सेभेन्थ-डे एड्भेन्टिस्ट शिक्षा - भाग ३

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

झूटा शिक्षा #३: प्राण स्वाप (soul-sleep )

सेभेन्थ-डे एड्भेन्टिस्ट मण्डलीले यो सिकाउँछ कि मृतकहरू न ता स्वर्ग जान्छन् न नरक जान्छन् तर बौरिउठाइको दिनसम्म तिनीहरूका प्राणहरू चिहानभित्र अचेत अवस्थामा सुतिरहन्छन्।

"मरेको हुनु भनेको स्वर्ग जानु होइन; नरक जानु होइन; पर्गेटरी जानु होइन। अँ, मरेको हुनु भनेको कतै जानु होइन। यसको मतलब केवल जीवनको अन्त हुनु हो। ...मृत्यु भनेको जीवन रोकिनु हो, जीवनरहित हुनु हो, जीवनको ठीक विपरितमा हुनु हो। ... ऊ अब जिइरहेको छैन; उसको शरीर जिइरहेको छैन; उसको प्राण जिइरहेको छैन; उसको आत्मा जिइरहेको छैन; उसको मन जिइरहेको छैन। विचार-शक्ति अन्त हुन्छ, चेतना अन्त हुन्छ, समझ-शक्ति अन्त हुन्छ, ज्ञान अन्त हुन्छ, विचार अन्त हुन्छ" (When A Man Dies, p. 20)।

एड्भेन्टिस्टवादले यो सिकाउँछ कि शरीर र प्राण मृत्युको घडीमा अलग-अलग हुन सक्ने तत्त्वहरू होइनन्।

"शरीर मरेर सुत्‍न जाँदा मान्छेको प्राण उसको एउटा छुट्टै, चेतनशील भागको रूपमा रहिरहन्छ भन्ने अर्थमा कतै प्रस्तुत छैन... मान्छेको प्राण उसको साससँगै आउँछ; उसको साससँगै जान्छ। ... शरीरबिना त्यो कुनै काम वा शक्तिमा प्रकट हुन वा क्रियाशील हुन सक्दैन, शरीरबिना त्यसको कुनै अस्तित्व नै छैन..." (When A Man Dies, pp. 32,33)।

आत्माचाहिँ सास हो भनेर उनीहरू सिकाउँछन्।

"...अय्युब २७:३ लाई ध्यान दिनुहोस्: 'मेरो शरीरमा प्राण रहुञ्जेल, र परमेश्वरको सास [आत्मा] मेरो नाकमा रहुञ्जेल।' फेरि यहाँ आत्मालाई 'सास' भनी रूपान्तर गर्न सकिन्छ भन्ने कुरा पाउँदछौं। पवित्र शास्त्रमा यी दुई शब्दहरू प्रायः साटासाट गर्न सकिने गरी प्रयोग भएका छन्। ... अब सुन्नुहोस्। 'र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए।' परमेश्वरले मानिसलाई एउटा जिउँदो प्राण दिनुभयो भनेर हामीलाई पवित्र शास्त्रमा कतै बताइएको छैन। जीवनको साससित शरीरको मिलन भयो र फलस्वरूप मानिस जीवित प्राणी भएको हो। ...यो स्पष्ट छ कि मानिसले परमेश्वरबाट पाएको र उसको मृत्यु हुँदा परमेश्वरकहाँ फर्की जाने आत्माचाहिँ परमेश्वरले उसको नाकभित्र राख्‍नुभएकै कुरा हो। ...जब ऊ मर्छ तब ती दुई छुट्टिन्छन्। माटो भूमिमा फर्की जान्छ। सास, अथवा जीवनको झिल्कोचाहिँ, सो दिनुहुने परमेश्वरकहाँ फर्केर जान्छ, चाहे त्यो पवित्र जनको होस् वा पापीको। जिउँदो, भावनाशील, गतिशील प्राण कतै जाँदैन। त्यो केवल एक चेतनशील तत्त्व हुन छाड्छ जबसम्म बौरिउठाइको बिहान हुँदैन जुनबेला शरीर र जीवनको सासको पुनर्मिलन हुँदछ। यो नै विशुद्ध र सरल पवित्र शास्त्र हो!" (Planet in Rebellion, pp. 320-323)

बाइबलले के भन्दछ?

१) पवित्रशास्त्रमा "प्राण" भन्ने शब्द विभिन्न अर्थमा प्रयोग भएको छ। कहिलेकाहिँ यसले सम्पूर्ण मान्छेलाई जनाउँछ। तर धेरैपटक यसले मृत्युपछि शरीरभन्दा छुट्टै अस्तित्वमा रहने मानिसको एउटा चेतनशील, अभौतिक भागलाई जनाउँछ। बाइबलका शब्दलाई तिनलाई भेटिने प्रसङ्गबाट परिभाषित गरिनु आवश्यक छ।

पुरानो नियममा प्राणलाई मानिसको अभौतिक, चेतनशील भागको रूपमा प्रस्तुत गरिएको छ भन्ने उदाहरणस्वरूप उत्पत्ति ३५:१८ र १ राजा १७:२१-२२ लाई लिन सकिन्छ। उत्पत्ति ३५ मा राहेलको मृत्युको उल्लेख भएको छ, र हामीलाई यो बताइएको छ कि जब उनी मरिन् उनको प्राणले बिदा लिए। "तिनको प्राण जाने बेलामा (किनभने तिनी मर्न लागिन्) ..." १ राजा १७ मा एकजना ठीटा मरेर पनि एलियाको माध्यमद्वारा फेरि बौराइए। बाइबलले स्पष्टै भन्छ कि उनको प्राण बिदा भएर फेरि फर्की आयो: "...हे परमप्रभु मेरा परमेश्वर, फेरि यस बालकको जीवन [प्राण, soul] यसमा फर्कोस्। परमप्रभुले एलियाको पुकार सुन्नुभयो, र त्यसमा जीवन [प्राण, soul] फर्क्यो र त्यो बाँच्यो।" यो प्रस्ट छ, प्राण र मृत्युका बारेमा एलियाको धारणा एड्भेन्टिस्टहरूको जस्तै थिएन।

नयाँ नियममा पनि "प्राण" भन्ने शब्द मानिसको शरीरभन्दा छुट्टै आत्मिक भागलाई जनाउन प्रयोग भएको छ। "... अब शान्तिका परमेश्वर आफैले तिमीहरूलाई पूरा रीतिले पवित्र पारेका होऊन्; अनि तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनसम्म दोषरहित अवस्थामा सुरक्षित राखिएका होऊन्" (१ थेस्सलोनिकी ५:२३)। मानिस तीन-खण्डे प्राणी हो भनेर यहाँ हामीलाई बताइएको छ। पावलले मानिस भनेकै प्राण हो भन्दैनन्; बरु उसँग प्राण हुन्छ भनेर भन्छन्।

२) पवित्रशास्त्रमा "आत्मा" भन्ने शब्द पनि विभिन्न अर्थमा प्रयोग भएको छ। "प्राण" भन्ने शब्द सम्पूर्ण मान्छेलाई जनाउन सधैं प्रयोग नगरिएर बरु धेरैपटक मानिसको अभौतिक भागलाई जनाउन प्रयोग गरिएजस्तै, "आत्मा" भन्ने शब्द पनि सधैं सास भन्ने अर्थमा प्रयोग गरिएको छैन। आत्मा धेरैपटक मानिसको चेतनशील, अभौतिक भागलाई जनाउन प्रयोग गरिएको छ जुन भाग उसको शरीरभन्दा छुट्टै हुन्छ र मृत्युको घडीमा शरीरदेखि अलग्गिन्छ।

यस अर्थमा "आत्मा" भन्ने शब्द "हृदय" भन्ने शब्दसित साटासाट गर्न मिल्ने गरी उत्पत्ति ४५:२६-२७ मा प्रयोग गरिएको छ। "यो कुरा सुनेर तिनको हृदय-गति नै रोकियो [heart fainted] किनकि तिनले उनीहरूको कुरा पत्याएनन्। तर उनीहरूलाई भनिपठाएका योसेफका सबै कुरा सुनेपछि र आफूलाई ल्याउन भनी योसेफले पठाएका गाडाहरू देखेपछि उनीहरूका बाबु याकूबको होश [आत्मा, spirit] फर्क्यो।" यो स्टष्टै छ कि यहाँ आत्मालाई सासको अर्थमा लिइएको छैन! प्रस्थान ६:९ मा इस्राएलका सन्तानहरूलाई आत्माको नैराश्य [anguish of spirit] भएको कुरा उल्लेख छ। के उनीहरूको भएको नैराश्य सासको नैराश्य हो त! यो त अनर्थ हो। पवित्रशास्त्रमा "आत्मा" भन्ने शब्द सासभन्दा बेग्लै कुरा हो भन्ने प्रस्ट छ। फेरि प्रस्थान ३५:२१ मा भेट हुने पालको निर्माणका लागि योगदान दिनेहरूको वर्णन यसरी गर्दछ, "जस-जसका हृदय प्रेरणाले भरिए र जसका मन [spirit] इच्छुक भए।" व्यवस्था २:३० यसको अर्को उदाहरण हो। यहाँ हामी परमेश्वरले राजा सीहोनका मन अर्थात् आत्मा [spirit] लाई कठोर बनाउनुभएको कुरा पढ्छौं। १ राजा २१:५ मा राजा आहाबको आत्मा दुःखित [sad spirit] भएको (नेपाली बाइबलमा, "ठुस्केको") कुरा पढ्छौं। अवश्य नै कुनै पनि यी खण्डहरूमा आत्मा भनेको सास भनेर अर्थ लगाउन सकिन्न। आत्मा भनेको सास हो भन्ने सीमित अर्थ लगाउने सेभेन्थ-डे एड्भेन्टिस्टको शिक्षा बाइबलकै अर्थ विपरित छ।

३) नयाँ नियमले मृत्यु भनेको आत्माले शरीरलाई छोडेर जानु हो भनेर स्पष्ट बयान गर्दछ। जब हामी नयाँ नियममा आइपुग्छौं, पुरानो नियमको अध्ययनपछि बाँकी हुन सक्ने कुनै पनि अनिश्चतताहरू पूर्ण प्रकाशको उज्यालोमा बिलाएर जान्छ। नयाँ नियमभरि नै मृत्युको सम्बन्धमा एउटै एकनासको शिक्षा पाइन्छ। यहाँ मृत्यु आत्माले शरीरलाई छोड्ने कार्यको रूपमा देखिन्छ। मृत्यु भनेको अलग हुनु हो, समाप्‍त हुनु होइन। (आदम र हव्वाले फल खाएकै दिन यही अर्थमा मरेका हुन्। उनीहरूको आत्मिक मृत्यु भएको हो। उनीहरू "पाप र अपराधहरूमा मरेका" हुन्। पछिबाट उनीहरू भौतिक रूपमा पनि मरे अनि प्राण शरीरदेखि अलग हुन गयो।) मृत्युको शास्त्रसम्मत शिक्षा नयाँ नियमको युगभरि नै यही नै रहँदै आएको छ।

मृत्यु भनेको आत्माले शरीरलाई छोडेर अर्कै चेतनशील अस्तित्वमा जानु हो भन्ने कुरा विश्वास गर्नका लागि नयाँ नियमले प्रदान गरेका आधारहरू यस प्रकार छन्।

पहिलो, मर्ने त शरीर हो (याकूब २:२६)।

दोस्रो, मृत्यु एउटा छोडेर जाने कार्य हो भनेर पावलले गवाही दिएका छन्। हेर्नुहोस्, २ कोरिन्थी ५:६-७; फिलिप्पी १:२३-२४; र २ तिमोथी ४:६।

तेस्रो, क्रूसमा टाँगिएको कुकर्मीलाई येशूले दिनुभएको प्रतिज्ञाले मृत्यु भनेको छोडेर जाने कार्य हो भन्ने कुरा देखाउँछ। "अनि येशूले उसलाई भन्नुभयो: "म तिमीलाई साँच्चै भन्दछु, आज नै तिमी मसँग स्वर्गलोकमा हुनेछौ।" एड्भेन्टिस्टहरूको दाबी छ, यो पद ठीक प्रकारले अनुवाद भएको छैन। "आज नै" लाई "म तिमीलाई साँच्चै भन्दछु" को अगाडि राखिनुपर्छ अरे। कुनै पनि बाइबल अनुवाद यसरी गरिएको छैन। यो केवल झूटा एड्भेन्टिस्ट शिक्षासित मिलाउनका लागि यो खण्डलाई टेढामेढा पार्ने प्रयास मात्र हो। प्रभु येशू ख्रीष्टले त्यस पश्चत्तापी कुकर्मीलाई ऊ त्यही दिन उहाँसित स्वर्गलोकमा हुनेछ भनेर उसलाई प्रतिज्ञा गर्नुभएको हो।

चौथो, लाजरस र धनी मानिसको बयानले मृत्यु भनेको बिदा हुने कार्य हो भनेर देखाउँछ। येशूले यस बयानमा व्यक्ति विशेषका नामहरू प्रयोग गर्नुभएकोबाट यो एउटा दृष्टान्त मात्र नभई वास्तविक ऐतिहासिक घटना हो भन्ने प्रमाणित गर्दछ। प्रभुका दृष्टान्तहरूमा यस्ता विवरण पाइँदैनन्। अनि यदि यो एउटा दृष्टान्त नै भएको भए तापनि यसले वास्तविक सत्यता नै सिकाएकै ठहरिन्थ्यो। "... त्यो माग्ने मर्‍यो, र स्वर्गदूतहरूद्वारा अब्राहामको काखमा पुर्‍याइयो; त्यो धनी मानिस पनि मर्‍यो, र गाडियो। अनि नरकमा भयानक पीडामा तड्पिँदै त्यसले आफ्ना आँखा उठायो..." (लूका १६:२२-२३)। यस खण्डले मृत्युचाहिँ प्राणलाई कि स्वर्ग कि नरक पुर्‍याउने पृथ्वीबाटको बिदाइ हो भन्ने कुरा सिकाउँदछ।

पाँचौं, मरेर गएका पवित्र जनहरू बौरिउठाइको घडी तथा बाँचेकाहरूको र्‍याप्चरको घडीमा ख्रीष्टसित स्वर्गबाट फेरि आउनेछन्। यस कुराले देखाउँछ कि मरेका पवित्र जनहरू उनीहरू मृत्यु हुँदा स्वर्ग जान्छन्। "किनकि येशू मर्नुभयो र बौरेर उठ्नुभयो भनी हामी विश्वास गर्दछौं भने उसरी नै येशूमा सुतेकाहरू पनि परमेश्वरले उहाँको साथमा ल्याउनुहुनेछ" (१ थेस्सलोनिकी ४:१४)। बाइबलअनुसार, एड्भेन्टिस्टहरूको दाबीको बाबजुद, मृतकहरू चिहानभित्र सुतिरहेका छैनन्। बरु उनीहरू स्वर्गमा छन् र उनीहरू त्यहाँबाट येशूसँगै फेरि आउनेछन्!

छैटौं, यूहन्नाले देखेका स्वर्गीय दर्शनहरूले [सङ्कष्टकालमा] मरेका पवित्र जनहरू उनीहरूको बौरिउठाइको दिन नआएसम्म र संसारमा हुने सङ्कष्टकालको अवधिभरि स्वर्गमा अवस्थित भएको देखाउँछ। प्रकाश ६:९-११ पढ्नुहोस्। यो अर्को अकाट्य गवाही हो कि मरेर गएका पवित्र जनहरू चिहानमा सुतिरहेका छैनन् तर पृथ्वीमा हुनेवाला ख्रीष्टको दोस्रो आगमनका लागि पर्खेर स्वर्गमा नै वास गरिरहेका छन्।

सातौं, एउटा पहाडमाथि प्रभु येशूको रूप परिवर्तन हुँदा मोशा र एलिया देखा पर्नाले मृतकहरूको मृत्यु भएपछि उनीहरू बौरेर नउठेसम्म चेतनशील अवस्थामा रहेका हुन्छन् भन्ने कुरालाई प्रमाणित गर्दछ। लूका ९:२८-३३। पत्रुस र अन्य प्रेरितहरूले भविष्यमा हुने हजार वर्षे राज्यको केवल एक दर्शनमात्र देखिरहेका थिएनन् भन्ने कुरा मोशा र एलिया उहाँको हुन लागिरहेको मृत्युका बारेमा प्रभुसित कुरा गरिरहेको तथ्यले पुष्टि गर्दछ। मोशा र एलिया मरिसकेका भए तापनि उक्त पहाडमाथि देखा परे र यरूशलेममा चाँडै हुन आउने घटनाका बारेमा कुराकानी गरे। मोशा र एलिया चिहानभित्र सुतिरहेका छैनन् भन्ने कुरा यसबाट छर्लङ्गै देखिन्छ।

मान्छेको आत्मा र प्राण हुन्छ जुनचाहिँ मृत्युको घडीमा उसको शरीरलाई छोडेर कि स्वर्ग कि नरकमा सधैंका लागि बास गर्नलाई जाँदछ भन्ने कुरा नयाँ नियमको यस सर्वेक्षणबाट स्पष्ट बुझिन्छ। बाइबलले मृत्युलाई दुवै सुत्‍ने कार्य र बिदा हुने कार्य भनेर बयान गर्दछ। मृत्यु भनेको शरीर सुत्‍नु हो र आत्माचाहिँ बिदा भएर जाने कार्य हो।

पुरानो नियममा समेत मृत्यु भनेको आत्माले शरीरलाई छोडेर जाने कार्य हो भनेर हामीलाई सिकाइएको छ। उत्पत्ति २५:८ मा "अब्राहाम ... मरे [gave up the ghost], र आफ्ना मरेका पिता-पुर्खाहरूसँग मिल्न गए।" उनी चिहानमा मिल्न गए भन्ने मात्र अर्थ यसको हुन सक्दैन, किनकि अब्राहामका पिता-पुर्खाहरू माम्रेमा गाडिएका थिएनन्। उनीहरू धेरै पर हरानमा गाडिएका थिए (उत्पत्ति ११:३१-३२)। उत्पत्ति ३५:१८ मा राहेलको प्राण उनको मृत्यको घडीमा बिदा भएको कुराको उल्लेख छ। १ राजा १७ मा विधवाको छोराको मृत्यु हुँदा उसको प्राणले छोडेर गएको कुरा छ (पद २१-२२)। परमेश्वरले मोशालाई गन्ती २७:१३ मा उनी आफ्ना मानिसहरूमा "मिल्न जाने" कुरा गर्नुभयो। यसको अर्थ मोशा चिहानमा सुतिरहनेछन् भन्ने हुन सक्दैन किनकि, पहिलो, मोशाका मानिसहरू उनी मरेका उजाडस्थानमा गाडिएका थिएनन्। दोस्रो, मोशा शताब्दियौं पछि येशूसँगै उहाँको रूप परिवर्तन हुँदा पहाडमाथि देखा परे र त्यस बेला उनी पूरै चेतनशील रूपमा प्रस्तुत थिए।

पवित्रशास्त्रमा जहाँ हेरे पनि मृत्युको अर्थ चिहानभित्र अचेत अवस्थामा हुनु होइन भन्ने देखिन्छ। जुन खण्डहरूमा मृत्युलाई सुत्‍नुको संज्ञा दिइएको छ ती खण्डहरूले वास्तवमा कवितात्मक भाषा प्रयोग गर्दैछन्। मृत्युको चर्चा गर्ने पुरानो नियमका कुनै कुनै खण्डहरूमा, विशेष गरी उपदेशकमा, त्यसलाई संसारको दृष्टिकोणबाट बताएको पाइन्छ। त्यस अर्थमा यो साँचो हो कि मरेकाहरूले परमेश्वरलाई यस संसारमै प्रशंसा गर्दैनन्। उपदेशकको मूलधारा "सूर्य मुनि" को कुरा हो र त्यसले परमेश्वरको प्रकाशबिना जीवनलाई बुझ्न खोज्ने मान्छेको प्रयासको बयान गर्दछ।

४) अमरताको शिक्षा नयाँ नियम नदिइएसम्म पूर्ण रूपमा प्रकट भइसकेको थिएन। १ तिमोथी १:९-१० पढ्नुहोस्। ख्रीष्ट आउनुभएपछि मात्र चिहानभन्दा पारी सम्बन्धीको शिक्षालाई पूर्ण प्रकाशमा ल्याइयो। त्यसैले हामीले नयाँ नियमलाई पुरानो नियमको प्रकाशमा अर्थ लाउने काम गर्नु हुँदैन बरु पुरानोलाई नयाँको प्रकाशमा अर्थ लाउनुपर्छ!