Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

सेभेन्थ-डे एड्भेन्टिस्ट शिक्षा - भाग १

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

यस अध्ययनमा हामी सेभेन्थ-डे एड्भन्टिजमका केही झूटा शिक्षाहरूलाई विश्लेषण गर्नेछौं र तिनलाई बाइबलको सत्यतासित तुलना गर्नेछौं।

झूटा शिक्षा #१ -- अनुग्रहसित व्यवस्था मिसाइएको सुसमाचार

उनीहरूको भनाइमा मुक्ति विश्वासद्वारा अनुग्रहले पाइन्छ भन्ने भए तापनि वास्तवमा सेभेन्थ-डे एड्भेन्टिजमले अनुग्रहसित व्यवस्थाका कामलाई जोडेर सुसमाचारलाई अर्कै ढङ्गले परिभाषित गरेको छ।

सेभेन्थ-डे एड्भन्टिस्ट शिक्षाअनुसार, पापीले परमेश्वरको व्यवस्था पालन गर्न सक्नका निमित्त र त्यसद्वारा उसले ठीक चरित्र विकास गरेर ऊ स्वर्गको योग्य बन्न सक्नका निमित्त परमेश्वरले उसलाई दिनुहुने क्षमा र क्षमता नै अनुग्रह हो। जुन व्यक्ति परमेश्वरको अनुग्रहले ठीक चरित्र विकास गर्न विफल हुन्छ ऊ स्वर्ग पुग्दैन अरे। विश्वासीलाई स्वर्गतिर उकास्ने दुई पखेटा विश्वास र काम हुन् भनेर उनीहरू सिकाउँछन्।

यस्ता झूटा शिक्षा सिकाउनेहरूको बयान पावल प्रेरितले सुहाउँदो तवरले गरेका छन्:

“अनि सुटुक्कै भित्र ल्याइएका झूटा भाइहरूले गर्दा, जो हामीलाई बन्धनभित्र हुल्नाका निम्ति ख्रीष्ट येशूमा भएको हाम्रो स्वतन्त्रताको जासूसी गर्नालाई सुटुक्कै भित्र आए” (गलाती २:४)।

मुक्ति सम्बन्धी सेभेन्थ-डे एड्भेन्टिस्टको शिक्षा अतिसूक्ष्म भएको हुनाले चनाखो भई त्यसको प्रमाण प्रस्तुत गरिनु जरूरी छ। सेभेन्थ-डे एड्भेन्टिस्टहरूले सर्वसाधारणका निम्ति छापेका आफ्ना लेखोटमा आफूहरूले विश्वास गरेका कुरालाई प्रायः परिमार्जन गरी प्रस्तुत गरेका हुन्छन्, अरूका दृष्टिमा शास्त्रसम्मत ठानिनलाई। ख्रीष्टिय जन झूटा चर्चहरूको छलकपटदेखि सावधान रहनुपर्छ। तिनीहरू परिस्थिति हेरी जीउको रङ बराबर बदलिरहने छेपारो जस्तै हुन्छन्। तिनीहरू एकातिर शास्त्रसम्मत देखिन खोज्दै भन्छन्, “हामी तपाईंजस्तै हौं”। अर्कोतिर तिनीहरू अनेक थरी झूटा शिक्षा हुल्छन् र विश्वासी जनलाई बाइबलीय मण्डलीबाट खिँचेर लैजान खोज्छन्। यो अचम्मलाग्दो कुरो होइन। नयाँ नियमले बारम्बार झूटा शिक्षकहरूको छलकपटको उल्लेख गरेको छ। येशूले झूटा शिक्षकहरूलाई भेंडाको भेषमा आएका ब्वाँसा हुन् भन्नुभयो (मत्ती ७:१५)। तिनीहरूले धेरैलाई बहकाउन खोज्नेछन् भनी उहाँले चेताउनी दिनुभयो (मत्ती २४:४-५)। पावल प्रेरितले तिनीहरूलाई “छलकपट काम गर्नेहरू” (२ कोरिन्थी ११:३) भन्ने संज्ञा दिए। उनले तिनीहरूको “चलाकी र छलपूर्ण धूर्तता” (एफेसी ४:१४) को उल्लेख गरेका छन्। तिनीहरू “कपट्याइँको कारणले झूट बोल्छन्” (१ तिमोथी ४:२) भनी उनले भनेका छन्।

आउनुहोस्, एड्भेन्टिस्ट प्रकाशनहरूबाट उद्दृत तलका भनाइहरूलाई सतर्क भई विचार गरौं। केवल विश्वासद्वारा अनुग्रहले मुक्ति पाइने कुरामा विश्वास गरेको दाबी गर्दै तिनीहरू अनुग्रहको परिभाषालाई अदल-बदल गर्छन्। अनुग्रहसित व्यवस्था मिसाइएको झूटा सुसमाचार नै यसको नतीजा हो।

सेभेन्थ-डे एड्भेन्टिस्ट पर्चाबाट:

“ख्रीष्टले त्यस धनी जवान शासकलाई जे भन्नुभयो, संसारको हरेक मानिसलाई उही भन्नुहन्छ: ‘तिमी जीवनमा पस्न चाहन्छौ भने आज्ञाहरू पालन गर’ (मत्ती १९:१७)। अर्को शब्दमा, स्वर्ग पस्नका लागि आवश्यक स्तर भनेको परमेश्वरका दस निर्दिष्ट बेहोराअनुसार अर्थात् दस आज्ञाअनुसार निर्माण भएको चरित्र हो… तपाईंको जीवन परमेश्वरको व्यवस्थाको मापदण्डसम्म पुर्‍याउन प्रमुख निर्माता आफैं तपाईंलाई साथ दिन तपाईंसितै र तपाईंभित्र हुनुहुनेछ” (Charles Everson, Saved by Grace, pp. 45-46)।

सेभेन्थ-डे एड्भेन्टिस्ट पत्राचार अध्ययन मालाबाट:

“के तपाई ख्रीष्टियन बन्न चाहनुहुन्छ? … ख्रीष्टकहाँ जाने सिँढी थोरै छन्, बुझ्नलाई सरल र सजिला छन्, र हामी जानकारीका लागि परमेश्वरबाटको मार्गदर्शक पुस्तकमा हेर्नेछौं … विश्वास; ख्रीष्टियन बन्नलाई पहिलो सिँढी यो हो। … दोस्रो सिँढी हो पश्चात्ताप … आफ्ना पापका लागि दुःखित बन्नु र तिनलाई परित्याग गर्नु नै पश्चात्ताप हो … ख्रीष्टियन बन्नका लागि त्यसपछिको सिँढी हो स्वीकार … साँचो पश्चात्ताप र स्वीकार भनेको पाप गर्न छाड्नु मात्र नभएर विगतका भूलहरू सुल्टाउनलाई गर्न सकिने सबथोक गर्नु हो … त्यसपछिको सिँढी बप्‍तिस्मा हो, र यसको प्रमाण प्रेरित २:३८-३९ मा पाइन्छ … पाँचौं, हामीभित्रको ख्रीष्टद्वारा आज्ञापालन … यसरी एउटा ख्रीष्टियन बन्नका लागि चढिनुपर्ने आवश्यक सिँढीहरू खुलस्त भएका छन्: परमेश्वरलाई विश्वास गर्नु, हाम्रा पापको पश्चात्ताप गर्नु र स्वीकार गर्नु, बप्‍तिस्मा लिनु, अनि प्रभुका सबै आज्ञाहरू पालन गर्नु। … ऊ ढलपल होला र लड्ला पनि, तर ऊ अठोटका साथ, परमेश्वरबाटको सामर्थ्य तुल्याउने शक्तिले विजयी बन्नलाई फेरि उठेर अघि नै बढ्दछ। उसले पश्चात्ताप गर्छ, क्षमा माग्छ र सठीक जीवन जिउन ईश्वरीय मद्दत माग्छ भने त्यसरी लडिँदा त्यो उसको विरुद्धमा गनिनेछैन” (New Life Voice of Prophecy Guide, #12)।

एड्भेन्टिजमले यस शिक्षालाई “अनुग्रहद्वाराको मुक्ति” भन्ने नाउँले जनाउँछ, तर प्रभुका प्रेरितहरूले प्रचार गरेको अनुग्रह यो होइन।

  1. बाइबलअनुसार, मुक्ति व्यवस्थाका कामविना, केवल अनुग्रहले केवल विश्वासद्वारा पाइन्छ। पढ्नुहोस्: यूहन्ना ३:१६; ६:२८-२९; प्रेरित १५:१०-११; १६:३०-३१; रोमी ३:१९-२५; ४:१-८; ११:६; गलाती ३:१०-१३; एफेसी २:८-१०; तीतस ३:४-७।

    ख्रीष्टको शुभ समाचार भनेको व्यवस्थाका काम पैदा गर्ने अनुग्रहद्वारा हामीले मुक्ति पाउने भन्ने होइन। शुभ समाचार भनेको त हामी व्यवस्थाविना नै केवल परमेश्वरको अनुग्रहले केवल विश्वासद्वारा हामीले मुक्ति पाउँछौं भन्ने हो। जो-जो मुक्ति पाउन चाहन्छन् तिनीहरू यिनै महिमापूर्ण सर्तमा आउनुपर्छ, सिद्ध मुक्तिका निमित्त केवल बहाइएको रगतमाथि मात्र भरोसा राख्‍दै आउनुपर्छ।

    आ-आफ्नो मुक्तिलाई सिद्ध बनाउने हेतुले मोशाको व्यवस्थामा फर्कने खोज्नेहरू पहिलो शताब्दीका गलातीकै भूल फेरि दोहोर्‍याउनेहरू हुन्।

    “हे बुद्धिहीन गलातीहरूहो, सत्यता पालन नगर्नू भनेर कसले तिमीहरूलाई मोहमा पार्‍यो? तिमीहरूको बीचमा त, तिमीहरूका आँखाकै सामु येशू ख्रीष्ट क्रूसमा टाँगिनुभएको सफासँग देखाइनुभएको थियो। तिमीहरूबाट म यो मात्र जान्न चाहन्छु – तिमीहरूले आत्मालाई व्यवस्थाका कामहरूद्वारा पायौ कि विश्वासको समाचारद्वारा? के तिमीहरू यति बुद्धिहीण छौ? आत्मामा शुरु गरेर अब शरीरमा सिद्ध्याउँछौ? के तिमीहरूले यति धेरै दुःख व्यर्थैमा खप्यौ त? हो भने साँच्चै व्यर्थैमा खप्यौ। यसकारण जसले तिमीहरूका बीचमा सामर्थ्यका कामहरू गर्नुहुन्छ, के यो उहाँले व्यवस्थाकै कामहरूद्वारा गर्नुहुन्छ कि विश्वासको समाचारद्वारा? जसरी अब्राहामले पनि परमेश्वरलाई विश्वास गरे, र यो उनका निम्ति धार्मिकता गनियो। यसकारण तिमीहरूले यो कुरा जान – जो-जो विश्वासबाटका हुन्, तिनीहरू नै अब्राहामका सन्तान हुन्” (गलाती ३:१-७)।

    नयाँ नियमका यी सुस्पष्ट शिक्षाहरूका बाबजुद पनि मोशाको व्यवस्थामनि आफैलाई राख्‍न जिद्दी गर्नेहरू साँचो मुक्तिदेखि बाहिर छन्। New Life Voice of Prophecy पत्राचार अध्ययन माला जस्ता प्रकाशनहरूमा व्यक्त गरिएका आफ्ना सम्प्रदायका शिक्षाहरू विश्वास गर्ने सेभेन्थ-डे एड्भेन्टिस्ट शिक्षकहरू साँचो मुक्तिदेखि बाहिर रहेकाहरूमध्ये हुन्; तिनीहरू गलाती व्यवस्थावादीहरू हुन्।

    “तर त्यस बेला परमेश्वरलाई नचिनेर तिमीहरूले तिनीहरूको सेवा गर्‍यौ, जो स्वभावैले ईश्वरहरू होइनन्। तर अब तिमीहरूले परमेश्वरलाई चिनेपछि, तर बरु परमेश्वरद्वारा चिनिएपछि तिमीहरू कसरी फेरि दुर्बल र निकम्मा प्राथमिक शिक्षाहरूतर्फ फर्किन्छौ? फेरि पनि त्यसको दास हुने इच्छा गर्दछौ? तिमीहरू दिन, महिना, समय र वर्षहरू मान्दछौ। व्यर्थमा मैले तिमीहरूका लागि मेहनत गरें कि भनी मलाई तिमीहरूसँग डर लागेको छ” (गलाती ४:९- ११)।

    “हे मेरा साना नानीहरूहो, जबसम्म ख्रीष्ट तिमीहरूमा बनिनुहुन्न, तबसम्म म फेरि तिमीहरूका लागि प्रसूति-वेदनामा हुन्छु; म अहिले नै तिमीहरूका साथमा हुने र आफ्नो सोर बदली गर्ने इच्छा गर्दछु; किनकि तिमीहरूको विषयमा मलाई शङ्का छ” (गलाती ४:१९-२०)।

    “जुन स्वतन्त्रताद्वारा ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभयो, त्यसैमा बलियो गरी खडा होओ, र फेरि दासत्वको जुवामनि नजेलिओ। हेर, म पावल तिमीहरूलाई भन्दछु: यदि तिमीहरूले खतना गरायौ भने ख्रीष्टबाट तिमीहरूलाई केही लाभ हुनेछैन। किनकि म फेरि खतना भएको हरेक मानिसलाई चेताउनी दिन्छु – सारा व्यवस्था पालन गर्नाका निम्ति ऊ ऋणी हुन्छ। तिमीहरू, जो व्यवस्थाबाट धर्मी हुन चाहन्छौ, ख्रीष्टबाट अलग भएका छौ, अनुग्रहबाट खसेका छौ। किनकि आत्माद्वारा हामी विश्वासले धार्मिकताको आशाको बाटो हेर्दछौं” (गलाती ५:१-५)।

  2. मुक्ति सुनिश्चित कुरा हो। साँचो सुसमाचार अनुसार विश्वासी जन पूर्णतया ख्रीष्टद्वारा परमेश्वरको अनुग्रहले बचाइन्छ र निजसँग अनन्त जीवन हुन्छ।

    मुक्ति सुनिश्चित हुन्छ भनी हामी जान्दछौं किनकि यो पापीले कमाउँदै नकमाएको सित्तैंको वरदान हो (एफेसी २:८-९)।

    प्रापकले यदि त्यसको लागि केही गर्छ वा केही तिर्छ भने उक्त "वरदान" उपरान्त वरदान कहलिँदैन।

    मुक्ति सुनिश्चित हुन्छ भनी हामी जान्दछौं किनकि मुक्ति भनेकै विश्वासी जन परमेश्वरद्वारा धर्मी ठहरिनु हो (रोमी ३:२१-२४)।

    "धर्मी ठहरिनु" भन्ने शब्दको अर्थ यही हो। "धर्मी ठहरिनु" र "परमेश्वरको धार्मिकता" भन्ने कुरालाई रोमी ३:२१-२४ मा साटासाट गर्न सकिने गरी प्रयोग गरिएको तथ्यलाई ध्यान दिनुहोस्। साथै, उक्त धार्मिकता "विश्वासद्वारा" प्राप्‍त गरिन्छ, "उहाँको अनुग्रहले सित्तैंमा" पाइन्छ। पापीको मूल समस्या के हो? ऊ धार्मिकताबिहीन हुनु नै होइन र? तसर्थ, परमेश्वरले यदि उसलाई धर्मी ठहराउनुहुन्छ भने उसलाई अब अरू के चाहियो? पापीको अधर्म येशूले लिनुहुन्छ र येशूको धार्मिकता पापीले प्राप्‍त गर्दछ (२ कोरिन्थी ५:२१)।

    मुक्ति सुनिश्चित हुन्छ भनी हामी जान्दछौं किनकि यो वर्तमानमै हाम्रो स्वामित्वमा हुने कुरा हो।

    निम्न पदहरूमा मुक्तिलाई एउटा सम्भावनाको रूपमा नभएर निश्चयताको रूपमा, वर्तमान स्वामित्वको रूपमा बयान गरिएको छ।

  • धार्मिकता, वर्तमान स्वामित्वको कुरा हो (रोमी ५:९)।
  • परमेश्वरसितको शान्ति वर्तमान स्वामित्वको कुरा हो (रोमी ५:१)।
  • परमेश्वरसितको मिलाप वर्तमान स्वामित्वको कुरा हो (रोमी ५:१०)।
  • प्रायश्चित, वर्तमान स्वामित्वको कुरा हो (रोमी ५:११)।
  • अनन्त जीवन वर्तमान स्वामित्वको कुरा हो (१ यूहन्ना ५:११-१३)।
  • परमेश्वरको सन्तान हुनु वर्तमान स्वामित्वको कुरा हो (एफेसी १:५)।
  • ख्रीष्टमा ग्रहणयोग्य बनिनु वर्तमान स्वामित्वको कुरा हो (एफेसी १:६)।
  • पापहरूको क्षमा वर्तमान स्वामित्वको कुरा हो (एफेसी १:७)।
  • ख्रीष्टमा जीवित पारिएको हुनु वर्तमान स्वामित्वको कुरा हो (एफेसी २:१)।
  • स्वर्गको लागि योग्य बनाइएको हुनु वर्तमान स्वामित्वको कुरा हो (कलस्सी १:१२)।
  • अन्धकारको सामर्थ्यबाट छुटकारा पाएको हुनु वर्तमान स्वामित्वको कुरा हो (कलस्सी १:१३)।
  • येशूको राज्यभित्र सारिएको हुनु वर्तमान स्वामित्वको कुरा हो (कलस्सी १:१३)।
  • कृपा, वर्तमान स्वामित्वको कुरा हो (१ पत्रुस २:१०)।
  • पापबाट निको पारिएको हुनु वर्तमान स्वामित्वको कुरा हो (१ पत्रुस २:२४)।
  1. कुनै पनि व्यक्ति या त बाँचेको हुन्छ या त हराएको हुन्छ; ऊ या त पूर्णतया बचाइएको हुन्छ या त पूर्णतया हराएको हुन्छ। मध्यवर्ती स्थिति छैन त्यहाँ, मुक्तितिर बढ्दै जाने वा मुक्तिलाई सिद्ध बनाउँदै लाने कुरै छैन यहाँ। मुक्ति पाउन के तपाईं ख्रीष्टको रगतमा भरोसा गर्दै हुनुहुन्छ, केवल ख्रीष्टको रगतमा? यदि त्यसो हो भने, बाइबलले भन्दछ माथि उल्लेखित सबै आत्मिक आशिषहरू तपाईंका भइसके र तीबाहेक अरू थुप्रै आशिषहरू समेत, र ती सब ख्रीष्टमा सुनिश्चित आशिषहरू हुन्!

    मुक्ति सुनिश्चित हुन्छ भनी हामी जान्दछौं किनकि यो परमेश्वरको सामु एउटा पूर्णतया नयाँ ओहोदा हो।

    मुक्ति भनेको ख्रीष्टमा एउटा पूर्णतया नयाँ ओहोदा हो (रोमी ५:१-२)। पापी जन या त आदममा हुन्छ या त ख्रीष्टमा। यदि ऊ ख्रीष्टमा छ भने उसँग सबै आत्मिक आशिषहरू हुन्छन्।

    "हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता धन्य होऊन्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा सबै आत्मिक आशिषहरूले ख्रीष्टमा आशिषित पार्नुभएको छ" (एफेसी १:३)।

    साथै हेर्नुहोस्, रोमी ६:११, एफेसी १:६, १ यूहन्ना ५:१२।

    परमेश्वरका सामु विश्वासीको एउटा नयाँ स्थान (ओहोदा) छ, र साथै यस संसारमा उसको दिन-दिनको हिँडाइ पनि छ। उसको नयाँ ओहोदा बदलिन सक्दैन किनकि त्यो पूर्णतया येशूले क्रूसमा हाम्रो लागि गरिदिनुभएको काममाथि बसालिएको बास्तविकता हो। ओहोदा र हिँडाइलाई अल्मल्याउनु सुसमाचारलाई बङ्ग्याउनु हो। एफेसीको पुस्तकलाई विचार गरौं। अध्याय १-३ ले ख्रीष्टमा भएको विश्वासीको नयाँ ओहोदालाई बयान गर्दछ; अध्याय ४-६ ले यस संसारमा हुने विश्वासीको हिँडाइलाई बयान गर्दछ। एफेसी ५:८ ले भन्दछ,

    "किनकि बितेको समयमा तिमीहरू अन्धकार थियौ, तर अब प्रभुमा तिनीहरू ज्योति हौ; ज्योतिका सन्तानहरूझैं हिँड।"

    ख्रीष्टमा विश्वासीको नयाँ ओहोदा छ जुनचाहिँ कहिल्यै बदलिन सक्दैन, अनि उसलाई यस संसारमा उक्त ओहोदासित मिल्ने ढाँचामा हिँड्नलाई अर्ती दिइएको छ। कलस्सी ३:१,३ ले उही कुरा गर्दछ:

    "यसकारण यदि तिमीहरू ख्रीष्टसँग बिउँतिएका छौ भने माथिका कुराहरू खोज, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हाततर्फ बसिरहनुभएको छ...किनकि तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्वरमा लुकेको छ।"

    उसको नयाँ ओहोदामा एक विश्वासी जन पापको लेखि मरेको छ र ख्रीष्टसित बिउँताइएको छ। उसको अभ्यास (हिँडाइ) मा ऊ उक्त अनन्त बोलावटसित मिल्ने ढाँचामा माथिका कुराहरू खोज्दै जिउनुपर्छ।

    विश्वासीको नयाँ ओहोदा उसले नयाँ जन्म पाउने बित्तिकै अनन्तसम्मै सुरक्षित हुन्छ। तर उसको हिँडाइ भने उसको आज्ञाकारिता अनुसार बदलिँदछ।

    कस्तो उदेकको मुक्ति! विश्वासीले जति ख्रीष्टमा भएको आफ्नो सुनिश्चित ओहोदालाई बुझ्दछ, त्यति नै हृदयदेखि उसले आफ्नो मुक्तिदाता परमेश्वरको सेवा गर्न चाहनेछ।

    मुक्ति सुनिश्चित हुन्छ भनी हामी जान्दछौं किनकि विश्वासी जनलाई पापदेखि बचाइने कुरा निश्चित रूपमा प्रतिज्ञा गरिएको छ।

    "यसकारण अब उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन् बढ्ता गरी हामी उहाँद्वारा क्रोधबाट बचाइनेछौं। किनकि शत्रु हुँदाखेरि उहाँको पुत्रको मृत्युद्वारा परमेश्वरसित हाम्रो मिलाप भयो भने मिलाप पाएपछि ता झन् बढ्ता गरी उहाँको जीवनद्वारा हामी बचाइनेछौं" (रोमी ५:९-१०)।

    मुक्ति सुनिश्चित हुन्छ भनी हामी जान्दछौं किनकि विश्वासी जन परमेश्वरको शक्तिले सुरक्षित हुन्छ।

    "हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता धन्य होऊन्, जसले आफ्नो ठूलो दयाअनुसार येशू ख्रीष्टको मरेकाहरूबाटको बौरिउठाइद्वारा एउटा जिउँदो आशाका निम्ति हामीलाई नयाँ गरी जन्माउनुभएको छ; एउटा अविनाशी, निष्कलङ्क र ओइलिएर नजाने पैतृक-सम्पत्तिका निम्ति, जो तिमीहरूका लागि स्वर्गमा सुरक्षित राखिएको छ; अनि तिमीहरूचाहिँ अन्तिम समयमा प्रकट हुनालाई तयार भएको मुक्तिका निम्ति परमेश्वरको शक्तिले विश्वासद्वारा सुरक्षित छौ" (१ पत्रुस १:३-५)।

    केवल परमेश्वरको शक्तिको खातिर नै चौथो पदमा उल्लेखित पैतृक-सम्पत्तिलाई आफूले उपभोग गर्ने कुरामा विश्वासी जन निश्चित हुन सक्दछ।

    यसको तात्पर्य एकजना व्यक्ति, आफूले चाहेको जस्तोसुकै तरिकाले जीवन व्यतित गरे तापनि उसले "विश्वास गरेको छु" मात्र भनेकै आधारमा, स्वर्ग जान्छ भन्ने होइन। नयाँ गरी नजन्मिकन मुक्ति पाउनु असम्भव छ भनेर प्रभु येशू ख्रीष्टले भन्नुभयो (यूहन्ना ३:३,७); अनि नयाँ जन्म भनेको कुरा त जीवनै परिवर्तन गराउने एउटा आश्चर्यजन अनुभव हो।

    "यसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू नयाँ भएका छन्" (२ कोरिन्थी ५:१७)।

    जब पापी नयाँ गरी जन्मन्छ, तब उसले परमेश्वरबाट एउटा नयाँ स्वभाव प्राप्‍त गर्दछ। अब उसँग नयाँ चाहनाहरू हुन्छन्। उसभित्र भएको परमेश्वरबाटको स्वभावले उसलाई परमेश्वरको तरिकामा जीवन व्यतित गर्न प्रोत्साहित तुल्याउँछ। उसभित्र अन्तरबास गर्नुहुने पवित्र आत्माले उसलाई पवित्रता र सत्यताको निम्ति चाहना गर्ने झुकाव दिनुहुन्छ। ख्रीष्टलाई मुखले स्वीकार गर्ने तर परमेश्वरको मार्गलाई प्रेम नगर्ने व्यक्ति भनेको त मुक्ति नै नपाएको व्यक्ति हो जो मुक्तिरहित नै देखा पर्नेछ; ऊ या त कपटी हो या त भ्रममा परेको व्यक्ति हो जसले कहिल्यै पनि साँचो मुक्तिलाई पाएकै छैन।

    माथिका अध्ययनहरूबाट प्रमाणित कुरा यो हो कि साँचो बाइबलीय मुक्ति सेभेन्थ-डे एड्भेन्टिस्टको अनिश्चयताव्यवस्थावादी समिश्रण बाट पूरै स्वतन्त्र छ। एड्भेन्टिस्ट सुसमाचार झूटो छ।


पृष्ठ संशोधन मिति: Sunday 27-Jun-10
WordofTruth.com.np © 2017