रोमी ९:१-५

यस पृष्ठलाई छाप्नुहोस्

रोमी अध्याय ९

रोमी अध्याय ९ — परिचय

रोमीको ९ देखि ११ अध्याय एउटा सिङ्गो एकाई हो। यी तीन अध्यायको विषयवस्तु इस्राएल जाति हो (९:३-४; १०:१,२१; ११:१-२,२६-२८ मा हेर्नुहोस्)। यी अध्यायहरूलाई एक हिसाबले उपवाक्यको रूपमा लिन सकिन्छ। विचारको प्रवाहलाई अध्याय ८ बाट सीधै अध्याय १२ मा जोड्न सकिन्छ। पहिलो आठ अध्यायहरूमा पावलले परमेश्वरको सुसमाचारलाई प्रस्तुत गरे, अर्थात् धर्मीकरणको असल खबर (रोमी १-५), पवित्रीकरणको असल खबर (रोमी ६-८) र महिमाकरणको असल खबर (रोमी ८)। अध्याय १२ मा उनले सुसमाचारको व्यावहारिक पक्षलाई प्रस्तुत गर्छन् अर्थात् सुसमाचारको सत्यतालेहाम्रो दैनिक जीवनलाई परमेश्वरसितको र हाम्रो छिमेकीसितको सम्बन्धमाके कसरी प्रभाव पार्नुपर्छ भन्ने कुरा देखाउँछन्। यसरी आठौं अध्याय स्वभावैले बाह्रौं अध्यायसित जोडिन्छ तर त्यसो गर्नुको सट्टा पावलले हामीलाई तीन-तीन अध्याय लामो उपवाक्य प्रदान गर्छन् जसमा उनले हामीलाई परमेश्वरको मनसाय र योजनामा इस्राएल जातिको के कस्तोस्थानरहेको छ भन्ने कुरा बुझ्न मदत गर्दछन्।

यो खण्ड ठूलो पीडाबाट सुरु हुन्छ (९:१-३) र यसकोअन्तचाहिँ परमेश्वरलाई ठूलो प्रशंसासहित हुन्छ (११:३३-३६)। यी तीन अध्यायहरूलाई सरल ढङ्गले विचार गर्ने एउटा तरिका यस प्रकार छ:अध्याय ९ मा इस्राएलको खास गरी विगतको चर्चा गरिएको छ (परमेश्वरको चुनिएको र विशेषाधिकार प्राप्त जातिको रूपमा)

अध्याय १० मा इस्राएलको खास गरी वर्तमानको चर्चा गरिएको छ (परमेश्वरको सुसमाचारको अधीनमा आउन अस्वीकार गरेको जातिको रूपमा)
अध्याय ११ मा इस्राएलको खास गरी भविष्यको चर्चा गरिएको छ (एक दिन बचाइने जातिको रूपमा जसले नयाँ करारका प्रतिज्ञाहरूको पूरा हुवाइको आनन्द अनुभव गर्नेछन्)।

यस खण्डलाई बुझ्न हामीले आफूलाई पहिलो शताब्दीमा जिउने व्यक्तिहरूको ठाउँमा राख्ने प्रयास गर्नुपर्छ र यहूदी समस्यालाई बुझ्ने प्रयास गर्नुपर्छ।तथ्य #१ — इस्राएल परमेश्वरको चुनिएको जाति हो (व्यवस्था ७:६-९; रोमी ११:२८)

तथ्य #२ — परमेश्वरले आफ्नो चुनिएको जातिलाई उनीहरूले आफ्ना मसीहको मातहतमा एक महिमापूर्ण राज्यको सुःखद अनुभव गर्नेछन् भन्ने प्रतिज्ञा गर्नुभएको थियो (दानियल ७:१३-१४; यशैया २:१-५; ९:६-७; ११:१-९; यर्मिया २३:५-८; ३१:३१-३७; ३३:१४-१६; लूका १:३२-३३)।

तथ्य #३ — इस्राएल जाति (कमसे कम इस्राएल जातिको अधिक भाग) ले आफ्नो मसीहलाई उहाँ पृथ्वीमा आउनुहुँदा अस्वीकार गरे (यूहन्ना १:११; मत्ती १२:२२-२४; मत्ती २१:३३-४६; २७:२२,२३,२५; यूहन्ना १९:१५; प्रेरित २२:२२; १ थेस्सलोनिकी २:१४-१५)।

तथ्य #४ — सुरुमा सिङ्गो मण्डली यहूदी विश्वासीहरूले बनेको थियो (प्रेरित अध्याय २, पेन्टेकोस्टको दिन)। तर विस्तारै यस संरचनामा बदली आयो। समय बित्दै जाँदाअन्यजातिहरूको सङ्ख्या झन् झन् वृद्धि भयोतर यहूदीहरूको सङ्ख्यात्मक वृद्धि थोरै मात्रामाभयो (यो हामी प्रेरितको पुस्तकको घटनाक्रमलाई हेर्दा र साथै मण्डली इतिहासलाई समग्रमा हेर्दा पनि देख्न सक्छौं)। आज मण्डली झण्डै पूर्ण रूपमा नै अन्यजातिहरूले बनिएको पाइन्छ (अनि मण्डली इतिहासको अधिकांश समयमा पनि यस्तै थियो)। प्रभु येशूलाई आफ्नो मसीहको रूपमा विश्वास गर्ने यहूदीहरूका लागि हामी धन्यवाद दिन्छौं, तर उनीहरू थोरै सङ्ख्यामा छन्। इस्राएल जाति सिङ्गो रूपमा अन्धा छ तर, खुसीको कुरा त्यहाँ केही अपवादहरू छन् (रोमी ११:२५ मा हेर्नुहोस्)।

के तपाईंले समस्या बुझ्न थाल्नुभयो? तथ्य #१ र #२ लाई तथ्य #३ र #४ ले काटेको जस्तो देखिन्छ। इस्राएलको गरिमामय राज्य कहाँ गयो? यहूदीहरूलाई दिइएका ती सबै प्रतिज्ञाहरूलाई के भयो? वर्तमानको लागि रहेको परमेश्वरको योजना (मण्डली) खास गरी अन्यजातिहरूमा केन्द्रित छ, यहूदीहरूमा होइन। किन यस्तो? के परमेश्वरले आफ्नो जातिलाई त्याग्नुभएको हो (रोमी ११:१ सित तुलना गर्नुहोस्)? के परमेश्वरलाई अब इस्राएल जातिको कुनै काम छैन? परमेश्वरको योजनामा यस जातिका निम्ति कुनै भविष्य बाँकी छ?

तपाईंले आफैलाई पहिलो शताब्दीको यहूदीको ठाउँमा राख्नुहोस्। पावलले प्रचार गरेको सुसमाचार या त साँचो थियो या त झूटो। पावल प्रेरितले प्रचार गरेका येशू ख्रीष्ट या त साँचो मसीह हुनुहुन्थ्यो या त हुनुहुन्नथ्यो। यसैले यहाँ दुई विकल्पहरू छन्: १) पावलले प्रचार गरेको सुसमाचार साँचो होइन, त्यसैले येशू ख्रीष्ट साँचो मसीह हुनुहुन्न र हामी साँचो मसीहको आगमनलाई पर्खनुपर्छ। यदि त्यसो हो भने, राज्य आइनसक्नुको कारण साँचो मसीह आउन बाँकी भएकोले हो। २) पावलले प्रचार गरेको सुसमाचार साँचो हो त्यसैले येशू ख्रीष्ट साँचो मसीह नै हुनुहुन्छ। यदि यसो हो भने राज्य किन स्थापना भएन त? यहूदी जाति किन यस संसारमा दुःख भोगिरहेका छन् त? पुरानो नियममा उल्लेखित राज्य सम्बन्धीका प्रतिज्ञाहरू किन पूरा भएका छैनन् त? के परमेश्वरले आफ्नो जातिलाई त्याग्नुभयो त? यिनै प्रश्नका जवाफस्वरूप परमेश्वरले हामीलाई रोमी ९-११ अध्यायहरू दिनुभएको छ।यी मुद्दाहरू आज पनि ज्यादै सान्दर्भिक छन्। ख्रीष्टलाई स्वीकार्ने व्यक्तिहरूमध्ये आज त्यस्ता कतिपय छन्, विशेष गरी रिफर्म्ड/कभेनन्ट ईश्वरशास्त्रको प्रभावमुनि रहेकाहरू, जोहरू इस्राएल जातिलाई भावी राज्यको कुनै आशा दिन मान्दैनन् जुन राज्य इस्राएलको मसीहको अधीनतामा पृथ्वीमै स्थापना हुने कुरा पुरानो नियमका सयौं भविष्यवाणीहरूमा पूर्वउल्लेखित छ। कसैकसैले यो सिकाउँछन् कि इस्राएललाई दिइएका प्रतिज्ञाहरू मण्डलीको अधिकारमा सर्न गएको छ। अरूहरूले यो सिकाउँछन् कि राज्य भनेको यहीँ छ, अहिले नै छ र ख्रीष्ट आफ्ना जनहरूको हृदयहरूमा राज्य गर्दैहुनुहुन्छ। एक अर्थमा यो साँचो भए तापनि यसले कुन चाहिँ कुराको समाधान गर्दैन भने राज्य सम्बन्धित आजसम्म पूरा नभएका त्यहाँ सयौं त्यस्ता प्रतिज्ञाहरू र भविष्यवाणीहरू छन्। राज्य लगायत आउनुहुने मसीहका बारेमा जेजस्ता कुराहरू परमेश्वरले पहिले गर्नुभयो, के उहाँले त्यसबारे त्यही नै भन्नुभएको हो त? त्यसैले रोमी ९-११ अध्यायहरू परमेश्वरको योजनामा इस्राएलको स्थान बुझ्नलाई एकदमै महत्त्वपूर्ण छन्।

परमेश्वर इस्राएल जातिसित के गर्दै हुनुहुन्छ? यसको जवाफ मूल रूपमा दुई पाटामा छन्:

१) वर्तमानमा नै एक यहूदीकोनिम्ति परमेश्वरको एउटा सुन्दर योजना र उद्देश्य छ, तर यो योजना र उद्देश्य तबसम्म वास्तविक बन्दैन जबसम्म उसले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दैन। रोमी १०:९-१३; ११:१-५।

२) भविष्यमा पनि एक यहूदीकोनिम्ति परमेश्वरको एउटा सुन्दर योजना र उद्देश्य छ, तर यो योजना र उद्देश्य तबसम्म वास्तविक बन्दैन जबसम्म यहूदीहरूका साँचो मसीह यस पृथ्वीमा दोस्रो पटक फर्केर आउनुहुन्न। हेर्नुहोस् रोमी ११:२५-२८। वर्तमानमासमयमा इस्राएलले सुसमाचारलाई अस्वीकार गरेको छ अविश्वास गरेको छ तरैपनि यस कुराले परमेश्वरलाई उहाँका राज्य सम्बन्धी प्रतिज्ञाहरू पूरा गर्न रोक्नेछैन जुन प्रतिज्ञाहरू उहाँले इस्राएललाई दिनुभएको छ (रोमी ११:२८)।

वर्तमान मण्डली युग (जो झण्डै २००० वर्ष लामो भइसक्यो) पुरानो नियममा प्रकट गरिएको थिएन। पुरानो नियमको यहूदीले दूर्गम भविष्यलाई हेर्दा उसले एउटा पहाडको चुचुरो देख्थ्यो जुनचाहिँ मसीहको आगमन र राज्यको महान् युग थियो। उसले वास्तवमापहाडका दुईटा चुचुरालाई एउटै जस्तो देखिरहेका थिए र बीचमा एउटा बेसी पनि छ भन्ने कुरा महसुस गर्न सक्दैनथे:

यस कुरालाई दर्शाउने पुरानो नियमका केही खण्डहरूलाई विचार गर्नुहोस्:

१) यशैया ९:६-७

६ पदले मसीहको जन्मको कुरा गर्दछ र पद ७ ले उहाँको राज्यको कुरा गर्दछ तर यी दुई घटनाका बीच सयौं वर्षको अन्तराल छ भन्ने कुराको त्यहाँ कुनै छनक पाइँदैन।

२) मीका ५:२

मसीह बेथलेहेममा जन्मनैपर्छ र उहाँ इस्राएलमा शासक हुनैपर्छ। पहिलो आगमनमा यसमध्ये पहिलो घटना मात्र पूरा भयो।

३) यशैया ६१:१-२ (लूका ४:१८-१९ सित तुलना गर्नुहोस्)

भविष्यवाणीको कुन ठाउँमा पुगेर पढ्न रोक्नुपर्छ भन्ने कुरा प्रभु येशू जान्नुहुन्थ्यो किनकि उहाँको पहिलो आगमनमा अगमवाणीको कुनचाहिँ भाग पूरा हुन्छ भनेर उहाँ जान्नुहुन्थ्यो। न्यायको दिन आउनलाई त्यसले उहाँको दोस्रो आगमनलाई पर्खिरहेको छ।

४) जकरिया ९:९-१०

यस अगमवाणीको कुन भाग प्रभुको पहिलो आगमनमा पूरा भयो? (मत्ती २१:४-५ सित तुलना गर्नुहोस्)। यस अगमवाणीको कुन भागले भविष्यको पूरा हुवाइलाई पर्खनुपर्छ?

५) लूका १:३१-३३

नयाँ नियमको अगमवाणी माथि उल्लेखित पुरानो नियमका अगमवाणीहरूसित मिल्दोजुल्दो छ यस हिसाबले कि एक खण्ड पहिलो आगमनसित सम्बन्धित छ र अर्को खण्ड पूरा हुन दोस्रो आगमनलाई पर्खनुपर्छ।

पुरानो नियमको यहूदीले आफ्नो बाइबल पढ्दाहुँदी उसले केवल एउटै मात्र आगमन देख्न सक्थ्यो। आज हामी ख्रीष्टका दुई आगमनहरूको बीचमा बाँिचरहेका छौं जुन समय उहाँले आफ्नो मण्डली निर्माण गर्दैहुनुहुन्छ (मत्ती १६:१८) र आफ्नो नामका निम्ति जातिहरूका बीचबाट एउटा जाति निकाल्दै हुनुहुन्छ (प्रेरित १५:१४)। आज हामी बाइबल पढ्नेहरूलाई के फाइदा छ भने हामीले ख्रीष्टका दुई फरक-फरक आगमनहरूलाई पहिलेकाहरूले भन्दा प्रस्ट देख्न सक्छौं -- एउटा आगमन इतिहास भइसक्यो र अर्को अझ पनि अगमवाणीकै रूपमा छ (उहाँ आउनुभयो र उहाँ फेरि आउनुहुनेछ)!

रोमी ९:१

आठौं अध्यायमा पावलले ख्रीष्टमा रहेकाहरूको महिमित सुरक्षा र सुिनश्चयताको बारेमा लेखे। अब नवौं अध्यायमा उनी ख्रीष्टमा नरहेका बहुसङ्ख्यक इस्राएलीहरूका बारेमा अत्यन्तै फिक्रीमा परेको भेट्टाउँछौं। "म साँचो बोल्दछु", "म झूट बोल्दिनँ" -- आफूले बताउन लागेको कुराको निम्ति पावलले हामीलाई तयार गराउँदैछन्। उनले बताउन लागेको कुरा यति अपत्यारिलो छ कि उनले साँच्ची नै सत्य बोल्दैछन् भन्ने कुराको आश्वासन आफ्ना पाठकहरूलाई दिनु परेको छ। आफू सत्य बोल्दैछु भन्ने कुरालाई स्पष्ट पार्न पावलले सो कुरा तीन-तीन फरक तरिकाले व्यक्त गर्दछन्: १) "म ख्रीष्टमा साँचो बोल्दछु" (ख्रीष्टबिना उनले यो भन्न सक्दैनथे किनकि ख्रीष्टबिना उक्त कुरा असत्य हुन्थ्यो); २) "म झूट बोल्दिनँ" (अपत्यारिलो भए तापनि मैले भन्न लागेको कुरा साँचो हो); ३) "मेरो विवेकले पनि पवित्र आत्मामा मसित गवाही दिन्छ।" यदि पावलले झूट बोलिरहेका भए पवित्र आत्माले उनको विवेकलाई घोच्नुहुनेथ्यो र कायल पार्नुहुनेथ्यो र पावलको विवेकले, "पावल, तिमी झूट बोल्दैछौ" भन्दै उसलाई कुनै शान्ति दिनेथिएन। आफूसित दोषी विवेक छैन भनी पावल जान्दथे। सत्य बोल्दैछु भनी उनी जान्दथे।

रोमी ९:२

"भारी शोक" = दुःख, पीडा। पावल अत्यन्तै दुःखित थिए र गहिरो शोकमा थिए। "नटुङ्गिने" = नरोकीकन, निरन्तर (१ थेस्सलोनिकी ५:१७), अटुट, अविरल। "पीडा" = हाय, पीडाहरू (१ तिमोथी ६:१०)। यहाँ हामी यदि पावलको मात्र शोकदेख्छौं भने हामीले सिङ्गो दृश्य देखिरहेका छैनौं। हामीले पावलको शोक भन्दा पर हेर्नुपर्छ र आफ्नो चुनिएको जाति इस्राएलका निम्ति प्रभु आफै रोइरहनुभएको र दुःखित हुनुभएको र शोकित हुनुभएको देख्नुपर्छ (ठीक जसरी रूने अगमवक्ता यर्मिया स्वयं यहोवाकै शोकित हृदयका तस्वीर थिए)। रोमी ११:२८ मा ("शत्रुहरू") र विशेष गरी १ थेस्सलोनिकी २:१५ मा भेटिने पावलका ज्यादै कडा अभिव्यक्तिहरूको दाँजोमा यो पद कतिलाई छक्कलाग्दो हुन सक्छ, तर पावल, उनका प्रभु जस्तै, एकातिर पापलाई घृणा गर्न तर अर्कोतिर पापीलाई प्रेम गर्न सक्थे।

रोमी ९:३

अब हामी पावलको अपत्यारिलो, स्तब्ध पार्ने अभिव्यक्ति पढ्छौं। "श्रापित" -- यो ज्यादै कडा शब्द हो (ग्रीक - "आनाथेमा")। यसको माने "श्रापित, विनाशको निम्ति अलग गरिएको कुरा, विनाशको निम्ति अर्पित कुरा, नाश भइछाड्ने कुरा, परमेश्वरबाट श्रापित र अलग राखिने कुरा।" गलाती १:८-९ र १ कोरिन्थी १६:२२ मा यसको प्रयोगलाई हेर्नुहोस्।

"इच्छा" = प्रार्थना गर्नु, चाहनु। "आफन्तहरू" = सह देशवासीहरू, एउटै जातिका सदस्यहरू।' पावल भन्दैथे, "इस्राएल बाँचोस् भन्ने हेतुले म नष्ट हुन (सदाका लागि श्रापित हुन, ख्रीष्टबाट बञ्चित र अनन्त विनाशका लागि अर्पित हुन) सके हुन्थ्यो भनेर मैले इच्छा गरिरहेको थिएँ।" यहाँ कसैले आपत्ति जनाएको अनुमान गर्न सकिन्छ: "पावल, म तिम्रो कुरा विश्वास गर्दिनँ। कसले त्यस्तो कुरा गरेर पनि साँचो बोलेको हुन सक्छ र? के साँच्ची नै तिमी इस्राएल बाँचोस् भन्ने हेतुले स्वर्ग त्यागेर नरक जान तयार छौ?" पावल भन्छन्, "म साँचो बोल्दछु! म झूट बोल्दिनँ!" ख्रीष्टबाट अलग भएर पावलले यस्तो कुरा भन्न सक्ने नै थिएनन् किनकि त्यो सत्य हुनेथिएन (पद १ सित दाँज्नुहोस् "म ख्रीष्टमा साँचो भन्दछु")। इस्राएलका निम्ति पावलको प्रेम र वास्ता मानवीय प्रेमभन्दा ज्यादै उच्च थियो। त्यो त उसभित्र हुनुहुने ख्रीष्टकै प्रेमभन्दा कम प्रेम थिएन। पावलले जे गर्न चाहन्थे ठीक त्यही काम ख्रीष्टले वास्तवमै गर्नुभयो! प्रभु येशू ख्रीष्टले स्वर्ग छोड्नुभयो (२ कोरिन्थी ८:९), र वास्तवमै नरक जानुभयो (यस अर्थमा कि उहाँलाई परमेश्वरले त्याग्नुभयो र दण्ड दिनुभयो) र हाम्रा निम्ति श्राप बन्नुभयो (गलाती ३:१३)। उहाँलाई परमेश्वरले त्याग्नुभयो (मत्ती २७:६) र उहाँलाई परमेश्वरले दण्ड दिनुभयो (यशैया ५३:५,६,१०) र त्यो नै नरकमा हुने अनुभव हो (मत्ती २५:४१,४६ र २ थेस्सलोनिकी १:८-९ मा त्यागिने र दण्डित हुने दुईटा तत्त्वलाई हेर्नुहोस्)। उहाँले हामीलाई बचाउने हेतुले यस्तो अद्भुत काम गर्नुभयो! यसलाई हामी भन्छौं "कलवरी प्रेम"। पावलले यस्तो कुरा व्यक्त गर्न सके किनभने उनको हृदय ख्रीष्टको प्रेमले भरिएको थियो अर्थात् त्यो प्रेम जसले ख्रीष्टलाई हाम्रा निम्ति वास्तवमै श्रापित बन्न अभिप्रेरित गर्यो ताकि हामी बाँच्न सकौं!

त्यो कुरा सारा इमानदारीपनमा र सत्यतामा उच्चारण गरिएको थियो, तरै पनि हामी बुझ्दछौं कि पावलको यो चाहना वास्तविक रूपमा पूरा हुन सक्दैनथ्यो। किन? १) रोमी ८:३८-३९: परमेश्वरको प्रेमदेखि उसलाई कुनै कुराले अलग पार्न सक्दैन भने ऊ श्रापित हुनु पनि सम्भव थिएन; २) त्यसको आवश्यकता पनि छैन किनकि ख्रीष्टले त्यो गरिसक्नुभयो! बरु पावलले आफ्नो जीवन एकजना मुक्तिदाताको सुसमाचार प्रचार गर्नलाई अर्पण गरे जुन मुक्तिदाताले पापीहरूलाई बचाउन वास्तवमै नरकको आगो र दण्ड बराबरको पीडा भोगिसक्नुभएको थियो, अनि पावल यो भन्छन् कि कसैले यो सुसमाचार प्रचार गर्दैन भने ऊ श्रापित होस् (गलाती १:८-९)। हाम्रो निम्ति यति धेरै गरिदिने ख्रीष्टलाई पनि एक व्यक्तिले किन प्रेम नगर्न सक्छ? (तुलना गर्नुहोस् १ कोरिन्थी १६:२२)। (आफ्ना जनहरूप्रतिको परमेश्वरको प्रेम र गहिरो दुःख र वास्ताले मोशाको हृदय भरिएको थियो -- प्रस्थान ३२:३२; उत्पत्ति ४४:३३ मा यहूदालाई २ शमूएल १८:३३ मा दाऊदको शोकसित दाँज्नुहोस्)।

रोमी ९:४

पावलले शरीरअनुसारकाआफ्ना दाजुभाइ तथा आफन्तहरूलाई "इस्राएलीहरू" भनेर जनाउँछन्, जोहरू याकूबबाट जन्मे जसको अर्को नाउँ इस्राएल थियो (उत्पत्ति ३२:२८)। परिभाषाअनुसार एक जातीय यहूदी त्यो हो जसले "मेरा पूर्वजहरू अब्राहाम, इसाहक र याकूब हुन्!" भन्न सक्छ। त्यसो भन्न नसक्नेहरू अन्यजाति हुन्। यस वर्तमान युगमा ख्रीष्टमाथि विश्वास गरेका यहूदी लगायत अन्यजातिहरू चाहिँ मण्डली भनिने परमेश्वरको अद्वित्तीय संरचनाका सदस्य हुन् (१ कोरिन्थी १०:३२ र १२:१२-१३)।

"उनीहरूकै हुन्" -- उनीहरूको हिस्सा के थियो भन्ने कुरा यहूदीहरूले जानेको पावल चाहन्थे। परमेश्वरले तिनीहरूलाई धेरै नै दिनुभएको थियो। उनीहरू परमेश्वरबाट विशेष रूपमा आशिष पाएका विशेष जाति थिए (व्यवस्था ७:६-८)। यही चुनिएको जातिलाई विभिन्न लाभहरू, आशिषहरू, विशेषाधिकारहरू र फाइदाहरू दिइए। पृथ्वीमा अरू कुनै जातिलाई परमेश्वरको हातबाट उनीहरूलाई जत्तिकै दिइएन।

इस्राएललाई दिइएको एउटा फाइदा त पावलले रोमी ३:१-२ मा उल्लेख गरिसके: परमेश्वरले यी मानिसहरूलाई आफ्नो वचन सुम्पनुभयो र त्यसको जिम्मा लाउनुभयो। परमेश्वरले केही यहूदीहरूलाई आफ्ना लेखनदासको रूपमा चलाउनुभयो (२ पत्रुस १:२१) र परमेश्वरले अरू थुप्रै यहूदीहरूलाई पवित्र शास्त्रहरूको प्रतिलिपिहरू बनाउन र उहाँको वचन प्रसारण गर्न प्रयोग गर्नुभयो अनि तिनीहरूले उक्त काम ज्यादै सावधानीपूर्वक र उत्कृष्टतापूर्वक पूरा गरे। रोमी ९ अध्यायमा पावलले इस्राएललाई दिइएका आठओटा थप फाइदाहरू सूचित गर्छन्।

१) धर्मपुत्र हुने हक

परमेश्वरसित इस्राएल जातिको एउटा अद्वित्तीय सम्बन्धके थियो भने उनीहरूलाई पुत्रत्वको विशेषाधिकार दिइएको थियो। पृथ्वीको अरू कुनै जातिलाई परमेश्वरले "मेरो छोरा" भनेर सम्बोधन गरिएको पाइँदैन। प्रस्थान ४:२२-२३ लाई ध्यान दिनुहोस्, "इस्राएल मेरो छोरा, मेरो जेठा छोरा हो। अनि म तँलाई भन्छु: मेरो छोरालाई जान दे, र उसले मेरो सेवा गरोस्!" जसरी जेठा छोराले विशेष सुविधा र दर्जा र स्थान पाउँथ्यो त्यसरी नै इस्राएलले जातिहरूको बीचमा एउटा विशेष स्थान पायो। यादमा राख्नुहोस्, प्रस्थान ४:२२-२३ मा अभिलेख गरिएका शब्दहरू परमेश्वरले उच्चारण गर्नुहुँदा इस्राएल परदेशमा बसोबासो गरिरहेका दासहरूको एउटा जमात मात्र थियो! होशे ११:१ मा पनि पढ्नुहोस्। परमेश्वरले आफ्नो छोरा इस्राएललाई प्रस्थानको समयमा मिश्रदेशबट बाहिर बोलाउनुभयो अनि सयौं वर्षपछि परमेश्वरले आफ्नो अद्वित्तीय पुत्रलाई हेरोद महानको मृत्युपछि मिश्रदेशबाट बाहिर बोलाउनुभयो -- मत्ती २:१५। मलाकी १:६ पनि पढ्नुहोस् (पिता-पुत्रको सम्बन्धलाई ध्यान दिनुहोस्; समस्या के थियो भने इस्राएलले आफ्ना पितालाई आदर गरेनन्)। [रोमी ९:४ को धर्मपुत्रत्व राष्ट्रिय पुत्रत्वको विषय हो जुनचाहिँ रोमी ८:१५,२३ मा उल्लेखित व्यक्तिगत धर्मपुत्रत्व भन्दा भिन्न कुरा हो।]

२) महिमा

यसले परमेश्वरको उपस्थितिको सदृश्य प्रकटहुवाइलाई जनाउँछ। यो चाहिँ परमेश्वरको महामहिमपूर्ण उपस्थिति वा प्रकटहुवाइ हो जसमा उहाँ मानिसहरूको बीचमा बास गर्नलाई ओर्लनुहुन्छ। यसलाई शेकाइना महिमा (shekinah glory) भन्ने पनि गरिन्छ (हिब्रूमा शेकाइना भन्ने शब्द बास गर्नु भन्ने क्रियापदबाट आउँछ)। बाइबलमा यसलाई धेरैपटक "परमप्रभुको महिमा" भनेर उल्लेख गरिएको छ। प्रायःजसो यी प्रकटहुवाइहरू ज्योति, आगो वा बादलको रूपमा हुन्थे। जस्तै:

उत्पत्ति १५:१७ धूवाँ निस्कँदै गरेको अँगेठी र बल्दै गरेको राँको (अब्राहाम)
प्रस्थान ३:१-५ जलिरहेको पोथ्रा (मोशा)
प्रस्थान १३:२१-२२; १४:१९-२०,२४ बादलको खाँबो र आगोको खाँबो (प्रस्थान)
प्रस्थान १९:१६-२० आगो, धूवाँ, आदि (सिनाई पर्वत)
प्रस्थान ३३-३४ मोशालाई देखाइएको एउटा विशेष प्रकटहुवाइ
प्रस्थान ४०:३४-३८ भेट हुने पालमाथि बादल र आगो; दाँज्नुहोस् १ शमूएल ४:२१-२२
१ राजा ८:१०-११ बादल (सुलेमानको मन्दिरमा परमेश्वरको महिमा)
लूका २:८-९ चम्किलो महिमा (बेथलेहेमका गोठालाहरू)
मत्ती १७:१-८ रूप परिवर्तित ख्रीष्टको चमक

परमेश्वरले आफ्नो उपस्थिति यस्तो अपूर्व तरिकाले कुनै अरू जातिलाई प्रकट गर्नुभएन। "किनकि अर्को कुनचाहिँ यति महान् जाति होला जसको ईश्वर तिनीहरूको यति नजिक रहन्छ?" (व्यवस्था ४:७)।

३) वाचाहरू

बहुवचनको प्रयोगलाई ध्यान दिनुहोस्। अरू जातिहरूलाई एउटै मात्र करार दिइएको थियो -- नूहसितको करार (उत्पत्ति ९:८-१७)। उक्त करार परमेश्वर र नूह लगायत नूहका छोराहरूबाटका सन्तानहरूसित बाँधिएको थियो जसअन्तर्गत सबै जातिका सबै मानिसहरू पर्छन् (उत्पत्ति ९:८-९)। यस करारमा परमेश्वरले संसारलाई जलप्रलयले फेरि कहिल्यै नष्ट नगर्ने प्रतिज्ञा गर्नुभयो (उत्पत्ति ९:१५) र उहाँले दिन/रात, ऋतुहरू आदिको निरन्तरताको प्रतिज्ञा गर्नुभयो (उत्पत्ति ८:२१-२२)।

अरू करारहरू इस्राएललाई दिइयो र तिनलाई यसरी सूचित गर्न सकिन्छ:अब्राहामसितको करार (उत्पत्ति १५:७-२१; १७:१-१४)
अब्राहामबाटएउटा महान् जाति आउनेछ र निश्चित साँध-सीमाना भएको प्रतिज्ञा गरिएको भूमिमा वास गर्नेछ।
मोशासितको करार (प्रस्थान १९:५-८)
शर्तपूर्ण, व्यवस्थाको करार जसअनुसार इस्राएलले परमेश्वरका आज्ञाहरू पालन गर्नुपर्थ्यो। यसलाई पुरानो करार पनि भनिन्छ र इस्राएलले भङ्ग गरेको करार यही थियो (यर्मिया ३१:३२)।
प्यालेस्टाइनी करार (व्यवस्था २९-३०)
यस करारले यहूदीहरू छरपुष्ट पारिएपछि विश्वभरिबाट फेरि जम्मा पारिनेछन् र उनीहरू फेरि भूमिमा पुनःस्थापित हुनेछन् भन्ने कुरा बताएको छ (व्यवस्था ३०:१-९)।
दाऊदसितको करार (२ शमूएल ७:५-१९; दाँज्नुहोस् भजनसङग्रह ८९)
यो करारले एउटा अनन्त वंश र अनन्त सिंहासन र अनन्त राज्य र एकजना अनन्त व्यक्तिको प्रतिज्ञा गर्यो जो राजा हुनुहुनेछ अर्थात् ख्रीष्ट, दाऊदको पुत्र।
नयाँ करार (यर्मिया ३१:३१-३६)

यो करारले इस्राएलको राष्ट्रिय पुनर्जन्म (regeneration, नयाँजन्म) र उद्धारको कुरा गर्दछ जतिबेला परमेश्वरको व्यवस्था र परमेश्वरको आत्मा यहूदी जनभित्र राखिनेछ (दाँज्नुहोस् इजिकिएल ३६:२६-२९) र परमेश्वरको आत्मा उहाँका जातिभित्र राखिनुहुनेछ (इजिकिएल ३६:२७)। यस करारलाई रोमी ११:२६-२७ मा उल्लेख गरिएको छ।

४) व्यवस्था दिने काम

अरू कुनै जातिको सम्बन्धमा यो साँचो थिएन। ती आज्ञाहरू मिश्रीहरू वा बेबिलोनीहरू वा फारसीहरू वा रोमीहरूलाई दिइएको थिएन। उहाँको पवित्र व्यवस्थामा प्रकट गरिएको परमेश्वरको भययोग्य पवित्रता जान्ने अवसर इस्राएललाई दिइएको थियो: "अनि अर्को कुनचाहिँ यति महान् जाति होला, जसका विधिहरू र नियमहरू मैले आज तिमीहरूको सामु राखेको यो सम्पूर्ण व्यवस्था जत्तिकै धर्ममय छन्?" (व्यवस्था ४:८)।

५) परमेश्वरको सेवा

यसले परमेश्वरद्वारा स्थापित पूजाहारीगिरीको नेतृत्वमा गरिने भेट हुने पाल र मन्दिरको उपासना कार्यलाई समेट्थ्यो। हिब्रू ९:१,६,९ मा "सेवा" भन्ने शब्द परमेश्वरको भेट हुने पालको पूजाहारीय सेवासित सम्बन्धित भएको देखाउँछ। अन्य जातिहरू परमेश्वर सम्बन्धी अज्ञानतामा थिए (यूहन्ना ४:२२-२३ सित दाँज्नुहोस्) तर इस्राएललाई परमेश्वरको उपासना गर्ने र उहाँको नजिकमा जाने साँचो तरिका बताइएको थियो, जो सम्पूर्ण विधिहरूले प्रभु येशू ख्रीष्टको व्यक्तित्व र कार्यलाई सुन्दर ढङ्गले दर्शाउँथे।

६) प्रतिज्ञाहरू

यस अन्तर्गत पर्छन् "म गर्नेछु" भन्ने परमेश्वरका महान् अभिव्यक्तिहरू। आफ्ना जातिको पक्षमा उहाँले गर्नेछु भनी भन्नुभएका ती सबै कुराहरूको विचार गर्नुहोस्! उदाहरणस्वरूप यशैया ४१:८,१० लाई लिनुहोस् -- "तर हे इस्राएल, तिमी मेरा दास हौ; हे याकूब, जसलाई मैले चुनेको छु - मेरो मित्र अब्राहामको वंश…नडराऊ; किनकि म तिम्रो साथमा छु; जिल्ल नपर; किनभने म तिम्रा परमेश्वर हुँ; म तिमीलाई बलियो पार्नेछु, अँ म तिमीलाई सहायता गर्नेछु; अँ, म मेरो धार्मिकताको दाहिने हातले तिमीलाई सम्हाल्नेछु।" इस्राएल जातिलाई दिइएका परमेश्वरका महान् र बहुमूल्य प्रतिज्ञाहरू अन्तर्गत मसीहको आगमनको प्रतिज्ञाहरू पनि पर्दथे जुन मसीहमा नै यस जातिको आशा अडेको थियो (यशैया २:१-४; ७:१४; ९:६-७, ११:१-११; २८:१६; आदि)।

रोमी ९:५

७) पूर्खाहरू

विशेष गरी यसले अब्राहाम, इसहाक र याकूबलाई जनाउँछ जोहरू इस्राएल जातिका पूर्वजहरू थिए। इस्राएलका परमेश्वरले धेरै पटक यिनै तीनजनासित आफू आवद्ध भएको कुरा जनाउनुहुन्थ्यो (प्रस्थान ३:६,१५)।

८) ख्रीष्ट (मसीह -- परमेश्वरको अभिषिक्त राजा!)

सबभन्दा ठूलो फाइदा सूचीको अन्तमा छ। आजसम्म जन्मेको सबभन्दा महान् व्यक्ति एक यहूदी भई जन्मनुभयो, "दाऊदका पुत्र, अब्राहामका पुत्र" (मत्ती १:१)। उहाँ "यहूदाको कूलको सिंह" (प्रकाश ५:५) हुनुहुन्छ। मुक्ति यहूदीहरूबाटको हो (यूहन्ना ४:२२) किनकि मुक्तिदाता यहूदीबाटका हुनुहुन्छ र उहाँबिना मुक्ति छैन (प्रेरित ४:१२)। उहाँको मनुष्यत्वको सम्बन्धमा शरीरअनुसार उहाँ एक इस्राएली हुनुहुन्थ्यो; उहाँको ईश्वरत्वको सम्बन्धमा उहाँ सबै माथि (पूर्णरूपमा सार्वभौम) सदासर्वदै धन्य परमेश्वर हुनुहुन्छ" (रोमी ९:५)।

यी सबै फाइदाहरू पाएर इस्राएलले तिनको के कति सदुपयोग गर्यो त? के उनीहरूले आफ्ना फाइदाहरूको फाइदा उठाए? के उनीहरू आफ्ना आशिषहरूले आशिषित भए? के उनीहरू आफ्ना लाभहरूले लाभान्वित भए? दुःखको कुरा यहीँ छ। हुन त अपवादका रूपमा केही भक्तजनहरू थिए (यूसूफ, मोशा, यहोशू, कालेब, दाऊद, दनियल, यर्मिया, आदि) तर अधिकांश यहूदीहरूले आफूसित भएको कुराको फाइदा उठाएनन्। बरु तिनीहरूले १) उनीहरूका पिताको रूपमा परमेश्वरलाई आदर गर्नु सट्टा उहाँलाई अनादर गरे र तुच्छ ठाने (मलाकी १:६); २) उनीहरूको बीचमा भएको परमेश्वरको उपस्थितिलाई उनीहरूले कुनै महत्त्व दिएनन्; ३) उनीहरूले परमेश्वरका करारगत प्रतिज्ञाहरूलाई बिर्से; ४) उनीहरूले परमेश्वरको व्यवस्थालाई भङ्ग गरे (यर्मिया ३१:३२); ५) उनीहरूका उपासनाहरू वास्तविकतारहित भए, रित्तो रीति मात्र भए; ६) महान् प्रतिज्ञाहरूलाई विश्वाससित मिसाइएन (हिब्रू ३:१८-४:२); ७) उनीहरू परमेश्वरमाथि विश्वास गर्ने विश्वासयोग्य अब्राहामका पाइलामा हिँडेनन् (रोमी ४:११-१२); अनि अन्तमा प्रमुख कुरा, ८) उनीहरूले आफ्नै मसीहलाई क्रूसमा टँगाए (मत्ती २७:२२; यूहन्ना १९:१५-१६; १ थेस्सलोनिकी २:१४-१५)।

आत्मिक सिद्धान्त: "किनभने हरेक, जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै लिइनेछ; र जसलाई धेरै सुम्पिएको छ, त्यसबाट तिनीहरूले बढ्ता माग्नेछन्" (लूका १२:४७-४८)। इस्राएलीहरूलाई धेरै दिइएको थियो, र त्यसैले उनीहरूबाट धेरैको माग गरिनेछ। यो सिद्धान्त मत्ती ११:२०-२४ र १२:३८-४२ मा पनि देखिन्छ। जसलाई धेरै दिइएको छ उनीहरूको न्याय बढी कडा हुनेछ। दिइएको प्रकाश बमोजिम न्याय गरिनेछ।

आत्मिक प्रयोग: परमेश्वरले हामीलाई के दिनुभएको छ? हामीलाई के कस्ता फाइदा र लाभहरू छन्? हामीलाई दिइएका कुरालाई हामी के गर्दैछौं? के हामीसित बाइबल छ? (पुरानो नियम मात्र होइन तर पूरै बाइबल, ६६ पुस्तकहरू!)। हामीसित भएको बाइबललाई के गर्दैछौं? के परमेश्वरले हामीलाई उहाँको सन्तान हुने विशेषाधिकार दिनुभएको छ (यूहन्ना १:१२)? के उहाँले हामीलाई पालन गर्नलाई आज्ञाहरू र विश्वास गर्नलाई प्रतिज्ञाहरू दिनुभएको छ? के उहाँले हामीलाई उनीहरूको अनुसरन गरोस् भनेर विगतमा भक्तिपूर्ण जीवन जिउने पुरुष र स्त्रीहरूको नमुनाहरू दिनुभएको छ? उहाँको मण्डलीसित हामी के गर्दैछौं? उहाँको वचनसित के गर्दैछौं? प्रभु येशू ख्रीष्टसित हामी के गर्दैछौं? हामीले हाम्रा सबै फाइदहरूको फाइदा लिनुपर्छ। त्यसो गरेमा हामी कति आशिषित हुनेछौं; त्यसो नगरेमा हामीलाई हाय!

रोमी ९:५

ख्रीष्टको पूर्ण ईश्वरत्वलाई घोषणा गर्ने बाइबलका सबभन्दा प्रस्ट पदहरूमध्येमा रोमी ९:५ एउटा हो। यो पद येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ भनेर बताउने अरू प्रस्ट खण्डहरूसँगै खडा छ:

यूहन्ना २०:२८ -- उहाँ प्रभु हुनुहुन्छ र उहाँ परमेश्वर हुनुहुन्छ!

तीतस २:१३ -- उहाँ महान् परमेश्वर हुनुहुन्छ
यशैया ९:६ -- उहाँ शक्तिशाली परमेश्वर हुनुहुन्छ
रोमी ९:५ -- उहाँ धन्य परमेश्वर हुनुहुन्छ
यूहन्ना १:१ -- उहाँ अनन्त परमेश्वर हुनुहुन्छ

हामीले कहिल्यै उहाँलाई परमेश्वरभन्दा सानो नबनाऔं जसरी “यहोवाका साक्षीहरू” र अन्य झूटा समूहहरूले बनाउने चेष्टा गरेका छन्। धार्मिक उदारवादीहरूले पनि उहाँलाई हाम्रो "महान् शिक्षक""सिद्ध नमुना""महत्त्वपूर्ण अगमवक्ता" आदिको संज्ञा दिनुको साथसाथै उहाँको मनुष्यत्वलाई जोड दिँदै ख्रीष्टको ईश्वरत्वलाई इन्कार गर्दछ। त्यस्ता व्यक्तिहरू रोमी ९:५ जस्तो पदको सामना गर्नुपर्दा त्यसलाई हुबहु स्वीकार गर्न सक्दैनन् र बरु त्यसको स्पष्ट मानेलाई बदल्न खोज्छन्।