Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

रोमी ५:१-११

यस पृष्ठलाई छाप्नुहोस्

रोमी अध्याय ५

रोमी ५:१

रोमी ४:२५ को एउटा चाबी शब्द ("धर्मीकरण") पाँचौं अध्यायको पहिलो पदसित जोडिन्छ भन्ने कुरालाई ध्यान दिनुहोस् ("धर्मी ठहरिएका हुनाले")। "यसकारण" भन्ने शब्दले यसअघि उल्लेखित कुराहरूलाई इङ्गित गर्दैछ। अहिलेसम्म पावलले रोमीको पुस्तकमा निम्न कुराहरू देखाइसकेका छन्…

धर्मीकरणको खाँचो - सबै मानिसहरू परमेश्वरका सामु पापी र दोषी छन् (रोमी १-३)

धर्मीकरणको उपाय - ख्रीष्टको उद्धारकारी क्रूसको कार्यको आधारमा विश्वासद्वारा अनुग्रहले (रोमी ३:२४-२८)

धर्मीकरणको उदाहरण - अब्राहामको उदाहरण (रोमी ४)

पाँचौं अध्यायबाट नयाँ खण्डको सुरुआत हुन्छ। पावलले अब धर्मीकरणका केही उपलब्धीहरू बताउन थाल्छन् (रोमी ५:१-११)। धर्मीकरण परमेश्वरको सित्तैंको वरदान हो (रोमी ५:१८) र यो मुक्ति-प्राप्तिको घडीमा एउटै सिङ्गो उपहारको रूपमै प्राप्त गरिएको सँगालोको साथसाथै प्राप्त गरिन्छ। रोमी ५:१ मा पावल यो चाहन्छन् कि हामीले उक्त उपहारको सँगालोलाई खोलेर हेरौं र त्यसभित्र भएका केही उपलब्धीहरू र आशिषहरूलाई देख्न सकौं! एकदुईटा उदाहरणहरू यस प्रकार छन्…

रोमी ५:१ - हामीले परमेश्वरसित शान्ति पाएका छौं

रोमी ५:२ - हामीले अनुग्रहमा ओहोदा र प्रवेश पाएका छौं

रोमी ५:११ - हामीले मिलाप पाएका छौं

यी सबै आशिषहरू र उपलब्धीहरूको कारणले गर्दा यहाँ ढुक्कसाथ गर्व र आनन्द गर्ने प्रशस्त ठाउँ छ: रोमी ५:२ -- "हामी आनन्द मनाउँछौं"; रोमी ५:३ -- "हामी आनन्द मनाउँछौं"; रोमी ५:११ - "हामी आनन्द मनाउँछौं"। यी तीनै ठाउँमा एउटै ग्रीक शब्द प्रयोग भएको छ। उक्त क्रियापदको माने हो, "गर्व गर्नु, घमन्ड गर्नु, गर्वसित आनन्द मनाउनु।" उहाँको अनुग्रहले हाम्रा भएका परमेश्वरका आशिषहरूका निम्ति हामीले धेरै गर्व गर्न सक्छौं! हामी एक महान् परमेश्वरमा गर्व गर्छौं र घमन्ड गर्छौं!

कोहीकोही "दोस्रो आशिष" वा "अनुग्रहको दोस्रो काम" पाउनु आवश्यक छ भन्छन्। उनीहरू मुक्तिपछि एउटा अनुभव पाउनुपर्छ भन्छन् जसलाई उनीहरू अन्यभाषा वा "आत्माको बप्तिस्मा" भन्छन्। यसको जवाफ निम्न बुँदाहरूले दिन्छ:

१. धर्मीकरणसित पाइने आशिषहरू विश्वासद्वारा धर्मी ठहरिएका जति सबैका निम्ति हुन्।

२. ख्रीष्टमा भएको विश्वासी जन स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले आशिषित बनाइसकिएको छ (एफेसी १:३)। विश्वासीलाई ख्रीष्टमा पाइने एउटै कुराको पनि घटी छैन। यदि कसैसित ख्रीष्ट हुनुहुन्छ भने (१ यूहन्ना ५:११-१२; हिब्रू १३:५) उसलाई कुनै कुराको घटी छैन।

३. विश्वासी ख्रीष्टमा धनवान् बनाइएको छ भन्ने कुरा १ कोरिन्थी १:५ बाट सिक्न सकिन्छ (शारीरिक कोरिन्थीहरूको सवालमा पनि यो कुरा सत्य नै थियो)। हामी यदि ख्रीष्टमा धनवान् भइसकेका छौं भने (२ कोरिन्थी ८:९) हामीलाई दोस्रो आशिष किन चाहियो?

४. विश्वासी जन ख्रीष्टमा पूर्ण छ (कलस्सी २:९ सित १:१९ लाई दाँज्नुहोस्)।

५. उहाँले मेरो निम्ति आफ्नै पुत्रलाई समेत बाँकी नराखीकन त्यसको साथसाथै मलाई सबै कुराहरू सित्तैंमा दिनुभएको छ भनेर बाइबलले सिकाउँछ (रोमी ८:२१)। म आशिषित भएको छु र साँच्ची नै आशिषित भएको छु!

यदि ख्रीष्टमा हामीले सबै आत्मिक आशिषहरू पाइसकेका छौं भने हामीलाई कुन कुराको घटी छ र?

विश्वासीहरूले दोस्रो आशिष नपाउनु खास समस्या होइन। बरु विश्वासीहरूले आफूहरू ख्रीष्टमा कति आशिषित छौं भन्ने कुरा महसुस नगर्नु चाहिँ खास समस्या यो हो। उनीहरू आफ्ना धनलाई दाबी गर्दैनन् र आफ्न सम्पत्तिलाई आफ्नो बनाउँदैनन्। राजाका छोराछोरीहरू खातेजस्ता भएर जिउन छाड्नुपर्छ।

पावलले रोमी ५ अध्यायमा नआइपुगेसम्म मुक्तिका आशिषहरूलाई प्रस्तुत नगर्नु उल्लेखनीय कुरा छ। पावलले सुसमाचार (रोमी १-४) खाँचोको आधारमा प्रस्तुत गरे, आशिषहरूको आधारमा होइन। हराएकाहरूले उनीहरूलाई मुक्तिदाताको किन खाँचो छ भनेर जान्नैपर्छ। आफ्नो भयङ्कर खाँचो जब उनीहरूले देख्छन् र मुक्तिदाताकहाँ आउँछन् तब तिनीहरूले मुक्तिसित पाइने सबै आशिषहरूलाई बुझ्न थाल्नेछन् (रोमी ५)। धेरैपटक सुसमाचारलाई हराएकासामु सक्दो आकर्षक बनाउने प्रयास गरिन्छ र उसले ख्रीष्टमाथि भरोसा गर्यो भने उसले कति उदेकका आशिषहरू पाउनेछन् भनी बताइन्छ: "तपाईंले प्रभुमाथि विश्वास गर्नुभयो तपाईंले परमेश्वरसित मिलाप पाउनुहुनेछ!" तर यहाँ समस्या यो छ कि उसले परमेश्वरसित मिलाप पाउनुपर्ने खाँचो देख्दैन। उसलाई पवित्र शास्त्रबाट यो देखाइनुपरेको छ कि उसको पापी अवस्थामा ऊ परमेश्वरको शत्रु हो, कि उसले विद्रोहमा परमेश्वरसित युद्ध गर्दैछ अनि यो कि स्वर्गबाट उसको विरुद्धमा परमेश्वरको क्रोध प्रकट भएको छ (हेर्नुहोस् रोमी १:१८; ५:१० आदि)। फाइदाको आधारमा नभई खाँचोको आधारमा सुसमाचार प्रस्तुत गर्नुपर्छ भन्ने कुराको महत्त्व बारे यस अध्ययन टिप्पणीको पहिलो अध्यायमा हेर्नुहोला।

धर्मी ठहरिएका हुनाले = धर्मीकरणको काम विश्वासीको जीवनमा चलिरहने एउटा प्रक्रिया होइन; यो त तपाईंले मुक्ति पाएकै घडीमा पूरा भएको एउटा काम हो।

तपाईं विश्वासद्वारा धर्मी ठहरिनुभएकोले परमेश्वरसित तपाईंले मिलाप पाउनुभएको छ। परमेश्वरसितको मिलाप प्रत्येक विश्वासीसित भएको कुरा हो! मेरो र परमेश्वरबीच भएको पहिलेको शत्रुता अब सधैंका लागि बितेर गइसकेको छ! युद्ध टुङ्गियो! म आफ्ना सृष्टिकर्तासित मिलापमा छु र उहाँले मलाई पूरै ग्रहण गर्नुभएको छ। म को हुँ वा मैले के गरेको छु भन्ने कुनै पनि आधारमा म ग्रहणयोग्य हुन गएको होइन। तर येशू ख्रीष्ट को हुनुहुन्छ र उहाँले के गरिदिनुभएको छ (एफेसी १:६-७) भन्ने आधारमा नै म ग्रहणयोग्य हुन गएको हुँ। परमेश्वर आफ्नो प्रिय पुत्रसित अति प्रसन्न हुनुहुन्छ (मत्ती ३:१७) अनि परमेश्वर मसित अति प्रसन्न हुनुहुन्छ किनकि म उहाँको प्रिय पुत्रमा अवस्थित छु (एफेसी १:६ -- "ग्रहणयोग्य" भनेको "ज्यादै अनुग्रहित")। दुःखको कुरा, यस ग्रहणयोग्य बनाइएको कुरालाई प्रायः विश्वासीहरूले परमेश्वरको वचनलाई नपत्याएको पाइन्छ। सब कुरा राम्ररी चलिरहेको बेलामा र परमेश्वरले आशिष दिरहनुभएको जस्तो देखिँदा परमेश्वरले उनीहरूलाई ग्रहण गर्नुभएको छ भन्ने उनीहरूलाई लाग्दछ। तर कतै ठेस खान पुग्दा र सब कुरा गाह्रो र साह्रो भएझैं लाग्दा, उनीहरूलाई लाग्छ परमेश्वरले उनीहरूलाई प्रेम गर्नुहुन्न र ग्रहण गर्नुहुन्न। यो कसरी हुन सक्छ? परमेश्वरको सामु हामीलाई सिफारिश गराउन सक्ने कुरा हामीसित एउटै छैन। हामी ग्रहणयोग्य बनेको ख्रीष्ट येशूमा हो, आफैमा होइन। परमेश्वरले हामीलाई केवल अनुग्रहले उहाँको पुत्रमा ग्रहण गर्नुभएको छ, अनि हामीले यसै तथ्यलाई आफ्नो विश्वासको आधार बनाउनुपर्छ।

मेरो र परमेश्वरको बीचमा बिगतमा रहेको शत्रुतालाई म कहिल्यै नभुलूँ। निम्न गम्भीर पदहरूलाई ध्यानपूर्वक विचार गर्नुहोस्:

रोमी १:१८ (मेरो विरोधमा परमेश्वरको क्रोध थियो)

रोमी २:२ (मेरो विरोधमा परमेश्वरको न्याय थियो)

भजनसङ्ग्रह ५:५ (परमेश्वर मलाई घृणा गर्नुहुन्थ्यो)

भजनसङ्ग्रह ७:११(परमेश्वर दिनहुँ मसित रिसाउनुहुन्थ्यो)

हितोपदेश १५:८ (मैले प्रायस गरेका असल र धार्मिक काम समेत परमेश्वरलाई पूरै अस्वीकारयोग्य थिए)

रोमी ८:८ (परमेश्वरलाई खुसी पार्न उद्धाररहित व्यक्तिले गर्न सक्ने एउटै कुरा छैन)

हो, मेरो दुष्ट कामहरूले (कलस्सी १:२१) म परमेश्वरको शत्रु थिएँ (रोमी ५:१०)। दुष्टलाई कुनै शान्ति हुँदैन (यशैया ४८:२२; ५७:२०-२१)।

परमेश्वरसित मिलाप (शान्ति) एउटा मात्र उपायले सम्भव भयो -- क्रूसद्वारा(हेर्नुहोस कलस्सी १:२०-२१ र एफेसी २:१३-१८)।

मेरो विरोधमा हुनुभएको परमेश्वर (रोमी १:१८; २:२) अब मेरो विरोधमा हुनुहुन्न भन्ने जानेर म कति धन्यवादी हुनुपर्ने हो (रोमी ८:३१)। उहाँ मेरो पक्षमा हुनुहुन्छ (भजनसङ्ग्रह ११८:६)!

परमेश्वरसितको शान्ति (मिलाप) हरेक विश्वासीको आशिषमय हिस्सा हो। परमेश्वरको शान्ति (फिलिप्पी ४:७) फरक कुरा हो।

फिलिप्पी ४:७ मा बयान गरिएको परमेश्वरको शान्ति अनुभव गर्न विश्वासीले फिलिप्पी ४:६ का शर्तहरू पूरा गर्नुपर्ने हुन्छ। शर्तहरू यस प्रकार छन्: १) कुनै कुराको फिक्री नगर्नु; २) प्रार्थना = परमेश्वर को हुनुहुन्छ भन्ने आधारमा उहाँकहाँ जानु; ३) विन्ती = मेरो जीवनको निश्चित खाँचोको आधारमा एक निश्चित माग (जुन कुराले मलाई फिक्री लाग्दैथियो); ४) धन्यवाद = परमेश्वरले आफ्नै तरिकामा र आफ्नै समयमा समस्याको समाधान गर्नुहुन्छ भनेर धन्यवाद दिनु। यी चारओटा काम गरियो भने यसको प्रतिफल परमेश्वरको शान्ति हुनेछ। साथै यूहन्ना १४:२७ मा बताइएको ख्रीष्टको शान्तिको वरदानलाई पनि यहाँ उल्लेख गर्दछौं जसले गर्दा विचलित संसारको बीचमा हामीसित अविचलित हृदय हुनु सम्भव छ (दाँज्नुहोस् यूहन्ना १६:३३)। के हामी ख्रीष्टले हामीलाई दिनुभएको वरदानमा रमाउँदैछौं?

साथै ओहोदामा ग्रहणयोग्य हुनु र अनुभवमा ग्रहणयोग्य हुनु बीचको भिन्नता (अथवा ओहोदा र अवस्थाको बीचको भिन्नता) लाई पनि बुझ्नु आवश्यक छ। ख्रीष्टमा हामी ओहोदामा राखिएको हुनाले ग्रहणयोग्य भएका छौं र परमेश्वर हामीसित सधैं प्रसन्न हुनुहुन्छ किनकि हामी उहाँको प्रिय पुत्रमा राखिएका छौं (मत्ती ३:१७ लाई एफेसी १:६ सित तुलना गर्नुहोस्)। तर हाम्रो वास्तविक अवस्थामा (संसारमा हामी प्रभुसित हिँड्दाहुँदीको हाम्रो वास्तविक अनुभवमा) हामीले कि त प्रभुलाई खुसी पारिरहेका हुन्छौं कि त बेखुसी पारिरहेका हुन्छौं (हेर्नुहोस् २ तिमोथी २:४; १ थेस्सलोनिकी ४:१; गलाती १:१०; १ यूहन्ना ३:२२; कलस्सी १:१०; ३:२०; रोमी १२:२; एफेसी ५:१०; २ कोरिन्थी ५:९; १ कोरिन्थी ७:३२)। चाबी पद हिब्रू ११:५-६ ले यो बताउँछ कि हामीले परमेश्वरलाई खुसी पार्ने विश्वासद्वारा हो। साथै रोमी ८:८-९ सित पनि तुलना गर्नहोस् जहाँ यो दर्शाइएको छ कि हामी परमेश्वरलाई तबमात्र खुसी पारेका हुन्छौं जब हामी आत्मामा हिँड्दछौं (दाँज्नुहोस् गलाती ५:१६)। यसरी त्यहाँ विभिन्न पदहरूले हामी अनुभवमा ग्रहणयोग्य हुने भन्ने बारेमा (अर्थात् विश्वासमा हामी दिनदिनै हिँडेर र पवित्र आत्माको भरमा हिँडेर हामीले परमेश्वरलाई खुसी पार्नुपर्छ भन्ने बारेमा) बताउँछन्, तर हामी ओहोदामा ग्रहणयोग्य भइसकेको कुराको महत्त्वलाई कहिले सानो ठान्नुहुँदैन। धेरै विश्वासीहरू उनीहरू पिताको निम्ति ख्रीष्टमा प्रसन्न तुल्याउने र पूर्णरूपमा ग्रहणयोग्य भइसकेका छन् भन्ने कुरा जान्दैनन् र विश्वास गर्दैनन् र ठान्दैनन्। जति हामी ओहोदामा ग्रहणयोग्य भएका छौं भन्ने कुरामा विश्वासैद्वारा भर पर्छौं उति नै हामी हाम्रो दिनदिनको हिँडाइमा परमेश्वरलाई खुसी पार्न स्वतन्त्र हुनेछौं।

रोमी ५:२

उहाँद्वारा = ख्रीष्टद्वारा हामीले शान्ति ("मेलमिलाप") पाएका छौं (पद १) र ख्रीष्टद्वारा हामीले प्रवेश पाएका छौं। प्रवेशको ग्रीक शब्दको शाब्दिक माने हुन्छ, "डोर्याउने वा कसैको सामु ल्याउने काम"। परमेश्वरले हामीलाई उहाँकै सामु उहाँकै उपस्थितिभित्र डोर्याउनुहुन्छ र ल्याउनुहुन्छ! ख्रीष्टले यो सम्भव गराउनुभयो (एफेसी २:१३-१८; हिब्रू १०:१९-२०) अनि हामी आउन सक्ने केवल उहाँद्वारा मात्र हो (यूहन्ना १४:६)। परमेश्वरले विश्वासीलाई उहाँको उपस्थितिमा साहससित आउनलाई आज्ञा गर्नुहुन्छ (हिब्रू ४:१६; १०:१९,२२)!

संसारमा राजा वा राष्ट्रपति वा अन्य "महत्त्वपूर्ण" व्यक्तित्वको "दर्शनभेट" गर्न ज्यादै कठिन वा असम्भव नै हुन्छ। तर राष्ट्रपतिको छोराको विशेष अधिकार हुन्छ र ऊ उसको कार्यालयभित्र सिधै छिर्न सक्छ। परमेश्वरको सन्तानको हैसियतले विश्वासी पनि आफ्नो पवित्र, स्वर्गीय पिताकै सम्मुखमा कुनै पनि समय कुनै पनि ठाउँमा आउन सक्छ र राजाहरूका राजासित दर्शनभेट गर्न सक्दछ।

पुरानो नियमका दुईटा उदाहरणहरूबाट हामीले पाएको यस प्रवेश कति ठूलो विशेषाधिकार हो र कति ठूलो आशिष हो भन्ने कुरा देख्न सक्छौं: १) सिनाई पर्वतको सामु इस्राएलका सन्तान -- पवित्र परमेश्वरले सिनाई पर्वतमा आफ्नो पवित्र व्यवस्था दिनुहुँदा मानिसहरूलाई प्रवेश दिइएन। उनीहरूलाई टाढा बस्न भनियो र धेरै नजिक नजान चेतावनी दिइयो (प्रस्थान १९:१२-१३,१६,१८,२१-२४); २) भेट हुने पालको सामु इस्राएलका सन्तान -- परमेश्वरले महापवित्रस्थान (भेट हुने पालभित्रको पर्दापछाडिको सबभन्दा भित्री कोठा) को कृपाआसनमाथि विशेष रूपमा आफ्नो महिमा र उपस्थितिलाई प्रकट गर्नुभयो। इस्राएलको सन्तानलाई कस्तो किसिमको पहुँच (प्रवेश) दिइयो? उनीहरूलाई दिइएको प्रवेश ज्यादै सीमित थियो! त्यस ठाउँमा एकजना मात्र पस्न पाउँथ्यो र ऊ वर्षको एक पटक मात्र पस्न पाउँथ्यो (हिब्रू ९:७)! आज कति फरक छ! ख्रीष्टले पूरा गर्नुभएको कामले गर्दा त्यो पर्दा च्यातिएको छ (मत्ती २७:५१) र विश्वासीहरू "महापवित्रस्थान" भित्र (हिब्रू १०:१९) पस्न पाउँछन्। हामीलाई असीमित प्रवेश छ (हिब्रू ४:१६; १०:१९-२०)। के हामी यसको फाइदा लिँदैछौं?

यही अनुग्रहभित्र हामी खडा छौं" -- एक व्यक्ति धर्मी ठहिरिसकेको छ भने (रोमी ५:१), ऊ असल ठाउँमा खडा छ! उसको ओहोदा राम्रो छ। विश्वासीहरूले अनुग्रहमा सुन्दर ओहोदा पाएका छन्! परमेश्वरको निगाहभित्र उनीहरू खडा छन्। "हामी खडा छौं" भन्ने क्रियापद पूर्णकालमा (perfect tense) छ जसको माने हामी अनुग्रहभित्र खडा छौं र हामी अनुग्रहभित्र खडा भइरहन्छौं र यो खडा हुवाइ (ओहोदा) कहिल्यै बदलिँदैन! पवित्र परमेश्वरको उपस्थितिभित्र एकजना पापी कसरी खडा हुन सक्छ र उहाँको भलाइको भागीदार कसरी हुन सक्छ? केवल अनुग्रहले मात्र हो (हेर्नुहोस् भजनसङ्ग्रह १३०:३-४; भजनसङ्ग्रह १०३:१०)। हामी परमेश्वरको सामु खडा हुन सक्छौं किनभने उहाँको अनुग्रहमा र ख्रीष्टले पूरा गर्नुभएको कामको आधारमा प्रभुले हामीसित पापको हिसाब माग्नुहुन्न (रोमी ४:८)। यदि परमेश्वरले पापको हिसाब लिने हो भने अवश्य पनि हामीमध्ये कोही पनि खडा हुन सक्ने थिएनौं (भजनसङ्ग्रह १३०:३; भजनसङ्ग्रह १:५-६)!

आनन्द = गदगद हुनु, गर्वसित हर्षित बन्नु। यो शब्द यही अध्यायको दुईटा ठाउँमा छ (पद ३ र पद ११)।

आशा = यो शब्दले कुनै भविष्यको कुरालाई जनाउँछ, भविष्यको प्रतीक्षा (हेर्नुहोस् रोमी ८:२४)। नेपालीमा "आशा" ले अनिश्चयताको अर्थ बोकेको हुन्छ ("आज मौसम उघ्रेला कि भन्ने आशा गरेको छु"; "आज विदेशबाट छोराको फोन आउला कि भनेर आशा गरेको छु")। नयाँ नियममा "आशा" शब्दले निश्चयताको अर्थ बोकेको हुन्छ किनभने जब परमेश्वरले भविष्यमा कुनै कुरा हुनेछ भनेर भन्नुहुन्छ त्यो कुनै शङ्का बिना हुने नै छ भनेर हामीले प्रतीक्षा गर्न सक्छौं। यसको एउटा उदाहरण हो तीतस २:१३ -- "धन्यको आशा" (खुशीको प्रतीक्षा)। ख्रीष्टको आगमन सम्बन्धी कुनै अनिश्चयता छैन (यूहन्ना १४:२-३) केवल हामीलाई उक्त घडी थाहा छैन। उहाँ आउनुहुन्छ भन्ने कुरामा हामी निश्चित छौं तर उक्त भव्य घटना कहिले हुनेछ भन्ने कुरामा हामी निश्चित छैनौं।

परमेश्वरको महिमा -- यो चाहिँ भविष्यको कुरा हो जसको प्रतीक्षामा विश्वासी जन पर्खिरहेको छ। विश्वासीको एउटा महिमित भविष्य छ जसलाई परमेश्वरले ठहराउनुभएको छ उसको निम्ति र तयार पार्नुभएको छ (दाँज्नुहोस् १ कोरिन्थी २:९-१०)। विश्वासीको महिमाकरण निम्न खण्डहरूमा देखिन्छ: रोमी ८:१८; ८:३० (त्यो यति पक्का छ कि परमेश्वरको दृष्टिकोणबाट हेर्दा त्यो भई पनि सक्यो!); २ कोरिन्थी ४:१७; १ पत्रुस १:११; ४:१३; ५:१०; १ यूहन्ना ३:१-२; इत्यादि।

रोमी ५:३

हामी आनन्द मनाउँछौं, आफ्नो भविष्यको आशा (पद २) को खातिर मात्र होइन, तर हाम्रा सङ्कष्टहरूले धैर्य उत्पन्न गर्दछ भन्ने वर्तमान निश्चयताको खातिर पनि आनन्द मनाउँछौं (पद ३)। सङ्कष्ट एउटा अमिल्दो कुरा होइन बरु त्यो आफ्ना जनहरूका निम्ति परमेश्वरको प्रेमिलो योजनामा रहेको कुरा हो।

सङ्कष्टहरू= दबाउने कुराहरू, कष्टहरू, हामीलाई निचोर्ने जीवनका दुःखहरू, परीक्षाहरू, समस्याहरू, कठिनाइहरू, आदि। हेर्नुहोस् यूहन्ना १६:३३; प्रेरित १४:२२ र १ थेस्सलोनिकी ३:३-४ (सङ्कष्टहरू आइपर्ने कुरा नै हुन्)। विश्वासी जन सङ्कष्टमा किन रमाउँदछ? किनभने उसलाई एउटा कुरा थाहा छ! उसलाई थाहा छ कि सङ्कष्टले धैर्य उत्पन्न गर्छ।

धैर्य = यसको शाब्दिक माने "मुनि रहिरहरनु, बसिरहनु"। तसर्थ यसको माने कठिनाइहरूका बीचमा सहनशील हुनु, थेगिरहनु, मुनि बसिरहनु, समस्याका बीचमा "धन्यवाद" भन्नु। परीक्षाका बीच धैर्यतापूर्वक सहने भन्ने बुझिन्छ। परीक्षा र समस्याहरूले विश्वासीलाई झन् बलियो बनाउनुपर्छ। दबाउने कुराहरूले हामीलाई प्रभु येशू ख्रीष्टभित्र झन् दबिने बनाउनुपर्छ र फलस्वरूप हामीले उहाँको अनुग्रहको पूरा प्रशस्तता जान्न सकौं। दाँज्नुहोस रोमी १२:१२। हरेक परिस्थितिमा ख्रीष्ट प्रशस्त हुनुहुन्छ!

रोमी ५:४

खारिएको गुण -- योचाहिँ "जाँच्नु" भन्ने शब्दबाट आएको हो। परमेश्वरले किन हामीलाई सङ्कष्ट पठाउनुहुन्छ? उहाँले हामीलाई जाँच्दै हुनुहुन्छ! परमेश्वरले अब्राहामलाई आफ्नो छोरा किन बलिदान चढाउन लाउनुभयो (उत्पत्ति २२)? उहाँले उसको विश्वास जाँच्दैहुनुहुन्थ्यो! हाम्रो विश्वासको जाँच एउटा बहुमूल्य कुरा हो (१ पत्रुस १:७)। प्रत्येक परीक्षा र कठिनाइ प्रभुमा भरोसा गर्ने र उहाँ विश्वासयोग्य र प्रशस्त हुनुहुन्छ भनेर पत्ता लगाउने अपूर्व अवसर हो। "खारिएको गुण" शब्दले "जाँचिएको" भन्ने माने बोकेको छ। यसको आशय हो: हामी जाँचिन्छौं मात्र होइन (परमेश्वरले आउन दिनुभऐका सङ्कष्टहरूले) तर हामी जाँच पास पनि गर्छौं (जसरी अब्राहामले गरे उत्पत्ति २२ मा)। "खारिएको गुण" शब्दले "प्रमाणित चरित्र" भन्ने आशय बोकेको छ अथवा "जाँचेर प्रमाणित" वा "जाँचेर प्रमाणित भएको चरित्र"। यसले त्यो व्यक्तिलाई जनाइरहेको छ जसले उसको अग्निमय परीक्षा सफलतापूर्वक सहेको छ। उसले सिकेको छ कि परमेश्वरको अनुग्रहले उसले सहन सक्छ। "सङ्कष्टको बीचमा मैले परमेश्वरमाथि भरोसा गरेको छु र परमेश्वर विश्वासयोग्य हुनुहुन्छ भनेर मैले पत्ता लगाएको छु!"

खारिएको गुणले आशा [उत्पन्न गर्छ] -- चक्र पूरा भएको छ! पद २ मा हामी "आशा" बाट सुरु गरेका थियौं र पद ४ मा हामी "आशा" मै फर्केर आइपुगेका छौं। उदाहरण: एक जवान पर्वतारोही पहिलो प्रयासमा सफल हुन्छ। यसले उसलाई आशा दिन्छ: "म फेरि पनि सक्छु!" जीवनका हरेक उकालीमा परमेश्वरको विश्वासयोग्यता अनुभव जब गर्छौं यसले हाम्रो हृदयमा एउटा निश्चयताको प्रतीक्षा उत्पन्न गर्दछ जसले भन्दछ, "म उहाँकहाँ नपुगुन्जेल परमेश्वर विश्वासयोग्य भइरहनुहुनेछ!"

रोमी ५:३-४ लाई दर्शाउने एउटा उदाहरण हो प्रेरित ७ मा स्टिफनसको:

  1. स्टिफनसले ठूलो विरोध र दबाबको सामना गर्दै थिए: सङ्कष्ट
  2. स्टिफनसले ठूलो धैर्य देखाए। उनी त्यसमा साहससित अडिग रहे: धैर्य (प्रेरित ७:५५)।
  3. स्टिफनसले उक्त परीक्षा भव्यसित परमेश्वरकै स्याबासीका साथ पास गरे: खारिएको गुण
  4. स्टिफनससित एउटा धन्यको आशा थियो (प्रेरित ७:५५)।
रोमी ५:५

"आशा" = भविष्यको प्रतीक्षा (पद २ र त्यस अन्तर्गतका टिप्पणीलाई हेर्नुहोस्)। मेरो भविष्यमा हुने मुक्ति र महिमाकरण पक्का छ! ख्रीष्टमा आशा राख्नेहरू कहिल्यै लज्जित वा निरुत्साहित हुनुपर्दैन। मुक्तिका तीन चरणलाई ध्यानमा राख्नुहोला-- भूत, वर्तमान र भविष्य (दाँज्नुहोस् २ कोरिन्थी १:१० जहाँ परमेश्वरको महिमित छुटकारा तीन कालमा हुन्छन् भनेर देख्छौं)।

भूत - म पापको दण्डबाट बचाइएँ किनकि ख्रीष्टले मेरो निम्ति मृत्युदण्ड भोग्नुभयो (यसलाई भनिन्छ धर्मीकरण, JUSTIFICATION)।

वर्तमान - म पापको शक्तिबाट बचाइँदैछु र पापको शासनमुनि म रहनुपर्दैन (यसलाई भनिन्छ पवित्रीकरण, SANCTIFICATION -- हेर्नुहोस् रोमी ६:१८,२२ "पापबाट स्वतन्त्र")।

भविष्य - म पापकै उपस्थितिबाट बचाइनेछु (यसलाई भनिन्छ महिमाकरण, GLORIFICATION)

"आशा" भन्ने शब्दले मुक्तिको भविष्य-पक्षलाई औंल्याउँछ (हेर्नुहोस् रोमी ५:९-१० जहाँ यस भविष्य-पक्षलाई जोड दिइएको छ: "बचाइनेछौं")। विश्वासी भएर म आफ्नो हृदयमा यो जान्न सक्छु कि मेरो भविष्यको मुक्ति पक्का छ र जुन परमेश्वरले मभित्र बचाउने काम सुरु गर्नुभयो उहाँले पूरा गर्नुहुनेछ (फिलिप्पी १:६)! उहाँले जे सुरु गर्नुहुन्छ त्यो पूरा गर्नुहुन्छ (रोमी ८:२९-३०)! विश्वासीसित यस्तो निश्चयता र यस्तो प्रतीक्षा (आशा) कसरी हुन सक्छ? "किनभने परमेश्वरको प्रेम हाम्रा हृदयहरूमा खन्याइएको छ" (रोमी ५:५)।

"परमेश्वरको प्रेम" = यसले हामीले उहाँलाई गरेको प्रेमलाई नभएर हामीप्रति प्रकट गरिएको उहाँको प्रेम (पद ८) लाई जनाउँदछ। हुन त, यी दुई आपसमा सम्बन्धित कुरा हुन् ("हामी उहाँलाई प्रेम गर्छौं किनभने उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो" -- १ यूहन्ना ४:१९)। परमेश्वरको पवित्र आत्मा मेरो हृदयमा काम गर्नुहुन्छ अनि उहाँले मलाई उहाँको महान् प्रेमको निश्चयता दिनुहुन्छ (जुन क्रूसमा प्रकट गरियो -- पद ६-१०)। यदि परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ भने यो पक्का छ कि उहाँले मलाई अन्तसम्म बोक्नुहुनेछ र मेरो मुक्तिको अन्तिम पूर्णतासम्म पुर्याउनुहुनेछ!

हामीलाई दिइनुभएको पवित्र आत्मा पवित्र आत्मा हरेक विश्वासीलाई परमेश्वरबाटको वरदान हुनुहुन्छ (हेर्नुहोस् यूहन्ना ७:३९; रोमी ८:९; १ कोरिन्थी ६:१९)। धर्मीकरणको एउटा उपलब्धी चाहिँ पवित्र आत्मा परमेश्वरको हामीभित्र अन्तरवास गर्नुहुने उपस्थिति हो। उहाँको एउटा सेवकाइ चाहिँ हामीलाई क्रूसमा प्रकट गरिएको हाम्रो मुक्तिदाताको प्रेमतर्फ औंल्याउनु हो र यस प्रेमलाई हाम्रो हृदयभित्र खन्याउनु हो (रोमी ५:५-१०)। यसपछिका पदहरूले हामीलाई कलवरीको क्रूसतिर हेर्न लाउँछन् र हामीलाई परमेश्वरको प्रेम र हाम्रो भविष्य र पूर्ण मुक्तिको सम्बन्धमा उक्त प्रेमको माने कस्तो छ भन्ने कुराको व्याख्या गर्छन्।

रोमी ५:६

कमजोर हुँदाखेरि -- हाम्रो हराएको अवस्थाको गहकिलो वर्णन: एकदम कमजोर, शक्तिहीन, असहाय। आफूलाई बचाउन वा आफ्नो हराएको अवस्थालाई बदल्न हामीले गर्न सक्ने एउटै कुरा थिएन। हामीलाई एक सामर्थी मुक्तिदाताको खाँचो थियो!

ठिक समयमा = दाँज्नुहोस् गलाती ४:४-५। हाम्रो उद्धाररहित अवस्थालाई परमेश्वरले गर्नुभएको बयानलाई ध्यान दिनुहोस्: भक्तिहीन (पद ६); पापीहरू (पद ८); परमेश्वरका शत्रु (पद १०)। ख्रीष्ट भक्तिहीनका निम्ति मर्नुभयो र नालायकलाई प्रेम गर्नुभयो। हामीमा प्रेम गर्न योग्य एउटै कुरा नभए तापनि हामीलाई प्रेम गर्नुभयो।

भक्तिहीन -- हेर्नुहोस् रोमी ४:५। भक्तिहीन ती हुन् जोसित परमेश्वरको कुनै डर छैन, परमेश्वरप्रति कुनै आदरभाव छैन र परमेश्वरप्रति कुनै भक्तिभाव छैन (हेर्नुहोस् रोमी ३:१८)। ख्रीष्ट यस किसिमका मानिसका निम्ति मर्नुभयो!

निम्ति = यसले प्रस्टै प्रतिस्थापना (SUBSTITUTION) को अर्थ बोकेको -- दाँज्नहोस् १ पत्रुस ३:१८)।

रोमी ५:७

यस पदले एउटा तुलना गरेर थप बयान गर्दछ। मानिसको सबैभन्दा ठूलो प्रेम पनि परमेश्वरक प्रेमको नजिक आउँदैन। मानिसले आफ्नो मित्रको निम्ति प्राण देला (यो धेरै हुने गर्दैन तर यहाँ त्यहाँ हुने गर्छ), तर परमेश्वर-मानिसले आफ्ना शत्रुका निम्ति उहाँको प्राण अर्पण गर्नुभयो!

मुस्किलले = गाह्रै, विरलै

धर्मी - तुलनामा ख्रीष्ट अधर्मीहरूका निम्ति मर्नुभयो (हेर्नुहोस् १ पत्रुस ३:१८)।

सायद = सम्भवतः

आँट गर्ला कि = साहस गर्ला कि

उदाहरण: जनवरी १३ १९८२ को घटना

रोमी ५:८

तर - भिन्नता नोट गर्नुहोस्! मानिसले आँट गर्ने भन्दा अत्यन्तै बढ्ता परमेश्वरले गर्नुभयो! उहाँले आफ्ना शत्रुका निम्ति आफ्नो ज्यान दिनुभयो!

प्रकट गर्नुहुन्छ = देखाउनुहुन्छ, प्रत्यक्ष दर्शाउनुहुन्छ

पापीहरू = निशाना चुकेकाहरू, जोहरू परमेश्वरको धर्मी मानदण्डभन्दा कम भेटिए (हामी सबैले सर्वशक्तिमान् परमेश्वरको विरुद्धमा पाप गरेका छौं! हेर्नुहोस् रोमी ३:२३)।

परमेश्वरले आफ्नो प्रेम कसरी देखाउनुहुन्छ? परमेश्वरको प्रेमलाई देख्न हामी कता हेरौं? मानिसहरूले कतिपटक परमेश्वरलाई प्रेमिलो नभएको आरोप लगाउँछन्। "एक प्रेमिलो परमेश्वरले कसरी भारतमा वा अफ्रिकामा लखौंलाई भोकमरीमा पार्नुहुन्छ?" "एक प्रेमिलो परमेश्वरले कसरी भुइँचालोमा हजारौंलाई मर्न दिनुहुन्छ?" इत्यादि। तर परमेश्वरको प्रेमलाई देख्न ठिक ठाउँमा हेर्नुपर्छ! परमेश्वरको प्रेमको सबभन्दा ठूलो प्रदर्शनी कलवरी क्रूस हो! हेर्नुहोस् यूहन्ना ३:१६; १ यूहन्ना ३:१६; ४:९-१०।

रोमी ५:९-१०

यी दुई पदहरूमा पावलले ठूलोबाट सानोको तर्क राख्दैछन्। अर्को शब्दमा, यदि परमेश्वरले ठूलो गरिसक्नुभएको छ भने सानो त अवश्य गर्नुहुनेछ। यस्तै तर्कको लागि रोमी ८:३२ मा हेर्नुहोस् र साथै मत्ती ६:२५ को आखिरी भागसित तुलना गर्नुहोस् -- यदि परमेश्वरले तपाईंलाई शरीर र जीवन (ठूला कुरा) दिनुभएको छ भने के उहाँले शरीर र जीवन धान्न आवश्यक कुरा प्रबन्ध गर्नुहुन्न र?

रोमी ५:९

यदि परमेश्वरले आफ्नो रगतले धर्मी ठहराइसक्नुभयो भने झन् कति बढ्ता गरी हामी येशू ख्रीष्टद्वारा क्रोधबाट बचाइनेछौं! अर्को शब्दमा, यदि ख्रीष्ट तपाईं अधर्मी हुँदाहुँदै तपाईंलाई बचाउन मर्नुभयो भने तपाईं (उहाँमा) धर्मी भइसकेपछि झन् कति बढ्ता गरी उहाँले तपाईंलाई बचाउनुहुनेछ! यदि तपाईं उहाँको शत्रु हुँदाखेरि उहाँ तपाईंको निम्ति मर्नुभयो भने तपाईं अब उहाँको मित्र बन्नुभएको ले झन् कति बढ्ता तपाईंको निम्ति गर्नुहुनेछ! यदि परमेश्वर म पापी हुँदाहुँदै मर्नुभयो भने भने (पद ८) म उहाँको सन्तान भएपछि झन् कति बढ्ता गरी उहाँले आफ्नो प्रेम ममाथि वर्षाउनुहुनेछ!!

यस पदले पद ९ को अझै व्याख्या गर्छ ("किनभने")। यदि परमेश्वरले हामी उहाँका शत्रु हुँदाहुँदै हामीलाई आफूसित मिलाप गराउनुभयो भने अब हामी उहाँसितको बहुमूल्य सम्बन्धमा प्रवेश गरिसकेपछि झन् कति बढ्ता गरी हाम्रो निम्ति गर्नुहुनेछ!

मिलाप भयो = परमेश्वर र मानिस एकआपसमा शान्ति र मिलापमा ल्याइएका छन् (पद १) र सबै शत्रुता हटिसकेको छ र सङ्गतीलाई छेक्ने सबै वाधा वितेर गएका छन्। पवित्र परमेश्वरलाई पापी मानिसलाई अलग गर्ने भयानक खाडल अब पुरिएको छ र जोडिएको छ। परमेश्वरले आफ्नो पवित्रतालाई सम्झौता गर्नुभएर हामी मिलाप गराइएका होइनौं ("म मानिसलाई मकहाँ आउन दिनेछु किनभने म उसको पापमाथि आँखा चिम्लनेछु र मेरो पवित्रतालाई सम्झौता गर्नेछु" -- यस्तो कदापी हुन सक्दैन!), तर किनभने परमेश्वरले आफ्नो पुत्रलाई बलिदान दिनुभयो!

"उहाँको जीवनद्वारा बचाइनेछौं" -- यी तीन शब्दहरूलाई ठ्याक्कै मेल खाने टिप्पणी हिब्रू ७:२५ मा पाइन्छ। मेरो अनन्त सुरक्षा उहाँको जीवनसित बाँधिएको छ। मैले आफ्नो मुक्ति गुमाउन त बौरिउठ्नुभएका प्रभु येशू मर्नुपर्ने हुन्छ (तर रोमी ६:९-१० र प्रकाश १:१८ मा हेर्नुहोस्)! उहाँ एक पटक मर्नुभयो तर फेरि कहिल्यै मर्नुहुनेछैन! उहाँ जिउनुहुन्छ र हाम्रो निम्ति अन्तरविन्ती गर्नुहुन्छ! उहाँ मलाई बचाउन मर्नुभयो; उहाँ मलाई बचाइराख्न जिउनुहुन्छ!

रोमी ५:११

मिलाप पाएका छौं -- पद १० को "मिलाप भयो" सित जोड्नुहोस्। हाम्रो मुक्तिको उपलब्धीहरूको सँगालोमा मिलाप अर्को ठूलो आशिष हो! मिलाप बारे थप कुरा जान्न २ कोरिन्थी ५:१७-२१ मा पनि हेर्नुहोस्।

रोमी ५:१-११ मा आनन्द मनाउनुपर्ने तीनटा कुरा छन्:

१) हाम्रो भविष्यको रमाहट -- "हामी परमेश्वरको महिमाको आशामा आनन्द मनाउँछौं" (पद २);

२) हाम्रो वर्तमानको रमाहट -- "हामी सङ्कष्टहरूमा आनन्द मनाउँछौं" (पद ३);

३) हाम्रो बिगतको रमाहट -- "हामी परमेश्वरमा आनन्द मनाउँछौं उहाँद्वारा अब हामीले मिलाप पाएका छौं" (पद ११)।

हाम्रो मिलाप सम्पन्न भइसकेको छ (बिगत), परमेश्वरले अब हामीलाई सङ्कष्टहरूद्वारा मोड्दै, ढाल्दै हुनुहुन्छ (वर्तमान) र हाम्रो महिमाकरण अझ आउन बाँकी नै छ (भविष्य)।


पृष्ठ संशोधन मिति: Friday 27-Mar-15
WordofTruth.com.np © 2017