रोमी ८:१-१३

यस पृष्ठलाई छाप्नुहोस्

रोमी अध्याय ८

रोमी ८:१

रोमीको आठौं अध्याय "ख्रीष्ट येशूमा" हुने व्यक्तिका लागि बाइबलकै सबैभन्दा हौसलापूर्ण, उत्साहजनक र रोमहर्षक अध्यायहरूमध्ये एक हो (अध्यायको पहिलो पदलाई अन्तिम पदसित तुलना गर्नुहोस्)। यो अध्याय "कुनै दण्डको आज्ञा छैन" बाट सुरु हुन्छ (पद १) र "कुनै कुराले अलग पार्नेछैन" (पद ३९) मा अन्त हुन्छ, अर्थात् न्यामा पर्नेछैन र अलग गरिनेछैन। यस अध्यायको पहिलो खण्डको चाबी शब्द "आत्मा" हो (जुनचाहिँ अध्याय ८ मा २० पटक उल्लेख छ जब कि उक्त शब्द १ देखि ७ अध्यायहरूभरि केवल ४ पल्ट मात्र पाइन्छ!)

ख्रीष्ट येशूमा हुने व्यक्ति सदा सुरक्षित र सुनिश्चित हुन्छ (पद १)। अनन्त सुरक्षाको शिक्षालाई खुलस्त गरी प्रस्तुत गर्ने बाइबलकै चाबी अध्यायहरूमध्ये रोमीको आठौं अध्याय एक हो।

"दण्डको आज्ञा (न्याय) "छैन" (पद १)। एक छेउसमेत छैन! तुलना गर्नुहोस् यूहन्ना ३:१८; ५:२४ र १ कोरिन्थी ११:३२। "दण्डको आज्ञा" को अक्षरशः माने "(कसैमाथि) न्याय खस्नु"। परमेश्वरको न्याय ममाथि खस्नेछैन! किन खस्नेछैन? हेर्नुहोस् रोमी ७:२४; ८:२ -- मैले मृत्यु र पापको व्यवस्थाबाट छुटकारा पाइसकेको छु। यदि म अझै पाप र मृत्युको व्यवस्थाको अधीनमा भएको भए म परमेश्वरको दण्डको आज्ञामनि पर्थें (पापले न्याय, मृत्यु र दण्डको आज्ञाको माग गर्छ!)। तर, परमेश्वरको प्रशंसा होस्, कलवरीले यसको पूरै समाधान गरिसक्यो! परमेश्वरले आफ्नो पुत्रलाई दण्डको आज्ञा दिनुभयो (रोमी ८:३) ताकि म कहिल्यै दण्डको आज्ञामनि नपरूँ (रोमी ८:१)! परमेश्वरको न्याय उहाँको एकमात्र जन्माइएको पुत्रमाथि खस्न गयो ताकि उहाँको न्याय ममाथि नखसोस्! म दण्डको आज्ञामनि छैन; बरु म धर्मी ठहराइएको छु! रोमी ५ अध्यायको अन्तिम भागको शिक्षालाई ध्यानमा राख्नुहोस्। आदममा म दण्डको आज्ञामनि छु, र ख्रीष्टमा म धर्मी ठहरिएको छु!

साँचो विश्वासी दण्डको आज्ञामनि अथवा न्यायमा पर्नेछैन (यूहन्ना ५:२४)। उसको निम्ति त्यहाँ "कुनै दण्डको आज्ञा छैन" (रोमी ८:१)। उसका सबै पापहरू क्रूसमा समाधान गरिए। पापको निम्ति विश्वासीको पापको न्याय लगभग २००० वर्ष अगाडि पूरा भयो जब ख्रीष्ट न्यायमा पर्नुभयो र दण्डको आज्ञा सहनुभयो! उहाँले हाम्रा पापहरूका निम्ति सजायँ भोग्नुभयो र मेरा पापहरूका निम्ति दण्डित हुनुभयो। परमेश्वरको क्रोध उहाँमाथि खन्याइयो। "ऊ ता हाम्रै अपराधहरूका निम्ति घायल भएको थियो; उसलाई हाम्रै अधर्महरूका निम्ति चोटैचोट परेको थियो…परमप्रभुले हामी सबैको अधर्म उसैमाथि राखिदिनुभएको छ" (यशेया ५३:५,६)।

अनि जब हामी विश्वासले ख्रीष्टकहाँ आउँछौं हामी धर्मी ठहरिन्छौं र सारा विश्वका न्यायकर्ताद्वारा "दोषी छैन" भनेर घोषणा गरिन्छौं! "परमेश्वरका चुनिएकाहरूको विरोधमा कसले दोष लाउला? के धर्मी ठहराउनुहुने परमेश्वरले? के मर्नुहुने ख्रीष्टले जो झन् बौराइनु पनि भएको छ, जो परमेश्वरको दाहिने हातपट्टि पनि हुनुहुन्छ, जसले हाम्रा निम्ति अन्तर्विन्ती पनि गर्नुहुन्छ" (रोमी ८:३३-३४)। परमेश्वरले यदि हामीलाई कहिल्यै दण्डको आज्ञा दिनुहुनेछैन भने र परमेश्वरले यदि हामीलाई कहिल्यै दोष लाउनुहुनेछैन भने हामीले फिक्री गर्नुपर्दैन!

हामी "ख्रीष्ट येशूमा" छौं, जो हाम्रो जीवन हुनुहुन्छ। हामी बौराइएनुभएको र महिमित ख्रीष्टसँग यतिसम्म एक भएका छौं कि जस्तो उहाँ हुनुहुन्छ त्यस्तै हामी छौं। दण्डको आज्ञा हामीमाथि कहिल्यै खस्न सक्नेथिएन किनभने हामी उहाँसँग सम्मिलित छौं र उहाँसँगै गाँसिएका छौं। अर्को शब्दमा, हामी ख्रीष्टसँग यति सम्मिलित छौं कि परमेश्वरले यदि हामीलाई दण्डको आज्ञा दिनुहुनेथियो भने उहाँले आफ्नो पुत्रलाई पनि दण्डको आज्ञा दिनुपर्नेहुन्थ्यो। असम्भव! "न्यायको दिनमा हामीलाई साहस होस् भनेर यसैमा हाम्रो प्रेम सिद्ध पारिएको छ; किनभने जस्तो उहाँ हुनुहुन्छ, त्यस्तै हामी पनि यस संसारमा छौं" (१ यूहन्ना ४:१७)।

विश्वासी जन न्यामा पर्नेछैन भनेर एकातिर हामीलाई बताइएको छ भने (यूहन्ना ५:२४ र रोमी ८:१) अर्कोतिर यो पनि बताइएको छ कि प्रत्येक विश्वासी जन ख्रीष्टको न्यायआसनका सामु उभिनेछ (रोमी १४:१०)। यी दुई आपसमा जुधेजस्तै देखिने तथ्यहरू कसरी बुझ्ने? १) विश्वासी उसका पापहरूको निम्ति दोषी ठहराइन र दण्डमा पर्न न्यायकर्तारूपी परमेश्वरका कहिल्यै उहाँको सामु उभिनुपर्नेछैन। यो दण्डको आज्ञा र सजायँ उसको प्रतिस्थापक ख्रीष्टमाथि पहिल्यै खसिसकेको छ (रोमी ८:३ र माथिल्लो दफालाई हेर्नुहोस्)। स्मरण होस्, विश्वासी यदि एउटै पापको लागि मात्र पनि दोषी ठहरिनेथियो भने त्यो उसलाई अनन्तसम्म नरकको आज्ञामा दण्डमा पुर्याउनलाई पर्याप्त हुनेथियो। २) विश्वासी जन उसले आफ्नो ख्रीष्टिय जीवन कति विश्वासयोग्यसाथ बिताएको थियो भन्ने कुराको लेखा बुझाउन ख्रीष्टको न्याय आसन वा 'बेमा' को सामु उभिनेछन्। सवाल त्यसबेला दण्ड पाउने कि नपाउने भन्ने हुँदैन तर सवालचाहिँ इनाम पाउने कि गुमाउने भन्ने हुनेछ (१ कोरिन्थी ३:१२-१५)। इनाम गुमाउनु भनेको मुक्ति गुमाउनु होइन। सबैभन्दा अविश्वासयोग्य ख्रीष्टियन समेत ख्रीष्टको न्यायआसनको सामु "बचाइनेछ" र दण्डको आज्ञामा पर्नेछैन (१ कोरिन्थी ३:१५)।

"कुनै दण्डको आज्ञा छैन" -- यस्तो उदेकको भनाइलाई कसले दाबी गर्न सक्छ र त्यसमा रमाउन पाउँछ? केवल तिनीहरू जो "ख्रीष्ट येशूमा" छन् (पद १)। त्यो भन्दा सुरक्षित ठाउँ अर्को छैन! नूहका दिनहरूमा एउटै मात्र सुरक्षाको ठाउँ थियो -- जहाजभित्र! जहाजभित्र नभएका सबैमाथि परमेश्वरको इन्साफ आइपर्यो। आज येशू ख्रीष्ट नै हाम्रो सुरक्षाको जहाज हुनुहुन्छ! जोजो उहाँमा अवस्थित छन् तिनीहरू सुरक्षित छन् र सुनिश्चित छन् र परमेश्वरको न्यायमा पर्ने खतरामा छैनन्।

"ख्रीष्ट येशूमा" -- रोमीको आठौं अध्यायमा पावलले बताउन लागेका सबै असल कुराहरू ख्रीष्ट येशूमा हुनेहरूको लागि मात्र हो। हरेक साँचो विश्वासी "ख्रीष्ट येशूमा" छ (गलाती ३:२६-२८ मा हेर्नुहोस् -- "ख्रीष्टभित्र बप्तिस्मा लिएका (भएका)", विश्वासद्वारा!)। "ख्रीष्ट येशूमा" भन्ने यो वाक्यांश यो भन्दा अगाडि भेटिने चाहिँ रोमी ६:२३ मा हो। ख्रीष्टमा हामीसँग अनन्त जीवन (रोमी ६:२३)। ख्रीष्टमा हामीलाई कुनै दण्डको आज्ञा छैन (रोमी ८:१)! ख्रीष्टमा हामी साँच्ची नै आशिषित छौं (एफेसी १:३)!

रोमी ८:२

यसलाई रोमी ७:२४ सित तुलना गर्नुहोस्। प्रश्न थियो, "कसले मलाई छुटकारा देला?" रोमी ८:२ मा दिइएको जवाफ छ -- "ख्रीष्टले मलाई छुटकारा दिइसक्नुभयो!" रोमी ७ को पछिल्लो खण्डचाहिँ एक विश्वासीको सङ्घर्षरत, पराजित अवस्थाको बयान थियो। आठौं अध्यायमा पावलले विश्वासीलाई ख्रीष्ट येशूमा भएको उसको सिद्ध, अचूक ओहोदामाथि ध्यानकेन्द्रित गराउँछन्! जति हामी हाम्रो ओहोदा सम्बन्धी परमेश्वरका तथ्यहरूमाथि विश्वास गर्छौं त्यति नै त्यसले हाम्रो वास्तविक अवस्थालाई प्रभाव पार्नेछ र परिवर्तन गर्नेछ!

रोमी ८:२ ले दुईटा व्यवस्थालाई उल्लेख गरेको छ। उदाहरण: भू-आकर्षणको व्यवस्था र हवाइउड्डयनको व्यवस्था। भू-आकर्षणको व्यवस्थाले भन्दछ कि धातुले बनेको ठूलो र गह्रौं वस्तु आकाशबाट पृथ्वीमा खस्नैपर्छ र ध्वस्त हुनैपर्छ (हवाइजहाज खस्नुपर्छ!)। तर हवाइ-उड्डयनको व्यवस्था अझ उच्च व्यवस्था हो र यसले भू-आकर्षणको व्यवस्थालाई माथ गर्दछ र धातुको गह्रौं हवाइजहाजलाई राम्ररी उड्न र नखस्नलाई सम्भव तुल्याउँछ। पाप र मृत्युको व्यवस्थाले म पराजित हुन्छु र लड्छु र खस्छु (रोमी ७:२३-२५) तर ख्रीष्ट येशूमा जीवनको आत्माको व्यवस्थाले म परमेश्वरलाई खुशी पार्ने जीवन जिउन सक्दछु (रोमी ८:२)।

रोमी ८:३

त्यहाँ त्यस्ता केही कुराहरू छन् जुनचाहिँ व्यवस्थाले गर्न सक्दैन। व्यवस्था धर्मी छ तर यसले धर्मी ठहराउन सक्दैन (रोमी ७:१२; ३:२०)। व्यवस्था पवित्र छ तर यसले पवित्र बनाउन सक्दैन (रोमी ७:१२)। व्यवस्थाले मलाई म पापी छु भनेर बताउन सक्छ तर मलाई पवित्र जन बनाउन सक्दैन! (ऐनाले मेरो फोहोर देखाउन सक्छ तर मलाई सफा पार्न सक्दैन)। जुन कुरा व्यवस्थाले गर्न सकेन परमेश्वरले गर्नुभयो! जुन काम व्यवस्थाले गर्न सकेन मुक्तिदाता ख्रीष्टले गर्नुभयो!

व्यवस्था किन कमजोर थियो? समस्या व्यवस्थापट्टि थिएन तर मपट्टि पो थियो। त्यो "शरीरद्वारा कमजोर" थियो (रोमी ७:१४ सित तुलना गर्नुहोस्)। वास्तवमा व्यवस्था एकदम सामर्थ्ववान् छ। यदि कसैले त्यसका सबै आज्ञाहरू सधैंभरि पालन गर्दछ भने व्यवस्थाले जीवन दिन सक्छ (लूका १०:२५-२८; मत्ती १९:१६-१७), तर हामीमध्ये कसैले यो गरेका छैनौं नता सक्छौं नै त्यसैले व्यवस्थाले जीवन दिन सक्दैन। त्यसले आशिष ल्याउन सक्दैन, श्राप मात्र ल्याउन सक्छ (गलाती ३:१०-११)। तर कमजरी हाम्रो हो, व्यवस्थाको होइन। उदाहरण: एउटा बलियो लङ्गरलाई विचार गर्नुहोस्। के त्यो लङ्गरले पक्रन सक्छ? सक्छ! तर तपाईंले लङ्गरलाई हिलो माटोभित्र झार्नुभयो भने के त्यसले पक्रनेछ त? "जुन कुरा लङ्गरले गिलोद्वारा कमजोर भएको हुनाले गर्न सकेन।" समस्या परमेश्वरको पवित्र व्यवस्थाको होइन तर हाम्रो पापपूर्ण शरीरको हो!

रोमी ८:३ मा सुसमाचारलाई प्रस्तुत गरिएको कुरालाई ध्यान दिनुहोस्। यस पदले बताउँदैछ कि परमेश्वरले आफ्नो आफ्नै पापरहित पुत्रलाई पठाउनुभयो हाम्रो स्थानमा दण्डको आज्ञा पाउनलाई र हाम्रा पापहरूका निम्ति मर्नलाई। उहाँले किन त्यसो गर्नुभयो? ताकि हामी धार्मिकताका निम्ति जिऔं (पद ४ लाई १ पत्रुस २:२४ सित तुलना गर्नुहोस)।

पावलले यी कुराहरू कति होशियारपूर्वक बताएका छन् भन्ने कुरालाई ध्यान दिनुहोस्। उनले अलिकति मात्र पनि फरक तरिकाले लेखेका भए त्यो झूटो शिक्षा हुनेथ्यो (ख्रीष्टको व्यक्तित्वका बारेमा गलत शिक्षा)। उनले "शरीरको समानतामा" भनेनन् किनभने त्यसो त ख्रीष्ट साँच्ची नै मानिस बन्नुभएन भनेको अर्थ लाग्थ्यो। ख्रीष्ट साँच्ची नै शरीरमा आउनुभयो र साँच्चीकै मानिस हुनुहुन्थ्यो (१ यूहन्ना ४:२-३)। पावलले "पापमय शरीरमा" भनेनन् किनभने त्यसो त ख्रीष्ट पापी हुनुभएको अर्थ लाग्ने थियो! पावलले के भन्दैछन् त? उनले यो बताउँदैछन् कि ख्रीष्ट साँच्चीकै एक मानिस हुनुहुन्थ्यो तर एक पापी मानिस हुनुहुन्नथ्यो!

"पापको निम्ति" -- पापको निम्ति एक बलिदानको रूपमा! जसरी भजनमा गाउँछौं, "लिए मेरो दण्डस्थान!" २ कोरिन्थी ५:२१ सित तुलना गर्नहोस्। दण्डको आज्ञा भन्नाले परमेश्वरको न्याय एक व्यक्तिमाथि खस्नु हो। पापको निम्ति परमेश्वरको न्याय मेरा पापरहित प्रतिस्थापकमाथि खस्यो जब उहाँ क्रूसमा मर्नुभयो ताकि त्यो ममाथि नखसोस् (रोमी ८:१)। परमेश्वरको इन्साफरूपी आगोले क्रूस र त्यस वरिपरिको ठाउँलाई जलाइदियो ताकि जब म क्रूसको फेदमा विश्वासैद्वारा खडा हुन्छु परमेश्वरको इन्साफले मलाई जलाउनेछैन (जसरी आगोले एउटै ठाउँलाई दुईपटक जलाउँदैन)।

रोमी ८:४

"धार्मिकता" को माने "धर्मी मागहरू"। व्यवस्थाका केही निश्चित धर्ममय मागहरू छन्। व्यवस्थाले यो माग गर्दछ कि एक व्यक्तिले धर्मी जीवन बिताओस् जसको माने उसले परमेश्वरलाई प्रेम गरोस् (सिद्ध रूपमा) र आफ्नो छिमेकीलाई प्रेम गरोस् (सिद्ध रूपमा)। व्यवस्थाका मागहरू म कसरी पूरा गर्न सक्छु? मैले कसरी व्यवस्था पालन गर्न सक्छु्? पवित्र आत्माको व्यक्तित्व र सामर्थ्यले यो सम्भव छ। यस पदले "हामीद्वारा" भन्दैन तर "हामीमा"! यो चाहिँ परमेश्वरले आफ्नो सामर्थ्यद्वारा र उहाँको कार्यद्वारा र उहाँको आत्माद्वारा मभित्र गर्नुहुने कुरा हो! "शरीर" भन्नाले त्यो हो जुन म गर्दछु, आफैमा र आफैद्वारा (मैले फलाउने फल)। "आत्मा" भन्नाले त्यो हो जुन परमेश्वरले गर्नुहुन्छ, मभित्र गर्नुहुन्छ, अन्तरवास गर्नुहुने परमव्यक्ति पवित्र आत्माद्वारा। व्यवस्थाले माग गर्छ कि मैले परमेश्वरलाई र मेरो छिमेकीलाई प्रेम गर्नुपर्छ (मत्ती २२:३६-४०)। यी दुई आज्ञाहरू दस आज्ञाको मात्र नभएर परमेश्वरका सम्पूर्ण आज्ञाका सार हुन्। मैले व्यवस्था पालन गर्न खोजेर नै व्यवस्था पालन गर्न सक्ने होइन। एक पापीले परमेश्वरको पवित्र व्यवस्था पालन गर्न सक्दैन; त्यो असम्भव छ। एक "नवीकृत पापी" लाई समेत यो असम्भ्व छ। जसरी हामीले रोमी ७:१४-२५ मा देख्यौं, बाँचेको व्यक्तिले त्यो गर्न चाहन्छ तर उसले सक्दैन: "जे असल छ (परमेश्वरको व्यवस्था पालन गर्ने काम) त्यसलाई पूरा गर्ने चाहिँ म पाउँदिनँ" (रोमी ७:१८)। व्यवस्था पूरा गर्ने हो भने यसको चाबी प्रेम हो (रोमी १३:८-१० र गलाती ५:१४)। प्रेम हामीमा हुने हो भने यसको चाबीचाहिँ पवित्र आत्माले नियन्त्रित हिँडाइ हो (गलाती ५:१३-२३ र रोमी ८:४)। पवित्र आत्माले तब यो प्रेम ममा फलाउने काम गर्नुहुन्छ (गलाती ५:२२)। म सक्दिनँ तर उहाँ सक्नुहुन्छ! एक व्यक्ति परमेश्वरको आत्माको भरमा हिँड्दैछ भने, परमेश्वर उसको जीवनमा काम गरिरहनुभएको हुन्छ, उहाँले त्यो धर्मी जीवन प्रकट गरिरहनुभएको हुन्छ। उहाँको कारिगरी हौं हामी (एफेसी २:१०)! एकातिर, परमेश्वरको व्यवस्था पालन गर्नु मलाई अर्थात् मेरो शरीरलाई असम्भव छ। अर्कोतिर, मभित्र हुनुहुने परमेश्वरलाई (मैले उहाँलाई आफ्नो काम गर्न जब दिन्छु) व्यवस्था पूरा नगर्न असम्भव! जुन कुरा शरीरले कहिल्यै गर्न सक्दैन, त्यो परमेश्वरले गर्न सक्नुहुन्छ (पद ३ सित तुलना गर्नुहोस्)।

शरीरको नियन्त्रणमा रहेको व्यक्ति र आत्माको नियन्त्रणमा रहेको व्यक्ति बीचको भिन्नता देखाउने निम्न तालिकालाई विचार गर्नुहोस्। यस तालिकाले रोमी ८ को पहिलो १४ ओटा पदहरूलाई समेट्दछ।

नोट: मुक्ति नपाएको व्यक्तिले जीवन बिताउन सक्ने तरिका एउटै मात्र छ। ऊ "शरीरमा" छ त्यसैले ऊ "शरीरअनुसार" नै जिउनुपर्छ र हिँड्नुपर्छ (रोमी ८:८; पद ४ सित पनि तुलना गर्नुहोस्)। शरीरको अभिलाषा पूरा गर्नु बाहेक उनलाई कुनै विकल्प छैन। अन्तरवास गर्ने पापको ऊ पूरै बन्धमा रहेको छ। शरीरअनुसारको यस हिँडाइलाई एफेसी २:१-३ र एफेसी ४:१७-१९ मा बयान गरिएको छ।

मुक्ति पाएको व्यक्ति "आत्मामा" हुन्छ भनेर बयान गरिएको छ (रोमी ८:९) अनि ऊ अब उसो शरीरको घेराभित्र छैन (रोमी ८:९)। उसभित्र परमेश्वरको पवित्र आत्माले अन्तरवास गर्नुहुन्छ। उसको जीवनमाथि परमेश्वरको पवित्र आत्माको उपस्थितिले प्रभुत्व जमाउनुहुन्छ अनि यदि उसको चाल ठिक छैन भने पनि आत्माले आफ्नो शोकित उपस्थितिलाई प्रकट गर्नुहुन्छ (एफेसी ४:३०)।

मुक्ति पाएको व्यक्तिको जीवन पूरै शरीरको प्रभुत्वमनि छ भनेर भन्न मिल्दैन। ऊ पापमा फस्न सक्छ तर ऊ पापमा लागिरहँदैन (१ यूहन्ना अध्याय ३)। आत्माद्वारा ऊ कायल भईकन, पाप स्वीकार गरीकन र आवश्यक परेको खण्डमा ताडनामनि परीकन (१ कोरिन्थी ११:३१-३२) ऊ आज्ञापालनको मार्गमा फर्काइन्छ नै। विश्वासी जनले कुनै एउटा घडीमा शरीरका कुनै पनि कामहरूलाई प्रकट गर्नु सम्भव छ (गलाती ५:१९-२१) तर उसको जीवन शरीरका कामहरूकै प्रभुत्वमनि रहेको हुँदैन किनभने गलाती ५:२१ अनुसार "यस्ता-यस्ता कामहरू गर्नेहरू (वर्तमान काल -- "गरिरहनेहरू"; जोहरू तिनमा लागिरहन्छन्) परमेश्वरका राज्यका हकवाला हुनेछैन" (१ कोरिन्थी ६:९-११ लाई एफेसी ५:५ सित तुलना गर्नुहोस्)।

तरैपनि बाइबलले यो स्पष्ट बताउँछ कि साँचो विश्वासी शरीरद्वारा नियन्त्रित हुन सक्छ। रोमी ८ अध्यायले यसको चर्चा गर्दैन तर रोमी १३:१२-१४ ले गर्छ। साथै १ कोरिन्थी ३:१-३ र गलाती ५:१६-२५ पनि हेर्नुहोस्। एक विश्वासी जो "आत्मा" छ ऊ "शरीरमा" भएको मान्छे जस्तै हिँड्नु र ख्रीष्टमा रहेको एउटा नयाँ सृष्टिलाई एक नयाँ जन्मै नपाएको केवल मानिस जस्तै हिँड्नु उसको लागि ठूलो अनियमितता हो (१ कोरिन्थी ३:३), तर दुःखको कुरा यो हुने गरेकै पाइन्छ।

रोमी ८:५-६

"मन लगाउँछन्" (यो क्रियापद मत्ती ६:२३ र कलस्सी ३:२ मा पनि प्रयोग भएको छ)। "शारीरिक हुनेहरू" -- जोहरू पापपूर्ण आदमीय स्वभावद्वारा नियन्त्रित हुन्छन् (माथिको तालिकामा हेर्नुहोस्)। छैटौं पद लाई रोमी ६:२१-२३ सित तुलना गर्नुहोस्)।

रोमी ८:७

"किनभने शरीरमा मन लगाउनुचाहिँ परमेश्वरसँग दुश्मनी गर्नु हो।" शरीर सधैं नै परमेश्वरको विरोधमा हुन्छ। शरीर परमेश्वरको शत्रु हो। "अधीनता" = कसैको मुनि रहनु, आज्ञाकारी। शरीर अधीनमा बस्दैन। बरु परमेश्वरको विरुद्धमा विद्रोह गर्दछ; यो परमेश्वरको विरोधमा र उहाँको व्यवस्थाको विरोधमा विद्रोह गर्दछ। यसको उदाहरण गन्ती १४:९-१०,२७-२९,४०-४४ मा पाइन्छ (परमेश्वर साथमा जानुहुन्छ भने हामी जान्नौं! परमेश्वर साथमा जानुहुन्न भने हामी जान्छौं! परमेश्वरले जे भन्नुहुन्छ, त्यसको हामी ठिक उल्टो गर्नेछौं!) "यो हुन नै सक्दैन" -- शरीर अधीनतामा बस्नै सक्दैन। शरीरलाई परमेश्वरको अधीनतामा बस्नु असम्भव छ। मान्छेको पापमय शरीर (मानिसको पापी स्वभाव) अधीनतामा नबस्ने स्वभावको हुन्छ।

पाँचओटा कुरा छन् जो शरीरको सम्बन्धमा असम्भव छ:

१) शरीर बदली गराइन सकिन्न। विद्रोही, अधीनमा नबस्ने शरीर कहिल्यै अधीनमा बस्ने स्वभावको आज्ञाकारी शरीर बन्दैन। शरीरसित सामना गर्ने परमेश्वरको तरिका चाहिँ त्यसलाई बदली गर्नु होइन तर त्यसलाई दण्डको आज्ञा दिनु हो (रोमी ८:३) र क्रूसमा टाँगिदिनु हो (गलाती ५:२४; २:२०; रोमी ६:६ सित तुलना गर्नुहोस्)।

२) शरीर सुधार गर्न सकिन्न। त्यो सुधारिन वा पवित्रतामा पुनस्थापित गरिन सकिन्न। जे भ्रष्ट छ त्यो भ्रष्टै रहन्छ। जे असाध्य दुष्ट छ त्यो असाध्य दुष्ट नै रहन्छ (यर्मिया १७:९)। दुई हजार वर्ष अगाडि त्यसको सुधार होइन क्रूसीकरण गरिएको थियो!

३) शरीरलाई कहिल्यै सधाउन सकिन्न। शरीर हठी छ। त्यो आफ्नो तरिका बदल्न स्वीकार गर्दैन। त्यो अपरिवर्तनीय छ। परमेश्वरलाई खुशी पार्न शरीरलाई कहिल्यै सिकाउन सकिन्न। शरीर incorrigible छ -- त्यसलाई सच्च्याइन वा सुधार गरिन सकिन्न। शरीरले आफ्ना मार्ग बदली गर्न मान्दैन। शरीरका कामहरू सधैं जस्ताको त्यस्तै रहन्छन् (गलाती ५:१९-२१ मा हेर्नुहोस्)।

४) शरीरलाई राम्रो बनाउन सकिन्न। त्यो सधैं उस्तै रहन्छ: पतित, भ्रष्ट, दुष्ट, पापमय, खराब, परमेश्वरको विरोधमा, विद्रोही, हठी, घमन्डी, इत्यादि।

५) शरीरलाई परमेश्वरसित मिलापमा ल्याउन सक्दैन। त्यो सधैं र सदा परमेश्वरको विरोधमा खडा रहन्छ (गलाती ५:१७ मा हेर्नुहोस्)। त्यो कहिल्यै परमेश्वरसित मिलाप गर्दैन; बरु त्यहाँ निरन्तर युद्ध जारी रहन्छ। परमेश्वर कहिल्यै उहाँको पवित्र र धर्मी चरित्र विपरित रहेको कुरासित मिलापमा आउन सक्नुहुन्न। परमेश्वरको प्रत्येक सन्तान यस तथ्यमा रमाहट गर्न सक्दछ: "अनि जो ख्रीष्टका हुन्, उनीहरूले शरीरलाई वासना र लालसाहरूसँगै क्रूसमा टाँगेका छन्" (गलाती ५:२४)।

रोमी ८:८

शरीरको बारेमा यी कुरा सत्य भएको हुनाले (पद ७), जो शरीरमा छन्, तिनीहरूले (नबाँचेकाहरूले) परमेश्वरलाई खुशी पार्न सक्दैनन् (उनीहरूले परमेश्वरलाई खुशी पार्नु असम्भव छ)। हिब्रू ११:६ सित तुलना गर्नुहोस् (जो शरीरमा छन् उनीहरू विश्वासरहित छन्)। रोमी ८:८ को टिप्पणी स्वरूप हितोपदेश १५:८,९,२६ लाई लिन सकिन्छ। शरीरले कहिल्यै, कुनै हालतले पनि परमेश्वरलाई खुशी पार्न सक्दैन। धेरजसो मानिसहरूलाई यस पदको सत्यता स्वीकार्न ज्यादै नै गाह्रो पर्छ। यसको तात्पर्य यो हो कि (ख्रीष्टमा आउनुअघि) मैले आफ्नो जीवनमा जे जति गरें ती एउटै पनि परमेश्वरलाई स्वीकारयोग्य थिएनन् र उहाँलाई मनपर्दा थिएनन्। हामीले कति कुरालाई असल र सही र प्रशंसायोग्य ठानेका थियौं होला तर परमेश्वर तिनमा प्रसन्न हुनुहुन्नथ्यो। परमेश्वरलाई हामीले खुशी पार्न सक्ने एउटै तरिका भनेको "येशू ख्रीष्टद्वारा" (हिब्रू १३:२१) हो।

आत्मामा मन लगाउने व्यक्तिको बारेमा पद ७-८ ले कस्तो अर्थ बोकेको छ त? यी पदलाई उल्टोतिरबाट लिएर हेरौं: आत्मिक मन (आत्मामा मन लगाउने) परमेश्वरको मित्र हुन्छ (परमेश्वरसित मिलाप र शान्तिमा हुन्छ, कुनै शत्रुता र लडाइँ हुँदैन), किनकि त्यो परमेश्वरको व्यवस्थाको अधीनतामा बस्ने हुन्छ (रोमी ८:४) अनि सधैं त्यस्तै हुनैपर्छ। त्यसोभए आत्मामा हुनेहरूले परमेश्वरलाई खुशी पार्न सक्छन्! यसपछिको पदले आत्मामा हुनेहरूको बारेमा बताउँछ:

रोमी ८:९

"तिमीहरू" भन्ने शब्दलाई जोड दिइएको छ (शरीरमा हुनेहरूको विपरितमा "तिमीहरू")। तिमीहरू शरीरमा छैनौ! तिमीहरूले परमेश्वरलाई खुशी पार्न सक्छौ! बाँचेको प्रत्येक व्यक्ति "आत्मामा" छ र नबाँचेको प्रत्येक व्यक्ति "शरीरमा" छ। प्रत्येक विश्वासी "आत्मिक" छ यस अर्थमा कि ऊसँग परमेश्वरको आत्मा छ (यहूदा १९ मा हेर्नुहोस्)। "वास गर्नुहुन्छ" = तिमीमा उहाँले आफ्नो घर बनाउनुहुन्छ। तिम्रो शरीर आत्माको घर हो अथवा वासस्थान हो अथवा पवित्र मन्दिर हो (१ कोरिन्थी ६:१९-२०)।

पावल भन्दैछन् कि आत्मा तिमीभित्र हुनुहुन्छ भने तिमी आत्मामा छौ! आत्मा तिमीभित्र हुनुहुन्न भने तिमी शरीरमा छौ (बाँचेका छैनौ)। "कुनै मानिस" = जो कोही। "त्यो उहाँको होइन" = ऊ (जससँग आत्मा छैन) ख्रीष्टको होइन, ऊ ख्रीष्टियन होइन, ऊ बाँचेको छैन। यस पदको तात्पर्यले स्पष्ट यो सिकाइरहेको छ कि हरेक साँचो विश्वासी पवित्र आत्माद्वारा अन्तरवास गरिएको हुन्छ। निजले मुक्ति पाएको छ भने ऊ पवित्र आत्माद्वारा अन्तरवास गरिएको हुन्छ र ऊ आत्मा (को घेरा) मा छ। एक एक विश्वासीले, विश्वास गरेकै आधारमा (त्यो एउटै शर्तमा) पवित्र आत्मा प्राप्त गरेको हुन्छ (यूहन्ना ७:३७-३९)। साँचो विश्वासी भएर पनि पवित्र आत्मा चाहिँ नपाएको भन्ने त्यस्तो कुनै व्यक्ति हुँदैन। साँचो ख्रीष्टियन अब उसो "शरीरमा" (शरीरको घेराभित्र) छैन। ऊ शरीरमा छैन तर शरीर उसभित्र भने छ (रोमी ७:१८)। याद राख्नुहोस् पवित्र आत्मालाई कसरी जनाइएको छ: "आत्मा", "परमेश्वरका आत्मा", "ख्रीष्टका आत्मा"।

नवौं पदले भन्छ आत्मा तिमीहरूभित्र हुनुहुन्छ
दसौं पदले भन्छ ख्रीष्ट तिमीहरूभित्र हुनुहुन्छ (यूहन्ना १४:१७,२० मा पनि हेर्नुहोस्)।

रोमी ८:१०

रोमी ८:१ सित तुलना गर्नुहोस् -- ख्रीष्ट मभित्र हुनुहुन्छ (पद १०) र म ख्रीष्टभित्र छु (पद १)! रोमी ८:९ ले सिकाउँछ कि म आत्माभित्र छु र आत्मा मभित्र हुनुहुन्छ! कति उदेकका सम्बन्धहरू! रोमी ७:१८ मा पावलले भन्छ, "म जान्दछु, मभित्र अर्थात् मेरो शरीरभित्र कुनै असल कुराले वास गर्दैन" तर विश्वासीले यो पनि भन्न सक्दछ, "म जान्दछु कि मभित्र जीवित परमेश्वर वास गर्नुहुन्छ!" यदि कुनै मानिसले साँच्ची नै मुक्ति पाएको छ भने येशू ख्रीष्ट उक्त व्यक्तिभित्र वास गर्नुहुन्छ (२ कोरिन्थी १३:५ मा हेर्नुहोस्)। यसैले, अब पावलले १० पदमा बताउन लागेको कुरा एउटा साँचो विश्वासीलाई लागु हुन्छ। तपाईंले साँच्चै मुक्ति पाउनुभएको छ भने निम्न कुरा साँचो छ: शरीर पापको कारण मरेको छ। कुन अर्थमा त्यो मरेको छ? तपाईं शरीरमा मर्नुभएको त छैन। यहाँ "मरेको" को तात्पर्य "मरणशील" हो (एघारौं पदमा हेर्नुहोस्); पापको कारण मर्ने, सड्ने, रोग लाग्न सक्ने भन्न खोजिएको हो। विश्वासीको शरीरको अहिले नै उद्धार गरिएको छैन (तर भविष्यमा गरिनेछ -- रोमी ८:२३)। विश्वासीको शरीर अहिले नै जीवित पारिएको छैन, तर भविष्यमा पारिनेछ (रोमी ८:११)।

"तर आत्मा धार्मिकताको कारणले जीवन हो" -- यो पद विश्वासीको शरीर र उसको आत्माबीचको तुलना हो। आत्मा मरेको छैन, त्यो जीवन हो। म आत्मामा जीवित पारिएको छु (एफेसी २:१,५)। मेरो आत्मा म धर्मी ठहराइएकै घडी जीवित पारिएको थियो। मेरो आत्मा जीवित पारिने काम मेरो मुक्तिकै घडीमा पूरा भइसकेको कुरा हो (रोमी ८:१०); मेरो शरीर जीवित पारिने काम भने भविष्यमा बौरिउठाइको दिनमा पूरा हुनेछ (रोमी ८:११)।

रोमी ८:११

"जसले येशूलाई मरेकाहरूबाट बौराएर उठाउनुभएको" -- "जसले" भन्नाले परमेश्वर पितालाई जनाउँदछ। यदि परमेश्वरका आत्मा तिमीहरूभित्र वास गर्नुहुन्छ भने (बाँचेको हुनुहुन्छ भने यो तपाईंको निम्ति सत्य पनि हुन्छ -- रोमी ८:९), परमेश्वरले (भविष्यमा) तिमीहरूका मरणशील शरीरहरू (हालमा उद्धार नभएका शरीरहरू जो मर्छन्, सड्छन् र रोगग्रस्त छन्) लाई जीवित पार्नुहुनेछ। यदि सर्वशक्तिमान् परमेश्वरले येशूलाई मरेकाहरूबाट बौराएर उठाउन सक्नुभयो भने उहाँले निश्चय पनि तपाईंहरूका शरीरहरूका निम्ति पनि त्यसैगरी काम गर्न सक्नुहुन्छ। विश्वासीहरूको भविष्यमा हुने बौरिउठाइको सम्बन्धमा यो एउटा सुन्दर प्रतिज्ञा हो। आज तपाईंभित्र आत्माको उपस्थिति हुनु चाहिँ भविष्यमा तपाईंको बौरिउठाइ हुनेछ भन्ने कुराको जमानी हो (एफेसी १:१३-१४; ४:३०)।

रोमी ८:१२

"ऋणी" = जसको कुनै दायित्व छ (रोमी १:१४)। हामी शरीरका ऋणी छैनौं किनकि हामी अब आत्माको घेराभित्र जिउँदछौं। शरीरप्रति हाम्रो एउटै पनि दायित्व छैन। शरीरलाई दिनुपर्ने केही छैन! वास्तवमा हामीले शरीरलाई बढ्तै दिइसकेकाछौं! हामीले ज्यादै समय शरीरमा बिताइसकेका छौं (१ पत्रुस ४:२-३ मा हेर्नुहोस्) अनि हामीले शरीरमा ज्यादै पाप गरिसकेका पनि छौं। बरु म आत्माअनुसार जिउनलाई ऋणी छु। यो मेरो ख्रीष्टिय दायित्व हो।

रोमी ८:१३

"जिउन" = वर्तमान काल (निरन्तर, आदतको रूपमा)। शरीर अनुसार जिउने जीवनको अन्तमा मृत्यु (परमेश्वरबाट अलग हुनुपर्ने स्थिति) छ (रोमी ६:२१)। "मार्यौ भने" = यो काम हामी कसरी गरौं? विश्वासीले आफ्नो शरीरका कामहरूलाई कसरी मार्दछ?

शरीरका कामहरूलाई मार्ने बारेमा बाइबलीय शिक्षा:

पहिले ध्यान यसमा दिनुहोस् कि हामीले "आत्माद्वारा" यो मार्ने काम गर्नुपर्छ। योचाहिँ आत्माको सामर्थ्यले गरिने काम हो, हाम्रै सामर्थ्यले होइन। विश्वासीको यो मार्ने कार्यका दुई पक्षलाई विचार गरिनुपर्छ:

१) ओहोदामा त्यो भइसकेको छ! गलाती ५:२४ ले भन्छ, "जो ख्रीष्टका हुन् (जो उहाँको निजी भएका छन्, रोमी ८:९ सित तुलना गर्नुहोस्), उनीहरूले शरीरलाई वासना र लालसाहरूसँगै क्रूसमा टाँगेका छन्।" यस पदले सो गर्नू भन्दैन तर भइसक्यो भन्छ भन्ने कुरामा ध्यान दिनुहोस्। "शरीरलाई क्रूसमा टँगाऊ" भनेर यसले भन्दैन तर तिमीहरूले "शरीरलाई क्रूसा टँगाइसकेका छौ" भन्छ। त्यो कहिले भयो? २००० वर्ष अघि (गलाती २:२० सित तुलना गर्नुहोस्)! जब ख्रीष्ट मर्नुभयो, म मरें! मेरो क्रूसीकरण त्यसैबेला पूरा भएको हो।

२) अनुभवमा त्यो काम विश्वासीले गर्नुपर्छ: "पृथ्वीमाथि भएका तिमीहरूका अङ्गहरूलाई मार" (कलस्सी ३:५)। तर चाबी प्रश्न यो छ: यो काम कसरी गर्ने हो? विश्वास नै चाबी हो! ख्रीष्टमा म मरिसकेको छु भन्ने तथ्यलाई विश्वासले दाबी गर्दछ (कलस्सी ३:३ मा हेर्नुहोस् -- "किनकि तिमीहरू मरेका छौ") अनि विश्वासैद्वारा यो तथ्य सत्य छ भनेर म मानिलिन्छु (ठान्छु)। कलस्सी ३:५ को "यसकारण" ले तेस्रो पदमा उल्लेखित त्यो महान् सत्यतालाई औंल्याइरहेको छ जसअनुसार हामी ख्रीष्टसित र ख्रीष्टमा मरिसकेका छौं। यसैले जुन कुरा परमेश्वरले वास्तविकरूपमा पूरा गरिसक्नुभएको छ (गलाती ५:२३; कलस्सी ३:३; गलाती २:२०) त्यसलाई हामीले विश्वासैद्वारा गर्नलाई हामीलाई भनिएको हो (कलस्सी ३:५)। गलाती ५:२४ ले तथ्यलाई प्रस्तुत गर्दछ र कलस्सी ३:५ ले हाम्रो विश्वासको माग (तथ्यको आधारमा -- कलस्सी ३:३) गर्दछ। जति हामीले विश्वासैद्वारा आफ्नो ओहोदालाई मानिलिन्छौं (ठान्छौं) त्यति नै त्यो हाम्रो खास अवस्थामा वास्तविक बन्दछ (आत्माको सामर्थ्यले)। रोमी ६:११ र त्यस सम्बन्धी "ठान्नु" अन्तर्गत गरिएको हाम्रो चर्चालाई पढ्नुहोस्।