेथियो (लूका १०:२८)। व्यवस्थाले क्रोध ल्याउने कारण चाहिँ पापी मानिसले व्यवस्था उल्लङ्घन (अपराध) गरेकोले हो। जहाँ व्यवस्था छ त्यहाँ अपराध छ, अनि जहाँ अपराध छ त्यहाँ परमेश्वरो क्रोध हुनैपर्छ। व्यवस्थाले क्रोध, दण्ड र मृत्यु ल्याउँछ (तुलना गर्नुहोस् २ कोरिन्थी ३:७,९)। परमेश्वरको पवित्र व्यवस्थाको भयङ्कर मागहरूको मुनि आफूलाई राख्‍न खोज्नेहरू कति मूर्ख हुन्। पावल भन्छन् ती मानिसहरू आफैं समेत व्यवस्था पालन गर्दैनन् (गलाती ६:१३)। पत्रुस पावलसित सहमत छन् (प्रेरित १५:९-११)। प्रभु येशूले भन्नुभयो, "तिमीहरू मध्ये कसैले व्यवस्था पालन गर्दैनौ" (यूहन्ना ७:१९)।

रोमी ४:१६

यद पदको पहिलो भागलाई यसरी व्यक्त गर्न सकिन्छ, "तसर्थ व्यवस्थाले क्रोध मात्र ल्याउन सक्ने भएको हुनाले प्रतिज्ञा गरिएको हकचाहिँ विश्वासद्वारा हो ताकि त्यो परमेश्वरको अनुग्रहद्वारा हुन सकोस् (अर्थात् पापीहरूलाई परमेश्वरको सित्तैंको वरदान हुन सकोस्)।"

व्यवस्थाका कामहरूद्वारा धर्मी ठहरिने काम मान्छेमा निर्भर छ र मान्छे त विफल हुन्छ नै किनकि मान्छे पापी छ। अनुग्रहद्वारा धर्मी ठहरिने काम चाहिँ परमेश्वरमा मात्र निर्भर छ र ख्रीष्टले पूरा गर्नुभएको काममा निर्भर छ। त्यो िवफल हुन सक्दैन किन परमेश्वर विफल हुन सक्नुहुन्न!

"पक्का" -- यो पक्का कुरा हो! प्रतिज्ञा हरेक विश्वासीलाई चाहे यहूदी होस् वा अन्यजातिलाई पक्का छ! कस्तो सुरक्षा! प्रत्येक विश्वासीले यसरी भन्न सक्नुपर्छ, "म पक्का (निश्चित) छु कि प्रतिज्ञा गरिएको हक मेरै हो! म निश्चित छु कि म एक हकवाला हुँ!" (रोमी ४:१३ अन्तर्गत गरिएको चर्चालाई हेर्नुहोस्)।

अब्राहाम विश्वास गर्नेहरू सबैका पिता हुन् (४:११), चाहे यहूदी होस् या अन्यजाति (४:११, ४:१६)! उनी "धेरै जातिहरूका पिता" (४:१७) हुन्। उनी हरेक कुल, भाषा, जातिमध्येबाट विश्वास गर्नेहरूका आत्मिक पिता हुन् (तुलना गर्नुहोस् प्रकाश ५:९)।

यदि प्रतिज्ञा व्यवस्थाद्वारा हुँदो हो त त्यो त यहूदीहरूमा मात्र सीमित हुनेथ्यो किनकि व्यवस्था दिइएको त तिनीहरूलाई थियो (रोमी ९:४)। तर प्रतिज्ञा अनुग्रहद्वारा थियो ताकि सबै विश्वासीहरू (चाहे यहूदी होस् वा अन्यजाति) ले प्रतिज्ञालाई प्राप्‍त गर्न सकून् र त्यसमा रमाहट गर्न सकून्।

रोमी ४:१७

यस पदको पहिलो भाग उपवाक्य हो। त्यसैले पद १६ को अन्तिम भागचाहिँ उपवाक्यको पछाडि रहेको खण्डसित जोड्नुपर्छ: "…अब्राहाम.. see Bible

उपवाक्यमा भएको उद्दरण उत्पत्ति १७:५ बाटको हो। यो अचम्मको भनाइ भूतकालमा व्यक्त गरिएको छ ("म तिमीलाई बनाउनेछु" होइन कि "मैले तिमीलाई बनाएको छु")। परमेश्वरले यसरी व्यक्त गर्नुहुन्छ मानो त्यो पूरा भइसकेको कुरा हो! परमेश्वरको मनमा त्यो पूरा भइसकेको कुरा थियो! परमेश्वरले यी शब्द उच्चारण गर्नुहुँदा इसाहक अस्वित्वमा आएका समेत थिएनन्! यस्तै उदाहरण रोमी ८:३० मा पनि पाइन्छ -- "उनीहरूलाई महिमा पनि दिनुभयो।" परमेश्वरको मनमा र उद्देश्यमा त्यो पूरा भइसक्यो!

अब्राहामले आफ्‍नो विश्वास एक ज्यादै अद्भूत् परमेश्वरमा राखे! परमेश्वर हुनुहुन्छ भनेर उनी विश्वास गर्नमा पुगे (हिब्रू ११:६ सित तुलना गर्नुहोस्)। उनले विश्वास गरे कि परेमश्वर महान् परमेश्वर हुनुहुन्छ जसले दुईटा अचम्मका काम गर्न सक्नुहुन्छ:

  1. जसले मरेकालाई जीवित पार्नुहुन्छ। परमेश्वरले मरेकाहरूलाई जीवित पार्न सक्नुहुन्छ। अब्राहाम र सारा मरेकाहरू थिए यो अर्थमा कि उनीहरू जीवन उत्पन्न गर्न सक्दैनथे (हेर्नुहोस् रोमी ४:९ र हिब्रू ११:११-१२)। साराको मृतावस्थाको गर्भबाट परमेश्वरले जीवन उत्पन्न गर्नुभयो। पछि जब अब्राहामलाई उनको आफ्‍नो एकमात्र छोरालाई मार्न भनियो उनले यो जान्दथे कि परमेश्वरले उनको छोरालाई फेरि जिउँदो पार्नुहुनेछ किनकि उनी जान्दथे कि परमेश्वरले आफ्‍नो प्रतिज्ञा पूरा गरीछाड्नुहुन्छ (हिब्रू ११:१७-१९ सित दाँज्नुहोस् उत्पत्ति २२:५)। इसाहक यसरी ख्रीष्टको प्रतीक बने जो मारिनलाई चढाइए र फेरि जीवित पारिए (तुलना गर्नुहोस् हिब्रू ११:१९ र रोमी ४:२४-२५)। आज पनि परमेश्वर मरेकाहरूलाई जीवन दिने काम गर्दै हुनुहुन्छ (एफेसी २:१,५; यूहन्ना ५:२४; ६:४७; १ यूहन्ना ५:११-१२; आदि)।
  2. जसले हुँदै नभएका चीजहरूलाई मानूँ भएझैं गरी बोलाउनुहुन्छ (अस्तित्व नभएको कुरालाई उहाँले अस्तित्वमा डाक्नुहुन्छ)। यसले ती कुरालाई जनाउँछ जो एक दिन हुनेछन् भनेर परमेश्वरले अठोट गर्नुभएको छ तर ती पूरा भइसकेका छैनन्। इसाहक इतिहासमा देखा पर्नु अघि नै परमेश्वरले उनको बारेमा सब कुरा बताउनुभयो। परमेश्वरले अन्तको कुरा शुरुबाटै बताउनुहुन्छ (यशैया ४६:९-११)। यशैयाद्वारा परमेश्वरले हामीलाई एकजना फारसी राजा (कोरेस) को बारेमा उसको जन्म हुनुभन्दा पनि धेरै वर्ष अगाडि बताउन सक्नुहुन्छ र उनको नाम समेत उल्लेख गर्नुभयो (हेर्नुहोस् यशैया ४५:१)।

अब्राहामको विश्वास परमेश्वरको प्रतिज्ञामाथि थियो भन्ने कुरामा हामीले ध्यान दिनुपर्छ। साँचो विश्वास सधैं परमेश्वरको वचनका तथ्यहरूमा आधारित हुन्छ। कोही यस्तो ठान्छन् कि कुनै कुरा बेसरी विश्वास गर्दैमा त्यो हुन आउनेछ (परमेश्वरले त्यो भन्नुभएको होस् या नहोस्)! यो साँचो, बाइबलीय विश्वास होइन (दाँज्नुहोस् रोमी १०:१७)।

रोमी ४:१८

यदि अब्राहामले सारालाई हेरेका भए र आफ्‍नो परिस्थिति र अवस्थालाई हेरका भए, उनी यसो भन्न बाध्य हुनेथिए, "आशै छैन!" परिस्थितिहरू विलकुलै प्रतिकूल थिए अनि शरीरले उत्पन्न गराउन सक्ने कुनै उपाय थिएन (बच्चा जन्माउन सक्नलाई उनले गर्न सक्ने एउटै कुरा थिएन)। तर अब्राहाम एक सर्वशक्तिमान् परमेश्वरतिर हेरे र आफ्‍नो विश्वासलाई परमेश्वरको पक्का प्रतिज्ञामा गाडे! मानिसलाई यो असम्भव थियो (आशा मरू!) तर परमेश्वरलाई सबै कुरा सम्भव छन्! परमेश्वरको वचन र परमेश्वरको प्रतिज्ञा विफल हुन सक्दैन!

रोमी ४:१९

"मरिसकेको" ‍= जीवन उत्पन्न गराउन नसक्ने (हेर्नुहोस् हिब्रू ११:११-१२)। शारीरिक हिसाबमा उनीहरूलाई सन्तान जन्माउनु असम्भव कुरा थियो। उनीहरू ज्यादै वृद्ध भइसकेका थिए (हेर्नुहोस् उत्पत्ति १७:१७)।

रोमी ४:२०

"लडखडाएनन्" -- अब्राहाम हलचल भएनन्, शङ्का गरेनन्, अनिश्चयता प्रकट गरेनन्। उनले भनेनन्, "परमेश्वर आफ्‍नो प्रतिज्ञा पूरा गर्नुहुनेछ, होला जस्तै लाग्छ… आशा छ …सायद गर्नुहुन्छ होला …गर्नुहुन्छ कि खोइ?" जब परमेश्वरको वचनकै आधारमा हामी उहाँलाई मानिलिन्छौं त्यतिखेर परमेश्वरलाई हामी महिमा दिन्छौं। अविश्वास गर्नु परमेश्वरको अनादर गर्नु हो (हेर्नुहोस्, १ यूहन्ना ५:१०)। प्रतिज्ञा कहिल्यै विफल हुँदैन, तर विश्वास विफल हुन्छ जब हामी लडखडाउँछौं र अविश्वासमा हलचल हुन्छौं।

रोमी ४:२१

यहाँ छ बाइबलीय विश्वासको एउटा परिभाषा (तुलना गर्नुहोस् प्रेरित २७:२५ पनि)। परमेश्वरमा विश्वास गर्ने व्यक्ति त्यो जो पूरै निश्चित छ र विश्वस्त छ कि उहाँले जे प्रतिज्ञा गर्नुभएको छ त्यो परमेश्वरले ठिक दुरुस्तै पूरा गर्नुहुनेछ भनेर। परमेश्वर सक्नुहुन्छ! (सर्वशक्तिमान् हुनुहुन्छ!)

रोमी ४:२२

"यो कुरा" = उनको विश्वास (हेर्नुहोस् रोमी ४:३,५)। अब्राहाम विश्वासद्वारा धर्मी ठहरिएका थिए! उनले आफ्‍नो धार्मिकता विश्वासद्वारा पाए (४:३), आफ्‍नो हक विश्वासद्वारा पाए (४:१३) र आफ्‍नो सन्तान विश्वासद्वारा पाए (४:१७-१९)। उनले एउटै कुरा पनि मानवीय कामहरूद्वारा पाएनन्!

रोमी ४:२३-२४

अब आएर पावलले भन्न चाहिरहेका कुरा भन्दछन्! आजका मानिसहरूसित अब्राहाम र उनको विश्वासको के सरोकार छ? जुन परमेश्वरले अब्राहामलाई बचाए उही नै हुनुहुन्छ जसले आज मानिसहरूलाई बचाउनुहुन्छ अनि उनीहरू एउटै तरिकाले बचाइन्छन् -- विश्वासद्वारा अनुग्रहले" (एफेसी २:८,९)! सबै समयहरूमा मानिसहरूलाई बचाउने परमेश्वरको एउटै तरिका रहेको छ! अब्राहाम जसरी धर्मी ठहरिए म पनि उही तरिकाले धर्मी ठहरिनु आवश्यक छ! उनको धर्मीकरण मेरो धर्मीकरण नमुना हुनलाई थियो। जसरी उनले परमेश्वरलाई विश्वास गरे, मैले पनि त्यसै गर्नुपर्छ! जसरी मरेकाबाट जीवन ल्याउन सक्ने परमेश्वरमाथि उनले विश्वास गरे, मैले पनि त्यसै गर्नुपर्छ (पद २४)।

यहाँ ध्यान दिनुपर्ने केही भिन्नताहरू छन्। अब्राहामले अघिल्तिर हेरे; हामीले पछिल्तिर हेर्नुपर्छ। अब्राहामलाई पूरा हुन बाँकी रहेको प्रतिज्ञा दिइयो; हामीलाई भने एउटा पूरा भइसकेको कामको समाचार सुनाइयो! रोमी ४:१८ मा भविष्यमाथि जोड दिइएको कुरामा ध्यान दिनुहोस् -- "यस्तै हुनेछन्" र तुलना गर्नुहोस् रोमी ४:२५ को भूतकालमाथि जोड दिइएको कुरासित -- "जुन…सुम्पिनुभयो।" पहिलोमा परमेश्वरले के गर्नुहुनेछ भन्ने कुरालाई औंल्याइएको छ भने अर्कोमा चाहिँ परमेश्वरले पूरा गरिसक्नुभएको कुरालाई।

येशू हाम्रा प्रभुलाई मृत्युबाट बौराउनुहुने परमेश्वरमाथि हामीले विश्वास गर्‍यौं भने हाम्रो विश्वास धार्मिकता गनिनेछ! [प्रायः बाइबलमा हामीले विश्वास ख्रीष्टमाथि गर्नुपर्ने भनेर प्रस्तुत गरिएको हुन्छ तर यहाँ परमेश्वर पितामाथि सो गर्नुपर्ने कुरा उल्लेख छ। यो कुरा बुझ्नलाई यूहन्ना ५:२३-२४ र यूहन्ना १२:४४ मा हेर्नहोस्]। जुन परमेश्वरले इसाहकलाई मृतावस्थाबाट खडा गराउनुभयो (पहिले उनको गर्भाधारणमा र पछि एउटा छायाँमा जब उनी वेदीमाथि चढाइए), उही परमेश्वरले नै येशू ख्रीष्टलाई मृतावस्थाबाट खडा गराउनुभयो। इसाहक ख्रीष्टका प्रतीक हुन् (हिब्रू ११:१९)।

रोमी ४:२५

यहाँ हामी सुसमाचारलाई संक्षेप वा सारमा बताइएको पाउँछौं। यसमा ध्यान दिनुहोस् कि सुसमाचारका दुई महान् तथ्यहरू ख्रीष्टको मृत्यु र बौरिउठाइ हुन् (तुलना गर्नुहोस् १ कोरिन्थी १५:१-४)। ख्रीष्ट परमेश्वर पिताद्वारा सुम्पिइनुभएको थियो (रोमी ८:३२) र परमेश्वर पिताद्वारा फेरि बौराइनुभएको थियो (पद २४)। दुईपटक उल्लेखित "निम्ति" को माने एउटै हो, "कारणले गर्दा, खातिर"। ख्रीष्ट किन सुम्पिइनुभयो? हाम्रा अपराधहरूका खातिर (मेरा अपराधहरूको प्रायश्चित गर्न)। ख्रीष्ट किन बौराइनुभयो? हाम्रो धर्मीकरणको खातिर (मलाई धर्मी ठहराउन)। त्यहाँ एकातिर नकारात्मक पक्ष छ: ख्रीष्ट हाम्रो पाप र त्यसको दोष र दण्ड बोक्न र भोग्‍नलाई सुम्पिइनुभयो। अर्कोतिर सकारात्मक पक्ष छ: ख्रीष्ट विश्वासीलाई एउटा नयाँ स्थान र अोहोदा, "ख्रीष्ट येशूमा, उपलब्ध गराउनलाई बराइनुभयो, अनि उक्त अोहोदाबिना हामी धार्मिकताबिहीन नै रहनेथ्यौं।

बौरिउठाइबिना मुक्ति हुनेथिएन, धर्मीकरण हुनेथिएन, पाप-क्षमा हुनेथिएन (हेर्नुहोस् १ कोरिन्थी १५:१७)। रोमी ४:२५ ले धर्मीकरण गराउन क्रूसको कुनै काम भूमिका थिएन भनेर सिकाइरहेको छैन। बाइबलको अन्य ठाउँहरूमा विश्वासीको धर्मीकरण येशू ख्रीष्टको बहाइएको रगत हो भनेरज्यादै स्पष्टसित सिकाइएको छ (रोमी ३:२४; ४:२५; ५:९ -- "उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले")। यहाँ भन्न खोजिएको यो हो कि ख्रीष्टको बौरिउठाइ पनि हाम्रो धर्मीकरणको निम्ति नभई नहुने कुरा थियो। जसरी विलियम नुवेल भन्छन्,

"यसमा परमेश्वरले यस विश्वास गर्ने भक्तिहीन व्यक्तिलाई बौरिउठ्नुभएका ख्रीष्टमा एउटा नयाँ ओहोदा प्रदान गर्दछ … उहाँको मृत्यु र बौरिउठाइ धर्मीकरणको सम्बन्धमा एउटै र अभिन्न कुराका रूपमा छन्। ख्रीष्ट बौराइनुभएकोले परमेश्वरले मलाई भन्नुहुन्छ, "ख्रीष्टको रगतले तिम्रा पापहरू हरण भए मात्र होइन जसको फलस्वरूप तिमी सबै कुराहरूबाट धर्मी ठहरिएका छौ; तर मैले ख्रीष्टलाई बौराएर पनि उठाएको छु; अनि तिम्रो ओहोदा उहाँमा हुनेछ। बोरिनुभएका ख्रीष्टमा यो विश्वास गर्न मैले तिमीलाई दिएको छु र तिमीलाई यो घोषणा गर्दछु कि केवल उहाँमा अब तिम्रो स्थान र ओहोदा हुनेछ। ख्रीष्ट तिम्रो जीवन र तिम्रो धार्मिकता हुनुहुन्छ।"

हामी बौरिएका ख्रीष्टमा खडा छौं र उहाँमा हामी सिद्ध गरी धर्मी छौं (१ कोरिन्थी १:३० र २ कोरिन्थी ५:२१)।

धर्मीकरण के हो?

रोमी ४ को अन्तमा आइपुग्यौं। धर्मीकरण वास्तवमा के हो भन्ने कुरा बुझ्न निम्न सारांशले मदत गर्नेछ (विलियम न्यूवेल):

  1. यो एक व्यक्तिको सम्बन्धमा स्वर्गमा हुने परमेश्वरबाटको यस्तो घोषणा हो कि ऊ परमेश्वरको दृष्टिमा धर्मी भनेर गनिएको छ।
  2. परमेश्वरले एक व्यक्तिलाई "ख्रीष्ट येशूमा भएको छुटकाराको कारणले" वा आधारमा धर्मी ठहराउनुहुन्छ (रोमी ३:२४)। हामी "उहाँको रगतद्वारा [वा मा] धर्मी ठहरिन्छौं"; -- रगत चाहिँ किन्ने वा प्राप्‍त गर्ने आधार वा माध्यम भयो; परमेश्वरचाहिँ कर्ता।
  3. परमेश्वर जसले न्यायिक कदम चाल्नुभएको थियो र सारा संसार दोषी भएको फैसला गर्ने काम गर्नुभएको थियो (रोमी ३:१९), अब फेरि अर्को न्यायिक कदम चाल्नुहुन्छ, त्यस पापीको निम्ति जो आफ्‍नो दोषदेखि कायल बन्छ र आफू असहाय भएको महसुस गर्दछ, र ख्रीष्टको प्रायश्चितकारी बलिदानको सम्बन्धमा बताउने परमेश्वरको वचनमाथि विश्वास गर्दछ र त्यसलाई व्यक्तिगत रूपमा अपनाउँछ; र यसरी "येशूमाथि विश्वास गर्ने" व्यक्ति बन्छ (रोमी ३:२६): अब परमेश्वरको न्यायिक फैसला यस्तो हुन्छ कि त्यस्तो विश्वास गर्ने व्यक्ति उहाँको दृष्टिमा धर्मी गनिएको छ।
  4. तसर्थ, धर्मीकरण, वा धर्मी ठहराउनु भनेको परमेश्वरले क्रूसमा सम्पन्न गरिएको ख्रीष्टको असीम कार्यको सम्पूर्ण ऐश्वर्य विश्वास गर्ने पापीको हिसाबमा गनिदिनु हो; साथै विश्वास गर्ने पापीलाई महिमाका पुनरुत्थित येशूसित उहाँले जोडिदिनुभई उहाँको सामु रहेको ख्रीष्टको जुन ग्रहणयोग्यता छ त्यही नै उसलाई दिनु हो: जसको फलस्वरूप विश्वासी अब "उहाँमा परमेश्वरको धार्मिकता" हुन गएको छ।

त्यसैले, पापीलाई धर्मी ठहराउनुहुँदा परमेश्वरले एकातिर ख्रीष्टको रगतले उसका पापहरू हरण गरिएको गन्नुहुन्छ। अर्कोतिर, उहाँले उसलाई ख्रीष्टमा अवस्थित गराउनुहुन्छ: ऊ परमेश्वरको सामु ख्रीष्टसँग एक भएको छ, सदासर्वदाको लागि!

-- विलियम न्यूवेल

धर्मीकरणका दस पक्षहरू

१) धर्मीकरणको खाँचो

रोमी ३:१० - हामीलाई चाहिएको धार्मिकताको हामीलाई अभाव छ। यशैया ६४:६ - हामीसँग भएको धार्मिकताको कुनै काम छैन। १ कोरिन्थी ६:९-१० - अधर्मी परमेश्वरको राज्यको हकवाला हुनेछैन।

२) धर्मीकरणको माने

"धर्मी भनेर घोषणा गर्नु"। यो एक कानुनी शब्दावली हो (व्यवस्था २५:१ मा हेर्नुहोस्)। धर्मी ठहराउनुको माने "धर्मी बनाउनु" होइन (हेर्नुहोस् लूका ७:२९ -- ती मानिसहरूले परमेश्वरलाई धर्मी "बनाएका" होइनन्, उहाँ धर्मी हुनुहुन्छ भनेर घोषणा गरेका हुन्)। धर्मीकरणको उल्टो "दोषी ठहराउनु" वा "दण्डको आज्ञा" दिनु हो (व्यवस्था २५:१; रोमी ५:१६-१९)।

३) धर्मीकरणको समस्या

रोमी ३:२६ - परमेश्वर न्यायी रहीकन विश्वास गर्ने पापीलाई कसरी धर्मी ठहराउन सक्नुहुन्छ? भक्तिहीन, दोषी व्यक्तिलाई परमेश्वरले कसरी धर्मी ठहराउन सक्नुहुन्छ (रोमी ४:५)? कलवरीको क्रूस बाहेक अरु कुनै उपाय छैन।

४) धर्मीकरणको आधार

"उहाँको रगतद्वारा धर्मी ठहरिएको हुनाले" (रोमी ५:९)। ख्रीष्टको प्रतिस्थापनकारी मृत्यु पापी मानिसको धर्मीकरणको एक र एउटै मात्र आधार हो (१ पत्रुस ३:१८; २ कोरिन्थी ५:२१; यशैया ५३:६)।

ईश्वरीय न्यायका सम्पूर्ण मागहरू क्रूसमा सम्पन्न गरिएको ख्रीष्टको कार्यद्वारा पूर्णरूपमा पूरा भइसके। परमेश्वरले आफ्‍नै पुत्रलाई दण्डाज्ञा दिनुभयो गर्नुभयो (रोमी ८:३; २ कोरिन्थी ५:२१) ताकि उहाँले विश्वास गर्ने पापीलाई धर्मी ठहराउन सक्नुभएको होस् (रोमी ४:५)। मेरा प्रतिस्थापकले मेरो पाप लिनुभयो ताकि मैले उहाँको धार्मिकता पाउन सकूँ! (यशैया ५३:६; २ कोरिन्थी ५:२१)। ख्रीष्टको मृत्यु धर्मीकरणको एउटै मात्र आधार हो; नत्रभने हाम्रा मुक्तिदाताको मृत्यु "व्यर्थमा" हुनेथ्यो (गलाती २:२१)।

५) धर्मीकरणको स्रोत

"उहाँको अनुग्रहद्वारा…सित्तैंमा धर्मी ठहरिन्छन्" (रोमी ३:२४)। यो पूरै परमेश्वरबाटको हो र पूरै अनुग्रद्वारा हो! हामी परमेश्वरको धार्मिकताको वरदान पाउन लायक छैनौं (हेर्नुहोस्, रोमी ५:१५-१६)। महसूल उठाउने यो पाउन योग्य थिएनन् (लूका १८:१३-१४) र "भक्तिहीनहरू" यो पाउन योग्य छैनन् (रोमी ४:५)! परमेश्वरले आफ्‍नो अनुग्रहमा यो प्रबन्ध गर्नुभयो, सबैलाई प्रदान गर्नुहुन्छ र विश्वास गर्ने जतिलाई दिनुहुन्छ!

६) धर्मीकरणको माध्यम

"विश्वासद्वारा…धर्मी ठहरिन्छ" (रोमी ३:२८; ५:१)। एक पापीले यो सिद्ध धार्मिकता कसरी प्राप्त गर्दछ? यो "विश्वासद्वारा" प्राप्‍त गरिन्छ। पापी मानिस ख्रीष्टको मृत्युद्वारा धर्मी ठहरिन्छ (आधारको सवालमा) र विश्वासद्वारा धर्मी ठहरिन्छ (अपनाउने सवालमा)। परमेश्वरको धार्मिकताको सित्तैंको दान व्यक्तिगत रूपमा "पाउनु" वा लिनुपर्छ (रोमी ५:१७)।

७) धर्मीकरणको उदाहरण

दुवै पावल र याकूबले प्रस्तुत गरेका मुख्य उदाहरण अब्राहाम हुन् (उत्पत्ति १५:६; रोमी ४; याकूब २)।

८) धर्मीकरणको प्रतिफल

परमेश्वरको सिद्ध धार्मिकता मेरो खातामा राखिएको छ (रोमी ४:३-५) र म यसरी म सिद्धरूपमा धर्मी छु, म आफैंमा होइन (म त अझै पापी नै छु), तर "ख्रीष्ट येशूमा" (२ कोरिन्थी ५:२१; १ कोरिन्थी १:३०)। परमेश्वरले मलाई येशू ख्रीष्ट जत्तिकै धर्मी देख्‍नुहुन्छ (१ यूहन्ना ३:७), मानूँ मैले कहिल्यै पाप नगरेझैं र मैले सधैं परमेश्वरको पवित्र व्यस्थालाई पूरै पालन गरेझैं! धर्मी ठहरिएकोले अब परमेश्वरसित मेरो मिलाप भएको छ (रोमी ५:१) र मलाई कुनै दण्डको आज्ञा छैन (रोमी ८:१; यूहन्ना ३:१८; ५:२४)। [साथै हेर्नुहोस् "अनुग्रहको धन" भन्ने शीर्षक गरेको अध्ययन]।

९) धर्मीकरणको प्रमाण

अब्राहाम "कामहरूद्वारा धर्मी ठहरिए" भनी याकूब भन्छन् (याकूब २:१४-२२)। "हाम्रो विश्वास देखाउने" चाहिँ यसरी हो र मानिसहरूलाई हाम्रो धर्मीकरणको वास्तविकता प्रमाणित गर्ने यसरी हो! साथै हेर्नुहोस् १ यूहन्ना २:२९; ३:७; ३:१०। [निम्न शीर्षक गरेको अध्ययन हेर्नुहोस्: "विश्वासद्वारा धर्मीकरण र कामहरूद्वारा धर्मीकरण -- के याकूबले पावललाई खण्डन गरे?"]

१०) धर्मीकरणको आशा (भविष्य)

रोमी ८:३० -- "जसलाई उहाँले धर्मी ठहराउनुभयो, उनीहरूलाई उहाँले महिमा पनि दिनुभयो।" महिमाकरण निश्चित छ र परमेश्वरको मनमा त त्यो भइसक्यो पनि!


पृष्ठ संशोधन मिति: Friday 27-Mar-15
WordofTruth.com.np © 2017