Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

रोमी ९:२१-३३

यस पृष्ठलाई छाप्नुहोस्

रोमी ९:२१

यसप्रश्नलेसकारात्मक जवाफको माग गर्दछ। हो, एउटा भाँडालाई आदरको र अर्कोलाई अनादरको बनाउन परमेश्वरको पूरै अधिकार छ। "ढिका" = माटोको डल्ला जसबाट कुमालेले भाँडा वर्तन बनाउँछ। "माटो" = यसले पापपूर्ण, पतित मानवजातिलाई जनाउँछ (परमेश्वरले नै मान्छेलाई पापी बनाउनुभएन)। जसरी अल्भा म्याक्लेनले लेखेका छन्,

"पावल यहाँ मानिसको सृष्टिको कुरा गरिरहेका छैनन्। परमेश्वरले मानिसलाई असल, पवित्र र धर्मी बनाउनुभएको थियो तर यहाँ माटो भनेर प्रेरित पावलले चर्चा गरेको चाहिँ पापपूर्ण माटोको हो। त्यस माटोबाट हरेक मानिस उस्तै रूपमा खडा हुन्छ। हरेक मानिस पापी छ, हरेक मान्छे दण्डको योग्य छ। त्यस जमातबाट एकजनालाई चुनेर उसमाथि कृपा देखाउन परमेश्वरलाई अधिकार छ।"

"भाँडा" = माटोको भाँडा, वर्तन, प्लेट, आदि। २ तिमोथी २:२० सित तुलना गर्नुहोस् जहाँ पनि आदरका र अनादरका भाँडाहरूको कुरा गरिएको छ। राजाको दरवारमा कुनै भाँडा होला जसमा सुन्दर फूलहरू सजाएर राखिन्छ जब कि त्यहाँ अर्को भाँडा होला जसमा किरैकिरा परेको फोहोरमैला फ्याँकिन्छ। अर्को भाँडा पानी बोकेर ल्याउन प्रयोग गरिएला र अर्कोचाहिँ गोबर वा कसिङ्गर बोकेर लैजान प्रयोग गरिएला। फरकफरक कामका लागि फरकफरक भाँडाहरू बनाउन कुमालेलाई पूरै अधिकार छ।

"इच्छा गरेर" = परमेश्वरले जे चाहनुहुन्छ; "देखाउने" = प्रमाणीकरण गर्न (पद १७ कै शब्द)। परमेश्वरले आफ्नो क्रोध प्रकट गर्न र प्रदर्शनी गर्न चाहनुहुन्छ (रोमी १:१८ पढ्नुहोस्)। "क्रोध" भन्ने शब्दले पापको विरुद्धमा रहेको परमेश्वरको कडा र ईश्वरीय बेखुशीलाई जनाउँछ। त्यो केवल रिसको झनक वा आवेग मात्र होइन तर पापको विरुद्धमा रहेको उहाँको स्थायी, स्थिर रिसको अवस्था हो; एउटा पवित्र क्रोध। यी क्रोधका भाँडाहरू (यसले मुक्तिरहित अवस्थामा अनन्तता प्रवेश गर्नेहरूलाई जनाउँछ) ले परमेश्वरको पवित्रता र धार्मिकता र सिद्ध न्यायलाई [प्रकाश १६:५ सित तुलना गर्नुहोस् -- "तपाईं धर्मी हुनुहुन्छ, हे प्रभु… किनकि तपाईंले यसरी न्याय गर्नुभएको छ"]। "प्रकट गर्ने" = दर्शाउनु। परमेश्वर आफैलाई प्रकट गर्न र चिनाउन मन पराउनुहुन्छ। फाराओले परमेश्वरको सामर्थ्य र परमेश्वरका न्यायहरू निस्सन्देह जान्न पाए (प्रस्थान ५:२ सित तुलना गर्नुहोस् जब फाराओले भने, "म परमप्रभुलाई चिन्दिनँ"। परमेश्वरले आफूलाई यस मानिसकहाँ नाटकीय ढङ्गले चिनाउन अगाडि बढ्नुभयो।) सबै मानिसहरूले परमेश्वरलाई चिन्नेछन् या त न्यायकर्ताको रूपमा या त मुक्तिदाताको रूपमा।

विनाशका यी भाँडाहरूप्रति परमेश्वर कतिसम्म कृपालु हुनुहुन्थ्यो भन्ने कुरालाई ध्यान दिनुहोस्। "धीरज देखाउनुभयो" = सहनुभयो। "सहनशीलता" = रिसाउनमा ढिलो। परमेश्वर फाराओ लगायत इतिहासको पन्नामा पाइने थुप्रै अविश्वासीहरूप्रति खूबै धैर्य देखाउनुभयो। पश्चात्ताप गर्न नचाहनेहरू प्रतिको परमेश्वरको भलाइ र धैर्य रोमी २:४-५ मा पनि देख्न सकिन्छ।

"विनाशका निम्ति तयार परेका" (टि.बी.एस. बाइबलमा "बनाइएका" भनेर अनुवाद गरिएको छ तर ग्रीक शब्द καταρτισμενα कोयोसठीक अनुवाद होइन) -- क्रोधका यी भाँडाहरूविनाशका निम्ति एकदम सुहाउँछन् जुन विनाशमा पर्न उनीहरू योग्य छन्। "तयार परेका" = मिलेका, तमतयार, विनाशका निम्ति पाकेका, विनाशको योग्य। यस क्रियापदलाई कतिले ग्रीक व्याकरणको मिडल भ्वाइस (middlevoice) को रूप मानेका छन्, "आफूलाई विनाशको निम्ति तयार पारेको हुँदा" (Bauer, Arndt&Gingrich)। Vine -- "यहाँ मिडल भ्वाइसले निजहरूले आफूलाई विनाशको निम्ति तयार पारे भन्ने सङ्केत दिन्छ" (साथै म्याक्लेन पनि)। परमेश्वरलेउनीहरूलाई तयार पार्नुभयो अथवा बनाउनुभयो भनिएको छैन (यसलाई पद २३ सित तुलना गर्नुहोस् जहाँ भने "परमेश्वरले पहिलेदेखि तयार पार्नुभएको" भनिएको छ)। कथित "अस्वीकरणको सिद्धान्त" (doctrineofreprobation) को बारेमा रोमी ९:२३ अन्तर्गत हेर्नुहोस्।

"विनाशका निम्ति तयार परेका" भन्नुको तात्पर्य के हो? यो कुरा फाराओको उदाहरणद्वारा दर्शाइन्छ।

"परमेश्वरले उसलाई दुष्ट र कठोर बनाउनुभएन; तर उसको पापको सजायस्वरूप उहाँले ऊसित यसरी व्यवहार गर्नुभयो कि उसको स्वभावको खराबीलाई त्यसरूपमा र त्यस परिस्थितिअन्तर्गत प्रकट गर्नुभयो जसले उसलाई परमेश्वरको दण्डरूपी न्यायको उचित निशाना बनायो" (चार्ल्स हज)।

यस प्रकारले विचार गर्नुहोस्: मान्छे कसरी खराब बनाइन सकिन्छ? केही गर्नै पर्दैन! ऊ खराबै छ र उसलाई उसकै इच्छामा छोडियो भने उसले कालन्तरमा उसको हृदयको पापपूर्णता र ऊ परमेश्वरबाट दण्ड पाउन कतिसम्म योग्य छ भन्ने कुरा पूरापूर प्रकट गर्नेछ। मान्छे कसरी असल बनाइन र स्वर्गको निम्ति तयार पार्न सकिन्छ? यो त परमेश्वरको अनुग्रह र अनुग्रहको परमेश्वरबिना असम्भव छ। दुष्ट बन्नलाई मान्छेलाई परमेश्वर चाहिँदैन। असल बन्नलाई बरु मान्छेलाई परमेश्वर चाहिन्छ। मान्छे परमेश्वरबिना कहिल्यै असल बन्न सक्नेथिएन। एकताका एउटा सुसमाचारीय पर्चा थियो जसको आवरणमा "म नष्ट हुनलाई के गर्नुपर्छ?” भन्ने शब्दहरू थियो। पर्चालाई खोल्दा त भित्रपट्टिको पन्ना खालि थियो!

"विनाश" = अनन्तविनाश, सदाकोलागिबिग्रनु, हराउनु, सदाकालसम्म सजाय भोग्नु, नष्ट भइरहनु। यो शब्द मत्ती ७:१३; फिलिप्पी १:२८ (विनाश); ३:१९; १ तिमोथी ६:९; हिब्रू १०:३९; २ पत्रुस २:१; ३:७ (विनाश) र अन्य ठाउँहरूमा प्रयोग गरिएको छ।

रोमी ९:२३

कृपाका भाँडाहरूले एउटा महिमित भविष्यको आशा र प्रतीक्षा गर्न सक्छन्, र परमेश्वरले यी भाँडाहरूलाई प्रयोग गरेर उहाँ को हुनुहुन्छ (उहाँको महिमित व्यक्तित्व -- उहाँको कृपा, भलाइ र अनुग्रह!) भन्ने कुरा देखाउनुहुनेछ। "पहिलेदेखि तयार पार्नुभएको" = पूर्वतयारी गरिएको, अगाडिबाट तयार गरिएको। एफेसी २:१० मा उही क्रियापद शब्द परमेश्वरले "अघिबाटै तयार पार्नुभएको" असल कामहरूलाई जनाउन प्रयोग भएको छ जुन कामहरूमा हामीहरू हिँड्नुपर्छ। मत्ती २५:३४ सित तुलना गर्नुहोस् -- "संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार पारिएको राज्यको अधिकारी होओ।"

यी भाँडाहरूलाई महिमाको निम्ति अघिबाटै तयार पार्नुहुने परमेश्वर नै हुनुहुन्थ्यो भन्ने कुरा यस पदले ज्यादै प्रस्ट गरी बताउँछ (तुलनामा पद २२ ले परमेश्वरले ती क्रोधका भाँडाहरूलाई विनाशका निम्ति तयार पार्नुभयो भनेर बताउँदैन

के बाइबलले अस्वीकरणको सिद्धान्त सिकाउँछ?

चुनाउको सिद्धान्त (शिक्षा) परमेश्वरको वचनमा प्रस्टै सिकाइएको छ: “परमेश्वरले तिमीहरूलाई मुक्तिका निम्ति शुरुदेखि नै चुन्नुभएको छ" (२ थेस्सलोनिकी २:१३; दाँज्नुहोस् एफेसी १:४; २ तिमोथी १:९; कलस्सी ३:१२; आदि)। चुनाउको सिद्धान्त बाइबलले सिकाएकोले, कति मानिसहरूले एउटा गलत कुरा मानिलिएका छन् र यसरी तर्क गरेका छन् कि त्यसको विपरीत पक्ष पनि साँचो हुनुपर्छ। अर्को शब्दमा भन्नुपर्दा, परमेश्वरले यदि कसैकसैलाई मुक्तिका निम्ति चुन्नुभएको छ भने परमेश्वरले बाँकी रहेकाहरूलाई दण्डको निम्ति चुन्नुभएको हुनुपर्छ। चुनाउको विपरीत पक्षलाई “अस्वीकरण”(doctrine of reprobation) भन्ने गरिएको छ, यस्तो शिक्षा कि कति व्यक्तिहरू दण्डका लागि पहिल्यै ठहराइएका हुन्छन् अर्थात् दण्डित हुनलाई अगाडिबाटै चुनिएका हुन्छन्। कतिका निम्ति यो कुरा तर्कसङ्गत र मुनासीब होला, तर यो कुरा बाइबलीय चाहिँ होइन! पवित्र शास्त्रबाट यहाँ तीनओटा उदाहरणहरू छन् जसबाट अस्वीकरणको शिक्षा बाइबलीय शिक्षा होइन भन्ने बुझिन्छ:

१) रोमी ९:२२-२३ पद २३ अनुसार उहाँ (परमेश्वर) ले कृपाका भाँडाहरूलाई महिमाका निम्ति अगाडिबाटै तयार पार्नुभयो। अस्वीकरणको सिद्धान्त यदि सत्य हुँदो हो ता २२ पद यसरी लेखिनु स्वाभाविक हुन्थ्यो: “क्रोधका भाँडाहरू जो उहाँ (परमेश्वर) ले विनाशका निम्ति तयार पार्नुभयो।” तर लेखोटमा यस्तो पाइँदैन।

२) मत्ती २५:३४ लाई मत्ती २५:४१ सित तुलना गर्नुहोस्। राज्य परमेश्वरद्वारा संसारको उत्पत्तिभन्दा अघिबाटै धर्मीहरूका लागि तयार गरिएको थियो (पद ३४)। अस्वीकरण यदि साँचो हुँदो हो त ३४ पदको उल्टो अभिव्यक्ति ४१ पदमा उल्लेख गरिनु स्वाभाविक हुन्थ्यो। त्यहाँ यसरी लेखिनु स्वाभाविक हुन्थ्यो, “हे श्रापितहरूहो, मदेखि त्यस अनन्त आगोभित्र जाइहाल, जोचाहिँ तिम्रो लागि तयार पारिएको छ।” तर होइन, अनन्त आगो मानिसको लागि होइन तर शैतान र त्यसका दूतहरूको लागि तयार पारिएको थियो।

३) २ थेस्सलोनिकी २:१०-१३। पद १३ मा चुनाउको गहकिलो शिक्षालाई उल्लेख गरिएको छ (जसको निम्ति पावल धेरै धन्यवाद दिन्छन्)। पद १० ले “नष्ट हुनेहरू” को उल्लेख गर्दछ। उनीहरू किन नष्ट हुन्छन्? अस्वीकरण यदि साँचो हुँदो हो त पावलले यसरी भन्नुस्वाभाविक हुन्थ्यो, “…किनकि तिनीहरूलाई परमेश्वरले मुक्तिका निम्ति चुन्नुभएको छैन।” तर पद १० ले त्यसो भन्दैन। तिनीहरू दण्डित हुन्छन्, तिनीहरू परमेश्वरद्वारा दण्डका निम्ति चुनिएकाले होइनन्, तर तिनीहरू “सत्यलाई विश्वास नगर्नेहरू” भएकाले (पद १२)।

अस्वीकरणको घृणास्पद शिक्षाको विरुद्धमा पवित्रशास्त्र कसरी जोगिएर प्रस्तुत हुन्छ भन्ने कुरालाई चिनिराख्नु गहिरो चासोको विषय छ। जस्तै, हेर्नुहोस् मत्ती २५:३४। यहाँ राजाले, आफ्नो दाहिने हातपट्टि हुनेहरूलाई सम्बोधन गर्नुहुँदा भन्नुहुन्छ, “मेरा पिताका धन्य जनहरूहो, आओ, संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार पारिएको राज्यको अधिकारी होओ।” यस सम्बोधनलाई उहाँका देब्रे हातपट्टि भएकाहरूलाई गरिएको सम्बोधनसित तुलना गर्नुहोस् (पद ४१): “हे श्रापितहरूहो [‘मेरा पिताका’ भनेर भन्नुहुन्न उहाँ], मदेखि त्यस अनन्त आगोभित्र जाइहाल, जोचाहिँ शैतान र त्यसका दूतहरूका निम्ति [‘तिमीहरूको निम्ति’ भन्नुहुन्न उहाँ] तयार पारिएको छ।” त्यसैगरी रोमी ९ अध्यायमा पनि। “क्रोधका भाँडाहरू” को चर्चा गर्दा, तिनलाई “विनाशका निम्ति तयार परेका” भनेर वर्णन गरिएको छ — परमेश्वरद्वारा तयार पारिएका त अवश्य होइनन्, तर आफैद्वारा। अर्कोतिर, “दयाका भाँडाहरू” को चर्चा गर्दा, तिनलाई “उहाँले महिमाका निम्ति पहिलेदेखि तयार पार्नुभएको” भनेर वर्णन गरिएको छ।” चुनाउको महान् सत्यता पूर्णरूपमा स्थापित गरिन्छ; अस्वीकरणको घृणास्पद भ्रम, ज्यादै सतर्कतापूर्वक पन्साइन्छ (The Mackintosh Treasury, p. 606 footnote)।

हामीलाई कुनै पनि शिक्षा तर्कसङ्गत वा मुनासीब वा अर्थपूर्ण जस्तो लाग्दैमा हामीले त्यसलाई अँगालिहाल्नुहुँदैन तर बरु हामी ज्यादै होशियार हुनुपर्छ। कुनै पनि शिक्षाको पक्का कसी भनेको यो हो: “पवित्रशास्त्रले के भन्दछ?” (रोमी ४:३)। त्यो यदि बाइबलीय छ भने, त्यसलाई विश्वास गर्न हामी जिम्मेवार ठहरिन्छौं, चाहे त्यो हामीलाई तर्कसङ्गत लागोस् वा नलागोस्, त्यसलाई हामीले बुझ्न सकौं वा नसकौं, त्यो हामीलाई मुनासीब लागोस् वा नलागोस्। बाइबलले यो कुरा ज्यादै स्पष्ट पारेको छ कि जोहरू बचाइएका छन् र स्वर्ग जाँदैछन् तिनीहरू केवल परमेश्वरलाई मात्र धन्यवाद दिन बाध्य छन् र जोहरू हराएक छन् र दण्डित हुन्छन् तिनीहरू केवल आफैलाई मात्र दोष दिन बाध्य हुन्छन्

जोहरू बचाइएका छन् तिनीहरू केवल परमेश्वरलाई मात्र धन्यवाद दिन बाध्य हुन्छन्: हेर्नुहोस् १ कोरिन्थी १:२९-३१ (परमेश्वरले नै सबै श्रेय पाउनुपर्छ); एफेसी २:८-९ (घमन्ड गर्ने कुनै आधार छैन); मत्ती १६:१६-१७ (पत्रुस आफैले आफ्ना आँखा खोलेका होइनन्); यूहन्ना ६:४४-४५,६५ (अलौकिक, ईश्वरीय तवरले समर्थ नबनाइएसम्म कोही पनि मुक्तिदाताकहाँ आउन सक्दैन)। जोहरू हराएका छन् तिनीहरू केवल आफैलाई मात्र दोष दिन बाध्य हुन्छन्: १ तिमोथी २:४ (सबैले मुक्ति पाऊन् भन्ने इच्छा छ परमेश्वरको); रोमी १०:१२-१३ (उहाँलाई पुकार्ने सबैप्रति उहाँ धनवान् हुनुहुन्छ); मत्ती २३:३७ (परमेश्वर इच्छुक हुनुहुन्थ्यो; मानिस अनिच्छुक भए); यूहन्ना ५:४० (मानिससँग अनन्त जीवन नहुनुको एउटै कारण यो हो कि ऊ एकमात्र मुक्तिदाताकहाँ आउन उसको हठले इन्कार गर्दछ); २ थेस्सलोनिकी १:८-९ (अनन्त दण्ड पाउनेहरू ती हुन् जोहरूले सुसमाचारको असल खबरलाई पालन गरेनन्)। आफ्नो अनन्त गन्तव्यको लागि मानिस आफैले पूरै दोष र जिम्मा लिनुपर्छ।

मुक्ति पाएको व्यक्तिले धन्यवादी भएर भन्दछ, “म स्वर्ग पुग्नुको कारण परमेश्वर हुनुहुन्छ!” हराएको व्यक्तिले इमानदारसित भन्नुपर्छ, “म नरक पुग्नुको कारण म आफैं हुँ!” दण्डमा पर्नेहरूले परमेश्वरलाई कहिल्यै दोष्याउन सक्नेछैनन् अथवा “म दण्डमा परें किनकि परमेश्वरले मलाई चुन्नुभएन!” भन्न सक्नेछैनन्। उनीहरू दण्डमा पर्नुको आधार यो होइन कि परमेश्वरले उनीहरूलाई अस्वीकार गर्नुभयो तर खास यो हो कि उनीहरूले परमेश्वरलाई अस्वीकार गरे: “जसले विश्वास गर्दछ ऊ दोषी ठहरिनेछैन” (मर्कूस १६:१६)। “जसले विश्वास गर्दैन ऊ अघिबाटै दोषी ठहरिसकेको हुन्छ, किनकि उसले परमेश्वरको एकमात्र जन्माइएको पुत्रको नाममा विश्वास गरेको छैन” (यूहन्ना ३:१८)। “पापको विषयमा — किनकि तिनीहरूले ममाथि विश्वास गर्दैनन्” (यूहन्ना १६:९)। “अनि तिमीहरू जीवन पाउनलाई मकहाँ आउन इच्छुक छैनौ” (यूहन्ना ५:४०)।

मानिसको मुक्ति उसको कुनै योगदानले प्राप्त हुने होइन। त्यो परमेश्वरको काम हो, “कामहरूबाट होइन नत्र ता कसैले घमन्ड गर्नेछ” (एफेसी २:८-९)। मानिसको अविश्वासमा परमेश्वरको कुनै योगदान हुँदैन। त्यो मानिसकै काम हो। परमेश्वर एकलैले बचाउनुपर्ने हुन्छ। मनिसले चाहिँ विश्वास गर्नुपर्ने हुन्छ। सम्पूर्ण महिमा र श्रेय जति परमेश्वरलाई दिइनुपर्छ। दोष जति विश्वास नगर्ने मानिसको हुन्छ। “ईश्वरको अनुग्रह हेरी ऋणी आफूलाई ठान्छु!”

रोमी ९:२४

दयाका यी भाँडाहरू को हुन्? “हामी जस्ताहरू!” दयाका भाँडाहरू ती हुन् जसलाई परमेश्वरले बोलाउनुभएको छ (रोमी ८:२८,३० मा हेर्नुहोस्)। मण्डलीलाई परमेश्वरको बाहिर बोलाइएको सभा (एकलेसिया) भनिएको छ जोचाहिँ दुवै यहूदी र अन्यजातिहरू मिलेर बनेको संरचना हो (दाँज्नुहस् रोमी ३:२९)।

ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राख्नुहोला। रोमीको पुस्तक पावलद्वारा लगभग ५६ एडी ताका लेखिएको हो, अर्थात् ख्रीष्टको मृत्यु र बौरिउठाइको करिब २५ वर्ष पश्चात्। अधिकांश यहूदीहरू सुसमाचारप्रति सकारात्मक बनिरहेका थिएनन् (रोमी ११:२८)। यहूदीहरूको ज्यादै सानो अल्पसङ्ख्यकले मात्र येशूमा मसीहको रूपमा आफ्नो भरोसा राखेका थिए जसमा पावल एक थिए। मण्डलीको सुरुआतमा सदस्यहरू सबै नै यहूदी थिए (प्रेरित २)। प्रेरित अध्याय १० मा अन्यजातिहरूको पहिलो समूहले मुक्ति पायो र तिनीहरू मण्डलीमा प्रवेश गरे। समय बित्दै जाने क्रममा झन् झन् धेरै गैर-यहूदीहरू ख्रीष्टमा आए, अनि धेरै समय बित्न नपाउँदै बहुसङ्ख्यक ख्रीष्टियनहरू त अन्यजातिहरू भए। मुक्ति पाएका यहूदीहरू चाँडै नै मण्डलीहरूमा अल्पसङ्ख्यक समूहमा परे। आज कुनै विश्वास गर्ने यहूदी विरलै भेटिन्छ। पावलले रोमीहरूलाई लेख्दाखेरि यो वास्तविकता एउटा ठूलै समस्याको रूपमा देखिन्थ्यो: यहूदीहरू यदि परमेश्वरका चुनिएका जनहरू हुन् भने (रोमी ९:१-५), किन यति थोरैले मात्र मुक्ति पाउँदैछन्? “के परमेश्वरले आफ्नो जनहरूलाई त्याग्नुभएको छ?” (रोमी ११:१)। यस वर्तमान युगमा परमेश्वरका चुनिएका जनहरू चाहिँ तिनीहरू हुन् जोहरू “यहूदीहरूबाट मात्र होइन तर अन्यजातिहरूबाट पनि” बोलाइएकाहरू छन् भन्ने कुरा बुझ्न रोमी ९:२४ मा पावलले पाठकहरूलाई मदत गर्दैछन्।

कतिले मण्डली नै “साँचो इस्राएल” हो भनेर विश्वास गर्छन्। तर, यहाँ ध्यान दिनुपर्ने कुरा यो छ कि पावलले “अर्थात् हामीहरूप्रति, जसलाई उहाँले बोलाउनुभयो, साँचो यहूदीहरू, साँचो इस्राएल, जोचाहिँ मुक्ति पाएका यहूदी र मुक्ति पाएका अन्यजातिहरूले बनेको हुन्छ”भनेर लेख्दैनन्। होइन, परमेश्वरको मण्डलीमा त्यहाँ न ता यहूदी हन्छ न अन्यजाति (हेर्नुहोस् कलस्सी ३:१०-११; गलाती ६:१५)।

रोमी ९:२५-२६ (यी पदहरू ९:२४ मा उल्लेखित अन्यजातिहरूमा केन्द्रित छन्)

अन्यजातिहरूलाई परमेश्वरको जनहरू बन्ने के अधिकार छ? परमेश्वरको बाहिर बोलाइएको विशेष सभा, मण्डलीमा उनीहरू किन समावेश गरिनुपर्थ्यो? बिगतमा अन्यजातिहरू परमेश्वरका जनहरू कहलिँदैनथे। यहूदीहरू नै परमेश्वरका जनहरू हुँदै आएका थिए। परमेश्वरले एउटा जातिलाई कसरी उहाँको जाति बन्न दिन सक्नुहुन्छ जब कि उनीहरूको यसअघि परमेश्वरसित कुनै वास्तविक र सठीक सम्बन्ध नै थिएन?

पावलले यस प्रश्नको जवाफ होशेको पुस्तकको दुईटा ठाउँबाट उद्दरण गर्दै दिन्छन्। हेर्नुहोस् होशे २:२३ (रोमी ९:२५) र होशे १:९-१० (रोमी ९:२६)। होशे अगमवक्ताले इस्राएलको कुरा गर्दैछन्, उत्तरपट्टिका दस कुलहरू जो प्रभुबाट हटेका थिए र मूर्तिपूजालाई अँगालेका थिए। उनीहरूको धोकाको कारण परमेश्वरले तिनीहरूलाई आफ्नो निज प्रजाको रूपमा अस्वीकार गर्नुभयो र उनीहरूलाई “लो-अम्मी” (होशे १:९) भन्ने संज्ञा दिनुभयो, जुनचाहिँ हिब्रूमा “मेरो जाति होइन” भन्ने अर्थ लाग्छ। “किनकि तिमीहरूचाहिँ मेरो प्रजा होइनौ, र मचाहिँ तिमीहरूको परमेश्वर हुनेछैनँ” (होशे १:९)। तरैपनि हामी यो जानेर छक्क पर्छौं कि भविष्यमा इस्राएल फेरि पनि परमेश्वरको अनुग्रहमा फर्काइनेछ र परमेश्वरले उनीहरूलाई आफ्नो निज प्रजा भनेर दाबी गर्नुहुनेछ: “तिमीहरू जीवित परमेश्वरका छोराछोरीहरू हौ” भनिनेछ (होशे १:१० र २:२३ हेर्नुहोस्)। यी यहूदीहरू परमेश्वरबाट हटे र सत्यत्यागी, मूर्तिपूजक अवस्थामा गिरे, तर परमेश्वरले यस्तो प्रतिज्ञा गर्नुभयो कि यी यहूदीहरू एक दिन उहाँको निगाहमा पुनःस्थापित हुनेछन्। यद्यपि होशेले इस्राएलीहरूको चर्चा गर्दैथिए, यो सिद्धान्त अन्यजातिहरूलाई लागु हुन्छ। त्यो सिद्धान्त यो हो: परमेश्वरले यसअघि इन्कार गर्नुभएको जातिलाई आफूसित एउटा सम्बन्धमा ल्याउनुहुनेछ। पावलले यस सिद्धान्तलाई अन्यजातिको सम्बन्धमा लागु गर्छन्: उनीहरू परमेश्वरको प्रजा थिएनन्, तर अब उनीहरू हुन्! होशेको पुस्तकका उद्दरणहरूमा जोड दिइएको कुराचाहिँ परमेश्वरको सार्वभौम र सहानुभूतिपूर्ण अनुग्रह हो जुन चाहिँ तिनीहरूमाथि देखाइन्छ (चाहे यहूदी हुन् या अन्यजाति) जससँग आफूलाई परमेश्वरको प्रजा भनेर ठान्ने अधिकार छैन (१ पत्रुस २:९-१० हेर्नुहोस्)।

रोमी ९:२७-२९ (यी पदहरू रोमी ९:२४ मा उल्लेखित यहूदीहरूमा केन्द्रित छन्)

“ल, ठीक छ, हामी अन्यजातिहरूलाई परमेश्वरको प्रजाको भाग हुन दिन्छौं, तर यहूदीहरू नि? के यहूदीहरू परमेश्वरका प्रजा होइनन्? किन सबै यहूदीहरू परमेश्वरका प्रजा हुन सक्दैनन्? किन यहूदीहरूको ठूलो बहुसङ्ख्यक समूह सुसमाचारको विरुद्धमा छन् र क्रूसको शत्रु छन् (११:२८)? किन थोरै यहूदीहरूले मात्र ख्रीष्टलाई मुक्तिदाता भनेर थाह गरेका छन् र उहाँलाई विश्वासद्वारा ग्रहण गरेका छन्?”

पावलले यी प्रश्नलाई रोमी ९:२७-२९ मा सम्बोधन गर्छन्। उनको मुख्य कुरा यो हो: यहूदीहरूको एउटा सानो बाँकी रहेको भागले मात्र मुक्ति पाउनेछ। अधिकांश चाहिँ हराउनेछन् र नाश हुनेछन्। पावलले हिब्रू पवित्रशास्त्रहरू(पुरानो नियम)बाट उद्दरण गर्छन् जहाँ यस्तै हुनेछ भनेर सिकाइएको थियो। उनले यशैया १०:२२-२३ र यशैया १:९ बाट उद्दरण गर्छन्।

“कराएर” = यसले अगमवक्ताको वाणीको अत्यावश्यकता जनाउँछ। “समुद्रका बालुवाझैं” = गन्न नसकिने सङ्ख्या (यति धेरै कि ती तपाईं सबैलाई गन्नै सक्नुहुन्न)। “बाँकी रहेको भाग” = सानो भाग, सानो बचेको समूह। करौडौं करौडौं यहूदीहरूबाट केवल एउटा सानो सङ्ख्या (बाँकी रहेको भाग) ले मात्र मुक्ति पाउनेछ। बाँकी नाश हुनेछ। दाँज्नुहोस् रोमी ९:६ — इस्राएल जाति (यहूदीहरू) बाट त्यहाँ एउटा झनै सानो समूह छ जसलाई साँचो इस्राएल वा चुनिएको इस्राएल वा भक्ति गर्ने बाँकी रहेको भाग (रोमी ११:५ — “अनुग्रहको चुनाउअनुसार बाँकी रहेको भाग”) भनिएको छ।

रोमी ९:२८ ले परमेश्वरको न्यायको चर्चा गर्दैछ। परमेश्वरले इस्राएल राष्ट्रलाई काँटछाँट गर्नुहुनेछ र घटाउनुहुनेछ ताकि एउटा बाँकी रहेको भाग मात्र बाँकी रहनेछ। परमेश्वरले न्याय गर्न भ्याउनुभएपछि त्यहाँ थोरै मात्र बाँकी रहन्छ! (“समाप्त = अन्तमा पुर्याउन, टुङ्गो लाउनु, पूरा गर्नु); “छोटो पार्नु” = छोट्ट्याउनु, छोटो काट्नु, सिमित गर्नु)। धेरैजसो यहूदीहरू “काटिएका छन्” तर एक बाँकी रहेको भाग बचाइनेछ। तुलना गर्नुहोस् “याकूबको दुःखको दिन” सित (यर्मिया ३०:७) जब इस्राएल जातिको दुई तिहाइभाग काटिनेछ र मर्नेछ (जकरिया १३:८)।

रोमी ९:२९ ले एउटा गुनासोको प्रत्युत्तर दिइरहेको देखिन्छ: “केवल थोरै मात्र (सानो बाँकी रहेको भाग) बचाइनु न्यायोचित होइन। बहुसङ्ख्यक यहूदीहरूले नै किन मुक्ति पाउन नहुने? किन थोरै मात्र बचेकाहरू हुने?” तर यो पदलाई पढ्दा हामी धन्यवादी पो हुनुपर्छ कि त्यहाँ केही बचेकाहरू हुनेछन् भनेर! कोही न कोही बाँचेकोमा नै हामी परमेश्वरलाई धन्यवाद चढाऔं! सोदोममा एउटै बचेनन्! सदोमको एउटै नागरिक उम्केनन् (लोत सदोमी थिएनन् यद्यपि उनी त्यहाँ बसोबासो गर्थे)। त्यो त सर्वनाशै भयो। तिनीहरू पूर्णरूपमा नै नाश भएका थिए। “सेनाहरूका परमप्रभु” = हिब्रू शब्दावली जसको अर्थ विश्वकै मालिक, सार्वभौम, प्रधान र प्रमुख भन्ने हुन्छ। “वंश” = यसलाई पद २७ को “बाँकी रहेको भाग” सित जोड्नुपर्छ (सायद यसले फसलको त्यो सानो भागलाई चित्रणस्वरूप जनाउँदछ जुनचाहिँ बीजारोपणको निम्ति सुरक्षित राखेर जोगाइन्छ; अर्थात्, अधिकांश मकै बस्तुभाउ र मानिसद्वारा खपत हुन्छ तर केही बीज अर्को बाली लाउनलाई बाँकी राखिएको हुन्छ)।

रोमी ९:३०-३१

“पछि लाग्नु” = कुनै कुराको पछि दगुर्नु, लखेट्नु, त्यसलाई प्राप्त गर्न कुनै कुराको पछि लाग्नु। अन्यजातिहरू परमेश्वरको धार्मिकताको पछि लागिरहेका थिएनन् तर उनीहरूले केवल आफ्नो विश्वास येशू ख्रीष्टमाथि राखे अनि त्यो प्राप्त गर्न पुगे (रोमी ३:२२-२४; ४:५; ५:१)। यहूदीहरूले व्यवस्थाबाटको धार्मिकताको पछि लागे र व्यवस्था पालन गर्न बेसरी प्रयत्न गरे तर तिनीहरूले कहिल्यै परमेश्वरको धार्मिकता प्राप्त गर्न सकेनन् किनकि परमेश्वरको धार्मिकता व्यवस्थाको कामहरूद्वारा आउने कुरै होइन (रोमी ३:२०; १०:३-४; गलाती २:१६)। व्यवस्थाद्वारा धार्मिकता हासिल गर्न र प्राप्त गर्न एक व्यक्तिले आफ्नो जीवनको हरेक पल-पलमा सिद्धरूपमा व्यवस्था पालन गर्न सक्नुपर्छ। त्यसो त कुनै पनि पापी यहूदी (वा अन्यजाति) ले गर्न सकेको छैन न ता सक्छ नै (गलाती ३:१०-११)। अन्यजातिहरू परमेश्वरको धार्मिकताको खोजीमा त्यसको पिछा गरिरहेका थिएनन् तर तिनीहरूले सुसमाचार सुने र ख्रीष्टमाथि भरोसा राखे र सित्तैंमा र पूर्णरूपमा धर्मी ठहरिए (रोमीहरूलाई यो पत्र लेखिँदा थुप्रै-थुप्रै अन्यजातिहरूले इसाई विश्वासलाई ग्रहण गरिसकेका थिए)। यहूदीहरू परमेश्वरको धार्मिकतालाई पिछा गरिरहेका थिए तर त्यसलाई गलत तरिकाले प्राप्त गर्न खोजिरहेका थिए, अर्थात् उनीहरू मुक्तिदातामाथि भरोसा राख्नुको सट्टा आफैमाथि भरोसा राख्दैथिए (रोमी १०:३)। जुन धार्मिकता उनीहरू चाहन्थे र उनीहरूलाई असाध्य खाँचो थियो त्यो उनीहरूले हासिल गरेनन् र त्यससम्म पुग्न सकेनन्। यहूदीहरूले खोजे तर पाएनन्। अन्यजातिहरूले खोजेनन् तर तिनीहरूले पाए! (त्यो मानिस जस्तै जसले जीवनभरि सुनको खोजी गरे तर पाएनन्; अर्कोले चाहिँ सुन खोजेकै थिएनन् तर घर बनाउन जग खन्दा सुनको ठूलो खानी भेटे। अर्को उदाहरण: शिकारीले दिनभरि खरायोलाई लखेट्छन् र पक्रन सक्दैनन्। अर्को मान्छे, जसले शिकार खेलिरहेकै छैनन्, ठीक समयमा ठीक ठाउँमा पुग्छन् र एउटा खरायो उसकै अँगालोमा उफ्रेर आउँछ!)

अर्को उदाहरण: कलकत्ताको समुद्री बन्दरगाहमा उभिएका त्यस्ता व्यक्तिहरूलाई कल्पना गर्नुहोस् जोहरू उफ्रेर समुद्र पारी थाइल्यान्ड देश पुग्न खोजिरहेका छन्। यो हुनै नसक्ने कुरा हो (जसरी पापी मानिसहरूलाई परमेश्वरको पवित्र व्यवस्था पालन गर्नु पनि गर्नै नसकिने कुरा हो)। उफ्रनेहरूमा कोही पनि पारी थाइल्यान्ड पुग्दैनन् यद्यपि कोही कोही अरू भन्दा पर उफ्रन्छन्। तर सबै नै एकदम टाढा रहेको थाइल्यान्ड देशको किनारमा पुग्नदेखि ज्यादै घटी हुन्छन्। अर्को व्यक्ति छ जो उफ्रन खोजिरहेकैछैन। ऊ केवल त्यहाँ उभिरहेको छ ती उफ्रन खोज्ने मूर्खहरूलाई अवलोकन गरिरहेको छ। अझ राम्ररी देख्न भनी ऊ बन्दरगाहमा रहेको एउटा जहाजमाथि यसो चढ्छ र एक्कासी जहाज बन्दरगाह छोडेर उसलाई थाइल्यान्डसम्मै पुर्याइदिन्छ। उफ्रनेहरू आफ्नै कोशिशले गर्न खोज्दैथिए र तिनीहरू आफ्नो लक्ष्य हासिल गर्न सकेनन्, त्यसलाई प्राप्त गर्न सकेनन्। छेउमा त्यतिकै उभिरहेको व्यक्ति चाहिँ सबै काम गरिदिने जहाजको माध्यमले थाइल्यान्ड पुगे (यद्यपि ऊ त्यहाँ पुग्न खोजिरहेको थिएन)। १ पत्रुस ३:१८ सित दाँज्नुहोस्।

रोमी ९:३२-३३

इस्राएलले परमेश्वरको धार्मिकता किन पाएन? किनकि तिनीहरूले त्यसलाई गलत तरिकाले पाउन खोजे। अनि तिनीहरूले उही ख्रीष्टलाई नै इन्कार गरे जसले उनीहरूका निम्ति आफू क्रूसमा मरिदिनुभएर उनीहरूलाई धर्मी ठहरिने मौका दिनुभएको थियो। फेरि पावलले पुरानो नियमबाट उद्दरण गर्दछन् (यशैया ८:१४ र २८:१६ पढ्नुहोस्)। फेरि पनि जहाजको उदाहरणलाई विचार गर्नुहोस्। यहूदीहरू आफ्नै बलमा थाइल्यान्ड पुग्न खोज्दैछन् र एउटैले पनि त्यो हासिल गरिरहेको छैन। अब त्यहाँबाट एउटा जहाज निस्केर जाने तरखरमा छ (यसले ख्रीष्टलाई दर्शाउँछ जसले तिनीहरूलाई जहाँ पुग्नुपर्ने हो त्यहाँ पुर्याउन सक्नुहुन्छ — १ पत्रुस ३:१८)। तिनीहरू यस कुराप्रति रूष्ट बन्छन् र ठेस खान्छन् (“यो जहाजलाई हाम्रो बाटोबाट हटाऊ। हामी उफ्रेर जान खोज्दैछौं!”) तिनीहरूले गर्नुपर्ने केवल जहाजमा चढ्नु थियो र थाइल्यान्डसम्मै पुर्याइदिने काम जहाजलै नै गरिदिनेथियो (जहाजले ख्रीष्टलाई दर्शाउँछ; जहाजमा चढ्ने कामले विश्वासलाई दर्शाउँछ; उफ्रने कामले चाहिँ व्यवस्थाका कामद्वारा परमेश्वरकहाँ पुग्न खोज्ने प्रयासलाई दर्शाउँछ, अथवा मानिसको आफ्नै धर्मकर्मको प्रयासलाई)।

दाँज्नुहोस् मत्ती २१:४२-४४। चट्टान, येशू ख्रीष्टसितको तपाईंको सम्बन्ध कस्तो छ? तीनओटा रोजाइ: १) तपाईं चट्टानमा ठेस खान सक्नुहुन्छ र तोडिन सक्नुहुन्छ (१ पत्रुस २:८); २) तपाईंले आफूमाथि चट्टान खस्न दिन सक्नुहुन्छ र धूलोपीठो पारिन सक्नुहुन्छ। ३) तपाईं चट्टानमाथि दृढसित खडा हुन सक्नुहुन्छ र सुरक्षित र सुनिश्चित बन्न सक्नुहुन्छ (विश्वासको दृष्टान्त)। यी तीन रोजाइलाई जहाजको दृष्टान्तमा लागु गरौं: १) जहाजमा ठक्कर खाएर चोट पारिने; २) पानीमा हामफालेर जहाजद्वारा पेलिने; ३) जहाज चढ्ने थाइल्यान्ड पुर्याइने।

रोमी ९ ले परमेश्वरको सार्वभौमिकतालाई जोड दिन्छ। अब हामी रोमी १० अध्यायलाई अध्ययन गर्न तयार भएका छौं जसले मानिसको जिम्मेवारीलाई जोड दिन्छ, विशेष गरी, यहूदी जनहरूको जिम्मेवारी अर्थात् मसीहमाथि विश्वास गर्ने र उहाँले मात्र प्रबन्ध गर्न सक्ने धार्मिकता भेट्टाउने जिम्मेवारी।


पृष्ठ संशोधन मिति: Friday 27-Mar-15
WordofTruth.com.np © 2017