रोमी ५:१२-२१

यस पृष्ठलाई छाप्नुहोस्

रोमी ५:१२

एकजना मानिस = आदम। आदममार्फत पाप संसारभित्र प्रवेश गर्यो। अनि जबजब पाप आउँछ त्यसले साथमा आफ्नो निकटको साथी पनि लिएरै आउँछ: मृत्यु। पाप र मृत्यु एउटा अभिन्न जोडी हुन् -- ती दुई सधैं साथमा रहन्छन्। पापले मृत्यु जन्माउँछ (याकूब १:१५)।

र पापद्वारा मृत्यु आयो = आदमद्वारा पाप संसारमा प्रवेश गर्यो; पापद्वारा मृत्यु संसारमा प्रवेश गर्यो।

उत्पत्ति २:१७ मा पनि पाप र मृत्युबीचको सम्बन्धलाई ध्यान दिनुहोस्।

किनकि सबैले पाप गरेका छन्" = यसलाई "किनकि सबैले पाप गरे" भनेर अनुवाद गरिनुपर्थ्यो।

सबै मानिसहरूले आदममा पाप गरे र सबै मानिसहरू आदममा मरे। उदाहरण: एउटा जङ्गलमा ठूलो आगलागी भएको विचार गर्नुहोस् (याकूब ३:५)। एउटा सानो काँटी सल्काएर भुइँमा फ्याँक्दा त्यो एउटा सानो कामले एउटा सिङ्गो जङ्गल नाश हुन सक्छ। एउटा काँटी जमिनमा खसालिएकोले जङ्गलको हरेक रूख त्यसरी नै खसालिन सक्छ। त्यस्तै गरी आदमको एउटा "सानो" अनाज्ञाकारीताले मानवजातिरूपी सिङ्गो जङ्गल पतन भयो। आदमले काँटी सल्काइदियो र हामी प्रत्येक नै जलेर नष्ट भयौं। एकजना मान्छेले कहाँसम्मको असर पार्न सक्दो रहेछ!

ग्रीकमा रोमी ५:१२ को बीचतिरको "सबै मानिसहरू" लाई जोड दिइएको छ। मृत्यु कसकहाँ फैलियो? सबै मानिसहरूमा! मृत्यु सबै मानिसहरूमा किन फैलियो? सारा मानवजाति पाप र मृत्यु जस्तो भयङ्कर रोगले किन सङ्क्रमित भयो? किन सबै मानिसहरू? किन आदममात्र होइन? यदि पाप गर्ने ऊ हो भने किन ऊ र ऊ मात्र मर्नु पर्ने नभएको? किन मृत्यु सबै मानिसहरूमा फैलियो? परमेश्वरको जवाफ यस प्रकार छ: जब आदमले पाप गरे, हामी सबैले पाप गर्यौं! जब आदम पतन भए, हामी पतन भयौं। मृत्यु सबै मानिसहरूमा किन फैलियो? "किनकि सबैले पाप गरे" (रोमी ५:१२, पदको अन्ततिर हेर्नुहोस्)। सबै मानिसहरूले कहिले पाप गरे? जब आदमले पाप गरे!

यो सत्यता स्वीकार गर्न गाह्रो होला तर यो कुरा यस खण्डमा पटकपटक दोहोराइएको छ: रोमी ५:१५ -- आदमको अपराधले गर्दा, धेरै मरे! आदमको पापले गर्दा, म मरें! रोमी ५:१८ -- आदमको पापले गर्दा म दण्ड र न्यायमुनि परेको छु! रोमी ५:१९ -- आदमको अनाज्ञाकारिताले गर्दा म एक पापी बनाइएँ! साथै हेर्नुहोस् १ कोरिन्थी १५:२२ -- आदममा सबै मर्छन्!

आदममा सबैले पाप गरे। साथै यो पनि सत्य हो कि आदममा सबैजना सृष्टि गरिए। भन्नुपर्दा, आज बाँचिरहेका मानिसहरू सृष्टि गरिएका होइनन्। हामी यस संसारमा सृष्टि (creation) द्वारा आएनौं तर प्रजनन (procreation) द्वारा आयौं। सृष्टि गरिएका व्यक्तिहरू आदम र हव्वा मात्र थिए। तरैपनि एक अर्थमा म आदममा सृष्टि गरिएको थिएँ भन्नु सही हो। आदमबिना मेरो अस्तित्व नै हुनेथिएन। आदम सृष्टि गरिँदा म उनकै कोखमा थिएँ (दाँज्नहोस् हिब्रू ७:१०)। म उनको वंशको अंश थिएँ। (त्यसैगरी सारा यहूदी जाति अब्राहाम, इसाहक र याकूबमा थिए भन्न सकिन्छ)।

आदमले पाप गर्दा, म त्यहाँ उपस्थित नै थिइनँ। मैले त्यो फल खाइनँ, आदमले खाए। मैले परमेश्वरको आज्ञा तोडिनँ, आदमले तोडे। तरैपनि एक अर्थमा म त्यहीँ थिएँ। म आदममा थिएँ। मैले आदममा पाप गरें! म आदममा मरें! कसैलाई प्रश्न गरिन्छ, "तिमीलाई अहिलेसम्म घटेको सबभन्दा नराम्रो घटना कुन हो?" यसको जवाफ विभिन्न होला: प्रियजनको मृत्यु, नराम्रो गाडी दुर्घटना, कुनै अप्रत्याशित वियोग, आदि। तर त्यस्ता सबै जवाफ बेठिक छन्। बाइबलले उक्त प्रश्नको एउटै मात्र सही जवाफ प्रकट गर्दछ: मलाई घटेको सबभन्दा नराम्रो घटना त्यो थियो जब हजारौं वर्ष अघि आदमले प्रतिबन्धित फल खाए (रोमी ५:१२)। त्यसैगरी मलाई घटेको सबभन्दा राम्रो घटना त्यो थियो जब लगभग २००० वर्ष अघि येशू ख्रीष्ट क्रूसमा मर्नुभयो (रोमी ५:१८-१९)।

मैले आदममा पाप गरें, म आदममा मरें, म आदममा दण्डमुनि छु भन्ने कुरा किन सत्य छ? त्यो घटनाको बेलामा म त्यहाँ उपस्थित नै थिइनँ, न थिएँ कि? निम्न कुरालाई विचार गर्नुहोस्:

१) बाइबल विश्वासी भएर हामी सबै सहमत छौं कि आदम हामी सबका पिता हुन्। हामी सबै आदमबाट आयौं। हामी प्रत्येकको वंशावली आदमसम्म पुग्छ, कुनै "बनमान्छे" सम्म होइन। हामी सबै "आदमका सन्तान" हौं (दाँज्नुहोस् भजनसङ्ग्रह १४:२-३; उत्पत्ति ६:५-६; ११:५)।

२) जब आदमले पाप गरे एक अर्थमा म त्यहीँ थिएँ। मे आफ्नो पिता आदमको कोखमा थिएँ (म उसको बीउमा थिएँ)। यसलाई बुझ्न उत्पत्ति १४:१८-२० लाई हेरौं। हेर्नुहोस्, अब्राहामले मलकेसिदेकलाई दशांस दिए। अब्राहामबाट इसाहक अनि त्यसपछि याकूब आए। याकूब (इस्राएल) का बाह्र छोरा भए जसमध्ये एकजना लेवी थिए। लेवीबाट हारून र उनका छोराहरू आए जोहरू पूजाहारी थिए। यी कुरालाई मनमा राखेर हिब्रू ७:४-१० हेर्नुहोस्। यदि हिब्रूका लेखकले लेवीले मलकेसिदेकलाई दशांस दिए भनेर भन्न सक्छन् किनकि उनी अब्राहामको कोखमा थिए यद्यपि हामीलाई थाहा छ दशांस दिने वास्तवमा अब्राहाम मात्र थिए र लेवी त जन्मेका पनि थिएनन्, त्यसो भए उही हिसाबले म पनि यसरी भन्न सक्छु: "मैले पनि आदममा पाप गरें, किनकि आदमले पाप गर्दा म आफ्नो पिता आदमको कोखमा थिएँ।" तसर्थ जब आदमले पाप गरे एक अर्थमा म पनि त्यहाँ थिएँ।

३) आदमले मेरो प्रतिनिधिको रूपमा काम गरे। आदम हाम्रो जातिका शिर थिए र उनले मानवजातिकै प्रतिनिधित्व गरे। यो रोचक कुरा हो कि मानिसको पतनलाई आदमको अनाज्ञाकारितासित जोडिएको छ, हव्वाको अनाज्ञाकारितासित होइन यद्यपि आज्ञा तोड्ने पहिलो व्यक्ति हव्वा थिए। तर हव्वा मानव जातिका शिर थिएनन्। आदमले खानु नै मूल समस्या थियो। तब नै मानवजाति पतन भयो। प्रतिनिधि भनेको अरूको पक्षमा काम गरिदिने व्यक्ति हो। आदम अदनको बगैँचामा तपाईं र मेरो ठाउँमा काम गर्दै थिए, प्रतिनिधित्व गर्दै थिए। आज हामी मानिसहरूलाई प्रतिनिधि सभाको लागि निर्वाचनद्वारा चुन्छौं जोहरू "प्रतिनिधिहरू" कहलिन्छन्। उनीहरूले मेरो निम्ति सभामा मेरो प्रतिनिधित्व गर्छन् र त्यहाँ निर्णय आदि पारित गर्दा मेरो निम्ति भोट दिन्छन्। मैले सिधै भोट दिन सक्दिनँ तर मेरो निम्ति भोट दिन उनीहरू त्यहाँ छन्। जब आदम मेरो प्रतिनिधिको रूपमा अदनको बगैँचामा थिए, उसले भोट दिनु परेको थियो। उनले कि त परमेश्वरको पक्षमा कि त विपक्षमा भोट दिनुपर्थ्यो। उनले परमेश्वरको आज्ञा मान्न वा नमान्न रोज्नुपर्थ्यो। उनले परमेश्वरको विरुद्धमा भोट दिए! उनले आज्ञा नमान्न रोजे। त्यहाँ एक अर्थमा उनको भोट मेरो भोट भयो।

आदमले गलत दिशामा भोट दिए भनेर उनलाई हामीले दोषी ठहराउनु अघि, हामीले आफैलाई उनको ठाउँमा राखेर सोचौं। मानौं आदमको सट्टामा म त्यहाँ भएको भए। मानौं मलाई आज्ञा मान्ने कि नमान्ने भन्ने त्यो जाँच दिइएको भए। के मैले आदमले भन्दा फरक गर्थें?

तपाईं आपत्ति जनाउनुहोला, "यो प्रतिनिधित्वको शिक्षा मलाई मन पर्दैन! यो न्यायोचित होइन! म आदमद्वारा प्रतिनिधित्व गरिन चाहन्न!" तर प्रतिनिधित्वको शिक्षालाई इन्कार गर्ने बित्तिकै तपाईंले बाइबलकै एउटा सबभन्दा सुन्दर शिक्षालाई इन्कार गर्नुहुन्छ। कुरा यस्तो हो, आदम मात्र तपाईंको प्रतिनिधि भएका होइनन् तर ख्रीष्ट पनि तपाईंको प्रतिनिधि बन्नुभयो! आदमले मात्र तपाईंको पक्षमा काम गरेनन्, ख्रीष्टले पनि तपाईंको पक्षमा काम गर्नुभयो! आदमले तपाईंलाई समस्याभित्र ल्याए तर ख्रीष्टले तपाईंलाई निकाल्न सक्नुहुन्छ! अनि तपाईं त्यहाँ उपस्थित नै नहुनुभएको हुनाले आदमले तपाईंको प्रतिनिधित्व गर्नु न्यायोचित थिएन भनेर यदि तपाईं भन्नुहुन्छ भने, एकछिन यसलाई विचार गर्नुहोस्: ख्रीष्टले तपाईंको प्रतिनिधित्व गर्नु कत्तिको न्यायोचित थियो? के एक पूरै निर्दोष मानिसलाई मृत्युदण्ड दिइनु न्यायोचित थियो? तपाईंले गर्नुभएका पापका लागि उहाँलाई न्याय गरिनु के न्यायोचित थियो? पवित्र परमेश्वरको न्याय र क्रोध तपाईंको सट्टामा उहाँमाथि खस्नु के न्यायोचित थियो? याद गर्नुहोस्, जे आदमले गरे त्यो तपाईंलाई घटेको सबभन्दा नराम्रो कुरा थियो तर जे ख्रीष्टले गर्नुभयो त्यो तपाईंलाई घटेको सबभन्दा राम्रो कुरा थियो!!

यो सिद्धान्त बुझ्नाले बाइबल तपाईंको लागि जिउँदो भएर आउँछ। जब तपाईं उत्पत्ति ३ मा आदमको पतनको अभिलेख पढ्नुहुन्छ, तपाईंले यो बुझ्नुहुन्छ कि त्यो कुनै ज्यादै परको कुरा होइन जसको तपाईंसित कुनै सरोकार छैन बरु एक वास्तविक अर्थमा तपाईं त्यहाँ हुनुहुन्थ्यो। आदम तपाईंको प्रतिनिधि भएकाले आदमले जे गरे त्यसमा तपाईं सहभागी हुनुभयो। आदमको पतनमा हामी सबैले पाप गर्यौं!

त्यसै गरी जब तपाईं क्रूसीकरणको अभिलेखहरू पढ्नुहुन्छ तपाईंले यो सम्झनुहुन्छ कि एक वास्तविक अर्थमा नै तपाईं त्यहाँ हुनुहुन्थ्यो। उहाँको मृत्यु तपाईंको मृत्यु बन्यो। उहाँको इतिहास तपाईंको इतिहास बन्यो (जसरी हामी रोमी ६ अध्यायमा देख्नेछौं)। ख्रीष्ट क्रूसमा टाँगिँदै गर्नुभएको कुरा जब म पढ्छु त्यो ज्यादै व्यक्तिगत कुरा हुन जान्छ किनकि म पनि त्यहाँ क्रूसमा टाँगिएँ (गलाती २:२०)। अनि परमेश्वरलाई धन्यवाद होस्, म उहाँसँगै त्यो चिहानबाट पनि निस्किआएको हुँ!

साथै रोमी ५:१२ ले विज्ञानसित विशेष गरी सृष्टिवाद कि क्रमविकासवाद भन्ने वादविवादसित सम्बन्धित एउटा कुरा पनि बताउँछ। यस पदले यो बताउँछ कि मृत्यु आदमको पापको परिणाम हो। मानिसको पापले पशु जगतलाई समेत असर गर्यो, अनि जसरी हामी रोमी ८:१९-२२ मा सिक्नेछौं जसअनुसार पशुहरू सुस्केरा हाल्दैछन्, मानिसको पापको कारणले गर्दा आइपरेको बन्धनबाट छुटकारा पाउनलाई। आदमको पतन अघि पशु जगतमा मृत्यु थिएन, त्यसैले मानिसको पतन हुनु अघि पशुका जीवशेषहरू हुन सक्दैनथे (जुन कुरा क्रमविकासवादको विपरित छ)। सृष्टिवादीहरू विश्वास गर्छन् कि अधिकांश जीवशेषहरू नूहका दिनहरूमा घटेको विश्वव्यापी जलप्रलयको समयमा बन्न गएका हुन्।

रोमी ५:१३-१४

यहाँ पावलको लेखन शैलीअनुरूप एउटा लामो उपवाक्य (parenthesis) सुरु हुन्छ जुन उपवाक्य पद १३ बाट सुरु भएर १७ मा समाप्त हुन्छ। तसर्थ, पद १२ पढेपछि एकछिनलाई बीचमा रहेको उक्त उपवाक्यलाई नाघेर पद १८ सित जोडेर पढ्नुपर्छ।

सम्म" -- पावल यहाँ व्यवस्था दिइनुभन्दा अघिको कालखण्डलाई ध्यानमा राख्दैछन् (पद १३ मा हेर्नुहोस् -- आदमदेखि मोशासम्मको कालखण्ड)। यो थियो मोशाअघिको, व्यवस्थाअघिको कालखण्ड (रोमी ४:१५ सित तुलना गर्नुहोस्)। आदमदेखि मोशासम्मको कालखण्डमा पाप र मृत्यु थियो तर अपराध थिएन। हुँदै नभएको व्यवस्थाको विरोधमा अपराध गर्न सकिन्न। पाप त थियो, जस्तै कयिनले हत्या गरेको थियो (उत्पत्ति ४), र जलप्रलयअघिको संसारमा दुष्टता थियो (उत्पत्ति ६:५)। संसारमा मृत्यु पनि थियो जुन कुरा उत्पत्तिको पाँचौं अध्यायले दर्शाउँछ।

हिसाब" गर्नु = गन्नु, ठान्नु। पाप त थियो तर व्यवस्था नआएसम्म त्यसलाई अपराध भनेर गनिएन (ठानिएन)। गलाती ३:१९ सित तुलना गर्नुहोस् (पापलाई अपराधको थप चरित्र दिनको निम्ति व्यवस्था दिइएको थियो ताकि पाप झनै पापपय देखियोस् -- रोमी ७:१३)। आदमको पाप "अपराध" गनिएको थियो (पद १४) किनकि उनले परमेश्वरकै प्रकटित व्यवस्थालाई उल्लङ्घन गरे (उत्पत्ति २:१७)। मृत्युले आदमदेखि मोशासम्मै राजालै जस्तै शासन गर्यो (पद १४) यद्यपि मानिसहरूले आदमले जस्तै गरी अपराध गरेका थिएनन् (उनीहरूले आदमले जस्तै प्रस्टै प्रकट गरिएको आज्ञालाई तोडेका थिएनन्)।

यी दुई पदहरूमा पावलको मूल आशय यो हो कि मृत्यु सबै मानिसहरूमा फैलियो (पद १२), उनीहरूले पाप गरेकाले होइन, तर आदमले पाप गरेकोले। मानवजातिमा मृत्यु ल्याएको आदमको पापले थियो। आदमदेखि मोशासम्मका मानिसहरूले आदमले जस्तै पाप गरेका थिएनन् (आदमको पाप परमेश्वरबाटको प्रत्यक्ष आज्ञाको उल्लङ्घन थियो)। तरैपनि मृत्युले उनीहरूमाथि राज्य गर्यो, उनीहरूकै कामले गर्दा होइन, तर आदमको कामले गर्दा! आज हामी शिशुहरूको उदाहरण लिन सक्छौं जो मर्छन्। ती बच्चाहरू ठिक बेठिक केही जान्दैनन् तर तिनीहरू मर्छन्। यसले हामीलाई आदमको पापको विश्वव्यापी असरको सम्झना गराउँछ। उनको अपराधले गर्दा मृत्युदण्ड सबै मानिसहरूमाथि आइपर्यो।

आदम पछि आउनेवालाको एक "छायाँ" वा प्रतीक हुन्, अर्थात् येशू ख्रीष्टको (रोमी ५:१४)। आदम ख्रीष्टका एक प्रतीक हुन्। १ कोरिन्थी १५:४५ मा येशू ख्रीष्टलाई "आदम" भनिएको छ ("अन्तिम आदम") र ख्रीष्टलाई पहिलो मानिस आदमको तुलनामा "दोस्रो मानिस" (१ कोरिन्थी १५:४७) पनि भनिएको छ। यी दुई मानिसलाई तुलना गर्दा हामी त्यहाँ समानता र भिन्नताहरू दुवै देख्छौं:

रोमी ५:१५

यस पदको "झन् बढ्ता गरी" लाई ध्यान दिनुहोस् (यस्तै अभिव्यक्ति रोमी ५ मा अरू ४ पटक भेटिन्छ। तिनलाई भेट्टाउन सक्नहुन्छ? पद ____ ____ ____ ____)

आदमले "बढी" गरे (खराबको निम्ति) तर ख्रीष्टले "झन् बढी" गर्नुभयो मानिसको आशिष र फाइदाको निम्ति। आदमको अपराधले धेरै मरे (simple past aorist tense)। आदमको पतनमा हामी सबले पाप गर्यौं, र आदमको मृत्युमा हामी सब मर्यौं!

अनुग्रहको दान" -- यस सुन्दर अभिव्यक्तिलाई विचार गर्नुहोस्। मुक्ति/धर्मीकरण सित्तैंमा पाइन्छ तर यो सस्तो छैन। यो असीम मूल्यमा किनिएको थियो (१ कोरिन्थी १६:२०; १ पत्रुस १:१८-१९)।

आदमको अपराधले मानवजातिमा पतन र मृत्यु ल्यायो ("मृत्यु सबै मानिसहरूमा फैलियो") तर क्रूसमा टँगाइनुभएको र बौरिउठ्नुभएको ख्रीष्टले प्रदान गर्नुहुने सित्तैंको दानले उक्त दान ग्रहण गर्ने जतिमा क्षमा र जीवन ल्याउँछ। आदमको अपराधले गर्दा सबै मानिस मरे (पद १५ -- "धेरै" को माने "सबै" हुन सक्ने एउटा महत्त्वपूर्ण उदाहरण यो हो) तर ख्रीष्टको मृत्युद्वारा परमेश्वरको अनुग्रहको जीवनरूपी दान र धार्मिकता सबैलाई प्रदान गरिन्छ।

प्रशस्त" = चुलिएर पोखिनु, नापभन्दा बढी हुनु। यसले परमेश्वरको चुलिएर पोखिने, ज्यादै प्रशस्त परमेश्वरको अनुग्रहलाई जनाउँछ (दाँज्नुहोस् पद २०-२१)। तुलना गर्नुहोस् पद १२ -- फैलियो"। पाप र मृत्यु सबै मानिसमा फैलियो। परमेश्वरको अनुग्रहको दान झन् बढ्ता गरी सबैमा चुलिएर पोखियो!

रोमी ५:१६

यस पदमा "एउटै अपराधबाट दण्डका आज्ञा" र "अनेकौं अपराधहरूबाट धर्मीकरण" को बीच तुलना गरिएको छ। आदमको एउटा अपराधबाट दण्डको आज्ञा आयो। यसलाई समाधान गर्न ख्रीष्ट क्रूसमा मर्नुहुँदा उहाँलाई "अनेकौं अपराधहरू" बोक्नु आवश्यक पर्यो। आदमको एउटा अपराधले मानवजातिमा न्याय र दण्डको आज्ञा ल्यायो। जे ख्रीष्टले गर्नुभयो त्यो झन् ठूलो थियो किनकि उहाँले अनेकौं अपराधहरू मेट्ने उपाय गर्नुभयो। अल्भा म्याकलेनले यो उदाहरण दिन्छन्: एकजना मान्छे जङ्गलमा गएर एउटा काँटी सल्काउँछ र एउटा रूखलाई आगो लगाउँछ। यो त जसकसैले पनि गर्न सक्ने एउटा सानो काम हो। अब चाँडै सारा बन आगोले दन्किनेछ। मानौं एकजना आएर त्यो पूरै ढडेलोलाई निभाइदिए। के यो दोस्रो काम पहिलो भन्दा ठूलो, "झन् बढी" हुनेथिएन र? आदमको एउटा अपराधले मानवजातिको पूरै "बन" पतन भयो। ख्रीष्टको धर्मी कार्यले करोडौं करौडौं अपराधहरू चुक्ता गरिए र मेटिन सक्ने गरायो! ख्रीष्टले झन् बढी गर्नुभयो!

रोमी ५:१७

प्रशस्तता" शब्द पद १५ को "प्रशस्त भएको छ" सित सम्बन्धित छ। परमेश्वरको अनुग्रह ज्यादै प्रशस्त अनुग्रह हो र चुलिएर पोखिने अनुग्रह हो! यो सित्तैंको दान सबै मानिसहरूलाई प्रदान गरिएको छ तर हरेक मानिसको एउटा जिम्मेवारी छ। उसले त्यसलाई लिनुपर्छ अथवा ग्रहण गर्नुपर्छ! "पाउनेहरू" लाई "ग्रहण गर्नेहरू" भनेर अनुवाद गरिनुपर्छ जसरी यूहन्ना १:१२ मा गरिएको छ। "ग्रहण गर्नु" शब्द विश्वाससित सम्बन्धित शब्द हो (यूहन्ना १:१२ मा हेर्नहोस्)।

"यस दानको प्रशस्ततालाई जस-जसले "ग्रहण" गर्छन् उनीहरूले त्यसको साथमा धार्मिकताको दान प्राप्तगर्छन्। कस्तो दान यो! कामहरूबिना, व्यवस्थाबिना, रीतिबिना, योग्यताबिना, परमेश्वरबाटकै धार्मिकताको पूरापूर दान! यस खण्डलाई बाइबल क्लासहरूमा सिकाउँदा मैले धेरैपटक उनीहरूलाई तीन-तीन पटक यी दुई वाक्यांशलाई दोहोराउन लगाउने गरेको छु: "अनुग्रहको प्रशस्तता", "धार्मिकताको दान"। त्यसो गर्न हामी तपाईंलाई जोडदार अनुरोध गर्छौं। गरेर हेर्नुहोस्।" (विलियम न्यूवेल, रोमी)

आदमको कारण मृत्युले राज्य गर्यो (अनगिन्ती कबरस्थानहरूले यसको गवाही दिन्छन्)। येशू ख्रीष्टिको कारण विश्वासीहरूले राज्य गर्छन् (अक्षरशः "राजाझैं राज्य गर्नेछन्!")।

रोमी ५:१८

उपवाक्य अब समाप्त भएको छ र यस पदलाई पद १२ सित जोडेर पढ्नुपर्छ (अनि जहाँ वाक्य अर्थपूर्ण बनाउन अङ्ग्रेजी बाइबलमा आइटालिक्स (ढल्काइएको लिपि) द्वारा सङ्केत गरी शब्द थपिएको छ त्यहाँ "दण्डको आज्ञा" थप्नुको सट्टा "मृत्यु" उपयुक्त होला)।

"एकजनाको धार्मिकताद्वारा" = एकजनाको धर्मी कामद्वारा (अर्थात् क्रूसमा मर्ने ख्रीष्टको धर्मी काम)।

सित्तैंको दान सबै मानिसमाथि आयो (ख्रीष्टको क्रूसको काम सम्पूर्ण मानव जातिको निम्ति गरिएको थियो) तर दुःखको कुरा सबै मानिसहरूले त्यो ग्रहण गर्दैनन् (पद १७)। क्याल्भिनले यसरी भने,

"उहाँले यो निगाह सबैका लागि साझा बनाइदिनुहुन्छ, किनकि यो सबैका लागि विचारयोग्य छ, किनकि वास्तवमा यो सबैकहाँ सम्म तन्काइएको छ (अर्थात् उनीहरूको अनुभवमा); किनकि यद्यपि ख्रीष्ट सारा संसारको पापका निम्ति दुःख भोग्नुभयो, अनि यद्यपि परमेश्वरको भलोपनले सबैलाई बिना पक्षपात प्रदान गरिएको छ, तरैपनि सबैले यसलाई ग्रहण गर्दैनन्।" (टिप्पणी: क्याल्भिनले यहाँ ख्रीष्ट सबै मानिसहरूका

रोमी ५:१९

"बनिए" = भए, त्यस बनोटका भए; आदममा हुनेहरू सबै पापी हुन्छन्; ख्रीष्टमा हुनेहरू सबै धर्मी हुन्छन्। जन्मले हामी आदममा छौं; नयाँ जन्मले हामी ख्रीष्टमा छौं।

"एकजनाको आज्ञापालनद्वारा" -- यसले उहाँको साधारण रूपमा रहेको आज्ञाकारी जीवनलाई जनाउँदैन, तर उहाँ क्रूसमा आज्ञापालनस्वरूप जानुभएको कुरालाई जनाउँदछ (फिलिप्पी २:८; मत्ती २६:४२; र हिब्रू ५:८ सित तुलना गर्नुहोस्)। आदमको अनाज्ञाकारिताको सवाल एउटा रूखमा केन्द्रित थियो (उत्पत्ति २:१६-१७) र ख्रीष्टको आज्ञापालनको काम एउटा रूखमै केन्द्रित थियो (१ पत्रुस २:२४)।

रोमी ५:२०

"आयो" = साथमा हुन आयो। व्यवस्था किन साथमा हुन आयो? व्यवस्थालाई किन थपियो (तुलना गर्नुहोस् गलाती ३:१९)? "अपराध प्रशस्तै होस् भनेर"। व्यवस्थाले पापलाई झनै नराम्रो देखिने बनाउँछ! व्यवस्थाले पापलाई अपराधरूपी थप चरित्र दिलाउँछ र पापलाई झनै पापमय देखिने बनाउँछ (तुलना गर्नुहोस् रोमी ७:१३)। एउटा ठूलो देख्ने गराउने शीशा (magnifying glass) लाई विचार गर्नुहोस् र "प्रशस्तै हुनु" को सट्टामा "ठूलो देखिनु" प्रतिस्थापन गर्नुहोस्: "अनि अपराध ठूलो देखियोस् भनेर व्यवस्था आयो; तर जहाँ पाप ठूलो देखियो त्यहाँ अनुग्रह झन् बढी ठूलो देखियो!" व्यवस्थाले पापलाई ठूलो देखाइदिन्छ। पापले अनुग्रहलाई ठूलो देखाइदिन्छ! परमेश्वरको अनुग्रह पापको कालो पृष्ठभूमिको विरुद्धमा सबभन्दा उज्यालो गरी चम्कन्छ। "अचम्मको अनुग्रहले बाँच्यो तुच्छ प्राण मेरो!" परमेश्वरले आफ्नो विश्व-सृष्टिमा किन पापलाई प्रवेश गर्ने अनुमति दिनुभयो? एउटा कारण (अरू पनि छन्) यो हो कि यसले उहाँलाई आफ्नो अनुग्रहको झन् बढी" लाई प्रकट गर्ने मौका दियो। जहाँ पाप प्रशस्त भयो त्यहाँ अनुग्रह झन् बढी प्रशस्त भयो! जहाँ पाप प्रशस्त भयो त्यहाँ अनुग्रह पूरै चुलिएर पोखियो!

रोमी ५:२१

यस खण्डको सुरुमा पाप र मृत्युले राज्य गर्दै थियो; अब अनुग्रहले राज्य गर्दैछ! "जसरी पापले राजाले झैं मृत्युद्वारा शासन गरेथ्यो, त्यसरी नै अनुग्रहले धार्मिकताद्वारा जीवनका निम्ति हाम्रा प्रभु येशू ख्रीष्टद्वारा राजाले झैं शासन गर्न गरोस्।" यस पदले परमेश्वरको महान् लक्ष्यलाई प्रकाश पार्छ: जहाँ मृत्युले आफ्नो राज्य स्थापना गरेको थियो त्यहाँ अनुग्रहले आफ्नो राज्य स्थापना गरोस्: अनि त्यो काम, अवश्य पनि, धार्मिकताद्वारा पूरा गरोस्, -- अर्थात्, सर्वप्रथम ईश्वरीय मागहरू धार्मिकतापूर्वक क्रूसमा पूरा गरियोस्, अनि यसरी सबै कुरा "हाम्रा प्रभु येशू ख्रीष्टद्वारा" हुन सकोस्।" -- विलियम न्यूवेल। यसरी रोमीको आखिरी खण्डको विषय यो हो: आदमको अपराधद्वारा दण्डको आज्ञा, र ख्रीष्टको धर्मिकताको काम गर्ने मृत्युद्वारा धर्मीकरण।