रोमी ७:१-१०

यस पृष्ठलाई छाप्नुहोस्

रोमी अध्याय ७

व्यवस्थासितको विश्वासीको सम्बन्ध

रोमी ७ को जोडी विषय यस प्रकार छ: १) व्यवस्थासितको विश्वासीको सम्बन्ध र २) पवित्र जीवन जिउन सक्ने बनाउनलाई व्यवस्थाको पूर्ण असक्षमता। रोमी ६ अध्यायलाई रोमी ७ अध्यायसित तुलना गरौं:

ख्रीष्टिय जीवनमा विजयी बन्न विश्वासीले जान्नुपर्छ, ठान्नुपर्छ र सुम्पनुपर्छ (रोमी ६ को टिप्पणी हेर्नुहोस्)। ख्रीष्टले पूरा गर्नुभएको काममा गरिने विश्वास नै चाबी हो। मानवीय झुकाव चाहिँ ख्रीष्टिय जीवन शरीरमा जिउन खोज्नु हो, कामहरूद्वारा जिउन खोज्नु हो, हाम्रो आफ्नै प्रयास र सङ्घर्षले जिउन खोज्नु हो, प्रयास गर्दै, कोशिश गर्दै, कबूल गर्दै, नियम, तालिका आदि पछ्याउँदै जिउन खोज्नु हो। जति हामी कोशिश गर्छौं त्यति नै बेसी हामीलाई सङ्घर्ष हुन्छ र हामी विफल हुन्छौं। रोमी ७ अध्यायको सिङ्गो विषय यही हो कि व्यवस्थाद्वाराको पवित्रीकरण (पवित्रता) ले काम गर्दैन। गलाती ३:१-५ मा हेर्नुहोस्।

रोमी ६:१४ मा उल्लेखित पावलको भनाइलाई हामीले ध्यानमा राख्नुपर्छ -- "किनकि पापले तिमीहरूमाथि राज्य गर्नेछैन; किनभने तिमीहरू व्यवस्थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ। यसको तात्पर्य यो हो कि यदि हामी व्यवस्थाको अधीनमा भएका भए हामीमाथि पापले राज्य गर्नेथ्यो। अनुग्रहको माने के हो र व्यवस्थाको माने के हो? वाचम्यान नीद्वारा लिखित यी हरफहरूलाई विचार गर्नुहोस्:

"अनुग्रहको माने परमेश्वरले मेरो निम्ति केही गर्नु हो; व्यवस्थाको माने मैले परमेश्वरको निम्ति केही गर्नु हो। परमेश्वरबाटका त्यहाँ केही पवित्र र धर्ममय मागहरू छन् जसको जिम्मेवारी उहाँले मलाई सुम्पनुभएको छ: व्यवस्था भनेको यही हो। अब यदि व्यवस्थाको माने परमेश्वरले व्यवस्था पूरा गरियोस् भनेर मबाट केही माग राख्नुहुन्छ भने, तब व्यवस्थाबाट मुक्त हुनुको माने उहाँले त्यो अब उसो मबाट माग गर्नुहुन्न तर उहाँ आफैले त्यो प्रबन्ध गरिदिनुहुन्छ भन्ने हो। व्यवस्थाको तात्पर्य यो हो कि मैले उहाँको निम्ति केही गरोस् भनेर परमेश्वरले मबाट माग गर्नुहुन्छ; व्यवस्थाबाट मुक्त हुनुको माने उहाँले मलाई त्यसको दायित्वबाट छुट दिनुहुन्छ र अनुग्रहमा उहाँ आफैले दायित्व पूरा गरिदिनुहुन्छ…रोमी ७ मा वर्णित समस्या हो हो कि शरीरमा रहेर मान्छेले परमेश्वरको निम्ति केही गर्न खोज्यो। जब तपाईं त्यसरी परमेश्वरलाई खुशी पार्न खोज्नुहुन्छ तुरुन्तै तपाईंले आफूलाई व्यवस्थामनि राख्नुहुन्छ र रोमी ७ अध्यायको अनुभव तपाईंको हुन थाल्दछ। [The Normal Christian Life, पृष्ठ १०५। वाचम्यान नीद्वारा लिखित हरफहरू हामीले यहाँ उद्धरण गर्दैमा हामी उहाँका सबै लेखोटहरूसित सहमत छौं भन्ने होइन।]

समस्या व्यवस्थापट्टि भएको होइन (रोमी ७:१२ मा हेर्नुहोस्); समस्या त पापी मानिसपट्टि पो छ (रोमी ७:१४; ८:७)।

रोमी ७:१-६ को छोटो रूपरेखा
  • पद १ - सिद्धान्त प्रस्तुत गरिन्छ
  • पद २-३ विवाहको उदाहरण दिइन्छ
  • पद ४ - सिद्धान्तलाई प्रयोग गरिन्छ
  • पद ५-६ प्रयोगलाई अझ व्याख्या गरिन्छ
रोमी ७:१

"त्यसमाथि राज्य गर्दछ" को माने कुनै कुरामाथि प्रभुत्व जमाउँदछ। व्यवस्था मानिसमाथि प्रभु रहेको छ (मानिसलाई शासन गर्छ), त्यसैले मानिस बाचुञ्जेल व्यवस्थाको मुनि रहन्छ। ऊ बाँचिरहेसम्म व्यवस्थाको मुनि हुन्छ! व्यवस्थासितको मान्छेको सम्बन्धलाई तोड्न सक्ने एउटै मात्र कुरा छ: मृत्यु!

रोमी ७:२-३ (विवाहको उदाहरण)

"पति भएको स्त्री" -- यसको मतलब तिनी विवाहित छन्, आफ्ना पतिका अधीनमा छन् र उनको अधिकारमनि छन्।" "बाँधिएकी" -- दुई व्यक्तिहरूको विवाह हुन्छ उनीहरू जीवनपर्यन्त बाँधिन्छन्; जबसम्म मृत्युले उनीहरूलाई अलग गर्दैन -- मत्ती १९:५-६। विवाह दुईमा एकको मृत्यु नभएसम्म बन्धनकारी रहन्छ (१ कोरिन्थी ७:३९)। उक्त मृत्यु नभएसम्म कोही पनि विवाहको नियमबाट छुट्टिन सक्दैन।

विवाह जीवनपर्यन्तको समर्पणता हो। उनको पति बाचुञ्जेल अर्को व्यक्तिसित विवाह गर्न वा अर्को व्यक्तिसित सम्बन्ध गाँस्न स्वतन्त्र हुँदिनन् -- त्यो त व्यभिचार ठहरिनेछ। पति मरे भने तिनी स्वतन्त्र हुन्छिन् (१ कोरिन्थी ७:३९)। मृत्युले उक्त सम्बन्धलाई टुङ्ग्याइदिन्छ र एउटा नयाँ सम्बन्ध हुन सक्न अनुमति दिन्छ। विवाह र सम्बन्धविच्छेद सम्बन्धी प्रभुको शिक्षाको लागि लूका १६:१८ मा हेर्नुहोस् (यो अरू ठाउँमा पनि उल्लेख छ)। यस उदाहरणको मूल तात्पर्य यो हो: मृत्युले उक्त सम्बन्धलाई टुङ्ग्याउँछ र एउटा नयाँ सम्बन्ध सम्भव गराउँछ।

रोमी ७:४

म व्यवस्थाद्वारा बाँधिएको छु। ममाथि त्यसले राज्य गर्दछ (पद १)। म कसरी मुक्त होउँला र (पद ६)? ख्रीष्टको मृत्युमा म मरें! म व्यवस्थाको लेखि मरें! व्यवस्था कहिल्यै मर्न सक्दैन, तर म मरें! मेरो मृत्युले एकजना नयाँ पतिसँग एउटा नयाँ सम्बन्ध हुन सक्दछ: "अर्का व्यक्तिका अर्थात् जो मरेकाहरूबट बौरेर उठ्नुभएको छ, उहाँका हुनालाई" (पद ४)। म ख्रीष्टसँगै मरेको ले म व्यवस्थाबाट मुक्त भएको छु। म ख्रीष्टमा जिउँदो भएकोले म उहाँसँग एउटा सुन्दर सम्बन्धमा जोडिएको छु। परमेश्वरले आफ्नो अनुग्रहद्वारा हामीलाई व्यवस्थाबाट काटिएर स्वतन्त्र हुन र येशू ख्रीष्टसँग गाँसिन (उहाँसित एक हुन) सम्भव गराउनुभयो। ममाथि व्यवस्थाको होइन तर अब ख्रीष्टको प्रभुत्व रहेको छ। व्यवस्था एक भयङ्कर अप्रिय पति छन् -- कठोर, चाम्रो, कडा, ठोस, माग राख्ने र अलचिलो। प्रभु चाहिँ सुन्दर पति हुनुहुन्छ -- कृपालु, अनुग्रही र उहाँले, उहाँको सामर्थ्य र जीवनले, मलाई उहाँलाई खुशी पार्न सक्ने बनाउनुहुन्छ। जसरी वैवाहिक सम्बन्धले फल (छोराछोरी) उत्पन्न गराउँछ, ख्रीष्टसितको मेरो विवाहले फल उत्पन्न गराउँछ (रोमी ६:२२; गलाती ५:२२-२३ मा हेर्नुहोस्)। साथै यूहन्ना १५:१-७ पढ्नुहोस्: "फल", "धेरै फल", "अझ धेरै फल"।

तर म मरें भने, म कसरी अर्कासित विवाह गर्न सक्छु र? ख्रीष्टको मृत्युमा म मरें र ख्रीष्टको बौरिउठाइमा म जिउँछु! यसरी म ख्रीष्टसित विवाहमा बाँधिन सक्छु!

विश्वासी ख्रीष्टसँग विवाहित भएको छ! यो एउटा प्रेमको सम्बन्ध हो, यो व्यवस्थाको सम्बन्ध होइन। यो प्रेमको सम्बन्ध (ख्रीष्टसँग जोडिनु र उहाँसँग एक हुनु) नै ख्रीष्टिय विश्वासको सार हो। ख्रीष्टिय विश्वास एउटा धर्म होइन, यो त एक व्यक्तिसँग, परमेश्वरकै पुत्रसँगको एउटा सम्बन्ध हो (यूहन्ना १७:३)। यो केही गर्ने बारेमा होइन, तर कसैलाई चिन्ने बारेमा हो (यूहन्ना १७:३; १ यूहन्ना २:३-४)। यो विभिन्न नियमहरूको सँगालो होइन, र नैतिकताको प्रणाली होइन। यो त एकमात्र सत्य परमेश्वर र उहाँले पठाउनुभएको येशू ख्रीष्टसितको अद्वित्तीय, अपूर्व र घनिष्ट सम्बन्ध हो।

आजकल धेरैजनाले यस सत्यतालाई बिर्सेका छन्। धेरैजनाको दृष्टिमा ख्रीष्टिय जीवन एउटा व्यवस्थावादी धार्मिक प्रणाली बन्न गएको छ। नियमहरू, विधिहरू, कर्तव्यहरू आदिको सञ्जालमा व्यस्त हुने प्रवृत्ति मान्छेमा प्रायः हुने गर्छ। ख्रीष्टिय जीवन भनेको बाइबल पढ्नु, प्रार्थना गर्नु र सुसमाचार सुनाउनु र पद कण्ठ गर्नु र अरू कामहरू गर्नु र अन्य कामहरू नगर्नु भनेर सोच्नु स्वाभाविक हो। ख्रीष्टियन भएर एक व्यक्ति कसरी जिउनुपर्छ भन्ने कुरा हामीलाई थाह छ, उसले कसरी सोच्नुपर्छ भनेर हामीलाई थाह छ, उसले कसरी बोल्नुपर्छ भनेर हामीलाई थाह छ, उसले कसरी सोच्नुपर्छ भनेर हामीलाई थाह छ, उसले के कस्ता काम गर्नुहुँदैन र के कस्ता काम गर्नुपर्छ भनेर हामीलाई थाह छ, अनि चालै नपाईकन ख्रीष्टिय जीवनले त्यो मुख्य कुरा गुमाएको हुन्छ जसले यसलाई अरू सबै धर्महरूभन्दा पृथक बनाउँछ। हामीले प्रमुख कुरा नै गुमाएका हुन्छौं।

यस कुरालाई जोड दिन हामी हेरौं बाइबलमा के भनिएको छैन:

फिलिप्पी १:२१ -- किनकि मेरा निम्ति जिउनु बाइबल पढ्नु हो, पदहरू कण्ठ गर्नु हो, दिनहुँ कम्तीमा १५ मिनेट प्रार्थना गर्नु हो र हरेक अवसरमा साक्षी दिनु हो।

फिलिप्पी ३:८ -- अँ, साँच्चै मेरो जिब्रोलाई लगाम लगाउनु, मेरा खराब बानीलाई सुधार्नु, प्रार्थना र वचनमा दिनहुँ लाग्न खोज्ने कामको सर्वश्रेष्ठताका निम्ति म सबै कुराहरू हानि ठान्छु।

फिलिप्पी ३:१० -- म यसो गर्न सकूँ र त्यसो नगर्न सकूँ र साक्षी बाँड्न आफूलाई बलजफ्ती गर्न सकूँ र हरेक खराबीको दुष्टताबाट अलग हुन सकूँ।

२ कोरिन्थी ५:९ -- यसकारण चाहे हामी शरीरमा रहौं चाहे नरहौं, हामी रिसाउनदेखि होसियार हुन सकौं, खानपीनको नियममा ध्यान दिन सकौं, पदहरू कण्ठ गर्न सकौं, आवश्यक आराम लिन सकौं, र सकभर खराब टिभी कार्यक्रमहरू धेरै नहेरेका होऔं भनेर प्रयत्न गर्दछौं।

वास्तवमा यी पदहरूले के भन्छन्? माथिका पदहरूमा जोड दिइएका कुरा चाहिँ एक व्यक्ति अर्थात् ख्रीष्टलाई जान्ने, प्रेम गर्ने र खुशी पार्ने भन्ने कुरामा छन्! कलस्सी १:९-१२ लाई ध्यान दिएर पढ्नुहोस्। यस महान् प्रार्थनामा जोड दिइएका कुरालाई ध्यान दिनुहोस्: उहाँको इच्छालाई जान्नु (पद ९), उहाँसँगै हिँड्नु (पद १०), उहाँलाई खुशी पार्नु (पद १०), उहाँको ज्ञानमा बढ्नु (पद १०), उहाँबाट बलवान् बनाइनु (पद ११), उहाँमा आनन्दित हुनु (पद ११), उहाँलाई धन्यवाद दिनु (पद १२)!

फेरि पनि हामी वैवाहिक सम्बन्धलाई विचार गरौं। पतिले गर्नुपर्ने कामहरू त्यहाँ विभिन्न हुन्छन् र गर्न नहुने कुराहरू पनि त्यहाँ विभिन्न हुन्छन्। उसले पालना गर्नुपर्ने कर्तव्यहरू त्यहाँ हुन्छन् र वहन गर्नुपर्ने जिम्मेवारीहरू त्यहाँ हुन्छन् र उसले पूरा गर्नुपर्ने दायित्वहरू त्यहाँ हुन्छन्। तर उनले यी सबै कुराहरू किन गर्दछन् त? किनकि तिनले एकजना व्यक्तिलाई प्रेम गर्ने निर्णय गरेका छन् -- अर्थात् आफ्नी पत्नीलाई। पत्नीले धेरै कामहरू गर्छिन्: खानाहरू तयार गर्छिन्, भाँडा माझ्छिन्, भुइँ सफा गर्छिन्, लुगाहरू धुन्छिन्, इत्यादि। तर यी सबै कामहरू उनले किन गर्छिन्? के उनका पतिले उनलाई "तिमीले यस्तो गर्नेछौ""यस्तो गर्नेछैनौ" भन्ने कुराहरूको एउटा लामो सूची दिएका हुनाले हो त? त्यस्तो कारणले त नहुनुपर्ने हो। उनले यी सबै किन गर्दैछन् भने उनले आफ्ना पतिको प्रेमको जवाफमा हो। वैवाहिक सम्बन्ध प्रेममा अडेको हुन्छ, व्यवस्थामा होइन।

ख्रीष्टिय जीवन त्यसोभए के को बारेमा हो त? ख्रीष्टिय जीवन खास एक व्यक्ति (परमव्यक्ति) लाई चिन्नु, उहाँलाई प्रेम गर्नु, उहाँलाई खुशी पार्न खोज्नु, उहाँसँगै हिँड्नु, उहाँलाई आदर गर्नु, उहाँको आज्ञा मान्नु, उहाँलाई धन्यवाद दिनु, उहाँमा आनन्दित हुनु, उहाँमा मग्न हुनु, उहाँमा भरोसा गर्नु, उहाँमा बढ्दै जानु, उहाँसँग कुरा गर्नु, उहाँको बारेमा अरूलाई बताउनु, उहाँमा रहनु, उहाँको बारेमा सिक्नु, उहाँबाट सिक्नु, उहाँको पाउमा बस्नु र उहाँको उपस्थितिमा आनन्दित हुनु हो। जोड दिइएको कुरालाई ध्यान दिनुहोस्: उहाँमा (एक व्यक्तिमा)!

आइतबारदेखि शनिबारसम्म जिउने क्रममा के हामी त्यस परमव्यक्तिसँग हिँड्दैछौं? के हामी उहाँमा मग्न हुन्छौं? कि त्यसो नभएर हामी एउटा रित्तो धार्मिक रीति र अर्थहीन नियम-पालनाको तालिका मात्र पछ्याउँदैछौं? यदि प्रभु येशू ख्रीष्टसँग हाम्रो एउटा विशेष, घनिष्ट प्रेमको सम्बन्ध छ भने यसले हाम्रा सबै क्रियाकलापहरूलाई बदलिदिन्छ। यसले प्रार्थनालाई बदल्नेछ (प्रार्थना भनेको हामीले प्रेम गरेको परमव्यक्तिसित कुरा गर्नु हो)। यसले बाइबल अध्ययनलाई बदल्नेछ (म यस परमव्यक्तिलाई अझ राम्ररी चिन्न चाहन्छु!)। यसले सुसमाचार सुनाउने कामलाई बदल्नेछ (म अरूहरूलाई यस उदेकका परमव्यक्तिलाई चिनाउन चाहन्छु! मैले चिनेको र प्रेम गरेको ख्रीष्टलाई अरूहरूले चिनून् भन्ने म चाहन्छु)। प्रकाश २:२-४ सित तुलना गर्नुहोस्।

के हामी एक व्यक्तिसँगै हिँड्दैछौं? कि हामी एउटा धर्म पूरा गर्न खोज्दैछौं? यूहन्ना १७:३ को प्रकाशमा के हामी आफ्ना हृदयहरूदेखि यसरी भन्न सक्छौं? -- "म यस परमव्यक्तिलाई मेरा मुक्तिदाता, मेरा प्रभु, मेरा मित्र, मेरा सार्वभौम मालिक, मेरा सहायक, मेरा गोठाला, मलाई कहिल्यै नछोड्ने मेरा परममित्र… (अनि अझ अरू थुप्रै कुरा)"।

रोमी ७:५

चौथो पदले यो नयाँ सम्बन्धको फलको चर्चा गर्दछ; पाँचौं पदमा पुरानो सम्बन्धले फलाएको फलको कुरा छ। ख्रीष्टसित एक भएर र उहाँमा रहेर मैले परमेश्वरका निम्ति फल फलाउन सक्दछु (पद ४)। शरीरमा (रोमी ८:८-९) व्यवस्थाद्वारा जगाइएका पापहरूको वासनाहरूले मृत्युका निम्ति फल फलाउनलाई हाम्रा अङ्गहरूमा काम गर्दथे (पद ५)। साथै रोमी ६:२१ लाई (पुरानो जीवनको फल) रोमी ६:२२ (नयाँ जीवनको फल) सित पनि तुलना गर्नुहोस्। व्यवस्थाले मेरा अभिलाषाहरूलाई कहिल्यै पराजित गर्न सक्दैन। त्यसले केवल मेरा अभिलाषाहरूलाई जगाउन मात्र सक्छ। यस पदमा आपसमा जोडिएका शब्दहरूलाई ध्यान दिनुहोस्: व्यवस्था-पापहरू-मृत्यु र त्यसपछि रोमी ८:२ सित तुलना गर्नुहोस्।

रोमी ७:६

तर अब (ख्रीष्टमा अब बचाइएकोले) हामी व्यवस्थाबाट मुक्त (स्वतन्त्र, दाँज्नुहोस् ७:२ र ७:३ "मुक्त") भएका छौं (भूतकाल), जसको बन्धनमा हामी थियौं, त्यसका निम्ति मरीकन। व्यवस्थाले एक व्यक्तिलाई कहिल्यै छुटकारा दिन सक्दैन। हामीलाई परमेश्वरको आत्मा र परमेश्वरको जीवन नै चाहिन्छ। विश्वासीले भन्न सक्दछ, "ख्रीष्टको मृत्युको कारण म व्यवस्थाको लेखि मरें र ख्रीष्टको बौरि उठाइको कारण म परमेश्वरको लेखि जिउँदछु।" पावलले यो कुरा यसरी व्यक्त गरे, " (गलाती २:१९ साथै गलाती २:२० पनि हेर्नुहोस्)। ख्रीष्टमा एक विश्वासी भएकोले तपाईं व्यवस्थाको लेखि मर्नुभयो र परमेश्वरको लेखि जिउँदो हुनुभयो भन्ने कुरा के तपाईंले महसुस गर्नुभएको छ?

रोमी ७:७

यस अध्यायको यहाँसम्म व्यवस्थाको बारेमा हामीलाई के-के बताइयो त्यसलाई हेरौं:

  • पद २ -- व्यवस्थाद्वारा बाँधिएको
  • पद ३ -- व्यवस्थाबाट मुक्त
  • पद ५ -- व्यवस्थाको निम्ति मरेको
  • पद ६ -- व्यवस्थाबाट मुक्त…जसको बन्धनमा हामी थियौं

व्यवस्था त कुनै भयङ्कर नराम्रो कुरा जस्तो सुनिन्छ! व्यवस्था कति नराम्रो कुरा होला त यदि म त्यसबाट छुटाइनुपर्छ र त्यसबाट मुक्त गरिनुपर्छ भने। त्यसले मलाई पक्रेको छ र बाँधेको छ! त्यसले मेरो पापपूर्ण वासनाहरूलाई जगाइदिन्छ! व्यवस्था त कुनै ज्यादै खराब कुरा जस्तो सुनिन्छ, तर त्यसो होइन, र पावलले यस गलत धारणालाई सच्च्याउँछन्: "के व्यवस्था पाप हो?" के व्यवस्था कुने खराब र पापपूर्ण कुरा हो? "कदापि होइन!" समस्याको जड व्यवस्था होइन! व्यवस्थालाई दोष्याउने काम नगरियोस्! (यस प्रश्नको जवाफ रोमी ७:१२ मा दिइएको छ। व्यवस्था त पापकै उल्टो कुरा हो!)।

यस टिप्पणीको रोमी ३:२० अन्तर्गत उल्लेखित ऐनाको उदाहरणलाई पुनः विचार गर्नुहोस्। ऐनाको उद्देश्य व्यक्ति फोहोर छ भनेर देखाउनु हो। समस्या ऐनाको होइन तर व्यक्तिको अनुहारको हो। ऐना त फोहोर छँदै छैन! तर ऐनाले अनुहारमा भएको फोहोरलाई देखाइदिन्छ। फोहोर अनुहारको दोष ऐनालाई दिन मिल्दैन। "तर" को तात्पर्य "बरु उल्टो"। व्यवस्था पाप होइन तर पापलाई प्रकट गरिदिने काम गर्दछ (रोमी ३:२०)। ऐना फोहोर होइन तर फोहोरलाई प्रकट गरिदिन्छ। "पाप भनेको के हो, म जान्नेथिइनँ" -- पावल आफ्नै पापको बारेमा अनजान थिए। [ऐना आइपुग्नुअघि सम्म निजले आफ्नो अनुहार सफै छ भनी ठानेको थियो!] जसरी ऐनाले फोहोर देखाइदिन्छ त्यसरी नै व्यवस्थाले पाप देखाइदिन्छ (र कायल पार्दछ)।

व्यवस्थाले पापलाई कसरी प्रकट गर्छ भन्ने कुराको एउटा निश्चित उदाहरण पावलले प्रस्तुत गर्दछन्। उनको उदाहरण चाहिँ दसौं आज्ञा हो। "लोभलालच" को माने "प्रबल इच्छा, अरूसँग भएको कुराको निम्ति प्रबल इच्छा, लोभ, अरूसँग भएको कुनै कुराको निम्ति ठूलो चाहना"। अर्को शब्दमा, "मभित्र भएको यो लोभलालचको डरलाग्दो पापको बारेमा म अनभिज्ञ रहनेथिएँ तर परमेश्वरसँग एउटा गजबको ऐना रहेछ जुनचाहिँ मेरो आफ्नै हृदयको लोभलालचलाई प्रकट गर्नलाई विशेषरूपमा उपयुक्त रहेछ, अर्थात् दसौं आज्ञा (प्रस्थान २०:१७): "तिमीले लालच (अरूसँग भएका कुराहरूको निम्ति प्रबल इच्छा) नगर्नू।" निश्चित किसिमको फोहोरमैला प्रकट गर्नका निम्ति परमेश्वरसित एउटा निश्चित ऐना छ; लोभको मैला प्रकट गर्नलाई परमेश्वरको ऐनाको नाम दसौं आज्ञा हो।

रोमी ७:८

"तर पाप (समस्याको जड) ले यस आज्ञा (दसौं आज्ञा) द्वारा मौका छोपेर (अवसर पाएर) ममा सबै प्रकारको लोभलालच (प्रबल इच्छा, पद ७ कै शब्द) उत्पन्न गरिदियो। किनकि व्यवस्थाबिना (आज्ञा आइपुग्नु अघि) पाप मरेको (निष्क्रिय, जीवनरहित, सुप्त, थोरै चहलपहल भएको अवस्थामा) थियो। ऐनाबिना आफ्नो फोहोर अनुहारको खासै धेरै महसुस हुँदैन तर ऐना आइपुगेपछि फोहोर त एक्कासी जिउँदो बन्दछ! "ओहो! कति फोहोर हो!" हुन त्यो अगाडिबाटै छँदै थियो तर ऐनाले उसलाई त्यसको महसुस गरायो! पारिलो घाममा डल्ला परेर सुतिराखेको सर्पलाई विचार गर्नुहोस्। त्यो निष्क्रिय छ, मरेको जस्तै छ। तर तपाईं गएर त्यसलाई चलाउनुभयो भने त्यो सर्प जागेर उठ्छ। व्यवस्थाले पनि पापलाई यस्तै किसिमले काम गर्दछ!

उदाहरण: दस आज्ञाको दोस्रो आज्ञा (प्रस्थान २०:४) लाई विचार गर्नुहोस्। यो आज्ञा पवित्र र न्यायपूर्ण र असल छ। यसमा कुनै कुरा गलत छैन। तर जब पापी मान्छेको अगाडि यो आज्ञा आइपुग्छ, उसले स्वभावैले के गर्छ? ऊ त्यसको विरुद्धमा उठ्छ र विद्रोह गर्छ! परमेश्वरले भन्नुहुन्छ, तिमीले यसो गर्नेछौ तर विद्रोहीले जवाफ दिन्छ म गर्दिनँ! परमेश्वरले भन्नुहुन्छ, तिमीले त्यसो गर्नेछैनौ तर विद्रोहीले जवाफ दिन्छ म गर्छु! त्यसैले त हामीले प्रस्थान ३२:७-८ मा त्यो खेदपूर्ण र आपत्तिजनक घटना पढ्छौं। मूर्तिपूजाको पाप उनीहरूको हृदयमा सुरुदेखि नै थियो तर आज्ञाले त्यसलाई जगाइदियो। मूर्तिपूजाको पाप आज्ञा दिइनु अगाडिसम्म मरेको थियो, त्यो निष्क्रिय थियो र सुप्त थियो। त्यसअघि सुनका बाछाहरू बनाउने उनीहरूको बानी थिएन। व्यवस्थाले पापलाई जगाउँछ र सो गर्नलाई उक्साउँछ। के हामी सुनको बाछाको लागि दोस्रो आज्ञालाई दोष दिऔं त? कदापि नहोस्!

रोमी ७:९

"एकपल्ट" ले पावललाई परमेश्वरको व्यवस्थाद्वारा सामना गरिनुभन्दा अगाडिको समयलाई जनाउँछ, आज्ञा आउनुभन्दा अघिको समय। "जिउँदो" को माने अविचलित, कायलरहित, आफूमाथि झुण्डिरहेको त्यो ठूलो मृत्यु दण्डको कुनै महसुस नभएको अवस्था। सबकुरा ठिकठाक छ जस्तै लाग्थ्यो (ऐनामा नहेरेको मान्छेको फोहोर अनुहार भए जस्तै। सब कुरा ठिकठाक जस्तै लाग्ला तर ठिकठाक छैन। समस्या त्यहाँ छँदै छ यद्यपि मलाई त्यसको महसुस समेत छैन)। "पाप जाग्यो" को माने "पाप फेरि जीवित भयो, पुनर्जागृत भयो" (बौरिउठाइलाई बयान गर्न प्रयोग हुने शब्द हो यो)। आज्ञाले पापलाई पुनर्जागृत गराउँछ र पापलाई बौराउँछ (सर्प एक्कासी जिउँदो पारिए जस्तै)। "म मरें" -- एक्कासी म त एउटा व्यवस्था भङ्ग गर्ने व्यक्ति रहेछु र व्यवस्था भङ्ग गर्नेहरू मृत्यु दण्डको योग्य हुन्छन् भन्ने कुरा म महसुस गर्दछु! व्यवस्थालाई "मृत्युको सेवा" र "दोषी ठहराउने सेवा" भन्ने नाम दिइएको छ (२ कोरिन्थी ३:७,९)। परमेश्वरको पवित्र व्यवस्थाले पापीलाई कायल पार्दछ र "मार्दछ"!

रोमी ७:१०

"जीवनका निम्ति दिइएको" -- यस भनाइको आशय मत्ती १९:१६-१७ र लूका १०:२५-२८ मा भेटिन्छ। जिउन र अनन्त जीवन पाउन एक व्यक्तिले केवल व्यवस्था पालन गर्नुपर्छ। तर उसले त्यसलाई सिद्ध र पूर्ण रूपमा पालन गर्नुपर्छ र त्यो चाहिँ उसले जीवनभरि नै गर्नुपर्छ! समस्या के छ भने कुनै पनि व्यक्तिले सो गरेको छैन र कुनै पनि पापीले त्यो गर्न सक्दैन! सफा अनुहार हुनेहरूले ऐनाको कुनै डर मान्नुपर्दैन। समस्या के छ भने हामीमध्ये कसैको पनि अनुहार सफा छैन! हामी सबै पापी छौं र त्यसैले व्यवस्थाले हामी सबैलाई दोषी ठहराउँछ! "मैले मृत्युको कारण भएको भेट्टाएँ" -- मलाई व्यवस्थाले सामना गर्दा मैले व्यवस्था विरुद्धको आफ्नै पापपूर्ण अनाज्ञाकारितालाई महसुस गरें र मैले भङ्ग गरिएको व्यवस्थाको डरलाग्दो दण्डको सामना गर्नुपर्ने भयो जुनचाहिँ हो मृत्यु।