रोमी ८:२८-३१

यस पृष्ठलाई छाप्नुहोस्

रोमी ८:२८

यहाँ पाइने यो सुन्दर तुलनालाई ख्याल गर्नुहोस्: पद २६ -- "हामी जान्दैनौं"; पद २७ -- "हामी जान्दछौं"। हामीले जसरी प्रार्थना गर्नुपर्ने हो त्यो जान्दैनौं, तर हाम्रो परमेश्वरले उहाँ के गर्दैहुनुहुन्छ त्यो जान्नुहुन्छ र उहाँले सबै कुरा आफ्नो महिमाको निम्ति र उहाँका सन्तानको भलाइका निम्ति गर्नुहुन्छ भन्ने कुरामा हामी ढुक्क छौं। परमेश्वरलाई प्रेम गर्ने व्यक्ति (साँचो विश्वासी) का निम्ति पद २८ बाइबलकै सबभन्दा सान्त्वनादायी पदमध्ये एउटा हो। यस पदको सान्त्वनादायी सत्यता परमेश्वरको विशेष गरी एउटा गुणमा आधारित छ -- उहाँको सार्वभौमिकता। यदि सबै कुराहरू मिलेर (सबै घटना, सबै परिस्थिति, सबै परीक्षा, सबै भइरहेका कुराहरू, इत्यादि) भलाइ नै उत्पन्न गर्दछन् भने, यसले यो देखाउँछ कि परमेश्वर सबै कुराहरू भन्दामाथि हुनैपर्छ र सबै कुराहरू उहाँकै नियन्त्रणमनि हुनैपर्छ। यो कुनै डरपोक खाले "जे हुनु छ त्यही हुन्छ" भन्ने किसिमको अन्धविश्वास होइन। यो त त्यो उदेकको तथ्य हो कि एक सर्व-बुद्धिमानी, सर्व-प्रेमी, न्यायी परमेश्वर सबै कुराहरूमाथि नियन्त्रण गर्नुहुन्छ!

परमेश्वरको सार्वभौम क्रियाकलाप एफेसी १:११ मा उल्लेख छ र एफेसी ५:२० मा मानिलिएको पनि छ (हामी सबै कुराका निम्ति धन्यवाद दिन सक्छौं, सबै कुरा नै असल भएकोले होइन तर हाम्रो भरोसा एक सार्वभौम परमेश्वरमा भएकोले जसले सबै कुरालाई आफ्नो महिमाको लागि र हाम्रो भलाइको लािग अघि काममा लाउँदै हुनुहुन्छ)। रोमी ८:२८ एउटा तथ्य हो जसलाई हामीले जान्नुपर्छ र ठान्नुपर्छ, तर यो सुन्दर सत्यतालाई सबैले दाबी गर्न मिल्दैन। यो केवल तिनीहरूका लागि मात्र हो जो "परमेश्वरलाई प्रेम गर्नेहरू" हुन् जुन बयानले साँचो विश्वासीहरूलाई जनाउँछ (१ कोरिन्थी २:९; ८:३ पढ्नुहोस्)। हामी उहाँलाई प्रेम गर्दछौं किनकि उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो (१ यूहन्ना ४:१९)। यहाँ पावलले एकातिर परमेश्वरलाई प्रेम गर्ने र अर्कोतिर परमेश्वरलाई प्रेम नगर्ने दुई वर्गका विश्वासीहरू हुन्छन् भन्न खोजिरहेका होइनन्। निश्चय पनि कोही-कोही विश्वासीहरू प्रभुलाई अरू विश्वासीहरूले भन्दा बढी प्रेम गर्छन् र यो कुरा उनीहरूले उहाँको वचनको विश्वासयोग्य आज्ञापालनद्वारा प्रकट गर्छन्, तर यो पनि साँचो हो कि एक अर्थमा सबै विश्वासीहरूले ख्रीष्टलाई प्रेम गर्दछन्। ख्रीष्टप्रतिको प्रेम उहाँको वचन पालनद्वारा प्रकट हुन्छ (यूहन्ना १४:२१-२४) र उहाँका आज्ञा पालन गर्न नमान्नेहरू भएर पनि आफू ख्रीष्टलाई चिन्छु भन्नेहरू झूटा हुन् (१ यूहन्ना २:३-५ र यूहन्ना १७:३ लाई तुलना गर्नुहोस्)। परमेश्वरका सन्तान भएकोले हाम्रो जीवनमा आज्ञापालनको चरित्र हुनुपर्छ (१ पत्रुस १:१४)। हामी आज्ञापालन गर्छौं किनकि हामी स्वर्गमा बस्नुहुने हाम्रा पितालाई प्रेम गर्छौं। त्यति पनि नगरी बस्न हामी कसरी सक्छौं र?

उहाँलाई प्रेम नगर्नेहरू बचाइएका छैनन् र परमेश्वरको श्रापमनि छन् (१ कोरिन्थी १६:२२)। कसैले यदि, "म ख्रीष्टलाई प्रेम गर्दिनँ, अहँ गर्दै गर्दिनँ" भन्छ भने, त्यस्तो व्यक्तिले आफू उहाँमा विश्वास गर्ने हुँ भनेर कसरी दाबी गर्न सक्छ र? अर्कोतिर, त्यहाँ त्यस्ताहरू छन् जसले आफू परमेश्वरलाई प्रेम गर्छु भन्छन् तर तिनीहरूका क्रियाकलापले उनीहरू उहाँलाई खास प्रेम गर्दैनन् भन्ने कुरा प्रमाणित गर्छ (१ यूहन्ान ४:२०)। रोमी ८:२८ मा पावलले ख्रीष्टियनहरूको कुनै विशेष वर्गको कुरा गरिरहेका छैन् जोहरू परमेश्वरलाई प्रेम गर्छन् र अरूअरू परमेश्वरलाई प्रेम नगर्ने विश्वासीहरू भन्दा भिन्न छन्। परमेश्वरलाई प्रेम गर्नेहरू (पद २८) "बोलाइकाहरू" (पद २८) भनेर चिनाइएका छन्, अनि बोलाइएकाहरू चाहिँ उहाँले पहिले नै जान्नुभएकाहरू, पहिल्यै ठहराइएकाहरू, धर्मी ठहराइएकाहरू र महिमा दिइएकाहरू भनेर जनाइएका छन् (पद २९-३०)। यी तथ्यहरू एक-एक साँचो विश्वासीको सवालमा साँचा छन्। कोही-कोही विश्वासीहरू उहाँले पहिल्यै नजान्नुभएको, पहिल्यै नठहराइएका, नबोलाइएका, धर्मी नठहराइएका र महिमा नदिइएका हुनु भनेको असोचनीय कुरा हो।

यस पदले "सबै कुरा भलाई हुन्" भनेर बताउँदैन तर "सबै कुरा मिलेर भलाइ उत्पन्न गर्छन्" भनेर बताउँदछ।

रोमी ८:२८ को सत्यता यति महत्त्वपूर्ण छ कि परमेश्वरले उत्पत्तिको पुस्तककै नौवटा अध्यायहरू (यूसुफको जीवन) यसलाई दर्शाउन अलग गर्नुभएको छ। यूसूफको जीवनमा कति त ज्यादै नराम्रा र तीता घटना घटे -- उनका दाजुहरूले उनलाई घृणा गरे, उसलाई मार्न खोजे, उसलाई दासत्वमा बेचे, इत्यादि (उत्पत्ति ३७) अनि पछिबाट यूसुफ एउटी दुष्ट स्त्रीको झूटो आरोपमा परीकन जेलमा हालिए (उत्पत्ति ३९)। तर परमेश्वरलाई प्रेम गर्ने यी मानिस यूसुफका लागि परमेश्वरको एउटा योजना र उद्देश्य थियो। यूसुफका बुबाले रोमी ८:२८ को सत्यता बुझेका थिएनन् (उत्पत्ति ४२:३६ पढ्नुहोस् -- "यी सब कुराहरू मेरो विरोधमा छन्") तर यूसुफले भने बुझेका थिए (उत्पत्ति ५०:२० पढ्नुहोस् र उत्पत्ति ४५:५,७ "परमेश्वरले मलाई पठाउनुभयो")। यूसूफलाई पर्न गएका भयङ्कर नराम्रा घटनाहरू वास्तवमा इस्राएलका सन्तानलाई अनिकाल र मृत्युबाट बचाउने माध्यमको रूपमा प्रयोग गर्नुभयो।

सायद रोमी ८:२८ को सबभन्दा महान् उदाहरण ख्रीष्टकै जीवन हुनुपर्छ। निर्दोष, पापरहित परमेश्वरका पुत्रलाई धेरै धेरै अप्रिय र खराब कुराहरू गरिए। उहाँलाई एकजनाले इन्कार गरे, अर्कोले धोका दिए, उहाँलाई झूटा आरोप लगाइयो, गलत तरिकाले न्याय गरियो, निर्दोष भएर पनि दोषी ठहराइयो, कोर्रा लगाइयो, पिटियो, गिल्ला गरियो, थुकियो, र अन्तमा क्रूसमा टँगाइयो। यसबाट कुनै भलाइ उत्पन्न हुन सक्थ्यो त? अँ सक्यो, सबभन्दा ठूलो भलाइ नै, अर्थात् मानिसको उद्धार! ख्रीष्टको क्रूसीकरण मिलेर सबै मानिसहरूको मुक्ति सम्भव गरायो (१ तिमोथी ४:१० -- उहाँको मृत्युले सबैको निम्ति मुक्ति प्रबन्ध गर्यो) र आफ्ो प्राणको मुक्तिका लागि उहाँ, केवल उहाँमा मात्र भरोसा गर्नेहरूलाई वास्तवमै मुक्ति दिलायो (१ तिमोथी ४:१० -- "विशेष गरी विश्वास गर्नेहरूका")। हो, मानिसले गरेको सबभन्दा पापमय काममा समेत परमेश्वरको योजना र उद्देश्य थियो जुन उहाँले पूरा गर्दै हुनुहुन्थ्यो। यो कुरा निम्न खण्डहरूमा देख्न सकिन्छ: प्रेरित २:२३; ३:१३-१८; ४:२६-२८ र लूका २२:२२ सित तुलना गर्नुहोस्) (यी पदहरूमा मान्छेको जिम्मेवारी र परमेश्वरको सार्वभौमिकताका बीच रहेको संवेदनशील सन्तुलनलाई ख्याल गर्नुहोस् -- मानिसहरूले आफ्ना दुष्ट कामहरू पुरा गरे र उनीहरू आफ्ना कामका निम्ति पूरै जवाफदेही थिए, तर परमेश्वरले उनीहरूले गरेको कामलाई लिनुभई त्यसलाई मान्छेको मुक्तिको निम्ति रहेको उहाँको योजना पूरा गर्नुभयो!)।

"जो उहाँकै मनसायअनुसार बोलाइएका छन्" -- साँचो विश्वासीहरूका लागि परमेश्वरको एउटा उद्देश्य छ, योजना छ र "ग्र्याण्ड डिजाइन" छ (र यसपछिका दुईटा पदहरूले उक्त उद्देश्य के हो भनेर बताउँछन्)। परमेश्वरको उद्देश्य विफल हुनेछैन। हरेक विश्वासीको निम्ति परमेश्वरको एउटा "ग्र्याण्ड डिजाइन" छ र त्यो डिजाइन परमेश्वरको अचुक योजना बमोजिम पूरा हुने नै छ। परमेश्वरको मनसाय कहिल्यै विफल हुनेछैन (रोमी ९:११; यशैया १४:२७; ४६:१०-११ पढ्नुहोस्)। परमेश्वरको योजना कहिल्यै असफल पारिन्न!

रोमी ८:२९-३० -- प्रत्येकक साँचो विश्वासीको निम्ति परमेश्वरको योजना

यस श्रृङ्खलालाई ख्याल गर्नुहोस्: १) पहिले नै जान्नुभएको (पूर्वज्ञान) २) पहिल्यै ठहराउनुभएको (पूर्वनिर्धारण) ३) बोलाउनुभएको (बोलावट) ४) धर्मी ठहराउनुभएको (धर्मीकरण) ५) महिमा दिनुभएको (महिमाकरण)। यसलाई एउटा सिक्रीको रूपमा सोच्दा सजिलो हुन्छ जसमा पाँचओटा एकदम बलिया-बलिया कडीहरू छन्। यसलाई हामी परमेश्वरको मुक्तिको सिक्री भन्ने नाम दिन सक्छौं, जुन सिक्री पूर्वज्ञानबाट सुरु हुन्छ र महिमाकरणमा अन्त हुन्छ। यो सिक्री अनादिबाट सुरु हुन्छ र अनन्तसम्म फैलिएको छ, अर्थात् विगतको अनादिबाट भविष्यको अनन्ततासम्म। यस सिक्रीको कुनै पनि कडी कहिल्यै तोडिन सकिँदैन (जुन कुरालाई हामी हेर्नेछौं)। विश्वासी अनन्तसम्म सुरक्षित छ!

यी पदहरूमा जोड चाहिँ परमेश्वरको काममा दिइएको छ भन्ने कुरालाई ध्यान दिनुहोस् -- "उहाँले पहिले नै जान्नुभयो, पहिल्यै ठहराउनुभयो, इत्यादि।" यो सबै नै परमेश्वरको काम हो, मान्छेको होइन। परमेश्वरले विश्वासीलाई पहिले नै जान्नुभयो, परमेश्वरले पहिल्यै ठहराउनुभयो, परमेश्वरले बोलाउनुभयो, परमेश्वरले ध्रमी ठहराउनुभयो र परमेश्वरले महिमा दिनुभयो! परमेश्वरले गर्नुभएको यो हो! मुक्ति परमप्रभुबाटको हो (योना २:९ सित तुलना गर्नुहोस्)। मुक्ति परमेश्वरबाट सुरु भएर परमेश्वरमै अन्त हुन्छ। हाम्रो मुक्तिको सारा श्रेय र सम्पूर्ण महिमा परमेश्वरलाई नै जान्छ (१ कोरिन्थी १:२९,३१)। मान्छेले घमन्ड गर्न सक्दैन (एफेसी २:८-९) र भन्न सक्दैन, "हेर, मैले के गरेको छु!" होइन, मुक्ति "परमेश्वरबाटको हो" (१ कोरिन्थी १:३०; यूहन्ना १:१३)। हामी आफैलाई धन्यवाद दिँदैनौं तर हामी भन्छौं, "धन्यवाद प्रभु येशूलाई, धन्यवाद मुक्तिदातालाई!" बचाउने काम पूर्ण रूपमा परमेश्वरले गर्नुहुन्छ। यसले मान्छेलाई जिम्मेवारबिहीन बनाउँदैन। मान्छेले विश्वास गर्ने काम गर्नुपर्छ (यूहन्ना ३:१६-१८; प्रेरित १६:३१) र मान्छेले विश्वास नगर्दा त्यो उसको दोष ठानिन्छ (२ थेस्सलोनिकी २:१०-१२; यूहन्ना ५:४०); मत्ती २३:३७ सित तुलना गर्नुहोस्), तर परमेश्वर, हो परमेश्वर स्वयंले मात्र बचाउने काम गरिदिनुपर्छ। परमेश्वरले यो सब आफ्नो अचम्मको अनुग्रह र सार्वभौम मनसायअनुसार गर्नुहुन्छ (२ तिमोथी १:९ पढ्नुहोस् र २ थेस्सलोनिकी २:१३-१४ र एफेसी १:३-१४ सित तुलना गर्नुहोस्)।

अब हामी परमेश्वरको मुक्तिको सिक्रीका एउटा-एउटा कडीलाई हेरौं:

१) पहिलो कडी -- "जसलाई उहाँले पहिले नै जान्नुभयो"

यहाँ "जसलाई" भन्ने सर्वनामले पद २८ मा उल्लेख भएकै समूहलाई जनाउँदछ -- अर्थात् "परमेश्वरलाई प्रेम गर्नेहरू" र "उहाँकै मनसायअनुसार बोलाइएकाहरू" लाई। पावल साँचो विश्वासीहरूको कुरा गर्दैछन्। यो त्यो समूह हो जसलाई परमेश्वरले पहिले नै जान्नुभयो। "पहिले जान्नु" को माने "अगाडिबाटै जान्नु" हो। अनादिकालमा संसार हुनुभन्दा पहिलै नै, परमेश्वरले उहाँका साँचो विश्वासीहरूलाई चिन्नुहुन्थ्यो (२ तिमोथी २:१९ सित तुलना गर्नुहोस् -- "प्रभुले उहाँका आफ्नाहरूलाई चिन्नुहुन्छ")।

ध्यान दिएर हेर्नुहोस् यस पदले खास के भनिरहेको छ र के भनिरहेको छैन। यस पदले भन्छ, "जसलाई उहाँले पहिले नै जान्नुभयो"; यहाँ "जुन कुरा उहाँले पहिले नै जान्नुभयो" भनिएको छैन। यस पदले भन्छ परमेश्वरले तपाईंलाई पहिले नै जान्नुभयो। यस पदले परमेश्वरले तपाईंले के गर्नुहुन्थ्यो भन्ने कुरा पहिले नै जान्नुभयो भनेर भनिरहेको छैन। धेरैजनाले यो "पूर्वज्ञान" भन्ने कुरालाई यसरी बुझ्छन्: सबै कुरा जान्नुहुने परमेश्वरले अनादिकालदेखि नै को-कसले उहाँको पुत्रमा विश्वास गर्नेछन् र को-कसले उहाँको पुत्रमा विश्वास गर्नेछैनन् भनेर जान्नुभयो। यो अवश्य पनि साँचो कुरा नै हो र परमेश्वरको वचनमा सिकाइएको कुरा हो (यूहन्ना ६:६४ र ७-७७ पदहरू पढ्नुहोस्), तर रोमी ८:२९ ले सिकाइरहको कुरा त्यही नै चाहिँ होइन। यस पदमा तपाईंले विश्वास गर्ने कुरा परमेश्वरले पहिले नै जान्नुभयो भनेर भनिएको छैन। यस पदमा तपाईंलाई नै परमेश्वरले पहिले नै जान्नुभयो भनिएको छ। यस पदमा पहिले नै जानिएकाहरू चाहिँ व्यक्तिहरू हुन्। यस पदमा परमेश्वरले सबैजनालाई जान्नुभयो भनिएको छैन (यद्यपि परमेश्वरले अघिबाटै सबैजनाको बारेमा जान्नुहुन्थ्यो नै)। तर यस पदले यो सिकाउँदैछ कि परमेश्वरले ती व्यक्तिहरूलाई अघिबाटै जान्नुभयो जोहरू उहाँको मनसायअनुसार बोलाइएका छन् (यसको माने आफ्नो अविश्वासलाई नछोड्नेहरू र कहिल्यै मुक्ति नपाउनेहरू यस समूहमा पर्दैनन्)। अब यसको माने के हो?

बाइबलका अन्य खण्डहरूले परमेश्वरको पूर्वज्ञानलाई प्रकाश पार्दछ। आमोस ३:२ लाई विचार गर्नुहोस् -- "पृथ्वीका सबै घरानाहरूमध्ये केवल तिमीहरू (इस्राएलका सन्तानहरू, पद १) लाई नै मैले जानेको छु"। यसको माने के हो? अवश्य नै परमेश्वरले मिश्रीहरू र अन्य राष्ट्रहरूको बारेमा सबै कुरा जान्नुहुन्थ्यो। यसको माने केवल उनीहरूको बारेमा जान्नु भन्ने मात्र नभईकन त्योभन्दा बढी हुनुपर्छ। परमेश्वरले सबै पृथ्वीका जातिहरू र सबै मानिसहरूको बारेमा सबै कुरा जान्नुहुन्थ्यो। तर परमेश्वर इस्राएलसित एउटा विशेष सम्बन्धमा प्रवेश गर्नुभयो जुनचाहिँ अन्य जातिहरूको सवालमा साँचो थिएन: "परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई पृथ्वीको सतहमा भएका सबै जातिहरूभन्दा माथि आफ्ना निम्ति एउटा विशेष जाति होऊ भनी चुन्नुभएको छ…परमप्रभुले तिमीहरूमाथि आफ्नो प्रेम राख्नुभएको [छ]" (व्यवस्था ७:६-७)।

मत्ती ७:२३ पनि शिक्षामूलक छ। प्रभु येशूले कतिलाई भन्नुहुनेछ: "मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ!" उहाँ परमेश्वर हुनुभएको हुनाले उहाँले तिनीहरूको बारेमा सबै कुरा जान्नुहुन्थ्यो, तर उहाँको तात्पर्य यो थियो: "तिमीहरूसित मेरो कुनै व्यक्तिगत सम्बन्ध कहिल्यै थिएन। तिमीहरू कहिल्यै मेरो भएका थिएनौं। तिमीहरू मेरा होइनौ!" यसरी "परमेश्वरद्वारा चिनिएको हुनु" (१ कोरिन्थी ८:३ पढ्नुहोस्) को माने उहाँसित तपाईंको एउटा व्यक्तिगत हुनु हो, तपाईं साँच्ची नै उहाँको हुनु हो! यूहन्ना १०:१४ सित तुलना गर्नुहोस् -- "म मेरा भेडाहरूलाई चिन्छु!" "परमेश्वरद्वारा चिनिएको" हुनु, परमेश्वरको प्रेमको पात्र हुनु (यूहन्ना १३:१) र "संसारको उत्पत्तिभन्दा पहिल्यै ख्रीष्टमा चुनिनु" एउटा ज्यादै सुन्दर कुरा हो (एफेसी १:४)।

मैले परमेश्वरलाई चिन्नु (यूहन्ना १७:३) भन्दा पहिले नै उहाँले मलाई चिन्नुहुन्थ्यो (मत्ती २५:३४ सित तुलना गर्नुहोस्)। मुक्तिको सवालमा परमेश्वर पहिलो कदम चाल्ने व्यक्ति हुनुहुन्छ भन्ने कुरा हामीले कहिल्यै बिर्सनुहुँदैन। म उहाँलाई प्रेम गर्दछु किनकि उहाँले पहिले मलाई प्रेम गर्नुभयो (१ यूहन्ना ४:१९)। मैले उहाँलाई खोजें किनकि उहाँले पहिले मलाई खोज्नुभयो (लूका १९:१०)। मैले उहाँलाई रोजें किनकि उहाँले पहिले मलाई रोज्नुभयो (यूहन्ना १५:१६)। म उहाँकहाँ आएँ किनकि उहाँले पहिले मलाई खिँच्नुभयो (यूहन्ना ६:४४,६५)। मैले देख्न सकें र बुझ्न सकें किनकि उहाँले पहिले मलाई दृष्टि दिनुभयो (मत्ती १६:१६-१७; प्रेरित १६:१४)। जसरी भजनमा लेखिएको छ,

मैले होइन पहिले उनले प्रेम गरे
मैले होइन पहिले उनले भेट्टाए
मैले होइन उनले पहिले खोजे मलाई
उनले वास्ता गर्छन मलाई।
- रन ह्यामिल्टन

हो, संसार सृष्टि हुनुभन्दा धेरै अगाडि मेरो अस्तित्व थियो! मेरो अस्तित्व परमेश्वरको विचार र मनसाय र योजनामा थियो। उहाँले मलाई जान्नुहुन्थ्यो! यर्मिया १:५ सित तुलना गर्नुहोस्।

२) दोस्रो कडी -- "उहाँले पहिले नै ठहराउनु पनि भयो"

परमेश्वरले साँचो विश्वासीलाई पहिले नै जान्नुभयो मात्र होइन, तिनीहरूचाहिँ आफ्नै पुत्रको रूपमा ढालिऊन् भनेर उहाँले पहिले नै ठहराउनु पनि भयो! (रोमी ८:२९)। "पूर्वनिर्धारण" (predestination) अथवा "पहिले नै ठहराउनुभयो" भन्ने कुरा सुन्ने बित्तिकै कतिजना तर्सिने गर्छन्। वास्तवमा यो अति सुन्दर शिक्षा हो जसले हरेक विश्वास गर्ने हृदयलाई ठूलो सान्त्वना र उत्साह दिनुपर्ने हो। यसको ग्रीक शब्द दुईटा भागले बनेको छ: प्रो=पहिले; होरिज्जो=सीमाना वा छेउ। यसर्थ, पहिले नै ठहराउनु भनेको "अगाडिबाटै सीमाना तोक्नु; कुनै कुराको सीमाना पहिल्यै निर्धारण गर्नु।" कुनै व्यक्तिको सवालमा यो शब्द प्रयोग गरिन्छ भने त्यसको माने चाहिँ "निजको गन्तव्य वा भविष्य पूर्वनिर्धारण गर्नु" भन्ने बुझिन्छ। यसरी पहिले नै ठहराउनुको माने यो हो कि परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति एउटा महिमित भविष्य निर्धारित गर्नुभएको छ भन्ने हो, अर्थात् उहाँको आफ्नै पुत्रको रूपमा ढालिनु हो! (ख्रीष्टजस्तै बनिनु)।

"पहिले नै ठहराउनु" वा पूर्वनिर्धारण (predestination) शब्दको प्रयोग

१) प्रेरित ४:२८-- "पहिलेबाट ठहराएका थिए" (सन्दर्भमा अघिल्ला पदहरू पढ्नुहोस्)। यी मानिसहरूले जे गरे त्यो चाहिँ ठ्याक्कै परमेश्वरको योजना र मनसाय र पूर्वनिर्धारणबमोजिम नै हुन पुग्यो! ख्रीष्टलाई क्रूस टँगाउँदै गर्दा उनीहरूले परमेश्वरकै अनन्त मनसायलाई पूरा गर्दैछन् भन्ने कुराको उनीहरूलाई कुनै महसुस थिएन। प्रेरित २:२३ सित तुलना गर्नुहोस् ("ठहराइएको योजना" उही शब्द हो, मात्र यसको अगाडिपट्टि "पहिले नै" ('प्रो') भन्ने उपसर्ग जोडिएको छैन)। मानिस आफ्नो दुष्ट कामका लागि दोषी र जिम्मेवार छ तर परमेश्वरको मनसाय पूरा भएको पनि छ। लूका २२:२२ सित तुलान गर्नुहोस् --"ठहराएअनुसार" -- त्यो परमेश्वरको योजनामा सीमा तोकिसकिएको कुरा थियो र ठहराइसकिएको थियो कि उहाँको पुत्र क्रूसमा जानुपर्छ र पापी मानिसका हातमा सुम्पिइनुपर्छ, तरैपनि यहूदा आफ्नो यस दुष्ट कामको निम्ति पूरै जिम्मेवार ठानिए! उसमाथि परमेश्वरकै हाय रहेको छ! प्रेिरत ४:२२७-२८ मा हामी देख्छौं कि ख्रीष्टका शत्रुले गरेका कामहरू परमेश्वरकै सिद्ध योजनाको सीमानाभित्र नै पर्थे जोचाहिँ ख्रीष्टको क्रूसीकरणमा केन्द्रित थियो। अनादिकालमा परमेश्वरले येशू ख्रीष्ट क्रूसमा मर्नुहुनेछ भनेर ठहराउनुभयो र यो योजना हुबहु पूरा भयो। परमेश्वरले आफ्नो मनसाय पूरा गर्नलाई पापी मानिसका खराब क्रियाकलापलाई प्रयोग गर्नुभयो।

२) १ कोरिन्थी २:७ -- संसार (युगहरू) को अघि नै परमेश्वरले उहाँको बुद्धिलाई हाम्रो महिमाको निम्ति ठहराउनुभयो। सन्दर्भले परिभाषित गरे अनुसार यहाँ "परमेश्वरको बुद्धि" भन्नाले क्रूसमा टँगाइनुभऐको ख्रीष्ट भन्ने बुझिन्छ (१ कोरिन्थी १:२३-२४; २:२; २:८)। यसरी हामीले यस मानेलाई वाक्यमा राख्न सक्छौं: "संसारको अघि नै परमेश्वरले क्रूसमा टँगाइनुभएको ख्रीष्टलाई हाम्रो महिमाको निम्ति ठहराउनुभयो।" अनादिकालमा परमेश्वरले आफ्नो असीम बुद्धिमा प्रतिफलस्वरूप विश्वासीको महिमा हुने गरी ख्रीष्ट क्रूसमा टँगाइनुहुनेछ भनी ठहराउनुभयो। यसर्थ, १) परमेश्वरको अहन्त योजना उहाँको बुद्धि अनुसार छ; २) परमेश्वरको अनन्त योजना उहाँको पुत्रको क्रूसको कार्यमा केन्द्रित छ; ३) परमेश्वरको अनन्त योजना अपरिवर्तनीय छ -- त्यो अनादिकाल ("युगहरूको अघि नै") ठहराइएको थियो; ४) परमेश्वरको अननन्त योजनाले विश्वासीहरूको महिमाकरणलाई समेटेको छ ("हाम्रो महिमाका निम्ति")। रोमी ८:३० सित तुलना गर्नुहोस् -- "उनीहरूलाई उहाँले महिमा पनि दिनुभयो।"

३) एफेसी १:४-५ -- परमेश्वरले विश्वासीको निम्ति एउटा एकदम महिमित भविष्यको सीमानाहरू कोरेर तय गर्नुभएको छ। हाम्रो महिमापूर्ण भविष्य "धर्मपुत्र ग्रहण" भन्ने शब्दले बयान गर्दछ (जसरी हामीले रोमी ८:२३ मा अध्ययन गर्यौं)। परमेश्वरका पुत्रहरू भनी स्थानमा राखिएको हैसियतले प्राप्त हुने अधिकारहरू र विशेषाधिकारहरू र उपलब्धिहरू र आशिषहरू र हकको सम्पत्तिहरू विश्वासीहरूले प्राप्त गर्नेछन्!) एफेसी १:११-१२ सित तुलना गर्नुहोस्।

४) रोमी ८:२९ -- हाम्रो भविष्यको गन्तव्य पक्का गरिएको छ: "उहाँको पुत्रको रूपमा ढालिऊन्"। यसको प्रक्रिया चाहिँ हरेक दिन अगाडि बढ्दैछ (२ कोरिन्थी ३:१८), तर यसको पूरा अनुभव गरिनलाई भने भविष्यको पूरा हुवाइ पर्खिरहेको छ (१ यूह्ना ३:१-४)। हामी उहाँजस्तै हुनेछौं! ख्रीष्टिय जीवनको लक्ष्य भनेको यही हो। पूर्वनिर्धारण चाहिँ उक्त लक्ष्य हासिल हुने नै छ भन्ने कुराको ग्यारेन्टी हो! म जहाँ पुग्नुपर्छ त्यहाँ मलाई परमेश्वरले पुर्याउनुहुनेछ!

"तब पुग्छौं जहाँ चाहन्छौं
जे बन्नुछ तब बन्छौं
जे अहिले नपाउन सक्ने
तब पाउनेछौं!"

यो साँच्ची नै परमेश्वरको बुद्धि हो -- हामी जसले आदमलाई (उनको पतित पापपूर्ण अवस्थामा) प्रतिबिम्बित गर्यौं, एक दिन ख्रीष्टलाई सिद्धरूपमा प्रतिबिम्बित गर्नेछौं!

नोट: "पूर्वनिर्धारण" (पहिले नै ठहराउनुभयो, predestination) भन्ने शब्दलाई बाइबलमा कहिल्यै पनि निम्न तरिकामा प्रयोग गरिएको छैन: १) परमेश्वरले कोही व्यक्तिहरूलाई ख्रीष्टमा विश्वास गरोस् भनेर पूर्वनिर्धारित गर्नुभयो; २) परमेश्वरले केही व्यक्तिहरूलाई नरकमा पुगोस् भनेर पूर्वनिर्धारित गर्नुभयो।

रोमी ८:२९ मा "जेठा" भन्ने शब्दले ख्रीष्टलाई जनाउँदछ र यसको माने "ओहोदामा जो सबभन्दा उच्च छ" भन्ने हुन्छ। ख्रीष्टचाहिँ सर्वोच्च पुत्र हुनुहुन्छ, जोचाहिँ पहिलो स्थानको हुनुहुन्छ (यूहन्ना ३:१६ सित तुलना गर्नुहोस् -- "एक मात्र जन्माइएको" अथवा अद्वित्तीय, एकै किसिमको मात्र, पुत्र)। ख्रीष्ट उहाँद्वारा परमेश्वरका पुत्रहरू बनाइएका अनगिन्ती भीडको शिर र प्रमुखको रूपमा खडा हुनुहुन्छ। ख्रीष्ट अद्वित्तीय पुत्र हुनुहुन्छ, तर उहाँले "धेरै पुत्रहरूलाई महिमामा" ल्याउनुहुन्छ (हिब्रू २:१०)।

३) तेस्रो कडी -- "उनीहरूलाई उहाँले बोलाउनु पनि भयो" परमेश्वरको अनन्त मनसायको सिक्रीको अर्को कडी हो: बोलाउनुभयो! अठ्ठाइसौं पदमा हामीले यो शब्द देखेका थियौं -- "जो उहाँकै मनसायअनुसार बोलाइएका छन्"। बोलाइएकाहरू को हुन्? सबै मानिसहरू ता होइनन्, किनकि अठ्ठाइसौं पदले उनीहरू "परमेश्वरलाई प्रेम गर्नेहरू" हुन् भनेर जनाइएका छन् (साँचो विश्वासीहरू, जोहरू परमेश्वरका हुन्, जसलाई पहिले नै जान्नुभयो, इत्यादि)। अवश्य नै, एउटा साधारण अर्थमा सबै मानिसहरू मुक्तिका निम्ति बोलाइएका हुन्छन् र सबै मानिसहरूलाई ख्रीष्टकहाँ निम्तो दिइएका हुन्छन्। मुक्तिका निम्ति दिइने यो विश्वव्यापी, सर्वसाधारण बोलावट वा निमन्त्रणालाई निम्न खण्डहरूमा देख्न सकिन्छ: रोमी १०:९-१३; मत्ती ११:२८; यूहन्ना ३:१६; यूहन्ना ७:३७-३८; प्रकाश २२:१७; इत्यादि। तर एउटा विशेष अर्थ छ जसअन्तर्गत परमेश्वरले केवल तिनीहरूलाई मात्र बोलाउनुहुन्छ जोहरू त्यो सुसमाचारको सर्वसाधारण बोलावटलाई स्वीकार गर्दछन् (जोहरू ख्रीष्टकहाँ आउँछन् र साँच्ची नै उहाँको हुन्)। यसरी १ कोरिन्थी १:२४-२७ जस्ता खण्डमा "बोलाइएकाहरू" भन्नाले परमेश्वरका चुनिएकाहरू, जोहरू साँच्ची नै बचाइएका छन् भन्ने बुझिन्छ। धेरैजना बोलाइएका छैनन् (१ कोरिन्थी १:२६) तर कोही-कोही भने छन्। २ तिमोथी १:९; १ पत्रुस १:१५; २:९; ५:१०; २ पत्रुस १:३; १:१०; प्रकाश १७:१४ पढ्नुहोस्, "बोलाइका", "चुनिएका", "विश्वासयोग्य"। ख्याल राख्नुस् कि यी सबै पदहरूले साँचो विश्वासीको कुरा गर्दैछन्, सर्वसाधारण रूपमा सबै मानिसको कुरा होइन। परमेश्वरले हामीलाई उहाँकहाँ बोलाउनुभएको छ (१ कोरिन्थी १:९) ता कि हामी उहाँको हुन सकौं।

४) चौथो कडी -- "उनीहरूलाई उहाँले धर्मी पनि ठहराउनुभयो" परमेश्वरले मलाई उहाँको धर्मी पुत्रमा धर्मी ठहराउनुभएको छ। हामीले यस अध्ययनमा धर्मीकरणको शिक्षाको विस्तृत अध्ययन गरिसकेका छौं (रोमी ३:२४-५:१)। प्रेरित १३:३९ पनि पढ्नुहोस्।

५) पाँचौं कडी -- "उनीहरूलाई उहाँले महिमा पनि दिनुभयो" विश्वासीको महिमाकरण भविष्यको घनटा हो। त्यो भइसकेको छैन (रोमी ८:१७-१८ अन्तर्गत यसको चर्चा गरिएको थियो)। हामी स्वर्ग पुगिसकेका छैनौं! हाम्रो मुक्ति पूरा हुन बाँकी नै छ! हामी अझै "ख्रीष्टजस्तो भइसकेका छैनौं" तर हामी हुनेछौं। हामीले नयाँ महिमित शरीरहरू पाइसकेका छैनौं। हामी पापरहित भइसकेका छैनौं! तर यस पदमा परमेश्वरले भन्नुहुन्छ, तिमी भइसकेका छौ! मैले तिमीलाई महिमा दिइसकें! भइसक्यो! भूतकालको प्रयोग भएको छ यहाँ! विश्वासीको दृष्टिकोणबाट हेर्दा भइसकेको त छैन। तर परमेश्वरको विचार र मनसायमा, त्यो भइसकेको छ! त्यो पूरा भइसक्यो! यो महिमाकरणको भविष्यको घटना यति निश्चित छ कि त्यो पूरा भइसकेको जस्तै छ। त्यो फत्ते भइसकेको कुरा हो यद्यपि हाम्रो दृष्टिकोणबाट त्यो अझ भइसकेको छैन।

सिक्रीका पाँच कडीहरूलाई पुनःउल्लेख गरी पुनरावलोकन गरौं:

  1. १) पूर्वज्ञान (FOREKNOWLEDGE) -- संसार उत्पन्न हुनुभन्दा पहिले नै परमेश्वरले मलाई चिन्नुहुन्थ्यो र म उहाँको हुनेछु भनेर परमेश्वर जान्नुहुन्थ्यो। यो भनेको एक विशेष, प्रेमिलो सम्बन्धको कुरा हो।
  2. २) पूर्वनिर्धारण (PREDESTINATION) -- अनादिकालमा परमेश्वरले मेरो निम्ति एउटा सुन्दर भविष्य रेखाङ्कित गर्नुभयो कि म उहाँको पुत्र जस्तै बनूँ।
  3. ३) बोलावट (CALLING) -- परमेश्वरले मलाई अचम्म तरिकामा आफूकहाँ ल्याउनुभयो, मेरो अन्धकारबाट उहाँको अचम्मको ज्योतिभित्र ल्याउनुभयो।
  4. ४) धर्मीकरण (JUSTIFICATION) -- परमेश्वरले मलाई उहाँको धर्मी पुत्रमा सिद्ध रूपमा धर्मी ठहराउनुभयो जुनचाहिँ प्रभु येशू ख्रीष्टको क्रूसको कामको आधारमा छ।
  5. ५) महिमाकरण (GLORIFICATION) -- परमेश्वरले मेरो मुक्तिलाई पूरा गर्नुहुनेछ र परमेश्वरको विचार र योजनामा त्यो पूरा भइसके बराबर छ!

यी पाँच कुराहरू प्रत्येक विश्वासी जनको सवालमा साँचो हुन्छ भन्ने कुरालाई टिप्पणी गरिनुपर्छ। तपाईंले पाँचओटामा केवल एउटा मात्र कुरा पाउन सक्नुहुन्न। पहिले नै जानिएको हुन तर धर्मी ठहरिएको नहुन असम्भव छ। धर्मी ठहरिएको हुन तर महिमा दिइएको नहुन असम्भव छ (यसर्थ, एक व्यक्तिले मुक्ति गुमाउनु असम्भव छ!)। बोलाइएको हुन तर धर्मी ठहरिएको नहुन असम्भव छ: "जसलाई उहाँले बोलाउनुभयो, उनीहरूलाई उहाँले धर्मी पनि ठहराउनुभयो।" के कुनै व्यक्तिको सवालमा पाँचओटामा तीनटा मात्र साँचो हुन सक्छ त? अहँ, पाँचैओटा साँचो हुनुपर्छ। कि त सबै पाइएको हुन्छ कि त एउटै पनि नपाइएको हुन्छ! निज कि ता बाँचेको हुन्छ कि त नबाँचेको हुन्छ र बाँचेको हो भने यी पाँचैओटा कुरा उसका हुन्छन्। साथै हामीले यो टिप्पणी पनि गर्नुपर्छ कि जोहरू कहिल्यै विश्वासी बन्दैनन् उनीहरूको सवालको यीमध्ये कुनै पनि कुराहरू साँचा हुँदैनन्। यहूदा पहिले नै जानिएको, पहिलै नै ठहराइएको, बोलाइएको, धर्मी ठहराइएको वा महिमा दिइएको कहिल्यै थिएन।

कसैले भन्ला, "तर मा पहिले नै जानिएको छु वा पहिले नै ठहराइएको छु वा बोलाइएको छु भन्ने कुरा कसरी जान्न सक्छु? मेरो निम्ति यी कुरा साँचो छन् भनेर म कसरी पक्का हुन सक्छु? यो मुक्तिको सिक्रीको म एक भागीदार हुँ भनेर म कसरी जान्न सक्छु? चाबी चाहिँ सिक्रीको चौथो कडी हो: धर्मीकरण। आफू धर्मी ठहरिएको छु भनेर के एक व्यक्तिले जान्न सक्छ? बिलकुल जान्न सक्छ। प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने प्रत्येक व्यक्ति धर्मी ठहरिन्छ भनेर बाइबलले सफासित बताएको छ। हेर्नुहोस्: रोमी ३:२२-२६; ३:३०; ४:१-५; ४:२४-२५; ५:१। हरेक विश्वासीले मुक्ति पाएको छ (प्रेरित १६:३१) र हरेक बचाइएको व्यक्ति धर्मी ठहरिएको छ (१ कोरिन्थी ६:९-११)। ख्रीष्टमा साँचो विश्वासी भएर पनि धर्मी नठहरिएको भन्ने त्यस्तो कुनै व्यक्ति हुँदैन। अनि यदि सिक्रीको एउटा कडी मेरो सवालमा साँचो छ भने (धर्मीकरण), अन्य चारओटा कडीहरू पनि साँचो हुनुपर्छ (पूर्वज्ञान, पूर्वनिर्धारण, बोलावट र महिमाकरण) किनभने सिक्री चाहिँ एउटा सिङ्गो सिक्री हो र यो तोडिन सक्दैन। ख्रीष्टको क्रूसमा सम्पन्न भएको काममाथि भरोसा गर्ने व्यक्तिले आफू परमेश्वरको योजना र मनसायमा समावेश गरिएको छु कि छैन भनेर चिन्ता गर्नुपर्दैन! त्यो त सदाको लागि पक्का भइसकेको छ! परमेश्वरको मुक्तिलाई प्रेम गर्ने जति सबैले निरन्तर भनोस्, "प्रभुको महिमा होस्!"

नोट: एउटा चर्चित सुसमाचारिय पर्चादेखि हामी होशियार हुनुपर्छ जुन पर्चा यसरी सुरु हुन्छ: "परमेश्वर तपाईंलाई प्रेम गर्नुहुन्छ र तपाईंको निम्ति उहाँको एउटा सुन्दर योजना छ।" उहाँको पुत्रलाई इन्कार गर्नेहरूका निम्ति जो कुरा परमेश्वरले साँचेर राख्नुभएको छ त्यो सुन्दर त छैन (यूहन्ना ३:१८; ३:३६; २ थेस्सलोनिकी १:८-९ इत्यादि)। परमेश्वरको सुन्दर योजना त परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति हो, उहाँको मनसायअनुसार बोलाइएकाहरूला निम्ति हो (रोमी ८:२८)। एउटा व्यक्तिले मुक्ति पाएको स्पष्ट प्रमाण दिएको छ भने तब हामीले उसलाई रोमी ८:२८-३० मा पाइने सुन्दर सत्यताहरूलाई दाबी गर्न हौसला दिन सक्छौं, तर यस्ता खण्डहरूलाई हामीले होशै नगरी मुक्ति नै नपाएकाहरूको निम्ति कहिल्यै प्रयोग गर्नुहुँदैन। भन्नुपर्दा, रोमी ८ का सबै महान् सत्यताहरू केवल "ख्रीष्टमा" (रोमी ८:१) साँच्ची नै भएकाहरूका लागि मात्र हुन्। अर्कोतिर, हामीले कहिल्यै बिर्सनुहुन्न कि परमेश्वरले सबै मानिसहरू सत्यको पूर्ण ज्ञानमा आएको चाहनुहुन्छ (१ तिमोथी ३:३-४)।

रोमी ८:३१

तब हामी यी कुराहरूको विषयमा के भनौं? परमेश्वरले यदि यी सब गरिदिनुभएको छ भने (रोमी ९:२८-३०), म के भन्न सक्छु? हामी केवल यसरी निरन्तर भन्न सुरु गरौं, "धन्यवाद छ प्रभु!" परमेश्वर यदि हाम्रो पक्षमा हुनुहुन्छ भने को हाम्रो विरोधमा हुन सक्ला? जवाफ स्पष्ट छ: कोही पनि सक्दैन! धेरैजना हाम्रो विरोधमा हुन सक्छन् र विश्वासीहरूका धेरै शत्रु हुन सक्छन्, तर यदि परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने, जोसुकै हाम्रो विरोधमा भए पनि फरक पार्दैन! भजनसङ्ग्रह ११८:६ र हिब्रू १३:६ पढ्नुहोस्। अब यसपछिका पदहरूले कसरी परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भन्ने कुरा देखाउँछन्। ३२ औं पदमा उहाँ हाम्रो निम्ति मर्नुभएको कुरा र ३४ औं पदमा उहाँ हाम्रो निम्ति जिउनुहुन्छ भन्ने कुरा देख्छौं!