Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

रोमी ६:७-१४

यस पृष्ठलाई छाप्नुहोस्

रोमी ६:७

किन विश्वासी जन अब उसो पापको दास हुनुपर्दैन भन्नु कुराको कारण यस पदले दिन्छ ("किनकि")। "किनकि जो मरेको छ, त्यसले पापबाट छुटकारा पाएको छ"। साथै हेर्नहोस् रोमी ६:१८,२२ -- "पापबाट स्वतन्त्र"। अब्राहाम लिङ्कन र अमेरिकी सरकारले जब दासहरूलाई मुक्त गरे तिनीहरूले आफ्नो स्वतन्त्रताको फाइदा लिनलाई पाँचओटा कुरा गर्नु आवश्यक थियो: १) घोषणाको जानकारी पाउनुपर्थ्यो २) त्यो साँचो हो भनी विश्वास गर्नुपर्थ्यो (मानिलिनुपर्थ्यो, ठान्नुपर्थ्यो); ३) आफ्नो स्वतन्त्रताको दाबी गर्नुपर्थ्यो: आफ्नो मालताल पोका पार्ने इत्यादि; ४) दास हुन अस्वीकार गर्नुपर्थ्यो -- स्वतन्त्र भएजस्तै जिउनुपर्थ्यो; ५) अमेरिकी सरकार उसको पक्षमा त्यसको सारा अधिकार र सामर्थ्यमा खडा हुनेछ भन्ने कुरामा ढुक्क हुनुपर्थ्यो। त्यसैगरी विश्वसी जन पनि "जुन स्वतन्त्रताद्वारा ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभयो त्यसैमा बलियो गरी खडा" हुनुपर्छ (गलाती ५:१) र उसको दिनदिनको अनुभवमा यस स्वतन्त्रतालाई वास्तविक बनाउन सक्नुहुने पवित्र आत्मा परमेश्वर (रोमी ८) को सारा अधिकार र सामर्थ्यमाथि उसले पूरै आड लिनुपर्छ।

रोमी ६:८

अब यदि हामी ख्रीष्टसँग मरिसकेका छौं भने (छौं पनि), उहाँसँगै हामी जिउने पनि छौं भनी हामी विश्वास गर्दछौं। विश्वास नै चाबी हो! हामीले परमेश्वरका तथ्यहरूलाई विश्वास गर्नुपर्छ! "परमेश्वरले व्यवहारलाई होइन, तर विश्वासलाई अगाडि राख्नुहुन्छ; व्यवहार विश्वासको पछि-पछि आउँछ" (न्यूवेल, पृष्ठ २३४)। परमेश्वरले ख्रीष्टसितको हाम्रो सम्मिलिकरण र उहाँमा रहेको हाम्रो ओहोदा सम्बन्धी तथ्यहरू प्रकट गरिदिनुभएको छ। विश्वासले यी तथ्यहरूमाथि विश्राम-भरोसा राख्नुपर्छ। सह-क्रूसीकृत मात्र होइन सह-पुनर्वजीवित पनि! म उहाँको मृत्युको भागीदार भएको छु र म उहाँको जीवनको भागीदार पनि भएको छु!

रोमी ६:९

म कस्तो किसिमको जीवनको भागीदार भएको छु? अनन्त जीवन, अविनाशी जीवन! मृत्युले ख्रीष्टमाथि अब उसो कहिल्यै राज्य गर्दैन र त्यसले ममाथि पनि कहिल्यै राज्य गर्दैन। प्रकाश १:१८ मा हेर्नुहोस्। ख्रीष्टमाथि मृत्युको अब उसो कहिल्यै प्रभुत्व छैन। उहाँले त्यसलाई पराजित गर्नुभयो! उहाँको मृत्यु सदालाई गइसकेको विगतको कुरा हो। ख्रीष्टको बौरिउठाइ लाजरसको भन्दा निकै भिन्न थियो। लाजरस बौराइए केवल फेरि मर्नलाई। ख्रीष्ट बौराइनुभयो फेरि कहिल्यै नमर्नलाई। ख्रीष्टकै जीवनमा म जिउँछु! उहाँको मृत्युमा म मरें। "म … क्रूसमा टँगाइएँ त्यसो भए पनि म जिउँछु" (गलाती २:२०)। ख्रीष्टसितको मेरो सम्मिलिकरणले गर्दा म उहाँको अविनाशी जीवनको भागीदार भएको छु। साँच्ची नै, उहाँ मेरो जीवन हुनुहुन्छ (कलस्सी ३:३- ४)!

रोमी ६:१०

पावलले अब ख्रीष्टको मृत्यु कहिल्यै नदोहोरिने केवल एक पटकको घटना थियो भन्ने कुरालाई खुलस्त ("किनकि") पार्छन्। "एकै पल्ट" = "सदाका निम्ति एक पटक"! ख्रीष्टको मृत्यु एकै पल्ट मात्र हुने घटना थियो भन्ने शिक्षा महत्त्वपूर्ण छ र यसलाई निम्न खण्डहरूमा जोड दिइएको छ: हिब्रू ९:२६,२८; १०:१०-१४; १ पत्रुस ३:१८। ख्रीष्ट यदि फेरि मर्नुपर्ने थियो भने यसको तात्पर्य उहाँको मृत्यु पर्याप्त भएन र क्रूसमा उहाँको कार्य पूरा भएको थिएन भन्ने हुन्छ (यूहन्ना १९:३० र १७:४ मा हेर्नुहोस्)। क्रूसमा ख्रीष्टले पूरा गरिसिद्ध्याउनुभएको कार्यलाई रोमन क्याथोलिकले सिकाउने 'मास' (MASS) सम्बन्धी झूटो शिक्षालाई तुलना गर्नुहोस्। आधिकारिक बल्टिमूर क्याटेकिज्म (Official Baltimore Catechism) मा यस्तो लेखिएको छ:

"पवित्र यूकारिस्ट [रोटीको टुक्रा] एउटा धार्मिक संस्कार (sacrament) र बलिदान हो…ख्रीष्टले यूकारिस्टलाई त्यो विधिको रूपमा स्थापना गर्नुभयो जसद्वारा भोलिपल्ट कलवरीमा हुने उहाँको बलिदानलाई शताब्दियौंसम्म निरन्तरता दिनेवाला थियो… मासले क्रूसको बलिदानलाई निरन्तरता दिन्छ। मास चढाइएको प्रत्येक पटक ख्रीष्टको बलिदान दोहोराइन्छ... मासद्वारा ख्रीष्टले आफूलाई पिताकहाँ निरन्तर चढाइरहनुहुन्छ जसरी उहाँले क्रूसमा चढाउनुभयो।"

पद १० मा ख्रीष्ट "पापका निम्ति…मर्नुभयो" भनिएको छ। ख्याल गर्नुहोस्, उहाँ "पापहरूका निम्ति मर्नुभयो" भनिएको छैन। रोमी ६ को सम्बन्ध "पाप" स्वभाव (जरा) सित छ "पापहरू" (कुहिएको फल) सित छैन। रोमी ६ पाप स्वभावको शक्तिबाट छुटकारा पाउने बारेमा हो, पापको दण्डबाट छुटकारा पाउने बारेमा होइन। रोमी ६-८ मा जोड दिइएको विषय नै यही हो।

साथै यो पनि बुझ्नु महत्त्वपूर्ण छ कि रोमी ६:१० ले ख्रीष्ट "हाम्रा पापहरूका निम्ति" अर्थात् हामीलाई पापहरूको दण्डबाट छुटकारा दिनलाई, हाम्रा पापहरूको क्षमा दिलाउनलाई मर्नुभएको कुरा गरिरहेको छैन। हाम्रा पापहरूका निम्ति ख्रीष्टको मृत्यु भएको कुरा रोमी ३ र ४ मा जोड दिइएको थियो (त्यहाँ बहुवचन प्रयोग भएको कुरालाई ध्यान दिनुहोस्, रोमी ४:७,२५, "अधर्महरू", "पापहरू", "अपराधहरू")।

रोमी ६:१० मा ख्रीष्ट एकै पल्ट सदालाई "पापका निम्ति" अथवा [अक्षरशः अनुवादअनुसार] "पापतर्फ" मर्नुभयो, "पापहरूका निम्ति" होइन। अनि विश्वासीहरू उहाँसँगै सम्मिलित भएकाले, म यसरी भन्न सक्छु, "म उहाँमा एकै पल्ट सदालाई पापतर्फ मरें।" ख्रीष्टमा भएको हाम्रो ओहोदा र आत्माद्वाराको बप्तिस्माद्वारा उहाँसितको हाम्रो एकताको हैसियतले (रोमी ६:३-४), उहाँको मृत्यु, गडाइ, बौराइ र स्वर्गारोहणमा ख्रीष्टलाई जे-जे भए ती मेरो सम्बन्धमा पनि साँचो भएका छन्।

रोमी ६:१० लाई रोमी ८:३ सित जोड्नुपर्छ जहाँ ख्रीष्टको मृत्युले "शरीरमा पापलाई दण्डको आज्ञा दिनुभयो" भनिएको छ। "पापहरू" (फल) चाहिँ क्षमा गरिन्छन् (प्रेरित १०:४३, २:३८; ३:१९, लूका २४:४७ इत्यादिमा बहुवचन "पापहरू" भनिएको कुरालाई ख्याल गर्नुहोस्)।, तर "पाप" स्वभाव चाहिँ दण्डित भयो (क्षमा दिइएन)। परमेश्वरले हाम्रो पाप स्वभाव (पापको श्रोत) लाई क्षमा गर्नुहुन्न, बरु उहाँले त्यसलाई कलवरीमा दण्डको आज्ञा दिनुभयो (रोमी ८:३)।

"किनकि जुन कुरा व्यवस्थाले शरीरद्वारा कमजोर भएको हुनाले गर्न सकेन, त्यही कुरा परमेश्वरले आफ्नो पुत्रलाई पापमय शरीरको समानतामा र पापका निम्ति [पाप बलिको रूपमा, यसर्थ पापहरू बोक्न] पठाईकन गर्नुभयो र शरीरमा पापलाई [पाप स्वभावलाई] दण्डको आज्ञा दिनुभयो" (रोमी ८:३)।

ख्रीष्ट "पापतर्फ एकै पल्टका लागि मर्नुभयो" (रोमी ६:१०)। मृत्यु बाइबलमा कति पटक पृथक्करण (separation) सित सम्बन्धित भएको पाइन्छ। ओहोदामा मे पापको श्रोत (पुरानो मान्छे, पाप स्वभाव इत्यादि) बाट अलग (पृथक) पारिएको छु। म ओहोदामा अब उसो पुरानो आदमीय शरीर (रोमी ८:९ मा हेर्नुहोस्) मा छैन, यद्यपि अनुभवमा त्यो मभित्र अझै पनि छ।

ख्रीष्टसितको हाम्रो सम्मिलिकरणले उहाँमा हामीले एकदम नयाँ ओहोदा पाएका छौं। अब उसो हामी पहिलो आदममा छैनौं जुन आदम पुरानो सृष्टिका शिर हुन् जसअन्तर्गत बितेको समयमा हामी आवद्ध थियौं, तर हामी अन्तिम आदममा छौं जो नयाँ सृष्टिका शिर हुनुहुन्छ। "यसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू नयाँ भएका छन्" (२ कोरिन्थी ५:१७)।

"हाम्रो पुरानो (आदमीय) मान्छे" भन्नाले हामी पूर्ण रूपमा आदममा जे-जस्ता थियौं त्यसलाई जनाउँछ; यसर्थ, ख्रीष्टसँगै हाम्रो पुरानो मान्छे क्रूसमा टँगाइँदा (रोमी ६:६), आदममा रहेको हाम्रो इतिहासलाई पूर्णविराम लगाइयो; हामी पहिलो/पुरानो आदममा रहेको हाम्रो ओहोदाबाट काट्टियौं र अलग पारियौं।

यसको बयान विलियम न्यूवेलले यसरी गर्छन्:

"के ख्रीष्ट त्यस पवित्र जनले हाम्रा पापहरूका दोष बोक्नुभएपछि पुग्दैनथ्यो र? अहँ, हामी त आदम प्रथमसित सङ्घीय रूपमा सम्मिलित थियौं -- त्यस वंश जो खर्लप्पै अधर्मी र खराब भनेर प्रमाणित भइसकेको थियो। अनि हामीलाई उक्त आदम-अवस्थाबाट रिहा गरियोस् भन्ने हेतुले, केवल हाम्रा पापहरू मात्र बोकिनु आवश्यक थिएन तर हामी आफूहरूलाई समेत पुरानो आदमीय शिरबाट रिहा गरिनुपर्थ्यो।

अब परमेश्वरको उपाय चाहिँ पुरानो मान्छेलाई "बदल्नु" होइन रहेछ, तर त्यसलाई क्रूसको मृत्युमा पठाउनु रहेछ र हामीलाई त्यसबाट छुटाउनु रहेछ। आदम वंशमै रहने कोही पनि बाँच्नेछैन! "तिमीहरूले नयाँ जन्म पाउनैपर्छ!" भन्ने घोषणा ख्रीष्टमा आजसम्म नआएकाका कानमा सङ्कट त के त्रासकै ध्वनि गुञ्जिए बराबर हुनुपर्छ। किनकि परमेश्वरको तरिका चाहिँ एउटा दोस्रो मानिस, एउटा अन्तिम आदमलाई अगाडि सार्नु रहेछ, अर्थात् ख्रीष्टलाई। तब हाम्रो पुरानो मान्छे ख्रीष्टसँगै क्रूसमा टँगाइनेभो, ताकि पुरानो मान्छेको सर्वस्व खराबी विश्वासीहरूको सवालमा परमेश्वरको सामु बिलकुलै मेटिनेभयो। किनकि तिनीहरू पहिले आदमबाट न्यायपूर्ण तवरले रिहास गरिनुपर्छ अनि मात्र उनीहरू ख्रीष्ट, अर्को आदममा सृजना गरिनुहुन्छ! अनि यो चाहिँ मृत्युद्वारा गरिनुपर्छ।" (रोमी, पृष्ट २२१-२२२)।

विश्वासी जन हरेक दिन पापतर्फ मर्नु खाँचो छैन। ख्रीष्ट पापतर्फ एकै पल्ट मर्नुभयो। विश्वासी जन एकै पल्ट (झण्डै २००० वर्ष अघि) पापतर्फ मर्यो। म मरिरहनु खाँचो छैन… म मरें! तर मैले हरेक दिन गर्नुपर्ने एउटा कुरा छ। यस कुराले हामीलाई एघारौं पदमा ल्याउँछ -- ठान्नु!

रोमी ६:११

"यही प्रकारले" -- माथिका पदहरूमा उल्लेख गरिएका यी तथ्यहरूको आधारमा। ख्रीष्टको मृत्युमा म मरें (पद ६-८, १०) र ख्रीष्टको बरिउठाइमा म जिउँछु (पद ८- १०)। ख्रीष्ट सम्बन्धी जे साँचो छ त्यो मेरो निम्ति साँचो छ! जसरी ख्रीष्ट पापतर्फ मर्नुभयो र अहिले परमेश्वरतर्फ जिउनुहुन्छ (पद १०) त्यसरी नै म पनि पापतर्फ मरें र म परमेश्वरतर्फ जिउँछु (पद ११)। यी जोडी सत्यताहरू (ख्रीष्टमा मेरो मृत्यु र बौरिउठाइ) गलाती २:२० मा लगायत अरू थुप्रै खण्डहरूमा देख्न सकिन्छ (कलस्सी २:२० र कलस्सी ३:१ मा हेर्नहोस्)।

"ठान्नु" -- यस अध्यायको खास प्रथम आज्ञा यही हो! यसअघि परमेश्वरले हामीले थाहा गर्नुपर्ने तथ्यहरू प्रस्तुत गर्दै हुनुहुन्थ्यो। यो चाबी शब्दको माने के हो? यो एउटा गणितीय शब्दावली हो: हिसाब निकाल्नु, गन्नु, मानिलिनु, कुनै कुरा साँचो भएको मान्नु, यी तथ्यहरूलाई हिसाबमा लिएर तिनलाई विश्वास गर्नु, यी कुरा साँचो हुन् भनी सोच्नु, आफूलाई मरेको ठान्नु र आफूलाई ख्रीष्टमा जिउँदो ठान्नु। यो क्रियापद वर्तमान कालमा छ: हामीले ठान्ने काम गरिरहनुपर्छ, दिन प्रति दिन, पल पलमा। ठान्ने काम हाम्रो निरन्तरको कर्तव्य हो जब हामी विश्वासद्वारा हिँड्छौं। ठान्नु एउटा विश्वासपरक शब्द हो। विश्वासैद्वारा विश्वासी जनले परमेश्वरका तथ्यहरूलाई मानिलिनुपर्छ र ती आफ्नै निजी हुन् भनी दाबी गर्नुपर्छ। तथ्यहरूलाई थाहा गरेर मात्र पुग्दैन। तथ्यहरूलाई विश्वासैद्वारा व्यक्तिगत बनाइनुपर्छ, आफ्नै निम्ति अपनाइनुपर्छ।

यो "ठान्नु" शब्द (ग्रीक शब्द लोगिज्जोमाइ) का अन्य प्रयोगहरूलाई विचार गर्नुहोस्:

रोमी ३:२८ -- मुक्ति विश्वासद्वारा पाइन्छ, कामहरूद्वारा होइन, र यस तथ्यलाई साँच्ची नै धर्मी ठहरिएको हरेक व्यक्तिले मानिलिनुपर्छ।

रोमी ८:१८ -- एकाति जीवनका सबै दुःख-कष्टहरू जोडेर र अर्को तिर हाम्रो भविष्यका सारा महिमालाई जोडेर हामीले हिसाब गर्नुपर्छ र ती दुईका बीच तुलना गर्नुपर्छ।

२ कोरिन्थी १०:१०-११ ("याद गरोस्") -- जब हामी तिमीहरूकहाँ आउँछौं हामी हाम्रा पत्रहरूमा जस्ता थियौं त्यस्तै हुनेछौं, तिमीहरूले यो मानिलिए हुन्छ!

हिब्रू ११:१० -- "ठाने" एउटा विश्वासपरक शब्द हो। अब्राहामले एउटा हिसाब निकाल्नुपरेको थियो। उसँग भएका दुईटा तथ्य निम्नानुसार थिए: १) परमेश्वरको आज्ञा: आफ्नो छोरालाई बलि चढाऊ; २) परमेश्वरको प्रतिज्ञा: तिम्रो छोराका सन्तान हुनेछन्। विश्वासैद्वारा उनले यी तथ्यलाई जोडे र एउटा निष्कर्ष निकाले: मरेको इसाहकले सन्तान जन्माउँदैनन् त्यसैले परमेश्वरले उसलाई मरेकोबाट बराउनुहुनेछ!

रोमी ६:११ मा हामीले एक जोडी तथ्यलाई साँचो ठान्नुपर्छ: १) म ख्रीष्टमा मरें; २) म ख्रीष्टमा जिउँदो छु।

"पापका निम्ति मरेका" -- म किन मरेको छु? किनकि म मरें (पद २)! "येशू ख्रीष्टद्वारा" लाई "येशू ख्रीष्टमा" भनेर अनुवाद गरिनुपर्छ" (२३ पदमा पनि)। ख्रीष्टमा म मरेंख्रीष्टमा म जिउँछु!ख्रीष्टमा छु (रोमी ६:३) र यसरी म उहाँसँगै उहाँको मृत्यु र बौरिउठाइमा सम्मिलित भएको छु! बितेको समयमा म ख्रीष्टको बाहिरपट्टि थिएँ (कलस्सी ४:५; १ तिमोथी ३:७ इत्यादिमा हेर्नुहोस्) र त्यसबेला म पापतर्फ जिउँदो थिएँ (मेरो जीवनमाथि पापको शक्ति र अधिकार थियो) र परमेश्वरतर्फ मरेको थिएँ (पापले गर्दा म परमेश्वरदेखि अलग थिएँ र उहाँसित त्यस्तो कुनै जीवन्त सम्बन्ध थिएन -- एफेसी २:१; ४:१८)। तर अब ममाथि रहेको पापको अधिकार क्रूसमा रद्द भएको छ र म अब एक जिउँदो मुक्तिदातासँग जोडिएको छु रोमी ७:४)। हाम्रो गर्व ख्रीष्टमा छ र उहाँको क्रूसमा छ (१ कोरिन्थी १:२९-३१; गलाती ६:१४)!

परमेश्वरले हामीलाई कुनै कुरा साँचो बनाउनलाई त्यसलाई साँचो "ठान" भन्नुहुन्न तर त्यो उहाँमा, ओहोदाको कारण, साँचो भएकोले हो। तथ्यहरू तथ्य नै रहन्छन्, हामीलाई त्यसलाई साँचो ठाने पनि नठाने पनि, ती तथ्यलाई विश्वास गरे पनि नगरे पनि। तर ती तथ्यहरूको हामीलाई कुनै फाइदा हुँदैन जबसम्म तिनलाई हामी विश्वासैद्वारा दाबी गर्दैनौं।

रोमी ६:१२

यहाँ हामीलाई अर्को आज्ञा छ: "पापलाई तिमीहरूको मर्ने शरीरमा (राजाले जस्तै) राज्य गर्न दिइनराख।" एउटा विश्वासीले यो हुन दिनु सम्भव छ (नत्रता यो आज्ञा अर्थहीन हुनेथ्यो)। जब विश्वासीहरू विश्वासैद्वारा हिँड्दैनन् र परमेश्वरका तथ्यहरूलाई साँचो ठान्दैनन् (पद ११), तब पापले राज्य गर्नेछ। पापलाई तिम्रो जीवनमा सर्वेसर्वा हुन नदेओ! पापलाई नियन्त्रण गर्ने शासक हुन नदेओ। मैले यो विश्वास गर्नुपर्छ र ठान्नुपर्छ कि पाप एक पदच्यूत भइसकेको राजा हो! पाप अब उसो ममाथि राजा होइन! पाप अब उसो मेरो मालिक होइन अनि मैले त्यसको आज्ञा मान्नुपर्दैन जसरी बितेको समयमा मैले पर्थ्यो (पदको अन्तिम भाग)! परमेश्वर पो मेरा राजा र मालिक हुनुहुन्छ, पाप होइन।

"मर्ने शरीर" = मेरो उद्धार गर्न बाँकी रहेको शरीर, जुन शरीरले पाप गर्न सक्छ र र जुन शरीर मर्न सक्छ। जब हाम्रो शरीरको उद्धार र छुटकारा हुन्छ (रोमी ८:२३ मा हेर्नुहोस्) तब हाम्रो शरीर "अविनाशी" बन्छ (१ कोरिन्थी १५:५१-५४) र पापले हाम्रा शरीरहरूमा कहिल्यै राज्य गर्नेछैन। त्यसबेला यस पदमा दिइएको जस्तो आज्ञाको कुनै खाँचो पर्नेछैन! टिप्पणी: पापले हाम्रा मर्ने शरीरमा आफूलाई व्यक्त गर्न सक्ने र "राज्य" समेत गर्न सक्ने तथ्यले पाप निर्मूल गरिएको छैन भन्ने प्रमाण दिन्छ।

रोमी ६:१३

यहाँ हामीलाई अर्को चाबी आज्ञा दिइएको छ: "सुम्पिनराख! सुम्पन छोड!" "सुम्प" भन्ने शब्दको माने "चढाउनु, कसैको इच्छा, प्रयोगको निम्ति प्रस्तुत गर्नु"। आफ्ना शारीरिक अङ्गहरूलाई पापको इच्छामा (पापको प्रयोजनका निम्ति) नराख। यस शब्दलाई निम्न खण्डहरूमा प्रयोग गरिएको छ: लूका २:२२; प्रेरित १:३; ९:४१ (मरेकोबाट जिउँदो भएको व्यक्तिको रूपमा!); रोमी १२:१। रोमी ६:१३ को सन्दर्भमा हेर्दा यो शब्दको आशय यस्तो हुन्छ कि एउटा दास आफ्नो मालिकका सामु खडा छ र मालिकले इच्छा गरेको जुनसुकै काम गर्न पनि ऊ तत्पर छ (शब्दको अक्षरशः माने हो "छेउमै उभिनु"); उसको प्रयोजनका निम्ति खडा छ, उसको कुरा मान्न तयार छ। प्रभु, मेरा अङ्गहरू तपाईंको सेवामा समर्पित छन्!

"हतियारहरू" = औजार, भाँडो, हतियार। परमेश्वर हाम्रा अङ्गहरू आफ्नो भाँडोको रूपमा चाहनुहुन्छ। हाम्रा अङ्गहरू परमेश्वरको महिमाका निम्ति धार्मिकताका हतियार हुनुपर्छ। "लिनुस् प्रभु मेरो ज्यान, होस् तपाईंलाई बलिदान"।

यस पदमा हामी यस अध्यायको विश्वासीको जिम्मेवारीसित सम्बन्धित तेस्रो चाबी पद पाउँछौं: १) जान वा थाहा गर (पद ३,६,९); २) ठान वा मानिलेओ (पद ११); ३) सुम्प वा चढाऊ (पद १३)। हामीले ख्रीष्टको मृत्यु र बौरिउठाइमा उहाँसँगको हाम्रो सम्मिलिकरण सम्बन्धी परमेश्वरका तथ्यहरू जान्नुपर्छ। हामीले विश्वासैद्वारा ती तथ्यहरूलाई मानिलिनुपर्छ र अपनाउनुपर्छ। हामीले यी तथ्यहरूको आधारमा आफूहरूलाई परमेश्वरको हातमा सुम्पनुपर्छ।

पद १३ को चाबी वाक्यांश यो हो: "मरेकाहरूबाट जिउँदा भएझैं गरी" (यसले हामीलाई पद ११ मा हामीले मानिलिएका महान् तथ्यहरूमा फर्काउँछ)। समर्पणताको सवालमा यही ठाउँमा आएर धेरैजनाले भूल गर्दछन्। उनीहरू आफ्नो पुरानो 'म' लाई परमेश्वरकहाँ सुम्पन्छन्। परमेश्वरले "पुरानो मान्छे" लाई प्रयोग गर्न सक्नुहुन्न र प्रयोग गर्नुहुन्न पनि। परमेश्वरले पुरानो मान्छेलाई बदल्नुहुन्न र उहाँले पुरानो मान्छेलाई सुधार्नु पनि हुन्न। जब हामी आफूलाई परमेश्वरकहाँ सुम्पन्छौं, हामी खास कसलाई सुम्पँदैछौं? के हामीले आफूलाई "मरेकाहरूबाट जिउँदा भएझैं गरी" आफूलाई सुम्पँदैछौं?

"प्रभु, म तपाईंलाई धन्यवाद दिन्छु कि ख्रीष्टमा पुरानो कुराहरू बितिगएका छन् र सबै कुरा नयाँ भएका छन्। ख्रीष्टमा एक नयाँ सृष्टि (सृजना) भएको हैसियतले म आफूलाई तपाईंकहाँ सुम्पन्छु, यो भरोसा गर्दै कि तपाईंले मभित्र ती असल कामहरू गर्नुहुनेछ जुन कामहरू तपाईंले अघिबाटै म तिनमा हिँड्नुपर्छ भनेर तपाईंले तयार गर्नुभएको छ (एफेसी २:१०)। पापतर्फ मरेको र परमेश्वरतर्फ जिउँदो भएको एक व्यक्तिको रूपमा म आफूलाई तपाईंको हातमा चढाउँदछु।"

यस किसिमको समर्पणता परमेश्वरलाई मनपर्दो हुन्छ। उहाँको पवित्र सेवाको निम्ति परमेश्वरले हामी आदममा जे-जस्तो छौं त्यसलाई होइन तर केवल त्यो मात्र प्रयोग गर्न सक्नुहुन्छ जो ख्रीष्टमा हामी छौं। हामी आदममा जे छौं त्यसलाई इन्कार गरियो र क्रूसमा दण्डको आज्ञा दिइयो!

रोमी ६:१४

"राज्य" भन्ने शब्द "कुरिअोस्" भन्ने ग्रीक शब्दबाट आउँछ र कुरिओसको माने हो "प्रभु" वा "मालिक"। पाप तपाईंको प्रभु वा मालिक हुनेछैन! यदि पाप तपाईंको प्रभु र मालिक हुँदो हो त तपाईं पापको दास हुनुहुनेथ्यो। यसर्थ पावल भन्दैछन्, "तिमी पापको दास हुनेछैनौं। पाप तिमीमाथि मालिक हुनेछैन।" किन पापले हामीमाथि राज्य गर्नेछैन? "किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौं, तर अनुग्रहको अधीनमा छौ।" हामी व्यवस्थाको प्रणाली अन्तर्गत छैनौ; हामी अनुग्रहको प्रणाली अन्तर्गत छौं। हामी व्यवस्थाको शासन मुनि छैनौं, हामी अनुग्रहको शासन मुनि छौं। व्यवस्था हामीमाथि सार्वभौम छैन। अनुग्रह हामीमाथी सार्वभौम छ (रोमी ५:२१ मा हेर्नुहोस् -- अनुग्रहले राज्य गर्दैछ!)। म जीवनको नियमको रूपमा व्यवस्थामुनि छैन, तर अनुग्रहमुनि छु।

त्यहाँ धेरैजना छन् जोहरूले ख्रीष्टियनलाई व्यवस्थाको अधीनमा राख्न खोज्छन्। यो एक खतरनाक भूल हो र यसको नतीजा यो हुन्छ कि विश्वासी पापको अधीनतामा राख्न पुगिन्छ। व्यवस्था र अनुग्रह (Law and Grace) शीर्षक गरेको अल्भा जे म्याक्लेनको पुस्तकमा व्यवस्थासितको विश्वासीको सम्बन्धको बारेमा निम्न उत्तम टिप्पणीहरू पाइन्छन्:

"के एक ख्रीष्टिय विश्वासी व्यवस्थाको अधीनमा छ? क) कोही तर्क गर्छन् कि विश्वासी नैतिक व्यवस्थाको अधीनमा छ (दस आज्ञा इत्यादि) तर विधीको व्यवस्था (बलिदानको प्रणाली इत्यादि) को अधीनमा छैन; ख) अरू भन्छन् हामी नैतिक व्यवस्थाको अधीनमा छौं तर त्यसको दण्डहरू मुनि छैनौं; ग) अझ अरू दाबी गर्छन् कि हामी जीवनको नियमको रूपमा नैतिक व्यवस्थाको अधीनमा छौं तर मुक्तिको उपायको रूपमा त्यसको अधीनमा छैनौं (हामी पवित्रीकरणका निम्ति व्यवस्थाको अधीनमा छौं तर धर्मीकरणका निम्ति होइन) … हामी माथिका कुनै पनि गलत धारणाहरूद्वारा बाटो बिराउनेछैनौं यदि हामीले परमेश्वरको व्यवस्थाको पूर्ण परिभाषालाई बलियो गरी पक्रन्छौं, अर्थात् यो कि बाइबलमा परमेश्वरको व्यवस्था एउटै व्यवस्था हो जस अन्तर्गत नैतिक, विधिवत् र सामाजिक तत्त्वहरू छन् र तिनका दण्डहरूदेखि अपृथक्य (inseparable, अलग गर्न नसकिने) छन्।

"अधीनमा" भन्ने नामयोगी शब्द (ग्रीकमा हुपो) को माने हो, "कुनै व्यक्ति वा कुराको शक्तिको अधीनमा हुनु, कुनै कुराको शक्तिमनि हुनु, कुनै कुराको शासन वा सार्वभौमिकतामनि हुनु।" एउटा उत्तम उदाहरण मत्ती ८:९ मा भेटिन्छ जहाँ रोमी सुबेदारले भन्छन्, "किनभने म पनि अधिकारमनि (हुपो) रहने मानिस हुँ, मेरो अधीनमा (हुपो) पनि सिपाहीहरू छन्।" जसरी सुबेदार पूर्णरूपमा रोमी सैनिक अधिकार अन्तर्गतका नियम लगायत दण्डहरूको अधीनमा थियो, त्यसैगरी उनका सिपाही पनि उसका अधीनमा थिए। सारांशमा हामी यो भन्न सक्छौं कि बाइबलीय अर्थमा कोही "व्यवस्थाको अधीनमा" हुनु भनेको परमेश्वरको व्यवस्थाको अधीनमा हुनु हो -- त्यसको अखण्ड पूर्णतामा सिङ्गो मोशीय व्यवस्था प्रणालीको अधीनतामा हुनु हो -- अर्थात् त्यसका आज्ञाहरूको अधीनमा हुनु र तिनलाई तोडेको खण्डमा सम्बन्धित दण्डहरूको अधीनमा हुनु हो।

अब परमेश्वरको वचनले स्पष्टै बताउँछ कि ख्रीष्टिय विश्वासी जन "व्यवस्थाको अधीनमा" छैन। कम्तिमा पनि चार पटक नयाँ नियमले सरल ढङगमा कुनै शर्तबिना यस महान् सत्यतालाई बताउँदछ: १) रोमी ६:१४; २) रोमी ६:१५; ३) गलाती ५:१८; ४) १ कोरिन्थी ९:२० (हेर्नुहोस् नयाँ स्कोफिल्ड बाइबल वा एन ए एस बी) (म्याक्लेन, पृष्ठ ४१-४३)।

मुक्तिको उपायको रूपमा एक व्यक्ति व्यवस्थाको अधीनमा छैन भनेर बाइबलले धेरै स्पष्टसित बताउँदछ। व्यवस्था (पालन गर्ने प्रयास) ले कहिल्यै धर्मी ठहराउन सक्दैन (रोमी ३:२०; गलाती २:१६; प्रेरित १५:७-११; प्रेरित १३:३८-३९; रोमी ३:२७-२८)। मानिस व्यवस्थाका कुनै पनि कामहरूबिना अनुग्रहले विश्वासद्वारा बचाइन्छ।

साथै बाइबलले यो पनि धेरै सफासित बताउँछ कि एक व्यक्ति जीवनको नियमको रूपमा व्यवस्थाको अधीनमा छैन। व्यवस्था (पालन गर्ने प्रायस) ले कहिल्यै पवित्र बनाउन सक्दैन। व्यवस्था पवित्र छ (रोमी ७:१२) तर यसले हामीले पवित्र बनाउन सक्दैन। रोमी ६ अध्यायले यो स्पष्ट पार्दछ कि पवित्रीकरण व्यवस्थाका कामहरूबाट हुने होइन। गलातीको पुस्तकको शिक्षा पनि यही हो (विशेष गरी गलाती ३:२-३ मा हेर्नुहोस्)। अनि रोमी ७ (जसको अध्ययन पछि गरिनेछ) ले एउटा मान्छेले व्यवस्थाको अन्तर्गत रहेर पवित्रीकरणको प्रयास गर्दाको उसको पूर्ण नैराश्यता र विफलतालाई दर्शाउँदछ।

पावलले जब रोमी ६:१४ मा विश्वासी जन "व्यवस्थाको अधीनमा होइन तर अनुग्रहको अधीनमा" छ भन्छन् उनले पवित्रीकरणको कुरा गर्दैछन् (पवित्रतामा विश्वासीको क्रमिक प्रगति), धर्मीकरणको होइन (ख्रीष्टमा परमेश्वरको सामु विश्वासी धर्मी ठहराइएको उसको ओहोदा)। पावलले यस पत्रमा अघिबाट देखाइसेक कि कुनै पनि व्यक्ति व्यवस्थाका कामहरूद्वारा धर्मी ठहरिँदैन (रोमी ३:२०; ३:२८)। अध्याय ६ मा विषय चाहिँ पवित्रीकरणको हो (पवित्रता -- पद १९,२२), धर्मीकरणको होइन (जसको चर्चा अध्याय ३-५ मा गरियो)। रोमी ६:१४ बाट यो स्पष्ट छ कि पावल पापको प्रभुत्व र शक्ति र अधिकारको कुरा गर्दैछन्, अनि पवित्रीकरणको विषय पनि यही हो।

"व्यवस्थाको अधीनमा" हुनु व्यवस्थाको राज्यमनि हनु हो (रोमी ७:१) र त्यसको पकडभित्र हुनु हो (रोमी ७:६)। जब कोही "व्यसवस्थाको अधीनमा" छ ऊ "पापको राज्यमनि पनि छ" (रोमी ६:१४ हेर्नुहोस्)। यी दुई सँगसँगै जान्छन्। व्यवस्थाको अधीनमा हुनु पापको बन्धन र प्रभुत्वमुनि हुनु हो। यसको कारण यो हो कि व्यवस्थाले माग गर्छ तर पूरा गर्ने क्षमा केही दिँदैन (रोमी ७:१८ सित तुलना गर्नुहोस्)। जन बन्यानले व्यवस्था र अनुग्रहबीचको भिन्नतालाई यसरी लेखे:

व्यवस्थाले एक व्यक्तिलाई केवल बन्धनभित्र मात्र हुल्छ (जस्तो रोमी ७ मा हामीले देख्नेछौं)। केवल परमेश्वरको अनुग्रहले मात्र छुटकारा दिलाउँछ! समस्या व्यवस्थाको होइन (रोमी ७:१२); समस्या मान्छेको हो जो पापी छ (रोमी ७:१४)। व्यवस्थाले मान्छेलाई परमेश्वरका भयानक र पवित्र मागहरू देखाउँछ। मानिस परमेश्वरले माग गर्नुभएका कुरा पूरा गर्न असहाय र असक्षम छ (रोमी ७:१५-२४)।


पृष्ठ संशोधन मिति: Friday 27-Mar-15
WordofTruth.com.np © 2017