रोमी ६:१-६

यस पृष्ठलाई छाप्नुहोस्

रोमी अध्याय ६

परिचय

रोमीको पहिलो पाँच अध्यायहरू धर्मीकरणसित सम्बन्धित भएको पाइयो। रोमीको छैटौं अध्यायले पवित्रीकरणसित सम्बन्धित छ। "पवित्रीकरण" को माने "पवित्रता" हो (परमेश्वरको सेवाका निम्ति अलग गरिनु)। यो शब्द रोमी ६:१९,२२ मा पाइन्छ।

परमेश्वरले मलाई पापको दण्डबाट बचाउनुभयो -- यो हो धर्मीकरण (रोमी १-५)।

परमेश्वरले मलाई पापको शक्तिबाट बचाउँदैहुनुहुन्छ -- यो हो पवित्रीकरण (रोमी ६-८)।

परमेश्वरले मलाई पापको उपस्थितिबाट बचाउनुहुनेछ जुन बेला मेरो मुक्ति पूर्ण हुनेछ -- यो हो महिमाकरण (रोमी ८)।

यसर्थ रोमी ६ को सम्बन्ध निम्न महत्त्वपूर्ण प्रश्नहरूसित छ: ख्रीष्टिय जीवन जिउने कसरी हो? पापमाथि विजयी बन्ने कसरी हो? प्रभु येशू ख्रीष्टको सेवाको निम्ति समर्पित खालको जीवन जिउने कसरी हो? पापको दासत्वबाट म कसरी स्वतन्त्र हुन सक्छु? परमेश्वरलाई खुशी पार्ने खालको जीवन जिउनलाई मैले के गर्नुपर्छ?

यदि कसैले "मैले मुक्ति पाउन के गर्नुपर्छ?" भनेर सोध्यो भने वा "धर्मी ठहरिन मैले के गर्नुपर्छ?" भनेर जान्न चाह्यो भने अवश्य पनि हामीले उसलाई बाइबलबाटै परमेश्वरको जवाफ दिनुपर्छ (प्रेरित १६:३०-३१ सित तुलना गर्नुहोस्)। त्यसैगरी कुनै विश्वासीले "ख्रीष्टिय जीवन जिउनलाई मैले के गर्नुपर्छ?" भनेर सोध्यो भने वा "जीवनको नयाँपनामा हिँड्न मैले के गर्नुपर्छ?" भनेर जान्न चाह्यो भने हामीले उसलाई परमेश्वरकै वचनबाट स्पष्ट जवाफहरू दिन सक्नुपर्छ। यी प्रश्नका जवाफहरू रोमीको छैटौं अध्यायमा पाइन्छन्। दुःखको कुरा यो छ कि अनेकौं ख्रीष्टियनहरू विजय र पवित्रता सम्बन्धी परमेश्वरका सिद्धान्तहरू बुझ्दैनन्। परमेश्वरका सिद्धान्तहरूलाई पछ्याउनुको सट्टा उनीहरू विभिन्न शारीरिक प्रणाली र युक्तिहरू पछ्याउँछन्। उनीहरू स्व-विकास गर्न खोज्ने मानवीय युक्ति पछ्याउने प्रयास गर्छन्। उनीहरू स्व-अनुशासनको युक्ति पछ्याउने प्रयास गर्छन्। उनीहरू पाप स्वीकार गरेर हेर्छन् (त्यो असल हो, सही हो, १ यूहन्ना १:८-१०) तर पाप स्वीकार गरेर नै पापहरू रोकिएको जस्तो देखिँदैन र उनीहरू पाप-स्वीकार-पाप-स्वीकार-पाप-स्वीकार चक्रमा फस्छन् (अर्थात् निरन्तर पाप स्वीकार गरेर पनि पापलाई त्याग्न नसकिएको अवस्था)। उनीहरू सङ्घर्ष गर्छन्, उनीहरू परिश्रम गर्छन्, अझ राम्रो गर्ने प्रयास गर्छन्, इत्यादि तर सधैं त्यो पहिलेकै कुरा दोहोरिन्छ -- हार! पावलले यसलाई रोमी ७:१४-१८ मा राम्ररी बयान गर्दछन्: जुन कुराहरू म गर्न चाहनछु त्यो म गर्दिनँ र जुन कुराहरू म घृणा गर्दछु तिनै कुराहरू म गर्दछु! म परमेश्वरको इच्छा गर्न चाहन्छु तर जुन कुरा ठिक छ त्यो म गर्न सक्दिनँ! जति म प्रयास गर्छु झन् म त्यति नै विफल भएको जस्तो हुन्छु!

रोमी ६ अध्यायले समेटेका कुराहरू जान्न हामी छोटकरीमा यस अध्यायलाई सरसरती हेरौं:

  • पद १ - पापमा नलागिरहने भन्ने बारेमा
  • पद २ - पापमा नजिइरहने भन्ने बारेमा
  • पद ४ - जीवनको नयाँपनामा हिँड्ने बारेमा
  • पद ६ - पापको सेवा गरिनरहने बारेमा (पापको दास भइनरहने)
  • पद १२ - पापलाई हामीमाथि राज्य गर्न नदिने बारेमा
  • पद १३ - हाम्रा शरीरका अङ्गहरूद्वारा परमेश्वरको सेवा गरिरहने बारेमा
  • पद १४ - पापको रजाइँमुनि रहिनरहने बारेमा
  • पद १९ र २२ – पवित्रता

हो, यी पदहरूले ख्रीष्टिय जीवनकै बारेमा बताउँदैछन्, पापसितको हाम्रो सम्बन्धको बारेमा बताउँदैछन्, विजयी कसरी बन्ने इत्यादि भन्ने बारेमा बताउँदैछन्।

पवित्र जीवन जिउनलाई मैले के गर्नुपर्छ? हामी यस अध्यायमा के कस्ता आज्ञाहरू दिइएका छन् भनेर खोजौं। उल्लेखनीय कुरा के छ भने यहाँ भेटिने पहिलो आज्ञा एघारौं पदमा आएर मात्र भेटिन्छ -- "ठान"। यी पदहरूमा "गर्ने" कामलाई जोड दिइएको छैन तर "जान्ने" कामलाई (हेर्नुहोस् रोमी ६:३,६,९,१६; ७:१)। विजय पाउन मैले त्यहाँ जान्नुपर्ने केही कुराहरू छन्! मैले कुनै काम गर्नुपर्ने सवाल उठ्दैन यहाँ तर मैले केही कुरा जान्नुपर्ने सवाल उठ्दछ!

रोमी ६ अध्यायका तीनटा चाबी शब्दहरू यी हुन्: १) जान्नु (पद ३,६,९); २) ठान्नु (पद ११); ३) सुम्पनु (पद १३)। प्रथमतः विश्वासीले निश्चित तथ्यहरू जान्नुपर्छ! यी तथ्यहरू प्रभु येशू ख्रीष्टको मृत्यु र बौरिउठाइमा केन्द्रित छन् (धर्मीकरणका तथ्यहरू पनि सुसमाचारका उही तथ्यहरूमा केन्द्रित छन् -- रोमी ४:२५)। यी तथ्यहरू ख्रीष्टले आफ्नो मृत्यु र बौरिउठाइ (उहाँले सिद्ध्याइसक्नुभएको कार्य) द्वारा पूरा गरिसक्नुभएका कुरामा केन्द्रित छन्। जोड, म के गरूँ भन्ने कुरामा होइन, तर ख्रीष्टले के गरिसक्नुभएको छ भन्ने कुरामा दिइएको छ! दोस्रो, विश्वासीले यी तथ्यहरू त्यस्तै हुन् भनेर ठान्नुपर्छ अथवा ती तथ्यहरूलाई मानिलिनुपर्छ (साँचो छन् भनेर सोच्नुपर्छ)। विश्वास नै चाबी हो! विश्वासले आफूलाई परमेश्वरको वचनका तथ्यहरूमा टँसाउँछ र ती सत्य छन् भनी मानिलिन्छ! विश्वासले परमेश्वरको वचनका तथ्यहरूलाई "आमेन" भन्छ। विश्वासले भन्छ, "हो यो साँचो हो। म पापको लेखि मरेको छु र म परमेश्वरको लेखि जीवित छु! म यस तथ्यमा रमाउँदछु!" (दाँज्नुहोस् पद ११)। तेस्रो, विश्वासीले आफू मरेकोबाट जीवित भएको एक व्यक्तिको रूपमा उसका शारीरिक अङ्गहरू परमेश्वरलाई सुम्पनुपर्छ वा चढाउनुपर्छ (पद १३)। ऊ ख्रीष्टमा एक नयाँ सृष्टि भएकोले उसले यो महसुस गर्दछ कि ऊसित जेजति छ त्यो राजाहरूका राजाको सेवामा चढाइनुपर्दछ!

रोमी ६:१

"तब" = तसर्थ, यसकारण। यस शब्दले हामीलाई पाँचौं अध्यायको अन्तिम भागतिर हेर्न लगाउँदैछ (विशेष गरी ५:२० मा हेर्नुहोस् जहाँ पापले गर्दा अनुग्रह झन् प्रशस्त भयो भन्ने कुरा बताइएको छ)।

"के हामी पापमा लागिरहौं" -- के म पाप प्रशस्त गरिरहूँ ताकि अनुग्रह प्रशस्त होस्? परमेश्वरको अनुग्रहलाई नबुझ्नेहरूले यसरी तर्क गर्लान्: "यदि परमेश्वरको अनुग्रह पापले ठूलो बनाउँछ भने म बेसरी पाप गर्नेछु ताकि म परमेश्वरको अचम्मको अनुग्रहलाई झन् बढ्ता गरी प्रकट गर्न सकूँ। यदि परमेश्वरको अनुग्रह म कति नीच पापी भएकोले ठूलो बनाइन्छ भने म झन् नीच बनिदिनेछु! भजनले भनेको छु, "अचम्मको अनुग्रहले बाँच्यो तुच्छ प्राण मेरो।" म झन् बढ्ता गरी तुच्छ र नीच बनिदिनेछु ताकि परमेश्वरको अनुग्रह झनै अचम्मको देखा परोस्!"

प्राकृतिक मानिस (१ कोरिन्थी २:१४) ले परमेश्वरको अनुग्रहलाई कामुकता (लाज पचाएको व्यवहार, अनियन्त्रित अभिलाषा -- यहूदा ४) मा यसरी परिवर्तन गर्दछन्: "तिमी ख्रीष्टियनहरूले भनेझैं यदि एक व्यक्ति अनुग्रहले बचाइन्छ कामहरूले (असल हुन खोजेर) होइन भने र यदि मुक्ति पाएको व्यक्ति सधैंको लागि सुरक्षित हुन्छ भने, मेरो हेराइमा यसको तात्पर्य यो हो कि एकपटक मुक्ति पाएपछि उसले आफ्नो इच्छाअनुसार जीवन बिताए हुन्छ। यदि एक व्यक्ति ऊ कति असल छ भन्ने आधारमा उसले मुक्ति पाउने होइन भने र यदि एक मुक्ति पाएको व्यक्ति ऊ कति खराब छ भन्ने आधारमा ऊ नष्ट हुँदैन भने, म भन्छु, उसलाई खराब बन्नदेखि केले रोख्छ? ऊ किन पापमा लागिनरहोस् यो देखाउन कि परमेश्वर आफ्नो दुष्ट सन्तानप्रति कति अनुग्रही र क्षमाशील हुनुहुन्छ भनेर सबैले देखोस्?"

परमेश्वरको अनुग्रह जानेको हरेक साँचो विश्वासीले यसको प्रतिक्रिया केवल एउटै तरिकाले मात्र दिनुपर्छ: "कदापि नहोस्! यस्तो नहोस्! यस्तो विचार नष्ट होस्!"

परमेश्वरको अनुग्रह सत्यतामै जानेकाहरूले त्यसलाई पाप गर्ने अनुमतिको रूपमा प्रयोग गर्दैनन्। परमेश्वरको अनुग्रहले त्यसको ठिक उल्टो सिकाउँछ (तीतस २:११-१२ मा हेर्नुहोस्)। हाम्रो नीचपना र दुष्टता जुन गहिराइहरूसम्म पुगिसके निश्चय पनि ती नै काफी छन् हाम्रो अनुग्रही परमेश्वरलाई उच्च पार्न र पापमाथि पाप थप्न कुनै खाँचो छैन। हामीले पर्याप्त गरी पाप गरिसकेका छौं (१ पत्रुस ४:३ मा हेर्नुहोस्)। हामीले पापको गहिराइहरू खोजतलाश गरिसकेका छौं र पापको दलदले हिलोभित्र अझ गहिरो जान हामीलाई खाँचो छैन। अझ, १ यूहन्नाको पुस्तकले हामीलाई सिकाउँदछ कि जोहरू निरन्तर पापमा लागिरहन्छन् (त्यसको अभ्यास गरिरहन्छन्) तिनीहरू कहिल्यै परमेश्वरबाट जन्मेका हुँदैनन् (१ यूहन्ना ३:६,८,९; ५:१८ मा हेर्नुहोस्)। परमेश्वरको साँचो सन्तानले पापलाई घृणा गर्छ र त्यसको क्रूर दासत्वबाट फुत्कन चाहन्छ। ऊ निश्चय पनि त्यसमा लागिरहन चाहँदैन।

रोमी ६:२

"हामी जो पापका निम्ति मरिसकेका छौं, अब उसो कसरी त्यसैमा जिऔं र?"

ख्याल राख्नुहोस्, यो पद एउटा आज्ञा होइन। पावलले, "तिमी पापको निम्ति मर्नुपर्छ!" भनिरहेका छैनन्। यो पद एउटा तथ्यको अभिव्यक्ति हो: तथ्य यो हो: म, (विश्वासी हुनुहुन्छ भने आफ्नै नाउँ यहाँ राख्नुहोस्), पापको निम्ति मरे!" साथै यो पनि ख्याल राख्नुहोस्, यो एउटा हुनेवाला कुरा होइन तर यो एउटा भइसकेको कुरा हो! (भूतकाल) यो पूरा भइसक्यो! यो सम्पन्न भइसक्यो! म पापको निम्ति मरें! होशियार, तथ्यअनुसार अघि बढ्नुहोस्, अनुभवअनुसार होइन। हाम्रो व्यक्तिगत अनुभवले यस तथ्यलाई धेरै पटक खण्डन गरेको जस्तो देखिन्छ। मेरो अनुभव (म जसरी वास्तवमै जिउँदछु) ले धेरै पटक मलाई भन्छ कि म पापको निम्ति एकदमै जीवितै छु, तर परमेश्वर भन्नुहुन्छ म त्यसको निम्ति मरें! नबाँचेको व्यक्ति परमेश्वरको निम्ति मरेको छ (एफेसी २:१ -- सम्बन्धरहित, कुनै जिउँदो सम्पर्क छैन) र पापको निम्ति जिउँदो छ। बाँचेको व्यक्ति पापको निम्ति मरेको छ र परमेश्वरको निम्ति जिउँदो छ (तुलना गर्नुहोस् पद ११)। अब उसो उसको जीवनमाथि पापको कुनै अधिकार छैन। उसको जीवनमाथि परमेश्वरकै पूरापूर अधिकार छ, वास्तवमा परमेश्वर नै उसको जीवन हुनुहुन्छ (कलस्सी ३:३-४ मा हेर्नुहोस्)।

"पापसितको हाम्रो सम्बन्ध एउटा कुरा हो, पापको उपस्थिति अर्कै कुरा हो -- यी दुईबीचको भिन्नतालाई अलमल नगरियोस्! हामी मरिसकेका छौं भन्ने प्रकट गरिएको यस तथ्य र छुटकाराको हाम्रो अनुभवबीच भिन्नता राख्नुहोस्। किनभने हामी हाम्रा अनुभवले पापको निम्ति मर्ने होइन: हामी ख्रीष्टको मृत्युमा पापको निम्ति मरिसकेका छौं। हामी पापको निम्ति मरिसकेका छौं भन्ने तथ्य चाहिँ हाम्रो बारेमा परमेश्वरबाटै प्रकट गरिएको वचन हो, अनि हामी यसलाई इन्कार गर्न सक्दैनौं! "हाम्रा अङ्गहरूमा" रहेको पापको उपस्थितिले गर्दा हामी त्यसको निम्ति मरिसकेका छौं भन्ने तथ्यलाई समात्न र पक्रन हामीलाई गाह्रो पर्छ: तर परमेश्वरले त भन्नुभएकै छ। अनि ठिक समयमा सब कुरा हाम्रो विश्वासलाई सम्झाइदिनुहुनेछ पनि" (विलियम न्यूवेल, रोमी)।

पापप्रतिको विश्वासीको मृत्यु चाहिँ येशू ख्रीष्टसितको हाम्रो सम्मिलिकरण (UNION, एकता) सित सम्बन्धित छ जसरी निम्न पदहरूमा बुझाइएको छ। हामी येशू ख्रीष्टसित यस्तो गरी एक बनाइएका छौं किन पापप्रतिको उहाँको मृत्यु (पद १०) पापप्रतिको हाम्रो मृत्यु भएको छ। हामी उहाँमा पापको निम्ति मर्यौं।

रोमी ६:३

"थाह" भन्ने शब्दलाई ख्याल गर्नुहोस्। पावलले एउटा तथ्य प्रस्तुत गर्दैछन् जसलाई विश्वासीले थाह गर्नुपर्छ र त्यसलाई मानिलिनुपर्छ (ठान्नुपर्छ)। यस तथ्यको बारेमा अनजान नरहनुहोस्! विश्वास गर्नुहोस्!

"हामीहरूमध्ये जतिजनाले" = हामी सबैले। ख्रीष्टमा भएको हरेक साँचो विश्वासीलाई यो कुरा भइसकेको छ। येशू ख्रीष्टमा बप्तिस्मा नभएकाहरू तिनीहरू मात्र हुन् जोहरू बाँचेका छैनन्।

"येशू ख्रीष्टभित्र बप्तिस्मा लियौं" -- यो पानीको बप्तिस्माको कुरा होइन। यो पानीभित्र डुबाइने बप्तिस्मा होइन तर ख्रीष्टभित्र डुबाइने बप्तिस्मा हो। कसैले ठिकै भनेको छ, रोमीको छैटौं अध्यायमा एक थोपा पानी छैन। रोमी ६ मा पावलले चर्चा गरिरहेको बप्तिस्मा विधिको बप्तिस्मा होइन, तर वास्तविक बप्तिस्मा हो। यो वास्तविक बप्तिस्मा ठिक उत्तिनैखेर पूरा हुन्छ जब एक व्यक्तिले मुक्ति पाउँछ अनि यो चाहिँ केवल परमेश्वरले दिन सक्ने बप्तिस्मा हो। विधिको बप्तिस्मा (पानीको बप्तिस्मा) एक व्यक्तिले मुक्ति पाइसकेपछित गरिने कार्य हो जुनचाहिँ वास्तविक बप्तिस्माको प्रतीक (मैले मुक्ति पाएको घडि मलाई हुन गएको कुराको चित्रण) को रूपमा लिइने कुरा हो। "येशू ख्रीष्टभित्र बप्तिस्मा" हुने कुरा गलाती ३:२६-२७ मा पनि उल्लेख छ। यस बप्तिस्माको प्रतिफल यो हो कि विश्वासी अब "ख्रीष्टमा" छ (गलाती ३:२८, २ कोरिन्थी ५:१७; रोमी ८:१ इत्यादिमा हेर्नुहोस्)। "बप्तिस्मा" भन्ने शब्द "डुबाउनु, चोपल्नु, कुनै चीजलाई अर्को चीजभित्र राख्नु र यसरी उक्त चीजसित पूरै सम्मिलित हुनु।" विश्वासी जन येशू ख्रीष्टभित्र डुबाइएको छ र परमेश्वरको पुत्रभित्र अवस्थित गरिएको छ जसको फलस्वरूप ऊ "ख्रीष्टमा" छ। यहीँ नै हो उसलाई ओहोदा दिइएको (राखिएको)। यसैले हामी प्रायः ख्रीष्टमा रहेको विश्वासको ओहोदाको कुरा गर्दछौं।

नयाँ नियममा दुईटा महान् सत्यताहरू पटकपटक दोहोराइएका छन्: १) बप्तिस्मा (BAPTISM) २) अन्तरवास (INDWELLING) । बप्तिस्माले मलाई परमेश्वरभित्र अवस्थित गराउँछ र अन्तरवासले परमेश्वरलाई मभित्र अवस्थित गराउँछ। यस्तो सम्बन्धको बारेमा प्रभुले यूहन्ना १४:२० मा पूर्वउल्लेख गर्नुभएको थियो -- "तिमीहरू ममा (बप्तिस्मा) र म तिमीहरूमा (अन्तरवास)" र साथै यूहन्ना १७:२१,२३,२६ मा पनि हेर्नुसहो्।

यदि म येशू ख्रीष्टभित्र बप्तिस्मा भएको छु भने यसको तात्पर्य म…

१) उहाँको मृत्युभित्र बप्तिस्मा भएको छु (रोमी ६:३) २) उहाँको गडाइभित्र बप्तिस्मा भएको छु (रोमी ६:४) ३) उहाँको बौरिउठाइभित्र बप्तिस्मा भएको छु (रोमी ६:४-५) ४ उहाँको शरीर, मण्डलीभित्र बप्तिस्मा भएको छु (१ कोरिन्थी १२:१३)

ख्रीष्टको इतिहास मेरो इतिहास भएको छ किनकि म ख्रीष्टभित्र छु। यसरी उहाँको मृत्यु मेरो मृत्यु हो, उहाँको गडाइ मेरो गडाइ हो, उहाँको बौरिउठाइ मेरो बौरिउठाइ हो र उहाँको स्वर्गारोहण मेरो स्वर्गारोहण हो (एफेसी १:२०-२१; २:६ -- ख्रीष्टमा म स्वर्गीय स्थानहरूमा बसालिएको छु!)। एक ख्रीष्टियन ख्रीष्टसित र ख्रीष्टमा यति नजिकसँग एक बनाइएको छ कि प्रभु येशूले टार्ससका शाऊललाई यसरी भन्न सक्नुभयो, "तिमी मलाई किन सताउँछौ?" (प्रेरित ९:४)। जब शरीर (मण्डली) लाई चोट लाग्छ, शिरलाई दुखाइ हुन्छ!

पानीको बप्तिस्माको उद्देश्य ख्रीष्टमा वा ख्रीष्टभित्र रहेको विश्वासीको यस महिमापूर्ण सम्बन्ध र ओहोदालाई दर्शाउनु हो। निम्न बुँदाहरूलाई विचार गर्नुहोस्:

१) म ख्रीष्टमा भएकोले म उहाँसित उहाँको मृत्यु, गडाइ र बौरिउठाइमा एक भएको छु (रोमी ६:३-४) अनि पानीको बप्तिस्मा चाहिँ म उहाँसँगै मरें र उहाँसँगै बौरें (गलाती २:२०) भन्ने तथ्यलाई दर्शाउने एउटा चित्रण हो!

२) म ख्रीष्टमा भएकोले म एउटा नयाँ सृष्टि हुँ (२ कोरिन्थी ५:१४ -१७), अनि पानीको बप्तिस्मा चाहिँ मसित एउटा नयाँ जीवन र नयाँ हिँडाइ छ भन्ने तथ्यलाई दर्शाउने एउटा चित्रण हो (एफेसी २:१० र रोमी ६:४)।

३) म ख्रीष्टमा भएकोले म उहाँको शरीर अर्थात् मण्डली (१ कोरिन्थी १२:१३) को सदस्य हुँ अनि पानीको बप्तिस्मा चाहिँ म अब ख्रीष्टको शरीरको एउटा सदस्य हुँ र विश्वासीहरूको एउटा स्थानीय सभासित म आवद्ध छु भन्ने तथ्यलाई दर्शाउने एउटा चित्रण हो (प्रेरित २:४१-४२ मा हेर्नुहोस्)।

४) म ख्रीष्टमा भएकोले मैले पापहरूको क्षमा पाएको छु (एफेसी १:७) अनि बप्तिस्मा चाहिँ मेरा पापहरू पखालिएको तथ्यको एक साङ्केतिक चित्रण हो (प्रेरित २:३८; २२:१६ सित तुलना गर्नुहोस्)।

५) म ख्रीष्टमा भएकोले म अब उसो दण्डको आज्ञामुनि छैन (रोमी ८:१) अनि बप्तिस्माले चाहिँ म दोषमुक्त भएको छु र परमेश्वरतर्फ मसित असल विवेक छ भन्ने

तथ्यको गवाही दिने काम गर्दछ (१ पत्रुस ३:२१)।

रोमी ६:४

"हामी उहाँसँगै मृत्युभित्र गाडियौं" -- ख्रीष्टसँगै गाडिनुको महत्त्व के हो? निम्न दुई तथ्यहरूलाई विचार गर्नुहोस्:

१) ख्रीष्टको गडाइले हामीलाई उहाँको क्रूसको मृत्युलाई फर्केर हेर्न लाउँछ। ख्रीष्टको गडाइ उहाँको मृत्युसित सम्बन्धित छ जसरी रोमी ६:३-४ ले देखाउँछ। कोही व्यक्ति गाडियो भन्नुको तात्पर्य उक्त व्यक्ति मर्यो भन्ने हो! "गत हप्ता मेरो बुबाको दफन गरियो" (यसको माने हो "मेरो बुबा मर्नुभयो")। सामान्यतया मरेका मानिसहरूलाई मात्र गाडिन्छ। लाजरसलाई गाडियो किनभने तिनी मरे (यूहन्ना ११)! ख्रीष्टको गडाइ चाहिँ उहाँ साँच्ची नै मर्नुभएको थियो भन्ने कुराको ठूलो प्रमाण हो। यसलाई १ कोरिन्थी १५:३-५ को तर्कसित तुलना गर्नुहोस् जहाँ पहिला एउटा भनाइ उल्लेख गरिन्छ र त्यसपछि त्यसको प्रमाण दिइन्छ: ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो! यसको प्रमाण: उहाँ गाडिनुभयो! ख्रीष्ट मरेकाहरूबाट बौरिउठ्नुभयो! यसको प्रमाण: उहाँ देखा पर्नुभयो!

२) ख्रीष्टको गडाइले हामीलाई त्यसपछिको उहाँको बौरिउठाइलाई हेर्न लाउँछ। ख्रीष्ट साँच्ची नै गाडिनुभएको थियो र उहाँको मृत शरीरलाई साँच्ची नै एउटा कबरस्थानभित्र राखिएको थियो। बौरिउठाइको महिमित तथ्य सबैलाई प्रमाणित गरिएको थियो जब उहाँको शरीर, जुन गाडिएको थियो, त्यो एक्कासी कबरस्थानमा पाइएन! त्यो शरीर त्यहाँ थिएन! "उहाँ यहाँ हुनुहुन्न… आओ प्रभु राखिनुभएको ठाउँ हेर!" (मत्ती २८:६)। आओ र उहाँ गाडिनुभएको ठाउँ हेर!

यसरी जब तपाईं ख्रीष्टकको गडाइलाई विचार गर्नुहुन्छ सधैं यो याद गर्नुहोस्: १) चिहानभित्रको त्यो शरीर साँच्ची नै मरेको थियो; २) तीन दिनपछि चिहानभित्र रहेको त्यो शरीर साँच्ची नै त्यहाँ थिएन। ख्रीष्ट साँच्ची नै बौरेर उठ्नुभएको थियो र सदाको लागि जीवित हुनुभएको थियो!

रोमी ६:४ख-५

हामी केवल ख्रीष्टसित उहाँको मृत्युमा एक भएका होइनौं तर उहाँसित उहाँको बौरिउठामा पनि एक भएका छौं। ख्रीष्ट मर्नुभयो, र म पनि उहाँमा मरें! ख्रीष्ट मरेकाहरूबाट बौराइनुभयो (रोमी ६:४), र ख्रीष्टमा म पनि बौराइएँ। यस विचारलाई पद ५ मा पनि दोहोराइएको छ: "एकैसाथ जोरिएका" = एक बनाइएका। मेरो हिँडाइ (रोमी ६:४ख) ख्रीष्टमा भऐको मेरो ओहोदासित मेल खानुपर्छ (रोमी ६:५)। ख्रीष्टमा मैले नयाँ जीवन पाएको छु र म यस तथ्यको प्रकाशमा हिँड्नुपर्छ! हामीले उहाँको जीवनलाई विश्वासैद्वारा अपनाउनुपर्छ (पद ११ सित तुलना गर्नुहोस् -- "ठान")।

रोमी ६:६

"थाहा गर्दै" -- यस पदले विश्वास गरिनुपर्ने एउटा चाबी तथ्यलाई प्रस्तुत गर्दछ! "पुरानो मान्छे" के हो (रोमी ६:६; एफेसी ४:२२; कलस्सी ३:९) र "नयाँ मान्छे" के हो (कलस्सी ३:१०; एफेसी ४:२४)? पुरानो मान्छे = आदममा म जो-जस्तो छु र आदममा मसँग जे-जस्ता छन् ती सबको सँगालोलाई पुरानो मान्छे भनिन्छ; नयाँ मान्छे = ख्रीष्टमा म जो-जस्तो छु र आदममा मसँग जे-जस्ता छन् ती सबको सँगालोलाई नयाँ मान्छे भनिन्छ। आदममा भएको मेरो पुरानो जीवन पुरानो मान्छे हो; ख्रीष्टमा भएको मेरो नयाँ जीवन नयाँ मान्छे हो। एउटा चाहिँ 'म'-जीवन हो; अर्को चाहिँ ख्रीष्ट-जीवन हो। एउटा चाहिँ पतन भएको मानिससित सम्बन्धित छ; अर्को चाहिँ उद्धार गरिएको वा नयाँ जन्मेको मानिससित सम्बन्धित छ। पुरानो मान्छे चाहिँ 'पुरानो म' हो; नयाँ मान्छे चाहिँ 'नयाँ म' हो, ख्रीष्टमा नयाँ सृष्टि हो। पुरानो मान्छेका गुणहरू आदमबाट सरेर आएको पतित पापपूर्ण स्वभावबाट आउँछ; नयाँ मान्छेका गुणहरू नयाँ जन्म हुँदा परमेश्वरबाट पाइने ईश्वरीय पवित्र स्वभावबाट आउँछ। पुरानो मान्छे शरीरबाट जन्मेको हुन्छ; नयाँ मान्छे परमेश्वरबाट जन्मेको हुन्छ। पुरानो मान्छे प्राकृतिक जन्मबाट हुन आयो; नयाँ मान्छे नयाँ जन्मबाट हुन आयो। पुरानो मान्छे "धोकापूर्ण लालसाहरूद्वारा भ्रष्ट" छ (एफेसी ४:२२; रोमी ७:२४ सित तुलना गर्नुहोस।); नयाँ मान्छे परमेश्वरको स्वरूपअनुसार [उहाँको प्रतिबिम्ब] धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ" (एफेसी ४:२४)। नयाँ मान्छे एउटा नयाँ कुरो हो जसको पूर्व-अस्तित्व थिएन तर यो सृष्टि गरिएको हो (एफेसी ४:२४; २ कोरिन्थी ५:१७)। तपाईंले मुक्ति पाउनुभन्दा पाँच वर्षअघि नयाँ मान्छेको अस्तित्व नै थिएन, तर पुरानो मान्छेको भने थियो!

"पुरानो मान्छे केवल पुरानो स्वभाव मात्र होइन, यद्यपि त्यसले पुरानो स्वभावलाई समेट्छ; पुरानो मान्छेसित एउटा स्वभाव छ जो परमेश्वरको विरुद्धमा छ अनि यही स्वभाव पुरानो मान्छेका क्रियाकलापहरूको चरित्रमा झल्कन्छ" (रोइ ह्यूब्नर)।

एफेसी ४:२५-३१ मा पुरानो मान्छे उसका कामको आधारमा बयान गरिएको छ: त्यो एउटा दुष्ट फटाहा हो (पद २५), त्यसको नराम्रो रिस छ (पद २६), त्यो एक खराब चोर हो (पद २८), त्यसको मुख भ्रष्ट छ र त्यसबाट फोहोर निस्किरहन्छ (पद २९) र तीतोपना, क्रोध, रिस, कलह, निन्दा र क्षमा नदिने आत्मा त्यसका चरित्र हुन् (पद ३१-३२)। तुलनामा, नयाँ मान्छेले सत्य बोल्छ (पद २५), आवश्यक कुरामा सही तरिकाले रिसाउँछ (पद २६), कडा परिश्रम गर्छ र दिन जानेको छ (पद २८), उन्नति गराउने असल कुरा बोल्छ (पद २९) र दया, कोमलता, क्षमाशील आत्मा उसका चरित्र हुन्। नयाँ मान्छे परमेश्वरकै अर्थात् उसलाई सृष्टि गर्नुहुनेकै प्रतिबिम्ब हो!

के जान्न महत्त्वपूर्ण छ भने पुरानो मान्छे अपरिवर्तनीय छ! त्यो कहिल्यै बदलिने छैन! त्यो सदा र सधैं भ्रष्ट छ! पुरानो मान्छेले कहिल्यै आफूलाई सुधार्नेछैन (वास्तवमा, तपाईंले मुक्ति पाउनुभएपछि पुरानो मान्छे झनै खराब देखापर्छ!)। पुरानो मान्छे कहिल्यै सुध्रिनेछैन। त्यो चाम्रो न चाम्रो छ! त्यो पूर्णरूपमा भ्रष्ट छ र सधैं त्यस्तै रहिरहन्छ। जब एक व्यक्तिले मुक्ति पाउँछ पुरानो मान्छे बदली हुँदैन, त्यो जस्ताको त्यस्तै रहेको हुन्छ।

त्यसोभए परमेश्वरले पुरानो मान्छेको सामना कसरी गर्नुहुन्छ? परमेश्वरले पुरानो मान्छेलाई बदली गर्नुहुन्न। त्यसलाई परिवर्तन गर्नुहुन्न। तपाईंको पुरानो 'म' लाई परमेश्वरले के गर्नुभयो? आदममा तपाईं जो-जस्तो हुनुहुन्छ र तपाईंसित जे-जस्तो छ, त्यसलाई के गर्नुभयो? रोमी ६:६ ले यसको जवाफ दिन्छ: "हाम्रो पुरानो मान्छे उहाँसँगै क्रूसमा टाँगियो (भूतकाल)।" परमेश्वरले पुरानो मान्छेलाई दण्डको आज्ञा दिनुभयो, त्यसको न्याय गर्नुभयो र आफ्नो क्रोध उहाँमाथि खन्याउनुभयो जब धन्यको प्रभु मुक्तिदाता येशू क्रूसमा मर्नुभयो। मेरो पुरानो मान्छे क्रूसमा टँगाइयो!

"क्रूसमा टँगाइयो" -- त्यो पूरा भयो! त्यो सिद्धिसक्यो! पुरानो मान्छेलाई तपाईंले टँगाउनुपर्दैन! त्यो काम २००० वर्ष अगाडि पूरा भइसक्यो। यो तपाईंले गर्ने काम होइन, त्यो परमेश्वरले गरिसक्नुभयो! यो पालन गर्नुपर्ने आज्ञा होइन; यो विश्वास गरिनुपर्ने तथ्य हो! पुरानो मान्छेको सामना तपाईंले गर्नुपर्दैन। क्रूसमा उहाँले नै त्यसको सामना गरिसक्नुभयो! पुरानो मान्छेलाई जित्ने खोज्नेहरू कहिल्यै जित्दैनन्!

रोमी ६:६ मा हाम्रो ओहोदा र अनुभवको बीच भिन्नता राख्नुपर्छ। यो पद एक ख्रीष्टियनको अनुभवको बयान होइन (जस्तो क्याल्भिनवादीहरू सिकाउँछन्)। "हाम्रो पुरानो मान्छे क्रूसमा टँगाइयो" भन्ने कुरा ख्रीष्टमा भएको हाम्रो ओहोदा सम्बन्धी एउटा तथ्य हो। हाम्रो वास्तविक अनुभवमा हाम्रो पुरानो मान्छे धेरै पटक एकदम जिउँदो र कुशलै देखिन्छ, तर हामी आफ्नो अनुभवअनुसार हिँड्नुहुँदैन। हामी परमेश्रले भन्नुभएको कुरा (तथ्यहरू) अनुसार हिँड्नुपर्छ! तपाईंको ओहोदाका तथ्य यो हो कि तपाईंको पुरानो मान्छे ख्रीष्टसँगै टँगाइएको थियो। त्यस तथ्यलाई विश्वासैद्वारा दाबी गर्नुहोस् यद्यपि तपाईंको नजरमा त्यो उल्टो जस्तो लाग्ला रे! त्यो हो भनेर ठान्नुहोस्! जति बढी यस सत्यतालाई हामी विश्वासद्वारा दाबी गर्दछौं त्यति नै बढी यो हाम्रो वास्तविक अनुभवमा साँचो हुनेछ। जति बढी हामी आफ्नो ओहोदालाई मानिलिन्छौं त्यति नै बढी पवित्र आत्मा परमेश्वरले त्यसलाई हाम्रो वास्तविक अवस्थामा साँचो तुल्याइदिनुहुनेछ। विश्वास नै चाबी हो।

कलस्सी ३:९-१० लाई विचार गर्नुहोस्। यसको भाषालाई ध्यान दिनुहोस्। यसले भन्छ, "तिमीले निकालिदिएका छौ" र "तिमीले पहिरेका छौ"। यी आज्ञा होइनन्, यी त तथ्यहरू हुन्। पुरानो मान्छे किन निकालिएको छ? फेरि, यसको जवाफ रोमी ६:६ ले दिन्छ। पुरानो मान्छे निकालिएको छ किनकि परमेश्वरले त्यसलाई क्रूसमा टँगाइदिनुभयो! मेरो पुरानो मान्छे निकालिएको थियो र कलवरीमा टँगाइएको थियो! नयाँ मान्छे चाहिँ मुक्ति पाएकै घडीमा पहिराइएको थियो किनकि त्यही घडी म ख्रीष्टमा एउटा नयाँ सृष्टि भएको छु!

कलस्सीले तथ्य बताउँछ; एफेसीले विश्वासको माग गर्छ! एफेसीको पत्रमा हामीलाई विश्वासद्वारा त्यो काम गर्न भनिएको छ जुन काम परमेश्वरले वास्तवमा गरिसक्नुभयो भनेर कलस्सीले बताउँदछ! पुरानो मान्छेलाई म कसरी फालूँ? यो मानिलिएर कि परमेश्वरले त्यो गरिसक्नुभयो! मेरो पुरानो मान्छे ख्रीष्टसँगै क्रूसमा टँगाइयो भन्ने कुरा मानिलिँदै। नयाँ मान्छेलाई म कसरी पहिरूँ? यो मानिलि

एर कि म येशू ख्रीष्टमा नयाँ सृष्टि भएको छु! क्रूसमा पूरा गरिएको क्रूसमा विश्वास गर्दै पुरानो मान्छेलाई फालिन्छ; ख्रीष्टमा भएको मेरो महिमित ओहोदामा विश्वास गर्दै नयाँ मान्छेलाई पहिरिन्छ।

यही सिद्धान्तको अर्को उदाहरण गलाती ३:२७ र रोमी १३:१४ मा भेटिन्छ। पहिलो खण्डले बताउँछ कि हामीले ख्रीष्टलाई पहिरेका छौं। दोस्रो खण्डले चाहिँ हामीलाई आज्ञा गर्दछ, "ख्रीष्टलाई पहिर!" गलाती ३:२७ चाहिँ तथ्य हो (तिमीले ख्रीष्टलाई पहिरेका छौ!)। रोमी १३:१४ ले चाहिँ विश्वासको माग गर्दछ (हामीलाई विश्वासैद्वारा त्यो काम गर भन्दछ जुनचाहिँ परमेश्वरले वास्तवमा गरिसक्नुभएको छ!)।

गलाती २:२० लाई विचार गर्नुहोस् -- "म (आदममा भएको पुरानो मान्छे) ख्रीष्टसित क्रूसमा टँगाइएको छु, तरैपनि म (ख्रीष्टमा भएको नयाँ मान्छे) जिउँछु, त्यसो भए पनि म (आदममा भएको पुरानो मान्छे) ता होइन तर ख्रीष्ट म (ख्रीष्टमा भएको नयाँ मान्छे) भित्र जिउनुहुन्छ; अनि जुन जीवन म (नयाँ मान्छे) अहिले शरीरमा जिउँछु, त्यो म (नयाँ मान्छे) परमेश्वरको पुत्रको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो।"

विश्वासले परमेश्वरबाटका तथ्यहरूलाई विश्वास गर्नुपर्छ र ती सत्य छन् भनी मानिलिनुपर्छ!

"पापको शरीर" (रोमी ७:२४ सित तुलना गर्नहोस्) -- यसले मेरो उद्धार गरिन बाँकी रहेको शरीरलाई जनाउँछ जुन शरीरलाई उसको हतियारको रूपमा पापले प्रयोग गर्दछ। आठौं अध्यायमा यो सिक्नेछौं कि विश्वासीको भविष्यको आशा अनुसार शरीरको उद्धार हुनेछ (रोमी ८:२३) जसपछि हामीले फेरि कहिल्यै पाप गर्नेछैनौ। तर आज भने हामीसित एउटा उद्धार गरिन बाँकी रहेको शरीर छ जो अझै पाप, रोग, भ्रष्टता, विनाश र आखिरमा शारीरिक मृत्युको अधीनमा छ। पाप अझै पनि हाम्रा अङ्गहरूमा उपस्थित रहेको छ (रोमी ६:१२; ६:१६; ६:१९; ७:५; ७:१३; ७:१७; ७:२०-अन्तरवास गर्ने पाप; ७:२३;७:२५)।

"बेकम्मा" -- निष्क्रिय, प्रभावहीन, शक्तिहीन, 'कामहीन', कामबाट मुक्त। ख्रीष्टको क्रूसको उपलब्धीले गर्दा र उक्त उपलब्धीमाथिको मेरो विश्वासले गर्दा पापले ममाथिको आफ्नो शक्ति गुमाएको छ: "अब उसो हामीले पापको सेवा नगरौं भनेर" (रोमी ६:६ को अन्तिम भागलाई नेपालीमा अक्षरशः अनुवाद गर्दा)। अब उसो हामी पापको दास भएझैं सेवा गरिरहनु खाँचो छैन। मुक्ति पाउनु अघि म अटुट रूपमा पापको दास थिएँ (यूहन्ना ८:३४ र रोमी ८:७-८)। ख्रीष्टमा अब म स्वतन्त्र पारिएको छु (रोमी ६:१८,२२ मा हेर्नुहोस्)।

स्मरण होस् (यो महत्त्वपूर्ण कुरा हो), हामीले मुक्ति पाउँदा हाम्रो पापी स्वभाव निर्मूल गरिँदैन (त्यसले आफूलाई व्यक्ति गर्न नै नसक्ने गरी जरै उखालिएर पूरै फालिएको हुँदैन)। यो कुरा हामी तीनटा कारण जान्दछौं।

१) पवित्रशास्त्रले सो स्पष्टै बताएकोले -- १ यूहन्ना १:८,१०; २:१-२। २) यस शरीरमा रहँदा विश्वासीहरूले पाप गर्न सक्छन् र गर्छन् भन्ने तथ्य सबैको अनुभव भएकोले (यदि मेरो पाप निर्मूल पारिएको भए त पाप असम्भव हुनेथियो)। ३) रोमी ७:१४-२४ ले विश्वासीको जीवनमा अन्तरवास गर्ने पापको समस्या, उपस्थिति र शक्तिको चर्चा गरेकोले।

पाप यदि निर्मूल पारिएको भए त यसले विश्वासीलाई कुनै समस्या नै ल्याउँदैनथ्यो, त्यो हाजिर नै हुनेथिएन र त्यसको कुनै शक्ति नै हुनेथिएन।

दुईटा विषमतादेखि होशियार हुनुहोस्:

१) पापरहित सिद्धता (SINLESS PERFECTION) मा विश्वास गर्नेहरू।

मैले मुक्ति पाएको दिनदेखि मैले कहिल्यै पाप गरेको छैन र पाप गर्नै सक्दिनँ।"

यस गलत धारणालाई १ यूहन्ना १:८,१० ले जवाफ दिन्छ।

२) पापपूर्ण असिद्धता (SINFUL IMPERFECTION) मा विश्वास गर्नेहरू।

"मैले पाप नगरी सुख छैन। मलाई पाप गर्ने बाध्यता नै छ। पाप गर्नु बाहेक मेरो अर्को विकल्प नै छैन। इत्यादि।"

यस गलत धारणालाई १ यूहन्ना २:१; रोमी ६ इत्यादिले जवाफ दिन्छ। पापमाथि विजयी बन्न परमेश्वरले विश्वासीको लागि प्रबन्ध गर्नुभएको छ (रोमी अध्याय ८)।

"अब उसो" -- निम्नसूचित उदेकका "अब उसो" खण्डहरूलाई ध्यान दिनुहोस्:

१) रोमी ६:६ -- अब उसो म पापको अटुट दास हुनु छैन २) गलाती २:२० -- अब उसो म जिउनु छैन तर ख्रीष्ट (मेरो जीवन होइन तर ख्रीष्टको जीवन -- मभित्र उहाँको जीवन)। ३) २ कोरिन्थी ५:१५ -- अब उसो आफ्नो निम्ति जिउनु छैन ४) एफेसी ४:१७ -- अब उसो मुक्ति नपाएकाहरूजस्तो हिँड्नु छैन ५) एफेसी ४:२८ -- अब उसो पुरानो मान्छेका काम गर्नु छैन ६) १ पत्रुस ४:२ -- अब उसो मानिसका अभिलाषाका निम्ति जिउनु छैन ७) एफेसी ४:१४ -- अब उसो बालक रहनु छैन (विश्वासीहरू बढ्दै जानुपर्छ, परिपक्क्व बन्दै जानुपर्छ, हरेक दिन ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जानुपर्छ)