सेभेन्थ-डे एड्भेन्टिस्ट शिक्षा-भाग ४

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

झूटा शिक्षा #४ -- दुष्टहरू अस्तित्वहीन भई जानेछन् (Annihilation of the Wicked)

सेभेन्थ-डे एड्भेन्टिस्टवादको शिक्षाअनुसार मुक्ति नपाएकाहरू अग्नि कुण्डमा जलेर शेष हुनेछन्।

"अनन्त पीडाको परिकल्पना, बेबिलोनको घिनलाग्दो मद्यमा मिसिएको झूटा शिक्षाहरूमध्ये एउटा हो... त्यसैले, कहिल्यै नटुङ्गिने पीडामा छटपटिँदै परमेश्वरलाई निन्दा गर्ने हराएका आत्माहरू भन्ने हुन्नन्; [स्वर्गमा गाइने] बचेकाहरूको गीतहरूसित [नरकबाट] आफ्ना चिच्याहटरहरू मिसाउने त्यस्ता नीच प्राणीहरू नरकमा हुन्नन्" (एलेन ह्वाइट, द ग्रेट कन्ट्रोभर्सी, पृष्ठ ४७०, ४७७)।

उनीहरूको दाबीअनुसार, दुष्टहरूको अनन्त पीडा भन्ने कुरा परमेश्वरको प्रेम र दयासित सामञ्जस्य गर्नै नसकिने कुरा हो।

"मरेका दुष्टहरू अनन्तसम्म जलिरहने नरकमा आगो र गन्धकले तड्पिरहनेछन् भन्ने शिक्षा, प्रेम र दयाको सारा भावनाको र साथै न्याय भन्ने कुराप्रतिको हाम्रो आफ्नै संवेदनशीलताको पनि ज्यादै प्रतिकूल छ" (एलेन ह्वाइट, द ग्रेट कन्ट्रोभर्सी, पृष्ठ ४६९)।

बाइबलले के भन्दछ?

१) मुक्ति नपाएकाहरूले सदासर्वदा पीडाको अनुभव गर्नेछन् भनेर बाइबलले सिकाउँछ। मत्ती २५:४६; प्रकाश १४:१०-११; प्रकाश २०:१०-१५। मर्कूस ९ मा प्रभु येशूले तीन-तीन पटक नरकलाई "कहिले पनि ननिभ्ने आगो...जहाँ तिनीहरूको कीरा मर्दैन, र आगो निभ्दैन" (मर्कूस ९:४३-४८) भनेर बयान गर्नुभयो। यी शब्द अनन्त पीडाको बयान गर्ने शब्द हुन्।

एडभेन्टिस्टहरू भन्छन्, आगोचाहिँ अनन्त भए तापनि दण्ड अनन्त हुनेछैन। यो व्याख्या हुनै नसक्ने व्याख्या हो, किनकि ख्रीष्ट येशूले मुक्ति नपाएकाहरूको दण्ड कुनै शासनायुक्त मृत्युभन्दा वा अस्तित्वहीन हुन जानुभन्दा पनि भयङ्कर हुनेछ भनेर सिकाउनुभयो। मर्कूस ९:४२ अनुसार परमेश्वरको दण्डमा पर्नुभन्दा त घिच्रोमा एउटा जाँतो झुन्ड्याएर समुद्रभित्र फालिनु असल हो। ठीक यसपछिको पदमा येशूले नरकको डरलाग्दो बयान गर्न थाल्नुभयो। अर्को शब्दमा, नरक कुनै पनि डरलाग्दो विपत्ति वा विनाशभन्दा पनि भयङ्कर हुनेछ। त्यहाँको पीडा नटुङ्गिने गरी सदाकालीन हुनेछ। मत्ती २६:२४ मा प्रभुले अस्तित्वहीन अवस्थाको तुलनामा यहूदाको दण्ड झन् नराम्रो हुनेछ भन्नुभयो। "...त्यो मान्छे नजन्मिएकै भए त्यसका लागि असल हुनेथ्यो।"

नरकमा अनन्त पीडा हुनेछ भन्ने बाइबलको शिक्षा हामीलाई बुझ्न गाह्रो हुन सक्छ, तर परमेश्वरले उक्त शिक्षा प्रकट गर्नुभएको छ अनि हाम्रो जिम्मेवारी भनेको यसलाई विश्वासैद्वारा ग्रहण गर्नु हो। नरक आगोको ठाउँ हो र त्यो यस्तो ठाउँ हो जहाँ हुने पीडा अनन्तसम्मै हुनेछ। जीवन भनेको ख्यालठट्टा होइन भनेर पवित्रशास्त्रका यी खण्डहरूले प्रत्येक पुरुष, महिला, बालकलाई बेसरी चेताउनी दिँदैछन्। मुक्ति भनेको यस्तो कुरा हो जसलाई पाउन हामीले एक घण्टा पनि ढिलो गर्नु हुँदैन। हामीलाई हाम्रा सबै पापबाट शुद्ध पार्न सक्नुहुने मुक्तिदातामा प्राप्त गर्न सकिने त्यो सुरक्षा पाउनलाई हामीले एकछिन पनि खेर फाल्नुहुँदैन। ख्रीष्टका लागि हराएका आत्माहरू खोज्नलाई कुनै परिश्रम बाँकी राख्‍नुहुँदैन। स्वर्गको आनन्दजस्तै नरकको पीडा पनि अनन्त नै हुनेछ।

२) परमेश्वरको करूणाले उहाँको पवित्र न्यायलाई रद्द गर्दैन। प्रभु येशू ख्रीष्टको प्रायश्चितकारी बलिदानले परमेश्वरको न्यायको मागलाई एकदम सन्तोषजनक रूपमा पूरा गरेकै हो, तर मुक्ति पाउनका लागि दिइएको उहाँको त्यत्रो ठूलो निमन्त्रणालाई इन्कार गर्नेहरूले आफ्ना पापहरूका लागि दण्ड भोग्नैपर्ने हुन्छ। मानिसहरूलाई उनीहरूका पापहरूदेखि उद्धार गर्नलाई भनेर परमेश्वरले आफ्नो पुत्रलाई क्रूसमा मर्न भनी प्रदान गर्नुभयो। यस प्रायश्चितकारी बलिदानद्वारा परमेश्वरको पवित्र न्यायको माग पूरा गरियो (यशैया ५३:११), अनि यो सुनेर पश्चात्ताप गर्दै विश्वास गर्ने हरेक पापीलाई उहाँले पूरै क्षमा गर्ने र अनन्त जीवन प्रदान गर्ने प्रतिज्ञा गर्नुभएको छ। उनीहरूका पापका लागि मुक्तिदाताले भोग्नुभएको दुःखलाई अस्वीकार गर्नेहरूले ती पापका लागि आफैं दुःख भोग्नुपर्ने हुन्छ। ख्रीष्टलाई इन्कार गर्नेहरूलाई परमेश्वरले उनीहरूको पापहरूका लागि अनन्तसम्मै पीडा भोगाउनु भयो भने उहाँले अन्याय गर्नुभएको ठहरिन्छ भनेर एड्भेन्टिस्टवादले दाबी गर्दछ, तर परमेश्वरकै न्यायमाथि प्रश्‍न उठाउनलाई हामी को हौं र?