Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

रोमी ६:१५-२३

यस पृष्ठलाई छाप्नुहोस्

रोमी ६:१५

प्राकृतिक मान्छेले परमेश्वरको अनुग्रह बुझ्नै सक्दैन। ऊ ठान्छ कि अनुग्रहमनि हुनु पाप गर्नलाई अनुमति हो। अनुग्रह एक अनुमति (पाप गर्नलाई स्वतन्त्रता) होइन तर यो छुटकारा (पाप नगर्नलाई स्वतन्त्रता) हो। के परमेश्वरको अनुग्रहले विश्वासीलाई दुष्ट भएर जिउन र पापमा लागिरहन सिकाउँछ (तीतस २:११-१२ मा हेर्नुहोस्)? आफ्नो पिठ्युमा पापको एउटा भयङ्कर भारी बोक्दै गरेको एउटा व्यक्तिलाई विचार गर्नुहोस्। जब ऊ सिनाई पर्वत नजिक आउँछ, के हुन्छ? उसले आफ्नो भारी झनै गह्रौं भएको महसुस गर्छ (रोमी ७:१३)! जब ऊ कलवरी पर्वत नजिक आउँछ, के हुन्छ? भारी क्रूसको फेदमा खस्छ। सिनाई पर्वतले पापको प्रभुत्वलाई कहिल्यै तोड्न सक्दैन, केवल अनुग्रहले मात्र त्यो गर्न सक्छ। सिनाई पर्वतले पापको भारले दबिएको प्राणलाई कहिल्यै छुटकारा दिन सक्दैन, तर कलवरीले सक्छ। व्यवस्थाले पापको शक्तिलाई तोड्न कहिल्यै सक्दैन। व्यवस्थाले पापलाई के गर्दछ भनेर बाइबलले बताएकै छ -- त्यसले पापलाई शक्ति पो दिन्छ! (१ कोरिन्थी १५:५६) र व्यवस्थाद्वारा पाप ज्यादै पापमय बन्छ (रोमी ७:१३)।

रोमी ६:१६

पावलले आफ्ना पाठकहरूलाई यस पदमा एउटा ज्यादै सरल सिद्धान्तको सम्झना गराउँछन्। जसको आज्ञा मान्छौ त्यसकै दास बन्छौ! जसको सेवा गर्छौ त्यसकै सेवक बन्छौ। पोक्चेको सेवा गर्ने पोक्चेकै सेवक हो। परमेश्वरको सेवा गर्ने परमेश्वरकै सेवक हो। पापको सेवा गर्ने पापकै सेवक हो! यस पदमा अर्को पनि सिद्धान्त लुकेको : "कुनै पनि मानिसले दुई मालिकको सेवा गर्न सक्दैन" (मत्ती ६:२४)। परमेश्वर र पाप दुवैको सेवा गर्न सकिन्न। कि एक कि अर्कोको सेवा गरिनुपर्छ (यूहन्ना ८:३४ मा पनि हेर्नुहोस्)।

रोमी ६:१७-१८

विश्वासीले बितेको समयमा आफू को थिएँ (पद १७) र परमेश्वरको अनुग्रह अहिले को बनेको छु भनेर सधैं सम्झना गर्नुपर्छ (पद १८)। (निम्न अध्ययन हेर्नुहोस्: "उहाँको अनुग्रहको धन -- मैले मुक्ति पाएको दिनदेखि म के कस्ता कुराको भागीदार बनेको छु? - २१५ ओटा सत्यताहरू")

तिमीहरू पापका दासहरू थियौ (पद १७)

तिमीहरू धार्मिकताका दासहरू बन्यौ (पद १८)

यस्तो परिवर्तन कसरी हुन आयो? "तिमीहरूले हृदयबाट (रोमी १०:९-१०) शिक्षाको त्यस रूपलाई पालन गरेका छौ" (पद १७)। पावल यहाँ सुसमाचारको सन्देशको कुरा गर्दैछन् अर्थात् क्रूसमा टँगाइनुभएको र बौरिउठ्नुभएको मुक्तिदाताको बारेमा बताइएको जुन समाचार यी मानिसहरूले ग्रहण गरेका थिए र विश्वास गरेका थिए (प्रभु येशू ख्रीष्टमाथि विश्वास गरीकन सुसमाचारको पालन गरेका थिए)। पद १८ ले अक्षरशः बताउँछ, "तिमीहरू धार्मिकताको दास बनाइयौ।" कति उदेकको दासत्व यो!

यी दुई पदहरू पावलले परमेश्वरलाई धन्यवाद ज्ञापन गर्दै सुरु गरेको कुरालाई ध्यानमा राख्नुहोस्। धन्यवाद दिने काम वास्तवमा विश्वासको काम हो र ठान्ने वा मानिलिने काम हो (पद ११)। पावल भन्दैथिए, "धन्यवाद छ परमेश्वर, कि म एक समय पापको दास भए तापनि अब म धार्मिकताको दास भएको छु!" अर्को शब्दमा, उनी भन्दैथिए, "प्रभु, म एक वितेको समयमा पापको दास थिएँ तर अब म धार्मिकताको दास भएको छु भन्ने कुरा विश्वास गर्दछु!" धन्यवाद दिने कामचाहिँ परमेश्वरले गरिसक्नुभएको कुराका तथ्यहरूमा आफ्नो विश्वास व्यक्ति गर्ने एउटा उत्तम र परमेश्वरद्वारा नियुक्त गरिएको तरिका हो। साँचो धन्यवाद भनेको ठान्ने कामलाई क्रियाशील बनाउनु हो: "धन्यवाद छ प्रभु कि ख्रीष्ट येशू मेरा प्रभुमा म पापतर्फ मरें र परमेश्वरतर्फ जिउँदो भएँ" (रोमी ६:११ मा हेर्नुहोस्)।

स्वतन्त्रता खास कस्तो कुरा हो? के त्यो मनलाग्दी गर्नलाई अनुमति हो? के त्यो पाप गर्नलाई स्वतन्त्रता हो? कदापि नहोस्! यी पदहरूले देखाउँछन् कि साँचो ख्रीष्टिय स्वतन्त्रता भनेको परमेश्वरको सेवा गर्नलाई स्वतन्त्रता हो। विश्वासी दास त दासै हो। फरक के छ भने, उसले मालिक बदलेको छ!

रोमी ६:१९

पावल यहाँ मानवीय शब्दाली प्रयोग गर्दैछन् र मानिस-मानिस बीचको साधारण सम्बन्धलाई लिएर एउटा उदाहरण प्रस्तुत गर्दैछन्।

"दुर्बलता" = कमजोरीपन

"अधर्म" = व्यवस्थाहीनता (lawlessness)

"दास" = कमारो

ख्रीष्टकहाँ आउनुअघि हामीले पापको सेवा गर्थ्यौं; अब हामी धार्मिकताको सेवा गर्दछौं!

"सुम्प" = चढाउनु, परमेश्वरको प्रयोजनका निम्ति दिनु (पद १३)

हामी रगतको दामले किनिएका व्यक्तिहरू भएकाले हाम्रो अब एकजना नयाँ मालिक हुनुहुन्छ भन्ने कुरालाई एकदम प्रस्टै देखाउनुपर्छ।

स्तुति गाओ, ख्रीष्टका जन हो! बेहिसाब छ ऋण हाम्रो!

आनन्दसित अर्पण गरौं, हाम्रो तन-मनलाई!

रोमी ६:२०

योचाहिँ मेरो उद्धाररहित जीवनको बयान हो। म धार्मिकताको सम्बन्धमा स्वतन्त्र थिएँ। म ठिक जीवन र ठिक विचारदेखि स्वतन्त्र थिएँ। म अधर्मको दास थिएँ। परमेश्वरलाई खुशी पार्न मैले केही गर्न सक्दिन थिएँ (रोमी ८:८)। म पापको दास थिएँ। तर परमेश्वरलाई धन्यवाद होस्, म मुक्त भएको छु!

रोमी ६:२१

हामीले आफ्नो मुक्ति नपाएको जीवनलाई फर्केर हेर्दा त्यसमा एउटै कुरा देख्दैनौं जसलाई हामीले फलको रूपमा दाबी गर्न सक्छौं। मत्ती ७:१७-१८ (खराब रूखले असल फल फलाउन सक्दैन)। मेरो मुक्ति नपाएको जीवनलाई परमेश्वरको दृष्टिकोणबाट जब म हेर्दछु, म लज्जित हुन्छु। परमेश्वरबाट अलग र उहाँको जीवनबाट पराई भई जिएको मेरो जीवनदेखि म गर्व गर्न सक्दिनँ। एक मुक्ति नपाएको जीवनको अन्त मृत्यु हो। एक मुक्ति नपाएको जीवनलाई यसरी बयान गर्न सकिन्छ: फलरहित, फलरहित, फलरहित…मृत्यु!

जीवनका धेरै यात्राहरू आफ्नै इच्छामा हिँडिरहें मैले हार सम्झे जीवनलाई, जीवनलाई व्यर्थ थियो यो जीवन मेरो प्रभु तिमीमा अर्थ पाएँ! -- मदन किराँत

रोमी ६:२२

कत्रो भिन्नता! परमेश्वरको अनुग्रहले कत्रो भिन्नता ल्यायो! मुक्ति पाएको व्यक्तिको जीवनलाई यसरी बयान गर्न सकिन्छ: फलवन्त, फलवन्त, फलवन्त…अनन्त जीवन! विश्वासी जन पापबाट स्वतन्त्र छ, परमेश्वरको दास भएको छ, पापबाट अलग जीवन जिउँछ र परमेश्वरतर्फ अलग्गिएको जीवन (पवित्रता) जिउँछ र अन्तचाहिँ अनन्त जीवन हो (परमेश्वरसित अनन्त सम्बन्ध, हेर्नुहोस् यूहन्ना १७:३ मा)।

जिउँदो परमेश्वरको सन्तान भएकाले हाम्रा जीवनहरू उहाँको फलले चिनिएको होस् (गलाती ५:२२-२३)। हामीले धेरै फल फलाएका होऔं (यूहन्ना १५), उहाँको अनुग्रहको महिमाको प्रशंसाको निम्ति।

रोमी ६:२३

यो पद स्वभावैले दुई भागमा विभाजित छ। पहिलो भागले देखाउँछ मान्छेले पाउनुपर्ने के हो (ऊ कुन कुराको योग्य छ); दोस्रो भागले देखाउँछ परमेश्वरले दिनुहुने कुरा के हो (जसको योग्य ऊ छैन)। वास्तवमा पद २३ को पहिलो भागले २१ औं पदको सार बताउँछ र पद २३ को दोस्रो भागले २२ ओं पदको सार बताउँछ।

"जुन कुराहरूको विषयमा तिमीहरू अहिले लाज मान्दछौ, ती कुराहरूमा तिमीहरूले त्यस बेला के फल पायौ र? किनकि ती कुराहरूको अन्तचाहिँ मृत्यु हो…किनकि पापको ज्याला मृत्यु हो" (पद २१, २३क)

"तर अब ता पापबाट स्वतन्त्र पारिएपछि , र परमेश्वरका दासहरू भएपछि तिमीहरूले पवित्रताका निम्ति आफ्ना फल फलाउँछौ, अनि अन्तचाहिँ अनन्त जीवन हो… परमेश्वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो" (पद २२, २३ख)।

"ज्याला" = पारिश्रमिक, कमाइएको कुरो, हामीले पाउनुपर्ने कुरो जसको लागि हामीले काम गरेका थियौं। कस्तो भयानक ज्याला! पाप त डरलाग्दो तनखादाता हो नि! काम दिने यो मालिक कति कुरूप! खराब कामहरूको जीवनले मैले मृत्यु कमाएको छु। मेरो पापमय जीवनले मेरो निम्ति कमाएको त्यही हो! मैले जीवन जसरी बिताएको छु त्यसको तलब थाप्न म इच्छु हुनेथिइनँ!

"वरदान" = सित्तैंको उपहार (ग्रीकमा "करिज्मा")। उपहार भनेको ज्यालाभन्दा बिलकुलै भिन्न कुरा हो। एउटा कमाइन्छ, अर्कओ कमाउन सकिन्न, त्यो केवल धन्यवादसाथ लिन मात्र सकिन्छ। एउटा हामीले पाउनैपर्ने कुरा हो; अर्को हामीले पाउनु पर्ने कुरा नै होइन। हामी धन्यवादी हुनुपर्छ कि परमेश्वरले हामीसित अनुग्रह अनुसार व्यवहार गर्नुहुन्छ, व्यवस्था अनुसार होइन। हरेक व्यवस्था प्रणाली कामहरूको प्रणाली हो र त्यसअनुसार एक व्यक्ति ठिक जे पाउनुपर्थ्यो त्यही नै पाउँछ। परमेश्वरबाटको अनन्त जीवनको उपहार चाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो (१ यूहन्ना ५:११ को "यो जीवन उहाँको पुत्रमा छ" लाई रोमी ६:११ सित तुलना गर्नुहोस् जहाँ "प्रभु येशू ख्रीष्टमा (द्वारा होइन) परमेश्वरका निम्ति जिउँदो" भनेर अनुवाद गरिनुपर्छ)।

सुरुमा रोमी ६:१ मा उठाइएको प्रश्नलाई २३ पदमा जवाफ दिइएको छ। यदि कोही निरन्तर पापमै जिइरहन्छ भने उसले आफू परमेश्वरको अनुग्रहको ज्ञान नपाएको व्यक्ति भएको दर्शाइरहेको हुन्छ। उसले आफ्नो पापमय जीवनको लागि उसले ठिक जे पाउनुपर्थ्यो त्यही नै पाउँछ: मृत्यु! यस मृत्युमा मूलतः दुईटा कुरा समावेश छ: १) परमेश्वरबाट अलग पारिनु; र २) परमेश्वरबाट दण्ड पाउनु। २ थेस्सलोनिकी १:८-९; मत्ती २५:४१,४६; प्रकाश २०:१५ इत्यादिमा हेर्नुहोस्। प्रभु येशू ख्रीष्टले यो मृत्युदण्ड मेरो निम्ति भोगिदिनुभयो। उहाँ परमेश्वरबाट अलग पारिनुभयो (भजनसङ्ग्रह २२:१; मत्ती २७:४६) र उहाँले परमेश्वरबाट दण्ड भोग्नुभयो (यशैया ५३; १ पत्रुस ३:१८)। मेरो खातिर पूरा गरिदिनुभएको प्रभु येशू ख्रीष्टको काममा परमेश्वर बिलकुलै सन्तुष्ट हुनुहुन्छ।


पृष्ठ संशोधन मिति: Friday 27-Mar-15
WordofTruth.com.np © 2017