Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

रोमी ८:१४-२७

यस पृष्ठलाई छाप्नुहोस्

रोमी ८:१४

नवौं पदमा एक साँचो ख्रीष्टियन त्यो हो जसभित्र पवित्र आत्माले अन्तरवास गर्नुहुन्छ भनेर सिकेका थियौं। यस पदमा हामी एक साँचो ख्रीष्टियनको अर्को लक्षण देख्छौं। परमेश्वरको आत्माले जतिजना डोर्याइँदछन्, तिनीहरू परमेश्वरका सन्तान हुन्। एक साँचो विश्वासी आत्मा-निर्देशित हुन्छ। शरीरअनुसार जिउने ब्यक्ति (पद १२) अवश्य पनि आत्माद्वारा डोर्याइँदैन। यूहन्ना १०:२६-२७ पढ्नुहोस्। साँचो भेडाको लक्षण के हो? साँचो भेडाले साँचो गोठालालाई पछ्याउँछ। ख्रीष्टले डोर्याउछन् र उहाँका भेडा पछ्याउँछन्! त्यसैले यहाँ रोमी ८:१४ मा हामी सिक्छौं कि एउटा साँचो सन्तान आत्माद्वारा डोर्याइँदछ। यस क्रियापद शब्द चाहिँ वर्तमान कालमा छ: हामी पलपलमा र निरन्तर आत्माद्वारा डोर्याइँदैछौं। उहाँ सधैं हाम्रा जीवनहरूमा काम गरिरहनुभएको छ। कि त उहाँ हामीलाई धार्मिकताको बाटोमा डोर्याउँदैहुनुहुन्छ कि त उहाँले हामीलाई धार्मिकताको बाटोमा फर्काउँदैहुनुहुन्छ। कि त उहाँ हामीलाई नियन्त्रण (कन्ट्रोल) गरिरहनुहुभएको छ, कि त उहाँले हामीलाई कायल पार्दैहुनुहुन्छ, तर उहाँ सधैं हामीभित्र काम गरिरहुनुभएको छ (उहाँले हामीलाई कहिल्यै त्याग्नुहुन्न -- एफेसी ४:३० पढ्नुहोस्)। कि त हामीले उहाँलाई शोकित पार्दैछौं कि त खुशी पार्दैछौं। हामी आत्माको घेराभित्र छौं र हामी यस घेराभन्दा बाहिर कहिल्यै हुन सक्दैनौं। स्मरण होस्, हामी "आत्मामा" छौं (रोमी ८:९)।

रोमी ८:१५

आठौं अध्यायमा चाबी शब्द "आत्मा" हो (यस अध्यायमा १९ पल्ट उल्लेखित)। एक व्यक्तिले साँच्चै मुक्ति पाएकै घडी उसले परमेश्वरको आत्मा प्राप्त गर्दछ, जसलाई यहाँ "धर्मपुत्र तुल्याउनुहुने आत्मा" (Spirit of adoption) भनिएको छ। बचाइएको व्यक्ति एउटा व्यवस्थापरक सम्बन्धमा प्रवेश गर्दैन तर एउटा प्रेमको सम्बन्धमा प्रवेश गर्दछ (रोमी ७:४ पढ्नुहोस्)। हामी एउटा दास जस्तो होइनौं जो डराउँदै एक कठोर र कडा मालिकको सामु उभिँदछ तर हामी एउटा बालक जस्तो हौं, आफ्नो बुबाको सामु एउटा छोरा जस्तो हौं। "अब्बा" भन्ने अारमेयिक शब्दलाई त्यसपछिको "पिता" भन्ने शब्दले व्याख्या गरेको छ। पितालाई जनाउने त्यो एउटा ज्यादै प्रचलित शब्द थियो, सायद झण्डै-झण्डै नेपालीको "बुबा" वा "बाबा" भन्ने शब्द जस्तै अर्थ बोकेको शब्द थियो। दुरुस्त यही शब्द प्रभु येशू स्वयंले मर्कूस १४:३६ मा प्रयोग गर्नुभएको पाउँदा हामी चकित हुन्छौं। स्वर्गका पितासित जस्तो घनिष्ट सम्बन्ध ख्रीष्टको थियो त्यस्तै खालको घनिष्ट सम्बन्ध विश्वासीहरूले पाएका छन् -- उहाँको अनुग्रहको प्रशंसाको निम्ति! "ख्रीष्टमा" हुनेहरू जतिकै कोही पनि स्वर्गका पिताको झन् नजिक र प्यारो हुन सक्दैनन्। निम्न बहुमूल्य हरफहरूलाई विचार गर्नुहोस्:

"नजिक, परमेश्वरको यति धेरै नजिक, झन् नजिक म हुन सक्दिन
कारण परमेश्वरको पुत्रमा, म उहाँजत्तिकै नजिक भएको छु।

"प्यारो, परमेश्वरको यति धैरै प्यारो, झन् प्यारो म बन्न सक्दिन
कारण परमेश्वरको पुत्रमा, म उहाँजत्तिकै प्यारो बनेको छु।"

"धर्मपुत्र तुल्याउनुहुने" -- यसमा दुईटा कुरा छन्: १) पुत्र २) स्थानमा राखिनु। परमेश्वरले विश्वासीलाई लिनुभई (जो एक समय क्रोधको र आज्ञा नमान्ने सन्तान थियो -- एफेसी २:१-३) र उसलाई एउटा छोराको स्थानमा स्थापित गर्नुभएको छ र उसलाई त्यहाँ एक छोरा हुनाको हैसियतले प्राप्त हुने सबै विशेषाधिकारहरू र आशिषहरू र सम्पत्तिहरूको भागीदार बनाइएको छ!

रोमी ८:१६

पवित्र आत्माले हाम्रो मनुष्य आत्मासित गवाही दिनुहुन्छ कि हामी परमेश्वरका सन्तान हौं। यस छोटो पदले मुक्तिको निश्चयता भन्ने ज्यादै महत्त्वपूर्ण शिक्षाको विषयसित सम्बन्ध राख्छ। बाइबलले यो प्रस्टै सिकाएको छ कि एक व्यक्तिले आफू परमेश्वरको सन्तान हुँ भन्ने कुरालाई जान्न सक्दछ र त्यस सम्बन्धी उसलाई यही जीवनमै निश्चयता प्राप्त हुन सक्दछ। हामीले कसरी जान्न सक्छौं? यस पदले यो सिकाउँछ कि हामीले आफूहरू परमेश्वरका सन्तान हौं भनेर जान्न सक्छौं किनकि परमेश्वरका आत्माले हाम्रो आत्मासँग-सँगै गवाही दिनुहुन्छ। यसैले म परमेश्वरको सन्तान भएको छु भनेर बताउने त्यहाँ दुईटा गवाहीहरू छन्। पहिलो गवाही चाहिँ मेरो मनुष्य आत्मा हो -- मभित्र रहेको त्यो भाग जो (मैले मुक्ति पाएदेखि यता) परमेश्वरप्रति संवेदनशील छ र आत्मिक कुराहरूप्रति संवेदनशील छ। मेरो आत्माले भन्छ, "हो, म परमेश्वरको सन्तान हुँ। म बाँचेको छु! म धर्मी ठहरिएको छु! प्रभु येशू ख्रीष्ट र उहाँको अनुग्रहले परमेश्वरसित मेरो एउटा ठिक सम्बन्ध र वास्तविक सम्बन्ध भएको छ! अब म परमेश्वरलाई आफ्नो पिता भनेर चिन्दछु र उहाँसित प्रार्थना गर्न सक्दछु, कुनै रीति गरेजस्तै गरी होइन तर एकदम ठिक र वास्तविक तरिकाले।" दोस्रो गवाही पवित्र आत्मा हुनुहुन्छ जसलाई मैले मुक्ति पाएकै घडी पाएको थिएँ। मेरो जीवनमा रहेको उहाँको उपस्थिति नै मेरो निश्चयताको आधार हो। उहाँ यदि मेरो जीवनमा नहुँदो हो त निश्चयताको मसित कुनै आधार नै हुनेथिएन (रोमी ८:९)। १ यूहन्ना ४:१३ सित पनि तुलना गर्नुहोस्। उहाँ मभित्र जिउनुहुन्छ र उहाँले मलाई म परमेश्वरको निजी हुँ भनेर निश्चयता दिनुहुन्छ। जुन बेला म परमेश्वरसित ठिक सङ्गतिमा हुँदिनँ त्यतिबेला पनि उहाँले मलाई कायल पार्नुहुन्छ र उहाँले आफ्नो शोकित उपस्थितिको आभास मलाई दिनुहुन्छ (एफेसी ४:३०), अनि यो पनि एउटा सङ्केत हो कि उहाँ मभित्र वास गर्नुहुन्छ र म उहाँको निजी भएको छु।

जब कसैले मुक्ति पाउँछ ऊसँग एउटा चेतना हुन्छ र उसलाई महसुस हुन्छ कि ऊ परमेश्वरको सन्तान हो (परमेश्वरबाट जन्मिएकाहरूमध्येको एक)। ऊ जान्दछ ऊ ख्रीष्टको निजी हो र ख्रीष्ट उसको हुनुभएको छ। साथसाथै परमेश्वरका आत्माले यही तथ्यलाई समर्थन गर्ने गरी आफ्नो मौन गवाही दिँदै गर्नुभएको हुन्छ। म आफ्नो हृदयदेखि भन्दछु, "म अब हुँ येशूको, येशू हुन् मेरो!" अनि आत्माले भन्नुहुन्छ, "हो, आमेन, र तिमीभित्रको मेरो उपस्थिति नै यसको प्रमाण हो!" गलाती ४:१-६ यसको समानन्तर खण्डको रूपमा पढ्नुहोस्। रोमी ८:१५ मा विश्वासी ("हामी") ले भन्दछ, "अब्बा पिता"। गलाती ४:६ मा चाहिँ आत्माले भन्नुहुन्छ, "अब्बा पिता"। आत्माले हाम्रो आत्मासित गवाही दिनुहुन्छ कि हामी परमेश्वरका सन्तान हौं (व्यवस्था १९:१५ पढ्नुहोस् जहाँ दुईजना साक्षीले आ-आफ्ना गवाही दिन्छन्)। मनुष्य आत्माले भन्छ, "म परमेश्वरको सन्तना हुँ, अब्बा पिता!" पवित्र आत्माले भन्नुहुन्छ, "हो, ऊ परमेश्वरको सन्तान हो, अब्बा पिता!" दुईजना साक्षीको मुखबाट यो पक्का गरिन्छ!

पवित्र आत्माको एउटा ज्यादै महत्त्वपूर्ण सेवकाइ छ जसमा उहाँले मानिसहरूलाई विश्वस्त पार्ने (कायल पार्ने) काम गर्नुहुन्छ। उहाँले मलाई एक समय म एउटा पापी हुँ भनी विश्वस्त पार्नुभयो। अब उहाँले म एक पवित्र जन हुँ भनी विश्वस्त पार्नुहुन्छ। पवित्र आत्माले यो काम कसरी गर्नुहुन्छ? उहाँले परमेश्वरको वचन प्रयोग गरीकन मानिसहरूलाई कालय पार्ने र विश्वस्त पार्ने काम गर्नुहुन्छ। पवित्र आत्माले हामीलाई हाम्रा पापीपनको सम्बन्धमा कायल पार्न परमेश्वरको वचन प्रयोग गर्नुभयो। उही आत्माले उही वचन प्रयोग गरीकन हामी परमेश्वरका भएका छौं भनेर हामीलाई विश्वस्त पार्नुहुन्छ: "यी कुराहरू लेखेको छु -- तिमीहरूसित अनन्त जीवन छ भन्ने कुरा तिमीहरूलाई थाह होस्" (१ यूहन्ना ५:१३; पद १० सित तुलना गर्नुहोस् जहाँ भित्री गवाहीको उल्लेख छ)। (नोट: मानिसहरूले ख्रीष्टमाथि विश्वास गरून् भन्ने उद्देश्यले यूहन्नाको सुसमाचार लेखिएको थियो र चाबी शब्दचाहिँ विश्वास हो -- यूहन्ना २०:३१; पहिलो यूहन्नाको पुस्तकचाहिँ विश्वासीहरूले निश्चयता पाऊन् भन्ने उद्देश्यले लेखिएको थियो र चाबी शब्दचाहिँ थाह हो -- १ यूहन्ना ५:१३)।

१ यूहन्ना ५:१० मा हेर्नुहोस् -- चाबी यो हो: विश्वास गर र तिमीले थाह पाउनेछौ! (तपाईंको आफैभित्र गवाही हुनेछ)। रोमी ८:१५-१६ अनुसार यदि कसैले विश्वास गर्छ भने आत्माले उसको आत्मासित गवाही दिनेछ कि ऊ परमेश्वरको सन्तान हो। विश्वास गर र तिमीले थाह पाउनेछौ। भजनसङ्ग्रह ३४:८ ले यसको उदाहरण दिन्छ: प्रभु भला हुनुहुन्छ भनेर म कसरी जानूँ? चाख र हेर! जसले चाख्छन् उनीहरूले थाह पाउनेछन्! १ पत्रुस २:३ सित तुलना गर्नुहोस्। मिठाइ कति मीठो छ भनेर स्वादै नलिईकन कसरी थाह पाउन सकिन्छ र? यदि तपाईमले विश्वासै गर्नुभएको छैन भने परमेश्वरसितको व्यक्तिगत सम्बन्ध कति आशिषमय छ भनेर कसरी थाह पाउनुहुनेछ र?

रोमी ८:१७

हामी परमेश्वरका सन्तान मात्र होइनौं, हकवालाहरू पनि हौं। हाम्रो हकको सम्पत्ति ठूलो छ! हामी आत्मिक खरबपतिहरू हौं (एफेसी १:३)। १ पत्रुस १:३-४ पनि पढ्नुहोस्। पवित्र आत्मा हाम्रा हृदयहरूभित्र आउनुभएको छ र १) हामी अहिले परमेश्वरका सन्तान भएका छौं भनी निश्चयता दिनुहुन्छ (रोमी ८:१५-१६); २) हामीले पछि हाम्रो हकको सम्पत्ति प्राप्त गर्नेछौं भनेर जमानी बस्नुहुन्छ (एफेसी १:१३-१४)। हामी केवल परमेश्वरका हकवालाहरू मात्र होइनौं, हामी ख्रीष्टसँगै साझा-हकवालाहरू अथवा सह-हकवालाहरू पनि हौं। जे उहाँका हुन् ती हाम्रा हुन्! जे उहाँको हो त्यो मेरो हो! म ख्रीष्टका सबै सम्पत्तिहरूमा सहभागी भएको छु। ख्रीष्ट कति धनवान् हुनुहुन्छ? हिब्रू १:२ पढ्नुहोस् -- सबै कुराका हकवाला र साथै १ कोरिन्थी ३:२१२३ पनि पढ्नुहोस्। धर्मपुत्र तुल्याइनु भनेको यही हो। परमेश्वरले मलाई एउटा छोराको स्थानमा राख्नुभएको छ र त्यस स्थानसँगसँगै आउने सबै अधिकार र विशेषाधिकार र उपलब्धी र आशिषहरू र हक सबै नै यसमा समावेश छन्। ख्रीष्टसँगै मैले सबै कुराहरू (रोमी ८:३२) खुशीसाथ प्राप्त गर्दछु यद्यपि ती एउटै पाउन पनि म योग्य छैन भनी म जान्दछु!

हामी पछिबाट ख्रीष्टसँग यी कुराका भागीदार हुनेछौं, तर अहिले पनि हामी ख्रीष्टसँग भागीदार छौं। हामी उहाँका धन र महिमामा सहभागी हुनेछौं, तर हामी उहाँका दुःखहरूमा पनि सहभागी हुन्छौं: "उहाँसँगै हामीले दुःख भोग्यौं भने"। विश्वासीले वर्तमानमा दुःख र भविष्यमा सुख (महिमा) को आशा गर्नैपर्छ। प्रभु येशू संसारमा हुनुहुँदा उहाँलाई एक किसिमले व्यवहार गरियो र हरेक विश्वासी यसकै भागीदार हुँदछ। जब प्रभु येशू आफ्ना पिताकहाँ फर्केर जानुभयो उहाँलाई अर्को किसिमले व्यवहार गरियो र हामी पनि यसको सहभागी हुनेछौं।

ख्रीष्टको अनुभवमा दुःखहरू पहिला आए र पछिबाट महिमा (लूका २४:२६) र विश्वासीको सवालमा पनि यस्तै हुन्छ। पहिला दुःखहरू र पछिबाट महिमा -- पहिलो पत्रुसको विषय नै यही हो। उदाहरणको लागि १ पत्रुस १:५-६ मा हेर्नुहोस् जहाँ भविष्यको मुक्तिको महिमालाई वर्तमानका परीक्षाहरूका कठिनाइहरूसित तुलना गरिएको छ। १ पत्रुस १:११ मा हेर्नुहोस् जहाँ ख्रीष्टको दुःखहरूको चर्चा गरिएको छ जसपछि महिमा आयो। यो कुरा १ पत्रुस ३:१८ मा (ख्रीष्टको दुःख) र ३:२२ (ख्रीष्टको महिमा) पनि देखिन्छ। यसरी विश्वासीहरू अहिले ख्रीष्टका दुःखहरूको सहभागी हुन्छन् र पछिबाट हामी उहाँको महिमाको भागीदार हुनेछौं (१ पत्रुस ४:१३)। १ पत्रुस ५:१ ले पनि यसैको कुरा गर्छ। परमेश्वरको बगालको रेखदेख गर्ने काम वर्तमानको लागि धेरै दुःख र कठिनाइले ग्रस्त हुन्छन् (१ पत्रुस ५:२-३) तर यसमा भविष्यको महिमा पनि समावेश छ। अन्तमा १ पत्रुसको विषयवस्तुलाई ५:१० मा संक्षेपमा बताइएको छ। यसमा ध्यान दिनुहोस् कसरी दुःखहरू केवल थोरै समयका लागि मात्र हुन् (अनन्तताको तुलनामा वर्तमानको दुःख धेरै बेरको होइन) जसको पछि भविष्यको महिमा आउनेछ जुनचाहिँ अनन्तको लागि हुनेछ (१ पत्रुस ५:१०)।

वर्तमानका दुःखकष्टहरू प्रतीक्षा गरिनुपर्ने कुरा हुन् (यूहन्ना १५:१८-२१; १६:१-३; १६:३३; १७:१४; १ थेस्सलोनिकी ३:३; २ तिमोथी ३:१२; १ यूहन्ना ३:१३)। वर्तमानको दुःखकष्ट परमेश्वरबाटका विशेषाधिकार हुन् (फिलिप्पी १:२९; प्रेरित ५:४१)।

यस्तो सिकाउने पनि कोही-कोही छन्: कि हरेक विश्वासी "परमेश्वरको हकवाला" हो तर हरेक विश्वासी ख्रीष्टसँगै "साझा-हकवाला" होइन। उनीहरूको बुझाइमा "साझा हकवाला" भनिएकाहरू विश्वासीहरूको एउटा विशेष वर्ग हो जोहरू विजयी हुन्छन् र जोहरू कठिनाइ र दुःखकष्टका बाबजुद पनि अन्तसम्म लागिरहन्छन्। यस शिक्षाले यस पदलाई गम्भीर रूपमा गलत बुझेको देखाउँछ। पावलले यहाँ कुनै विशेष वर्गका विश्वासीहरूको कुरा गरिरहेका छैनन् जोहरू विजयी हुन्छन् र ख्रीष्टसँगै साझा हकवाला बन्न आफूलाई योग्य ठहराउँछन् र उहाँसँगै हजारवर्षको राज्यमा राज्य गर्छन् अनि अर्कातिर भने सांसारिक, दुःख-कष्ट नभोग्ने विश्वासीहरू चाहिँ हजार-वर्षीय राज्यबाट बञ्चित हुन्छन् र बाहिरी अन्धकारमा दाह्राकिटाइ र रूवाबासीका साथ हजार वर्षसम्म दण्डित हुन्छन्। कोही विश्वासीहरू अरू विश्वासीहरूभन्दा बढी दुःख भोग्छन्, यो साँचो हो, तर यो पनि साँचो हो कि सबै विश्वासीहरू ख्रीष्टका दुःखहरूको सहभागी हुन्छन् (२ कोरिन्थी १:५; यूहन्ना १५:१८-२१; १६:३३ इत्यादि)। हरेक विश्वासी ख्रीष्टसँगै साझा हकवाला हुन्छ, उहाँको महिमाको सहभागी बन्छ। सबै विश्वासीहरू ख्रीष्टसँगै उहाँको राज्यमा राज्य गर्नेछ (मत्ती १३:४०-४३)।

रोमी ८:१८ -- अनन्तताको दाँजोमा वर्तमानका दुःखकष्टहरू

पावल यहाँ वर्तमान दुःखकष्टको चर्चा गर्दैछन् जसको अनुभव विश्वासीहरूले आफ्नो दिनदिनको हिँडाइमा गर्दछन् र उनले यसलाई विश्वासीहरूले भविष्यमा अनुभव गर्ने महिमासित तुलना गर्दछन् जब हामी प्रभुसित हुनेछौं। "म ठान्छु" -- यो गणितीय शब्दावलीको माने हो "म हिसाब गर्छु, यस तथ्य साँचो भएको मानिलिन्छु, यो सत्य तथ्य हो भनी म जान्दछु!" हामीले यस तथ्यलाई विश्वास गरेको परमेश्वर चाहनुहुन्छ र त्यसमा भरोसा गरेको चाहनुहुन्छ, त्यो साँचो हो भनेर पक्का भएको चाहनुहुन्छ। यस "अहिले" को समयका दुःखकष्टहरू पछि हामीलाई प्रकट गरिने महिमाको योग्य छैनन्। "योग्य" एउटा वजन सम्बन्धी शब्दावली हो र तराजु बराबर हुनु भन्ने यसको तात्पर्य हो। कुनै कुरा जब अर्को कुराको "योग्य" हुन्छ यसको माने ती बराबर वजनका छन्। यहाँ हामीलाई बताइएको छ कि दुःखकष्टहरू महिमासँग तुलना गरिने योग्यका छैनन्, अर्थात्, यहाँ ज्यादै असन्तुलित कुरा छ। महिमा चाहिँ दुःखकष्टहरू भन्दा बेसरी नै वजनदार छन्। यसलाई यसरी व्यक्त गर्न सकिन्छ: तराजुको एकातिर धुलोको एउटा नगण्य कण छ जुन चाहिँ वर्तमान समयका दुःखकष्टहरू जस्तै छ। तराजुको अर्कोतिर भने दस टन बराबरको सुनको ठूलो ढक छ जुन चाहिँ भविष्यको महिमाजस्तै छ। तुलना गर्ने कुरै भएन यहाँ! २ कोरिन्थी ४:१७ मा यही सत्यता प्रस्तुत गरिएको छ। वर्तमान दुःखकष्टहरू र क्लेशहरू ज्यादै "हलुको" छन् र "अस्थायी" छन्। महिमा भने एकदमै "वजनदार" र "अनन्त" छ। अवश्य पनि, जब हामी आफैं दुःखकष्ट र परीक्षाहरू भएर गइरहेका हुन्छौं ती हामीलाई एकदमै भारी लाग्ने गर्छन् र ज्यादै लामो समय जस्तै लाग्छ (मानौ ती कहिल्यै टुङ्गिदैनन्)। तर यो त हाम्रो एकदमै सीमित दृष्टिकोणबाट मात्र यस्तो देखिएको हो।अनन्तताको दृष्टिकोणबाट हेरिँदा यस जीवनमा हामीले सहेका परीक्षा र दुःखकष्टहरू ज्यादै हलुका छन्।

दुःखकष्टहरू कस्ता कुरा हुन् के पावल जान्दथे त? रोमी ८:१८ र २ कोरिन्थी ४:१७ मा पावल भन्दैछन् कि उनको भविष्यको महिमाको तुलनामा उनका वर्तमान दुःखकष्टहरू ज्यादै हलुका छन्। तब हामी छक्कै पर्छौं जब हामी पावलले वास्तवमै भोगेका दुःखहरूको बारेमा पढ्छौं २ कोरिन्थी ११:२३-२८ मा (प्रेरित ९:१६ सित तुलना गर्नुहोस्)। भन्नुपर्दा, हामीमध्ये धेरजसोले त यसरी भन्नुपर्ने हुन्छ: "मेरा दुःखकष्टहरू प्रेरित पावलका दुःखकष्टहरूसित तुलना गरिने योग्यका छैनन्!" तर पावल जान्दथे कि उनका दुःखकष्टहरू समेत भविष्यको महिमासित तुलान गरिने योग्यका छैनन् जुन चाहिँ उनी ख्रीष्टका साझा हकवाला भएकाले उनले पाउनेवाला थिए।

रोमी ८:१९

यस पद लगायत यसपछिका पदहरूले परमेश्वरको सृष्टिको कुरा गर्दैछन्, जीव (पशु, बनस्पति) र निर्जीव (चट्टान, पहाड, आदि)। यसलाई जनाउन हामीले "प्रकृति" भन्ने शब्द प्रयोग गर्न सक्छौं। प्रकृतिलाई यहाँ रोचक ढङ्गले व्यक्तिकरण गरिएको छ। प्रकृति अथवा सृष्टिले एउटा कुराको तीब्र प्रतीक्षा गरिरहेछ, त्यसको बाटो एकदम हेरिरहेकोछ। पशु र चराचुरुङ्गीहरू, पहाड-पहराहरू, खोला-नदीनालाहरू -- ती सबैले भन्दैछन्, "यो कहिले होला भनेर मलाई पर्खनै गाह्रो भइसक्यो!" परमेश्वरको सृष्टि एउटा भयङ्कर श्राप र पापको बन्धनमनि छ। हामी एक पापले श्रापित भद्रगोल संसारमा बाँचिरहेका छौं भन्ने कुराको प्रमाण जताततै छ (पशुले पशुलाई मार्छ, जनावरले जनावरलाई खान्छ, डरलाग्दा हुरी र आँधीहरू, बाढी र तुफानहरू, डुबानहरू इत्यादि)। सधैं यस्तै हुने त गर्दैनथ्यो। मानिसको पतन अघि परमेश्वरको सृष्टि शान्तपूर्ण तालमेलमा रहेको थियो (उत्पत्ति १-२)। भविष्यमा यो तालमेल फेरि पुनस्थापित हुनेछ (यशैया ११:६-९ पढ्नुहोस्)। सृष्टि श्रापबाट मुक्त गराइनेछ र यो चाहिँ "परमेश्वरका पुत्रहरूको प्रकट हुवाइलाई" को समयमा हुनेछ। जब उहाँको दोस्रो आगमनमा प्रभु येशू ख्रीष्ट प्रकट हुनुहुनेछ (२ थेस्सलोनिकी १:७) त्यतिबेला "परमेश्वरका पुत्रहरू" उहाँसँगै प्रकट हुनेछन् (प्रकाश १९:१४ लाई १९:७-८ सित तुलना गर्नुहोस्)।

रोमी ८:२०

"व्यर्थता" = रित्तोपना, निराशा। मानिस पापमा पतन भएपछि र परमेश्वरले पृथ्वीलाई श्राप दिनुभएपछि सृष्टि (प्रकृति) व्यर्थताको अधीनमा फस्यो। सारा विश्व-सृष्टिलाई नै आदमको पापको असरले धक्का दियो।

"आफ्नै इच्छाले होइन" = प्रकृति जगत आफ्नै इच्छाले यस श्रापमनि रहन रोजेको त होइन। पशुपक्षीहरू मिलेर कुनै सम्मेलन गरी ईश्वरीय श्रापमन आफूलाई राख्न स्वेच्छापूर्वक निर्णय गरेका होइनन्। रोजेका त आदमले हुन् र श्राप ल्याउनुहुने परमेश्वर हुनुहुन्थ्यो। "उहाँको" भन्नाले परमेश्वरको भन्ने बुझिन्छ जसले श्रापको उच्चारण गर्नुभयो र पृथ्वीलाई त्यसको अधीनतामा राख्नुभयो। यसले आदमलाई जनाउँदैन। सारा प्रकृति यो व्यर्थताको स्थितिमा ल्याइएको भए तापनि त्यहाँ आशा छ! भविष्यले एउटा आशाको प्रतिज्ञा ल्याउँछ। श्राप सधैंभरि रहनेछैन।

रोमी ८:२१

आशाको प्रतिज्ञा यो छ! प्रकृतिले छुटकारा पाउनेछ र त्यो स्वतन्त्र पारिनेछ। बन्धन = दासत्व। आज प्रकृति भ्रष्टताको स्थितिमा बाँधिएको छ -- त्यो सड्ने, गल्ने, रोग लाग्ने, मर्ने र नाश हुने गर्छ (विज्ञानमा थर्मोडाइनामिक्सको दोस्रो नियम भनिने तथ्यसित तुलना गर्नुहोस् जसअनुसार विज्ञानले सबै ठाउँमा यही कुराको अवलोकन गरेको छ तर केवल बाइबलले मात्र यसको कारण बताउन सक्दछ)। यो रोचक कुरा छ कि मान्छेमा भएको अवस्था र स्थिति प्रकृतिमा प्रतिबिम्बित हुँदो रहेछ। जब मानिस श्रापनि हुन्छ त्यसबेला प्रकृतिले पनि त्यो प्रतिबिम्बित गर्दछ। जब उद्धार पाएकाहरूले पूर्ण रूपमा छुटकारा पाउँछन् त्यतिबेला प्रकृतिले यो प्रतिबिम्बित गर्नेछ।

रोमी ८:२२

"सारा सृष्टि" = जम्मै प्रकृति। "ऐया आत्था गर्नु" = पीडा र दुःख जनाउने गहिरो सुस्केरा हाल्नु। यहाँ पनि प्रकृतिलाई व्यक्तिकरण गरिएको छ। यहाँ त्यसलाई एउटी आमासित तुलना गरिएको छ जसलाई बच्चा जन्माउँदाको पीडा भइरहेकोछ। प्रसुति वेदनामा रहेको आमालाई आशा हुन्छ। उसलाई थाह छ एउटा जन्म हुनेछ र पीडा सधैंको लागि हुनेछैन। दुःख र पीडापछि एउटा नयाँ अस्तित्वको रमाहट आउँदछ। त्यसैगरि प्रकृति जगतलाई पनि छुटकाराको प्रतिज्ञा छ र एउटा नयाँ अस्तित्व ख्रीष्टको हजार वर्षीय राज्यमा पूरा हुनेछ र अझ अन्तम नयाँ आकाश र नयाँ पृथ्वीको कालखण्मा त्यो पूरा हुनेछ।

रोमी ८:२३

ऐया आत्था गरिरहेको त परमेश्वरको सृष्टि (प्रकृति) ले मात्र होइन। विश्वासीहरू पनि सुस्केरा हाल्दैछन्। हामी पनि एउटा भविष्यको घटनाको बाटो हेर्दैछौं। यस घटनालाई "धर्मपुत्र-ग्रहण" भनिएको छ र योचाहिँ भविष्यको धर्मपुत्र-ग्रहण हो जब हाम्रो पुत्रत्वलाई पूर्ण रूपमा हामीले अनुभव गर्नेछौं। यो "धर्मपुत्र-ग्रहण" लाई यहाँ "शरीरको छुटकारा" भनेर बयान गरिएको छ। यो चाहिँ अन्तिम र भविष्यमा हुने छुटकारा हो जुनचाहिँ त्यसबेला पूरा हुनेछ जब ख्रीष्ट आफ्नो मण्डलीलाई लिनलाई आउनुहुनेछ। छुटकाराको वर्तमान पक्ष पनि छ जुनचाहिँ एफेसी १:७; कलस्सी १:१४; १ कोरिन्थी १:३०; १ पत्रुस १:१८-१९ जस्ता पदहरूमा उल्लेख भएका छन्, तर छुटकाराको भविष्य पक्ष पनि छ (जब हाम्रो मुक्ति पूरा हुनेछ) जसरी एफेसी १:१४ र ४:३० मा र यहाँ रोमी ८:२३ मा पनि प्रस्तुत गरिएको छ। त्यसैगरी धर्मपुत्र-ग्रहणको पनि एउटा पक्ष छ जुनचाहिँ वर्तमानमै विश्वासीहरूको सवालमा साँचो छ (रोमी ८:१५) र धर्मपुत्र-ग्रहणको भविष्य पक्ष पनि छ जुनचाहिँ भविष्यमा पूरा हुनलाई पर्खिरहेको छ (रोमी ८:२३)।"पहिलोफल" चाहिँ हाम्रो मुक्ति पूरा हुने नै छ भन्ने कुराको बैना वा ग्यारेन्टी हो र यहाँ "पहिलोफल" ले अरू कसैलाई होइन तर विश्वासीको जीवनमा परमेश्वरका पवित्र आत्माको व्यक्तित्व र उहाँको उपस्थितिलाई जनाउँदछ। पहिलोफलको माने के हो? आफ्नो करेसा बारीबाट सुरुमा एकदुईटा गोलभेडा जब टिप्नुहुन्छ त्यो यसको सङ्केत हो कि पछि अरू थुप्रै गोलभेडा पनि आउँदैछन्। बगैंचाबाट थुप्रै अरू आशिषहरू पनि पाइनेछ। ख्रीष्टमाथि विश्वास गर्नेबित्तिकै एक व्यक्तिले पवित्र आत्मा पाउँदछ जो स्वयं आफै यस कुराको बैना हुनुहुन्छ (ग्यारेन्टी, जमानी -- एफेसी १:१३-१४) कि पछि त्यहाँ अझ धेरै-धेरै कुराहरू आउनेवाला छन् (एउटा नयाँ शरीर, एउटा अनन्तको हकको सम्पत्ति, स्वर्गमा घर, भविष्यको महिमाकरण - पद १८ इत्यादि)।

रोमी ८:२४-२५

"किनकि हामी आशामा बचाइएका छौं" (विलियम केलीको अनुवाद) -- जब हामी बचाइयौं हामी त्यस शब्दको अन्तिम र पूरा अर्थमा बचाइएका होइनौं। हामी अझै पनि यी छुटकारा नपाएका शरीरहरूमा नै छौं, हामी अझै पनि पाप र परीक्षासित सङ्घर्ष गर्छौं र हामी ऐया आत्था गर्छौं र त्यस दिनको एकदम बाटो हेर्दछौं जुन दिन हामी पापकै उपस्थितिदेखि पनि छुटाइनेछौं। बचाइएको व्यक्तिलाई उसको मुक्ति एक दिन पूरा हुने नै छ भन्ने कुराको निर्धक्क प्रतीक्षा (आशा) हुन्छ (फिलिप्पी १:६ पढ्नुहोस् -- जुन काम सुरु गर्नुभएको छ परमेश्वरले त्यसलाई पूरा गर्नुहुनेछ)। किसानले जब पहिलो टिप्छ यसको मतलब उसले सबै उब्जनीको कटनी गरिसक्यो भन्ने होइन। होइन, उसले त सुरु मात्र गरेको छ, तर उसको यो आशा छ त यो प्रतिज्ञा छ कि एक दिन पूरै बाली भित्रिनेछ। तर उसले त्यसको निम्ति पर्खनुपर्छ!

आशा भन्ने शब्दले त्यसको नयाँ नियमको प्रायः प्रयोगमा कुनै अनिश्चयता वा शङ्काको अर्थ बोकेको छैन (जसरी नेपाली भाषामा त्यसको समान्य प्रयोगमा हुन्छ)। बरु यसले निश्चित प्रतीक्षालाई जनाउँछ र त्यसलाई यसरी अनुवाद गर्न सकिन्छ। आशा भनेको भविष्यको त्यस्तो कुनै कुरा हो जसलाई प्राप्त गर्न बाँकी नै छ वा जो पूरा भइसकेको छैन, तर त्यो परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा भएकोले त्यो बिलकुलै निश्चित कुरा हो। प्रभुको आगमनको आशा यसको एउटा उदाहरण हो (तुलना गर्नुहोस् तीतस २:१३ -- "धन्यको आशा" अथवा खुशीको प्रतीक्षा)। यसको सवालमा अनिश्चित कुरा एउटै मात्र छ, त्यो हो समय (कहिले भनेर हामी जान्दैनौं) तर यसको वास्तविकता भने पक्का छ किनकि हामीसँग प्रभुकै प्रतिज्ञा छ (यूहन्ना १४:३ आदि)। यो भविष्यको आशा हो जो पूरा भइसकेको छैन र हामी उत्सुकतासित उहाँ आउनुभएको होस् भनेर उहाँको बाटो हेर्दैछौं र प्रतीक्षामा छौं। परमेश्वरको प्रतिज्ञा पूरा हुनेछ भन्ने कुरा पक्का भएको हुनाले हामी धैर्यतापूर्वक त्यसको पूरा हुवाइको निम्ति पर्खन सक्छौं। जसरी सुत्केरी हुन लागेकी आमा धैर्यतापूर्वक प्रसुती वेदनाका पीडा र दुःखहरूलाई सहन सक्छिन्त त्यसै गरी विश्वासी पनि जीवनका कठिन परीक्षाहरूमा धैर्यतापूर्वक खडा रहन सक्छ यो जानेर कि हाम्रो भविष्य परमेश्वरका प्रतिज्ञाहरू बराबर नै उज्याला छन् (१ थेस्सलोनिकी १:३ सित तुलना गर्नुहोस् -- "आशाको धीरज")।

रोमी ८:१९-२५ को सार र तालिका

सृष्टि (सारा प्रकृति) परमेश्वरका पुत्रहरूको प्रकट हुवाइलाई पर्खिरहेको छ (पद १९)। परमेश्वरका पुत्रहरू शरीरको छुटकारालाई उत्सुकताका साथ पर्खिरहेका छन् (पद २३)। यी दुवै घटनाहरू ख्रीष्टको दोस्रो आगमनसित जोडिएका छन्। ख्रीष्टको दोस्रो आगमनलाई यदि एउटै सिङ्गो घटनाको रूपमा हेरिने हो भने यी दुवै पक्षलाई सँगसँगै राखेर हेर्न सकिन्छ। निम्न भिन्नताहरू उल्लेख गर्न सकिन्छ:

नोट: र्याप्चर एउटा प्रकाश हो (१ कोरिन्थी १:७; १ पत्रुस १:७; १:१३; ४:१३) तर यो चाहिँ पुत्रहरू (विश्वासीहरू) संसारका सामु प्रकट गरिने भन्ने होइन तर बरु ख्रीष्ट उहाँको सम्पूर्ण महिमामा पुत्रहरूकहाँ प्रकट गरिनुहुने भन्ने हो।

रोमी ८:२६-२७

यस अध्यायका तीनटा सुस्केरापूर्ण व्यथाहरूलाई ख्याल गर्नुहोस्:

पद २२ -- सारा सृष्टिको व्यथा
पद २३ -- सबै विश्वासीहरूको व्यथा
पद २६ -- पवित्र आत्मा परमेश्वरको व्यवथा

"कमजोरीहरू" = दुर्बलताहरू, शक्तिहीन हुनु (हाम्रो क्षणभङ्गुरता र शिथिलतालाई जनाउने शब्द)। बलियो विश्वासी त्यो हो जसले आफू साँच्ची नै कति कमजोर छु भनेर बुझ्दछ (२ कोरिन्थी १२:१०)। प्रार्थनामा समेत (जब हामी परमेश्वर पिताकहाँ पूर्ण भरोसामा आएका हुन्छौं) हामीले आफ्नो कमजोरीपन जान्नु खाँचो छ (हामीले कसरी प्रार्थना गर्नुपर्ने हो र के प्रार्थना गर्नुपर्ने हो सो जान्दैनौं)। तर हाम्रो कमजोरीको बीचमा हामीसित एक ठूलो सहायत हुनुहुन्छ, पवित्र आत्मा परमेश्वर स्वयं ("शान्तिदाता" शब्दसित तुलना गर्नुहोस् जसको अर्थ छेउमा आउन बोलाइएको व्यक्ति भन्ने बुझिन्छ अर्थात् एक सहायक)। प्रार्थनामा पवित्र आत्मा हाम्रा सहायक हुनुहुन्छ। "येशू कस्तो प्यारो मित्र!" पवित्र आत्मा कस्तो प्यारो मित्र!

पवित्र आत्मा परमेश्वरले हाम्रा कमजोर, कच्चा र त्रुटीपूर्ण प्रार्थनाहरू लिनुहुन्छ र परमेश्वरकहाँ ग्रहणयोग्य हुने गरीकन र उहाँको इच्छाअनुरुप हुने गरीकन तिनलाई काँटछाँट र रुपान्तर गरीकन परमेश्वर पिताकहाँ ल्याउनुहुन्छ। पवित्र आत्मा परमेश्वर र पिता परमेश्वरका बीच एउटा उदेकको सञ्चार हुने गर्दछ जसको बारेमा यहाँ हामीलाई बताइएको छ तर जुनचाहिँ हामी थोरै मात्र बुझ्दछौं (तरैपनि हामी यसको लागि एकदम धन्यवादी हुनुपर्दछ)। हामी जान्दैनौं कसरी प्रार्थना गर्नुपर्छ भनेर…त्यसैले उहाँले हाम्रो लागि प्रार्थना गर्नुहुन्छ! उहाँ जान्नुहुन्छ कसरी प्रार्थना गर्नुपर्छ!

पवित्र आत्माको अन्तर्विन्तीलाई परमेश्वको यस्तो काहो जसलाई थोरै स्थान दिइएको छ र थोरै मान दिइएको छ। यसमा ध्यान दिनुहोस् कि यसै अध्यायमा परमेश्वरको पुत्रको अन्तर्विन्तीलाई उल्लेख गरिएको छ (पद ३४)। आत्माले पवित्र जनहरूका निम्ति अन्तर्विन्ती गर्नुहुन्छ (पद २७) र ख्रीष्टले पनि सो गर्नुहुन्छ (पद ३४)। दुवैले हाम्रा निम्ति प्रार्थना गर्नुहुन्छ र विन्ती गर्नुहुन्छ, तर फरक-फरक तरिकामा। दुवैले परमेश्वर पितासित हाम्रा निम्ति विन्ती गर्नुहुन्छ! दुवै सेवकाइहरू अपरिहार्य छन्।


पृष्ठ संशोधन मिति: Friday 27-Mar-15
WordofTruth.com.np © 2017