Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

रोमी ७:११-२५

यस पृष्ठलाई छाप्नुहोस्

रोमी ७:११

तपाईंलाई धोका दिने र मार्ने को हो? खास बदमास को हो? खास धोकेबाज र हत्यारा को हो? पाप हो!!!

हिब्रू ३:१३ -- पाप धोकेबाज हो

याकूब १:१३ -- पाप हत्यारा हो

तर पापले व्यवस्थाको फाइदा उठायो।

रोमी ७:१२

यो पद यस खण्डको निष्कर्ष हो ("यसकारण" भन्ने शब्दले यसको सङ्केत दिन्छ) र यसले सातौं पद मा उठाइएको प्रश्नको जवाफ दिन्छ। समस्या व्यवस्थाको होइन। व्यवस्था त त्यसलाई दिनुहुने परमेश्वरको एउटा सिद्ध प्रतिबिम्ब हो। [यो एउटा उत्कृष्ट ऐना हो। यसले मेरो फोहोर देखाइदिन सक्छ, तर यसले मलाई सफा पार्न सक्दैन!] व्यवस्था पवित्र छ तर यसले मलाई पवित्र बनाउन सक्दैन। व्यवस्थाले मलाई कहिल्यै पवित्र बनाउन सक्दैन। यसले केवल म कतिसम्म अपवित्र रहेछु भनेर मात्र देखाउन सक्छ! व्यवस्था धर्मी छ तर यसले मलाई कहिल्यै धर्मी ठहराउन सक्दैन (रोमी ३:२०; गलाती २:१६)। यसले मलाई दोषी मात्र ठहराउन सक्छ। व्यवस्था असल छ तर यसले मलाई कहिल्यै असल बनाउन सक्दैन। यसले मलाई केवल मेरो नीचता मात्र देखाउन सक्छ (रोमी ७:२४) र मभित्र वास गर्ने खराबीलाई मात्र देखाउन सक्दछ (रोमी ७:१७-२१)।

रोमी ७:१३

फेरि हामी देख्छौं कि खास बेइमान चाहिँ पाप हो। व्यवस्थाले पाप उत्पन्न गर्दैन, पापले गर्छ (व्यवस्था १:१५; रोमी ६:२३)। व्यवस्थालाई दोष नलाउनुस्। खास शत्रु पाप हो। तर पापले जुन चीज असल छ त्यसलाई प्रयोग गर्दछ (व्यवस्थालाई)। "ज्यादै पापमय" को माने "पूरै पापपूर्ण"। व्यवस्थाले पापलाई ठूलो बनाइदियो (फोहोर त्यहाँ सुरुदेखि नै थियो तर तबसम्म मेरो समस्या खासै ठूलो लागेको थिएन जबसम्म मैले ऐनामा हेरिनँ अनि त्यसपछि त त्यो ज्यादै पापमय पो देखा पर्यो!)। जब हामी पवित्र कुराको छेउमा उभिन्छौं र आफैलाई हेर्छौं तब हामीले आफूलाई ज्यादै पापमय देख्छौं (यशैया ६:१-५ सित तुलना गर्नुहोस्)। परमेश्वरको पवित्र व्यवस्थाको छेउमा उभिँदा हामी पूर्णरूपमा अपवित्र देखा पर्छौं!

व्यवस्थाले पापको सवालमा गर्ने तीनटा कुरालाई ध्यान दिनुहोस्:

व्यवस्थाले पाप प्रकट गर्दछ (एउटा ऐनाले जस्तै) -- पद ७; रोमी ३:२०

व्यवस्थाले पापलाई जगाउँछ (सर्पको उदाहरण) -- पद ५,९

व्यवस्थाले पापलाई ठूलो देखाउँछ (पद १३, १ कोरिन्थी १५:५६ सित तुलना गर्नुहोस्

रोमी ७:१४

व्यवस्था आत्मिक छ। व्यवस्थाको कुनै समस्या छैन। व्यवस्था शारीरिक छैन। खास समस्या त 'म' हो! चौधौं पदमा सर्वनाम "म" मा जोड दिइएको छ। म शारीरिक छु, पापको हातमा बेचिएको छु (म पापको दास हुँ)। यसपछिका पदहरूमा "म" सर्वनाम शब्द कति धेरै पल्ट प्रयोग भएको छ भन्ने कुरालाई ध्यान दिनुहोस्! साथै चौधौं पदमा पावलले "मचाहिँ शारीरिक छु" भनेका कुरालाई ध्यान दिनुहोस्। उनले आफ्नो विगतको मुक्ति नपाएको अवस्थाको चर्चा गरिरहेका छैनन्, तर आफ्नो वर्तमान अवस्थाको । एकजना ख्रीष्टियन कसरी शारीरिक, र पापको दास हुन सक्दछ?

प्रथमतः हामी सबैजना बुझ्छौं कि एक अर्थमा साँचो विश्वासी शारीरिक हुँदैन। रोमी ८:९ ले भन्छ, "तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ।" पावलले आफ्नो मुक्ति नपाएको अवस्थालाई "शरीरमा" (रोमी ७:५) भएको समय भनेर जनाएका थिए। अर्को शब्दमा, ओहोदाको सवालमा साँचो विश्वासी (मुक्ति पाएको व्यक्ति) अब उसो शारीरिक घेराभित्र रहेको छैन, तर ऊ आत्माको घेराभित्र रहेको छ (रोमी ८:९)। ऊ ख्रीष्टमा छ र ख्रीष्ट उसभित्र हुनुहुन्छ। साथै ओहोदाको सवालमा मुक्ति पाएको व्यक्ति अब उसो पापको दास पनि होइन जसरी हामी रोमी ६:१७-१८; ६:२२ मा देखिसक्यौं। तर, रोमी ७:१४ मा पावल आफ्नो महिमित ओहोदाको चर्चा गरिरहेका छैनन् तर आफ्नो वास्तविक अवस्थाको। उनले आफ्नो वास्तविक ख्रीष्टिय जीवन जिउँदाहुँदीको अनुभवको कुरा गर्दैछन्। अनि एकजना साँचो ख्रीष्टियनको हिँडाइ शारीरिक हुनु सम्भव छ (१ कोिरन्थी ३:१-४ सित तुलना गर्नुहोस्)। यसको माने पावलको ख्रीष्टिय जीवन शारीरिकपनाले चिनिएको थियो र त्यसैले ग्रस्त थियो भन्ने होइन। पावल प्रेरितको बारेमा हामीलाई जति पनि कुरा थाह छ, त्यो यसको विपरित छन्। तर हामीले यो भन्नुपर्छ कि रोमी ७:१५-२४ पावल प्रेरितको एकदम वास्तविक अनुभव थियो र प्रत्येक इमानदार विश्वासीले यो स्वीकार गर्नैपर्छ कि धेरै वा थोरै यही कुरा उसले पनि अनुभव गरेको छ र पनि यही सङ्घर्ष भएर गएकै छ जसलाई पावल प्रेरितले यहाँ दर्शाएका छन्।

पावलले अनुभव गरेको दासत्वलाई निम्न पदहरूले व्याख्या गर्दछन्:

रोमी ७:१५

"किनभने" -- यसले चौधौं पदमा उल्लेखित "पापको हातमा बेचिएको" (पापको दास भएको) भन्ने भनाइको व्याख्या गर्दछ। दास भनेको के हो? दास अर्को व्यक्तिको अधीनमा रहेको व्यक्ति हो, जसको कारण उसले गर्न चाहेको काम गर्न सक्दैन र उसले गर्न नचाहेको काम उसले गर्नुपर्छ, अँ उसले घृणा गरेको काम सेमत। यसको उदाहरणस्वरूप मिश्रीहरूको दास्त्वमुनि कष्ट भोगेका इस्राएलीहरूलाई विचार गर्नुहोस्। इस्राएली दासलाई ईँटहरू बनाउन जबरजस्ती लगाइयो। उसले यो गर्न चाहँदैनथ्यो तर उसले त्यो गर्नैपर्थ्यो। ऊ अरू कुराहरू गर्न चाहन्थ्यो, तर उसले चाहेको कुराहरू ऊ गर्न सक्दैनथ्यो। त्यस्तै गरी पापको दास भएको व्यक्ति पनि एउटा अन्योलग्रसत सङ्घर्षमा परेको हुन्छ ("सो म बुझ्दिनँ" को माने म ज्यादै जिल्ल परिरहेको छु, अन्योलमा छु")। जे ऊ गर्न चाहन्छ ऊ गर्दैन। जे ऊ गर्न घृणा गर्छ त्यही ऊ गर्दछ! म जे गर्न चाहन्छु त्यो म गर्न सक्दिनँ र मैले जे घृणा गर्दछु त्यही मैले गर्नुपरेको छ!

रोमी ७:१६

"सहमत" को माने स्वीकार गर्नु। यो व्यक्ति व्यवस्थासित सहमत छ, त्यसलाई स्वीकार गर्छ! जस्तै: "तिमीले लोभलालच नगर्नू!" "म सहमत छु! यो असल व्यवस्था हो! लोभलालच विरुद्धको परमेश्वरको आज्ञा पवित्र छ, ठिक छ र असल छ। म त्यसलाई आमेन भन्छु। म लोभ गर्न चाहन्न। लोभ गर्नु गलत हो म जान्दछु। म लोभलाई घृणा गर्दछु तर लोभलालच नगरी सक्दिनँ! म यो पापको दास छु!"

रोमी ७:१७

यहाँ हामी अन्तरवास गर्ने पाप (INDWELLING SIN) को समस्या देख्छौं जुनचाहिँ प्रत्येक विश्वासीले सामना गर्ने एउटा ठुलो समस्या हो। रोचक कुरा के छ भने पावलले अन्तरवास गर्ने पाप र आफूबीच भिन्नता राख्दछन्: "म होइन…तर पाप।" यो यस कुराको सङ्केत हो कि पावलले यहाँ एकजना मुक्ति पाएको व्यक्तिको दृष्टिकोणबाट लेख्दैछन्। त्यो पापी 'म' चाहिँ उसको खास 'म' होइन। पावल ख्रीष्टमा एक नयाँ मानिस थिए, तर पापको सवालमा जिम्मेवार पक्षचाहिँ पुरानो पावल थियो। पावल यहाँ आफूले गरेको व्यवहारको उत्तरदायित्वदेखि भाग्न खोजिरहेका होइनन्, तर उनले दुईटा स्वभाव बीच भिन्नता राख्दैछन्, जसरी उनले बीसौं पदमा पनि गर्दछन्।

रोमी ७:१७ -- "तब ता त्यो गर्ने म होइनँ…तर पाप" -- हारको चित्कार हो यो!

गलाती २:२० -- "म ता होइन, तर ख्रीष्ट" -- विजयको चित्कार हो यो!

रोमी ७:१८

"मभित्र कुनै असल कुराले वास गर्दैन।" यो कठिन भनाइ हो, तर यो कुरा हरेक विश्वासीले देख्नैपर्छ र विश्वास गर्नैपर्छ। किन यहाँ "अर्थात् मेरो शरीरभित्र" भन्ने शब्दहरू भएको उपवाक्यांश पाउँछौं? यो अर्को सङ्केत हो कि पावल नयाँ जन्मै नपाएका व्यक्तिको दृष्टिकोणबाट नभएर एक मुक्ति पाएका व्यक्तिको दृष्टिकोणबाट लेख्दैछन्। पावललाई यहाँ एउटा उपवाक्यांश घुसाउनु आवश्यक पर्यो किनभने उनको पापमय शरीरबाहेक उसभित्र एकजना परमव्यक्ति अन्तरवास गर्नुहुन्छ (रोमी ८:९ मा हेर्नुहोस्) भनेर जान्दथे। "इच्छा गर्ने" को माने "चाहना गर्नु, चाहनु"। म असल गर्न चाहन्छु, म पापमाथि विजयी हुन चाहन्छु, म परमेश्वरको पवित्र व्यवस्था र परमेश्वरको वचन पालन गर्न चाहन्छु, तर त्यसलाई पूरा गर्ने मसित सामर्थ्य छैन। म शक्तिहीन छु! म असहाय छु! म त्यो गर्नै सक्दिनँ! ख्रीष्टिय जीवन जिउन म बिलकुलै असमर्थ छु!!! के तपाईंले यो कुरा पत्ता लगाउनुभएको छ? ख्रीष्टमा भएको नयाँ सृष्टिसित जुन कुरा असल र ठिक छ त्यो गर्ने इच्छा त छ (पद १८,१९,२१) तर सामर्थ्य भने छँदै छैन। पूरा गर्ने सामर्थ्य हामी आफैमा हुँदैन, त्यो केवल पवित्र आत्मा परमेश्वरमा मात्र हुन्छ (रोमी ८ अध्याय र तुलना गर्नुहोस् फिलिप्पी २:१३)।

कैयौं पटक हामी यो ठन्छौं कि हामीले आफैमा कुनै असल कुरा भेट्टाउनुपर्छ जसलाई हामी परमेश्वरलाई चढाउन सकौं। बाइबल शिक्षक सी ए कोट्सले एउटा साधारण उदाहरण दिएर यस दृष्टिकोणको भूल देखाउँछन्:

जहाँसम्म परमेश्वरलाई मतलब छ, त्यो कसिङ्गरको थुप्रो जलाइसकिएको छ, तर हामीले चाहिँ उक्त तथ्य साँचो भएको ठान्नुपर्छ!

रोमी ७:१९

यसको आशय पन्ध्रौं पदको जस्तै हो। जुन असल म गर्न चाहन्छु त्यो म गर्न सक्दिनँ; जुन खराब म गर्न चाहन्न, त्यो म गर्दछु! यी सबै पदहरूले त्यो सङ्घर्षको बयान गरिरहेको छ जोहरू साँचो विश्वासीहरू हुन्। नयाँ जन्म नपाएकाहरूको यस्तो किसिमको सङ्घर्ष नै हुने गर्दैन किनभने तिनीहरूसित एकै किसिमको मात्र स्वभाव हुन्छ (अर्थात् भ्रष्ट, पापमय, आदम-खालको स्वभाव)। तिनीहरू खराबकै इच्छा गर्छन् र त्यसैलाई गर्छन् (जबसम्म कुनै अरू कुराले रोक्दैन)। तिनीहरू जे असल र ठिक छ त्यसलाई घृणा गर्छन् र त्यसबाट पर हट्छन्। नबाँचेकाहरू पाप गर्छन् र त्यसलाई मन पराउँछन्। विश्वासीले पाप गर्दछ र त्यसलाई घृणा गर्दछ। असल गर्ने इच्छा जस्तो हामी बीसौं पदमा देख्छौं, चाहिँ "नयाँ मानिस" को चाहना हो, नबाँचेको मान्छेको चाहना होइन।

रोमी ७:२०

यस पदमा रहेको विचार सत्रौं पदको विचारसँग समानन्तर छ। यस अन्तरवास गर्ने पापको शक्तिलाई तोड्न म शक्तिहीन छु। म सक्दै सक्दिनँ! धेरै हिसाबमा यसरी नै उनीहरूमाथि रहेको मिश्रीहरूको शक्तिलाई तोड्न इस्राएलीहरूले गर्न सक्ने एउटै कुरा थिएन। उनीहरूलाई चाहिएको एउटा कुरा के थियो? एकजना उद्धारक! एकजना जसले आफ्नो सामर्थ्यले उनीहरूलाई दासत्वबाट छुटकारा दिन सक्दछ!

रोमी ७:२१

यो व्यवस्था चाहिँ "पाप र मृत्युको व्यवस्था" हो जसलाई ७:२३; ७:२५ र ८:२ मा पनि उल्लेख गरिएको छ। म लोभ गर्न चाहदिनँ; म सन्तुष्ट हुन चाहन्छु, तर लोभलालचको त्यो दुष्ट पाप ठिक मैसित छ (मेरो हृदयमा) अनि म त्यो पापको दास छु र त्यसैले मैले लोभ गर्नैपर्ने हुन्छ। म गर्न चाहन्न तर म गर्छु।

रोमी ७:२२

यी शब्दहरू नयाँ जन्म नपाएको मान्छेको मुखमा सुहाउँदैनन्। बाँचेको मान्छे मात्र परमेश्वरको व्यवस्थामा आनन्दित हुन्छ (जस्तै दाऊद, भजनसङ्ग्रह १९:७-१०; भजनसङ्ग्रह ११९:३५ सित तुलना गर्नुहोस्)।

"आनन्दित हुनु" को माने "सहमत हुनु" (पद १६ सित तुलना गर्नुहोस्)। "म खुसीसाथ परमेश्वरको व्यवस्थासित सहमत हुन्छु!" म परमेश्वरको व्यवस्थासित सहमत छु र त्यसको पालना गर्ने मेरो उत्कट चाहना छ, तर म पापको दासत्व र पकडमा छु (पद २३)!

रोमी ७:२३

यो भयङ्कर युद्ध र सङ्घर्ष चलिरहेको कुरालाई ध्यान दिनुहोस् (गलाती ५:१७ सित तुलना गर्नुहोस्)। यस कुस्तीमा लड्नेहरू को को हुन् ध्यान दिनुहोस्:

यो लडाइँ कसले जित्दैछ? म त हारिसकें भनेर तेइसौं पदले बताउँछ! म त युद्धमा पक्राउ परी वशमा ल्याइएको छु! एक कैदी! वशमा! म पराजित भएको छु!

रोमी ७:२४

"अभागी मानिस" को माने "दुःखी मानिस"। यही "अभागी" शब्द प्रकाश ३:१७ मा पनि हेर्नुहोस्। एक दुःखी मानिस, एउटा दुःखी अवस्थामा! प्रत्येक विश्वासी आफ्नो अभागी अवस्था महसुस गर्ने ठाउँमा आइपुग्नु खाँचो छ। हामीले आफ्नो अत्यन्तै ठूलो खाँचो देख्नैपर्छ, विश्वासी भएर पनि। परमेश्वरले हामीलाई उपायरहित निराशाको तल्लो गहिराइहरूमा पुर्याउनुहुन्छ, हामीलाई त्यहीँ छोड्नलाई होइन, तर हामीलाई उहाँको अनुग्रहको चुचुरोहरूमा उकास्नलाई हो। अभागी मानिस एउटा वशमा ल्याइएको कैदी र पापको दास हो -- जसले जे ठिक छ त्यो गर्न चाहन्छ तर असल गर्न सक्ने कुनै शक्ति छैन उसको र जुन कुरालाई उसले घृणा गर्दछ त्यही गर्न ऊ पुगिरहन्छ!

"कसले मलाई…छुटकारा देला?" एक उद्धारको माग गरिरहेको यस चित्कारमा, याद राख्नुहोस्, निजले “म के गरूँ?” अथवा “मैले आफूलाई कसरी छुटाऊँ?” भन्दैनन्। होइन, निज त आफू भन्ने व्यक्तिको अन्तमा आइपुगिसकेका छन्। आफूमा भर पर्दा त्यसले उसलाई केवल पराजय र विफलतामा मात्र पुर्याउन सक्यो। उसले आफूलाई बिलकुलै अशक्त र असहाय र आशारहित भएको पाए, तर उनी अन्तमा आफूभन्दा बाहिरबाटको छुटकाराको निम्ति कराउँछन्। व्यवस्थाले उसलाई सघाउन सक्दैन। व्यवस्थाले उसलाई पवित्र बनाउन सक्दैन। उनी कराउँछन् तर व्यवस्थाको निम्ति होइन, बरु परमप्रभुको निम्ति। व्यवस्था हामीद्वारा पूरा हुने कुरा होइन; त्यो हामीमा पूरा हुने कुरा हो (जुन कुरा हामी रोमी ८:४ मा देख्नेछौं), पवित्र आत्माको सामर्थ्यद्वारा जसको फल प्रेम हो जुन कुरा नै व्यवस्थाको पूरा हुवाइ हो (गलाती ५:२२; रोमी १३:८-१०)।

“यस मृत्युको शरीर” -- रोमी ६:६ सित तुलना गर्नुहोस् -- “पापको शरीर”; रोमी ७:२३ “मेरा अङ्गहरूमा भएको पापको व्यवस्था”। हाम्रा शरीरहरू अझ सम्म उद्धाररहित अवस्थामै छन् (रोमी ८:२३)। अन्तरवास गर्ने पापको प्रमुख कार्यालय भनेको शरीर नै हो र शरीरका अङ्गहरू चाहिँ अन्तरवास गर्ने पापको हतियारहरू हुन् (रोमी ६:१३ सित तुलना गर्नुहोस्)।

रोमी ७:२५

प्रभु येशू ख्रीष्ट नै महान् उद्धारक हुनुहुन्छ (रोमी ११:२६ र तुलना गर्नुहोस् २ कोरिन्थी १:१० सित)। “धन्यवाद” चाहिँ एउटा विश्वासपरक शब्द हो। “म विश्वास गर्दछु येशू ख्रीष्ट मलाई पापबाट बचाउने मेरा उद्धारक हुनुहुन्छ। धन्यवाद।! म विश्वास गर्दछु अब उसो म पापको दास होइन। धन्यवाद! म विश्वास गर्दछु म अब उसो पापको कैदी नभई येशू ख्रीष्टको कैदी भएको छु। धन्यवाद! मलाई चाहिने सहायता म आफूबाट होइन तर मेरो मुक्तिदाताबाट प्राप्त हुँदछ। धन्यवाद!” विजय हाम्रो शारीरिक युक्तिहरूबाट हुने कुरा होइन, आफूलाई विकास गर्ने जुक्तिहरूबाट होइन। विजय केवल जिउँदो परमेश्वरबाट मात्र आउने कुरा हो: २ कोरिन्थी २:१४ पढ्नुहोस्।

पद २५ को पछिल्लो भागले १५ देखि २४ सम्मका पदहरूको सारांश र निष्कर्ष बताउँछ (“तब”)। मनले म परमेश्वरको व्यवस्थाको सेवा गर्दछु (पद २२) तर शरीरले पापको व्यवस्थाको (पद २३)।


पृष्ठ संशोधन मिति: Friday 27-Mar-15
WordofTruth.com.np © 2017