रोमी ९:६-२०

यस पृष्ठलाई छाप्नुहोस्

रोमी ९:६

प्रतिज्ञाहरू: परमेश्वरले आफ्नो वचनमा इस्राएलीहरूलाई उदेकका प्रतिज्ञाहरू दिनुभएको छ। उहाँले उनीहरूलाई एउटा भूमि दिने प्रतिज्ञा गर्नुभएको छ (उत्पत्ति १५:१८; १७:८)। अब्राहामबाट एउटा महान् जाति आउनेछ भनेर प्रतिज्ञा गर्नुभएको छ (उत्पत्ति १२:२) जुन जाति परमेश्वरको सामु कहिल्यै नष्ट हुनेछैन भनेर प्रतिज्ञा गर्नुभएको छ (यर्मिया ३१:३६-३७)। उहाँले एउटा भावी राज्यको युगको प्रतिज्ञा गर्नुभयो जुन बेला जगतभरि धार्मिकता हुनेछ (यर्मिया २३:५) र विश्वभरि शान्ति छाउनेछ (मीका ४:३)। उनीहरूसित उहाँले एउटा नयाँ करार बाँध्नुहुनेछ भनेर इस्राएलीहरूलाई प्रतिज्ञा गर्नुभयो जसअन्तर्गत पापहरूको क्षमा र परमेश्वरसितको विशेष सम्बन्ध उनीहरूको भाग हुनेछ (यर्मिया ३१:३१-३४ र इजिकिएल ३६:२४-२९)। सबभन्दा महत्त्वपूर्ण कुरा त उनीहरूले आफ्नो बीचमा स्वयं यहोवा (यहोवा येशू) कै व्यक्तिगत उपस्थितिको आनन्दमय अनुभूति गर्नेछन् (यशैया ३३:१७,२२; इजिकिएल ४८:३५; यर्मिया २३:५-६)।

समस्या: पावलले रोमीको पत्र लेख्दाहुँदी बहुसङ्ख्यक यहूदीहरू ख्रीष्टलाई र सुसमाचारलाई इन्कार गर्दैथिए। पावलले प्रचार गरेको सुसमाचारबाट यो प्रस्ट दर्शाइँदै थियो कि ख्रीष्टलाई इन्कार गर्नेहरू अनन्तको लागि दण्डित हुन्छन् जसमा विश्वास नगर्ने यहूदीहरू पनि पर्दछन्। सुसमाचार झन् झन् बढी सङ्ख्यामा अन्यजातिहरूमा फैलिँदैथ्यो। मण्डली सुरु हुँदा मण्डली यहूदी विश्वासीहरूद्वारा बनेको थियो (प्रेरित २) तर समय बित्दै जाँदा झन् झन् धेरै अन्यजातिहरू बचाइए र ख्रीष्टको शरीरका अङ्गहरू बने। यसरी हाम्रो सामु एउटा समस्या सृजना भएको देखिन्छ: ख्रीष्टमा विश्वास गर्न नमान्ने यहूदीहरूको बारेमा हामी के भनौं? ख्रीष्टलाई अस्वीकार गरेकोले परमेश्वरको क्रोधको सामना गर्नुपर्ने र प्रतिज्ञा गरिएको राज्यमा कहिल्यै सहभागी हुन नपाउने यहूदीहरूको सम्बन्धमा हामी के भनौं? परमेश्वरले यदि यी सबै प्रतिज्ञाहरू इस्राएलीहरूलाई प्रतिज्ञा गर्नुभएको छ भने, किन त थुप्रै थुप्रै यहूदीहरूले यी प्रतिज्ञाहरूको पूरा हुवाइलाई कहिल्यै देख्न सक्दैनन्? के परमेश्वरले आफ्नो वचन पूरा गर्न बिर्सनुभएको छ?

"व्यर्थ भयो" = विफलभयो।परमेश्वरकोवचनविफलभएकोछैन! इस्राएललाई दिइएका परमेश्वरका प्रतिज्ञाहरू पूरा नभईकन भुइँमा कहिल्यै खस्नेछैनन् (यहोशू २१:४५)। आफूले अब्राहाम, इसहाक वा याकूबसित गर्नुभएको प्रतिज्ञाहरूलाई परमेश्वरले कहिल्यै तोड्नुभएको छैन र तोड्नुहुनेछैन। तर यदि परमेश्वरले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ भने यी प्रतिज्ञाहरूको पूरा हुवाइ कहिल्यै नदेख्ने थुप्रै यहूदीहरू हुनेछन् भन्ने तथ्यको स्पष्टिकरण कसरी दिने? पावलले एउटा सिद्धान्त बताएर यसलाई प्रष्ट्याउँछन्: जो इस्राएलका वंशका हुन्, उनीहरू सबै इस्राएली होइनन्। याकूबको वंशको हुँदैमा एक व्यक्ति साँचो इस्राएली बन्दैन। यहूदी हुँदैमा साँचो यहूदी भइँदैन। बाहिरी यहूदी हुँदैमा भित्री यहूदी भइँदैन (रोमी २:२८-२९)। बाहिरी खतना हुँदैमा हृदयमा खतना हुँदैन (रोमी २:२८-२९)।

रोमी ९:७

एक व्यक्ति एउटा महत्त्वपूर्ण पूर्ख्यौलीमा जन्मेर पनि परमेश्वरका आशिषहरू र प्रतिज्ञाहरूबाट बञ्चित हुनु सम्भव छ भन्ने सिद्धान्तलाई पावल अब उदाहरणसहित व्याख्या गर्न थाल्छन्। चाखलाग्दो कुरा, पावल पहिले उत्पत्तिको पुस्तकमा जान्छन् र आफ्नो कुरा दर्शाउन अब्राहाम, इसहाक र याकूब आदिका जीवनहरूको उदाहरणलाई लिन्छन्। पावलले आफ्ना पाठकहरू उत्पत्तिको पुस्तकसित राम्ररी परिचित हुन्छन् भन्ने कुरा मानिलिन्छन्। पछि उनले फाराओको उदाहरण दिँदा पाठकहरू प्रस्थानको पुस्तकसित पनि परिचित हुन्छन् भनी मानिलिन्छन्। पछि यस अध्यायमा उनले होशे र यशैयाबाट उद्दरण गर्दा पाठक यी पुस्तकहरूसित पनि परिचित हुन्छन् भनेर पावलले मानिलिन्छन्। रोमीको पुस्तकमा पावलले पुरानो नियमलाई करिब ६० पटक उद्दृत गर्छन्! आज धेरैजसो चर्च जाने मानिसहरू बाइबलको ज्ञानमा ज्यादै गरिब छन्। पवित्र शास्त्रको प्रायः पन्नाहरूसित उनीहरू अपरिचित छन्। जब बाइबल पल्टाएर हेर्नुहुन्छ तपाईंको आँखाको सामु देखा पर्ने पन्नासित तपाईं कत्तिको परिचित हुनुहुन्छ? उहाँको वचनसित झन् झन् राम्ररी परिचित हुन परमेश्वरले हामीलाई सहायता गर्नुभएको होस्!

पद ७ लाई विचार गर्नुहोस् -- इसहाक अब्राहमका एउटै मात्र छोरा थिएनन्। अब्राहमबाट जन्मने पहिलो छोरा इश्माएल थिए; इसाहक वर्षौंपछि जन्मेका हुन्। त्यसैले अब्राहमका दुई सन्तान थिए (अब्राहमका वंशका दुईजना थिए) तर तिनमा एकजनाले मात्र ‘म अब्राहमको साँचो सन्तान हुँ’ भन्न सक्थे। शरीरमा दुवै अब्राहमका सन्तान थिए, तर आत्मिक रूपमा परमेश्वरले ती दुईमा एकजनालाई मात्र आशिष र प्रतिज्ञाहरूको पात्र हुनलाई चुन्नुभयो (उत्पत्ति १७:१९-२१; २१:१२)।

ख्रीष्टको समयमा यहूदीहरूले आफू अब्राहामको सन्तान भएको कुरामा ठूलो गर्व गर्ने गर्थे (मत्ती ३:९; यूहन्ना ८:३३,३७,३९,४४)। अब्राहामबाट आएका जति सबै नै आशिषित हुन्छन् र प्रतिज्ञाहरूका भागीदार बन्छन् भनी ठान्थे। इस्राएलबाट जन्मेका जति सबै साँचो इस्राएल हुन् भनी उनीहरू ठान्थे। साँचो यहूदी हुन चारजना पिता आवश्यक छन् भन्ने कुरा उनीहरूले बुझ्न सकेनन् -- अब्राहाम, इसाहक, याकूब र परमेश्वर! यो कुरालाई अब्राहाम आफ्ना पिता भएको दाबी गर्ने इश्माएलीहरू (वर्तमान समयका अरबीहरू) सित तुलना गर्नुहोस्। यो कुरा अब्राहाम र इसाहक दुवैलाई आफ्ना पूर्वजको रूपमा दाबी गर्ने एसावका सन्तानहरू (एदोमीहरू) सित तुलना गर्नुहोस्। यो कुरालाई ख्रीष्टको समयका विश्वास नगर्ने ती यहूदीहरूसित तुलना गर्नुहोस् जसले अब्राहाम, इसहाक र याकूब (तीनैजना) लाई आफ्ना पिताको रूपमा दाबी गर्न सक्थे; तर समस्या के थियो भने परमेश्वर तिनीहरूका पिता हुनुहुन्नथ्यो (यूहन्ना ८:४२)। साँचो यहूदी हुन चारैजना चहिन्छ: अब्राहाम, इसाहक, याकूब र परमेश्वर। एक व्यक्ति परमेश्वरसित ठीकसँग सम्बन्धित हुन सक्ने व्यक्तिगत विश्वासद्वारा मात्र हो!

रोमी ९:८-९

इश्माएल शरीरका सन्तान थिए; इसाहक प्रतिज्ञाका (गलाती ४:२२-२३,२८)। इश्माएलको जन्म प्राकृतिक थियो (उत्पत्ति १६)। त्यो जन्म अब्राहामले परमेश्वरको कुरा सुनेर भएको जन्म थिएन तर आफ्नी पत्नीको कुरा सुनेर भएको थियो। परमेश्वरलाई उहाँको प्रतिज्ञा पूरा गर्न सहायता गर्न खोज्ने एउटा शारीरिक प्रयास थियो त्यो। इश्माएल त्यसको नतीजा थियो जो शरीरको सन्तान थियो। इसाहकको जन्म चाहिँ अलौकिक थियो (उत्पत्ति १८:१४)। त्यो जन्म आश्चर्यकर्मरूपी जन्म थियो -- परमेश्वरकै काम थियो! इसाहक प्रतिज्ञाका सन्तान थिए। पावलको तात्पर्य यो थियो: अब्राहामका दुई छोराहरू थिए तर एकजना मात्र करारका प्रतिज्ञाहरूको भागीदार भए अनि उनी त्यो चुनिएको वंशजको भागीदार भए जो एउटा महान् जातिको रूपमा वृद्धि हुनेवाला थिए जसबाट नै मसीह आउनेवाला हुनुहुन्थ्यो। इसाहकलाई गन्तीमा लिइयो; इश्माएललाई लिइएन।

रोमी ९:१०

यहाँ अर्को उदाहरण छ जो झनै अचम्मको छ। अब्राहामका छोराहरूका आमाहरू भिन्न-भिन्नै थिए र तिनीहरू छुट्टाछुट्टै जन्मे। इसाहकको छोराहरूका भने आमा एउटै थिए, बाबु एउटै थिए ("एकजनाद्वारा अर्थात् हाम्रा पिता इसाहकद्वारा गर्भवती भएकी थिई") र तिनीहरू सँगसँगै जन्मे। जन्म एउटै थियो र बच्चा दुईटा जन्मे (जुम्ल्याहा)। पहिलो जन्मेको अस्वीकार गरियो र दोस्रो जन्मने चाहिँ चुनियो (पद १२-१३)। मान्छेले चुन्ने काम गरेका भए एसाव चुनिने थिए किनकि जेठालाई नै प्रायः प्राथमिकता दिइन्थ्यो र बाबुचाहिँले एसावलाई नै प्राथमिकता दिएका थिए (उत्पत्ति २५:२८)। तर छनोट कार्य परमेश्वरको हातमा हुन्छ, मान्छेको हातमा होइन।

रोमी ९:११-१२

उत्पत्ति २५:२३ पढ्नुहोस्। रिबेकाका दुई छोराहरू जन्मनु अघि गर्भमा छँदै परमेश्वर उनीसित बोल्नुभयो र भन्नुभयो, "जेठा (पहिले जन्मने एसाव) ले कान्छा (याकूब) को सेवा गर्नेछ।" परमेश्वरले कान्छो (सानो) लाई रोज्नुभयो र उहाँले जेठो (ठूलो) लाई रोज्नुभएन र त्यस छनोटबाट उहाँले सानोलाई ठूलो बनाउनुभयो! यो चुनाउ ती छोराहरू जन्मनुअघि नै गरियो र उनीहरूले असल वा खराब गर्नु अघि नै गरियो। चुनाउअनुसार (उहाँको रोजाइ अनुसार) को परमेश्वरको मनसाय स्थिर रहोस् (स्थायी होस्, अपरिवर्तनीय रहोस्)। परमेश्वरको चुनाउ (उहाँको रोजाइ) कुन आधारमा गरिने कुरा हो? त्यो "कामहरूबाट होइन"। चुनाउ कामहरूबाट होइन, आर्जनबाट होइन, योग्यताबाट होइन (रोज्न योग्य भएकोले तपाईं रोजिएको होइन)। त्यो कामहरूमा आधारित छैन। परमेश्वरको चुनाउ "बोलाउनुहुनेबाट" हो। त्यो स्वयं परमेश्वरमै आधारित कुरा हो। चुनाउ गरिनुको कारण चुन्ने व्यक्तिमा भेटिने कुरा हो, चुनिएको व्यक्तिमा भेटिने कुरा होइन। यसरी इसाहकका दुई छोराहरू भए तर एकजनाले मात्र "म अब्राहाम र इसाहकको साँचो सन्तान हुँ" भन्न सक्थ्यो। शरीरमा दुवै सन्तान थिए तर आत्मिक रूपमा परमेश्वरले एउटालाई आशिषहरू र प्रतिज्ञाहरूको प्रापकबन्नलाई रोज्नुभयो।

रोमी ९:१३

यहाँउद्दृत वाक्य हामी मलाकी १:२-३ मा भेट्टाउँछौं। बोल्नुहुने चाहिँ परमेश्वर हुनुहुन्छ र यो अभिव्यक्ति ज्यादै कडा अभिव्यक्ति छ। एकदिन एउटी स्त्रीले स्पर्जनलाई सोधिन्, "म एसावलाई घृणा गर्छु भनेर परमेश्वरले भन्नुभएको कुरा म बुझ्न सक्दिनँ।" स्पर्जनले जवाफ दिए, "त्यो त मलाई समस्या लाग्दैन हजुर। परमेश्वरले याकूबलाई कसरी प्रेम गर्न सक्नुभयो भन्ने कुरा बुझ्न पो समस्या लाग्छ मलाई त।" हो नि, याकूब त एक छट्टु थिए! सबै मानिसहरू पनि त्यस्तै छन्। मानिसहरू हराएका छन् र नरक जाँदैछन् भन्ने कुरा अचम्मको छैन किनभने हामीले पाउनुपर्ने कुरा त्यही हो। कोही व्यक्तिहरू बचाइन्छन् र स्वर्ग जान्छन् भन्ने कुरा पो अचम्मको कुरा छ! परमेश्वरको न्याय अचम्मलाग्दो छैन किनभने त्यो त हामीले पाउनुपर्ने कुरा हो। अचम्मको कुरा त परमेश्वरको अनुग्रह पो छ: अचम्मको अनुग्रहले, बाँच्यो तुच्छ प्राण मेरो!" भजनसङ्ग्रह ५:५ पढ्नुहोस् र पद ४ सित तुलना गर्नुहोस् (परमेश्वरको उपस्थितिमा कुनै पनि व्यक्तिलाई प्रवेश दिइन्छ भन्ने कुरा अचम्मको छ)। मलाकी १:२-३ मा "घृणा" भन्ने शब्दलाई हामी कसरी बुझ्न सक्छौं? लूका १४:२६ सित मत्ती १०:३७ लाई तुलना गर्नुहोस् (प्रभुको निम्ति हाम्रो प्रेम यति ठूलो हुनुपर्छ कि अरू कसैप्रतिको हाम्रो प्रेम तुलनामा घृणा जस्तै हुनुपर्छ)। अर्को प्रकाश पार्ने खण्ड हो उत्पत्ति २९:१६-१८,३०,३३। याकूबले राहेललाई चुने। उनले तिनलाई आफ्नो जीवन साथी हुनलाई रोजे। उनले तिनलाई प्रेम गर्न रोजे। लेआलाई घृणा गरियो यस अर्थमा कि तिनी रोजिएकी थिइन। रोमी ९ अध्यायको मुद्दा यो छ: परमेश्वरले कसलाई रोज्नुभएको छ? पावलको मुख्य तर्क यो छ: तिनीहरू सबै इस्राएल होइनन् जो इस्राएलको वंशबाट आएका छन्। इस्राएलभित्र एउटा विशेष समूह छ जसलाई चुनिएको इस्राएल (साँचो इस्राएल, विश्वासी इस्राएल) भनेर चिनिन्छ। यसरी हाम्रो अगाडिको विषयवस्तु चुनाउ (election) हो। तसर्थ परमेश्वरले "म एसावलाई घृणा गर्छु" भन्नुको मतलब "मैले एसावलाई चुनेको छैन" भन्नु हो। "म याकूबलाई प्रेम गर्छु" को मतलब "मैले याकूबलाई चुनेको छु र मेरा प्रतिज्ञाहरू र आशिषहरू उनैमा र उनीपछि उनको वंशमा पूरा हुनेछन्" भन्नु हो।

सिद्धान्त = तिनीहरूसबैइस्राएलहोइनन्जोइस्राएलबाटका हुन्

पावलको चित्रण:

प्रयोग:आजप्रभुयेशूख्रीष्टमा विश्वास गर्नेहरू अब्राहामका सन्तान (अब्राहामको वंशका) हुन्। गलाती ३:९,२६,२९ र रोमी ४:११-१२,१६ पढ्नुहोस्। अब्राहाम सबै विश्वासयोग्यहरू (सबै विश्वासीहरू चाहे यहूदी चाहे अन्यजाति) का पिता हुन्। विश्वास गर्ने अन्यजातिहरू अब्राहामका आत्मिक सन्तान हुन् तर शारीरिक सन्तान होइनन्। विश्वास गर्ने यहूदीहरू अब्राहामका शारीरिक लगायत आत्मिक सन्तान हुन्। विश्वास नगर्ने यहूदीहरू अब्राहामका शारीरिक सन्तान हुन् तर आत्मकि सन्तान होइनन्। विश्वास नगर्ने यहूदीहरूको अब्राहामसित कुनै पनि हिसाबले सम्बन्ध छैन। अब्राहामसित तपाईंको सम्बन्ध कस्तो छ?

रोमी ९:१४

कसैले आपत्ति जनाउला भनेर पावलले अघिबाटै त्यसको प्रत्युत्तर दिन्छन्: "परमेश्वरले एक व्यक्तिलाई चुन्ने र अर्कोलाई नचुन्ने काम कसरी गर्न मिल्छ? यो न्यायोचित भएन!" यसले हामीलाई चाबी प्रश्न सोध्न लगाउँछ: "के परमेश्वरसँग अधर्म छ त"? (ग्रीकमा यस प्रश्नले नकारात्मक जवाफको माग गर्छ)। "अधर्म" = दुष्टता, अन्याय, गलत कामकुरा वा गलत निर्णय, अन्यायपूर्ण व्यवहार गर्नु। के परमेश्वरसँग अधर्म (अन्याय) छ त? कदापि नहोस्! परमेश्वर सिद्धरूपमा धर्मी र न्यायोचित हुनुहुन्छ र उहाँले गर्ने सबै कामहरूमा उहाँ न्यायी हुनुहुन्छ। एसावसँग र याकूबसँग र हामी सबैसँग अधर्म छ तर परमेश्वरसँग भने छैन। अधर्म मानिससँग हुन्छ तर परमेश्वरसँग हुँदैन (रोमी १:१८,१९; २:८; ३:५; ६:१३ मा पढ्नुहोस् जहाँ उही "अधर्म" शब्द भेटिन्छन्; साथै रोमी ३:१० सित तुलना गर्नुहोस्)। एकैचोटी सदाका निम्ति निश्चित बन्नुहोस्: सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय गर्नुहुन्छ (उत्पत्ति १८:२५ पढ्नुहोस्)। परमेश्वर अन्यायी हुनुभएको भए उहाँ परमेश्वर हुन छोड्नुहुन्थ्यो! धर्मी परमेश्वरले कुनै पनि गलती गर्न सक्नुहुन्न! यदि परमेश्वर मानिसका कामहरूको आधारमा वा मानिसको योग्यताको आधारमा वा मानिसले परमेश्वरबाट पाउनुपर्ने कुराको आधारमा व्यवहार गर्नुहुँदो हो त वा परमेश्वरले न्यायको आधारमा व्यवहार गर्नुहुँदो हो त, हामीमध्ये कोही पनि उम्कन सक्ने थिएनौं! हामी सबै परमेश्वरको क्रोध र न्यायमुनि पर्न योग्य छौं। हामी सबै परमेश्वरको नरकको योग्य छौं। परमेश्वरले यदि हामी एक-एकलाई सदाको लागि आगोको झीलभित्र पठाउनु हुँदो हो त उहाँ पूर्णरूपमा न्यायी र धर्मी हुनुहुनेथ्यो किनकि हामी एक-एकले पाउनु पर्ने कुरा नै त्यही हो (रोमी ६:२३क; रोमी १:३२; १:१८)। अचम्मको कुरा त परमेश्वरले कोही-कोहीलाई बचाउनुहुन्छ भन्ने होइन तर परमेश्वर कसैप्रति नै कृपालु हुन सक्नुहुन्छ भन्ने कुरा अचम्मको छ! मानिसहरू न्यायमा पर्छन् भन्ने कुरा होइन तर धर्मी ठहरिन्छन् भन्ने कुरा पो अचम्मको छ! एसावलाई घृणा गर्नभयो भन्ने कुरा होइन तर परमेश्वरले याकूबलाई प्रेम गर्नुभयो भन्ने कुरा पो अचम्मको छ! परमेश्वरको चुनाउ सम्बन्धी रहस्यहरूलाई चिन्तन मनन गर्नेहरू एउटा कुरामा कहिल्यै अचम्म मान्न र धन्यवादी हुन छोड्नुहुन्न कि परमेश्वरले उहाँको असीम कृपा र अनुग्रहमा कोही-कोहीलाई चुन्नुभएको छ: "तर भाइहरूहो, प्रभुका प्रियहरूहो, तिमीहरूका निम्ति सधैंभरि परमेश्वरलाई धन्यवाद चढाउन हामीलाई कर लागेको छ किनभने आत्माको पवित्रीकरण र सत्यको विश्वासद्वारा परमेश्वरले तिमीहरूलाई मुक्तिका निम्ति शुरुदेखि नै चुन्नुभएको छ" (२ थेस्सलोनिकी २:१३)।

रोमी ९:१५

यहाँ हामी परमेश्वरको उदेकको कृपा (दया) र कोमलता देख्दछौं। सार्वभौमपरमेश्वरलेआफ्नो कृपा कोहीकोही माथि खन्याउनुहुन्छ ("जसलाई म कृपा गर्न चाहन्छु")। प्रश्न: "तर परमेश्वरले किन सबैजनामाथि आफ्नो कृपा खन्याउनुहुन्न?" प्रश्न सोध्नेले कुरै नबुझेको देखिन्छ। खास प्रश्न त यो पो छ: "परमेश्वरले किन कसैमाथि पनि आफ्नो कृपा खन्याउनुहुन्छ? हामी कोही पनि परमेश्वरको कृपा पाउन योग्य छैनौ। हामीले परमेश्वरको एक थोपा कृपा पाउन पनि योग्य छैनौं!" यदि परमेश्वरले कुनै कृपा देखाउनुहुन्न र एक-एक व्यक्तिमाथि उहाँले आफ्नो क्रोध खन्याउनुहुन्छ भने उहाँ बिलकुलै न्यायी हुनुहुनेथ्यो किनकि हरेकले पाउनुपर्ने त त्यही हो। अचम्मको कुरा यो छ कि परमेश्वरले कसैलाई पनि कृपा देखाउनुहुन्छ! कसैले मुक्ति पाउनु नै अचम्मको कुरा छ!

पावलले प्रस्थान ३३:१९ बाट उद्दृत गर्दैछन् र उक्त खण्डको प्रसङ्ग बुझ्नु महत्त्वपूर्ण छ। प्रस्थान ३२ मा इस्राएलका सन्तानहरू छिट्टै र दुष्ट रीतिले परमेश्वरले उनीहरूलाई आज्ञा गर्नुभएको बाटोबाट भड्किए (पद ८) र दोस्रो आज्ञालाई तोड्दै एउटा सुनको बाछो बनाए। ती मानिसहरू दोषी थिए र सबैजना दण्ड दिइन र नष्ट गरिन योग्य थिए (प्रस्थान ३२:१० -- परमेश्वरले न्यायिक रूपमै ती सबैजनालाई नष्ट गर्न सक्नुहुन्थ्यो!)। अचम्मको कुरा यो छ कि केवल ३००० मात्र मरे (प्रस्थान ३२:२८)। आफ्ना जातिको निम्ति मोशाको वास्तालाई (प्रस्थान ३२:३२) यहूदीहरूको निम्ति रहेको पावलको वास्तासित तुलना गर्नुहोस् (रोमी ९:१-३)। हाम्रा परमेश्वरको महान् कृपाहरू देखेर हामी कहिल्यै अचम्म मान्न नछोडेका हौं (प्रस्थान ३४:५-७) अनि हामी, मोशा जस्तै, शिर निहुराएर उहाँलाई दण्डवत् गरेका हौं (प्रस्थान ३४:८) र यसरी भनेका हौं, "प्रभु तपाईंसित कुनै अधर्म छैन!”

रोमी ९:१६

यस पदले परमेश्वरको कृपा खन्याइने कामको कुरा गर्दैछ: "…कृपा देखाउनुहुने परमेश्वर।" कुन आधारमा परमेश्वरले कृपा देखाउनुहुन्छ? पदले के भन्छ ध्यान दिनुहोस्, "यो कुरा न ता…गर्नेको न ता …को तर …परमेश्वरको हो।"योमानिसबाटकोहोइनतरपरमेश्वरबाटकोहो! यूहन्ना१:१३सिततुलना गर्नुहोस्।

"यो कुरा न ता इच्छा गर्नेको" = यो मान्छेको इच्छा वा कामना वा चाहनामा भर पर्ने कुरा होइन; "न ता दोडादौड गर्नेको" = यो कुरा मान्छेको प्रयासमा भर पर्ने कुरा होइन (मान्छेको कडा परिश्रम र सङ्घर्ष)।

परमेश्वरको कृपा खन्याइने काम मान्छेको इच्छा र प्रयासमा भर पर्ने कुरा होइन। यो परमेश्वरमा भर पर्ने कुरा हो जसले भन्नुभयो, "जसलाई म कृपा गर्न चाहन्छु, उसलाई म कृपा गर्नेछु।" स्मरण रहोस्, कृपा पाउन कोही योग्य छैन। हामी सबै क्रोध पाउन योग्य छौं (एफेसी २:३-५)। तर परमेश्वर कृपा गर्न धनवान् हुनुहुन्छ (रोमी १०:१२)।

रोमी ९:१७
(प्रस्थान ९:१६ को उद्दरण; प्रस्थान १४:४ सित तुलना गर्नुहोस्)

यहाँ फाराओको उदाहरण पाउँछौं जो उनको ढिटपन र कठोर हृदय र परमेश्वरको कुरा मान्न उसले गरेको पापमय इन्कारका निम्ति कुख्यात छन्। यहाँ एकजना छन् जसले कृपा पाएनन् तर जसको हृदय कठोर बनाइयो (रोमी ९:१८ख)। तर फाराओलाई उसको दुष्टताको निम्ति दोष्याउनु अघि हामी सबैसँग फाराओको जस्तै हृदय छ भन्ने कुरा याद गरौं (यर्मिया १७:९)। आदममा सबै सन्तानहरू भ्रष्ट छन् (भजनसङ्ग्रह १४:१-३) र पूरै खराब छन् (रोमी ३:९-१९)।

"प्रचार" = प्रकटगर्नु, प्रदर्शन गर्नु, प्रमाणित गर्नु, देखिने बनाउनु, दर्शाउनु (रोमी ९:२२ र एफेसी २:६-७ तुलना गर्नुहोस्)। फाराओलाई उठाउनुमा परमेश्वरको उद्देश्य छ। परमेश्वरले आफ्नो सामर्थ्य देखाउन र प्रदर्शनी गर्न चाहनुभयो र परमेश्वरले आफ्नो नाम पृथ्वीभरि घोषणा गर्न चाहनुभयो। पापीहरूको मुक्ति परमेश्वरलाई ज्यादै महत्त्वपूर्ण छ (१ तिमोथी १:१५; यूहन्ना ३:१७, आदि) तर परमेश्वरलाई त्यो नै सर्वोपरि महत्त्वको कुरा होइन। परमेश्वरलाई अरू कुनै कुरा भन्दा पनि बढी वास्ता भएको कुरा भनेको उहाँको आफ्नै महिमा हो (उहाँ को हुनुहुन्छ भन्ने कुराको प्रमाणीकरण, प्रकटहुवाइ र प्रकाश)।

फाराओद्वारा परमेश्वरले आफूलाई एउटा गजबको तरिकाले प्रकट गर्न सक्नुभयो। फाराओ एक अत्यन्तै शक्तिशाली शासक थिए र उनको नाम र मर्यादा परपरसम्म फैलिएको थियो। धेरै हिसाबमा मिश्रको राज्यजस्तो अरू कुनै थिएन।

"पृथ्वीभरि प्रचार होस्" = जताततै घोषणा गरिनु; परपरसम्म घोषणा गरिनु। फाराओसितको परमेश्वरको व्यवहारले परमेश्वरलाई नचिन्ने संसारले इस्राएलका परमेश्वरको सामर्थ्यको एक झलक पाए (यहोशू २:९-१०; १ शमूएल ४:७-८)।

रोमी ९:१८

"यसकारण जसलाई उहाँले कृपा दिन चाहनुहुन्छ, त्यसलाई दिनुहुन्छ: अनि जसलाई कठोर पार्न चाहनुहुन्छ, त्यसलाई पार्नुहुन्छ।" कृपा देखाउनुहुने परमेश्वर हुनुहुन्छ; हृदयलाई कठोर पार्ने ("कडा" वा "सुख्खा" पार्ने) परमेश्वर हुनुहुन्छ। घ्युलाई पगाल्ने घामले माटोलाई कडा पनि बनाउँछ। "एकातिर क्षमा पाउनेले ऊ अरूभन्दा असल भएकोले आफूले क्षमा पाएको हो भन्न मिल्दैन; अर्कोतिर दण्ड पाउनेले आफूले आफ्ना पाहरूका निम्ति जे उचित प्रतिफल छ त्यसबाहेक केही पाएको छैन भन्ने कुरा स्वीकार गर्नैपर्छ" (चार्ल्स हज)। हराएकाहरूले आफैलाई मात्र दोष दिन सक्छन्; मुक्ति पाएकाहरूले परमेश्वरलाई मात्र धन्यवाद दिन सक्छन्। सबै दोष मान्छेले पाउँछ (ऊ यसको योग्य छ); सबै श्रेय परमेश्वरलाई जान्छ (उहाँ त्यसको योग्य हुनुहुन्छ!)।सारामहिमापरमेश्वरले नै पाउनुहुन्छ (१ कोरिन्थी १:२९-३१)!

फाराओसितको परमेश्वरको व्यवहारलाई विचार गर्दा हामीले केही कुराहरूलाई ख्यालमा राख्नुपर्छ:

  1. परमेश्वरले फाराओको सम्बन्धमा कुनै अधर्म गर्नुभएन किनकि परमेश्वरसँग कुनै अधर्म छैन (रोमी ९:१४)।
  2. फाराओको हृदयलाई परमेश्वरले कठोर पार्नुभयो (प्रस्थान ४:२१; ९:१२; रोमी ९:१७-१८);
  3. फाराओ आफैले आफ्नो हृदयलाई पटकपटक कठोर पारे (प्रस्थान ८:३२);
  4. फाराओसित परमेश्वर ज्यादै सहनशील हुनुभयो (रोमी ९:२२)। फाराओले पटकपटक परमेश्वरलाई "हुँदैन" भने तर परमेश्वर पर्खनुभयो र उसलाई थप मौकाहरू दिनुभयो (यदि तपाईं वा म परमेश्वरको ठाउँमा भएका भए हामीले उसलाई पहिल्यै नष्ट गरिसकेका हुन्थ्यौं!);
  5. यी मानिसको जीवनमा परमेश्वर महिमित हुनुभयो (प्रस्थान ९:१६; १४:४)।
रोमी ९:१९

पावलले अर्को आपत्तिजनक प्रतिक्रियाको प्रतीक्षा गर्छन्: "उहाँले अझै किन दोष लाउनुहुन्छ त? किनकि कसले उहाँको इच्छालाई सामना गरेको छ र?" परमेश्वरले यदि हामीलाई कठोर पार्नुहुन्छ भने कठोर भएकोमा उहाँले हामीलाई किन दोष्याउने? "सामना" = विरोधमा खडा हुनु, विरोध गर्नु। फाराओले यसरी भनेको हामी कल्पना गर्न सक्छौं, "परमेश्वरले मलाई कसरी दोष लाउन मिल्छ र? म त केवल उहाँको इच्छा पूरा गर्दैछु र म उहाँलाई महिमा ल्याउँदैछु।"

रोमी ९:२०

पावलले उपर्युक्त प्रतिक्रियालाई खासै जवाफ दिँदैनन् बरु प्रभुको सामु हाम्रो हृदयको साँचो मनोभाव कस्तो हुनुपर्छ भन्ने कुरा दर्शाउँछन्। पावलले रोमी अध्याय ९ मा बुझ्न ज्यादै कठीन शिक्षाहरूको चर्चा गर्दैछन् (चुनाउअनुसार परमेश्वरको मनसाय - पद ११; परमेश्वरले सार्वभौम रूपमा कृपा देखाउनुहुने र अरूलाई कठोर पार्नुहुने कुरा -- पद १८, आदि)। यी कुरा बुझ्ने एउटै मात्र उपाय छ। हामीले परमेश्वरको सामु हाम्रो सही ठाउँ लिनुपर्छ (दाँज्नुहोस् प्रस्थान ३४:८ -- मोशाले आफ्नो शिर निहुराए र दण्डवत् गरे)। हामी को हौं भन्ने कुरा हामीले महसुस गर्नुपर्छ। हामी केवल धूलोका कमजोर सृष्टि मात्र होइनौं, अझ हामी पतित, भ्रष्ट प्राणी पनि हौं। हामीले आफूलाई नम्र तुल्याएर हाम्रा शिरहरूलाई हाम्रा सृष्टिकर्ताको सामु निहुराएपछि मात्र हामीले पापी मानिस सितको (जोहरू केवल परमेश्वरको क्रोध र न्याय पाउन मात्र योग्यका थियौं)परमेश्वरको सार्वभौम व्यवहारको बारेमा सिक्न तयार हुनेछौं।

परमेश्वरसित सवाल-जवाफ गर्न मानिसको के अधिकार छ र? के मान्छेले उसको सृष्टिकर्ताले भन्दा बढी जान्दछ र? के सृष्टि सृष्टिकर्ताभन्दा बुद्धिमान् छ? उहाँको कामकुरा न्यायोचित छ कि छैन भनेर प्रश्न उठाउने हामी को हौं र? उहाँको निष्पक्षतामाथि शङ्का उठाउने हामी को हौं र? एक डल्ला माटोलाई आफ्नो रोजाइ बमोजिमको जस्तोसुकै भाँडा बनाउन कुमालेको पूर्ण अधिकार हुन्छ अनि बनिएको भाँडाले त्यसमा आपत्ति जनाउने उसको कुनै अधिकार हुँदैन।
यशैया २९:१६ लाई हेर्नुहोस् जहाँ यशैया अगमवक्ताले माटोको भाँडाले आफू बनाइएको होइन भन्नु ("उनले मलाई बनाएनन्") अथवा कुमालेको बुद्धि छैन भनेर मूर्ख कुरा गर्नु ("उनको समझ छैन") कति ठूलो मूर्खता हुन्छ भन्ने कुरा देखाउँछन्। यशैया ४५:९ पढ्नुहोस् जहाँ यशैया अगमवक्ताले भाँडाको एउटा खपटाले आफ्नो रचनाकारसँग झगडा गर्नु कति मूर्ख कुरा हो भन्छन्। यर्मिया १८:१-६ सित तुलना गर्नुहोस्।